जनआन्दोलन–२०४६ मा महिला सहभागिता र योगदान विशेष
प्रजातन्त्रको नारा लगाउँदै २०४६ सालमा भएको जनआन्दोलनमा लेखक, साहित्यकार र कलाकारहरूले नेतृत्व गरेको आन्दोलनले महत्वपूर्ण भूमिका खेलेको थियो । निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध भित्रभित्रै एकत्रित भएको आक्रोशलाई प्रस्फुटन गराउनका लागि यो आन्दोलनको विशेष महत्व छ । तत्कालीन पञ्चायती सरकारलाई खुलेआम चुनौती दिँदै जब लेखक, साहित्यकार र कलाकारहरू मुखमा कालोपट्टी बाँधेर आन्दोलनको मैदानमा उत्रिए, आन्दोलनले बेग्लै ऊर्जा पायो । २०४६ साल चैत्र ३ को यो आन्दोलनमा अन्य लेखक कलाकारसँगै प्रसिद्ध साहित्यकार तथा लेखक पारिजात नेतृत्वकर्ताको भूमिकामा हुनुहुन्थ्यो भने अन्य धेरै महिला लेखक तथा कलाकारहरू यो आन्दोलनमा अग्रमोर्चामा हुनुहुन्थ्यो । प्रस्तुत छ, यो आन्दोलनका परिकल्पनाकार र सहभागीमध्येका एक लेखक, पत्रकार तथा साहित्यकार हरिगोविन्द लुईँटेलसँग ‘सन्धान’ का लागि लक्ष्मी बस्नेतले गर्नुभएको कुराकानीको सम्पादित अंश :
२०४६ सालको फागुन ७ गतेबाट जनआन्दोलन सुरु भएको थियो । तर, अर्कातिर त्यो खुलेर प्रस्फुटित हुन भने सकिरहेको थिएन । सबै जिल्लामा विद्यार्थी मोर्चा, महिला मोर्चा, किसान मोर्चा अथवा मजदुर मोर्चाहरूको गजबको सक्रियता थियो । मानिसहरू भित्रभित्रै र बीचमा धेरै घटना भए । फागुनको अन्त्यतिर आइपुग्दा एकातिर आन्दोलनको राप र ताप भित्रभित्रै बढिरहेको थियो भने अर्कातिर मानिसहरू आन्तरिक रूपमा लागिपरेका थिए । भित्रभित्रै एक प्रकारले सबै जनामा उकुसमुकुस छाएको थियो तर पनि देखिने गरी बाहिर ठूला जुलुसहरू हुन सकिरहेका थिएनन् । त्यही फागुनको अन्त्यसम्म पुग्दा धेरै मानिस गिरफ्तार भइसकेका थिए । अगुवा जति सबै गिरफ्तार भएपछि धेरै मानिस बाहिरै आएर आन्दोलनमा सक्रिय रूपमा लाग्न सक्ने अवस्था पनि रहेन । त्यो बेला जनआन्दोलनका सहकर्मीहरू तथा हामीलाई अगुवाइ गर्ने नेतृत्व तहमा यसरी भित्रभित्रै रापताप बोकेको आन्दोलन कतै सेलाएर जाने त होइन भन्ने चिन्ता थपिएको थियो ।
२०४६ फागुनको अन्त्यतिर अब लेखक, साहित्यकार र कलाकारहरूले आफ्नो रचना र सिर्जना समेत अगाडि लिएर बढ्नुपर्छ भन्ने कुरा भयो । सँगसँगै स–शरीर पनि बाहिर निस्कनुपर्ने हुन्छ भन्ने छलफल गर्यौँ । त्यो स्थितिमा लुकेर भूमिगत रूपमा आन्दोलन गर्ने प्रणालीबाट बाहिर आएर देखिने गरी कसै न कसैले तत्कालीन राज्यसत्तासँग आँखामा आँखा जुधाएर, त्यसलाई चुनौती दिन सक्ने खालको कार्यक्रम गर्नुपर्ने महसुस भइरहेको थियो । यही आवश्यकता महसुस गरेर हामी लेखक, साहित्यकार र कलाकारहरू (नाट्यकर्मी, रंगकर्मी, चलचित्रकर्मी, मूर्तिकार, संगीतकार, नृत्यकर्मी तथा गायक) ले २०४६ चैत्र ३ गते दमनकारी सरकारका विरुद्ध खुलेआम बाहिरै देखिएर कार्यक्रम गर्ने योजना बनायौँ । तर, कसरी निस्कने भन्ने छलफल हुँदा अभिव्यक्ति स्वतन्त्रता हननका विरुद्धमा खुलेआम तर मौन बसेर विरोध जनाउनुपर्छ भन्ने छलफल भयो ।
