जनआन्दोलन २०४६ मा महिला सहभागिता र योगदान विशेष
पृष्ठभूमि
वि.सं.२०४६ को आन्दोलनको नेतृत्व गर्ने दुई वटा मुख्य मोर्चा थिए । नेकपा माले, नेकपा मार्क्सवादी, बर्मा समूहलगायत सात वटा बामशक्तिहरूको बाम मोर्चा बनाइएको थियो । सात बामपार्टीहरूमा सबैभन्दा ठूलो तत्कालीन नेकपा माले थियो । अर्को नेपाली काँग्रेस थियो ।
२०४६ आन्दोलनमा नेपाली काँग्रेसको नेतृत्व गणेशमान सिंहले गर्नुभएको थियो । यसमा मंगलादेवी सिंह, शैलजा आचार्य, लिला कोइरालाहरूको महत्वपूर्ण भूमिका थियो । बाममोर्चाको नेतृत्व सहाना प्रधानले गर्नुभएको थियो । सहाना प्रधान आफ्नै पार्टीको पनि अध्यक्ष हुनुहुन्थेन, उहाँहरूको पार्टीको अध्यक्ष मनमोहन अधिकारी हुनुहुन्थ्यो । सबै पार्टीले सहाना प्रधानको नेतृत्वलाई स्वीकार गरेका थिए । नेपालको प्रजातान्त्रिक आन्दोलनमा राणाशासनको अन्त्यदेखि अहिलेसम्मको आन्दोलनमा सहाना प्रधानको भूमिका, दृष्टिकोण र नेतृत्व गर्ने क्षमता एकदमै राम्रो थियो । सहाना प्रधान भनेपछि कसैले पनि विवाद नगर्ने, निर्विवाद व्यक्ति, जुन खालको नेतृत्व गर्नसक्ने क्षमता उहाँमा थियो, त्यो वास्तवमा ऐतिहासिक हो ।
०४६ सालको आन्दोलनमा मेरो भूमिका
२०४६ सालको राजनीतिक परिवर्तनका निम्ति आन्दोलनमा रहँदा म जेल परेकी थिएँ । म त्यति बेला त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा काम गर्थें र नेपाल नर्सिङ संघको महासचिव पनि थिएँ । पेशागत समूहअन्तर्गत स्वास्थ्यकर्मीको नेतृत्व डाक्टर मथुराप्रसाद श्रेष्ठले गर्नुभएको थियो । म पनि उहाँसँगै थिएँ ।
मेरो दोहोरो जिम्मेवारी थियो । नर्सिङ संघमा भएकाले पेशागत संगठनमा र स्वास्थ्यकर्मीको हिसाबले देशभरका स्वास्थ्यकर्मीलाई परिचालन गर्ने टोलीमा थिएँ । आन्दोलनकै लागि डा.देवेन्द्रराज पाण्डे र डा.मथुराप्रसाद श्रेष्ठको सहसंयोजकत्वमा पेशागत ऐक्यबद्धता समूह बनाएका थियौँ । त्यसमा चिकित्साकर्मीहरू, वकिल, पत्रकारहरू, साहित्यकार, प्राध्यापकहरू गरी विभिन्न पेशामा आबद्ध भएकाहरूलाई परिचालन गर्ने उद्देश्यले पेशागत समूह बनेको थियो ।
पेशागत समूहले २०४६ चैत ७ गते कीर्तिपुरमा गोष्ठी गरेको थियो । करिब एक हजार जना जति सहभागी थिए । १२ जना वक्तामा म पनि एक थिएँ । म बोलिसकेपछि त्रिभुवन विश्वविद्यालयको अडिटोरियम हललाई प्रहरीले घेरा हाल्यो । उनीहरूले १२ वटा ट्रकमा हालेर हामी सबैलाई बग्गीखाना लगे । त्यो कार्यक्रममा महिलाहरू पनि धेरै जना हुनुहुन्थ्यो विभिन्न पेशागत समूहका तर त्यसमध्येबाट कारागार लगिएका महिलामा म, हिसिला यमि र कल्याणी शाह हुनुहुन्थ्यो । त्यसपछि हामी महिलाहरूलाई सेन्ट्रल जेल (महिला कारागार)मा लगियो । हामीलाई लग्दा त्यो सेन्ट्रल जेलमा सहाना प्रधान, उमा रेग्मी, मञ्जु थापालगायत हुनुहुन्थ्यो । उहाँहरूलाई पहिले नै लगिएको रहेछ । हामीलाई लगिएपछि हामी नौ जना जति महिला भयौँ ।
