Home Insight साथीहरूकै घरमा लुकेर गरेको हो सडक आन्दोलन

साथीहरूकै घरमा लुकेर गरेको हो सडक आन्दोलन

138
0

मेरो राजनीति २०३९ सालमा सुरु भएको हो । म त्यतिबेला पद्मकन्या क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सदस्य थिएँ । २०४२ सालमा सत्याग्रह हुँदा पनि म पद्मकन्यामै पढ्थेँ । विद्यार्थी राजनीतिमै सक्रिय थिएँ । स्ववियुको सहसचिव थिएँ । २०४५ सालमा पद्मकन्या क्याम्पसमा स्ववियु सभापति निर्वाचित भएँ । त्यसपछि स्ववियुको चुनाव लामो समयसम्म हुन नसकेकाले २०४९ सालसम्म म नै सभापति भइरहेँ ।

मैले २०४६ सालको जनआन्दोलन हुँदा पद्मकन्या क्याम्पसका सभापतिको हैसियतमा सहभागिता जनाएर नेतृत्व गरेकी थिएँ । आन्दोलन सुरु भएपछि पद्मकन्या क्याम्पसका साथै काठमाडौँका कन्या स्कुलहरूको ‘ह्यान्डिल’ गर्ने जिम्मा मेरो थियो । उनीहरूलाई कसरी आन्दोलनमा हिँडाउने, कस्तो आन्दोलन गर्ने भन्ने हुन्थ्यो । मैले विभिन्न साथीहरूसँग छलफल गरेर योजना बनाएर काम गरेँ । यसमा साथीहरू मिलेर योजना बनाएरै काम गरेका थियौँ ।

क्याम्पसको छतमा कालो झन्डा

फागुन ७ गते जनआन्दोलन सुरु भयो । त्यो पहिलो दिन नै हामीले पद्मकन्या क्याम्पसको छतमा कालो झन्डा र नेविसंघको झन्डा राखेर विरोध सुरु गर्‍यौँ र क्याम्पसबाट आन्दोलनका लागि सडकमा निस्कियौँ । बागबजारबाट सडकमा आन्दोलन गर्दै जाँदा न्युरोड पुग्यौँ । प्रहरीले लखेटेपछि म भाग्दै भाग्दै पद्मकन्या क्याम्पसकै आसपास आइपुगेँ र एउटा घरमा लुकेँ । त्यतिबेला बागबजारका लगभग सबै घरका मानिसले मलाई चिन्थे । यसैले सेल्टर लिएर लुक्न र बस्न सजिलो भयो । त्यतिबेला ‘अटो टेम्पो’ भन्ने हुन्थ्यो, केहीबेरपछि त्यसैमा चढेर एक जना साथीको घरमा पुगेँ । अहिले सम्झिँदा अनौठो लाग्ने चाहिँ के भने ती साथी प्रहरीमा सब इन्स्पेक्टर थिइन् । २०४६ मा ४९ दिनसम्म भएको आन्दोलन चर्किएपछि म त्यही साथीकै घरमा सेल्टर लिएर बसेकी थिएँ ।

क्याम्पसको हाताबाहिर प्रहरीहरू ट्रक लिएर बस्थे । त्यसको कमान्डरमा महिला प्रहरी नै खटिएका हुन्थे । त्यही पद्मकन्या क्याम्पसको हाताबाहिर प्रहरीको कमान्डर बनेर आउने साथीको घर चाहिँ मेरो सेल्टर थियो ।

पक्राउ गर्ने भनिएका विद्यार्थीको नामको सूचीमा मेरो नाम सुरुमै थियो । मेरो नाम ‘ब्ल्याक लिस्ट’ मा थियो । मलाई जहाँ भेटे पनि प्रहरीले पक्राउ गर्ने अवस्था थियो । त्यतिबेला शैलेजा (आचार्य) दिदी घरमै नजरबन्दमा पर्नुभएको थियो । म ‘केन्द्रिय जनआन्दोलन एक्सन कमिटी’ को सदस्य पनि थिएँ । त्यो बेला कृष्णप्रसाद भट्टराई नेपाली कांग्रेस पार्टीका सभापति हुनुहुन्थ्यो । उहाँलाई ‘किसुनजी’ भन्थ्यौँ हामी । म पद्मकन्या क्याम्पसको स्ववियु सभापति । एक्सन कमिटीमा भएकाले म ‘अन्डरग्राउन्ड’ बसी पद्मकन्यामा पुगेर काम गर्दै र विरोधका कार्यक्रम गर्दै सेल्टर बसेको घरमा फर्किंदै गर्थें । कलेजभित्र गएपछि प्रहरी छिर्न पाउँदैनथे । विशेष गरेर कक्षाकक्षामा गएर विद्यार्थीहरूलाई आन्दोलनका लागि तयार गर्थें र बाहिर सडकमा निकाल्थेँ । उनीहरूलाई आन्दोलनमा सहभागी हुन उत्प्रेरित गर्ने काम गर्थें ।

