पुरुषले आफ्नो स्थानलाई ‘फेमिनिस्ट’ बनाउने हो (भिडियोसहित) – सन्जोग ठकुरी

लैङ्गिक अध्ययन अन्तरक्रिया–३

योगमाया न्यौपाने ( विसं १९२४–१९९८) का पालामा उहाँको नेतृत्वमा भएको अभियानलाई अघि बढाउन सिकाउने र सघाउनेसम्ममा पुरुषहरूको प्रत्यक्ष र परोक्ष संलग्नता थियो । यद्यपि, नेपालको महिला आन्दोलनमा पुरुष संलग्नता, समस्या र आवश्यकताको बारेमा हुनुुपर्ने जति खोजी, अध्ययन र विश्लेषण हुन सकेको छैन ।

‘हामी दाजुभाइ’ संस्थाका अध्यक्ष सन्जोग ठकुरीले नेपालको महिलावादी आन्दोलन, यसका चुनौती र अबको बाटो विषयमा प्रवचन दिँदै २०८१ चैत १० गते काठमाडौँमा भएको एउटा अन्तरक्रियात्मक कार्यक्रममा महिलावादी आन्दोलनमा पुरुष संलग्नताको कुरा उठाउँदै गर्दा सो कुरा पनि भन्नुभएको थियो ।

सन्जोगका अनुसार, बुझ्नुपर्ने र बुझाउनुपर्ने कुरा धेरै छन् । पुरुषको संलग्नता र समस्याका बारेमा कसरी र कुन आधारमा हेर्ने भन्ने कुरामा पनि स्पष्टता हुनुपर्छ । पुरुषहरू आफ्नै प्रजनन स्वास्थ्यका बारेमा पनि त्यति जानकार छैनन् जति उनीहरू महिलाको प्रजनन स्वास्थ्यका सम्बन्धमा छन् ।

“धेरै पुरुषसँग अनौपचारिकरूपमा कुरा गर्दा उनीहरूलाई पाठेघर क्यान्सरको बारेमा धेरै थाहा छ तर प्रोस्टेट क्यान्सरको बारेमा थाहा छैन भन्ने बुझियो,” उहाँले भन्नुभयो । हाम्रो परिवार, समाज र राज्यले महिलालाई जसरी खतरामा पर्न पुरुषलाई नसिकाएको हुनाले पुरुषका स्वास्थ्यलगायतका समस्याका बारेमा पुस्तक नै नलेखिएको पनि उहाँको भनाइ थियो ।

“प्रचलित हेराइले महिलावादी ‘डिस्कोर्स’ लाई कता लग्छ भन्ने एउटा चिन्ता छ भने अर्को चिन्ता यसले कतै महिलाको स्थान ओगट्ने त हैन भन्ने पनि छ,” सन्जोगले महिलावादी आन्दोलनमा पुरुष संलग्नताको सवाललाई जोड्दै भन्नुभयो, “मैले त सधैँ भन्ने गरेको छु, पुरुषको काम भनेको महिलाको ‘स्पेस’ ओगट्ने होइन, आफ्नो स्पेसलाई ‘फेमिनिस्ट’ बनाउने हो ।”

त्रिभुवन विश्वविद्यालयमा महिला अध्ययनदेखि लैङ्गिक अध्ययनसम्मको पठनपाठन यात्रालाई केलाउँदै उहाँले बोधको दायरा बढ्दै गएको र पठनपाठनमा महिला मात्र नभएर पुरुषको संलग्नता पनि देखिएको बताउनुभयो । सन्जोगको विचारमा नेपालको महिलावादी आन्दोलनले पुरुष, पुरुषत्व, पुरुषका पनि समस्या हुन्छन् भन्ने कुराको बोध, स्थानीय ज्ञान, युवा सरोकारका विविध विषय आदिलाई पनि बुझेर अघि बढ्न सक्दा लैङ्गिक विषयमा समाज अध्ययन पनि फराकिलो हुन र समेटिन सक्छ ।

लैङ्गिक अध्ययन केन्द्रीय विभागसँगको सहकार्यमा द स्टोरी किचेनको अनलाइन माध्यम ‘सन्धान’ ले ‘नेपालको महिलावादी आन्दोलन, यसका चुनौती र अबको बाटो’ विषयमा २०८१ चैतको दोस्रो साता गरेको अन्तरक्रियात्मक कार्यक्रमबाट प्राप्त ज्ञानात्मक अन्तर्वस्तुको यो तेस्रो शृङ्खला हो ।

कार्यक्रममा नेपालमा महिलावादी आन्दोलनको अवस्था के छ, यसले उठाउनुपर्ने मुद्दाहरू के के देखापरेका छन्, यसका चुनौतीहरू के कस्ता छन् र अबको बाटो के कसरी तय गरिनुपर्छ भन्ने प्रश्नको सेरोफेरोमा बौद्धिक विमर्श चलेको थियो । प्रमुख तीनमध्येका एक वक्ताको मौखिक प्रस्तुतिको भिडियो रेकर्डका आधारमा ‘सन्धान’ ले सामान्य सम्पादनसहित यो लिखित पाठ तयार गरेको हो ।

आजको शृङ्खलामा प्रस्तुत छ, ‘हामी दाजुभाइ’ संस्थाका अध्यक्ष सन्जोग ठकुरीको प्रस्तुतिको भिडियोका साथमा सहकार्यात्मक लिखित पाठ :

म ‘फेमिनिज्म’ भन्ने शब्द रुचाउँछु । यसमा मेरो आफ्नै स्ट्यान्ड (अडान) छ । हामीमध्ये कतिले फेमिनिज्मलाई नारीवाद भन्छौँ त कतिले महिलावाद भन्ने गर्छौं तर मलाई भने फेमिनिज्म शब्द बढी समावेशी र बृहत् लाग्छ । यसको कुनै प्राज्ञिक सैद्धान्तिक आधार मैले पढेको नभए पनि यो मेरो आफ्नो वैचारिकी अडान हो ।

मेरो विचारमा जब हामी आफूलाई नारीवादी भन्छौँ वा नारीवादसँग नजिक पाउँछौँ तब हामी नारीत्व वा स्त्रीत्व नै विभेदको मूल कारण हो भनिरहेका हुन्छौँ । र, जब हामी महिलावाद भन्छौँ तब व्यक्तिको लैङ्गिक पहिचान, त्यसमा पनि महिला हुनुलाई विभेदको जराकारण मानिरहेका हुन्छौँ । तर, त्यस्तो होइन ।

