Home Insight पहिले र अहिले आकाश जमिनको फरक छ (भिडियो सहित) – सीता बिडारी

पहिले र अहिले आकाश जमिनको फरक छ (भिडियो सहित) – सीता बिडारी

687
0

सन्दर्भ : संसदीय निर्वाचन २०७९

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि २०७९ साल मङ्सिर ४ गते निर्वाचन हुँदैछ । निर्वाचन आउन अब २० दिन बाँकी छ । आगामी निर्वाचनमा प्रत्यक्षतर्फ १० प्रतिशतको हाराहारीमा मात्रै महिलाहरूको उम्मेदवारी परेको छ ।

अहिलेका ठुला सबैजसो पार्टीमा स्थापनाकालदेखि नै महिलाहरूको योगदान र सहभागिता रहँदै आएको छ । संसदीय निर्वाचनकै कुरा गर्ने हो भने २०१५ सालमै एक जना महिला संसद् सदस्यमा निर्वाचित भएको इतिहास छ । २०१५ सालमा जारी भएको ‘नेपाल अधिराज्यको संविधान’ मा संसद् गठनको व्यवस्था गरिएको थियो । सो व्यवस्था अनुसार १०९ सदस्यीय प्रतिनिधिसभा सदस्य निर्वाचन २०१५ साल फागुन ७ गते प्रारम्भ भई विभिन्न चरण हुँदै चैत २८ गते सम्पन्न भएको थियो ।

उक्त संसदीय निर्वाचनमा निर्वाचन क्षेत्र नम्बर ६६ डडेल्धुराबाट नेपाली कांग्रेसका उम्मेदवार द्वारिकादेवी ठकुरानी तीन हजार ९०३ मत पाएर निर्वाचित हुनुभएको थियो । यस अनुसार २०१५ सालको संसदीय निर्वाचनमा झन्डै एक प्रतिशत (०.९१ प्रतिशत) महिला निर्वाचित भएको देखिन्छ । संघीय संसद सचिवालयबाट प्रकाशित ‘संसदमा महिला सहभागिता २०१५–२०७४’ पुस्तिकामा द्वारिकादेवी २०१५ फागुन १६ गते निर्वाचित भएको उल्लेख छ ।

‘नेपालको निर्वाचन इतिहास’ मा उल्लेख भए अनुसार, द्वारिकादेवी २०१५ सालको निर्वाचनमा एक मात्र महिला उम्मेदवार हुनुहुन्थ्यो । उहाँ नेपालकै पहिलो महिला मन्त्री पनि बन्नुभयो ।

संसदमा महिला सहभागिता स्थिति केलाउँदा एक प्रतिशतभन्दा कम सङ्ख्यामा भएको उम्मेदवारी र निर्वाचित भएको २०१५ सालदेखि २०७९ सालसम्म आइपुग्दा उम्मेदवार महिलाको सङ्ख्या बल्ल १० प्रतिशतको हाराहारीमा पुगेको छ । यसमा स्वतन्त्र उम्मेदवारी दिएका महिलासमेत रहेका छन् । ठुला भनिएका राजनीतिक पार्टीहरूका महिला उम्मेदवार कम छन् ।

अहिले प्रत्यक्षतर्फ नेकपा एमालेबाट ११, नेकपा माओवादी केन्द्रबाट सात, नेपाली कांग्रेसबाट पाँच, नेकपा समाजवादी र राष्ट्रिय जनमोर्चाबाट एक एक गरी २५ जना महिलाले मात्रै उम्मेदवार हुन पाएका छन् । तराई मधेसका जनताको अधिकारका लागि स्थापना भएको भनिएका मधेस केन्द्रित ठुला दलबाट त झन् प्रत्यक्षतर्फ महिलाले उम्मेदवार हुनै पाएका छैनन् ।

राजनीतिक तथा सामाजिक परिवर्तनका लागि भएका हरेक आन्दोलनहरूमा महिलाहरू अग्रमोर्चामै रहँदै आएका छन् । तर, मुख्य–मुख्य पदहरूका लागि होस् वा प्रत्यक्ष निर्वाचनमा उम्मेदवार चयन गर्ने बेलामा होस्, महिलाहरूलाई सकेसम्म पन्छाइएको पाइन्छ । राजनीतिकर्मी महिलाहरूको साझा गुनासो छ– नेतृत्वले महिलालाई अवसर नै दिँदैन । कहिले गठबन्धनको नाममा त कहिले ‘जित्ने उम्मेदवारलाई उठाउने नीति’ भन्ने जस्ता बहानामा महिलाहरूलाई वञ्चितीमा पार्ने गरिएको छ । यसैले निर्वाचनमा कमै मात्र महिलाहरू उम्मेदवारका रूपमा देखिन्छन् । गणतन्त्र आइसकेपछि दुई वटा स्थानीय निर्वाचन भए । २०७४ र २०७९ सालमा भएका ती निर्वाचनमा पनि एकदमै कम मात्र महिलाले प्रमुख पदमा उम्मेदवारी दिन पाए । महिला राजनीतिकर्मीप्रति राजनीतिक नेतृत्वले गर्ने यस खालको विभेद र अन्यायपूर्ण व्यवहार कहिलेसम्म ? ‘सन्धान’ ले यही मूल प्रश्नसहित पुराना राजनीतिज्ञ महिलाहरूको अनुभव र पार्टी एवं राजनीतिक सामाजिक आन्दोलनहरूमा महिलाको योगदानलाई प्रस्तुत गर्न थालेको छ । यसै सन्दर्भमा आज हामीसँग हुनुहुन्छ, मकवानपुर जिल्ला हेटौँडाकी सीता बिडारी :

