जनआन्दोलन २०४६ मा महिला सहभागिता र योगदान विशेष
रङ्गकर्मी निशा शर्मा पोखरेल अहिले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ परिषद् सदस्य हुनुहुन्छ । २०३९ सालदेखि नाट्य क्षेत्रमा प्रवेश गर्नुभएकी उहाँले हालसम्म तीन दर्जनभन्दा बढी नाटकमा अभिनय गर्नुभएको छ । उहाँले टेलिनाटकहरूमा पनि अभिनय गर्नुभएको छ । ‘जनआन्दोलन २०४६ मा महिला सहभागिता र योगदान विशेष’ शृङ्खलामा आज प्रस्तुत छ, कलाकार निशा शर्मा पोखरेलसँग जनआन्दोलनमा कलाकारको भूमिकाका बारेमा ‘सन्धान’ का तर्फबाट समीक्षा गाहाले गर्नुभएको कुराकानी
२०४६ सालको जनआन्दोलनलाई तपाईं कसरी स्मरण गर्नुहुन्छ ?
जनआन्दोलनको समयमा हामीले सिधै सरकारलाई केही पनि भन्न मिल्दैनथ्यो । बोल्नका लागि स्वतन्त्रता थिएन । अप्रत्यक्ष रूपमा मिलाएर भन्नुपर्थ्यो । नाटक लेखिसकेपछि स्क्रिप्ट सिडिओ कार्यालयमा देखाउँथ्यौँ । केही शब्द गलत भए काटिदिनुुहुन्थ्यो । नाटकमा त्यसरी सेन्सर गर्नुहुन्थ्यो । त्यसपछि मात्रै नाटकहरू देखाउन पाइन्थ्यो । अप्रत्यक्ष रूपमा दर्शकसम्म नाटकको माध्यमबाट आफ्ना कुराहरू पुर्याउँथ्यौँ । जस्तै: महजोडी (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) ले पनि गाईजात्राको बेलामा यस्तै गरेर काम गर्नुहुन्थ्यो ।
त्यो बेलातिर कस्ता नाटकहरू कहाँ देखाउनुहुन्थ्यो ?
हामीले त्यति बेला फ्रेन्च कल्चरल सेन्टरमा नाटक गरिरहेका थियौँ । त्यो विदेशी संस्था थियो । त्यसैले त्यहाँभित्र प्रहरी गएर हामीलाई पक्राउ गर्न नमिल्ने रहेछ । एकदिन हामीले नाटक गरिरहेका थियौँ । त्यही बेला सुनीलजीको एक जना साथीले ‘बाटो हिँड्दा ध्यान दिएर हिँड्नु’ भनेर खबर गर्नुभयो । किनभने हामीलाई बाटोमा हिँड्दा गाडीले किचाएर मार्दिने योजना छ भन्ने खबर आयो । कसले त्यस्तो योजना बनाएको हो, थाहा चाहिँ थिएन । त्यस्तो भएपछि हामी जोगिएर हिँड्न थाल्यौँ तर हाम्रो काम रोकेनौँ ।
जनआन्दोलनमा नाट्यकलाकारहरूको भूमिका कस्तो रह्यो ?
हामीले ‘असम्बन्धित’ भन्ने नाटक गरेका थियौँ । त्यो नाटकमा कालो कपडा प्रयोग भएको थियो । त्यति बेला फ्रेन्च कल्चरल सेन्टरका डाइरेक्टरले ‘तपाईंहरूले नाटक गर्नुस् तर तपाईंहरूको गतिविधिले मलाई अप्ठ्यारो नपार्नुस्’ भन्नुभएको थियो । उहाँले भनेको कुरा पनि ठिकै हो भन्ने लाग्यो ।
त्यति बेला सूर्यमाला खनाल दिदी डिल्लीबजार बस्नुहुन्थ्यो । बालाजु बाइपासमा मेरो घर थियो । २०४६ चैत ३ गते त्रिचन्द्र कलेजमा जनआन्दोलनको समर्थनमा साहित्यकार र कलाकारहरु धर्ना बस्ने कुरा भएको थियो । धर्नामा नाराबाजी नगर्ने तर कालोपट्टी बाँधेर बस्ने सल्लाह हामीबिच पहिले नै भएको थियो ।
उहाँहरुले बाँध्ने कालो पट्टी मैले घरबाट बनाएर लगेको थिएँ । हामीले पहिला नाटक गर्दा प्रयोग गरेको कालो कपडा त्यतिकै थन्क्याएर राखेका थियौँ । त्यो कपडा जनआन्दोलनमा कालो पट्टी बनाउन काम लाग्यो ।
कालो पट्टीलाई धर्ना बस्ने ठाउँमै लैजानुभयो कि ?
