‘मलाई किन नहटाएको भनेर क्याम्पसमा दरबारबाट पत्र आएछ’ –हिसिला यमी

    661
    0

    जनआन्दोलन २०४६ मा महिला सहभागिता र योगदान विशेष

    जनता समाजवादी पार्टीकी नेता हिसिला यमी लेखक पनि हुनुहुन्छ । उहाँको संस्मरणात्मक कृति ‘हिसिला : फ्रम रिभोलुसनरी टु फर्स्ट लेडी’ २०७८ सालमा प्रकाशित भयो । २०४६ सालको जनआन्दोलनका बेला यमी पुल्चोक इन्जिनियरिङ क्याम्पसमा प्राध्यापनरत हुनुहुन्थ्यो । आन्दोलनका सक्रिय सहभागीहरूमध्ये उहाँ पनि हुनुहुन्थ्यो ।

    जनआन्दोलन–२०४६ सम्पन्न भएको ३२ वर्ष पुगेको छ । सो आन्दोलनलाई महिलाको दृष्टिकोणबाट स्मरण गर्ने उद्देश्यका साथ ‘सन्धान’ ले सुरु गरेको शृङ्खला जारी नै छ । यसै क्रममा आज प्रस्तुत छ, ‘सन्धान’ का तर्फबाट गरिएको कुराकानीमा आधारित हिसिला यमीको स्मरण :

    जनआन्दोलन–२०४६ को सन्दर्भमा तपाईं के भन्न चाहनुहुन्छ ?

    २०४६ सालसम्म सशक्त र सक्रिय कार्यकारी भूमिकाको राजतन्त्रात्मक व्यवस्था थियो । त्यो राजतन्त्र ‘म्युजियम’ मा राख्ने वा संवैधानिक भूमिकाको थिएन । त्यो घरघरमा रहेको पितृसत्तात्मक अभ्यासको प्रतीक पनि थियो । उदाहरणका लागि, त्यो बेला राजाको पहिलो सन्तान छोरी जन्मिए पनि राजा हुन नपाउने तर छोरा जन्मिएपछि छोरा मात्र राजा हुने चलन थियो । छोरी भएकै आधारमा राजसंस्थाको प्रमुख नहुने त्यो व्यवस्था भएकाले ‘बायोलोजिकल लिडर’ को अवधारणा लिनुपर्ने भन्ने सबैको चाहना थियो ।

    अर्को कुरा, त्यति बेला एक भाषा, एक संस्कृति, एक धर्म, एक पोशाक हुने व्यवस्था थियो । त्यहाँ विविधताको कुनै ठाउँ थिएन । यस किसिमको शासन व्यवस्था लिङ्गको आधारमा विभेदपूर्ण थियो । जाति, भाषा, धर्म आदिको आधारमा पनि विभेदपूर्ण थियो । महिला भएकै कारण राजसंस्थाको प्रमुख नहुनु भनेको लैङ्गिक आधारमा भएको विभेद हो नि ! राजा हुनलाई पहिलो सन्तान भएर नहुने पहिलो छोरा नै हुनुपर्ने खालको थियो । त्यसैले पनि राजसंस्थाविरुद्ध महिलाहरू आन्दोलनमा सक्रिय रूपमा सहभागी भएको भन्ने लाग्छ ।

    तपाईं प्राध्यापन पेसामा हुँदाहुँदै आन्दोलनमा कसरी सहभागी हुनुभयो ?

    म प्राध्यापन सेवामा थिएँ । आन्दोलनमा सहभागी हुँदा ममाथि ठुलै दबाब आएको थियो । म जस्तो महिलालाई किन त्यो क्याम्पसमा पढाउन दिइराखेको भनेर मेरो नाममा दरबारको सचिवालयबाट दुई वटा चिठ्ठी आएको थियो रे । तर पनि म ‘भाग्यमानी’ हो जस्तो लाग्छ । त्यो बेला म पक्राउ पर्दा बिदाको दिन परेको हुन्थ्यो ।

    त्यही भएर क्याम्पस प्रशासनले ‘क्याम्पसमा उहाँले कक्षा लिइरहनु भएकै छ । क्याम्पसबाहिर उहाँ कहाँ जानुहुन्छ ? के गर्नुहुन्छ ? त्यो हाम्रो सरोकारको विषय होइन’ भन्ने जवाफ पठाएछ । त्यो बेलाको क्याम्पस प्रशासनले मलाई साथ दिएको थियो । हुन पनि म क्लास पनि लिँदै आन्दोलनमा सहभागी हुन्थेँ । कहिले बिदा पर्थ्यो ।

    आन्दोलनको समयमा जेल पनि बस्नुभयो ? कोको हुनुहुन्थ्यो जेलमा ?