कारागारमै सहाना प्रधानको प्रशिक्षण
हामी जेल परेको करिब ३२ वर्ष अगाडि हो । त्यति बेलाको कारागार एउटा छिँडीजस्तो थियो, अति नै कठिन । रासन भनेर दैनिक दुईदेखि चार मुठी चामल, नुन र दुई रुपियाँ पैसा दिन्थे । नौ जना एउटै कोठामा बस्थ्यौँ । पालैपालो गरेर पकाउँथ्यौँ । हप्तामा एक दिन, बाहिरबाट आउनेलाई भेट्न दिइन्थ्यो । राजनीतिक कार्यकर्ताहरू भेट्न आउनुहुन्थ्यो । कहिलेकाहीँ सहाना प्रधानको घरबाट खानेकुरा आउँथ्यो । उहाँका छोराछोरी भेट्न आउनुहुन्थ्यो ।
जेलमा सहाना प्रधानसँगको करिब दुई साताको बसाइ हाम्रा लागि प्रशिक्षण नै थियो । उहाँका अगाडि हामी नयाँ पुस्ता थियौँ । जेलमा कस्ता कस्ता महिलाहरूलाई ल्याइन्छन् भन्ने बारेमा पनि एक हिसाबले रिसर्च गर्ने काम त्यो समयमा भयो । अन्य मुद्दामा त्यहाँ ल्याइएका महिलाहरूसँग भेट्ने र कुरा गर्ने मौका पनि मिल्यो । त्यहाँ गर्भपतन गरेका महिलाहरू, बेचबिखनमा परेर फर्किएका महिलाहरू, झुठा मुद्दामा फसाइएकाहरू, श्रीमानले अर्की श्रीमती ल्याउने र मन नपरेकी पहिलाकी (जेठी) श्रीमतीलाई लगेर थुनिदिने जस्ता लैंगिक हिंसामा परेका महिलाहरू धेरै भेट्यौँ ।
जेलभित्रै तोडफोड
हामी जेलमा हुँदा त्यही जेलमा एक जना धादिङको तामाङ समुदायको महिला हुनुहुन्थ्यो । उहाँलाई गर्भपतन गरेको आरोपमा जेलमा हालिएको रहेछ र कुपोषण भएर बिरामी हुनुभएको थियो । बिरामीको उपचार गर्न डाक्टर बोलाउ भनेर हिसिलाजी र म जेलरसँग कराउन थाल्यौँ । तर, डाक्टर आउनु अघि नै ती महिलाको मृत्यु भयो । डाक्टर बोलाउन ढिला गरेको भनेर हामीले त्यहीँ तोडफोड गर्न थाल्यौँ । त्यति बेला भित्तातिर कोपरेको सम्झना छ । कुचोले त्यहाँ बस्ने प्रहरीलाई हान्यौँ । टेलिभिजन पनि फुटायौँ । त्यहाँ एउटा सानो ब्ल्याक एन्ड व्हाइट टिभी थियो । त्यसमा सरकारी समाचार मात्रै आउँथ्यो । जेलभित्रै अर्को असाध्यै पीडा हुने कुरा के देखियो भने लैंगिक हिंसामा परेका श्रीमानले बहिष्कार गरेका, बेचबिखनमा परेर फर्किएका, बोक्सीको आरोप लगाइएका महिलाहरूलाई मानसिक सन्तुलन गुमाएको भनेर जेलको बरण्डाको खम्बाहरूमा फलामको सिक्रीले बाँधेर राखिएको हुन्थ्यो । हामी तीन चार जना भएर त्यसरी बाँध्न पाइँदैन, सिक्री खोल भनेर त्यहीँ झगडा गर्न थाल्यौँ, आन्दोलन गर्न थाल्यौँ । हामीले भनेको कुरा त के सुनुवाई हुन्थ्यो र ? हामी आफैँ पनि राजबन्दी थियौँ । हामीलाई कुनै यातना