‘भर्खरै बिहे भएका हामी दम्पती नै आन्दोलनमा लाग्यौँ’ –प्रा.डा. सुधा त्रिपाठी

    971
    0

    जनआन्दोलन–२०४६ मा महिला सहभागिता र योगदान विशेष

    प्रा.डा. सुधा त्रिपाठी प्राध्यापक, साहित्यकार तथा लेखक हुनुहुन्छ । त्रिभुवन विश्वविद्यालयमा ३८ वर्ष प्राध्यापन गर्नुभएका उहाँले चार वर्ष त्रिवि शिक्षाध्यक्षको जिम्मेवारी सम्हाल्नुभयो । २०७६ सालमा शिक्षाध्यक्षको जिम्मेवारी सकिएपछि करिब तीन महिना उहाँ त्रिविको उपकुलपति हुनुभयो । २०४६ सालको जनआन्दोलनमा उहाँ लेखक, साहित्यकारको रूपमा पनि सहभागी हुनुभयो ।

    जनआन्दोलन–२०४६ सम्पन्न भएको ३२ वर्ष पुगेको छ । सो आन्दोलनलाई महिलाको दृष्टिकोणबाट स्मरण गर्ने उद्देश्यका साथ ‘सन्धान’ ले सुरु गरेको शृङ्खला जारी नै छ । यसै क्रममा आज प्रस्तुत छ, ‘सन्धान’ का तर्फबाट समीक्षा गाहाले गरेको कुराकानीमा आधारित प्रा.डा. सुधा त्रिपाठीको स्मरण :

    म स्नातक तहको विद्यार्थी हुँदा २०३५/३६ सालको आन्दोलन भएको थियो । समाजको परिवर्तनका लागि यस्ता आन्दोलनहरू आवश्यक छन् भन्ने बोध मलाई भइसकेको थियो । सांस्कृतिक फाँट, सडक आन्दोलन र अन्य कुनकुन क्षेत्रबाट कसरी हुन्छ, सामाजिक, सांस्कृतिक रूपान्तरण गर्नैपर्छ भन्ने लाग्थ्यो । त्यही भएर होला २०३५/३६ सालका आन्दोलनदेखि नै म सक्रिय हुन थालेँ ।

    म क्याम्पसको पढाइ सकेर त्रिभुवन विश्वविद्यालयमा पढाउन थालिसकेको थिएँ । २०४६ सालको जनआन्दोलन सुरु भयो । सामाजिक, सांस्कृतिक रूपान्तरणका लागि सचेत वर्ग सक्रिय भएर लाग्नुपर्छ भन्ने हुन्थ्यो । मेरो बिहे २०४६ सालकै मङ्सिरमा भएको हो । त्यो आन्दोलनप्रति मेरो र मेरो श्रीमान् प्रा.डा. रमेश भट्टराईको एउटै सोच थियो । हामी आफू अगाडि लाग्यौँ भने अन्यले हामीलाई साथ दिन्छन् भन्ने लाग्थ्यो ।

    खासमा बिहेपछि मलाई समाज रूपान्तरणको आन्दोलनमा सहभागी हुन अझ सहयोग पुग्यो । बिहेभन्दा अगाडि अभिभावकको डर हुन्थ्यो, बिहेपछि अलि फुकुवा भए जस्तो पनि भयो । हामी दुवै जना आन्दोलनका पक्षधर थियौँ । आन्दोलनका हरेक मोर्चाहरूमा हामी सँगसँगै सहभागी भएका थियौँ । टुँडिखेल होस् या अन्य ठाउँमा, प्राध्यापक, प्रगतिशील लेखक संघ वा अन्यत्र जता पनि सहभागी हुने क्रमलाई मैले निरन्तरता दिएँ ।

    चैत २६ गते नै हुनुपर्छ । हामी टुँडिखेल, रत्नपार्कको वरिपरि नै थियौँ । त्यही समयमा गोली चल्न थाल्यो । त्यसपछि कता जाने–जाने भयो । सँगै भएका मान्छेहरू पनि तितरबितर भए । श्रीमान् कता जानुभयो, म भोटाहिटी पुगेँ । रत्न पुस्तक भण्डारको अगाडि पुग्दा गोली चल्यो । मसँगै हिँडेको मान्छेलाई गोली लाग्यो र ढल्यो ।