पद्मकन्या क्याम्पस हाताबाहिर विद्यार्थीहरूलाई पक्राउ गर्दै प्रहरी । तस्विर सौजन्यः पिपुल पावर

क्याम्पसको हाताबाहिर प्रहरीहरू ट्रक लिएर बस्थे । त्यसको कमान्डरमा महिला प्रहरी नै खटिएका हुन्थे । त्यही पद्मकन्या क्याम्पसको हाताबाहिर प्रहरीको कमान्डर बनेर आउने साथीको घर चाहिँ मेरो सेल्टर थियो । दिउँसो म आन्दोलनकारी, मेरो साथी आन्दोलन गर्न नदिने, आन्दोलन दबाउनुपर्ने सुरक्षाकर्मीको जिम्मेवारीमा । बेलुका भएपछि उनकै घरमा हामी सँगै हुन्थ्यौँ ।

थाल ठटाएपछि बिउँतिएको आन्दोलन

फागुन ७ गते आन्दोलन सुरु त भयो तर बिचतिर पुग्दासम्म आन्दोलनको अगुवाइ गर्नुपर्ने अधिकांश नेताहरू समातिइसकेका थिए । त्यसपछि एक पटक त आन्दोलन झन्डै झन्डै सेलाइसकेको थियो । त्यो देखेपछि हामी पक्राउ नपरेका साथीहरू यत्तिकै रहन सकेनौँ । साथीहरूबिच फोनमा कुराकानी हुन्थ्यो । ‘यो देशभरिका महिला पढ्ने क्याम्पस हो, हाम्रो जिम्मेवारी ठुलो छ । हामी प्रजातन्त्रविना बाँच्न सक्दैनौँ । निरङ्कुशतन्त्र हामी महिलाका लागि झन् ठिक छैन । आन्दोलनलाई अघि बढाउन अब हामीले नै केही न केही त गर्नैपर्छ’ भन्ने निष्कर्ष निकाल्यौँ ।

हामीले थाल ठटाएर विरोध कार्यक्रम गरेको चैत १६ गते हो । ‘महँगी बढ्यो, सरकार राजीनामा दे’ जस्ता नारा लगाएर कार्यक्रम गरेका थियौँ । क्याम्पसका विद्यार्थी मात्रै होइन, अरू महिलाहरूलाई पनि सहभागी गराएर ‘थाल ठटाउने’ कार्यक्रम गरेका थियौँ ।

क्याम्पसका शिक्षकहरू पनि पूरै प्रजातन्त्रको पक्षमा हुनुहुन्थ्यो । हामीलाई सहयोग गर्नुहुन्थ्यो । अहिले विचार गर्दा राजनीति गर्नका लागि क्याम्पसबाट मैले जति सहयोग कसैले पाएनन् कि जस्तो पनि लाग्छ । जनआन्दोलनका बेला क्याम्पस प्रमुख डा. लीला के.सी. हुनुहुन्थ्यो । म्याडम अहिले त बितिसक्नु भएको छ । आफ्नो ठाउँबाट जनआन्दोलनलाई सघाउनमा उहाँको पनि बलियो योगदान थियो । यो मैले महसुस गरेको कुरा हो ।