त दिएनन् तर अन्य मुद्दाका बन्दीहरूको मानवअधिकारका हनन्को विरुद्ध पनि बोल्थ्यौँ । बरण्डामा जम्मा भएर कहाँबाट कसरी जेलमा आइपुगे, के के पीडा भोगे, के हिंसा भोगे भनेर दिनभरि ती महिलाहरूका कुरा सुन्थ्यौँ । अनि बेलुका गएर यी कुराहरू सहाना प्रधानलाई सुनाउँथ्यौँ । उहाँले हामीलाई सैद्धान्तिक रूपबाट बुझाउनुहुन्थ्यो, समाजको संरचना र समस्या यस्तो छ, यस्ले गर्दा यस्तो भएको हो । एउटा बाँधिएको महिलाको सवाल उनको मात्रै होइन, सिंगो समाजको महिलाहरूको सवाल हो । सिंगो महिला आन्दोलनको मुद्दा हो भनेर प्रशिक्षण दिनुहुन्थ्यो । उहाँका कुराहरू हाम्रा लागि बौद्धिक खुराक हुन्थ्यो ।
पञ्चायत विरुद्ध पेशागत संगठन
वि.सं. २०४६ फागुन ७ गतेदेखि औपचारिक रूपमा संयुक्त बाममोर्चा र नेपाली काँग्रेसको नेतृत्वमा राजनीतिक आन्दोलन सुरु भयो । जसमा संयुक्त बाममोर्चाको नेतृत्व सहाना प्रधानले गर्नुभएको थियो । नेपाली काँग्रेसको नेतृत्व गणेशमान सिंह हुनुहुथ्यो । उहाँहरू दुवै जनालाई गिरफ्तार गरियो । सहाना प्रधानलाई जेल चलान गरियो तर गणेशमान सिंहलाई उहाँको घर चाक्सीबारीमै नजरबन्दमा राखियो । मंगलादेवी सिंहलाई पनि घरबाट बाहिर निस्कन दिइएन । पछि बिरामी भएपछि गणेशमान सिंहलाई वीर अस्पताल भर्ना गरियो । यस्तै गर्दै कमाण्डरहरू र अर्का तहका कमाण्डरहरूलाई पनि धमाधम पक्राउ गरियो । मानवअधिकार फाँटमा नेतृत्व गर्ने पद्मरत्न तुलाधर, दमननाथ ढुङगाना, प्राध्यापक संघको नेतृत्व गर्ने सुप्रभा घिमिरे, आनन्ददेव भट्ट, कमलकृष्ण जोशी, हर्षनारायण धौभडेल, नरहरि आचार्यलगायतलाई पनि समातियो, डाक्टरहरू पनि पक्राउ परे ।
आन्दोलनमा सबै नेताहरूलाई समातेर लैजान थालेपछि विद्यार्थीहरूलाई यातना दिने, दमन गर्ने क्रम बढ्यो । अनि आन्दोलन असफल हुने हो कि भन्ने डर भयो । हामी पेशाकर्मीले हाम्रो दायित्व के त भन्ने सोच्यौँ । राजनीतिक कुरा, पार्टीगत कुरा त कल्पनाभन्दा बाहिरको हुन्थ्यो । हामीहरूले भित्रभित्रै पार्टीहरूलाई कसरी सघाउन सक्छौँ, पञ्चायत फाल्नका लागि विभिन्न पेशामा रहनेहरूको दायित्व के हो त ? पेशा भनेको हाम्रो दोस्रो पहिचान हो । पहिलो पहिचान हामी नेपाली हो । नागरिकको हैसियतले कसरी सहयोग गर्न सक्छौँ भनेर आफ्नो दायित्व बोध गर्यौं । भूमिका जे भए पनि एउटा नेपाली नागरिक, करदाता, मतदाताको हिसाबले हाम्रो भूमिका र दायित्व रहन्छ भनेर सरसल्लाह गर्यौं ।