लेखक, कलाकारहरूले मुखमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन र जुलुस गर्ने कार्यक्रम बनायौँ । यही योजनाअन्तर्गत चैत्र ३ गते त्रिचन्द्र कलेजको सरस्वती सदन अगाडिको चउरमा करिब एक सय ७५ जनाको संख्यामा लेखक र कलाकार भेला भएर सरकारलाई खुलेआम चुनौती दियौँ । ‘हामीलाई गिरफ्तार गरेर लाने भए पनि लैजा, हामी उठेर भाग्दैनौँ’ भनी मुखमा कालोपट्टी बाँधेर चउरमा पलेँटी कसेर बस्यौँ । खुलेआम विरोध गर्दै सरकारलाई सामूहिक गिरफ्तारी दिने त्यो घटना एउटा यस्तो उपक्रम भइदियो कि त्यो घटनाले गर्दा त्यसको भोलिपल्टबाट देशभरि नै आन्दोलनको प्रस्फुटनको झल्को देखापर्यो । चैत्र ३ को त्यो घटनाले भित्रभित्रै मात्र आन्दोलन गरेर पुग्दैन बाहिर निस्किएर बोल्नुपर्छ भन्ने सन्देश प्रवाह गर्यो ।
चैत ३ को कार्यक्रममा धेरै लेखक र कलाकारहरूको सहभागिता थियो । त्यसमा महिलाहरूको पनि उल्लेखनीय उपस्थिति थियो । प्रसिद्ध साहित्यकार तथा लेखक पारिजात त्यो आन्दोलनमा महत्वपूर्ण भूमिकामा हुनुहुन्थ्यो । पारिजातले महिलाको मात्रै नभई समग्र आन्दोलनको नै नेतृत्व गर्नुभएको थियो । उहाँको घर म्हेपीमा बसेर आन्दोलनलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल हुन्थ्यो । आन्दोलनलाई राम्रोसँग अगाडि बढाउनका लागि सल्लाह, सुझाव र निर्देशन दिनुहुन्थ्यो । उहाँले दिएको सल्लाह, सुझाव र निर्देशनलाई हामीले पालना गर्ने थियौँ ।
पारिजात दिदी शारीरिक रूपमा हिँडडुल गर्न नसक्ने अवस्थामा हुनुहुन्थ्यो । त्यसैले उहाँलाई हामीले गाडीमा राखेर आन्दोलन स्थलसम्म लगेर, नजिकै पुगेपछि बोकेर लग्थ्यौँ । त्यही क्रममा चैत ३ गतेको दिनमा पारिजात दिदी म्हेपी बालाजुबाट ट्याक्सी चढेर जमल आउनुभयो । विश्वज्योति सिनेमा हल नजिकै उहाँ ओर्लिनुभयो । त्यसपछि मैले उहाँलाई पिठ्यूँमा बोकेर त्रि-चन्द्र कलेजको सरस्वती सदन नजिकसम्म ल्याएँ । त्यो समयमा हामी केही मानिसहरू पारिजात दिदीका सहयोगी थियौँ । पारिजात दिदीलाई बाहिर लैजानुपर्दा बोकेर अगाडि बढाउँथ्यौँ । त्यही क्रममा मैले बोकेको थिएँ । सरस्वती सदन नजिकै आएपछि म ओर्लिन्छु, मलाई दुईतिरबाट दुई हातमा समाइदिनुहोस्, बिस्तारै भए पनि म हिँड्छु भन्नुभयो । म र वरिष्ठ साहित्यकार आनन्ददेव भट्टले दिदीको हात समाएर अगाडि बढाएका थियौँ । यो फोटोमा देखिएको दृश्य त्यही बेलाको हो ।
यसरी साहित्यकार तथा लेखक पारिजात सरस्वती सदनमा आउनुभयो । उहाँ पलेँटी कसेर बस्न नसक्ने भएकाले उहाँका लागि मुढाको व्यवस्था गरिदिएका थियौँ । त्यही मुढामा बसेर पारिजात दिदीले मुखमा कालोपट्टी बाँध्नुभयो ।
