Home Insight मलाई पनि गोली लाग्यो भन्ने हल्ला चलेछ –सुम्निमा तुलाधर

मलाई पनि गोली लाग्यो भन्ने हल्ला चलेछ –सुम्निमा तुलाधर

1581
0

जनआन्दोलन–२०४६ मा महिला सहभागिता र योगदान विशेष

सामाजिक क्षेत्रमा क्रियाशील सुम्निमा तुलाधर २०४६ सालको जनआन्दोलनमा सक्रिय सहभागी हुनुभयो । त्यति बेला उहाँको बुबा पद्मरत्न तुलाधर आन्दोलनको अगुवा हुनुहुन्थ्यो । बुबासँगै सुम्निमा, उहाँका दिदी र दुई दाइहरू पनि आन्दोलनमा हिँड्नु भयो । पटकपटक पक्राउ पर्नबाट जोगिए पनि चैत ३ गते त्रिचन्द्र क्याम्पसमा भएको लेखक, साहित्यकारहरूको भेलाबाट भने उहाँ पनि पक्राउ पर्नुभएको थियो । जनआन्दोलन–२०४६ मा सक्रिय सुम्निमा अहिले न कुनै राजनीतिक दलमा आबद्ध हुनुहुन्छ न राजनीतिमा क्रियाशील नै ।

जनआन्दोलन–२०४६ सम्पन्न भएको ३२ वर्ष पुगेको छ । सो आन्दोलनलाई महिलाको दृष्टिकोणबाट स्मरण गर्ने उद्देश्यका साथ ‘सन्धान’ ले सुरु गरेको शृङ्खला जारी नै छ । यसै क्रममा आज प्रस्तुत छ, ‘सन्धान’ का तर्फबाट लक्ष्मी बस्नेतले गरेको कुराकानीमा आधारित सुम्निमा तुलाधरको स्मरण :

पद्मरत्न तुलाधरलाई पक्राउ गर्दै प्रहरी, तस्बिर सौजन्य : प्रजातन्त्रको उदय पुस्तक

म भर्खरै महाराजगञ्ज क्याम्पसमा पढ्न सुरु गरेको थिएँ । इन्टरमिडियट लेभल पढ्दै थिएँ । जनआन्दोलन–२०४६ सुरु भयो । मेरो बुबा पद्मरत्न तुलाधर फागुन ७ गते नै पक्राउ पर्नुभयो । म, मेरो साथी रुपा, दाइहरू सुजनरत्न र सरवनरत्न पनि जुलुसमै थियौँ । बुबालाई पक्राउ गरेर कठालोमा समातेर लग्दै गरेको देख्यौँ । त्यो फोटो विदेशी पत्रिकाहरूमा पनि प्रकाशित भएको थियो । मिन रत्न बज्राचार्यले खिच्नुभएको त्यो फोटो नेपालमा पनि चर्चित भयो ।

बुबालाई पक्राउ गरेर प्रहरीले कहाँ लग्यो भन्ने हामीलाई थाहा थिएन । त्यसले गर्दा हामी चिन्तित थियौँ । आमा झन् धेरै चिन्तित हुनुभयो । दुई जना दाइ, दिदी र म काठमाडौँका विभिन्न ठाउँबाट निस्केको जुलुसमा सहभागी भइरहन्थ्यौँ । महाराजगञ्ज क्याम्पसबाट दीपक डंगोल दाइले जुलुसको संयोजन गर्नुहुन्थ्यो ।

एक दिन पाटनमा पुत्ला जलाउने कार्यक्रम थियो । म त्यो बेला अरूभन्दा सानो थिएँ, सानै पनि देखिन्थेँ । तर मैले लगाएको ज्याकेटको गोजी ठुलो थियो । त्यही भएर मट्टितेल र सलाई मेरै गोजीमा राखियो । म त्यो बेला पहिलो पटक पञ्चायतको पुत्ला जलाउने कार्यक्रममा सहभागी भएको थिएँ ।

