अन्जु प्रसाईं बर्देवा पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनदेखि शिक्षक आन्दोलन, विद्यार्थी आन्दोलन र महिला आन्दोलनकी एक जुझारु पात्रमा गनिनुहुन्छ । उहाँको जन्म २०२५ साल फागुन २९ गते भएको थियो । झापा जिल्लास्थित मेचीनगर नगरपालिका वडा नम्बर ११ मा बसोबास गर्दै आएकी उहाँले परिवारका सदस्यहरूकै प्रेरणाबाट आफू राजनीतिमा लागेको र पञ्चायती व्यवस्था हटाई बहुदल प्राप्तिको आन्दोलनमा सक्रिय भई हिरासत र जेलसमेत बसेको बताउनुभयो । उहाँ पञ्चायतकालमै विद्यार्थी राजनीतिमा संलग्न भई अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को स्कुल कमिटी सचिव हुनुभयो । अन्तरजातीय प्रेमविवाह गर्नुभएकी उहाँले व्यवस्था परिवर्तनका लागि महिलाले गरेको योगदानबारे राज्यले मूल्याङ्कन नगरेका कारण तिनका सन्तानलाई पनि कमै जानकारी हुने गरेको बताउनुभयो ।
‘सन्धान’ टोली राजनीतिक र सामाजिक परिवर्तनका आन्दोलनमा महिला इतिहासका मौखिक र मौलिक सामग्रीको खोजी गर्ने क्रममा २०७९ मङ्सिरमा झापा पुगेको थियो । त्यति बेला टोलीले अन्जुसँग भेटेर गरेको कुराकानीलाई राजनीतिक व्यवस्था परिवर्तनका लागि लड्दाको अनुभव र भूमिकासँगै बहुदल प्राप्ति र परिवर्तनका आन्दोलनमा महिलाको सहभागिता, योगदान, नेतृत्व र चुनौतीका बारेमा केन्द्रित गरेको थियो । प्रस्तुत छ, सन्धानका तर्फबाट गार्डिका बज्राचार्य, समीक्षा गाहा तथा पत्रकार सुजाता ढुङ्गानाले अन्जु प्रसाईं बर्देवासँग गर्नुभएको कुराकानीको स्वकथनसहित भिडियो अंश :
म सानैदेखि दाइसँग बसेको र स्कुल पढेको । मैले दाजु–भाउजूबाट, खासगरी भाउजूबाट, राजनीतिको कुरा सिकेँ । भाउजूले जात केही होइन भन्ने कुरा सिकाउनुहुन्थ्यो । मेरो विद्यार्थी जीवन आन्दोलन नै आन्दोलनमा गयो, जो राजनीतिक जीवनको जग भयो । मैले पञ्चायती व्यवस्थाका समयमा अनेरास्ववियुको सचिव भएर गाउँ कमिटी चलाएँ । शिक्षक आन्दोलनमा पनि रहेँ । कफ्र्यु लागेको समयमा पनि प्रहरीबाट लुक्दै, भाग्दै विरोधका कार्यक्रम गर्थ्याैं । त्यति बेला पक्राउ, जेल, हिरासत, धम्की र प्रलोभन सबै बेहोर्दै आन्दोलन गर्यौँ । त्यति बेला मेरो काका भने पञ्चायत पक्षधरकै प्रधानपञ्च हुनुहुन्थ्यो । उहाँले हामीलाई आफूतिर तान्नको लागि ‘च्यातिएको लुगा किन लगाको ? म नयाँ लुगा किन्दिन्छु’ भन्नुहुन्थ्यो । मैले लगाएका कमिजहरू यताउति फाटेको हुन्थ्यो तर म ‘आफ्नै इच्छाले लगाएको’ भन्ने जवाफ दिन्थेँ । मैले नमानेपछि ‘व्यवस्थाको विरोध गर्ने तँलाई पक्राउँछु’ भन्नुहुन्थ्यो । मैले पनि ‘पक्राएर देखाउनु न’ भनेर निडर भएर जवाफ दिन्थेँ ।
आन्दोलनको कुरा गर्दा २०४६ सालको जनआन्दोलनको भन्दा अगाडि २०४४ सालतिरको घटना स्मरण गर्नुपर्छ । भारतले (भुटानी) शरणार्थीलाई खेदेको र नेपालले बस्न नदिएको अवस्था थियो । नेकपा मालेले यसको समाधानबारे भेला गर्ने भयो । कफ्र्यु लागेको थियो तर हामी पुलिसको कडा निगरानी छल्दै माई किनारमा भेला भयौँ । कोणसभा गरिरहेका बेला प्रहरी पुग्यो र घेरा हाल्यो । घेरा हालेपछि सबैलाई उभिन भन्यो । हामी करिब १२–१३ जना थियौँ । मेरो छेउमा लक्ष्मी पाण्डे सानाबारघरेका एकजना साथीसँगै लता प्रसाईं भाउजू पनि हुनुहुन्थ्यो ।