धेरैजस्तो बैठकहरू भूमिगत रूपमा हुन्थे । योजना बनायौँ तर प्रतिबन्धित अवस्था र धेरै कडा स्थिति थियो । अहिलेजस्तो सञ्चारको सुविधा पनि थिएन । छलफल गर्न पनि सजिलो थिएन । कागजको चिर्कटोको माध्यमबाट सञ्चार गरेर कुरा गर्थ्यौं । हामी कुनै पनि पार्टीको झण्डा लिएर सडकमा जाने त होइन तर प्रजातान्त्रिक आन्दोलनमा समर्थन थियो । त्यसैले यस्तो बेलामा पेशागत संगठनले बौद्धिक तहबाट देशमा प्रजातन्त्र ल्याउन हाम्रो भूमिका के रहन्छ भनेर गोष्ठी पनि गर्यौं ।
‘प्रजातान्त्रिक आन्दोलनमा पेशागत संगठन र पेशाकर्मीको दायित्व’ भनेर ब्यानर बनाएका थियौँ । त्यसमा मलाई बोल्नका लागि समय दिइएको थियो । जसमा मैले महिला बेचबिखनमा दरबारको भूमिका छ, दरबारको संरक्षणमा मानव बेचबिखन फस्टाइरहेको छ, विशेषगरी तत्कालीन रानीको संरक्षणमा मानव बेचबिखन फस्टाइरहेको थियो । त्यसकारण राजतन्त्रको अन्त्य नभएसम्म नेपालमा मानव बेचखिनको समस्या समाधान हुँदैन भनेर बोल्दाबोल्दै प्रहरीहरू भित्र पसे । मैले बोलेर सकेँ अनि डा.मथुराप्रसाद श्रेष्ठ बोल्न लाग्नु हुँदा हामीलाई प्रहरीले समातेर लगे । हामी पेशागत संगठनको हैसियतले पेशाकर्मीहरूको प्रजातान्त्रिक आन्दोलनमा भूमिकाका साथै सामाजिक मुद्दा र सामाजिक समस्याका विरुद्ध पनि पञ्चायतको अन्त्य हुन जरुरी छ भन्ने विचारहरू पोख्थ्यौँ ।
महिला नेतृत्व र सहभागिता
आजभन्दा ३२ वर्ष अगाडि महिलाको स्थिति, चेतनाको स्तर र समाजको चरित्र हेर्दा बन्द समाज भएकाले हरेक कुरा विचार गरेर बोल्नुपर्ने अवस्था थियो । वाक् स्वतन्त्रता थिएन । अहिलेको जस्तो समय पनि होइन । त्यस्तो अवस्थामा भएको आन्दोलनमा महिलाको नेतृत्व र सहभागिता उत्कृष्ट मान्नुपर्छ ।
अर्को कुरा, आन्दोलन हाँक्ने मुख्य दुई वटा प्रजातान्त्रिक शक्तिलाई नेतृत्व गर्ने नै एक जना महिला कमाण्डर हुनुहुन्थ्यो, सहाना प्रधान । उहाँको नेतृत्वले पनि धेरै महिलाहरूलाई उत्साहित बनाएको थियो । भएका महिलाहरूको भूमिका उत्कृष्ट थियो, पेशागत संगठनमा पनि प्राध्यापक महिलाहरूको भूमिका उत्कृष्ट थियो । प्राध्यापक संघमा पनि महिलाहरू सक्रिय हुनुहुन्थ्यो । इन्जिनियर महिलाको भूमिका पनि उत्कृष्ट थियो । म नर्सिङ संघको महासचिव थिएँ । त्यति बेला नर्सिङ संघमा एक दुई जना मात्र पुरुष हुन्थे, अधिकांश महिला नै हुन्थ्यौँ । डाक्टर, वकिल पनि महिलाहरू हुनुहुन्थ्यो । साहित्यकारहरूमा पारिजात, कुन्ता शर्मा, बेन्जु शर्मा, बानिरा गिरीलगायतकाहरू क्रियाशील हुनुभएको थियो । विद्यार्थी फाँटमा पनि त्यस्तै थियो । अनेरास्ववियु, नेविसंघजस्ता विद्यार्थी संगठनको विभिन्न फाँटहरूमा महिलाहरू अगाडि आउनुभएको थियो । काठमाडौँ बाहिरका जिल्लाहरू जस्तै : पोखरामा लक्ष्मी कार्की, भैरहवा, जनकपुर र विराटनगरलगायतका जिल्लाहरूमा पनि महिलाहरू सक्रिय रूपमा आन्दोलनमा थिए । अहिलेको परिवेश र पहिलेको परिवेशलाई तुलनात्मक रूपले हेर्न त मिल्दैन होला तर समग्रमा भन्दा त्यो आन्दोलनमा महिलाको सहभागिता उल्लेखनीय, सक्रिय र विशिष्ट खालको थियो ।