वास्तविकता त के हो भने एकतर्फ नारीत्व पुरुषमा भए पनि विभेद हुन्छ र हामीले भन्ने गरेको पुरुषको व्याख्याले नसमेटिने पुरुषहरूमाथि पनि विभेद हुने गर्छ । यस्तै, अर्कोतर्फ पुरुषत्व अँगालेकै भए पनि महिलामाथि समेत विभेद हुने गर्छ । तसर्थ मेरा लागि महिलावाद र नारीवादभन्दा फेमिनिज्म शब्द बढी फराकिलो हुने गर्छ । मेरो त्यही स्ट्यान्डप्वाइन्टको आधारमा म फेमिनिज्म र फेमिनिस्ट भन्ने शब्द प्रयोग गर्छु ।

फेमिनिज्ममा पुरुषहरूको संलग्नताको इतिहासको कुरा गर्दाखेरि हामी ‘फस्ट वेभ’ देखि नै पुरुषहरू देख्छौँ । ती पुरुषहरू के महिलावादी थिए त ? उनीहरू ‘फेमिनिस्ट’ नै थिए त ? यसको जवाफका लागि फेमिनिज्म र फेमिनिस्ट भनेको के हो बुझ्नुपर्ने हुन्छ । के कोही जन्मनासाथ वा एउटा विचारमा आउनासाथ ठ्याक्कै फेमिनिस्ट हुन्छ ? शतप्रतिशत फेमिनिस्ट भनेको कस्तो भन्ने छलफल पनि एकदम आवश्यक छ जस्तो लाग्छ ।

कुनै पनि वाद र त्यसका अनुयायी भनेका निरन्तर विकास हुँदै आएका हुन्छन् । यो यसरी नै अघि बढ्दै जाने हुन्छ । यो ‘इभल्भिङ’ हुने कुरा हो । महिला पनि त्यसरी नै ‘इभल्भ’ भएका हुन्, जसरी पुरुष र अन्यहरू भएका छन् । वैचारिकीमा त सबै जना जहिलेसुकै इभल्भ हुने हो ।

अहिले पनि इभल्भ नै हुने हो तर, कहिलेकाहीँ त्यस्तो नहुन पनि सक्छ । नेपालको सन्दर्भमा अहिले ‘दिज्यू फेमिनिज्म’ को कुरा पनि उठिरहेको छ । यस विषयमा कुरा गर्दा मलाई लाग्छ, उहाँहरू इभल्भ नहुनुभएको भएर उहाँहरूमाथि ‘त्यस्तो’ लेबल लगाइएको हो ।

महिलावादको इतिहासमा फेमिनिज्मको पहिलो लहर सन् १८४८ देखि १९२० को दशकसम्म चल्यो । हामी महिलावादको फस्ट वेभबाटै पुरुषको संलग्नता देख्छौँ । त्यस समयमा पनि पुरुष संलग्न थिए । जोन स्टुअर्ट मिलले ‘सब्जेक्सन अफ वुमन’ मा लैङ्गिक समानताको पक्षमा तर्क गर्दै महिलाहरूको पुरुषप्रतिको कानुनी र सामाजिक अधीनतालाई चुनौती दिनुभयो ।

यसैगरी, फ्रेडरिक डग्लसले सेनेका फल्स कन्भेन्सनमा महिला मताधिकारको सशक्त समर्थन गर्दै ‘डिक्लेरेसन अफ सेन्टिमेन्ट्स’ पारित गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । फ्रेडरिक एक अश्वेत अधिकारकर्मी पुरुष हुनुहुन्थ्यो । उहाँले महिलाले मताधिकार पाउनुपर्ने एलिजाबेथको आवाजको समर्थन गर्नुभएको थियोे ।

कन्भेन्सनका आयोजकहरूमध्ये एक एलिजाबेथ क्याडी स्ट्यान्टन ‘डिक्लेरेसन अफ सेन्टिमेन्ट्स’ का प्रमुख लेखक हुनुहुन्थ्यो । कन्भेन्सन र ‘डिक्लेरेसन अफ सेन्टिमेन्ट’ एलिजाबेथको खास आइडिया हो । त्यो त्यति बेलाको ‘डिक्लरेसन अफ सेन्टिमेन्ट्स’ लाई महिलावादी भावनाहरूको एक खालको घोषणापत्र हो पनि भन्न सकिन्छ ।

त्यति बेला एलिजाबेथले प्रस्तुत गर्नुभएको महिलाको मताधिकारको विषय चाहिँ एकदमै ठुलो र विवादित मुद्दा थियो । त्यसलाई फ्रेडरिकले ठुलो आवाजसाथ समर्थन गर्नुभएपछि त्यहाँ ‘भोटिङ’ भयो । सम्मेलनका सहभागी झन्डै तीन सय जनामध्ये सय जनाले प्रस्तावको अनुमोदन गरे । तीध्ये ३२ जना पुरुष थिए ।

सुसन बी. एन्थोनी अमेरिकाका महिला मताधिकार आन्दोलनका अग्रणीहरूमध्येका हुनुहुन्थ्यो । उहाँले सन् १८५१ मा एलिजावेथसँगको भेटपछि मताधिकार आन्दोलनमा सँगसँगै काम गर्न थाल्नुभयो ।

महिलावादको दोस्रो लहर सन् १९६३ देखि १९८० को दशकसम्म चल्यो । दोस्रो लहर हेर्ने हो भने अलिकति बढी विस्तारित भएको देखिन्छ । त्यो ‘सेकेन्ड वेभ’ लाई म दोभान पनि भन्छु । ‘र्‍याडिकल फेमिनिस्ट’ र मार्क्सवादी विचारधाराको समाजवादी र मार्क्सवादी फेमिनिज्मको एउटा दोभान थियो त्यो । त्यही दोभानमा आउँदाखेरि ‘मेन एन्ड मास्कुलिनिटी’ का विचारहरू अलिकति इभल्भ पनि भयो ।

इभल्भकै समयमा यो अलिकति विवादित पनि भयो, किनकि र्‍याडिकल फेमिनिस्टको मूल आधार नै ‘हाम्रो उत्पीडनको मुख्य कारक पुरुष, पुरुषत्व र पितृसत्ता’ हो र ‘हाम्रो समस्यै यही हो’ भन्ने थियो । त्यसकारण पुरुषहरू महिला उत्पीडनको विरुद्धमा ‘प्रतिबद्ध’ हुनै सक्दैनन्, उनीहरू महिलाहरूको समर्थनमा आउनै सक्दैनन् भन्ने भावनामा जोड दिइयो ।

