Home Insight जनआन्दोलन २०४६ सालको आन्दोलनको समर्थनमा अमेरिकामै आन्दोलन गर्यौँ –डा. मञ्जुला गिरी

जनआन्दोलन २०४६ सालको आन्दोलनको समर्थनमा अमेरिकामै आन्दोलन गर्यौँ –डा. मञ्जुला गिरी

882
0

जनआन्दोलन–२०४६ मा महिला सहभागिता र योगदान विशेष

सिरहामा जन्मिनु भएकी डा. मञ्जुला गिरी समाजसेवी तथा पत्रकार हुनुहुन्छ । सन् १९७५ मा भारतका तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको अन्तर्वार्ता गर्नुभएकी उहाँ २७ वर्षको उमेरमा वर्ल्ड प्रेस इन्स्ट्च्यिुटले दिने (डब्ल्यूपिआइ) फेलोसीप पाउनुभएको थियो । त्यति बेला उहाँ राष्ट्रिय समाचार समितिको एक मात्र महिला पत्रकार हुनुहुन्थ्यो ।

सानैदखि राजनीतिप्रति चासो राख्ने गिरी २०४६ सालको आन्दोलन हुँदा अमेरिकामा बसेर विद्यावारिधि गर्दै हुनुहुन्थ्यो । तर, त्यहीँ बसेर पनि नेपालमा भइरहेको आन्दोलनको समर्थनमा संगठन खोल्ने, धर्ना दिने जस्ता कामहरू भएको थियो ।

जनआन्दोलन–२०४६ सम्पन्न भएको ३२ वर्ष पुगेको छ । सो आन्दोलनलाई महिलाको दृष्टिकोणबाट स्मरण गर्ने उद्देश्यका साथ ‘सन्धान’ ले सुरु गरेको शृङ्खला जारी नै छ । यसै क्रममा आज ‘सन्धान’ का तर्फबाट समीक्षा गाहाले गरेको कुराकानीमा आधारित डा. मञ्जुला गिरीको स्मरण :

२०४६ सालको जनआन्दोलनको समयमा म अमेरिकामा पढ्दै थिएँ । न्युयोर्क बसेर समाजशास्त्र विषयमा पिएचडी गर्दै थिएँ । नेपालमा गणेशमान सिंहको नेतृत्वमा पञ्चायती व्यवस्थाविरुद्ध र देशमा प्रजातन्त्र स्थापित गर्नका लागि जनआन्दोलन सुरु भयो । फागुन ७ गते सुरु भएको आन्दोलनको पक्षमा देशभर आन्दोलनहरू चर्किरहेको थियो । प्रहरीबाट आन्दोलनकारीमाथि धरपकड हुने, नेता/कार्यकर्ताहरू पक्राउ पर्ने जस्ता कार्यहरू भइरहेका थिए ।

त्यही समयमा गणेशमान सिंहका एक जना सल्लाहकारले अमेरिकामै रहेका एक जना नेपाली राजनीतिज्ञलाई फोन गरेर नेपालमा भइरहेको आन्दोलनलाई समर्थन गर्नुपर्यो भन्नुभएछ, त्यो कुरा हामीसम्म आइपुग्यो । त्यसपछि हामी राजनीतिमा रुचि भएकाहरू जो अमेरिकामा बस्थ्यौँ, सबै जनाले नेपालमा प्रजातन्त्रका लागि गठबन्धन भन्ने संगठन खोल्यौँ ।म पनि संगठनको सदस्य भएँ । संगठनमा भएका हामी मिलेर अमेरिकाको राजधानी वासिङ्टन डिसीस्थित क्यापिटल हिलको अगाडि जुलुस निकाल्यौँ । देशमा प्रजातन्त्र आओस् र बन्दी बनाइएका राजनीतिज्ञहरूलाई तत्काल रिहा गर्नुपर्ने माग पनि हाम्रो थियो । पछि हाम्रो आन्दोलनका बारेमा नेपालका विभिन्न सञ्चारमाध्यममा पनि समाचारहरू आएछ ।

नेपालको आन्दोलनको समर्थनमा अमेरिका बसेर त्यहीँ नै आन्दोलन गर्यौँ । आन्दोलनलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने हामीलाई धेरै चिन्ता हुन्थ्यो । यसरी नेपालको आन्दोलन र अन्तर्राष्ट्रिय दबाब समेतको कारणले नेपालमा पुनः प्रजातन्त्र आयो । अहिले सम्झिँदा त्यो ऐतिहासिक काम हो भन्ने लाग्छ ।

सन्धान, प्रकाशन मिति २०७९ बैशाख ९ गते शुक्रवार


Previous article‘जङ्गलमा काम गर्ने भएर स्याउलाकै माला लगाऊँ भन्ने हाम्रो मान्यता छ’ –भीममाया तामाङ
Next article‘मोतीदेवी जुझारु, इमान्दार र क्रान्तिकारी भावनाको हुनुहुन्थ्यो’ –अष्टलक्ष्मी शाक्य