Home Stories बुबा प्रधानपञ्च, म पञ्चायत विरोधी –जयन्ती राई

बुबा प्रधानपञ्च, म पञ्चायत विरोधी –जयन्ती राई

498
0

म स्कुल पढ्दै गर्दा २०३५/३६ सालमा विद्यार्थी आन्दोलनमा लागेँ । विद्यार्थी हुँदै अखिल नेपाल महिला संघमा पनि सङ्गठित भएँ । २०३७ सालदेखि अखिल नेपाल महिला संघमा अर्धभूमिगत भएर काम गरेँ । मैले प्रगतिशील लेखक तथा कलाकार भएर पनि काम गरेँ । मैले भोजपुर जिल्लाबाटै राजनीति सुरु गरेको हो । राजनीति सुरु गर्दा पञ्चायतकाल थियो ।

म आफ्नो पढाइका साथै घरमा दाउरा, घाँस लगायत सबै काम गरेर पार्टीको काममा लागेको थिएँ । राजनीतिका लागि हिँड्दा पनि दिनभरि जनताकै खेतबारीमा काम गर्ने र बेलुका भएपछि सेल्टरमा गएर बैठक बसी उहाँहरूसँगै छलफल गथ्र्यौं । हामी बस्ने सेल्टर तथा बैठक बस्ने ठाउँहरू टाढा हुन्थ्यो । रातबिरात नभनी हामी आ–आफ्नै तरिकाले बैठक बस्ने ठाउँमा पुग्थ्यौँ । रातको १२–१ बजे पनि एक्लै हिँडेर बैठक बस्ने ठाउँमा पुगेको छु । त्यतिबेला गाडी चल्दैनथ्यो । साथीहरू समूह भएर सँगै हिँड्ने स्थिति पनि थिएन । पुलिसहरू जताततै हुन्थे । जहाँ भेटे पनि पक्राउ पर्न सकिन्थ्यो । पुलिस प्रशासनबाट जोगिनुपर्छ भन्ने हुन्थ्यो तर डर लाग्दैनथ्यो । त्यतिबेला ‘यो व्यवस्था जनताको शत्रु हो, जनताको अधिकार खोसेको छ, यो व्यवस्थाको अन्त्य गर्नुपर्छ’ भन्ने मात्रै लाग्थ्यो । त्यसरी एकोहोरो भएर निरङ्कुश निर्दलीय व्यवस्थाविरुद्ध लागेका थियौँ । त्यसरी लागेको काम सफल पनि भयो । त्यही सफलताको जगमा अरू खालका परिवर्तनकारी गतिविधिहरू पनि भए । अहिले हामी लोकतन्त्रात्मक गणतान्त्रिक मुलुकको नागरिक हुन पाएका छौँ ।

पञ्चायतविरुद्धको आन्दोलनमा

पञ्चायती व्यवस्थाविरुद्ध २०४६ सालको जनआन्दोलनमा सहभागी भएँ । तत्कालीन राज्यसत्ताले जनतालाई बोल्ने, हिँड्ने, डुल्ने, पढ्ने, लेख्ने र सङ्गठित हुन पाउने जस्ता नागरिकका सबै खाले आधारभूत अधिकारबाट वञ्चित गरेको थियो । त्यही भएर नागरिक अधिकार प्रािप्तका लागि हामी आन्दोलनमा होमिएका थियौँ । म त्यसबेला तत्कालीन माले पार्टीमा आबद्ध थिएँ । मैले २०४६ सालको जनआन्दोलनका लागि गठन गरिएको सङ्घर्ष समितिमा बसेर काम गरेँ । दिउँसो बाहिर निस्किएर केही गर्न सकिँदैनथ्यो । पुलिस प्रशासनले थाहा पाउँथ्यो अनि पक्राउ गथ्र्यो । त्यही भएर राति राति धेरै काम गर्नुपर्थ्यो ।

गाउँगाउँमा गएर जनआन्दोलनलाई समर्थन गर्न आर्थिक सहयोग पनि उठाउने गर्थ्यौं । खर्च कसरी जुटाउने भनेर शिक्षक कर्मचारीहरूलाई भेट्न जानुपर्ने हुन्थ्यो । पर्चा, पम्पलेटहरू बनाउनका लागि रकमको आवश्यकता पर्दथ्यो । रकम उपलब्ध भए पनि छाप्नलाई गाउँमा सुविधा थिएन ।