मिरा मिश्र म्यामले पनि महिलाको जीवन नभोगेको व्यक्ति फेमिनिस्ट हुनै नसक्ने विचार राख्नुभयो । महिलाको जीवन नभोगेका उनीहरू कसरी फेमिनिस्ट हुन सक्छन् भन्ने प्रश्न उहाँको थियो । जसले दमन नै भोगेको छैन भने उसले कसरी दमन भोगेकाहरूको पक्षबाट बोल्न सक्छ ? यसैले उनीहरू महिलावादी हुन सक्दै सक्दैनन् नि ! यस्तो ‘स्ट्यान्ड’ मा आएको थियो उहाँको त्यो कुरा ।

सन् १९६०–१९८० को दशकको सेकेन्ड वेभमा धेरै सामाजिक आन्दोलन र महिलावादी आन्दोलनहरू एकै ठाउँमा जोडिए । त्यहाँ वर्गीय आन्दोलनका मानिसहरू थिए । रङ्गभेदी आन्दोलनका मानिसहरू पनि थिए । त्यहाँ महिला मात्र थिएनन्, सामाजिक असमानताका कुरा गर्ने पुरुषहरू पनि थिए । त्यो बेलामा पुरुषहरू पनि त्यहाँ आइपुगे ।

महिलावादी आन्दोलनमा पुरुषहरू पनि जोडिन आइपुगे तर, त्यो बेला त्यहाँ फरक फरक धारका महिलावादी विचारधाराहरू थिए । त्यस्तो हुँदाखेरि र आन्दोलन खासगरी ‘र्‍याडिकल फेमिनिस्ट’ को नेतृत्वमा हुँदाखेरि पुरुषको संलग्नताका बारेमा अलिकति मन्थनहरू भएको थियो जस्तो लाग्छ ।

म यसलाई मन्थन नै भन्छु किनकि महिलावादमा पुरुष संलग्नताको विषयलाई हाम्रो समुद्र मन्थनको पृष्ठभूमिमा ल्याएर मन्थन गरी विशाल जनसमुद्रमा रहेको विष र अमृतरूपी दुवै भाव र तत्त्वलाई निकाल्न बाँकी थियो ।

विषको रूपमा पुरुषवादी अधिकारवादीहरूको जन्म पनि भयो, जसलाई ‘एमआरए’ (मेन्स राइट्स एक्टिभिस्ट्स) भनेर पनि चिनिन्छ । अमृतको रूपमा महिलावादलाई समर्थन गर्ने ‘प्रो–फेमिनिस्ट थट’ हरूको विकास भयो । ‘मास्कुलिनिटी’ का ‘डिस्कोर्सेस’ अगाडि आए । यसलाई यसरी भनौँ, पुरुषत्वका सङ्कथनहरू अगाडि आएको समय त्यही थियो ।

नेपालको उच्चशिक्षामा ‘महिला अध्ययन’ विषयको कुरा चलेको समय त्यही थियो । ‘एकाडेमिया’ मा ‘विमेन स्टडिज’ को कुरा चल्यो । विश्वविद्यालयमा महिलालाई अध्ययनको विषय बनाउने बारेमा छलफल सुरु भयो ।

‘महिला अध्ययन’ विषयको पठनपाठन सुरु भइसकेपछि त्यसले विस्तारित रूप लिँदै गयो । विस्तार हुँदै जाँदा ‘लैङ्गिक अध्ययन’ विषयमा पुरुष र पुरुषत्वको कुरा आयो । ‘जेन्डर स्टडिज’ अनि ‘मेन एन्ड मास्कुलिनिटी स्टडिज’ का कुराहरू, गफहरू पनि सुरु भयो ।

सन् १९९० को दशकमा महिलावादको तेस्रो लहर चल्यो । तेस्रो लहरमा आइपुग्दा हामी त्यति बेला उत्तरआधुनिकतावाद देख्छाैँ । ‘थर्ड वेभ’ मा आइपुगेपछि त्यहाँ त अझै खासगरी दुई धारहरू देखिए । एउटा धारले त, हामीले यहाँ ‘दिज्यू फेमिनिज्म’ भने जस्तै पश्चिमा देशमा अब ‘फेमिनिज्म’ चाहिँदैन, हामी (हामी महिला) ले सबैथोक (पूर्ण स्वतन्त्रतासहितको समानता) पाइहाल्यौँ नि ! पुँजीवाद वा ‘क्यापिटलिज्म’ मा पनि त रमाइलो गर्न सकिन्छ भन्न थालियो ।

साथै, त्यो धारले भएका सबै बजार खराब हुन् र ? म यदि यहाँको बजारमा ‘इन्जोय’ गर्छु भने ठुलाहरूलाई केको समस्या भो र ? भन्ने भयो । यसरी एउटा यस्तो धारको ‘फेमिनिस्ट मुभमेन्ट’ देखियो भने त्यहीँ अर्को एउटा महिलावादी धारले ‘केटाका पनि त समस्या छन् । केटाका कुरा पनि गर्नुप¥यो’ भन्ने कुरा उठायो ।

महिलावादका लागि के केटाहरू सबै नै समस्या नभएका व्यक्ति हुन् ? के उनीहरू दमन गर्ने पात्र मात्र हुन् या ‘पीडक’ मात्र हुन् ? के उनीहरूका समस्या नै हुँदैनन् ? भन्ने प्रश्नहरू पनि महत्त्वका साथ उठे । त्यही समयमा बेल हुक्सहरू आए, जसले ‘फेमिनिज्म फर अल’ भन्ने कुरालाई अगाडि ल्याएका थिए ।

महिलावादमा पुरुषहरूका विषयमा पनि गफ गर्नुपर्छ भन्ने कुरा आयो । त्यही बेला आर.डब्लु. कोनेल र माइकल किम्मेलले विषाक्त पुरुषत्व र प्रभुत्वशाली पुरुषत्वका कुरा उठाउनुभयो । उहाँहरूले ‘विषाक्त पुरुषत्व ’ र ‘प्रभुत्वशाली पुरुषत्व’ को विचारधारालाई अगाडि सार्नुभयो ।

