जनआन्दोलनमा मजदुर मोर्चाबाट क्रियाशील थिएँ –धनकुमारी सुनार

    1004
    0

    जनआन्दोलन–२०४६ मा महिला सहभागिता र योगदान विशेष

    जनआन्दोलन–२०४६ सम्पन्न भएको ३२ वर्ष पुगेको छ । सो आन्दोलनलाई महिलाको दृष्टिकोणबाट स्मरण गर्ने उद्देश्यका साथ ‘सन्धान’ ले सुरु गरेको शृङ्खला जारी नै छ । यसै क्रममा आज सामाजिक अधिकारकर्मी तथा वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीकी केन्द्रिय सचिवालय सदस्य धनकुमारी सुनारको स्मरण :

    म २०४६ सालको जनआन्दोलनका बेला हेटौँडाको ४ नम्बर वडास्थित घरमा बस्थेँ । हेटौँडा औद्योगिक क्षेत्र भएको ठाउँ हो । त्यस बेला म हेटौँडा औद्योगिक क्षेत्रभित्र रहेको ‘नेपाल सिन्थेटिक’ भन्ने कपडा बुन्ने निजी कम्पनीमा मजदुरको रूपमा काम गर्थें । फ्याक्ट्रीमा काम गर्दा म तत्कालीन नेकपा मालेको अर्धभूमिगत नेपाल स्वतन्त्र मजदुर युनियन भन्ने सङ्गठनमा आबद्ध भइसकेको थिएँ । हाम्रो फ्याक्ट्रीमा मजदुर सङ्गठनको प्रारम्भिक कमिटी भन्ने हुन्थ्यो । म त्यसैमा आबद्ध थिएँ । त्यहीँ काम गर्दागर्दै मैले जनआन्दोलनमा भाग लिने स्थिति बन्यो ।

    हुन त म २०४२ सालदेखि नै तत्कालीन भूमिगत मालेसँग आबद्ध भैसकेको थिएँ । विभिन्न जिम्मेवारीमा रहेर काम पनि गरिरहेको थिएँ । जनआन्दोलन एकदमै सशक्त बनाउने भनेर पार्टीले पनि निर्णय गरिसकेको थियो । त्यसैअनुसार म पनि लागेँ ।

    हेटौँडाका विभिन्न ठाउँबाट २०४६ फागुन ७ गते जुलुसहरू निकाल्ने कुरा भयो । हेटौँडामा फरेस्ट्री क्याम्पस छ । त्यसको अगाडि जुलुस र प्रदर्शनलाई जमघट गर्न दिँदैनथ्यो । हामी क्याम्पसको पछाडिपट्टि जम्मा भयौँ । त्यहाँ मजदुरहरूको मोर्चा थियो । मजदुर क्षेत्रबाट त्यति बेला विष्णु ओझा, गोमा तिमिल्सिना, ललित बस्नेतलगायतका नेताहरू हुनुहुन्थ्यो । आन्दोलनमा विभिन्न मोर्चाहरू थिए । महिलाको मोर्चा छुट्टै थियो । विद्यार्थीको मोर्चा छुट्टै थियो । म चाहिँ मजदुर क्षेत्रबाट सहभागी भएको थिएँ ।

    आन्दोलनले गर्दा आमासँग विवाद

    देशभरि आन्दोलनमा धरपकड, पक्राउ हुन सुरु भइसकेको थियो । आन्दोलनमा लाग्नेलाई मार्छ भन्ने हल्ला पनि भयो । यस्तो आन्दोलनमा म जान लागेको मेरो आमाले थाहा पाउनुभयो । मलाई पनि मार्छन् भनेर आमाले ‘कहीँ निस्किन पाउँदिनस्’ भन्नुभयो ।

    मलाई भने जसरी पनि आन्दोलनमा जानैपर्ने थियो । आमा र मेराबिच विवाद जस्तै भयो । म १७/१८ वर्षको थिएँ । आमाले ‘आन्दोलनमा जान दिन्नँ’ भनेर ढोका थुनेर राख्नुभयो । म भने भागेर निस्केँ । म निस्केपछि आमा रुँदैरुँदै पछिपछि आउनुभयो । भुटनदेवी स्कुलको पश्चिमतिर मेनरोडमा राप्ती होटेल थियो । आमा त्यसको नजिकैसम्म आउनुभयो । मलाई नभेटेर रिस उठ्यो होला, ‘तँ नजा’ भन्दै रुँदै ढुङ्गाले हान्नुभयो । म भने नसुने जस्तै गरी भागेँ ।

