शारदादेवी भट्ट सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय सभा सदस्य हुनुहुन्छ । उहाँको जन्म २००६ असोजमा डडेल्धुरा जिल्लाको साबिकको पुइलेक गाविस वडा नम्बर ९ बैडा गाउँ (हालको अजयमेरु गाउँपालिका वडा १) मा भएको हो । एकातिर कलम कापी नहुने अर्कातिर ‘छोरीले पढ्न हुँदैन’ भन्नेहरूकै बोलवाला भएको समय थियो तर पनि बुबाले उहाँलाई स्कुल गएरै पढ्न दिनुभयो ।
शारदाका बुबा बहादुर भण्डारी प्रधानपञ्च हुनुहुन्थ्यो । उहाँले ‘छोरीले पनि पढ्नुपर्छ’ भनेर शारदालाई स्कुल पठाउँदा जरिवानासमेत तिराइएको सम्झँदै शारदाले भन्नुभयो, “एक रुपैयाँ दण्ड तिर्नुभयो, त्यो बेलाको एक रुपैयाँ भनेको अहिलेको एक लाख जस्तै हो ।” त्यसरी पनि आठ कक्षा उत्तीर्ण गरेपछि उहाँ शिक्षक बन्नुभयो ।
गाउँमा हाइस्कुल खुलिसकेको थिएन । यसैले कैलालीको धनगढीस्थित त्रिनगर हाइस्कुलबाट उहाँले एसएलसी (हालको एसइई) उत्तीर्ण गर्नुभयो । छोरीमान्छेका लागि त्यतिबेलाको समाज बढी सङ्कीर्ण भएकाले एसएलसी दिन पनि बुबाले पुर्याउनुपरेको उहाँले सम्झनुभयो ।
आफूले पढ्न थाल्दा निङ्गालोको कलम बनाएको, माटो र पात पकाएर झोलको मसी बनाएर लेखेको सम्झना गर्दै शारदाले स्कुलको सन्दर्भमा भन्नुभयो– २०११ सालमा स्कुल खुल्यो र एक कक्षामा पढ्न थालेँ । त्यो बेला घरबाटै बोरा लगेर चौरमा ओछ्याउने गरिन्थ्यो र त्यसैमा बसेर अक्षर चिन्ने काम हुन्थ्यो ।
पढालेखा शारदाको विवाह २०२६ सालमा साविकको पुइलेककै इश्वरीदत्त भट्टसँग भयो । विवाहपछि पनि पढाइलाई निरन्तरता दिने कुरा भएको थियो । व्यवहारमा लागु हुन सकेन । जमिनदारको बुहारीले घरबाहिर गएर पढ्नु र जागिर खानु हुँदैन भनेर परिवारका अन्य सदस्यहरूबाट विरोध भयो । यसैले आफूले पढाइलाई अघि बढाउन नपाएको उहाँले बताउनुभयो ।
विवाहपछि पढ्न नपाए पनि ‘पढ्नुपर्छ र केही गर्नुपर्छ’ भन्ने सानैदेखिको सोच र जोसले गर्दा २०३४ सालमा मनमोहन अधिकारी र बलराम उपाध्यायको सम्पर्कमा पुगेर आफूले कम्युनिस्ट राजनीति सुरु गरेको शारदाले बताउनुभयो ।
भूमिगत अवस्थाका मनमोहन अधिकारीलाई खाना खुवाएको निहुँमा आफूलाई प्रहरीले प्रक्राउ गरेको र चौकीमा रात काट्नुपरेको स्मरण पनि उहाँले गर्नुभयो । शारदाका अनुसार, पञ्चायतकालमा बेलाबेलामा पुलिसले घरमा छापा मारेर खानतलासी गथ्र्यो र भेटिएका कागजपत्र लगिदिन्थ्यो ।
श्रीमान्काे परिवारको राजनीतिक आस्था कांग्रेसप्रति रहेकाले आफूलाई परिवारका अरू सदस्यले सहयोग नगरेको शारदाको बुझाइ रह्यो । उहाँका अनुसार, जमिनदार कांग्रेसस परिवारकी बुहारी कम्युनिस्ट राजनीतिमा लागेर बदनाम गराएको भन्ने आरोप लगाउँदै जेठाजुले कुटपिट गरी दाँत झारेर अंशसमेत नदिई घरबाटै निकालिएको अवस्था भोग्नुपरेको थियो ।