पुलिसले हामीलाई गोलो बनाएर राखेर घ्याड्याकघुडुक पार्दापार्दै ड्याङ्ग हानिहाल्यो । म त आफ्नै टाउकोमा गोली लागेछ कि जस्तो भएर टाउको समाउन लागेछु तर गोली लक्ष्मी पाण्डेलाई लागेको रहेछ । उहाँ आँखै अगाडि ढलिहाल्नुभो । उहाँलाई हामी ‘लक्ष्मी दिदी’ भन्थ्यौँ । उहाँको घर कहाँ हो, को हो भन्ने धेरै चिनेको थिइनँ । सँगै भएकाले उहाँलाई काँधमा अड्याउन खोजेँ तर भुईंमा ढलिहाल्नुभयो । त्यसपछि म बाघले जसरी झम्टेर ‘किन मारिस् ? किन मारिस् ?’ भनेर पुलिसलाई भन्न पुगेछु । त्यो सुनेर एउटा पुलिसले मलाई बन्दुक ताक्दै थियो । अर्को पुलिसले ‘गोली हान्ने आदेश छैन’ भन्दै रोक्यो । पर पुलबाट लुकेर हेरिरहेका एक जनाले दौडेर आएर ‘मर्ने मान्छे तल पृथ्वीनगरको लक्ष्मी पाण्डे हो’ भन्नुभयो । उहाँको शवलाई गाडीमा हालेर ढ्याम्म ढोका लाएर पुलिस गयो । त्यसपछि हामी नारा जुलुस गर्दै माथि डाँडा (सुरुङ्गा) गयौँ । त्यहाँ पुग्दा काठमाडौँ जाने नाइट बस छुट्ने बेला भएको थियो । हामीले एक–एक गरी बसहरूलाई रोक्दै ‘लक्ष्मी पाण्डे मारिएको खबर काठमाडौँमा पुर्याइदिनू’ भन्यौँ । काठमाडौँका पत्रिकाले लेखिदिए भने देशभरि सबैलाई थाहा हुन्छ भनेर त्यसो गरिएको थियो । अहिलेको जस्तो फोन गर्ने सुविधा थिएन ।
पञ्चायत व्यवस्था हटाउनका लागि हामी पार्टी सङ्गठनबाट लागिरहेकै हुन्थ्यौँ । म त्यति बेला क्याम्पस पढ्दै थिएँ । २०४६ को जनआन्दोलनका लागि क्याम्पसबाट अनेरास्ववियुको झन्डा, अनि पार्टी र अनेमसङ्घको झन्डा गरी तीनवटै झन्डा फागुन ७ गते देखाउने तयारी थियो । म बिहान क्याम्पस गएको थिएँ । क्याम्पसबाट आएर दाइको घरमा खाना खाएँ । हामी भलिबल धेरै खेल्थ्यौँ । मलाई ‘पक्राउ पर्छु’ भन्ने थाहा थियो । यसैले भलिबल खेल्ने जस्तै गरी हाफपाइन्ट लगाएँ । भाइसँग त्यो दिन ‘आज त मैले कुटाइ खान्छु, भरे मलाई थुन्छ होला, फेर्ने लुगा पनि हुँदैन, तेरो पाइन्ट दे’ भनेँ । भाइले हतार हतार गर्दै गएर झोलामा पाइन्ट राखेर ल्याइदियो । अनि मैले पोखरीको मुन्तिर गएर दुइटा सर्ट, भित्र टिसर्ट, दुइटा पेन्टी गरेर सबै लुगा दुई–दुईसरो लगाएँ । क्याम्पसबाट पक्राउ गर्ने भनेर मेरो नाममा वारेन्ट जारी गरिएको थियो । त्यही भएर मलाई पुलिसले हेरिरहेको रहेछ । राती साढे नौ बजे पक्रिहाल्यो ।
मलाई पक्रिँदा कसैले नदेखेको हुनाले पश्चिमपट्टि भएको झ्यालबाट मैले ‘ए भाइ, ए दाइ, अन्जु प्रसाईंलाई पक्रिएको छ भन्दिनु है’ भनेँ । मपछि सबैलाई पक्रिँदै हाल्दै गरेकाले बिहान ९ बजेदेखि दिउँसोको ४ बजेसम्म अटाउनै नसक्ने खचाखच भयो । पुलिसलाई ‘पाँच मिनेट बाहिर जान्छु’ भनेँ । पिसाब गर्नुपर्ने थियो तर जान दिएन अनि मैले भित्रतिर पुलिसहरूको टोपी थियो, त्यो देखाउँदै ‘मलाई अफ्ठ्यारो परिसक्यो, तिमीहरूको टोपीमै पिसाब गर्दिऊँ ?’ भनेँ । ‘फेरिदे’ पो भन्छन् !