मियो महिला
२०४६ सालको जनआन्दोलनमा महिलाको सहभागिता, नेतृत्व र योगदानको कुरा गर्दा महिलाहरू मियो नै थिए । सहाना प्रधान दरबार गएर अन्तिम सम्झौता गरेर पञ्चायत फाल्ने कागजपत्रमा सही गर्ने मध्येको एक जना महिला नै हुनुहुन्थ्यो । यसलाई त महिलाको मूल नेतृत्व भन्नुपर्छ । सम्झौता गर्दा पुरुषले मात्र सुटुक्क गएर गर्न पाएका थिएनन् । हामीहरू जस्ता धेरै जेलमै थियौँ । अन्तिम सम्झौता गर्ने बेलामा राजबन्दी रिहा नगरे वार्तामा नबस्ने भनेर दुवै पार्टीले भनेपछि सहाना प्रधानलाई छोडियो अनि हामीहरूलाई पनि छोडियो । गणेशमान सिंहलाई पनि छोडियो तर उहाँ बिरामी भएर वीर अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । त्यसैले काँग्रेसको तर्फबाट कृष्णप्रसाद भट्टराई र वाममोर्चाको तर्फबाट जेलबाट छुटेलगत्तै सहाना प्रधान नै जानुभयो ।
गणतन्त्रमा सहभागिताका लागि टाउको गनियो
अहिले गणतन्त्र आइसकेपछि त महिलाको सहभागिताका लागि टाउको मात्रै गनिन्छ । त्यो बेलाजस्तो अहिले वैचारिक र राजनीतिक रूपमा नेतृत्व लिएर महिलाहरू आएको देखिँदैन । महिलाहरू अग्रपंक्तिमा छैनन् । पछाडिबाट ताली पिट्ने, छाप लगाउने मात्रै भएको छ । त्यसले गर्दा राजनीतिक पद्धति फेरियो तर सामाजिक, सांस्कृतिक रूपान्तरणको चरणमा हामीले अगाडि बढाउन नसकेको हो कि जस्तो लाग्छ । त्यो बेला सहाना प्रधानको विचार गनिन्थ्यो । उहाँको एक्लो विचारले पनि धेरै कुराको नेतृत्व गर्यो । अहिले ३३ प्रतिशत भएर सयमा ३३ वटा टाउको हुँदा पनि विचार गनिँदैन । त्यसैले गुणात्मक नेतृत्व क्षमता र संख्यात्मक सहभागिता भिन्न हो भन्ने लाग्छ ।
सहाना प्रधानले पछिसम्म पनि तपाईंहरूले गर्नुपर्छ, बिस्तारै तपाईंहरूको पालो आयो भनेर सकारात्मक ऊर्जा दिनुहुन्थ्यो । आत्तिनु हुँदैन, गुणात्मक परिवर्तनहरू बिस्तारै हुन्छ भन्नुहुन्थ्यो, विचार पुर्याएर मात्र अगाडि बढ्नुपर्छ भनेर खुराक दिनुहुन्थ्यो । यसप्रकारको वैचारिक खुराक उहाँ ओछ्यान परिसकेपछि खड्केको हो, अझै पनि खड्किरहेकै छ । नेपाली महिला आन्दोलनमा उहाँको पूर्ति कसैले पनि गर्न सकेनन्, अझै केही वर्ष सक्दैनन् होला जस्तो लाग्छ ।
सामन्ती राजनीतिक नेतृत्व
समाजलाई विश्लेषण गर्नका लागि अझै पनि राजनीतिको मूल नेतृत्व सामन्ती चरित्रकै छ । राजनीतिको मूल नेतृत्व नै सामन्ती भएपछि प्रशासकीय नेतृत्व र न्यायपालिकाहरूको समस्या पनि त्यस्तै हुँदोरहेछ । राजनीतिक पद्धति फेरियो तर सामाजिक र सांस्कृतिक पाटोलाई धेरै पछाडि छाडिएछ । सामाजिक र सांस्कृतिक रूपान्तरणको पाटोलाई राजनीतिक परिवर्तन सँगसँगै जोडेर लैजाने काम भएन । चाहे त्यो महिलावादी पक्षमा होस् या लैङ्गिक हिसाबले होस्, जात र वर्गको हिसाबले होस् ।