जनताको बिचमा गएर ‘यो गलत हो’ भनेर पञ्चायत व्यवस्थाका विरुद्धमा लाग्न उहाँहरूलाई सम्झाउने गर्थ्यौं । आन्दोलनका लागि सर्वसाधारणलाई घरबाहिर उतार्ने, विद्यार्थीहरूलाई आन्दोलनका लागि स्कुल र कलेजबाहिर निकाल्ने, महिलाहरूलाई आन्दोलनका लागि सडकमा लैजाने पनि गर्थ्यौं । पछि प्रजातन्त्रका लागि हो भनेर आन्दोलनको महत्त्व थाहा पाइसकेपछि त जनता आफैँ सडकमा निस्किन थाले र आन्दोलनले चर्को रूप लिन थाल्यो । सर्वसाधारणले पनि ‘यो व्यवस्था गलत हो’ भन्ने बुझ्न थाले र ‘यो व्यवस्थालाई अन्त्य गर्नुपर्छ’ भन्ने विद्यार्थी र युवा धेरै निस्किए । त्यो बेला महिलाहरू कम हुन्थे । दुई चार जना मात्रै थिए । म त्यतिबेला त्यस्तै २५/२६ वर्षको थिएँ । त्यतिबेला छुट्टै जोसजाँगर हुन्थ्यो, केहीमा लागेपछि कसैले रोक्न नसक्ने !

सङ्घर्ष समितिमा रहेकाले मैले आर्थिक व्यवस्थापन पनि गर्नुपर्ने हुन्थ्यो । गाउँगाउँमा गएर जनआन्दोलनलाई समर्थन गर्न आर्थिक सहयोग पनि उठाउने गर्थ्यौं । खर्च कसरी जुटाउने भनेर शिक्षक कर्मचारीहरूलाई भेट्न जानुपर्ने हुन्थ्यो । पर्चा, पम्पलेटहरू बनाउनका लागि रकमको आवश्यकता पर्दथ्यो । रकम उपलब्ध भए पनि छाप्नलाई गाउँमा सुविधा थिएन । धरानमा पुगेर त्यो छाप्नुपर्थ्यो । हामी समितिकै साथीहरू धरान पुगेर छपाउँथ्यौँ । जिल्लामा राजनीतिमा म सँगसँगै एक जना सरस्वती राई पनि हुनुहुन्थ्यो । २०४५ सालमा जेल परेदेखि नै हामी सँगै थियौँ ।

प्रधानपञ्चको छोरी, पञ्चायत विरोधी

भूमिगत राजनीति गर्दादेखि नै मलाई थप चुनौती थियो । सबैभन्दा पहिले त मैले घरपरिवारबाटै जोगिनुपथ्र्याे । मेरै घरपरिवारलाई मैले पञ्चायती व्यवस्थाको विरोध गरेको मन परेको थिएन । मेरो बुबा प्रधानपञ्च हुनुहुन्थ्यो । बहुदल आएपछि दुई पटक वडाअध्यक्ष पनि हुनुभयो । बुबा त्यही व्यवस्थालाई मानेर प्रधानपञ्च भए पनि म त्यो व्यवस्थाकै विरोधी भएर निस्किएँ । पछिल्लो चरणमा भने बुबाले प्रधानपञ्च भएकै बेला पनि जनआन्दोलनलाई सहयोग गर्न थाल्नुभयो । अनि त प्रशासनले बुबालाई पनि दुःख दियो । तारिखमा धाउन लगायो । ‘बाउ व्यवस्थाको संरक्षक, छोरी त्यही व्यवस्थाको विरोधी त्यस्तो पनि हुन्छ ?’ भनेर पुलिसहरूले मलाई भन्थे ।

मेरो बुबा आर्मीको जमदार पनि हुनुहुन्थ्यो । त्यो भएर आर्मीले पनि बुबालाई बोलाएर ‘छोरीलाई राम्रोसँग सम्झाउनू, फकाउनू’ भनेको रहेछ । तर त्यतिबेला बुबाले मलाई केही भन्नुभएन । बरू ‘ठिकै छ, उनीहरूको विचार हो, उनीहरूले निर्णय लिइसकेपछि म जबरजस्ती गर्दिनँ । मभन्दा उनीहरू नै जान्ने बुझ्ने छन्, मैले के भन्नु र ?’ भनेर टार्दिनुभएको रहेछ । बुबाको सम्बन्धका कारण आर्मीले मलाई पनि राम्रैसँग ‘यस्तो नगर, राम्रो जागिर खानुपर्छ, राम्रो बन्नुपर्छ’ भन्थे ।