श्रीमान्ले भने राजनीतिमा लाग्न आफूलाई साथ दिएको र श्रीमान्कै साथ पाएका कारण पञ्चायतकालमै विभिन्न जिल्लामा पुगेर आफूले लुकीलुकी राजनीति गरेको शारदाको भनाइ थियो । पार्टी सङ्गठनमा आबद्ध भएपछि आफूले कैलाली, कञ्चनपुर, बाँके, बर्दिया हेर्ने जिम्मेवारी पाएको बताउँदै उहाँले १० वर्षमुनिका तीन छोराछोरी श्रीमान्कै रेखदेखमा छाडेर काममा हिँड्ने गरेको पनि खुलाउनुभयो ।
अहिले जस्तो त्यतिबेला गाडी हुँदैनथ्यो, लुक्दै हिँडेर तीन वर्षसम्म एक जिल्ला र अर्को जिल्ला पुगेर काम गरेको शारदाको भनाइ रह्यो । उहाँले त्यतिबेला आफूसँगसँगै राजनीति गर्ने अरू महिलाहरूमा बुद्धि चौधरी र शान्ति थापा भएको बताउनुभयो ।
नेकपा एमालेका भ्रातृ सङ्गठनहरू अखिल नेपाल महिला संघ (अनेमसङ्घ) र अखिल नेपाल किसान संघमा आबद्ध भई विभिन्न जिम्मेवारीमा रहेर शारदाले महिला तथा किसानहरूको बिचमा बढी काम गर्नुभयो । विगत र अहिलेको राजनीतिबारे तुलना गर्दै उहाँले पहिलेको राजनीति व्यक्तिगत स्वार्थभन्दा माथि रहेको तर अहिलेको राजनीतिमा म म भन्ने प्रवृत्ति हावी भएको आशय व्यक्त गर्नुभयो ।
शारदा २०४६ र २०६२–६३ सालमा भएका जनआन्दोलनमा सक्रिय सहभागी हुुनुभयो । दोस्रो जनआन्दोलनका बेला गिरफ्तारीमा परी एक महिना जेल जीवन पनि बिताउनुभयो । झन्डै पाँच दशकदेखि राजनीतिमा क्रियाशील उहाँ २०७६ साल माघमा राष्ट्रिय सभा सदस्य हुनुभयो ।
अन्य क्षेत्रमा जस्तै राजनीतिमा पनि महिलाहरूले जति नै सङ्घर्ष गरेर योगदान पुर्याए पनि पदमा जाने समयमा महिलालाई पद दिन गाह्रो मान्ने तथा महिलाको क्षमतामाथि प्रश्न गर्ने चलन अझै रहेको उहाँको बुझाइ थियो ।
शारदासँग लगभग सात दशकयताको सुदूरपश्चिम क्षेत्रका छोरीबुहारीको अवस्था, त्यसमा आएको परिवर्तन, राजनीतिक यात्रासँगै जीवनभोगाइ र दृष्टिकोणको बारेमा २०८१ साल फागुनमा भिडियो कुराकानी गरिएको थियो । प्रस्तुत छ, ‘सन्धान’ का तर्फबाट समीक्षा गाहाले, राष्ट्रिय सभा सदस्य शारदादेवी भट्टसँग गर्नुभएको सोही कुराकानीको आधारमा तयार गरिएको स्वकथनको पाठसहित भिडिओ अंश :
मेरो नाम शारदादेवी भट्ट हो । मेरो जन्म २००६ साल असोज १ गते डडेल्धुरामा भयो । हाम्रो जमानामा स्कुल थिएन । बोरामा बसेर काठको काटीमा लेख्थ्यौँ । हामीसँग कलम, कापी थिएन । निगालाको कलम बनाउने अनि माटोको मसी हालेर लेख्थ्यौँ ।
म रुखको पत्ता पकाएर सिसीमा हालेर इन्क (मसी) बनाएर निगालाको कलमले लेख्ने जमनाको मान्छे हो । त्यसपछि सिलोट र खरी आयो । त्यसले पनि लेख्याैँ । त्यति बेला यति क्लास, उति क्लास भन्ने थिएन । चौरमा बसेर लेख्थ्यौँ ।