उत्तरआधुनिक समयमा अझै बढी पुरुष र पुरुषत्वको बारेमा छलफल भयो । खासगरी यो समयमा अर्को महत्त्वपूर्ण कुरा पनि भयो । त्यो हो– उत्तरी युरोपका ‘नर्डिक’ देशहरूमा अनौपचारिकरूपमा पुरुषका सङ्गठनहरूको निर्माण । यसरी सङ्गठित भए पनि त्यति बेला पुरुषहरू महिलावादी सङ्कथनमा भने जोडिएका थिएनन् । उनीहरू ‘फेमिनिस्ट डिस्कोर्स’ बाट बाहिरै रहे ।

सङ्गठनहरूमा आबद्ध केटा केटा जम्मा भएर आफ्ना विभिन्न खालका लोकगीत, परम्परागत गीत, कविताहरूको माध्यमबाट पुरुषहरूका कुराका बारेमा छलफल गर्न थाले र उनीहरू मूल धारको महिलावादी आन्दोलनभन्दा फरक भए । ‘मेनस्ट्रिम फेमिनिस्ट मुभमेन्ट’ सँग उनीहरूको गतिविधि ठ्याक्कै मिलेन । टुक्रियो ।

टुक्रिएरै भए पनि पुरुषहरूको बारेमा सानो सानो समूहका बिचमा विभिन्न कामहरू भए । त्यसपछि, चौथो लहर आयो । महिलावादी आन्दोलनको यो लहर ‘फोर्थ वेभ’ मा, जुन हामी ‘मि टु’ पछि भन्छौँ, सन् २०१० पछि भन्छौँ, चलेको थियो ।

यसैबिच, सन् २००४ मा ‘मेन इन्गेज अलायन्स’ स्थापना भयो । ‘मेन इन्गेज अलायन्स’ भनेको संसारभरिको ग्लोबल नेटवर्क (विश्वव्यापी सञ्जाल) हो, जसले लैङ्गिक समानताका लागि पुरुषहरूको सहभागिता पनि हुनुपर्छ भन्ने अवधारणामा विश्वास गर्छ ।

नेपाललगायत दक्षिण एसियामा सन् २००७ मा यसको स्थापना भयो । यसरी नेपालमा पनि यसको प्रवेश भयो, दक्षिण एसियाली पनि भयो अनि विश्वव्यापी त भइ नै हाल्यो । नेपालको कुरा गर्दा त्यसले पुरुष सहभागिताको कुरा गर्नुपर्छ भनेर अलि बढी ‘डिस्कोर्स’ हरू ल्यायो ।

त्यति बेला ‘श्रीमान् श्रीमती’ जस्ता कार्यक्रम पनि सो सञ्जालले ल्याएको थियो । पुरुषहरूसँग, श्रीमान्‌सँग काम गर्नुपर्छ है भन्ने विचारधारालाई पनि यसले अलिकति अगाडि ल्यायो । २५–२७ वर्ष जति अघिको कुरा, ‘तपाईं गर्भवती भएको भए’ भनेर टोपी लगाएको एउटा पुरुषको फोटो भएको विज्ञापन आएको थियो ।

विज्ञापनमा त्यो फोटो त्यति बेला परिवार नियोजनमा पुरुषहरूको भूमिकाको सन्दर्भमा आएको थियो । पुरुषको ‘रोल’ को कुरामा आएको थियो । महिलावादी आन्दोलनमा पुरुष संलग्नताको सङ्कथन अर्थात् ‘मेन इन्गेजमेन्ट डिस्कोर्स’ को एउटा विषय हो त्यो फोटो भन्ने लाग्छ ।

थर्ड वेभको बेलामा अर्को एउटा आएको ‘मेन्स राइट्स एक्टिभिस्ट’ भन्ने हो, जसलाई हामी ‘एमआरए’ भन्छौँ । त्यो भनेको यसो सुन्दाखेरि नेपालीमा ‘पुरुष अधिकारवादी’ भने जस्तो । सुन्दा त राम्रै सुनिन्छ, महिला अधिकारवादी भने जस्तो पुरुष अधिकारवादी । तर, बुझाइ त्यति राम्रो भएन ।

‘एमआरए’ अर्थात् ‘मेन्स राइट्स एक्टिभिस्ट’ ले महिलाले अधिकार पाएर पुरुषको अधिकार हनन हुने भयो, पुरुषको जीवन व्यर्थ हुने भयो भन्ने जस्ता कुरामा विश्वास गर्छ । वारेन फारेलले यसको खास नेतृत्व गर्नुभएको थियो ।

वारेन फारेल त्यही व्यक्ति हुुनुहुन्छ, जसले सेकेन्ड वेभ फेमिनिज्मलाई एकदमै समर्थन गर्नुभएको थियो । त्यस बेला (सन् १९६६ मा) स्थापना भएको ‘नेसनल अर्गनाइजेसन फर विमेन’ को कार्यकारी समितिमा उहाँ तीन–तीन पटक नियुक्त हुनुभयो । समितिमा तीन पटक नियुक्त उहाँ एक मात्र पुरुष हुनुहुन्थ्यो ।

थर्ड वेभमा आइपुगेपछि महिलावादले खासगरी सम्बन्ध विच्छेदको मुद्दामा महिलाले सम्पत्ति पाउनुपर्छ र बच्चाहरूको अधिकारको पहिलो प्राथमिकता महिलामा हुन्छ भन्ने कुरामा जोड दियो । त्यसमा उहाँको विमति रह्यो र विरोधस्वरूप उहाँ ‘एमआरए’ तिर लाग्नुभयो ।

पुरुषहरूसम्बन्धी अध्ययनमा म तीन किसिमका कुरा देख्छु– पहिलो, एउटा अध्ययनको हिसाबमा ‘विमेन स्टडिज’, ‘जेन्डर स्टडिज’ हुँदै ‘मास्कुलिनिटी’ का कुरा ‘मेन स्टडिज’ को रूपमा आयो । दोस्रो, फेमिनिज्मभित्र पनि पुरुषहरूको फेमिनिस्ट सपोर्ट, अलायनसिप र प्रो–फेमिनिस्टहरू भनेर हेर्न थालियो । र तेस्रो, ‘एमआरए’ हरूको पनि सुरुवात भयो । अहिलेको ट्रम्प प्रशासन त्यसैको छाया हो भन्दाखेरि अत्युक्ति हुँदैन ।

महिला आन्दोलनका सन्दर्भमा नेपालको कुरा गर्दा आजकाल योगमाया न्यौपानेसम्म पुग्छौँ । उहाँकै जीवनी हेर्दा पनि उहाँका गुरु दयानन्द सरस्वती, सहयात्रामा जोडिएका भीमबहादुर बस्नेत, प्रेमनाथ भण्डारीहरू पुरुष थिए, जसले योगमायालाई इतिहासमा सम्झनलायक योगमाया बनाउन ठुलो सहयोग गर्नुभयो ।

