Home Stories मेरो कोठा सेल्टर जस्तै थियो –सरस्वती चौधरी

मेरो कोठा सेल्टर जस्तै थियो –सरस्वती चौधरी

567
0

म २०२९ सालमा विद्यार्थी आन्दोलनबाट राजनीतिमा प्रवेश गरेँ । मेरो राजनीतिक पृष्ठभूमि नेपाली कांगे्रस हो । २०४६ सालको जनआन्दोलनको कुरा गर्नुपर्दा, म सुरूदेखि नै सहभागी भएँ । जनकपुरमा त्यसबेला धेरै महिलाहरू बाहिर निस्किँदैनथे । तर म भने मन, तन र धनले सहभागी भएको थिएँ । घरमा साना बच्चाहरू थिए । उनीहरूलाई घरमा छोडेर आन्दोलनमा जान्थेँ ।

सानो बच्चा दुई वर्षको थियो । उसले दुध खाँदै थियो । अरू दुई जना छोरी र छोरा अलि ठुला थिए । सानो छोरा म हिँड्ने बेला सधैँ पछ्याउँथ्यो । आन्दोलनकै बेलामा एकपटक सानो छोराको खुट्टा र नाक पनि भाँच्चियो । एकदिन छतमा बसेको थियो, ‘पुलिसआर्मी’ ले ‘हान्दिउँ ?’ भनेपछि उ त्यहाँबाट हाम फालेछ ।

हाम फालेपछि छोरा घाइते भएको थियो । त्यहीबेला म माथि ‘वारेन्ट’ जारी भएछ । त्यसपछि छोरालाई मैले हस्पिटल लैजान पनि पाइनँ । अरूले लगेर प्लास्टर गरिदिएछन् । पछि म लुकेर हस्पिटल पुगेर छोरालाई भेटेँ । यस्तो हुँदा दाइहरूले मलाई गाली पनि गर्नुभयो । म भने कसैको डर, धम्कीको वास्ता नगरी आन्दोलनमा सहभागी भएको थिएँ । सुरुवाती दिनदेखि कहिले ‘बत्ती बुझाउने’ कार्यक्रम त कहिले ‘भाँडा ठटाउने’ कार्यक्रम हुन्थ्यो । त्यस्ता कार्यक्रममा म जहिल्यै सहभागी भएँ ।

हाम्रो आफ्नो घर थिएन । म जनकपुरमा कोठा लिएर बस्थेँ । मसँग पैसा हुँदैन थियो । मेरा बच्चाहरूलाई कति दिन भोकभोकै पनि सुताएँ । त्यही पनि आन्दोलनमा हिँड्न छोडिनँ ।

मेरो श्रीमान् सरकारी कर्मचारी । मेरो कारणले श्रीमान्‌लाई पनि अप्ठ्यारो पर्थ्याे त्योबेला तर पनि म आन्दोलनमा हिडेँ । बैङ्कको जागिरे श्रीमान् सर्लाहीमा हुनुहुन्थ्यो । उहाँले मलाई आन्दोलनमा लाग्न, सहयोग गर्न सपोर्ट गर्नुभयो । घरको अवस्था एकदम नाजुक थियो । हाम्रो आफ्नो घर थिएन । म जनकपुरमा कोठा लिएर बस्थेँ । मसँग पैसा हुँदैन थियो । मेरा बच्चाहरूलाई कति दिन भोकभोकै पनि सुताएँ । त्यही पनि आन्दोलनमा हिँड्न छोडिनँ । आन्दोलनका साथीहरू मेरो कोठामा आउनुहुन्थ्यो । उहाँहरूलाई खाना खुवाएरै पठाउथेँ । कहिलेकाहीँ जाउलो पकाएर पनि खुवाएको सम्झिन्छु । सधैँ मिठो राम्रो खुवाउन सक्दिनथेँ तर नखुवाई पठाउनु हुँदैन भन्ने पनि लाग्थ्यो ।

कहिले त छोराछोरीलाई नखुवाएर पनि आन्दोलनका साथीहरूलाई खुवाएको छु । कतिपय अग्रज नेताहरूलाई पनि कोठामा लुकाउने र खुवाउने गर्थें । त्यही भएर नेता तथा साथीहरूले ‘तपाईं समातिनु हुँदैन, आन्दोलनकारीलाई सहयोग गर्नुपर्छ’ भन्नुहुन्थ्यो । एक हिसाबले मेरो कोठा सेल्टर नै भएको थियो । त्यही भएर मलाई प्रशासनले ‘वारेन्ट’ नै जारी गरेको थियो । तर म बचेर, लुकेर काम गरेँ । पक्राउ चाहिँ परिन ।

राजनीतिक परिवर्तनमा योगदान दिनेहरूको उचित मूल्याङ्कन भएको छैन । पार्टी र पदमा नयाँ नयाँ व्यक्तिहरू हाबी हुँदै गए । आन्दोलनमै सहभागी नभएकाहरू तीन–चारचोटि सांसद, मन्त्री, पार्टीको केन्द्रिय सदस्य बनेका छन् ।

झन्डाहरू लुकाउन, पम्पलेटहरू राख्ने सबै मेरो कोठामा नै गरिन्थ्यो । झन्डाहरू चामलको डिब्बा, बिस्तारामुनि लुकाएर राख्थेँ । ठुला नेताहरू विमलेन्द्र निधिलगायत समीर घिमिरे, रामशरण यादव, किशोरी साहलगायतका धेरै नेताहरूको साथसहयोगमा मैले काम गरेको छु । लीला कोइराला र रामवरण यादव (पूर्व राष्ट्रपति) सँग पनि काम गरेको छु । कतिपय नेताहरूको लागि त मेरो कोठा नै ‘अफिस’ थियो । यस्ता थरिथरिका दुःख भए । आन्दोलनमा त्यसरी सक्रिय सहभागी हुने मधेसी जनजाति म एक जना मात्रै थिएँ ।

अहिले सरस्वती चौधरी केही पनि होइन रहेछ भन्ने जस्तो कतिपयले गर्छन् । राजनीतिक परिवर्तनमा योगदान दिनेहरूको उचित मूल्याङ्कन भएको छैन । पार्टी र पदमा नयाँ नयाँ व्यक्तिहरू हाबी हुँदै गए । आन्दोलनमै सहभागी नभएकाहरू तीन–चारचोटि सांसद, मन्त्री, पार्टीको केन्द्रिय सदस्य बनेका छन् ।

बहुदल घोषणा २०४६ साल चैत २६ गते राति भयो । म घरमा थिएँ । बहुदलको घोषणा भएपछि घरघरबाट मानिसहरू ‘बहुदल आयो’ भन्दै निस्किए । खुसहालीमा नाराजुलुस भएको थियो । पञ्चायती व्यवस्थाको अन्त्य र बहुदलको लागि लडेको मान्छेलाई बहुदल आएपछि धेरै खुसी पनि लाग्योे । श्रीमान् र साना बच्चाहरूको सहयोगले महिलालाई आन्दोलनमा लाग्न धेरै सहज हुने रहेछ भन्ने महसुस पनि मलाई भएको छ ।

(सन्धानका तर्फबाट समीक्षा गाहाले गरेको कुराकानीमा आधारित)

नेपाली राजनीतिमा महिलाका योगदानका थप कथाहरू

सन्धान प्रकाशन मिति : २०७९ चैत्र २१ गते, मंगलवार