हामीले थाल ठटाएर विरोध कार्यक्रम गरेको चैत १६ गते हो । ‘महँगी बढ्यो, सरकार राजीनामा दे’ जस्ता नारा लगाएर कार्यक्रम गरेका थियौँ । क्याम्पसका विद्यार्थी मात्रै होइन, अरू महिलाहरूलाई पनि सहभागी गराएर ‘थाल ठटाउने’ कार्यक्रम गरेका थियौँ । त्यसमा सबै पार्टीका महिलाहरू सहभागी थिए । पार्टीका महिला नेताहरू पनि थिए । मीना पाण्डे, सुप्रभा घिमिरे, अष्टलक्ष्मी शाक्य, बिन्दा पाण्डेलगायत हुनुहुन्थ्यो । त्यो दिन विरोध कार्यक्रममा सहभागीमध्ये सीता कोइराला, ज्योति प्याकुरेलका साथै ४२ जना दिदीहरू पक्राउ पर्नुभयो । जनआन्दोलनमा साहित्यकार पारिजात पनि सहभागी हुनुहुन्थ्यो ।

पर्खालबाट हामफाल्थेँ

‘थाल ठटाउने’ कार्यक्रमको दिन म चाहिँ क्याम्पसको पछाडिको पर्खाल नाघेर भाग्न सफल भएकी थिएँ । पछाडि ठुलो चौर थियो । त्यहीँबाट पर्खालमाथि चढेर बाहिरपट्टि हामफालेर म भागेको थिएँ । अहिले भएको ‘डेनिस हल’ त्यतिबेला बनेको थिएन । त्यही भएर पनि त्यो ठाउँबाट बाहिर भाग्न सजिलो भयो । त्यसपछि अर्को दिन म डिल्लीबजारस्थित कन्या स्कुल गएँ । एक्कासि पक्राउ पर्ने डर भयो । त्यहाँ पनि पर्खाल नाघेको घटना सम्झिरहन्छु । डिल्लीबजार कन्या स्कुलको पछाडि अग्लो पर्खाल थियो । त्यो अग्लो पर्खालमा चढ्न अरूले तलबाट माथितिर घचेट्दिएका थिए र माथि पुगेपछि बाहिरपट्टि हामफालेको थिएँ । प्रहरीबाट जोगिन त्यतिबेला त्यस्तो काम पनि गर्नैपर्ने हुन्थ्यो । अहिलेको जस्तो ज्यानको माया पनि हुँदैनथ्यो । त्यो घटना जीवनमा अहिलेसम्म मैले गरेको काममध्ये अविस्मरणीय लाग्छ ।

क्याम्पसबाट प्रहरी हटाएर ‘क्याम्पस खोल’ भनेर सरकारसँग फेरि अर्को किसिमको आन्दोलन पनि गरेका थियौँ । त्यसले गर्दा सेलाउँदै गएको जनआन्दोलन पनि अलि तात्न थाल्यो भन्ने लाग्छ ।

पद्मकन्या क्याम्पसमा थाल ठटाउने कार्यक्रम गरेपछि क्याम्पस पूरै बन्द भयो । क्याम्पसमा प्रहरी आएर बस्न थाल्यो । त्यतिबेला म काठमाडौँका छात्राहरू पढ्ने सबै स्कुलमा गएकी थिएँ । हामीले सबै विद्यालयमा गएर विद्यार्थीहरूलाई सम्झाउँथ्यौं र कक्षाबाट निकाल्दै सडक आन्दोलनमा सहभागी गराउँथ्यौँ । अर्कोतिर क्याम्पस खोल्नुपर्छ भनेर क्याम्पस प्रमुखलाई दबाब पनि दिन्थ्यौँ । त्यसपछि उहाँले राजीनामा नै दिनुभयो । क्याम्पस प्रमुखले नै राजीनामा दिएपछि क्याम्पस झन् बन्द भयो ।

क्याम्पसमा पहरा दिएर प्रहरी बसिरहेको अवस्था थियो । त्यसपछि क्याम्पस हाताबाट प्रहरी हटाउन र क्याम्पस प्रमुख चाहियो भनेर उपकुलपतिलाई दबाब दिन थाल्यौँ । क्याम्पसबाट प्रहरी हटाएर ‘क्याम्पस खोल’ भनेर सरकारसँग फेरि अर्को किसिमको आन्दोलन पनि गरेका थियौँ । त्यसले गर्दा सेलाउँदै गएको जनआन्दोलन पनि अलि तात्न थाल्यो भन्ने लाग्छ । हामीले फागुन २४ गते ८ मार्चमा विरोध कार्यक्रम गरेर अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएका थियौँ ।

