विसं २०४६ को जनआन्दोलनमा झापा जिल्लाको दमकबाट नेतृत्व गरेका महिलामध्ये एक हुनुहुन्थ्यो, गीता गजुरेल । त्यतिबेला राजनीतिमै सक्रिय उहाँका श्रीमान् बलराम गजुरेल प्रहरी हिरासतमा हुनुहुन्थ्यो । बलरामलाई प्रहरीले जेल चलान गरेर एक महिनापछि छोडेको थियो । श्रीमान् जेलमा हुँदा आफू अझै क्रियाशील भएर राजनीतिमा लागेको उहाँको भनाइ थियो ।
ताप्लेजुङ जिल्लाबाट आफूले राजनीति सुरु गरेको बताउने गीताको जन्म २०१५ सालमा ताप्लेजुङमै भएको थियो । उहाँले भन्नुभयो, “ … हाम्रो घरमा सेल्टर बनाएर बस्न सरहरू आउनुहुन्थ्यो । उहाँहरूलाई लुकाउने, खाना खुवाउने, देउसीभैलो खेल्न आउने बेला पनि खाना खुवाउने गर्थ्यौं ।”
गीताका अनुसार, त्यसो गर्दागर्दै बिस्तारै राजनीतिमा चासो बढ्यो । उहाँ २०३६ सालमा विद्यार्थी राजनीतिमा सक्रिय हुनुभयो । त्यसपछि उहाँले कहिले प्रहरीको आँखा छल्दै एक ठाउँबाट अर्को ठाउँ र व्यक्तिसम्म चिठीपत्र पुर्याउने त कहिले मौखिकरूपमा खबर पुर्याउने काम गर्नुहुन्थ्यो ।
झापामा हालको कमल गाउँपालिका वडा नं. ५ निवासी गीता २०४६ सालको जनआन्दोलनलाई साथ दिएर अघि बढाउने गरी नारी दिवस मनाउने क्रममा जेल पर्नुभयो । जेल परेका बेला उहाँले एकदमै गोप्य तरिकाले सूचना आदानप्रदान हुने कुराको पनि ख्याल गर्नुभयो । उहाँका अनुसार, जेलमा खाना, खाजा ल्याइदिने भनेर सूचना आदानप्रदान हुन्थ्यो त्यो बेला ।
“अचार प्याक गरेको प्लास्टिकमा एउटा पत्र पनि रहेछ । खोलेर हेर्दा पक्राउ परेर मेची कारागारमा राखिएका केही साथीहरूको नाम लेखिएको थियो । त्यसमा मेरो श्रीमान् पनि पर्नुभएको रहेछ भन्ने त्यही पत्रबाट थाहा भयो,” गीताले भन्नुभयो, “हामी जेलमा बस्नेले जानकारी पाउने त्यसैगरी हुन्थ्यो ।”
पञ्चायतकालमा राजनीतिक तथा सामाजिक परिवर्तनका विभिन्न अभियान र आन्दोलनमा लागेका महिलाको इतिहासका मौखिक र मौलिक सामग्री खोजी गर्ने क्रममा ‘सन्धान’ टोली २०७९ वैशाखमा झापा पुगेको थियो । त्यतिबेला पत्रकार सुजाता ढुंगानाको साथमा सन्धानकर्मीहरू गार्डिका बज्राचार्य र समीक्षा गाहाले गीताकै घरमा गएर कुराकानी गर्नुभएको थियो ।
कुराकानी उहाँको राजनीतिक जीवनभोगाइ र खासगरी सूचना आदानप्रदानका प्रसङ्गसँग जोडिन पुगेको छ । प्रस्तुत छ, सोही कुराकानीका आधारमा तयार गरिएको गीता गजुरेलको स्वकथन पाठसँगै भिडियो अंश :