दयानन्द सरस्वती त योगमायाको समयमा दलित अधिकार र महिला अधिकार आन्दोलनको प्रखर वक्ता हुनुहुन्थ्यो । उहाँ योगमायाकै गुरु पनि हुनुहुन्थ्यो । त्यो भनेर योगमायाको क्षमतालाई कम आँकलन गर्न खोजिएको होइन तर हाम्रो ऐतिहासिक पृष्ठभूमिमा पनि पुरुषहरू संलग्न थिए है भन्ने हो । यसको पनि अध्ययन आवश्यक छ भन्ने जस्तो मलाई लाग्छ ।

भीमबहादुर बस्नेत र प्रेमनाथ भण्डारी योगमायाका शिष्य (डिसाइपल) हुनुहुन्थ्यो । उहाँहरूले योगमायाको कुरालाई लेखेर प्रचारप्रसार गर्ने काम गर्नुभयो । हामीले अहिले पढ्ने योगमायालाई लिखित भाषामा प्रचारप्रसार गर्ने काम प्रेमनाथ भण्डारीले गर्नुभएको थियो । योगमायाले प्रधानमन्त्रीलाई भेट्नका लागि समय माग्न राजधानी आउँदा पनि काठमाडौँमा प्रचारप्रसार गर्ने व्यक्ति उहाँ नै हुनुहुन्थ्यो ।

विसं २००७ पछि आउने हो भने, बिचबिचमा पुरुषहरूको सहयात्रा देखिन्छ । मुखरित भएर लागेको भने देखिँदैन । मैले अलिअलि देखेको भनेको साहित्यकार पारिजात (विष्णुकुमारी वाइबा) सँग राल्फाली आन्दोलनमा लागेका रामेश, रायनहरू हो । उहाँहरूले एकदमै मुखरित भएर महिला अधिकारका कुरा गर्नुभएको थियो ।

नेपाली साहित्यमा हामी एकदम धेरै बिपी कोइरालाका कुरा पनि गर्छौं, खासगरी ‘सुम्निमा’, ‘तीन घुम्ती’ जस्ता उपन्यास लेखेको कारण । पछिल्लो समय आहुती, सिके लाल, गौरी प्रधानहरूले पनि महिला अधिकारका बारेमा एकदमै मुखरित भएर आवाज उठाउने गरेको देखिन्छ ।

नेपालमा सन् १९९६ मा सुरु गरिएको महिला अध्ययन वा ‘विमेन स्टडिज’ विषय पछि आएर ‘जेन्डर स्टडिज’ भयो । यस्तो हुनाको एउटा कारण सो विषयको बोध (रिआलाइजेसन) पनि हो । लैङ्गिक समानताको सवालमा महिलालाई मात्र अध्यापन गराएर, महिलाको बारेमा मात्र अध्ययन गरेर हुँदैन, त्यतिले मात्र लैङ्गिक समानता हुँदैन भन्ने बोध हामीले गर्‍यौँ ।

पुरुषको पनि अध्ययन गर्नुपर्छ र पुरुषलाई पनि यस विषयमा ल्याउनुपर्छ भन्ने मुख्य ध्येयका साथ ‘विमेन स्टडिज’ बाट हामी ‘जेन्डर स्टडिज’ मा आएका हौँ । यसले नेपालमा महिलावादी आन्दोलन वा ‘मुभमेन्ट’ सँगसँगै प्राज्ञिक क्षेत्रमा पनि पुरुष र पुरुषत्वका बारेमा डिस्कोर्सहरू बन्ने, बनाउने र विश्लेषण गर्ने काम सुरु भएको भन्ने पनि देखाउँछ ।

नेपालको सन्दर्भमा २०७५ सालमा नेपाल सरकारले नै महिला तथा बालिकाउपर हुने हिंसा अन्त्य गर्नका लागि पुरुष सहभागिता रणनीति नै ल्याएको छ । यसका साथै, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले लैङ्गिक हिंसा अन्त्यको लागि पुरुष सञ्जाल (मेल लिडर नेटवर्क) भनेर २०७५ सालमै स्थापना गरिसकेको छ । यस्ता काम भएबाट राज्यले पनि ‘मेन इन्गेजमेन्ट’ को विषयलाई महत्त्व दिएकोे भन्ने मलाई लाग्छ ।

एकातिर राज्यले यस्ता नीति ल्यायो भने अर्कातिर एनजिओहरूले पनि काम गरेको देखिन्छ । विभिन्न विकास साझेदार वा ‘डेभलप्मेन्ट पार्टनर्स’ ले, एनजिओ, आइएनजिओहरूले पनि परियोजनाबाट लैङ्गिक समानता र महिलाका कुरा गर्दा पुरुषहरूलाई, श्रीमान्‌हरूलाई सँगै ल्याए । ‘जेन्डर स्टडिज’ ले पनि ‘मास्कुलिनिटी’ को बारेमा गफ गरेर पुरुषहरूलाई विद्यार्थीको रूपमा संलग्न गरायो ।

राष्ट्रिय योजना आयोग नै हेर्नुहुन्छ भने, बाह्रौँ त्रिवर्षीय योजनादेखि नै आवधिक योजनामा लैङ्गिक हिंसाको विषयमा पुरुषसँग संलग्नता हुनुपर्छ भनेर भनिएको छ । १६औँ योजनामा त पुरुष सञ्जाललाई स्थानीयस्तरसम्म पुर्‍याउन आवश्यक छ भनेर लेखिएको छ । यसरी यो विषय विकासको एजेन्डा, एनजिओ, आइएनजिओको एजेन्डा मात्र होइन, राज्यसँगै शैक्षिक जगत् वा ‘एकाडेमिया’ ले पनि अपनाएको देखिन्छ । यो सबैले ‘अपनत्व’ लिएको विषय पनि हो ।

जसरी यो महिलावाद र महिला विषय निरन्तर विकास वा ‘इभल्भ’ भइरहेको छ, त्यसलाई हेर्दा लाग्छ, यसलाई सबैले आत्मसात गरेका छन् । यसो गर्नु आजको दिनमा लैङ्गिक न्यायका लागि महत्त्वपूर्ण पनि छ । किन महत्त्वपूर्ण छ भने ‘मेन इन्गेजमेन्ट जेन्डर जस्टिस’ का लागि यो एकदमै काम लाग्ने ‘टुल’ र ‘अप्रोच’ हो । धेरै अध्ययनहरूले यो कुरा प्रमाणित गरिसकेका छन् । त्यस कारण पनि महिलावादी आन्दोलनमा पुरुष सहभागिता, संलग्नता धेरै आवश्यक छ ।

पुरुषका पनि समस्या हुन्छन् तर यसलाई कसरी ‘ट्याकल’ गर्ने र समाधान निकाल्ने भन्ने बारेमा ठुलो ‘कन्फ्युजन’ छ, यसैले यो काम गाह्रो पनि छ । एउटा पुरुषका रूपमा मैले मेरो समस्या भन्दाखेरि, जस्तो मिरा म्यामले पनि भन्नुभयो, महिलाको मुद्दा पो ‘डाइल्युट’ हुने हो कि ! अनि यसरी महिलाको मुद्दा डाइल्युट हुन्छ भनेर सोच्दा मेरो मुद्दाको सम्बोधन कहाँ हुन्छ होला त ?