पद्मकन्याको १० प्रतिशत योगदान

हामी सबैले विभिन्न माध्यमबाट नेतृत्व गरेर, सहभागी भएर वा योगदान गरेर जनआन्दोलन सफल पार्‍यौँ। त्यसमा पद्मकन्या क्याम्पसको योगदान १० प्रतिशत रहेको छ भन्ने लाग्छ । पञ्चायती व्यवस्था फाल्नका लागि भएको त्यो आन्दोलनमा धेरै महिलाले धेरै दुुःख गरेका छन् । खाना पकाउँदै गरेका महिलाहरू खाना पकाउन छोडेर सडक आन्दोलनमा सहभागी भएका थिए । काखमा बालबच्चा भएका आमाहरू आफ्नो बच्चा घरमै छोडेर आन्दोलनमा हिँडे । कोही नेताका श्रीमती भएर गए, कोही छोरी भएर सहभागी भए । जो जसरी भए पनि आन्दोलनमा महिला आन्दोलनमा सहभागी भए भन्ने पाटो महत्त्वपूर्ण हो । उहाँहरूको योगदानको कदर गरिनुपर्छ भन्ने हो ।

घरका कति पुरुष सदस्यले महिलालाई आन्दोलनमा जान दिँदैनथे । त्यस्तो बेलामा पहिला पुरुषलाई आन्दोलनमा पठाएर अनि आफू लुक्दै निस्केर पनि आन्दोलनमा हिँडे । त्यतिबेला विरोधस्वरूप बत्ती निभाउने कार्यक्रम पनि भएको भयो । कतिपय महिलाले घरबाहिर जान नपाए पनि साँझमा ‘ब्लाक आउट’ जस्ता कार्यक्रमलाई साथ दिएर जनआन्दोलनप्रति व्यापक समर्थन जनाएका थिए । मेरो अनुभवमा २०४६ सालको आन्दोलन स्वतःस्फूर्त खालको आन्दोलन हो । पछाडि पारिएका जाति, वर्ग, समुदायको अधिकार प्राप्तिको आन्दोलनको मूल आन्दोलन पनि हो, २०४६ को जनआन्दोलन । सबैजना स्वतःस्फूर्त रूपमा आन्दोलनमा सहभागी हुँदै गएकाले पनि चैत २४ मा महासागर जस्तै गरी नागरिकहरू सडकमा निस्किएका थिए । त्यही साँझबाट कर्फ्यु लगाउन सुरु भयो । २५ गते पनि कर्फ्यु निरन्तर लगाइएको थियो । २६ गते पनि अवस्था सामान्य हुन सकेन । यसैले लगातारको कर्फ्युका बिचमा चैत २६ गते राति दलमाथिको प्रतिबन्ध हटाउँदै बहुदल घोषणा गर्न राजा बाध्य भए ।

राष्ट्रिय सभा सदस्यको रुपमा संसदमा सम्बोधन गर्दै कमला पन्त ।

म त्यतिबेला दाइभाउजूसँग सामाखुसीमा रहेको उहाँहरूको घरमा बस्थेँ । मेरो भूमिकाको कारणले उहाँहरूलाई पनि डर थियो । त्यही भएर आन्दोलनको ४९ दिन म दाइभाउजूको घरमा गइनँ । साथीहरूकै घरमा बसेँ । जसको घरमा म बस्थेँ, त्यो साथीले त्यतिबेला मलाई मात्रै सहयोग गरेको होइन, पञ्चायती व्यवस्थाको अन्त्यका लागि ठुलो भूमिका निर्वाह गर्नुभएको हो । त्यो प्रहरी साथीले कहिले त ‘हामी आउँदैछौँ, भाग !’ भनेर समेत मलाई सूचना दिन्थिन् । अनि म भाग्थेँ र दिनभरि कतै लुक्थेँ । बेलुका उनकै घरमा जान्थेँ । बेलुका घर फर्केपछि उनले नै ‘आज पनि बाँचिस् हैन ?’ भनेर जिस्क्याउँथिन् । त्यतिबेला मलाई पक्राउ हुनबाट उनले नै बचाएकी हुन् भन्दा पनि हुन्छ । त्यो बेलाको मेरो भूमिकाको स्मरण गर्दा अहिले मलाई गर्व लाग्छ । जनआन्दोलनका बेलाको सम्झनालाई ताजा बनाउने गरी प्रश्न सोधिदिनु भएकोमा धन्यवाद !