मेरो राजनीति ताप्लेजुङबाटै सुरु भयो । २०३६ सालमा विद्यार्थीहरूको आन्दोलन चर्किएको थियो । त्यो बेला गाउँकै गीता भेटवाल भन्ने एक जना बहिनी ताप्लेजुङमा क्याम्पस पढ्नुहुन्थ्यो । क्याम्पसमा विद्यार्थी सङ्गठनमा आबद्ध उहाँ जिल्लास्तरीय कार्यकर्ता हुनुहुँदो रहेछ । मलाई उहाँले ‘व्यक्ति सम्पर्क’ गर्ने काम दिनुभयो ।
‘व्यक्ति सम्पर्क’ भनेको त्यो बेला टोलटोलमा गएर महिलाहरूसँग भेट्ने हो । महिलासँग छुट्टाछुट्टै पनि भेट्ने र सामूहिकरूपमा भेला गरेर सम्पर्क गर्ने काम हो । यसरी व्यक्तिव्यक्तिलाई सम्पर्क गर्ने काम दिँदा उहाँले मलाई विद्यार्थी फाँटको ‘राजनीति सम्पर्क’ पनि दिनुभयो ।
जनवादी गीतहरू गाएर, कथाहरू भनेर उहाँले सिकाउनुहुन्थ्यो । राजनीतिक चेतना दिनुहुन्थ्यो । यसरी मेरो राजनीति ताप्लेजुङबाटै सुरु भएको थियो । बिस्तारै मलाई पनि चासो लाग्यो अनि हाम्रो घरमा सेल्टर बनाएर बस्न सरहरू आउनुहुन्थ्यो । उहाँहरूलाई लुकाउने, खाना खुवाउने, देउसीभैलो खेल्न आउने बेला पनि खाना खुवाउने गर्थ्यौं । म त्यो खालको सम्पर्कमा अग्रसर हुन थालेँ ।
केही समयपछि गीता बहिनीको परिवार बसाइँ सरेर गयो, उहाँ पनि सँगै जानुभयो । त्यतिबेला मैले पनि तराई देखेको थिइनँ । यसैले म पनि तराईतिर जानुपर्यो, सँगसँगै घुमफिर गरेर आउनुपर्यो भनेर आमासँग बिदा मागेँ । यसरी २०४० सालमा म पनि झापा झरेँ ।
झापामा मेरा एक जना आफन्त होम गौतम सर हुनुहुन्थ्यो । उहाँले पनि मलाई अब यतै बस्नुस्, यहीँ राजनीतिमा जिम्मेवारी लिनुपर्छ भन्नुभयो । केही सिप सिक्ने हो भने स्वेटर, गलैँचा बुन्न सिक्नू पनि भन्नुभयो । त्यसपछि म झापामै बस्न थालेँ अनि कटिङ सिक्न थालेँ ।
गलैँचा बुन्ने काम पनि सिक्न मन लाग्यो । बुबाआमाले पहाडबाट हिँड्दा चाँडै आउनू भन्दै पैसा दिनुभएको थियो । त्यो पैसा राखेको थिएँ । कानमा सुनको कुण्डल लगाएको थिएँ । पहाड जान पनि मन लागेन । यतै बस्नका लागि कुण्डल बेच्नुपर्यो भनेर बेचेँ र काम सिकेँ । काम गर्नका लागि मेसिन पनि किनेँ ।
एक दिन दमकमा अष्टलक्ष्मी शाक्य दिदीले महिलाहरूलाई भेला पार्नुभयो । त्यो भेलामा म पनि सहभागी भएँ । सहभागी हुने अवसर पाएँ । त्यहाँ उहाँले धेरै राजनीतिक कुराहरू सिकाउनुभयो । राजनीतिमा झन् धेरै सिक्ने अवसर पाएँ । त्यसपछि म अखिल नेपाल महिला संघ (अनेमसंघ) का साथीहरूको सम्पर्कमा पुगेँ ।
अनेमसंघका साथीहरूले मलाई पनि सङ्गठित गर्नुभयो । त्यसपछि मलाई झन् क्रियाशील भएर राजनीति गर्न मन लाग्यो । राजनीति गर्नकै लागि ताप्लेजुङको घर नगई झापामै बसेँ । अनेमसंघको कुराहरू मन पथ्र्याे । हामी महिलाहरू भेला हुने गर्थ्यौं । महिलाहरूको बिचमा गएर आफ्ना कुराहरू भन्ने र जनवादी गीतहरू गाउने गर्थ्यौं ।