सीमान्तकृत समुदायका मुद्दाहरू नितान्त रूपमा सामाजिक मुद्दा हुन् । यी मुद्दाहरू राजनीतिक पनि हुन् । भोट दिन पाउने र अन्य कुराहरू राजनीतिक दृष्टिकोणबाट धेरै अगाडि बढिसकेको छ । तर, दैनिक रूपमा हुने मुद्दाहरू भनेका सामाजिक र सांस्कृतिक प्रकृतिका छन् । त्यसलाई हामीले राजनीतिक परिवर्तन र उपलब्धिसँग जोड्न सकेनौँ । नजोड्दाखेरि त्यो बीचको खाडल यति गहिरियो र ती सामाजिक मुद्दा पछाडि नै छुटे ।
तीन दशकमा चार पद्धति
पछिल्लो तीन दशकलाई हेर्दा चार वटा पद्धति फेरिएको छ । पञ्चायत भोग्यौँ र फाल्यौँ, माओवादी जनयुद्ध भोग्यौँ, सक्रिय राजतन्त्र भोग्यौँ र अहिले गणतन्त्र भोग्दैछौँ । यी चार वटा पद्धतिसँग उठबस गर्यौँ तर सामाजिक तथा सीमान्तकृतका मुद्दाहरू जहाँको त्यहीँ छन् । हिजो सीमान्तकृत समुदायको भौतिक उपस्थिति हुँदैनथ्यो वा नगन्य हुन्थ्यो, आज भौतिक उपस्थिति बढेको छ । चाहे त्यो ३३ प्रतिशतमा होस् वा चाहे १० प्रतिशतमा । यसले भौतिक उपस्थिति हुँदैमा विचारको उपस्थिति नहुने रहेछ भन्ने प्रमाणित भइसक्यो, समस्याको जरो त्यहीँ छ । हामी अहिले पनि सहाना प्रधान, साधना अधिकारी, मंगलादेवी सिंहहरूले उठाएका मुद्दाकै वरिपरि घुमिरहेका छौँ । सम्पत्ति चाहियो, पहिचान चाहियो, महिला हिंसाको अन्त्य, बलात्कारीलाई सजाय दिउँ, बहुविवाह हुनुभएन यी मुद्दाहरू त पहिलेकै मुद्दा हुन् ।
महिला मुद्दा जहाँको तहीँ
अहिले गणतान्त्रिक व्यवस्था छ, गणतान्त्रिक समाजका मुद्दाहरू के हुन् त ? भनेर विश्लेषण नै भएन । यहाँनेर सहाना प्रधानहरू खड्किन्छ्न । भौतिक रूपमा महिलाहरू धेरै छन्, वैचारिक रूपले को छ भन्दा नाम लिन सजिलो छैन । अहिले राजनीतिक परिवर्तनसँगै सामाजिक, सांस्कृतिक परिवर्तनलाई जोडेर लैजान नसक्नु र जोड्नका लागि वैचारिक खुराक दिने नेतृत्व नहुनु समस्या भए जस्तो लाग्छ । त्यही भएर हामी पछाडि परिरहेका छौँ ।
महिला आन्दोलनले सोचेजति परिवर्तन गर्न सकेको छैन किनभने पहिलो कुरा सामाजिक संरचना गलत छ । सहाना प्रधानले भन्नुहुन्थ्यो ‘गलत सामाजिक संरचनामा फेरबदल ल्याउनुपर्छ । महिलालाई सम्पत्तिमाथिको अधिकार भनेर श्रीमानको पैसा अथवा बुबाको जग्गा दिने कुरा मात्र होइन । उत्पादनको कुरामा महिलाको स्वामित्वको कुरा आउँछ र अनि त्यहाँ आर्थिक कुरा आउँछ ।’ सम्पत्तिमाथि अधिकारको कुरामा जमिन महिलाको नाममा भयो भन्दैमा हुन्छ ? नाम हुँदैमा स्वामित्व हस्तान्तरण भएको छ र ? छैन नि । आफ्नै नाममा भएको सम्पत्तिबारेको निर्णय महिला एक्लैले गर्न पाउँछन् ? हामीले केही अपवादका कुरा गरेर हुँदैन, सर्वसाधारण महिलाको स्थितिलाइ केलाउनुपर्छ । शक्तिकेन्द्र नजिकका दुईचार महिलाका उदाहरणले आम महिलाको प्रतिनिधित्व गर्न सक्दैन । यहाँ त महिलाको नाम र पहिचानलाई प्रयोग मात्र गरिएको छ । फेरि पनि पितृसत्तालाई सम्वर्द्धन र संस्थागत गर्न महिलाको नामको प्रयोग भयो ।
अर्को, नागरिकताको पहिचानको कुरा, अहिलेको संविधानमा आमाको नामबाट नागरिकता दिने भनिएको छ, तर खोई पाएको ? कहीँकतै पाए पनि महिलालाई अपहेलित तरिकाले सम्बोधन गरिन्छ । तिम्रो श्रीमान् खोई ? कि मरिसक्यो ? कि हरायो ? कि अनैतिक सम्बन्धबाट जन्मेको हो, अनि मात्र तिम्रो सन्तानलाई आमाको नामबाट नागरिकता दिन्छु भनिन्छ । यसरी हेर्दा पहिचानको मुद्दा समाधान भएको छैन । यदि तिम्रो पहिचान नै सही छैन भने तिमीले स्वामित्व पाउँदैनौ । स्वामित्व पाएको छ तर पहिचान छैन भने त्यो प्रयोग गर्नै सकिँदैन ।
यस्ता मुद्दामाथिको बहस जहीँको तहीँ छ । समस्याको समाधान कानुनी दस्तावेजले मात्र नहुँदो रहेछ । सामाजिक चेत र रूपान्तरण तथा सांस्कृतिक रूपान्तरणको जरुरी छ भन्ने मेरोे निर्क्योल हो । यी मुद्दाहरू अहिलेको महिला आन्दोलनले उठाएको छैन । बरु अहिलेको महिला आन्दोलनले नागरिकताको समस्या समाधान भयो, सम्पत्तिमाथि महिलाको अधिकार प्राप्त भयो भन्छ । यदि प्राप्त भयो भने त सार्थक रूपमा प्रमाणित गर्नुपर्यो । उदाहरणका लागि मान्छेको जीवनलाई ल्याएर देखाउन सक्नुपर्यो । यदि ती मुद्दामा परिवर्तन आइसके भने त महिला आन्दोलनले नयाँ मुद्दा तय गर्नुपर्यो । त्यसैले म त भन्छु, न हिजोका मुद्दाको सार्थक अवतरण भएको छ न त नयाँ मुद्दा तय भएको छ ? त्यसैले म भन्छु, महिला मुद्दामा हामी गिजोलिएका मात्रै छौँ ।
कसैले आलोचनात्मक चेत राख्यो भने पनि उसको बुद्धिमाथि बिर्को लगाइदिने प्रयास हुन्छ । अहिलेको नयाँ पुस्ताले विद्रोह गर्न खोजिरहेको छ तर त्यो विद्रोहलाई मानसिक रूपमा दबाउने, मनोवैज्ञानिक रूपमा दबाउने र राजनीतिक रूपमा दबाउने गरिसकेपछि सामाजिक रूपान्तरण गर्ने चेतनशील वर्ग पनि निरास र हतोत्साहित हुने रहेछ । यसले परिवर्तन त अघि बढ्ने कुरै भएन ।
गन्तव्य तय गर्न सकिएन