हिरासतमा फकाउँथे

म २०४५ सालमा अनेरास्ववियुको जिल्ला उपाध्यक्ष थिएँ । त्यतिबेला मलाई पक्राउ गर्यो । २७ दिन हिरासतमा राखेको थियो । त्यो मुद्दा २०४६ सालमा पनि धाइरहेको थिएँ । म अलि एकोहोरो खालको थिएँ, कसैले भनेको नमान्ने, नसुन्ने । हामीलाई ‘कस्टडी’ मा ल्याउँदा पनि मलाई धेरै फकायो । ‘पढेलेखेको मान्छे, युवा मान्छे तपाईंहरू सुध्रिनुहोस्, तपाईं आन्दोलन नगर्नुहोस्’ भनेर धेरैले भने । तर, म ‘कन्भिन्स’ भइनँ ।

बहुदलपछि पनि डर

चैत २६ गते बहुदल घोषणा भएको रात पनि म अर्कै गाउँमा थिएँ । हामी आन्दोलनका लागि आवश्यक पर्ने रकम सहयोग माग्न र चन्दा उठाउन त्यो गाउँ पुगेका थियौँ । बहुदल आएको सुनेपछि त खुसी भयौँ र त्यहाँबाट फर्किन लाग्यौँ । त्यो गाउँबाट जिल्लामा पुग्न एकदिनको बाटो हिँड्नुपर्थ्यो । त्यो बेला गाडी हुँदैनथ्यो । बहुदल आएपछि त खुला रूपले हिँड्न पाइने भयो, पहिले जस्तै डर मान्नु पर्दैनथ्यो । पुलिसले पक्रिएर लाँदैनथ्यो । तर, त्यतिबेला ‘साँच्चिकै यस्तो दिन आएको हो त ?’ भनेर अचम्म लागेको थियो । मनको डर गइसकेको थिएन । त्यही भएर ‘कतै पक्राउ पो परिन्छ कि ?’ भन्ने पनि लागेको थियो । ‘हामी साँच्चै स्वतन्त्र भएका हौँ त ?’ भन्ने पनि लाग्थ्योे । मलाई विद्यार्थीकालदेखि नै पुलिस प्रशासनले खेदो खनेको थियो । यसैले पनि मेरो मनमा त्यतिबेला डर बढी भएको होला जस्तो लाग्छ । स्वतन्त्र भएर पुलिस प्रशासनदेखि नडराई हिँड्न पाइने अवस्था आउँदा त पत्याउनै गाह्रो भएको थियो नि ! तर, जुन दिन ल्याउन लडेको हो, त्यो दिन प्राप्त भएकोमा खुसी त कति हो कति ? गर्व पनि लाग्थ्यो ।

मलाई लाग्छ, बुबा प्रधानपञ्च हुँदा, आर्मी पुलिसले फकाउँदा, धेरैले आन्दोलनको त्रास देखाउँदा पनि म परिवर्तनको लागि आफ्नो निर्णयमा अडिग भएर लागिरहेँ । त्यसरी लाग्यो भने कसैले रोक्न नसक्ने रहेछ । त्याग गरेर लागेपछि खोजेको कुरा प्राप्त पनि हुँदो रहेछ भन्ने लाग्छ ।

(राईसँग सन्धानका तर्फबाट समीक्षा गाहाले गरेको कुराकानीमा आधारित ।)

२०२० सालमा भोजपुरमा जन्मिनुभएकी जयन्ती राई २०५४ सालमा जिल्ला विकास समितिको उपसभापति हुनुभएको थियो । हाल राष्ट्रियसभा सदस्य उहाँ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ ।

नेपाली राजनीतिमा महिलाका योगदानका थप कथाहरू

सन्धान प्रकाशन मिति : २०७९ चैत्र १९ गते, आइतवार


Previous articleमहिलाहरू मिलेर प्रहरी कब्जाबाट वडाध्यक्षलाई फुत्कायौँ –रेशमकुमारी थापा
Next articleमेरो कोठा सेल्टर जस्तै थियो –सरस्वती चौधरी