    म घर फर्किनँ । मैले माया गोले भन्ने साथी भेटेँ । उसलाई पनि मैले पार्टीमा सङ्गठित गरेको थिएँ । उसैलाई लिएर आन्दोलनमा गएँ । त्यहाँ भिडन्त हुनसक्छ, पक्राउ पर्न वा मारिन पनि सकिन्छ भन्ने तयारीका साथ मजदुरहरू, नेताहरू भेला भैसकेका थिए । सबैको हातमा लाठी थियो । मैले पनि हातमा लाठी बोकेँ र त्यहाँबाट जुलुस निस्क्यौँ ।

    पञ्चायती व्यवस्था मुर्दावाद, प्रजातन्त्र जिन्दावाद भन्दै नारा लगाउँदै हिँड्यौँ । फरेस्ट्री क्याम्पसबाट अलिकति अगाडि भुटनदेवी मन्दिर जाने बाटोनेर पुग्दा प्रहरीले हामीलाई रोक्यो र भिडन्त भयो । कतिलाई कुटपिट गर्यो, कतिलाई पक्राउ गर्यो । सबै जना तितरबितर भए । कताकता भागेर गए । म र मेरो साथी माया पनि दौडिँदै गएर बलराम पेट्रोल पम्पको आडैको घरमा छिर्‍यौँ । त्यहाँ अरू मानिस पनि रहेछन् । त्यो घर मूल बाटैमा थियो । आन्दोलनमा भिडन्त भयो । अश्रुग्यास हानियो । गोली नै चलेपछि त त्यो घरका मान्छेहरू घर नै छाडेर भागेछन् ।

    ढोकामा चाबी नलगाएको भएर हामी भित्र पस्यौँ । हामीले ढोका लगाएर बस्यौँ । वरिपरि घुमेर प्रहरीहरूले घरघरबाट मान्छेलाई थुत्दै निकाल्न थाल्यो । हामी डरायौँ । माया झन् डराएर रुन थाली । रोयो भने झन् प्रहरीले थाहा पाउँछ, चुप लाग भनेँ । एकैछिनमा हामी बसेकै कोठाको ढोकामा पनि प्रहरीले हान्यो । हामीले ढोका खोलेनौँ । एकैछिनमा प्रहरीहरू गए । हामी पनि त्यहाँबाट निस्कियौँ ।

    नेताहरूबिच समन्वय अभाव

    आन्दोलनको क्रममा धेरैलाई पक्राउ गरेछ । अहिले बागमती प्रदेशको प्रदेश सभा सदस्य मुनु सिग्देललाई पक्राउ गरेछ । मजदुर नेता सीता बिडारीको खुट्टा भाँचिएछ भन्ने सुन्यौँ । अर्को घटना पनि भयो । आन्दोलनकारीले कुटेर हुप्रचौरमा एक जना प्रहरी मारे भन्ने आयो । त्यसपछि झन् सबै नेताहरू भागाभाग भए । म त झन् अरूभन्दा अलि सानो पनि भएर के गर्ने भन्ने अलमलमा परेँ ।

    प्रहरी मारेको आरोपमा ७५ जनालाई ज्यान मुद्दा र राजकाज मुद्दा लगाइएछ । हेटौँडाको कम्युनिष्ट, काङ्ग्रेसका धेरै नेताहरूलाई मुद्दा लाग्यो । मुद्दा लाग्नेमा म पनि परेँ । प्रहरीको खोजीको लिस्टमा परेँ । सिनियर नेताहरू भूमिगत भए । कोही कता गए, कोही कता । मलाई थाहा भएन । कसैले सम्पर्क पनि गरेनन् ।