पछि गाउँमै स्कुल खुल्यो । मैले त्यो स्कुलमा २०११ सालमा एक क्लासमा पढेँ । उ बेलामा डडेल्धुरातिर छोरी पढाएपछि जरिवाना हुन्थ्यो । त्यति बेला मेरो बुवा (बहादुर भण्डारी) प्रधानपञ्च हुनुहुन्थ्यो । उ बेलामा बाटो नहुँदा पनि गोरखपुरबाट इन्डिया भएर काठमाडौँ आउने, बुझेको व्यक्ति हुनुहुन्थ्यो बुबा ।
आमाबुबाको सन्तान म र एउटा भाइ मात्र हौँ । सानै भएकाले पढ्ने कुरामा मलाई त त्यति थाहा थिएन तर बुवा यताउति घुम्ने, इन्डियातिर जाने । त्यहाँ महिलाहरूले पढेको देखेको भएर ‘महिलाले पढ्छन्’ भनेर बुबाले मलाई पढाउन थाल्नुभयो । यो कुरा मैले पछि बुझेँ ।
बुवाले ‘छोरीलाई पढाउन छोड्दिनँ, के भन्न चाहेको, दण्ड लिने हो भने लिनू’ भन्नुभयो र एक रुपैयाँ दण्ड तिर्नुभयो । एक रुपैयाँ भनेको त्यति बेला अहिलेको एक लाख जस्तै हो ।
बुवाले मलाई ‘स्कुल जाऊ, पढ छोरी’ भन्नुभयो तर गाउँकै मुखियाले मन पराएनन् । ‘यो त भएन, यो नराम्रो काम हो, छोरीलाई पढायो भने बिग्रिन्छन् भन्दै ‘तपाईंले स्कुल किन पठाउनुभयो’ भनेर बुबालाई सोधे ।
बुवाले ‘छोरीलाई पढाउन छोड्दिनँ, के भन्न चाहेको, दण्ड लिने हो भने लिनू’ भन्नुभयो र एक रुपैयाँ दण्ड तिर्नुभयो । एक रुपैयाँ भनेको त्यति बेला अहिलेको एक लाख जस्तै हो । एक रुपैयाँको एक सय पैसाले कति धेरै काम हुन्थ्यो ।
बुबाले मलाई पढाउन छोड्नु भएन । मैले पढिरहेँ । उ बेलामा पाँच क्लासमा बोर्ड हुन्थ्यो । बोर्ड पास भनेको अहिलेको एसएलसी जस्तै हुन्थ्यो । त्यसपछि आठ क्लासको बोर्ड परीक्षा दिएँ, पास भएँ ।
उ बेलामा आठ क्लासको बोर्डमा पास भएपछि सरकारी जागिर पाइन्थ्यो । आठ कक्षा पास भएपछि बुवाले मलाई सुर्खेत ल्याउनुभयो । त्यहाँ छ महिनाको तालिम दिइने रहेछ । त्यो तालिम लिएपछि म गाउँमै शिक्षक भएँ । तलब १३५ रुपैयाँ थियो । त्यो धेरै ठुलो तलब हो ।
मेरो पालामा डडेल्धुरामा एसएलसी दिने स्कुल थिएन । यसैले बुवाले इन्डियाको बाटो भएर मलाई नेपालगन्ज ल्याउनुभयो र २०२५ सालमा एसएलसी दिएँ तर फेल भएँ । पछि त ठाउँठाउँमा स्कुल खुले । फेरि धनगढीमा एसएलसी दिन भनेर आएँ । २०३३ सालमा दोस्रो पटक एसएलसी दिएँ र पास भएँ ।
बिहे भएपछि श्रीमान्का परिवारका सदस्यहरूले बुहारीले यसरी जागिर खानु हुँदैन भन्थे । श्रीमान्काे परिवार जमिनदार हो । जमिनदारको बुहारी भएर बाहिर काम गर्नु हुँदैन भन्ने चलन थियो तर मैले जागिर छोडिनँ ।
एलएलसी पास गरेपछि फेरि शिक्षक भएँ । त्यति बेलाको तलब ३४५ रुपैयाँ भयो । बुवा प्रधानपञ्च हुनुहुन्थ्यो । मलाई बुबाले गाउँ पञ्चायतको सचिवमा पनि राख्नुभयो । सचिवको तलब पचास रुपैयाँ थियो । त्यो पनि पाएँ ।