केही वर्षपछि फागुन ७ गते २०४६ सालको जनआन्दोलन सुरु भयो । त्यतिबेला टोलटोलमा गाउँगाउँमा कार्यक्रममा गरियो । आन्दोलनमा सहभागी हुँदै गर्दा हामीलाई अबको कार्यक्रम अनेमसंघले गर्ने भनेर भनियो । नारी दिवस नजिकै आइरहेको थियो ।
नारी दिवस मनाउन हामी सबै जना बिर्तामोड जाने, बिर्तामोडको ट्राफिक अफिसको अगाडि झन्डा गाड्ने, ब्यानर राख्ने अनि जुलुस लगाउँदै झापा जिल्लाको सबै निस्कने र प्रजातन्त्र प्राप्तिका लागि नारा लगाउने निर्णय अनेमसंघको जिल्ला कमिटीले गर्यो ।
म पनि अनेमसंघको जिल्ला कमिटीमा थिएँ । यो निर्णय इलाका कमिटीमा पनि कार्यान्वयन गर्न कुरा राखियो । इलाकाले सहमति जनायो । त्यसपछि पार्टी र अनेमसंघका सबै हामी आन्दोलनमा सँगसँगै लाग्यौँ ।
जनआन्दोलनमा सहभागी भएका कति साथीहरू पक्राउ परिसक्नुभएको थियो । हामी भने आन्दोलनकै बिचमा परेको नारी दिवस (मार्च ८) मनाउन जाने भनेर माइधार भन्ने ठाउँमा जाने भयौँ । बेलुका राति जम्मा भयौँ । झन्डा तयार गर्यौँ । बाँसका घोचा तयार गर्यौँ । झन्डा ठाउँठाउँमा फहराउने कुरा गर्यौँ । बाँसका घोचा बोरामा हाल्यौँ र बोरा काँधमा हालेर बोकेर हिँड्यौँ ।
झन्डाको पोकालाई भने झोलामा राखेर बोकेका थियौँ । त्यसरी हामी माइधारमा आएपछि त्यहाँ एक जना आमा भेटिनुभयो । उहाँले ‘नारी दिवस मनाउन हिँड्यौ’ भन्नुभयो । हामी ‘हो आमा’ भन्दै हिँड्यौँ । उहाँले ‘ल, सक्रियसाथ गर्नू, पछाडि नह्टनू, अगाडि बढ्नू है नानी’ भन्नुभयो । उहाँको यो कुराले हामीमा झन् हौसला बढ्यो ।
माइधारमा पुगेपछि ‘तपाईंहरू कता हिँडेको, अनि के बोक्नुभएको लामोलामो घोचा छ’ भनेर पुलिसले सोधे । हामीले ‘माइत हिँडेको, उखु कोसेली बोकेको’ भन्यौँ । झोलामा झन्डा थियो, त्यो पनि ‘के हो’ भनेर सोधे । ‘माइत हिँडेपछि झोलामा के के कोसेली हुन्छ, हुन्छ’ भन्दै हिँड्यौँ ।
हामी हिँड्दै ट्राफिक चोक अगाडि पुगेर बस्यौँ । त्यहाँ चारैतिरबाट साथीहरू आउनुभयो । ‘ल अब सुरु भयो’ भनेर झन्डा र उखुका लाङ्क्रा निकाल्यौँ । उखुमा झन्डा राख्न थाल्यौँ । ब्यानर पनि बनायौँ । अनि नारा लगाउन सुरु गर्यौँ ।
हामीले यता ‘प्रजातन्त्र ल्याउँछौँ, ल्याउँछौँ’, ‘अनेमसंघ जिन्दावाद’, ‘नारी दिवस मनाउँछौँ’ जस्ता नारा लगाउँदै थियौँ । पुलिसले पनि उताबाट घेरा हाल्यो । ठेल्दै, कुट्दै, पिट्दै लग्यो र हामीलाई ट्राफिक कार्यालयभित्र हुल्यो । हामीले त्यहाँभित्रै नारा लगाउन थाल्यौँ ।