उदाहरणका लागि, ‘हामी दाजुभाइ’ भन्ने संस्था छ । त्यहाँ ‘मेन एन्ड मास्कुलिनिटी रिसोर्स सेन्टर’ पनि छ । त्यो सेन्टरमा पुरुष विषयका भेटे जति पुस्तकहरू किनेर राख्छौँ । हामीले खोज्दा पुरुषका प्रजनन स्वास्थ्यसम्बन्धी लेखिएका पुस्तक भेटेनौँ । यससम्बन्धी किताबै लेखिएको रहेनछ ।

पुरुषको प्रजनन स्वास्थ्यसम्बन्धी सोधीखोजी नै नहुने रहेछ । धेरै पुरुषसँग अनौपचारिकरूपमा कुरा गर्दा उनीहरूलाई पाठेघर क्यान्सरको बारेमा धेरै थाहा छ तर प्रोस्टेट क्यान्सरको बारेमा थाहा छैन भन्ने बुझियो । किनकि, हाम्रो परिवार, समाज र राज्यले पुरुषलाई त महिलालाई जसरी खतरामा पर्न वा ‘भल्नरेबल’ हुन सिकाएकै छैन । अनि उनीहरूका समस्याका बारेमा पनि लेखिने कुरै भएन ।

पुरुषले आफ्नो बारेमा थाहा पाउनु, आफ्नो कमजोरी थाहा पाउनु भनेको त ‘मेन इनफ’ नहुनु हो । हामीले त्यो कुरा गर्दा महिलाका स्वास्थ्य विषय कमजोर हुन्छ कि भन्ने ‘डिस्कोर्स’ लाई कसरी हेर्ने ? यसबारेमा स्पष्टता छैन । यो एउटा महत्त्वपूर्ण विषय छ ।

पुरुषका समस्यालाई कसरी हेर्ने ? कुन आधारमा हेर्ने ? प्रचलित हेराइले ‘डिस्कोर्स’ लाई कता लग्छ भन्ने एउटा चिन्ता छ भने अर्को यसले कतै महिलाको स्थान ओगट्ने त हैन भन्ने डिस्कोर्स पनि छ । मैले त सधैँ भन्ने गरेको छु, पुरुषको काम भनेको महिलाको ‘स्पेस’ ओगट्ने होइन, आफ्नो स्पेसलाई ‘फेमिनिस्ट’ बनाउने हो ।

म कहाँ छु त ? म घरमा छु । म मेरो साथीसँग छु । त्यो स्पेसलाई ‘फेमिनिस्ट’ बनाउने हो । त्यो किसिमको स्पष्टता सबै पुरुषमा हुँदैन । त्यो सवालमा स्पष्टता ल्याउने किसिमका डिस्कोर्सहरूको पनि एकदमै कमी छ । त्यो एउटा अर्को समस्या हो जस्तो लाग्छ ।

हामी ‘मेनस्ट्रिम’ लाई अधिकांश गरी ‘मेलस्ट्रिम’ पनि भन्छौँ । जसरी ‘मेन’ हरू केन्द्रमा छन्, त्यसरी नै जहाँ जति बेला पनि ‘मेनस्ट्रिम डिस्कोर्स र एजेन्डाहरू’ का स्रोत मेल नै छन् अथवा ‘मेनस्ट्रिम’ भइरहेको छ । त्यहाँ हामीले पुरुषका समस्यामा बारेमा गफ गर्‍यौँ भने त त्यो स्पष्टरूपमा हाइलाइट हुने भयो नि ! किनभने नीति बनाउने ठाउँमा पुरुष नै छन् ।

नीति बनाउने, बजेट बनाउने ठाउँमा पुरुष छन् भने त्यहाँ पुरुषका समस्याले ठुलो ‘फोकस’ पाउने भयो । त्यसरी पुरुषका समस्यामा ध्यान केन्द्रित हुँदा महिलाको विषय चाहिँ अलिकति ‘डाइल्युट’ हुन्छ कि भन्ने अर्को एउटा डर पनि छ । यस्तो समस्या पनि छ ।

अर्को समस्या भनेको पुरुषहरूको अधिकारको कुरा गर्दाखेरि कतै यसले ‘एमआरए’ (मेन्स राइट्स एक्टिभिस्ट) को लागि सजिलो वातावरण त बनाउँदैन भन्ने डर छ । उदाहरणका लागि ‘एमआरए’ हरूले पनि पुरुषका दुःखका कुरा गर्छन् । फेमिनिस्टहरूले पनि पुरुषका दुःखका कुरा गर्छन् । दुवैले पुरुषका दुःखका कुरा गर्छन् । यहाँनेर एकले अर्काका मूलभूत मूल्य र मान्यतालाई बुझ्नुपर्ने हुन्छ ।

बुझ्नुपर्ने कुरा के छ भने जुन महिलावादी मूल्यहरू वा ‘फेमिनिस्ट भ्यालुज’ बोकेर महिला, पुरुष वा लैङ्गिक तथा अल्पसङ्ख्यकले पुरुषका कुरा गर्छन्, उनीहरू महिलावादी सिद्धान्तहरू वा ‘फेमिनिस्ट थिअरी’ मा स्पष्ट भएनन् भने त्यो ‘मेन्स राइट्स एक्टिभिस्ट’ को एजेन्डा बनिदिन सक्छ ।