मेरो २०२६ सालमा विवाह भयो । बिहे भएपछि श्रीमान्का परिवारका सदस्यहरूले बुहारीले यसरी जागिर खानु हुँदैन भन्थे । श्रीमान्काे परिवार जमिनदार हो । जमिनदारको बुहारी भएर बाहिर काम गर्नु हुँदैन भन्ने चलन थियो तर मैले जागिर छोडिनँ । अलि पछि छोराछोरी जन्मिन थाले, चार छोराछोरी भए ।
घरधन्दाको काम गर्नुपर्ने र छोराछोरी हुर्काउनुपर्ने भएपछि चाहिँ मैले जागिर छोडेँ । मैले छोड्दा म शिक्षक भएको नौ वर्ष भएको थियो । जागिर राम्रै हुँदै जाने बेलामा छोड्नुपर्यो । जागिर छोडेँ तर घरमै सीमित हुनुहुँदैन भन्ने सोच थियो ममा । त्यो भएर म राजनीतितिर लाग्न थालेँ ।
श्रीमान्काे साथ थियो मलाई अनि राजनीतिक पार्टीमा लागेँ । २०३४ सालदेखि राजनीति सुरु गरेँ । स्कुलमा पढाउने बेलामा हाम्रा शिक्षकहरू नै नेता थिए । धनगढीमा नेता शिक्षकहरू घरघरमा आउँथे । को–को सक्रिय छ बुझ्थे । त्यति बेला पढेको महिला नपाइने । धनगढीमा दुई, चार जना हुँदा हुन्, डडेलधुरामा त कोही थिएन ।
‘यसले एसएलसी पढेको छ’ भनेर मलाई पार्टीमा ल्याउनुपर्छ भन्ने कुरा भएछ । मलाई पार्टीमा त्यसरी आबद्ध बनाइयो । पार्टीमा लागिसकेपछि मनमोहन अधिकारी समूहका नेताहरूले प्रशिक्षण दिन्थे । म पनि बुझ्दै थिएँ, बुझ्न चाहन्थेँ ।
हामी भने सयौँ बिगाहाको जमिनदार । त्यति हुँदा पनि म खेत रोप्न जान्थेँ, जानैपर्थ्यो । घरमा हलिया, कमैयाहरू त थुप्रै थिए तर बुहारीहरूलाई खेत रोप्ने र अरू धेरै काम लगाउँथे । जमिनदारहरूले बुहारी महिला र दलित वर्गकालाई सारै पेल्थे ।
दलित वर्ग, महिलाहरूको कस्तो स्थिति थियो । महिला उत्थानका लागि, जनजातिका लागि दलितलाई बाहुनहरूले मान्छे नै नगन्ने । महिला त घरमा नोकर बराबर, बोल्नै नसक्ने अवस्थामा थिए । धेरै अप्ठेरो जमाना थियो । सबैलाई दुःख र कष्ट थियो ।
हामी भने सयौँ बिगाहाको जमिनदार । त्यति हुँदा पनि म खेत रोप्न जान्थेँ, जानैपर्थ्यो । घरमा हलिया, कमैयाहरू त थुप्रै थिए तर बुहारीहरूलाई खेत रोप्ने र अरू धेरै काम लगाउँथे । जमिनदारहरूले बुहारी महिला र दलित वर्गकालाई सारै पेल्थे ।
हाम्रै घरको एक जना हलियाको १० वर्षको छोरो मरेछ । आमा रुन लागिन् । मैले ‘किन रोएको बैनी’ भनेर सोधेँ । उनले भनिन्– तपाईंको घरको जमिनदारले मरेको छोरालाई गाड्नै दिएका छैनन्, लास भित्रै छ । आज रोपाईं छ, नगाड्, भोलि गाड्नू भनेका छन् ।
हामी नै कल्पना गरौँ न ! त्यो भनेको कस्तो अवस्था हो त ? म त आफ्नै घरको जमिनदार परिवारले गरेको त्यो घटनादेखि बढी आक्रोशित भएको हुँ । यो सबै देख्दा यस्तो अवस्थालाई परिवर्तन गर्नुपर्छ भन्ने लाग्थ्यो । त्यही भएर पनि पार्टीमा लागेँ ।
राजनीतिमा लागेर ‘तल्लो जात’ का हातको पानी खायो भन्थे । लोग्नेमान्छेसँग हिँड्ने भनेर पनि भन्थे । यस्तै आरोप लगाउँदै मलाई घरमा राख्नु हुँदैन भनेर कुटपिट गरेको जेठाजुले ।