अनि रड लगाएको झ्यालमा गएर उभिएर बसेँ र उताबाट आइरहेकी महिला पुलिसको कपाल भित्रबाट च्याप्पै समातेर तानेँ र ‘मलाई ९ बजेदेखि थुनेको दिउँसोको ४ बजिसक्यो, दाइहरूको अगाडि एक्ली केटी चर्पी कसरी गरुँ ?’ भनेर उनलाई सोधेँ । अनि मात्र मलाई घेरेर बाहिर लगे । ‘हामी राजनीति गर्ने मान्छेलाई चर्पी लाँदा पनि किन घेरेको ? हामी भाग्दैनौँ । हामीसँग डराउनु पर्दैन’ भनेँ । मलाई दाह्रा किट्दै ‘तँ भरे आइज न !’ भन्दै थिए । फागुन ७ गते राती त हामीलाई ठुलो ट्रकमा हालेर खाद्य गोदाममा लग्यो । सबैतिरबाट कांग्रेस, कम्युनिस्ट सबै ल्याउँदा लगभग २४०–४१ जना भयौँ । महिला म मात्रै थिएँ । बेलुका भएपछि गोजीमा आ–आफूले लगेका झन्डाहरू निकालेर वरिपरि लगायौँ । ब्यानरहरू निकालेर सबैतिर टाँस्यौँ । हामीले त्यो चिसो भुँइमा बस्न नसकिने बताएपछि पाट (जुट) को बोरा ल्याइदिए । त्यो पाटको बोरा कसैले एउटा, कसैले दुई–दुई वटा छान्नुभयो । त्यस्तैखाले स्वभाव भएका कति साथीहरूले सिरानी हाल्नेदेखि भुईंमा बिछ्याउने गरी चार–पाँच वटासम्म लिनुभयो । मलाई पुगेन । नपुगेपछि अर्को एउटा दाइले दुइटा बोरा तानेर मलाई एउटा दिनुभयो र त्यही बोरा ओछ्याएर बसेँ ।
राती खाना खाइसकेपछि सिडिओ (प्रमुख जिल्ला अधिकारी) आएर ‘बिर्तामोड जानको लागि तल झर्नु अरे’ भनेको सुनेँ । डि.आर. (डिल्लीराम) बानियाँलगायत थुप्रै दाइहरूले नजान भन्नुभयो । ‘जान्छु नभन्नु है, एक्लै पारेर कुट्छ, तिमी यहीँ सुरक्षित छौ । आज कतिले ढुङ्गा हानेका छन्, खुट्टाले हानेका छन्, त्यसैले उनीहरू आक्रोशमा छन्, आज जान्छु नभन्नू, बरु भोलि जान्छु भन्नू’ भन्नुभयो । त्यसैअनुसार मैले सिडिओलाई ‘म जाँदिनँ’ भनेँ । ‘ल ठिक छ’ भनेर सिडिओ फर्किए । त्यसपछि त्यहाँ भएकाहरूले मलाई ‘डर लाग्दैन ?’ भन्नुभयो । मैले ‘सबै दाइ, काका, मामाहरू जस्तै त हो किन डराउनु ?’ भनेँ । त्यस रात २ बजेसम्म बसेर आ–आफ्ना पार्टीका नारा जुलुस गर्यौँ । रातैभरि जनवादी गीत गाउँदै बस्यौँ । त्यतिखेर त्यस्ता जनवादी गीत गाउन पनि पाइँदैनथ्यो तर ‘समातेर राखेकै छ’ भनेर गायौँ । दाइहरूले ‘प्रहरीले महिलाहरूलाई चेकजाँच गर्छ, सबै झन्डाहरू निकाल है’ भन्नुभएको थियो । मैले लगाएका दुईसरो लुगाभित्र चार वटा झन्डा लुकाएको थिएँ । प्रहरीले हेर्छ भनेर सबै झन्डा निकालेर टाँसेका थियौँ । प्रहरी बिहानपख आएर ‘यो के गरेको ? तिमीहरूको घर हो यो ?’ भनेर गाली गर्यो ।
हामीले पनि ‘यो हाम्रो राजनीति गर्ने घर नै हो’ भन्यौँ । पुलिसले ‘तिमीहरूलाई पुलिस लगाएर कुट्न लाउँछु’ भन्दा ‘हामी कुटाइ खानै आएका हौँ’ भन्थ्यौँ । तर्क गर्थ्याैं । चार रातसम्म हिरासतमा राखेपछि हामीलाई पाँचौँ दिनको बिहानै जेलमा लगियो । त्यहाँ लगेर शरीरमा के के छ कि भने जसरी जाँच गर्दा रहेछन् । पुरुष इन्स्पेक्टर, सई सबैका अगाडि महिला पुलिसले जिउमा हात लगेर छामछुम गर्न थालेपछि ‘ओइ, तँँलाई लाज लाग्दैन ? पुरुष पुलिसको छेउमा किन जिउमा हात लगाउँछेस्, कोठा छैन ?’ भनेर भनेँ । अनि बल्ल ‘कोठामा लगेर जाँच’ भन्ने आदेश आयो र मलाई कोठामा लगे ।