    म ललितकला क्याम्पसभित्र पसेँ । अन्य आन्दोलनकारी साथीहरू पनि त्यही क्याम्पसमै पसे । ललितकला क्याम्पसको पहिलेको पुरानो भवनभित्र हामी धेरै जना बस्यौँ । त्यहाँको अवस्था तनावग्रस्त नै थियो । अब कति समय त्यहाँ बस्ने ? रातभरि त यहाँ बसेर हुँदैन, घर त जानुर्‍यो भन्ने कुरा आयो । त्यसपछि सबै एकैपटक नजाने, एक्लैएक्लै गरेर जाऔँ भन्ने कुरा भयो र त्यसै गर्‍यौँ । म पनि ठमेल हुँदै एक्लै हिँड्दै गएँ । ज्ञानेश्वरमा मेरा बुबाआमा बस्नुहुन्थ्यो, त्यहीँ पुगेँ । हामी श्रीमान्–श्रीमतीबिच पहिले नै आन्दोलनका क्रममा भागदौड हुँदा यताउता पर्‍यौँ भने ज्ञानेश्वरमा आमाबुबाको घरमा भेट्ने भन्ने सल्लाह भएको थियो । त्यही अनुसार घरमा भेट भयौँ ।

    त्यस बेला प्रगतिशील लेखक संघ, प्राध्यापक, आमजनतालाई आह्वान गरिएको मोर्चादेखि लिएर सबैमा म निरन्तर सहभागी भइरहेँ । अरू धेरै दिदीबहिनी पनि सहभागी हुनुहुन्थ्यो । कतिपय सरकारी जागिरमा भएकाहरू आन्दोलनमा हिँड्दा जागिर जाने हो कि भनेर डराएको देख्थेँ । पञ्चायत सरकार पनि ढलिसकेको थिएन । आन्दोलनकारीहरूको जित हुने हो कि होइन थाहा नभएर अन्योलमा देखिएर कतिपय मानिस आन्दोलनलाई समर्थन गर्दागर्दै पनि प्रत्यक्ष सहभागी हुँदैनथे । यो महिला र पुरुष दुवैको हकमा लागु हुन्छ । जागिरभन्दा सामाजिक रूपान्तरण र राजनीतिक व्यवस्था परिवर्तनको मोह भएकाहरू आन्दोलनमा सहभागी भए, खटिए ।

    आन्दोलनमा अझ बढी राजनीतिक महिलाहरू अगाडि आउनुभयो । स्वतःस्फूर्त रूपमा पनि महिलाहरू सहभागी हुन्थे । तर, सामान्य महिलाहरूलाई घरपरिवारले अनुमति दिन्छन् कि दिँदैन भन्ने डर थियो भने कतिपय महिलाहरूलाई भएको जागिर गयो भने घरकाले मार्छन् भन्ने डर पनि थियो । त्यो दोधारको अवस्थामा पुरुषलाई भन्दा महिलालाई बढी समस्या पर्ने गर्थ्यो । हामी भने जागिर गए पनि केही गरेर खाइएला भन्ने सल्लाह गरेर आन्दोलनमा सक्रिय भइरह्यौँ । कलम चलाएर पनि खाउँला भन्ने सल्लाह पनि हुन्थ्यो । कहिलेकाहीँ दिनभरि आन्दोलन, साँझ राँकेजुलुस गरेर घर आइपुग्दा राती हुन्थ्यो । त्यस्तो थाकेर आउँदा भुजिया, चिउरा र पानी खाएर सुत्थ्यौँ अनि फेरि भोलिपल्ट आन्दोलनको मोर्चामा सहभागी हुन्थ्यौँ । हाम्रो डेरा मैतीदेवीमा थियो । कर्फ्यू छल्दैछल्दै हिँड्थ्यौँ । ज्यानको बाजी लगाएर पञ्चायती शासन व्यवस्थाविरुद्ध लडेका थियौँ ।

    सन्धान, प्रकाशन मिति २०७८ चैत २९ गते मंगलवार ।


    Previous article‘हिरासतमा प्रहरीले दुर्व्यवहार गरेको थियो’ – डा. बेञ्जू शर्मा
    Next article‘पञ्चायत सरकारले २०३५ सालमा मेरो टाउकोको मोल तीनलाख तोकेको थियो रे’
    –सुशीला श्रेष्ठ