Home Insight ‘फ्याक्ट्री’ मा राजनीति घुसेपछि लुटिएको रोजीरोटी –सञ्जोगिता शाह

‘फ्याक्ट्री’ मा राजनीति घुसेपछि लुटिएको रोजीरोटी –सञ्जोगिता शाह

616
0

जनकपुरमा विद्यार्थी आन्दोलनबाट सुरु भएको थियो, २०४६ सालको आन्दोलन । मेरो घर नजिकै सिडिओ कार्यालय थियो । त्यहाँ गोली हानाहान भएको थियो । सिडिओ कार्यालयबाटै गोली हान्दा पाठक थरका एक जना साधारण मान्छेको मृत्यु भएको थियो । म त्यतिबेला फ्याक्ट्रीमा काम गर्थें । ‘फ्याक्ट्री’ भन्नाले जनकपुर चुरोट कारखाना । हामी कर्मचारी भएकाले खुलेर राजनीति गर्न डर थियो तर बहुदलको समर्थक थियौँ ।

पञ्चायतको विरोधमा हामीले फ्याक्ट्रीभित्रै कालो झन्डा प्रदर्शन गर्‍यौँ । पर्चा पम्पलेटहरू गोप्य तरिकाले बाँड्थ्यौँ । फ्याक्ट्रीभित्रै पनि पञ्चायत पक्षधर कर्मचारी हुन्थे । त्यो भएर उनीहरूले थाहा पाए भने त जागिर गैहाल्थ्यो । डर थियो तर बाहिर जति आन्दोलन बढ्थ्यो, भित्र पनि झन् क्रान्तिको माहोल हुन्थ्यो ।

चैत २४ गते जनकपुरमा सबै सर्वसाधारण नागरिकहरू फ्याक्ट्रीभित्र पसे । फ्याक्ट्रीबाहिरका हुल पनि फ्याक्ट्रीभित्र पसे । त्यतिबेला जनरल म्यानेजर देवेन्द्रबहादुर शाही हुनुहुन्थ्यो । उहाँ बाठो मान्छे । एक्कासि बाहिरको माहोल ब्युँतिएको देखेपछि प्रजातन्त्रको नारा दिएर ‘बहुदल जिन्दाबाद’ भन्दै ओर्लिनुभयो । त्यसपछि फ्याक्ट्रीको माहोल नै परिवर्तन भयो । २०४६ चैत २६ गते त बहुदल घोषणा नै भयो ।

म पनि जिफन्टबाट साधारण सदस्य भएर महिलाको संयोजक भएँ । बहुदल आएपछि अलि फरक खालको माहोल हुन थाल्यो । एक हिसाबले भन्दा फ्याक्ट्रीभित्र खुला राजनीति छिर्‍यो । दिन प्रतिदिन त्यहाँ राजनीतिक माहोल बढ्दै गयो । बाहिरका मजदुर नेताहरू आइरहने, पार्टी नेताहरूको पनि बिगबिगी ! गिरिजाप्रसाद कोइराला जस्ता नेताहरू फ्याक्ट्रीमा आएर भाषण गर्थे । ठुलाठुला नेताहरू आएर फ्याक्ट्रीलाई राजनीतिक अखडा नै बनाउन खोजे । फ्याक्ट्रीमा जिएम (जनरल म्यानेजर) को नियुक्ति पार्टीले गर्ने, त्यसपछि सबै जिएम र त्यही पार्टीका मान्छे नियुक्त हुन्थे ।

जनकपुर चुरोट कारखानामा बिस्तारै उत्पादनभन्दा बढी राजनीति हुन थाल्यो । राजनीतिसँगै उत्पादनमा पनि जोड दिएको भए त त्यत्ति फरक पर्दैनथ्यो तर नेताहरूले त्यस्तो नचाहने । फ्याक्ट्रीमा काम गर्ने माहोल बिग्रिँदै गयो ।

केही भयो भने ‘पख् ! मेरो नेतालाई भन्दिन्छु’ भन्ने मात्रै सुनिन्थ्यो । कांग्रेस, कम्युनिष्ट, राप्रपा, सद्भावना जस्ता पार्टीका चार, पाँच वटा युनियन त्यहाँ हुन्थे । ट्रेड युनियन महासंघ हामी थियौँ । सद्भावना पार्टीको टेड्र युनियन मञ्च थियो । राप्रपाको पनि थियो । यस्तो भएपछि त जिएम पनि उनीहरूले भनेकै जस्तो व्यक्ति ल्याउन थाले ।

मैले फ्याक्ट्रीमा २०३९ सालदेखि काम गर्न थालेको हो । ८/९ वर्ष दैनिक ज्यालादारीमा काम गरेँ । त्यसपछि २२ वर्ष स्थायी भएर काम गरेँ । यति काम गरुन्जेल त कारखाना नै ढल्न लाग्यो । आफैँ बन्द हुने स्थितिमा पुगेपछि हामी यसै हट्नुपर्‍यो । २० वर्ष त पुगिसकेको थियो तर उमेरको हदले पुगेको थिएन । उमेर अवधि ५८ वर्ष र नोकरी अवधि ३० वर्ष तोकिएको थियो । यो दुवै बाँकी हुँदै २०६३ सालमा जागिर छोड्नुपर्‍यो । यसले गर्दा धेरैलाई गाह्रो भयो । फ्याक्ट्री २०६५ सालमा बन्द भयो ।

नेपाली राजनीतिमा महिलाका योगदानका थप कथाहरू

सन्धान प्रकाशन मिति : २०७९ फागुन १३ गते, शनिवार


Previous articleओछ्यान : पितृसत्ताको ढलिमली
Next articleऐतिहासिक झापा आन्दोलनका सहभागी महिलाहरू दमक भेटघाटमा