पार्टी राजनीतिमा लागेपछि पटक पटक गिरफ्तार भएँ । धरपकड र ममाथि प्रहरीको कुटपिट पनि भयो । बच्चाहरू नै चौकीमा लगेर पनि बस्नुपरेको थियो ।

मलाई पार्टीमा लागेपछि मलाई घरबाट पनि गालीगलौज र कुटपिट नै भयो । तर पनि मैले राजनीति छोडिनँ अनि त घरबाटै खेदाए । जेठाजु खुँखार जमिनदार थिए, बाहुन परिवार । घरका अरू बुहारी पार्टीमा र अन्यत्र बाहिर जाँदैनथे । मै मात्र जान्थेँ ।
राजनीतिमा लागेर ‘तल्लो जात’ का हातको पानी खायो भन्थे । लोग्नेमान्छेसँग हिँड्ने भनेर पनि भन्थे । यस्तै आरोप लगाउँदै मलाई घरमा राख्नु हुँदैन भनेर कुटपिट गरेको जेठाजुले । लात्तीले समेत हाने एक राति त । जेठाजुको कुटपिटबाट मेरो तीन वटा दाँत झर्यो । पछि हालेको दाँत हो यो ।
सबै छोराछोरी भूमिगतकालमा राजनीति गर्ने क्रममै जन्मिएका हुन् । सबै घर, व्यवहार बच्चाको हेरचाह श्रीमान्ले नै गर्नुहुन्थ्यो । धेरै सहयोग गर्नुभयो मैले राजनीति गर्दा उहाँले । अहिले त हुनुहुन्न तर म माननीय भएको हेरेर बित्नुभो ।
घरबाट त्यसरी निकालेपछि मैले ठुलै सङ्घर्ष गर्नुपर्यो । छोराछोरी सबैको बिजोग भयो । केही समय भाडामा बस्याैँ । २०३५ सालमा घरबाट खेदाएको त्यसको केही समयपछि घर बनायौँ । बिस्तारै आर्थिक अवस्था राम्रै हुँदै गयो । श्रीमान्ले पैसा कमाउनुभयो र गाडी किन्यौँ । पक्की घर बनायौँ ।
सबै छोराछोरी भूमिगतकालमा राजनीति गर्ने क्रममै जन्मिएका हुन् । कान्छो छोरा २०४० सालमा जन्मेको हो । सबै घर, व्यवहार बच्चाको हेरचाह श्रीमान्ले नै गर्नुहुन्थ्यो । धेरै सहयोग गर्नुभयो मैले राजनीति गर्दा उहाँले । अहिले त हुनुहुन्न तर म माननीय भएको हेरेर बित्नुभो, २०७९ सालमा ।
मनमोहनले नै मलाई पार्टीमा ल्याउनुभएको हो तर उहाँ छिट्टै बित्नुभयो । एकचोटि धनगढीमा हुने कार्यक्रममा जानुभएको थियो तर उहाँलाई पार्टीकै नेताकार्यकर्ताले जीपमा हालेर बर्दिया जङ्गलमा लगेर छोड्दिएछन् । बाघले खाओस् भनेर जङ्गलमा छोडिदिएका हुन् तर उहाँ रातभरि रुखमा चढेर बसेर बाँच्नुभएको ।
एक दिन मनमोहन अधिकारीलाई खाना लगेर जाने मेरो पालो थियो । मसँगै बुद्धि चौधरी थिइन् । हामी दुई जना थियौँ । म घाँस काट्ने बहाना गरेर डोकोमा भात, दाल हालेर हिडेँ ।
कम्युनिस्ट राजनीति गर्नेले त्यो बेला घरमा बस्न हुँदैनथ्यो । पक्राउ परिन्थ्यो, धरपकड गर्थे । एक दिन मनमोहनलाई खाना लगेर जाने मेरो पालो थियो । मसँगै बुद्धि चौधरी थिइन् । हामी दुई जना थियौँ । उनले ‘जङ्गलमा कसरी खाना लैजानुहुन्छ’ भनिन् तर म घाँस काट्ने बहाना गरेर डोकोमा भात, दाल हालेर हिडेँ ।