तस्बिर सौजन्य : सुम्निमा तुलाधर

हामी प्रायः बिहान खाना पनि नखाई दिनभर जुलुसमा हिँड्थ्यौँ । साँझ मात्र खाना खान्थ्यौँ । जुलुसको क्रममा धरपकड भएको थियो । सबै जना भागे । म र मेरो साथी दुई–तीन घण्टा एउटा किराना पसलमा लुकेर बस्यौँ र चिहाएर बाहिर हेरिरह्यौँ । बाहिर प्रहरीहरूले सबैलाई कुटेको, लखेटेको, पक्राउ गरेको देख्यौँ । डर पनि लागिरहेको थियो । रात पनि पर्‍यो । पछि क्याम्पसका दाइहरूले हामीलाई घर पुर्‍याइदिनुभयो ।

अङ्ग्रेजी बोल्दा विदेशी भनेर पक्राउ गरेन

म र मेरो साथी रुपा धिताल सानो देखिने भएर पनि कति पटक पक्राउ पर्नबाट बचेका थियौँ । कतिपय अवस्थामा जुलुसका क्रममा हामीले नै चिनेका दिदीहरूलाई पक्राउ गरेर लगिन्थ्यो । त्यस्तो बेला म र साथी केही पनि थाहा नपाए जस्तो गरी अङ्ग्रेजीमा कुरा गर्न थाल्थ्यौँ । समात्न आएको प्रहरीलाई नै बाटो सोध्थ्यौँ । प्रहरीले यिनीहरू विदेशी रहेछन् भन्ठानेर हामीलाई पक्राउ गर्थेन । यस्ता विभिन्न कारणले पटकपटक पक्राउ पर्नबाट बचेका थियौँ ।

तस्बिर सौजन्य : सुम्निमा तुलाधर

जनआन्दोलनकै क्रममा चैत ३ गते त्रिचन्द्र क्याम्पसमा लेखक, कलाकार तथा साहित्यकारहरूको भेला थियो । त्यो दिन कालोपट्टी बाँधेर धर्नामा बस्ने कार्यक्रम थियो । त्यहाँ भने म र मेरो साथी रुपा पनि पक्राउ पर्‍यौ । हामीलाई पक्राउ गरेर ट्रकहरूमा हालेर लगिसकेको थियो । दिदी सुनिता तुलाधर कलेजबाट आउँदै गर्दा ढिला पुग्नुभएछ । नत्र दिदी पनि हामीसँगै पक्राउ पर्ने थियो । त्यस सभाबाट नेपालका लोकप्रिय लेखक, कलाकार र मैले चिनेका बुबाका साथीहरूलाई पनि पक्राउ गरेर बग्गीखानामा राखेको थियो । सबैको पालैपालो भिडियोमा बयान लियो । मलाई पनि बोलायो । मेरो नाम सुम्निमा तुलाधर भनेँ । बुबाको नाम सोध्यो । पद्मरत्न तुलाधर भनेँ । त्यसो भनेपछि कहाँ हुनुहुन्छ बुबा भनेर सोध्यो । मैले पनि तपाईंहरूले पक्राउ गरेर लग्नुभएको हो, तपाईंहरूलाई नै थाहा होला भन्दिएँ ।

थुनामै राख्दा प्रहरीले तिमी किन आएको भनेर सोध्यो । मैले मेरा शिक्षकहरू पनि हुनुहुन्छ, त्यही भएर सबैजना सँगै आएको भनेँ । अनि प्रहरीले यो त कलाकार, साहित्यकार तथा लेखकहरूको धर्ना हो, तपाईं पनि कवि हो भनेर सोध्यो । होइन तर कहिलेकाहीँ कविता लेख्छु भनेँ । त्यसपछि प्रहरीले एउटा कविता सुनाउ त भन्यो, मैले मेरो मुड छैन अहिले भन्दिएँ ।