    म सानो उमेरको त्यसमा पनि ज्यान मुद्दासमेत लागेको र नेताहरूसँग पनि समन्वय नभएपछि आमा झन् डराउनुभयो । धेरै पिर मान्नुभयो । दुई दिन जति घरमै लुकेर बसेँ । तर, सिआइडीहरू लागे । आमाले दुई दिनपछि मलाई मामाघर पुर्‍याइदिनुभयो । हामी रातको ३ बजे हिँडेर जाँदा पनि प्रहरीहरू बाटोमा घुमिरहेका थिए । हामी जोगिएर मामाघर पुग्यौँ । मकवानपुर जिल्लाकै निबुवाटार भन्ने गाउँमा मेरो मामाघर थियो । म त्यहाँ १० दिन जति बसेँ ।

    मामाघरमा पनि सधैँ बस्न सक्ने अवस्था भएन । देशैभर आन्दोलन भइरहेको थियो । हामीलाई फेरि आन्दोलनमा जोड्ने गरी कोही नेताहरू भने आएनन् । आफैँले नेताहरू भेट्न पनि गाह्रो भयो । देशभर धरपकड भइरहेको थियो । मान्छे मारिइरहेका थिए । आन्दोलनमा जोडिनलाई पनि नेताहरू नभेटेको र ज्यान मुद्दाले गर्दा प्रहरीको लिस्टमा भएपछि म काठमाडौँ आएँ ।

    काठमाडौँमा झन् कसलाई भेट्ने, कसलाई भन्ने ? केही थाहा भएन । अहिले मलाई लाग्छ, नेताहरूसँग आन्दोलनलाई निरन्तरता दिनका लागि व्यवस्थित खालको योजना रहेनछ । मकवानपुरमा पनि त्यस्तै थियो । आन्दोलनमा कहाँ के भइरहेको छ भन्ने चाहिँ मैले बुझिरहेको थिएँ । काठमाडौँमा पनि मेरो कोही नेतासँग चिनजान वा सम्पर्क गर्ने च्यानल थिएन । नेताहरूले, पार्टीले खोज्ने अवस्था पनि भएन । हामी आ–आफ्नै ढङ्गले सुरक्षित भयौँ ।

    जनआन्दोलन सफल भएपछि जिल्ला फर्किएँ । प्रजातन्त्र पुनर्बहाली भएपछि हामीमाथि लागेको ज्यान मुद्दा र राजकाज मुद्दा फिर्ता भयो । त्यसपछि फेरि म पहिलेकै कारखानामा काम गर्न थालेँ । अरू पनि जागिरमा फर्किए । त्यसपछि आन्दोलनमा क्रियाशील भएकालाई सम्मान गर्ने कुरा भयो । मलाई पनि सम्मान गरियो । म पनि मजदुर नेताका रूपमा स्थापित भएँ । २०४६ सालमा ज्यान जोखिममा राखेर आन्दोलनमा होमिएको थिएँ ।

    महिला सहभागिता

    जनआन्दोलन–२०४६ मा महिला सहभागिताको कुरा गर्ने हो भने ठिकै थियो । अहिले जस्तो महिलाहरू बाहिर निस्किने अवस्था नहुँदा पनि २५ प्रतिशत महिलाहरू त सक्रिय सहभागी नै थिए जस्तो लाग्छ ।

    त्यति बेला कम्युनिष्ट पार्टीहरूको नेतृत्वमा क्रान्तिकारी भावनासहितको संरक्षण गर्ने खालको स्थिति चाहिँ थियो । मेरो राजनीतिक जीवनमा पनि २०४६ सालको आन्दोलन ‘माइलस्टोन’ को रूपमा रह्यो । पहिलो जनआन्दोलनमा भाग लिएको अनुभव पनि हो त्यो ।

    (‘सन्धान’ का लागि लक्ष्मी बस्नेतसँगको कुराकानीमा आधारित)

    प्रकाशित मिति २०७९ बैशाख १५ गते बिहिवार


    Previous articleपरिवर्तनकामी ‘विकासे’ हरूको समूहले लालटिन जुलुस निकाल्यौँ –शान्ता लक्ष्मी श्रेष्ठ
    Next articleतराई–मधेशमा महिलाको सहभागिता र योगदान महत्त्वपूर्ण थियो –धर्मेन्द्र झा