जेलभित्र पसेपछि मलाई किन हो रुन आयो । म डाँको छोडेर रोएछु । त्यहाँ हाम्रै क्षेत्रको द्रोण आचार्य (सविधानसभा सदस्य, २०७०) ले ‘हाम्री चेली पनि आइछन्, यो रुने ठाउँ होइन नानी, यो त राजनीति गर्ने ठाउँ हो, चुप लाग’ भन्नुभयो । अलि उतापट्टि दिव्य प्रसाईं र सरिता प्रसाईंलाई पनि देखेँ । मैले ‘नमस्कार’ भनेँ । खाना चाहिँ अर्को एक जना महिलाले, जो अर्कै अपराधमा जेल परेकी रहिछिन्, उनले दिइन् । खाना खाएँ अनि त्यहाँ भएका सबैसँग परिचय गरेर बसेँ । दिनभरि सबैसँग ‘कसरी जेल आएको’ भनेर सोध्दै बसेर बित्यो ।
जनआन्दोलनकै सन्दर्भमा २०४६ फागुन २५ गतेदेखि जेलमा अरू साथीहरू पनि आउन थाले । कैदीहरू पनि धेरै हुन थाले अनि रमाइलो भयो । त्यहीँ भलिबल खेल्थ्यौँ । म भलिबल खेलाडी पनि थिएँ । कहिले चेस मागेर खेल्थ्यौँ । बाहिरपट्टि निस्किएर सबैले रमाइलो गर्न थाल्यौँ । त्यहाँ भएका अरूले ‘तपाईं आएपछि हामी पनि बाहिर निस्किन पायौँ’ भन्थे । ‘योभन्दा अगाडि त बाहिर निस्किन पनि दिँदैनथ्यो’ भन्थे अरूले । हामी गएपछि जेलमै पनि केही खुलापनको अवस्था भयो । यसरी त्यहीँभित्र राजनीति हुन्थ्यो ।
एक दिन कालो झन्डा निकाल्नुपर्ने थियो तर कसैसँग थिएन । पुलिसले कसिकसाउ गरेर चेक गर्थ्याे । मैले द्रोण आचार्यसित ‘दाइ, मलाई नाटक गर्न आउँछ गरौँ ?’ भनेँ । अनि पेट दुख्यो भनेर क्वाँक्वाँ रुन थालेँ, ऐया ऐया गरेँ । त्यसपछि ‘कहाँ लग्नु ?’ भन्न थाले । मैले ‘मलाई मेची अस्पताल लग्नु, पहिला क्याम्पस पढ्दा पनि यस्तै हुन्थ्यो, म अन्त काहीँ जाँदिनँ, मलाई मेची अस्पतालकै चिनेको डाक्टरले हेरेपछि निको हुन्छ’ भनेँ । त्यो सबै नाटक थियो । मेची अस्पतालको एक जना दाइलाई हामीले अघिल्लो दिन कालो कपडा चाहियो भनेका थियौँ । डाक्टर भएको ठाउँमा प्रहरी जाने कुरा भएन । यही मौकामा दाइले ल्याइदिनुभएको कालो कपडा मैले लगाएको हाफ पाइन्टको गोजीमा राखेँ । ‘यो दबाइले काम गरेन’ भनेर फिर्ता गर्न पनि पाइने हुनाले ‘ल दाइ, ग्याष्ट्रिकको दबाइ दिनू’ भनेँ अलि सानो स्वरमा । दाइले यसो लेखेजस्तो गरेर दबाइ दिनुभयो । त्यो लिएर गइयो । दाइले दिएको दुई मिटर कालो कपडा च्यातेर सबैले बाँध्यौँ । कसैले ‘ए, द्रोणले धोती च्यातेर कालोपट्टी लगाए’ पनि भने । झन्डै एक महिना २५ दिन जेलमा बसेँ । त्यसरी रमाइलै गरेर बसियो ।
राम थापा हामीसँगै क्याम्पस पढ्नुहुन्थ्यो । उहाँको परिवारले कम्युनिस्टलाई समर्थन गर्थ्याे । उहाँ भने अनेरास्ववियुलाई समर्थन गर्ने तर हामी जसरी खुल्नुभएको थिएन । चैत्र १४ गते क्याम्पसमै आन्दोलनको कार्यक्रम राखिएको रहेछ । नेविसंघ पक्षधरले ‘कार्यक्रम गर्न नदिने’ भनिरहेका थिए रे ! तर, राम थापालगायत हाम्रा साथीहरूले विरोध गर्नुभयो । पछि अर्को पक्षका केटाहरूले राम थापालाई छुरा हानेछन् । घाइते भएपछि उहाँलाई त्यहाँबाट घोपा