पञ्चायती व्यवस्था ढलेपछि राजनीतिक रूपमा बोल्न पाएका छौँ, राजनीतिक स्वतन्त्रता पायौँ । तर, सामाजिक रूपान्तरण भने भएन । त्यसो भन्दैमा राजनीतिक स्वतन्त्रता सही होइन भन्ने त होइन । यसको अर्थ महत्वपूर्ण छ । वातावरण छ तर त्यही वातावरणभित्र मुद्दाहरूलाई तय गर्न र गन्तव्य तय गर्न सकिरहेका छैनौँ । त्यो कमजोरी हाम्रो हो । त्यति बेला प्रजातन्त्र भनिन्थ्यो अहिले लोकतन्त्र, गणतन्त्र भनिन्छ । अहिले स्वतन्त्र भएर हामी बोल्न पाइरहेका छौँ । यो त्यति बेलाको परिवर्तनको जगमा भएको हो । तर, बोलेको सुनुवाई कहाँ हुन्छ । बोलेको भनिएका, घोषणापत्रमा आएका कुराहरू, दस्तावेजमा आएका कुराहरू, संविधानमा आएका कुराहरू लागू हुने भनेको समाजमा हो । खोइ त भएको ? त्यसले गर्दा समाजको चरित्रलाई फेर्न सकिएन । राजनीतिक व्यवस्था मात्र फेरेर अपुग भएको जस्तो लाग्छ ।
वैचारिक लगानीमा खडेरी
अहिले वैचारिक लगानीमा खडेरी छ । यस अर्थमा पनि हो भने मूल राजनीतिक धार मै पनि खडेरी छ । किनकि, पार्टीमा दलालहरूले प्रभाव पार्न थाले । नेताहरू विचलित भए, राजनीतिक खाकाभित्रका सामाजिक मुद्दाहरूमा वैचारिक दृष्टिकोण भएन । त्यसले गर्दा समस्या भएको हो । कतिपय मुद्दाहरूलाई हामीले सकियो भनेर छोडिदियौँ । तर, कसरी सकियो भनेर चिन्तन, मनन र अध्ययन अनुसन्धान बहस गर्नै छोड्यौँ । कतिपय मुद्दाहरू राजनीतिक स्वतन्त्रता भइहाल्यो, पार्टीहरू आए पार्टीले गर्छन् भनेर हामी ढुक्क भएर बस्यौँ । समस्या चाहिँ त्यो हो ।
अन्तिम लडाइँ
२०३६ सालको जनमत संग्रहमा म स्कुलमा थिएँ । संगठित भइसकेको थिइनँ । तर पनि यो गलत व्यवस्था हो । पहेँलोलाई भोट दिनुहुँदैन निलोलाई दिनुपर्छ भन्ने कुरा बुझेकी थिएँ । किनभने, निलो भनेको बहुदलको झन्डाको रङ थियो । त्यसैले ०३६ सालमा हामीले अलिअलि धक्का दियौँ, हल्लायौँ मात्रै । २०४२ सालमा पनि बम कान्डलगायत अलिअलि हल्लिएको थियो । अनि २०४६ सालमा यो लडाइँ अन्तिम नै हुनुपर्छ भन्ने लाग्यो । अब नेपालमा नेपाली समाज र नेपाली जनताले पञ्चायत थेग्न सक्दैनन्, अब प्रजातान्त्रिक प्रक्रियामा अगाडि जानुपर्छ, अब समुन्नत नेपालको परिकल्पना गरेर जानुपर्छ भन्ने लागेर २०४६ सालको आन्दोलन अन्तिम हुन्छ भन्ने लागेको थियो ।
३० वर्षको पञ्चायत शासनको अन्त्य भयो तर पञ्चायतले सिर्जना गरेका विकृतिहरूको मानसिकताको अन्त्य भएन । राजनीतिक व्यवस्था राजनीतिक दृष्टिकोणले अन्तिम भयो तर सामाजिक, सांस्कृतिक रूपान्तरण हुन नसकेको र आर्थिक उत्पादनका साधनहरूको आधार बन्न नसकेको भएर अन्तिम होइन रहेछ कि भन्ने अहिले आएर लाग्छ । व्यवस्था परिवर्तन भए जस्तै मानसिकता, सोच र दृष्टिकोणमा परिवर्तन आएर सामाजिक सांस्कृतिक रूपमा रूपान्तरण हुनुपर्ने हो । त्यसका लागि अझै धेरै काम गर्नुपर्छ ।
सन्धान, प्रकाशन मिति २०७९ बैशाख ४ गते आइतवार
म यसमा सत् प्रतिशत सहमत छु तर अबको यात्रा कता अनि के र कसरी अन्योल छ , निकासमा लागाै ।
Comments are closed.