सीता पञ्चायती शासन विरुद्ध २०४६ सालमा भएको आन्दोलनमा गोली लागेर घाइते भएकी एक जना महिला हुनुहुन्छ । २०१९ सालमा जन्मिएकी उहाँको दाहिने गोडामा गोलीको छर्रा पसेको छ । सो गोलीको छर्रा उहाँलाई २०४६ सालको आन्दोलनमा सहभागी हुँदा लागेको थियो । त्यो छर्रा अहिलेसम्म पनि उहाँको गोडामै छ । उहाँका अनुसार, त्यही छर्राकै कारण उहाँलाई अहिले गोडा दुखिरहने समस्या भएको छ । उपचार गराउँदा पनि ठिक भएको छैन ।

सीताले मकवानपुरको हेटौँडा कपडा उद्योगमा २०३८ सालदेखि काम गर्नुभएको थियो । उहाँलगायत श्रमिक महिलाहरूले महिला श्रमिकहरूप्रति उद्योगले गर्ने विभेदपूर्ण व्यवहारविरुद्ध बोल्ने गर्थे । उद्योगले महिलाहरूलाई ८ घन्टाभन्दा धेरै समय काममा लगाउने, शारीरिक रूपमा महिलाले गर्न नसक्ने खालका काम पनि लगाउने, उत्पादनमा महिलालाई बढी खटाउने गर्थ्यो । तर, उद्योग प्रशासनले महिलाहरूको बढी समयको काम, पेलाइ र खटाइको मूल्याङ्कन नै गर्दैनथ्यो । त्यसमाथि पुरुषहरूको हकमा भने काम गरे नगरेको पनि वास्तै नगर्ने भएपछि महिलाहरू अनौपचारिक ढङ्गले सङ्गठित भए । महिलालाई काममा बढी पेल्न पाइँदैन भन्दै प्रशासनविरुद्ध बोल्न थाले ।

उद्योग परिसरमा विभेद झेल्न बाध्य भएपछि त्यसविरुद्ध बोल्न थालेका थुप्रै महिला श्रमिकहरू २०४६ सालमा भएको पञ्चायतविरुद्धको आन्दोलनमा अग्रमोर्चामा रहेर हेटौँडाको सडकमा आए । तीमध्ये कतिले त भूमिगत भएर राजनीतिक पार्टीमा पनि काम गरेका थिए ।

‘मागेर पाइँदैन, खोजेर आफैँ आउँदैन,
छातीमा तारो नथापे त्यो दिन आउँदैन’

आफूहरूले यस्तै गीत गाएर देशमा परिवर्तनका लागि लडेको कुरा सीता बिडारी भावुक हुँदै सम्झिनु हुन्छ । उहाँले कपडा उद्योगको श्रमिक हुँदै कम्युनिष्ट राजनीतिमा प्रवेश गर्नुभएको थियो । २०४६ सालको आन्दोलन सफल भएपछि २०४८ सालमा उहाँले कम्युनिष्ट पार्टीको ‘संगठित सदस्यता’ लिनुभयो । उहाँको अनुभवमा त्यो बेला कम्युनिष्ट पार्टीको ‘संगठित सदस्यता’ पाउनु ठुलो कुरा हुन्थ्यो ।

अहिले पनि कम्युनिष्ट पार्टीमै आबद्ध सीता स्वास्थ्य समस्या र उमेरलगायतका कारणले सक्रिय राजनीतिबाट केही टाढा हुनुहुन्छ । टाढा रहेर पनि उहाँले राजनीतिलाई गाढा तरिकाले हेर्न र बुझ्न सक्नुहुन्छ । यसैले उहाँसँग ‘सन्धान’ ले राजनीतिक परिवर्तनको आन्दोलनमा भएको उहाँको सहभागिता, त्यतिबेला र अहिलेको राजनीतिक संस्कार, कम्युनिष्ट पार्टी, पार्टीको सिद्धान्त, नेता र कार्यकर्ताहरूमा त्यो बेला र अहिले देखिएका भिन्नतालगायतका विषयमा कुराकानी गरेको छ । प्रस्तुत छ, केही समयअघि हेटौँडास्थित उहाँकै घरमा पुगेर सन्धानका तर्फबाट लक्ष्मी बस्नेतगार्डिका बज्राचार्यले गरेको कुराकानीको सम्पादित अंश :

भिडियो हेर्नुहोस्

नेपाली राजनीतिमा महिलाका योगदानका थप कथाहरू

सन्धान प्रकाशन मिति : २०७९ कात्तिक १४ गते, साेमवार


Previous articleमहँगो राजनीतिले महिलालाई अप्ठ्यारो पारिरहेको छ (भिडियो सहित) – विभा ठाकुर
Next articleनेपालको महिला आन्दोलनमा मुस्लिम महिलाको योगदान र सहभागिता