क्याम्प लगियो । त्यो ठाउँमा अहिले धरानको वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान छ । क्याम्पका डाक्टरहरूले ‘दश मिनेट अगाडि ल्याएको भए बचाउन सकिन्थ्यो’ भनेछन् । त्यो घटना भएको दिन हामीले जेलभित्रै ‘राम थापाको हत्यारालाई कारबाही गर’ भनेर नारा जुलुस गर्यौँ । यी गुन्डाहरूले आफूसँगै पढ्ने साथीलाई मारे अब अरूलाई पनि मार्छन् भन्ने डर थियो । यहाँ (जेल) बाट निस्कन पाए त धुलाबारीको गुन्डालाई मार्छु मार्छु भन्ने आँट पनि मनमा आउँथ्यो ।
जेलभित्र भए पनि हामीलाई बाहिरका घटना थाहा भइहाल्थ्यो । कोही भेट्न आउँदा, कसैले खाजा, खाना ल्याउने बहानामा कुराकानी हुन्थ्यो । खाना, खाजाको भाँडाको सबभन्दा तल कुनै कागज वा कपडा, झन्डा राखेर दिनुहुन्थ्यो । पुलिसले माथिबाट खाना झिकेर चाख्न लगाउँथ्यो । तलतिर हेर्दैनथ्यो । कहिले हामी कोही बिरामी भएको बहाना गरेर हस्पिटल जान्थ्यौँ, त्यहीँबाट आउँदा केही न केही लुकाएर केही कपडा तथा झन्डाहरू ल्याइन्थ्यो । पुलिसले नै फालेका मुढा बुन्ने मसिना सिन्का जम्मा गरेर पनि झन्डा बनाएर हल्लाउँथ्यौँ । हामीलाई खाना लिएर आउने वा भेट्न आउनेसँग कोड (सङ्केत) भाषामा कुरा हुन्थ्यो । जेलमा पुलिस हामीसँगै भइरहन्थे, त्यही भएर कोड भाषामा कुराकानी गर्थ्याैं । कसैले आज यस्तो हुँदैछ भनेर खबर दिनुहुन्थ्यो । ‘आमालाई कस्तो छ ?’ भन्यो भने ‘आमालाई कस्तो हुनु र भोलि उहाँलाई बिर्तामोड लाने, उपचार गराउने दिन छ, सबै दाइहरू भोलि त्यहीँ अस्पताल आउनुहुन्छ’ भन्ने जवाफ आयो भने ‘भोलि बिर्तामोडमा कार्यक्रम हुँदैछ, सबै भेला हुँदैछन्’ भनेर बुझ्नुपथ्र्यो । आवश्यक सामान ल्याइदिन भन्दा पनि ‘आमाले यस्तो के चाहियो भन्नुहुन्छ’ भन्थ्यौँ । कहिलेकाहीँ त प्रहरीले ‘यस्तो चाहियो भन्ने कस्तो आमा हो ?’ पनि भन्थ्यो । हामीले ‘देश बचाउने आमाहरू हुन्छन् नि, तपाईंहरू बुझ्नुहुन्न क्या सर, चुप लाग्नु न’ भन्थ्यौँ ।
कतिपय विद्यार्थीहरूलाई माफी मगाएर पनि छोड्यो, मलाई पनि ‘तपार्ईं विद्यार्थी हो माफी माग्नुस् र जानुस्’ भनेका थिए तर म मानिनँ । ‘म देशको लागि लड्ने मान्छे, तपाईं बर्दीधारी पुलिस, म विनाबर्दीको पुलिस् हो’ भन्ने जवाफ दिन्थेँ । रुखको हाँगा खसेर मर्छु कि भनेर रुखको छहारीमा बस्न डराउनुहुन्छ ? ‘सरले यति बुझ्नुस् कि हामी गोली खान तयार भएका मान्छे, गोली बारुदसँग डर लाग्दैन’ पनि भन्थ्यौँ । ‘नेपालमा बहुदल आउँछ भन्ने लाग्छ ?’ भनेर पुलिसले सोध्थे । हामीले त्यतिखेर ‘हेरिराख्नुस्, बहुदल ल्याएरै देखाउँछौँ’ भन्थ्यौँ । केही समयपछि एक जना पुलिसले मलाई बिर्तामोडमा भेटेर ‘ल्याइछाड्नुभो, बहुदल आउँछ भन्ने थाहा थियो क्या हो ?’ भनेका थिए । ‘देशैभरि नेपालीहरू हँसिया, हथौडा, छुरी, भाला, खुर्पा, भाँडाकुँडा सबै बोकेर निक्लिएका थिए, बहुदल ल्याउने त पक्का थियो नि’ भनेँ । झापामा हामीलाई ‘घरमा जे जे छन् त्यही त्यही लिएर निस्कने’ भनिएको थियो । सबै साथीहरूले अहिले जाँदा भरे फर्केर आउँछौँ कि आउँदैनौँ भन्ने सोचेर हिँड्थ्यौँ । हामी त आन्दोलनमा मर्न तयार भएका थियौँ ।