केही समयपछि हामी सबैलाई सरकारले गिरफ्तार गरेर लग्यो । तर, पारिजात दिदीलाई गिरफ्तार गरेर लैजान सकेन । किनकि, शारीरिक अवस्थाका कारण उहाँलाई लग्यो भने बाटोमा उहाँको स्वास्थ्यमा प्रतिकूलता हुने समस्या आउन सक्छ भनेर होला दिदीलाई त्यहीँ छोडिदियो । पारिजात दिदी एक–डेढ घण्टा त्यहीँ बस्नुभयो । आन्दोलनमा आउने अन्य मानिसहरूलाई जानकारीहरू साझा गर्नुभयो । एक–डेढ घण्टापछि एक जना पत्रकारले उहाँलाई आफ्नो सवारीसाधनमा राखेर घरमा पुर्याइदिनुभएको रहेछ ।
चैत ३ को त्यो आन्दोलनमा अञ्जु दीक्षित, बेञ्जु शर्मा, सुम्निमा तुलाधर, मञ्जु काँचुली, शारदा शर्माहरूलगायतका महिला लेखक, कलाकारहरू हुनुहुन्थ्यो । उक्त आन्दोलनमा कतिपय लेखक, कलाकारहरू आउँदा आउँदै छुट्नुभएको पनि थियो । किनकि, त्यो बेला छुट्ने परिस्थिति पनि थियो ।
सुरुमा त्यो आन्दोलन प्रज्ञा प्रतिष्ठान (एकेडेमी) को गेटमा गर्ने भनेर तय भएको थियो । तर, त्यति बेलाको प्रज्ञा प्रतिष्ठानको नेतृत्व र अरू पञ्चायती निरंकुशतन्त्रवादी लेखक, कलाकारहरू जासुसका रूपमा काम गर्थे । तिनीहरूले सरकारलाई खबर गरेर हामी पुग्नुभन्दा अगाडि नै एकेडेमीको गेटमा दुई ट्रक प्रहरीहरू राख्न लगाइसकेका थिए । त्यसैले हामीले एकेडेमीको गेटमा धर्ना बस्ने निर्णयलाई स्थगित गरेर अचानक उही दिन मानिसहरू आन्दोलनका लागि एकेडेमीतिर आउन लाग्दा बीच बाटोबाट नै फर्काएर सरस्वती सदनमा ल्याएका थियौँ । पुतलीसडकमा दुई जना, विद्युत् प्राधिकरण अगाडि दुई जना, त्रिचन्द्र कलेज अगाडि दुई जना गरी यसरी चारपाँच वटा नाका–नाका र गौंडा–गौँडामा बसेर एकेडेमीतर जान लागेकाहरूलाई सरस्वती सदनतिर जाऔँ भनेर गोप्य रूपमा खबर गरेर भेला गरिएको थियो । त्यसैले धेरै जना आइपुग्न नै भ्याउनुभएन भन्ने लाग्छ ।
सरस्वती सदनमा हामी धर्नामा थियौँ । दुई जना वक्ताहरू बोल्दै हुनुहुन्थ्यो । अन्य सबै पलेँटी कसेर मुखमा कालोपट्टी बाँधेर १५/२० मिनेट जति मात्र त्यहीँ के बसेका थियौँ, चारैतिरबाट प्रहरीहरू आएर घेरा हालेर आतंकपूर्ण स्थिति बनाई लाइन लगाएर लेखक, कलाकारहरूलाई ट्रकमा कोचेर महेन्द्र पुलिस क्लब लिएर गए । त्यहाँबाट फेरि एकछिनमा सिंहदरबार अगाडि बग्गीखानाको हलमा लगेर सबैलाई त्यहीँ राख्यो ।
२०४६ चैत ३ गते यसरी लेखक कलाकारहरूले खुलेआम आन्दोलन गरेपछि चौथो दिनमा चैतको ७ गते कीर्तिपुर त्रिभुवन विश्वविद्यालयको सभाकक्षबाट ७ सय जना प्राध्यापकहरूलगायतका बौद्धिक व्यक्तिहरूले सामूहिक गिरफ्तारी दिनुभयो । चैत ३ को त्यो फड्कोले २०४६ सालको जनआन्दोलनमा भित्रभित्रै जम्मा भएको रापतापलाई प्रस्फुटन गराउन महत्वपूर्ण भूमिका खेल्यो । यसपछिका दिनहरूमा आन्दोलन बढ्दै गएर चैत्र २४ मा पुग्दा उत्कर्षमा परिणत भयो ।
सन्धान, प्रकाशन मिति २०७९ वैशाख १२ गते सोमवार