परिवर्तनकामी ‘विकासे’ हरूको समूहले लालटिन जुलुस निकाल्यौँ –शान्ता लक्ष्मी श्रेष्ठ

    991
    0

    जनआन्दोलन–२०४६ मा महिला सहभागिता र योगदान विशेष

    जनआन्दोलन–२०४६ सम्पन्न भएको ३२ वर्ष पुगेको छ । सो आन्दोलनलाई महिलाको दृष्टिकोणबाट स्मरण गर्ने उद्देश्यका साथ ‘सन्धान’ ले सुरु गरेको शृङ्खला जारी नै छ । यसै क्रममा आज प्रस्तुत छ, सन्धानका तर्फबाट लक्ष्मी बस्नेतले गरेको कुराकानीमा आधारित महिला अधिकारकर्मी शान्ता लक्ष्मी श्रेष्ठको स्मरण :

    म २०४६ सालको आन्दोलनको बेला म रेड बार्ना नेपाल नामक सेभ द चिल्ड्रेन नर्वेमा तालिम संयोजक भएर महिला, बालबालिका र समुदाय विकास विषयहरूमा तालिम दिन्थेँ । त्यसताका विकासे संस्थाहरूमा काम गर्ने हामी केही परिवर्तनकामी ‘विकासे’ हरूको एक समूह थियो । भइरहेको आन्दोलनलाई तीब्रता दिन कसरी सघाउने र सफल बनाउने भन्ने विषयमा आपसमा छलफल गर्नु हाम्रो कार्यालय समयपछिको दैनिकी नै थियो ।

    हामीले पनि देशको अँध्यारो स्थितिको विरोध जनाउन लालटिन जुलुस निकाल्यौंँ । यसमा ललितपुर जिल्लामा अफिस भएका अधिकांश अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रशिक्षणकर्मीहरूको सहभागिता थियो । हाम्रो अफिस जावलाखेलमा ‘पञ्चायत प्रशिक्षण केन्द्र’ नजिकै बाटोमै थियो । सम्पर्क गर्न पनि सजिलो थियो ।

    आन्दोलन एकदमै चर्किंदै थियो । बाहिरको होहल्लाको आवाजले हामी सबै बाहिर आयौँ । हाम्रो संस्थाका तत्कालीन आवासीय प्रतिनिधि पनि आउनुभयो । उहाँले हामी लालटिन जुलुसमा गएको थाहा पाउनुभएको रहेछ । ‘तिमीहरू माओवादी हो कि क्या हो ? रातिराति जुलुस गर्दै हिँड्ने ?’ भन्नुभयो । हामीलाई चाहिँ आखिरमा थाहा पाइहाल्यौ, जे गरे गरोस् भन्ने लाग्यो । देशमा यसरी आन्दोलन भइरहेको बेला हामी ‘विकासको बिल्ला’ भिरेर मात्रै बस्न सक्दैनौँ भन्ने जवाफ दिएर बाहिर निस्क्यौँ र एकान्तकुनाबाट आइरहेको जुलसमा समाहित भयौँ ।

    जुलुस जावलाखेलबाट कुमारीपाटी, मङ्गलबजार, पाटन ढोका, कुपन्डोल, थापाथली, माइतीघर हुँदै सिंहदरबारतिर बढ्यो । जुलुसमा आएकाहरूलाई शीतल होस् भन्नाका लागि महिलाहरूले झ्यालबाट पानी हाल्दिएको जस्ता दृश्य सम्झँदा अझै पनि मन आनन्दित हुन्छ ।

    छोरीछोरा सानै थिए । आन्दोलनमा कुन बेला के हुने हो भन्ने डर र साना छोराछोरीको चिन्ताले मन भारी हुन्थ्यो । मन भारी गर्दै म माइतीघरबाट नयाँ बानेश्वर घरतिर गएँँ । मेरो श्रीमान् इन्द्रबहादुर श्रेष्ठ पनि आन्दोलनमै हुनुहुन्थ्यो । बच्चाहरू आमाबुबाको बाटो हेर्दै बसेका रहेछन् । म देखेपछि खुसी हुँदै दुई जना दुइतिर झुन्डिन आइपुगे । ड्याडी खै त भनेर पनि सोधे । मैले आउँदै हुनुहुन्छ भन्दै थिएँ, उहाँ आइपुग्नुभयो । उहाँ कमिजको बाहुलामा रगतको टाटासहित आइपुग्नुभयो । आज नराम्रोसँग लाठी चार्ज गर्‍यो, बल्ल बचेर आएँ भन्नुभयो । कुनै पनि आन्दोलन भन्नासाथ त्यही दिन र त्यो वाक्य मेरो मानसपटलमा आइहाल्छ ।

    सन्धान, प्रकाशन मिति २०७९ वैशाख १४ गते बुधवार


    Previous article‘जीवन सार्थक भएको ठान्छु’ -कुमारीकमला राई
    Next articleजनआन्दोलनमा मजदुर मोर्चाबाट क्रियाशील थिएँ –धनकुमारी सुनार