केही बेरमा पक्राउ परेका सबैलाई तल लग्यो र अभियुक्तलाई जसरी भिडियोग्राफी पनि गरेको थियो । साथी रुपाको दाइ तारक धितालसहित कुन्दन अर्याल, कमलमणि दीक्षित, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य दाइहरू पनि हुनुहुन्थ्यो । सबै चिनेजानेकै भएर हामी कथा कविता सुन्ने सुनाउने पनि गर्थ्यौँ । डर पनि लाग्दैनथ्यो । पक्राउ गरेर लगेकै साँझ हामीलाई छोडिदियो ।

बुबालाई पक्राउ गरेर नख्खुमा राखेको भन्ने केही दिनपछि खबर आयो । त्यो थाहा पाएपछि बाल दाइ भन्ने बुबाको सहकर्मी र आमा भेट्न जानुभयो । नख्खु जेलमा बुबा भेटिनु भएन । चौतारा सारिसकेको भन्ने थाहा पाएपछि आमा रुँदै घर फर्किनुभयो ।

आन्दोलनकै क्रममा अर्को एक दिन मेरा दुवै दाइहरू महाबौद्ध, न्युरोडतिरको जुलुसमा हिँड्नुभएको थियो । कफ्र्यु लाग्यो । कर्फ्यु लाग्नुभन्दा अगाडि गोली पनि चल्यो । गोली चलेको दिन पनि हामी सडकमै थियौँ । मेरो मामाघर असन हो । हामी लुक्न मामाघरमा पनि छिर्यौँ । असनतिर म र मेरा साथीहरू जुलुससहित गएका थियौँ । अरूलाई तपाईंहरू पनि तल झर्नुपर्छ, जनआन्दोलनलाई साथ दिनुपर्छ भन्दै नारा लगाउँदै हिँडेका थियौँ । गोली चलेको भन्ने हल्ला चलेपछि मेरो आमालाई कोही चिनेको मान्छेले मलाई पनि गोली लाग्यो भन्ने हल्ला छ भनेर फोन गरिदिनुभएछ । त्यति बेला बुबा चौतारा जेलमा, दाइहरू, दिदी म गरी चारै जना आन्दोलनमा हिँड्ने । आमा घरमा एक्लै चिन्ता मानेर बस्नुहुन्थ्यो । आन्दोलनमा नजाऊ चाहिँ कहिल्यै भन्नुभएन । बरु हामी निस्किँदा केही खाएर जाऊ भनेर खाना बोकेर पछिपछि आउनु हुन्थ्यो ।

कर्फ्यू लागेको पहिलो दिन हामी सबै जना आफ्नो घर नगई आफन्तको घरमा बसेका थियौँ । अहिले जस्तो सजिलै फोन गर्न पनि पाइँदैनथ्यो । घरमा आमा एक्लै हुनुहुन्थ्यो । त्यही समयमा सिआइडीले हाम्रो घर गएर खानतलासी गरेछ । त्यसो गर्दा आमा एकदमै डराउनु भएछ । तर पनि त्यो सिआइडीलाई आमाले बेस्सरी गाली गरेर पठाउनु भएछ ।

तस्बिर सौजन्य : प्रजातन्त्रको उदय पुस्तक

जनआन्दोलन–२०४६ मा बुबालाई १२ दिन जेल राखेर छोडिदियो । प्रजातन्त्र घोषणा गर्ने गरी उच्चस्तरीय छलफल भएको रहेछ । लोकेन्द्रबहादुर चन्द एक दिनअघि मात्रै प्रधानमन्त्री हुनुभएको थियो । चैत २५ गतेको राति हाम्रो घरमा आउनुभयो । बुबालाई पनि राती नै चौताराबाट घरमा ल्याइदिएछन् । त्यसको आधा घण्टा जति पछि नै घरमा अरू पनि धेरै मानिसहरू आए । अनि भोलिपल्ट राति नै प्रजातन्त्र पनि घोषणा भएछ ।

सन्धान, प्रकाशन मिति २०७९ बैशाख १२ गते साेमवार