भित्र पुलिसले कसैलाई पिट्यो । अब हामीलाई पनि कुट्छ होला जस्तो लागेर केही समयपछि चुप लाग्यौँ । त्यहाँ एक्लाएक्लै चार तलामाथि लगेर सोधपुछ गर्दाे रहेछ । सोधपुछका लागि अन्तिममा मेरो पालो आयो । मैले ‘बहुदल ल्याउनकै लागि हिँडेको, नारी दिवस पनि मनाउनुपर्छ भनेर हिडेँको’ भन्दिएँ ।
पुलिसले यस्तो गर्न कसले सिकायो भनेर सोध्यो । ‘कसैले सिकाएको होइन, यति ज्ञान त हाम्रो पनि छ’ भनेँ । त्यसपछि मलाई तल ओराल्यो र चन्द्रगढी जेलमा लग्यो । मसँगै तारा काफ्ले भन्ने साथी पनि हुनुहुन्थ्यो । पुलिसले एउटा पत्र दियो, त्यो बोकेर हामी गयौँ ।
जेलमा त्यतिबेलाका सांसद द्रोण आचार्य (क्षेत्री) लगायत हुनुहुन्थ्यो (द्रोणप्रसाद आचार्य २०४३ सालमा जनपक्षीय उम्मेदवारका रूपमा राष्ट्रिय पञ्चायत सदस्य र २०४८ सालमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो–सं.) । हामीलाई पनि त्यहीँभित्र हुल्यो । उहाँहरूले खाना नखाई बस्नुभएको रहेछ । हामीलाई पनि खाना दिनुभयो । नेपाली कांग्रेसका साथीहरू पनि हुनुहुन्थ्यो । हामी सबै मिलेरै बस्यौँ । एक जना साथीले बट्टामा अचार ल्याइदिनुभएको रहेछ । चिउरा पनि थियो । त्यो पनि बाँडेर खायौँ ।
अचार प्याक गरेको प्लास्टिकमा एउटा पत्र पनि रहेछ । खोलेर हेर्दा पक्राउ परेर मेची कारागारमा राखिएका केही साथीहरूको नाम लेखिएको थियो । त्यसमा मेरो श्रीमान् पनि पर्नुभएको रहेछ भन्ने त्यही पत्रबाट थाहा भयो । हामी जेलमा बस्नेले जानकारी पाउने त्यसैगरी हुन्थ्यो ।
खाना, खाजा ल्याइदिने भनेर सूचना आदानप्रदान हुन्थ्यो त्यो बेला । केही साथीहरूले रातो कपडाको टालोमा चिउरा पोको पारेर पठाउनुभएछ । त्यसपछि हामीमध्ये केहीले ‘सन्चो भएन औषधी किन्न जानुपर्यो’ भन्यौँ । जान दिए तर पुलिसहरू पनि सँगै जान्थे । त्यो बेला पनि गए ।
पुलिसहरू सँगै गए पनि हामी बाहिरबाट रङ वा केही चिज किनेर ल्याउन सफल हुन्थ्यौँ । त्यसरी रङ ल्याएर छेस्को बनाएर रातो कपडामा नारा लेख्यौँ अनि ब्यानर बनायौँ । ब्यानर देखाउँदै त्यहीँ नारा लगायौँ । ‘प्रजातन्त्र ल्याउँछौ, ल्याउँछौँ’, ‘अखिल महिला संघ जिन्दावाद’ भन्ने नारा हुन्थ्यो, त्यही नारा लगायौँ ।
जनआन्दोलनका बेला साथीहरू बाहिर थर्काउने, हामी जेलभित्र थर्काउने पनि गरियो । यसैगरी एक महिना जेलमा बसियो । बहुदल आएपछि मात्र हामी छुट्यौँ । छुटेपछि हामी निस्किएर चारैतिर नारा जुलुस लगाएर बिर्तामोड आयौँ । त्यसको भोलिपल्ट झापा जिल्लाभरिको जुलुस थियो । त्यसमा सहभागी भइयो ।
भिडियो अंश:
प्रकाशन मिति : २०८१ चैत्र २९ गते, शुक्रवार