हिरासत र जेल बस्नुअघिसम्म भोलिपल्ट सुरु हुने आन्दोलनको तयारी रातभरि घरमै गर्थ्याैं । भाउजूले ‘भोलिको लागि तिमी अलिकति झन्डा बोकेर अनेरास्ववियुको तर्फबाट जाऊ, म अनेमसंघ र पार्टीको झन्डा बोक्छु’ भन्नुहुन्थ्यो । त्यति बेला मलाई आमाले ‘तँ तेरो दाइको चेला होस्, उसैले भनेको मान्छेस्, मैले भनेर नजान छोड्दिनस् तर मैले भरसक तिमीहरूको लास देख्नु नपरोस्’ भन्नुहुन्थ्यो । मैले चाहिँ ‘हामी मर्ने होइन, मारेर आउँछौँ, आशिर्वाद दिनुस् आमा’ भन्थेँ । कहिले चाहिँ ‘तपाईं पनि नेपाल आमा हो, तपाईंले त झन् हामीलाई जाऊ, लड, देश बचाऊ भनेर प्रोत्साहन गर्नुपर्छ’ भन्थ्यौँ । मेरी आमा उग्र स्वभावको हुनुहुन्नथ्यो, कुरा बुझ्नुहुन्थ्यो र उहाँले मलाई भन्नुहुन्थ्यो ‘ल जा, मैले तँलाई रक्षक पठाएँ ।’ भन्नलाई यस्तो भने पनि उहाँले ‘भोलि आउँछेस् कि आउँदिनस् ?’ भन्दै आँसु झार्नुहुन्थ्यो ।
चैत २६ गते (२०४६ सालको कुरा हो) राति १२ बजेपछि तत्कालीन राजाले बहुदल प्राप्तिको घोषणा गर्दा खुसीले हामीले झटारो हानिएछ । रेडियो नै फुट्यो । घोषणापछि मध्यरातको ३ बजेसम्म जेलमै नारा जुलुस गर्यौँ । ‘बहुदलीय व्यवस्था, जिन्दावाद’ भन्यौँ हामीले । गाउँका सारा मान्छे जेलबाहिर भेला हुनुभयो । सिडिओले ‘जेलका मान्छेहरू जानुहुन्छ भने राति नै छोडिदेऊ’ भनेर आदेश दिएका थिए रे ! तर, हामीले ‘डकैत गरेर आएका हौँ र रातमा जाने ?’ भनेर प्रश्न गर्यौं अनि भोलिपल्ट मात्रै निस्किने तयारी गर्यौँ । सोहीअनुसार चैत २७ गते उज्यालोमा सबै साथीहरू बोलाएर नारा जुलुस गर्दै जेलबाट निस्किएर गाडीमा चन्द्रगढी पुग्यौँ र घुम्दै नारा जुलुस गरेर कसरी कति समयमा बिर्तामोड आइपुग्यौँ थाहै भएन ।
विजय जुलुसमा के भएन होला र ! कसैले गीत गाउने, कसैका हातमा हथौडा, कसैका हातमा भाँडाकुँडा, पन्यु, झन्डा, हँसिया थिए । हामी आफूसँग भएका सबैथोक बोकेर विजय जुलुस गर्न हिँडेका थियौँ । माइकिङ गर्नेभन्दा पनि हामी त त्यतिखेर मुखैले बोल्थ्यौँ । सबैलाई रङ दलिदियौँ । मान्छे धेरै थियौँ । त्यो दिन स्टेजमा उक्लिएका जेलभित्र बसेका हामीहरू नरुने कोही थिएनौँ । सायद खुसी र दुःख दुवै अनुभूतिका आँसु होलान् ! त्यो क्षण नरुने कोही पनि थिएनन् । छोराछोरी जन्मिइकन २८–२९ वर्षका भइसके, एक जुग नै बितिसक्यो तर त्यो दिन स्टेजमा बसेर रोएको हिजै जस्तो लाग्छ । मारिएका राम थापाको परिवार पनि त्यहाँ आउनुभएको थियो । हामी उहाँहरूसँगै सबै साथीहरूसँग अङ्कमाल गरेर रोयौँ । त्यहाँ धेरै नेताहरू आउनुभएको थियो । विश्वेश्वरा दाहालले जेल जीवनबारे बोल्नुभयो । द्रोण आचार्यले पनि बोल्नुभयो । बहुदल घोषणापछि अब हाम्रो सत्ता हुने भयो । मण्डलेहरूले टाउको लुकाए । हाम्रा साथीहरूलाई घाइते बनाए, राम थापालाई मारे । थाहा नपाएको त कति के के गरे यिनीहरूले ?