महिलावादी आन्दोलनमा पुरुष संलग्नता वा ‘मेन इन्गेन्जमेन्ट’ को कुरा तरबारको धारमा हिँड्ने विषय हो । सैद्धान्तिक पक्षमा स्पष्टता नहुँदा त्यसले महिलावादीको लागि हैन कि पुरुष अधिकारवादीको लागि राम्रो ‘स्पेस’ बनाइदिन सक्छ । त्यसैले ती डिस्कोर्सेस एकदमै महत्त्वपूर्ण छन् ।

एउटा उदाहरण दिन्छु । मन्त्रालयले महिलामाथि हुने हिंसाको कार्ययोजनाको मस्यौदामा छलफलको आयोजना गरेको थियो । हामीले त्यहाँ छलफल भएको एउटा रणनीति अन्तर्गतका कार्यक्रममा सुझावस्वरूप ‘यो कार्यक्रम किशोरीकेन्द्रित हुनुपर्छ’ भन्दा कतिपय सहभागी साथीहरूले किन किशोरी मात्रै, केटा पनि मान्छे होइन र ? भने । एक जनाले त, ‘सन्जोगजी, तपाईं पनि पुरुष भएर यस्तो भन्ने ?’ पनि भने ।

भनेपछि छलफल गर्नेहरूमा विषयको स्पष्टता नभएको जस्तो देखियो । पितृसत्तात्मक समाजमा सबैभन्दा पछाडि को छ ? त्यसलाई नहेरीकन, दुवै पक्षलाई बराबर राख्यो भने त विषयान्तर हुने सम्भावना हुन्छ । यो कुरा म सधैँ भन्छु ।

पितृसत्तामा केटाले सधैँ के गर्न पाउँदैन ? रुन पाउँदैन । महिलाको सधैँ के हुन्छ ? बलात्कार हुन्छ । पुरुषले रुन नपाउने र महिलाको बलात्कार हुने कुरा के एउटै हुन् त ? यी कुरालाई एउटै फर्ममा, एउटै ओतमा राख्ने हो त ? होइन नि ! त्यो तहको कुरा बुझाइमा स्पष्टता एकदमै धेरै आवश्यक छ भन्ने लाग्छ ।

अर्को, मेरो अनुभवमा पुरुषहरूको बारेमा महिलावादी सङ्कथनहरूको कमी छ । ‘हामी दाजुभाइ’ लाई पनि बेला बेलामा विभिन्न संस्थाबाट ‘अफर’ आउँछ– पुरुषहरुलाई दुई दिन, तीन दिनको तालिम दिनुहोस् भनेर । अनि, तालिमपश्चात् पुरुषहरूमा कसरी पूर्ण परिवर्तन आयो भनेर प्रतिवेदनमा लेख भन्छन् । तीन दिनको तालिमले हुने भए, पितृसत्ता अहिले हो र ? हजार वर्ष अगाडि नै परिवर्तित भइसक्थ्यो ।

हामीकहाँ सामाजिक असमानताको सबैभन्दा डरलाग्दो, सबैभन्दा गडेको र सबैभन्दा लामो मुद्दा भनेको महिलामाथि हुँदै आएका हिंसाको मुद्दा हो । त्यसकारण यति सजिलो हुँदैन, समानताको बाटो हिँड्न । हामी यति सजिलो छ जस्तो गरी छलफल गर्छाैं, खासगरी विकासे सङ्घ, संस्थाहरूमा।, त्यो एउटा डरको विषय हो भन्ने मलाई लाग्छ ।

अब अन्तिम समस्या । महिलावादी आन्दोलनमा पुरुष संलग्नताको कुरा गर्दा समस्या पुरुष हो कि पुरुषत्व हो कि पितृसत्ता हो भन्ने डिस्कोर्स पनि महत्त्वपूर्ण छ । मैले कुनै महिलाको विरोध गरेँ भने म पितृसत्तात्मक हुन्छु कि हुन्न ? सोचौँ त, कुनै महिलाले खराब काम गर्न सक्छ कि सक्दैन ? त्यहाँनिर हामीले कसरी हेर्ने ? के मैले हरेक चोटि महिलाको विरोध गर्दाखेरि म सन्जोग ठकुरी भएर क्षेत्री, बाहुन भएका कारण नै देखिने हो त ? यो छलफल पनि अलिकति आउनुपर्छ ।

कतिपय अवस्थामा पुरुष भएकै कारण हामी महिला संलग्न भएका विषयमा बोल्न सक्दैनौँ । म महिला भएको भए बोल्थेँ भन्ने लाग्छ । इमानदारीपूर्वक भन्नुपर्दा सक्दैनौँ । त्यो विषयलाई हामीले कसरी हेर्ने ? विचारविमर्श र छलफलहरू गर्न आवश्यक रहेछ । त्यसो भए के गर्ने त ?

मैले चार–पाँच वटा उपाय राखेको छु । एउटा चाहिँ महिलावादी आन्दोलनमा पुरुष किन सहभागी हुने, कसरी सहभागी हुने भन्ने बारेमा नै स्पष्टता आवश्यक रहेछ । सन् २०१९ देखि अलिकति बढी, संवेदनशील भएर, अनुशासित भएर आन्दोलनमा लागिरहँदा पुरुषहरू यसमा किन संलग्न हुने भन्ने बारेमा स्पष्टता आवश्यक रहेछ भन्ने भयो । अनि, कसरी हुने ? कसरी नहुने ? कहाँ हुने हो ? कहाँ नहुने हो ? कहाँ हुनैपर्ने हो ? कहाँ नबोल्नुपर्ने हो ? कहाँ सुन्नुपर्ने हो ? यस्ता कुरामा पनि स्पष्टता एकदमै आवश्यक छ । त्यसका ‘डिस्कोर्सेस’ आवश्यक छ जस्तो मलाई लाग्छ ।

पुरुषहरू एकै खालको समूह वा ‘होमोजिनियस ग्रुप’ पनि त होइन । सबै पुरुष एकै किसिमका हुँदैनन्, छैनन् । हिमालका पुरुष, पहाडका पुरुष, मधेसका पुरुष, मधेसका जनजाति पुरुष, हिमालका जनजाति पुरुष, पहाडका जनजाति पुरुष । जनजातिका आफ्ना फरक अभ्यास पनि छन् । त्यसकारण समूह एउटै हैन भनेपछि पुरुष र पुरुषत्वको अभ्यास पनि फरक छ भन्ने बुझ्न प¥यो ।