(कमला पन्त नेपाली कांग्रेसका नेता तथा राष्ट्रिय सभाका सदस्य हुनुहुन्छ ।)

नेपाली राजनीतिमा महिलाका योगदानका थप कथाहरू

अपाङ्ता भएकाहरू जनआन्दोलन छयालिसमा सहभागी भयौँ, तर नेतृत्वले बिर्सियो – कुमार थापा (भिडियो सहित)
मेरो कोठा सेल्टर जस्तै थियो –सरस्वती चौधरी
बुबा प्रधानपञ्च, म पञ्चायत विरोधी –जयन्ती राई
तराई–मधेशमा महिलाको सहभागिता र योगदान महत्त्वपूर्ण थियो –धर्मेन्द्र झा
‘म सूचना आदानप्रदानको जिम्मेवारीमा थिएँ’ –डा. बिन्दा पाण्डे
‘म पक्राउ पर्दा छ वर्षको छोरालाई बाटोमा अलपत्र पारिदिए ’ –उमा रेग्मी
‘मेरो टाउकोको मूल्य दश हजार तोकिएको थियो’ – विष्णुमाया ओझा
२०४६ सालमा ‘गाउँको राणा’ देखि सरकारविरुद्ध लड्यौँ
सन्धान संवाद : खुलामञ्चबाट ३२ वर्षअघिको सम्झना
‘म स्वतःस्फूर्त २०४६ सालको आन्दोलनमा सहभागी भएको थिएँ’ –बुद्धलक्ष्मी महर्जन
‘प्रहरीबाट बच्न लुकेर बसेको कोठामै प्रहरीले कुटपिट गरे’ –लक्ष्मी कार्की
‘२०४६ को जनआन्दोलनमा महिलाहरू मियो नै थिए’ -डा. मीना पौडेल
‘मलाई किन नहटाएको भनेर क्याम्पसमा दरबारबाट पत्र आएछ’ –हिसिला यमी
‘पञ्चायत सरकारले २०३५ सालमा मेरो टाउकोको मोल तीनलाख तोकेको थियो रे’ –सुशीला श्रेष्ठ
चैत ३ को आन्दोलन २०४६ को जनआन्दोलनका लागि उर्जा बन्यो -हरिगोविन्द लुईँटेल
मलाई पनि गोली लाग्यो भन्ने हल्ला चलेछ –सुम्निमा तुलाधर
‘फ्याक्ट्री’ मा राजनीति घुसेपछि लुटिएको रोजीरोटी –सञ्जोगिता शाह
‘चैत ३ मा धर्ना बस्ने सबै सहभागीका लागि कालोपट्टी बनाएँ’ –निशा शर्मा, रङ्गकर्मी
जनआन्दोलन २०४६ सालको आन्दोलनको समर्थनमा अमेरिकामै आन्दोलन गर्यौँ –डा. मञ्जुला गिरी
‘भर्खरै बिहे भएका हामी दम्पती नै आन्दोलनमा लाग्यौँ’ –प्रा.डा. सुधा त्रिपाठी
‘हिरासतमा प्रहरीले दुर्व्यवहार गरेको थियो’ – डा. बेञ्जू शर्मा
जनआन्दोलनमा मजदुर मोर्चाबाट क्रियाशील थिएँ –धनकुमारी सुनार
परिवर्तनकामी ‘विकासे’ हरूको समूहले लालटिन जुलुस निकाल्यौँ –शान्ता लक्ष्मी श्रेष्ठ
‘२०४६ सालमा महिलाहरु उर्लेर आएका थिए’ –कल्याणी शाह
‘रुपन्देहीमा महिलाहरुको सहभागिता र योगदान धेरै थियो’ –शान्ता बस्याल
‘मोतीदेवी जुझारु, इमान्दार र क्रान्तिकारी भावनाको हुनुहुन्थ्यो’ –अष्टलक्ष्मी शाक्य
पहिले र अहिले आकाश जमिनको फरक छ (भिडियो सहित) – सीता बिडारी
सही मूल्याङ्कन हुने सिस्टम बसाल्नुपर्छ – शशी श्रेष्ठ (भिडियो सहित)
महिलाहरू मिलेर प्रहरी कब्जाबाट वडाध्यक्षलाई फुत्कायौँ –रेशमकुमारी थापा