पुरुषहरूले लुकेर हिँड्नुपर्ने अवस्था हुँदा महिलाहरूले धानेका थिए पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलन । घरपरिवार, साना बच्चा केही नभनी लाग्थ्यौँ । मेरो त बिहे भएको थिएन, बहुदलपछि नै अन्तरजातीय प्रेमविवाह गरेको हो मैले । २०४६ सालको आन्दोलनमा सानो बच्चा भएका र गर्भवती अवस्थाका समेत महिलाहरू सहभागी भएर सडकमा नहिँडेको भए आन्दोलन सफल हुन सक्नेमा शङ्का थियो । त्यसरी महिलाले गरेको योगदानको उचित कदर राज्यबाट नभएको जस्तो लाग्छ । राज्यले महिलाहरूलाई त ५० प्रतिशतभन्दा माथि अझ एक प्रतिशत थप गरेर (सहभागिताको हक) दिनुपर्ने हो, तर त्यो काम भएको छैन । हाम्रो देश पुरुषहरूकै सत्ता भएको देश छ । मातृसत्तात्मक देश हुन्थ्यो भने हामीले केही बढी अधिकार पाउँथ्यौँ होला कि ! घरभित्रै त महिला र पुरुषमा धेरै अन्तर छ । घरमा जस्तै देशमा पनि महिलाले पाउनुपर्ने जति अधिकार पाएका छैनौँ । हामीले हिजो जति लडाइँ र योगदान गर्यौँ, देशले हामीलाई त्यति अधिकार दिएको छैन । २०४६ सालपछि यो ३४–३५ वर्षको दौरानमा कसैले यसरी मेरो योगदान र भूमिकाबारे सोधेको थिएन । बहुदल प्राप्तिको आन्दोलनमा म लागेको थिएँ भन्ने कुरा मेरै छोराछोरीलाई पनि कम थाहा छ । यस्तो कुरा सोधेर एकदम राम्रो गर्नुभयो ।
प्रकाशन मिति : २०८१ पाैष ८ गते, साेमवार
नेपाली राजनीतिमा महिलाका योगदानका थप कथाहरू
अपाङ्ता भएकाहरू जनआन्दोलन छयालिसमा सहभागी भयौँ, तर नेतृत्वले बिर्सियो – कुमार थापा (भिडियो सहित)
मेरो कोठा सेल्टर जस्तै थियो –सरस्वती चौधरी
बुबा प्रधानपञ्च, म पञ्चायत विरोधी –जयन्ती राई
तराई–मधेशमा महिलाको सहभागिता र योगदान महत्त्वपूर्ण थियो –धर्मेन्द्र झा
‘म सूचना आदानप्रदानको जिम्मेवारीमा थिएँ’ –डा. बिन्दा पाण्डे
‘म पक्राउ पर्दा छ वर्षको छोरालाई बाटोमा अलपत्र पारिदिए ’ –उमा रेग्मी
‘मेरो टाउकोको मूल्य दश हजार तोकिएको थियो’ – विष्णुमाया ओझा
२०४६ सालमा ‘गाउँको राणा’ देखि सरकारविरुद्ध लड्यौँ
सन्धान संवाद : खुलामञ्चबाट ३२ वर्षअघिको सम्झना
‘म स्वतःस्फूर्त २०४६ सालको आन्दोलनमा सहभागी भएको थिएँ’ –बुद्धलक्ष्मी महर्जन
‘प्रहरीबाट बच्न लुकेर बसेको कोठामै प्रहरीले कुटपिट गरे’ –लक्ष्मी कार्की
‘२०४६ को जनआन्दोलनमा महिलाहरू मियो नै थिए’ -डा. मीना पौडेल
‘मलाई किन नहटाएको भनेर क्याम्पसमा दरबारबाट पत्र आएछ’ –हिसिला यमी
‘पञ्चायत सरकारले २०३५ सालमा मेरो टाउकोको मोल तीनलाख तोकेको थियो रे’ –सुशीला श्रेष्ठ
चैत ३ को आन्दोलन २०४६ को जनआन्दोलनका लागि उर्जा बन्यो -हरिगोविन्द लुईँटेल
मलाई पनि गोली लाग्यो भन्ने हल्ला चलेछ –सुम्निमा तुलाधर
‘फ्याक्ट्री’ मा राजनीति घुसेपछि लुटिएको रोजीरोटी –सञ्जोगिता शाह
‘चैत ३ मा धर्ना बस्ने सबै सहभागीका लागि कालोपट्टी बनाएँ’ –निशा शर्मा, रङ्गकर्मी
जनआन्दोलन २०४६ सालको आन्दोलनको समर्थनमा अमेरिकामै आन्दोलन गर्यौँ –डा. मञ्जुला गिरी
‘भर्खरै बिहे भएका हामी दम्पती नै आन्दोलनमा लाग्यौँ’ –प्रा.डा. सुधा त्रिपाठी
‘हिरासतमा प्रहरीले दुर्व्यवहार गरेको थियो’ – डा. बेञ्जू शर्मा
जनआन्दोलनमा मजदुर मोर्चाबाट क्रियाशील थिएँ –धनकुमारी सुनार