उताबाट प्रहरीको गस्ती आइरहेको रहेछ म यताबाट जान लागेको थिएँ । बाटैमा भेट भयो, प्रहरीले के छ यो डोकोमा भनेर हेर्न खोज्दा डोकोको दाल पोखियो । यो भात कसलाई लगेको भनेर सोधेर सताउन थालेपछि भन्नैपर्यो । मनमोहनका लागि लग्न लागेको भनेर भनेपछि चौकीमा जानुपर्यो । मलाई दुई रात चौकीमा राख्यो ।
घरमा दुध खाने छोरा थियो । चौकीमा पुलिसहरूले पार्टीमा नलाग्नू भन्थे । पार्टीमा लाग्दिनँ भनेर दस्तखत गर्नुस् भन्थे मैले बरु मलाई नछोड्नुहोस्, म राजनीति छोड्दिनँ भनेँ । पछि मलाई दुई दिनमा छोड्यो । म निस्किँदा मनमोहन काठमाडौँ जानुभएछ ।
भूमिगतकालमा पार्टीको कामका लागि जता पनि हिँडेर जानुपर्थ्यो । उ बेलाको जमानामा गाडी थिएन । हिँडेरै महेन्द्रनगर, बर्दिया कता कता गइन्थ्यो । हामी हिँड्ने बेलामा लुकेर बिहानै हिँड्ने । देख्ने डरले जङ्गलैजङ्गल हिँडथ्यौँ । धेरै दुःख हुन्थ्यो ।
पार्टीमा पुरुषहरू धेरै हुनुहुन्थ्यो । महिलाहरू दुई–तीन जना मात्र थिए । महिलामा बुद्धि चौधरी, शान्ति थापा थिए । जस्तोतस्तो मान्छे भएको भए पार्टीसार्टी जेसुकै होस् भनेर छाड्थे । हामी कस्तो कस्तो साहस गरेर काम गर्यौँ।
पार्टीको कामले हिँड्दाताका घरमा १० दिन, पाँच दिनमा गए पनि श्रीमान्ले केही भन्नु हुँदैनथ्यो । त्यति बेला छोराछोरी १० वर्ष, आठ वर्ष, पाँच वर्षका थिए, घरमा खाना बनाउने एक जना सहयोगी बहिनी थिइन्, उनैले खाना बनाएर खुवाउँथिन् ।
मेरा छोराहरू मेरो राजनीति बुझ्ने खालका थिए । उनीहरू पनि कोही देहरादुन, कोही दिल्लीमा पढ्थे । सुदूरपश्चिमतिरकाहरूको इन्डियातिर पढाउने चलन छ । अहिले त जेठा छोराको बिहे गरेर घरमा बुहारी पनि छिन् ।

भूमिगतकालमा रातिराति काम गरिन्थ्यो । थुप्रै घटना बिर्सिनै नसकिने खालका छन् । एक चोटि बर्दियामा कार्यक्रम थियो । त्यहाँ मदन भण्डारी जानुभएको थियो । साउनको महिना थियो । उहाँलाई पुलिसबाट लुकाएर राख्नुपर्थ्यो । जनमत सङ्ग्रहको बेलामा मलाई अश्रुग्याँस लागेर छ घण्टा जति अस्पतालमा बसेको हो ।
म पार्टीको जिल्ला सदस्य चार पटक भएँ । उ बेलामा त्यो पद ठुलो हो । अञ्चल सदस्य र राष्ट्रिय परिषद् सदस्य पाँच÷पाँच वर्ष भएँ । त्यस्तै, अखिल नेपाल महिला सङ्घ कैलालीको अध्यक्ष भएर १५ वर्ष चलाएँ । सङ्गठनमा महिला ल्याउनका लागि घरघरै पनि पुग्थ्यौँ ।
हामीले मरिमरिकन प्रजातन्त्र ल्यायाैँ । त्यसैले अहिले सहज छ । अहिले संसद्मा सबै ठाउँका बहिनीहरू हुनुहुन्छ । एमए, पिएचडी गरेका, उहाँहरूले तपाईंहरूले सिस्टम बसाएको भन्नुहुन्छ ।