नेपाली राजनीतिमा महिलाका योगदानका थप कथाहरू
परिवर्तनमा महिलाको योगदान, राज्यले अझै उचित मूल्याङ्कन गरेको छैन (भिडियोसहित)
अपाङ्ता भएकाहरू जनआन्दोलन छयालिसमा सहभागी भयौँ, तर नेतृत्वले बिर्सियो – कुमार थापा (भिडियो सहित)
मेरो कोठा सेल्टर जस्तै थियो –सरस्वती चौधरी
बुबा प्रधानपञ्च, म पञ्चायत विरोधी –जयन्ती राई
तराई–मधेशमा महिलाको सहभागिता र योगदान महत्त्वपूर्ण थियो –धर्मेन्द्र झा
‘म सूचना आदानप्रदानको जिम्मेवारीमा थिएँ’ –डा. बिन्दा पाण्डे
‘म पक्राउ पर्दा छ वर्षको छोरालाई बाटोमा अलपत्र पारिदिए ’ –उमा रेग्मी
‘मेरो टाउकोको मूल्य दश हजार तोकिएको थियो’ – विष्णुमाया ओझा
२०४६ सालमा ‘गाउँको राणा’ देखि सरकारविरुद्ध लड्यौँ
सन्धान संवाद : खुलामञ्चबाट ३२ वर्षअघिको सम्झना
‘म स्वतःस्फूर्त २०४६ सालको आन्दोलनमा सहभागी भएको थिएँ’ –बुद्धलक्ष्मी महर्जन
‘प्रहरीबाट बच्न लुकेर बसेको कोठामै प्रहरीले कुटपिट गरे’ –लक्ष्मी कार्की
‘२०४६ को जनआन्दोलनमा महिलाहरू मियो नै थिए’ -डा. मीना पौडेल
‘मलाई किन नहटाएको भनेर क्याम्पसमा दरबारबाट पत्र आएछ’ –हिसिला यमी
‘पञ्चायत सरकारले २०३५ सालमा मेरो टाउकोको मोल तीनलाख तोकेको थियो रे’ –सुशीला श्रेष्ठ
चैत ३ को आन्दोलन २०४६ को जनआन्दोलनका लागि उर्जा बन्यो -हरिगोविन्द लुईँटेल
मलाई पनि गोली लाग्यो भन्ने हल्ला चलेछ –सुम्निमा तुलाधर
‘फ्याक्ट्री’ मा राजनीति घुसेपछि लुटिएको रोजीरोटी –सञ्जोगिता शाह
‘चैत ३ मा धर्ना बस्ने सबै सहभागीका लागि कालोपट्टी बनाएँ’ –निशा शर्मा, रङ्गकर्मी
जनआन्दोलन २०४६ सालको आन्दोलनको समर्थनमा अमेरिकामै आन्दोलन गर्यौँ –डा. मञ्जुला गिरी
‘भर्खरै बिहे भएका हामी दम्पती नै आन्दोलनमा लाग्यौँ’ –प्रा.डा. सुधा त्रिपाठी
‘हिरासतमा प्रहरीले दुर्व्यवहार गरेको थियो’ – डा. बेञ्जू शर्मा
जनआन्दोलनमा मजदुर मोर्चाबाट क्रियाशील थिएँ –धनकुमारी सुनार
परिवर्तनकामी ‘विकासे’ हरूको समूहले लालटिन जुलुस निकाल्यौँ –शान्ता लक्ष्मी श्रेष्ठ
‘२०४६ सालमा महिलाहरु उर्लेर आएका थिए’ –कल्याणी शाह
‘रुपन्देहीमा महिलाहरुको सहभागिता र योगदान धेरै थियो’ –शान्ता बस्याल
‘मोतीदेवी जुझारु, इमान्दार र क्रान्तिकारी भावनाको हुनुहुन्थ्यो’ –अष्टलक्ष्मी शाक्य
पहिले र अहिले आकाश जमिनको फरक छ (भिडियो सहित) – सीता बिडारी
सही मूल्याङ्कन हुने सिस्टम बसाल्नुपर्छ – शशी श्रेष्ठ (भिडियो सहित)
महिलाहरू मिलेर प्रहरी कब्जाबाट वडाध्यक्षलाई फुत्कायौँ –रेशमकुमारी थापा
