जनआन्दोलन–२०४६ मा महिला सहभागिता र योगदान विशेष
तत्कालीन व्यवस्था परिवर्तनका लागि २०२८ सालदेखि विद्यार्थी राजनीतिबाट राजनीतिक आन्दोलनमा लाग्नु भएकी सुशीला श्रेष्ठ २०३५ सालदेखि एक दशकभन्दा बढी भूमिगत राजनीतिमा संलग्न हुनुभयो । २०३५ साल पुसमा राष्ट्रिय सम्मेलनद्वारा गठन भएको तत्कालीन नेकपा (माले) मा आबद्ध भएर काम गर्नुभएकी श्रेष्ठ पूर्वी नेपालको पहाडी जिल्लाहरुमा राजनीति गर्दा पार्टीको काम अन्तर्गत नै गाउँगाउँमा विद्यार्थी, महिला र किसानहरुलाई संगठित गर्ने काममा क्रियाशील हुनुभयो ।
श्रेष्ठलाई २०३५ सालमा पार्टीले ताप्लेजुङ खटाएको थियो । उहाँलाई इलामबाट मालेका संस्थापक केन्द्रीय सदस्य रत्नकुमार बान्तवाले ताप्लेजुङ पुयाउँदै गर्दा चैत २७ गते प्रहरीले गोली हानेर बान्तवाको हत्या गर्यो । सुशीला घाइते हुनुभयो, प्रहरीबाट भाग्न पनि सफल हुनुभयो । चैत २७ गतेपछि नै सरकारले उहाँलाई पक्राउ गर्न खोजी गर्न थाल्यो । खोजी गर्दा नभेटेपछि ‘सुशीलाको सास वा लास ल्याउनेलाई तीन लाख दिने’ भनेर टाउकोको मोल तोकेको थियो । तर उहाँ प्रहरीबाट जोगिएर राजनीति गर्न सफल हुने भूमिगत नेता मध्येमा पर्नुहुन्छ । १५ वर्षकै उमेरदेखि राजनीतिक आन्दोलनमा विभिन्न भुमिकामा रहेर क्रियाशील उहाँले ‘सहाना प्रधान स्मृतिका आँखीझ्यालबाट’ पुस्तक पनि लेख्नुभएको छ ।
जनआन्दोलन–२०४६ सम्पन्न भएको ३२ वर्ष पुगेको छ । सो आन्दोलनलाई महिलाको दृष्टिकोणबाट स्मरण गर्ने उद्देश्यका साथ ‘सन्धान’ ले सुरु गरेको शृङ्खला जारी नै छ । यसै क्रममा आज प्रस्तुत छ, ‘सन्धान’ का तर्फबाट लक्ष्मी बस्नेतले गरेको कुराकानीमा आधारित सुशिला श्रेष्ठको स्मरण:
सन्धान, प्रकाशन मिति २०७९ बैशाख १ गते बिहिवार ।