एक दिन एक जना साथी र म त्यही कामका लागि हिँडेका थियौँ । छुट्टाछुट्टै घरमा जाने भनेर हामी वल्लो र पल्लो घरमा पस्यौँ । म गएको घरमा चार–पाँच जना छोरी, बुहारीहरू थिए । ‘२ नम्बर वडामा महिला समिति गठन हुँदै छ । दाइ, तपाईंको घरमा धेरै महिला छन्’ भनेको उहाँले ‘कस्तो छाडा हो’ भन्नुभयो । ‘छाडा’ भनेको सुदूरपश्चिममा धेरै नराम्रो गाली हो । मतलब उहाँले बिग्रेको आइमाई, मेरो घरका महिलाहरूलाई पनि बिगार्न आएको हो भन्ने हिसाबले भन्नुभयो । अनि म उहाँसँग केही नबोली फर्कें ।
उ बेलामा राजनीति गर्दाका यस्ता धेरै घटना छन् । ‘यसको लोग्नेले केही पनि भन्दैन कि क्या हो’, ‘यो छाडा आइमाइ हो’, ‘लोग्ने खोज्दै हिँड्छे’ भन्नेसम्मको आरोप पनि लगाएका छन् मलाई ।
हामीले मरिमरिकन प्रजातन्त्र ल्यायाैँ । त्यसैले अहिले सहज छ । अहिले संसद्मा सबै ठाउँका बहिनीहरू हुनुहुन्छ । एमए, पिएचडी गरेका महिला नेताहरू छन् । उहाँहरूले तपाईंहरूको चेला हो, तपाईंहरूले सिस्टम बसाएको भन्छन् ।
अहिलेका महिलालाई राजनीति गर्न सजिलो छ । पार्टीको काम गर्छन्, हिँड्छन् । तपाईंहरूले गरेको जस्तो काम पनि पहिला त महिलाले कहाँ गर्न पाउँथे र ?
बहुदलीय प्रजातन्त्र प्राप्तिका लागि २०४६ सालको जनआन्दोलनका बेलामा सेती अञ्चल सदस्य थिएँ । रातदिन आन्दोलनमा हिँड्नुपर्थ्यो ।
जब २०४६ सालमा जनआन्दोलन भयो । देशमा प्रजातन्त्र आयो । बहुदलीय प्रजातन्त्र प्राप्तिका लागि २०४६ सालको जनआन्दोलनका बेलामा सेती अञ्चल सदस्य थिएँ । राजनीतिक माहोल तातिसकेको थियो । पढे, लेखेका बुझेका थिए तर पनि सुदूरपश्चिम हो, त्यति राम्रो भैसकेको थिएन । यताबाट क्रान्ति गएपछि त्यहाँका कार्यकर्ता आन्दोलनमा लागे । आन्दोलनका क्रममा कसैका हात, कसैका खुट्टा भाँचिए ।
रातदिन आन्दोलनमा हिँड्नुपर्थ्यो । बुझ्ने भएका महिलाहरू, दश, पन्ध्र जना थियौँ होला । पुरुषहरूसँग हातेमाले गर्दै आन्दोलनमा सहभागी भइरह्यौँ । महिलाहरूले पनि प्रहरीको कुटाइ खाए । महिलाहरू जेल परे । म पनि रातदिन हिँड्थेँ । पुरुषले जत्तिकै योगदान महिलाले पनि गरेका छौँ ।

उ बेलाका प्रहरी उग्र थिए । आन्दोलनकारीलाई धेरै दुःख दिन्थे । पिटी हाल्ने, हानि हाल्ने गर्थे । धेरै लठ्ठी खायौँ । २०६२/६३ को आन्दोलनमा पनि कैलाली, धनगढीमै सहभागी भएँ । पछि पक्राउ गर्यो र कैलालीमै कारागारमा डेढ महिना राख्यो । हामीले त कति त्याग तपस्या गरेर पार्टीलाई, देशलाई यहाँसम्म ल्यायौँ । देशमा गणतन्त्र ल्यायौँ ।
समय परिवर्तन हुँदै गयो । महिलाहरूले पढे, लेखे । एसएलसी, प्लस टु, स्नातक तह पढ्ने धेरै महिला भए । सङ्गठनमा आउनुहोस् भन्न पनि सजिलो भयो । हामीले जस्तो लुकीलुकी सङ्गठन गर्नु पर्दैन ।
राजनीति गर्दै जाँदा म टोल कमिटी हुँदै, वडा कमिटी हुँदै सेल कमिटी, जिल्ला कमिटीमा रहेर काम गरेँ । २०३७ सालमा पोखरा गएर नेकपा एमाले र माक्र्सवादी एकीकृत भयौँ । म पूर्वाञ्चल सदस्य भएँ । पार्टीको राष्ट्रिय परिषद् सदस्य पनि भएँ ।