कहिलेकाहीँ मलाई हामीले जुन विषाक्त पुरुषत्वको भाष्य वा ‘न्यारेटिभ’ तयार गरिरहेका छौँ, त्यो चाहिँ एकदम एलिट, पहाडे, काठमाडौँको वाला डिस्कोर्स मात्र हो कि भन्ने लाग्छ । हामीले त्यो किसिमका सबै समुदायको उचित अध्ययन नगरी त्यस्तो किसिमको भाष्य पो निर्माण गरेका हौँ कि ? हामीले जे भनेका छौँ, वास्तवमा त्यो होइन कि ? हामीले अझै अध्ययन गर्न नै बाँकी पो छ कि ? मलाई लाग्छ, यी विषयमा थप अध्ययन र स्पष्टता आवश्यक छ ।

अर्को, ‘मास्कुलिनिटी’ लाई ‘क्यारेक्टारिस्टिक्स’ का रूपमा मात्र हेर्ने कि ‘सिस्टम’ को रूपमा पनि हेर्ने ? यसलाई विशेषता र प्रणालीगत संरचना दुवै रूपमा बुझ्नुपर्छ । उदाहरणका लागि जेन्डर स्टडिजले १० वर्ष अगाडिदेखि र ‘हामी दाजुभाइ’ ले पाँच वर्षदेखि त्रिभुवन विश्वविद्यालयमा ‘एन्टि–सोसल ह्यारेसमेन्ट पोलिसी’ चाहियो भन्दाखेरि प्रशासन सधैँ हाम्रोमा त्यस्तो समस्या त केही छैन नि त भनेर पन्छिने काम गर्छ ।

हामीले महिला मात्र होइन, कुनै पनि व्यक्तिमाथि यौनजन्य दुव्र्यवहार हुन्छ भने त्यसको विरुद्धमा उजुरी गर्न पाउँ भनेको त हो नि ! त्यो कुरालाई किन आत्मसात गरिँदैन ? आत्मसात गरिएन भने प्रश्न उठ्छ । तसर्थ यहाँ ‘मास्कुलिनिटी’ भनेको विशेषता मात्र हो कि त्यो त्रिभुवन विश्वविद्यालयको सिस्टम, एउटा प्रणालीगत संरचना हो ?

‘मास्कुलिनिटी’ लाई एउटा पुरुषमा भएको विशेषतामा मात्र हेर्ने हो कि कुनै संस्थाको संरचनागत अभ्यासको रूपमा हेर्ने भन्ने अर्को एउटा विषय पनि यसमा छ । हरेक कुरालाई यसरी हेरियो भने हामीले समाज अध्ययनलाई अलिकति फराकिलो बनाउन सक्छौँ कि भन्ने पनि मलाई लाग्छ ।

अर्को एउटा, नेपालमा नेपाली पुरुषहरूको विविधताका बारेमा डिस्कोर्सहरू ज्यादै कम भएको देखिन्छ । यस विषयमा तुलनात्मकरूपमा अध्ययन पनि कम भएका र लेखिएका कुराहरू पनि कम छन् । यसैले पनि समस्या भए जस्तो लाग्छ । यस्तो नभएको भए ज्ञान र अनुभव दुवैले काम गर्ने थिए ।

ज्ञान र अनुभवले एकै पटक दुई वटा काम गर्ने हुन्छ । एउटा ‘लर्न’ र अर्को ‘अनलर्न’ एकैचोटि हुन्छ । कसैले महिलावादी मूल्यमान्यता सिक्दै गर्दा पितृसत्तात्मक मूल्यमान्यता छोड्दै पनि जान्छ । यसका लागि स्थानीय ज्ञानहरू पनि चाहिन्छ । स्थानीय ज्ञानका लागि लगानी चाहिन्छ होला । विभागले पनि यो कुरा सोचिदिओस् जस्तो लाग्छ ।

अन्तिममा, धेरै जनाले हामीलाई ‘युथ आर चेन्ज मेकर, एजेन्ट अफ चेन्ज’ भन्नुहुन्छ । यसैले युवालाई पहिले सही ढङ्गले आफू परिवर्तित हुने र परिवर्तनका वाहक बनाउने गरी पनि हामीले काम गर्नुपर्ने देखिन्छ । नेपाली युवा अहिले दुई ओटा स्थानमा छ । ऊ कि सडकमा छ कि इन्टरनेट वा भर्चुअल संसार र सामाजिक सञ्जालमा छ ।

इन्टरनेटको युवा कहाँ छ भने एक जना सरकारी कर्मचारी महिला धादिङबाट काठमाडौँ बाइकमा आउँदा ढाड देखियो भनेर ट्रोल गराउनेमा छ । सडकको युवा गणतन्त्र आएको देशमा एकात्मक व्यवस्थाको राजा चाहियो भनेर आवाज उठाउनेमा छ । भनेपछि प्रश्न उठ्छ, त्यो युवा परिवर्तनको वाहक हो त ? हाम्रा युवा यसरी नै परिवर्तनका संवाहक बन्ने हुन् त ?

सोलोडोलोमा सबै खालका युवालाई परिवर्तनका संवाहक नै हुन् पनि नभनौँ । मलाई लाग्छ, युवा जति सबै परिवर्तनका संवाहक हुँदैनन् । कोही युवा पश्चगामी पनि हुँदा रहेछन् । त्यसकारण युवा कसरी परिवर्तनको संवाहक हुन सक्ने हुन् भन्ने कोणबाट पनि हामीकहाँ विचारविमर्श हुनु आवश्यक छ । निरन्तरको छलफल, बहसबाट माझिएका सङ्कथनहरूको निर्माण र बौद्धिक विश्लेषण हुनु पनि आवश्यक छ ।

मूल कुरामा टेकेर निष्कर्षमा भन्नुपर्दा मलाई लाग्छ, नेपालको महिला आन्दोलनमा ऐतिहासिकरूपमा पनि पुरुषहरूको सकारात्मक संलग्नता कहीँ न कहीँ देख्न सकिन्छ तर हामीसँग योगमायाका समयदेखि पछिसम्म हुँदै आएका घटनासँग जोडिएका कतिपय सामग्रीलाई पनि खोजी गर्ने गरेको पाइँदैन । भएका सीमित सामग्रीको पनि आलोचनात्मक चेतका साथ अध्ययन गर्ने अभ्यासको कमी छ । त्यही कारणले नेपाली महिलाको इतिहासमा महिलावादी दृष्टिकोणबाट पुरुष संलग्नताको बारेमा पनि हुनुपर्ने जति विश्लेषण हुनसकेको छैन ।

प्रकाशन मिति : २०८२ जेठ २३ गते, शुक्रवार

Share this :

Leave a Reply

Your email address will not be published. Required fields are marked *