म बालाजु बाइपासबाट कालोपट्टी बोकेर फ्रेन्च कल्चरल सेन्टर पुगेँ । मलाई त्यति बेला कसरी साहस आयो, आफैँलाई थाहा छैन । बाटोतिर अरूलाई धरपकड गर्ने, पक्राउ गर्ने गरिरहेको देखिन्थ्यो तर म नडराई हिँड्दै पुगेँ । त्रिचन्द्र कलेजमा हामी सबै भेट हुने कुरा थियो । सुुनिल पोखरेलजीले मबाट कालोपट्टी लिनुभयो र उहाँले मलाई कल्चरल सेन्टरकै एक कोठामा थुनेर कल्पना दिदीको जिम्मा लगाएर हिँड्नुभयो । कल्पना दिदी फ्रेन्च कल्चरल सेन्टरमा नाटक अनुवाद गर्ने काम गर्नुहुन्थ्यो । उहाँ त्यहाँको डाइरेक्टरपछिको दोस्रो तहको डाइरेक्टरको भूमिकामा पनि हुनुहुन्थ्यो । सुनीलजीले ‘निशालाई बाहिर निस्कन नदिनु’ भनेर कल्पना दिदीलाई पनि भन्नुभएको थियो ।
सुनिलजीले जाने बेलामा मलाई मानवअधिकारकर्मी डा. देवेन्द्रराज पाण्डेको नम्बर दिएर जानुभयो । जानुअघि भन्नुभएको थियो, “हामीलाई पक्राउ गर्यो भने उहाँलाई फोन गर्नू, हामी कहाँ छौँ भनेर उहाँलाई थाहा हुन्छ ।” मलाई देवेन्द्रराज पाण्डे बुढो मान्छे हो कि तन्नेरी हो भन्ने थाहा थिएन । म भनेँ कोठाबाट बाहिर निस्किन पाइनँ । साँझमा थाहा भयो, धर्नामा बसेकाहरूलाई पक्राउ गरेछ । त्यति बेला पारिजात दिदी, बानिरा गिरिलगायत धेरै जना महिलाहरू हुनुहुन्थ्यो । उहाँहरू त्रिचन्द्र कलेजको प्राङ्गणमा दिनभर कालोपट्टी बाँधेर बस्नुभएको थियो ।
कलाकार, साहित्यकारहरू, सबै जना धर्नामा बस्नु भएको रहेछ । उहाँहरू सबैलाई समातेर पुलीसले हनुमानढोका लिएर गएछ । उहाँहरूलाई पक्राउ गरेको खबर पाएपछि देवेन्द्रराज पाण्डेलाई फोन गरेर सुनीलजीले नम्बर दिनुभएको भनेँ । देवेन्द्रराज पाण्डेले ‘चिन्ता नगर्नु बहिनी ! उहाँहरुलाई केही पनि गर्दैन । आजै छोड्छ होला, नभए भोलिसम्ममा छोड्छ’ भन्नुभयो । त्यही दिन राति १० बजे नै छोडिदिएछ । जनआन्दोलनका बेलामा साहित्यकार, कलाकार महिलाहरू धेरै नै अगाडि आएका थिए ।
तपाईंलाई सुनिल पोखरेलले किन कोठामा राखिदिनुभयो ?
त्यति बेला मेरो उमेर अलि सानो थियो । सुनिलजीलाई केटी अथवा महिलाहरू कोही पनि आउँदैनन् होला, केटा मान्छे मात्र हुन्छन् होला भन्ने लागेको रहेछ । भर्खरकी केटीलाई लग्यो भने केही नराम्रो होला, भनेर मेरो सुरक्षाका लागि मलाई कोठामै थुनेर जानुभएको रहेछ । धर्नास्थलमा पुगेपछि अरू महिलाहरू पनि धर्ना बसेको देखेर निशालाई पनि लिएर आउनु पर्ने रहेछ भन्ने लागेको कुरा पछि सुनाउनुभयो । त्यसकारण म धर्नामा सहभागी हुन पाइन ।
सन्धान, प्रकाशन मिति २०७८ चैत २५ गते शुक्रबार