परिवर्तनकामी ‘विकासे’ हरूको समूहले लालटिन जुलुस निकाल्यौँ –शान्ता लक्ष्मी श्रेष्ठ
‘२०४६ सालमा महिलाहरु उर्लेर आएका थिए’ –कल्याणी शाह
‘रुपन्देहीमा महिलाहरुको सहभागिता र योगदान धेरै थियो’ –शान्ता बस्याल
‘मोतीदेवी जुझारु, इमान्दार र क्रान्तिकारी भावनाको हुनुहुन्थ्यो’ –अष्टलक्ष्मी शाक्य
पहिले र अहिले आकाश जमिनको फरक छ (भिडियो सहित) – सीता बिडारी
सही मूल्याङ्कन हुने सिस्टम बसाल्नुपर्छ – शशी श्रेष्ठ (भिडियो सहित)
महिलाहरू मिलेर प्रहरी कब्जाबाट वडाध्यक्षलाई फुत्कायौँ –रेशमकुमारी थापा
बुबा प्रधानपञ्च, म पञ्चायत विरोधी –जयन्ती राई
तराई–मधेशमा महिलाको सहभागिता र योगदान महत्त्वपूर्ण थियो –धर्मेन्द्र झा
‘म सूचना आदानप्रदानको जिम्मेवारीमा थिएँ’ –डा. बिन्दा पाण्डे
‘म पक्राउ पर्दा छ वर्षको छोरालाई बाटोमा अलपत्र पारिदिए ’ –उमा रेग्मी
‘मेरो टाउकोको मूल्य दश हजार तोकिएको थियो’ – विष्णुमाया ओझा
२०४६ सालमा ‘गाउँको राणा’ देखि सरकारविरुद्ध लड्यौँ
सन्धान संवाद : खुलामञ्चबाट ३२ वर्षअघिको सम्झना
‘म स्वतःस्फूर्त २०४६ सालको आन्दोलनमा सहभागी भएको थिएँ’ –बुद्धलक्ष्मी महर्जन
‘प्रहरीबाट बच्न लुकेर बसेको कोठामै प्रहरीले कुटपिट गरे’ –लक्ष्मी कार्की
‘२०४६ को जनआन्दोलनमा महिलाहरू मियो नै थिए’ -डा. मीना पौडेल
‘मलाई किन नहटाएको भनेर क्याम्पसमा दरबारबाट पत्र आएछ’ –हिसिला यमी
‘पञ्चायत सरकारले २०३५ सालमा मेरो टाउकोको मोल तीनलाख तोकेको थियो रे’ –सुशीला श्रेष्ठ
चैत ३ को आन्दोलन २०४६ को जनआन्दोलनका लागि उर्जा बन्यो -हरिगोविन्द लुईँटेल
मलाई पनि गोली लाग्यो भन्ने हल्ला चलेछ –सुम्निमा तुलाधर
‘फ्याक्ट्री’ मा राजनीति घुसेपछि लुटिएको रोजीरोटी –सञ्जोगिता शाह
‘चैत ३ मा धर्ना बस्ने सबै सहभागीका लागि कालोपट्टी बनाएँ’ –निशा शर्मा, रङ्गकर्मी
जनआन्दोलन २०४६ सालको आन्दोलनको समर्थनमा अमेरिकामै आन्दोलन गर्यौँ –डा. मञ्जुला गिरी
‘भर्खरै बिहे भएका हामी दम्पती नै आन्दोलनमा लाग्यौँ’ –प्रा.डा. सुधा त्रिपाठी
‘हिरासतमा प्रहरीले दुर्व्यवहार गरेको थियो’ – डा. बेञ्जू शर्मा
जनआन्दोलनमा मजदुर मोर्चाबाट क्रियाशील थिएँ –धनकुमारी सुनार
परिवर्तनकामी ‘विकासे’ हरूको समूहले लालटिन जुलुस निकाल्यौँ –शान्ता लक्ष्मी श्रेष्ठ
‘२०४६ सालमा महिलाहरु उर्लेर आएका थिए’ –कल्याणी शाह
‘रुपन्देहीमा महिलाहरुको सहभागिता र योगदान धेरै थियो’ –शान्ता बस्याल
‘मोतीदेवी जुझारु, इमान्दार र क्रान्तिकारी भावनाको हुनुहुन्थ्यो’ –अष्टलक्ष्मी शाक्य
पहिले र अहिले आकाश जमिनको फरक छ (भिडियो सहित) – सीता बिडारी
सही मूल्याङ्कन हुने सिस्टम बसाल्नुपर्छ – शशी श्रेष्ठ (भिडियो सहित)
महिलाहरू मिलेर प्रहरी कब्जाबाट वडाध्यक्षलाई फुत्कायौँ –रेशमकुमारी थापा
अपाङ्गता भए पनि जनआन्दोलनमा सहभागी भएँ (भिडियो सहित)– सूर्यकुमारी गुरुङ
गोली लागेका श्रीमान्काे शव पनि हेर्न दिइएन (भिडियो सहित)
पक्राउ पर्ने डरले भेष बदलेर हिँड्थेँ – सुप्रभा घिमिरे
महिला मुक्तिका कुराले तानेपछि (भिडियो सहित)
त्यस बेलाको जस्तो राजनीति कहाँ पाउनु अहिले ! (भिडियाे सहित)