    म पाँच पटक जेल परेँ । जेलको यात्रामा म सँगसँगै पक्राउ पर्नेमा डा. मीना पौडेल, कल्याणी शाह हुनुहुन्थ्यो भने जेलभित्र जाँदा सहाना प्रधान, उमा रेग्मी, मञ्जु थापा पनि हुनुहुन्थ्यो ।

    त्यो आन्दोलनमा आमसमुदायका महिलाको सहभागिता कस्तो थियो ?

    ‘लिडर’ भनेको जहिले पनि कमै हुन्छ तर ‘क्वालिटी’ को हुनुपर्छ । आन्दोलनको ‘क्वान्टिटी मास’ भनेको त जनसमुदाय नै हो । यो दृष्टिकोणबाट भन्दा महिलाको सहभागिता राम्रो थियो । राजतन्त्रकै कारणले गर्दा हामीले एउटा लोकतन्त्रको प्रत्याभूत नभएको र अर्को दलीय राजनीति गर्न नपाउने अवस्थाकै कारण राजतन्त्रलाई हेर्ने तरिका फरक हुन पुगेको थियो । कसैले राजतन्त्र फाल्नुपर्छ भन्थे, कसैले फाल्नु हुँदैन भन्थे । राजतन्त्र फाल्नुपर्छ भन्नेमा कम्युनिष्टभित्रै पनि फरक मत थियो ।

    कम्युनिष्टभित्रै क–कसको फरक मत थियो ?

    कम्युनिष्ट पार्टीभित्र पनि दुई लाइन थियो । एउटा रायमाझी लाइन थियो, जसले राष्ट्रियताको प्रतीक भनेको राजा हो, राजाले मात्र देशलाई एक ठाउँमा राख्न सक्छन् भन्थे । अर्को पुष्पलाल समूह थियो । पुष्पलालको विरासतले काङ्ग्रेससँग मिलेर भए पनि राजसंस्थालाई नियन्त्रण गर्ने मात्र होइन, यो संयन्त्र र संरचनालाई निश्चित रूपमा भत्काउन पर्छ भन्थे । हाम्रो पनि राजतन्त्रतात्मक संरचना नै भत्काउन पर्छ भन्ने माग थियो ।

    २०४६ सालको आन्दोलनलाई अहिले सम्झिँदा कस्तो लाग्छ ?

    २०४६ सालको जनआन्दोलन जनयुद्ध सुरु गर्नका लागि एउटा ‘मात्रात्मक कदम’ को रूपमा म बुझ्छु । वास्तवमा २०४६ सालको क्रमभङ्ग जनयुद्धले गर्‍यो । २०४६ को आंशिक उपलब्धि जुन संवैधानिक राजतन्त्र थियो, त्यसलाई क्रमभङ्ग गरेर राजतन्त्रलाई नै उखेल्ने काम जनयुद्धले गर्‍यो । मात्रात्मक आन्दोलनले गुणात्मक फड्को मार्ने काम गरिदियो जसले गर्दा जनयुद्धले ठुलो छलाङ मार्‍यो । लक्ष्यमा पुग्न विभिन्न जनआन्दोलनहरू मात्राको रूपमा चाहिन्छ तर जनयुद्धले ती मात्रालाई गुणमा फड्को मार्न सफल भयो ।

    सन्धान, प्रकाशन मिति २०७९ बैशाख ३ गते शनिवार


    Previous article‘पञ्चायत सरकारले २०३५ सालमा मेरो टाउकोको मोल तीनलाख तोकेको थियो रे’
    –सुशीला श्रेष्ठ
    Next article‘२०४६ को जनआन्दोलनमा महिलाहरू मियो नै थिए’ -डा. मीना पौडेल