बुबा प्रधानपञ्च, म पञ्चायत विरोधी –जयन्ती राई
तराई–मधेशमा महिलाको सहभागिता र योगदान महत्त्वपूर्ण थियो –धर्मेन्द्र झा
‘म सूचना आदानप्रदानको जिम्मेवारीमा थिएँ’ –डा. बिन्दा पाण्डे
‘म पक्राउ पर्दा छ वर्षको छोरालाई बाटोमा अलपत्र पारिदिए ’ –उमा रेग्मी
‘मेरो टाउकोको मूल्य दश हजार तोकिएको थियो’ – विष्णुमाया ओझा
२०४६ सालमा ‘गाउँको राणा’ देखि सरकारविरुद्ध लड्यौँ
सन्धान संवाद : खुलामञ्चबाट ३२ वर्षअघिको सम्झना
‘म स्वतःस्फूर्त २०४६ सालको आन्दोलनमा सहभागी भएको थिएँ’ –बुद्धलक्ष्मी महर्जन
‘प्रहरीबाट बच्न लुकेर बसेको कोठामै प्रहरीले कुटपिट गरे’ –लक्ष्मी कार्की
‘२०४६ को जनआन्दोलनमा महिलाहरू मियो नै थिए’ -डा. मीना पौडेल
‘मलाई किन नहटाएको भनेर क्याम्पसमा दरबारबाट पत्र आएछ’ –हिसिला यमी
‘पञ्चायत सरकारले २०३५ सालमा मेरो टाउकोको मोल तीनलाख तोकेको थियो रे’ –सुशीला श्रेष्ठ
चैत ३ को आन्दोलन २०४६ को जनआन्दोलनका लागि उर्जा बन्यो -हरिगोविन्द लुईँटेल
मलाई पनि गोली लाग्यो भन्ने हल्ला चलेछ –सुम्निमा तुलाधर
‘फ्याक्ट्री’ मा राजनीति घुसेपछि लुटिएको रोजीरोटी –सञ्जोगिता शाह
‘चैत ३ मा धर्ना बस्ने सबै सहभागीका लागि कालोपट्टी बनाएँ’ –निशा शर्मा, रङ्गकर्मी
जनआन्दोलन २०४६ सालको आन्दोलनको समर्थनमा अमेरिकामै आन्दोलन गर्यौँ –डा. मञ्जुला गिरी
‘भर्खरै बिहे भएका हामी दम्पती नै आन्दोलनमा लाग्यौँ’ –प्रा.डा. सुधा त्रिपाठी
‘हिरासतमा प्रहरीले दुर्व्यवहार गरेको थियो’ – डा. बेञ्जू शर्मा
जनआन्दोलनमा मजदुर मोर्चाबाट क्रियाशील थिएँ –धनकुमारी सुनार
परिवर्तनकामी ‘विकासे’ हरूको समूहले लालटिन जुलुस निकाल्यौँ –शान्ता लक्ष्मी श्रेष्ठ
‘२०४६ सालमा महिलाहरु उर्लेर आएका थिए’ –कल्याणी शाह
‘रुपन्देहीमा महिलाहरुको सहभागिता र योगदान धेरै थियो’ –शान्ता बस्याल
‘मोतीदेवी जुझारु, इमान्दार र क्रान्तिकारी भावनाको हुनुहुन्थ्यो’ –अष्टलक्ष्मी शाक्य
पहिले र अहिले आकाश जमिनको फरक छ (भिडियो सहित) – सीता बिडारी
सही मूल्याङ्कन हुने सिस्टम बसाल्नुपर्छ – शशी श्रेष्ठ (भिडियो सहित)
महिलाहरू मिलेर प्रहरी कब्जाबाट वडाध्यक्षलाई फुत्कायौँ –रेशमकुमारी थापा
अपाङ्गता भए पनि जनआन्दोलनमा सहभागी भएँ (भिडियो सहित)– सूर्यकुमारी गुरुङ
गोली लागेका श्रीमान्‌काे शव पनि हेर्न दिइएन (भिडियो सहित)

सन्धान प्रकाशन मिति : २०८० माघ २० गते, शनिबार


Previous articleराउटे जातिमा परिवर्तनको सवाल र सङ्केत
Next articleकामले सम्मान पाएकामा खुसी