बुबा प्रधानपञ्च, म पञ्चायत विरोधी –जयन्ती राई
तराई–मधेशमा महिलाको सहभागिता र योगदान महत्त्वपूर्ण थियो –धर्मेन्द्र झा
‘म सूचना आदानप्रदानको जिम्मेवारीमा थिएँ’ –डा. बिन्दा पाण्डे
‘म पक्राउ पर्दा छ वर्षको छोरालाई बाटोमा अलपत्र पारिदिए ’ –उमा रेग्मी
‘मेरो टाउकोको मूल्य दश हजार तोकिएको थियो’ – विष्णुमाया ओझा
२०४६ सालमा ‘गाउँको राणा’ देखि सरकारविरुद्ध लड्यौँ
सन्धान संवाद : खुलामञ्चबाट ३२ वर्षअघिको सम्झना
‘म स्वतःस्फूर्त २०४६ सालको आन्दोलनमा सहभागी भएको थिएँ’ –बुद्धलक्ष्मी महर्जन
‘प्रहरीबाट बच्न लुकेर बसेको कोठामै प्रहरीले कुटपिट गरे’ –लक्ष्मी कार्की
‘२०४६ को जनआन्दोलनमा महिलाहरू मियो नै थिए’ -डा. मीना पौडेल
‘मलाई किन नहटाएको भनेर क्याम्पसमा दरबारबाट पत्र आएछ’ –हिसिला यमी
‘पञ्चायत सरकारले २०३५ सालमा मेरो टाउकोको मोल तीनलाख तोकेको थियो रे’ –सुशीला श्रेष्ठ
चैत ३ को आन्दोलन २०४६ को जनआन्दोलनका लागि उर्जा बन्यो -हरिगोविन्द लुईँटेल
मलाई पनि गोली लाग्यो भन्ने हल्ला चलेछ –सुम्निमा तुलाधर
‘फ्याक्ट्री’ मा राजनीति घुसेपछि लुटिएको रोजीरोटी –सञ्जोगिता शाह
‘चैत ३ मा धर्ना बस्ने सबै सहभागीका लागि कालोपट्टी बनाएँ’ –निशा शर्मा, रङ्गकर्मी
जनआन्दोलन २०४६ सालको आन्दोलनको समर्थनमा अमेरिकामै आन्दोलन गर्यौँ –डा. मञ्जुला गिरी
‘भर्खरै बिहे भएका हामी दम्पती नै आन्दोलनमा लाग्यौँ’ –प्रा.डा. सुधा त्रिपाठी
‘हिरासतमा प्रहरीले दुर्व्यवहार गरेको थियो’ – डा. बेञ्जू शर्मा
जनआन्दोलनमा मजदुर मोर्चाबाट क्रियाशील थिएँ –धनकुमारी सुनार
परिवर्तनकामी ‘विकासे’ हरूको समूहले लालटिन जुलुस निकाल्यौँ –शान्ता लक्ष्मी श्रेष्ठ
‘२०४६ सालमा महिलाहरु उर्लेर आएका थिए’ –कल्याणी शाह
‘रुपन्देहीमा महिलाहरुको सहभागिता र योगदान धेरै थियो’ –शान्ता बस्याल
‘मोतीदेवी जुझारु, इमान्दार र क्रान्तिकारी भावनाको हुनुहुन्थ्यो’ –अष्टलक्ष्मी शाक्य
पहिले र अहिले आकाश जमिनको फरक छ (भिडियो सहित) – सीता बिडारी
सही मूल्याङ्कन हुने सिस्टम बसाल्नुपर्छ – शशी श्रेष्ठ (भिडियो सहित)
महिलाहरू मिलेर प्रहरी कब्जाबाट वडाध्यक्षलाई फुत्कायौँ –रेशमकुमारी थापा
अपाङ्गता भए पनि जनआन्दोलनमा सहभागी भएँ (भिडियो सहित)– सूर्यकुमारी गुरुङ
गोली लागेका श्रीमान्काे शव पनि हेर्न दिइएन (भिडियो सहित)
पक्राउ पर्ने डरले भेष बदलेर हिँड्थेँ – सुप्रभा घिमिरे
महिला मुक्तिका कुराले तानेपछि (भिडियो सहित)
त्यस बेलाको जस्तो राजनीति कहाँ पाउनु अहिले ! (भिडियाे सहित)