राष्ट्रिय सभा सदस्य भएपछि महिलाका मुद्दा बढी उठाउन थालेँ । महिला भएका कारण संसद्मा बढी महिलाका मुद्दा उठाउँछु अनि समाजमा भएका विकृति विसङ्गतिका कुरालाई उठाउन पर्छ भन्ने लाग्छ । दलित समुदायले भोग्ने छुवाछुतका विषयमा, छाउपडी, महिला, जनजाति तथा सीमान्तकृत समुदायका मुद्दा उठाउँछौँ ।
जहाँ बाटोघाटो छैन, जहाँ खानेपानी छैन, सरसफाइ छैन, त्यस ठाउँको बारेमा कुरा उठाउँछौ अनि महिलाका मुद्दामा संसदमा महिलाहरू एकजुट हुन्छौँ । पार्टी फरक भए पनि महिला मुद्दा एउटै हुन्छ भन्ने कुरा गर्छौं ।
अहिले पनि राजनीतिमा महिलालाई हेर्ने दृष्टिकोण फराकिलो भैसकेको छैन । विकास र परिवर्तन भयो भने पनि पुरानो परम्परागत सोचले जकडिएको छ । पुरानो सोच पूर्णरूपमा गैसकेको छैन । महिलाहरू भरसक पदमा नआइदिए हुन्थ्यो भन्ने सोचाइ राजनीति गर्नेहरूकै छ ।
महिलाले ठुलो पद नखोज्दिए हुन्थ्यो भन्ने सोच पुरुषहरूमा अझै छ । उहाँहरू पनि हाम्रै दाजुभाइ हो तर पनि महिलाले कुनै अवसर लडेर, खोसेरै लिनुपर्ने अवस्था छ अनि अहिलेका नयाँ युवा राजनीतिज्ञहरूमा स्वार्थ छ । विकृतिले जडो गाडेको छ । लैङ्गिक विभेद कम हुँदै गए पनि अन्त्य भएको छैन ।
महिलाले जति योगदान गरे पनि आउ तिम्रो पनि अधिकार छ, भनेर त कसैले भन्दैनन् । जस्तो दलित, जनजाति आऊ तिम्रो अधिकार लैजाऊ भनेर कसैले भन्दैनन् नि ! त्यस्तै हो । महिलाले आफ्नो अधिकारका लागि लड्नु परे जस्तै, जनजाति, दलितले पनि लड्नुपर्छ । कानुन बनेका छन्, नीतिनियम बनेका छन्, कानुनमा भएका अधिकारको दाबी पनि गर्नुपर्छ ।
राजनीतिमा महिला आउने कुरा गर्दा, अहिले पनि घरका पुरुषले आफ्नो श्रीमतीलाई ‘तिमी राजनीति गर, म घरमा खाना बनाउँछु, बच्चा हेर्छु’ भन्दैन । सम्झाउनु, बुझाउनुपर्ने ठाउँ धेरै छ । महिलाहरूलाई नेतृत्वमा ल्याउनका लागि परिवारको पनि हात हुन्छ ।
अहिले महिलाहरूको हत्या, हिंसा हुने, बलात्कारका घटना पनि बढिरहेका छन् । बदमासहरू उत्तिकै बढिरहेका छन् । त्यही भएर पनि यी सवाललाई प्राथमिकतामा राखेर कुरा उठाउँछौ । म सुदूरपश्चिमबाटै आएकाले त्यहाँको विकासका लागि पनि बोल्छु, बजेट माग गर्छु । अब एक वर्ष बाँकी छ, यो समयमा पनि सक्दो बोल्छु ।
सुदूरपश्चिम सामाजिक, राजनीतिक हिसाबले पहिलेभन्दा धेरै परिवर्तन हुँदै गएको छ । प्रत्येक घरमा छोरीले एमए, पिएचडी गर्दैछन् । छोरी/महिलाहरूले पनि सुविधा पाउन थालेका छन् । परिवारले स्कुटर किनिदिएका छन् ।
पहिला त महिलाले पुरुषको मुख नै हेर्नु हुँदैन भन्ने चलन थियो । हाम्रो आमा कसैको मुखै नहेरी मर्नुभयो । म आफैँले पनि ५० वर्षको उमेरमा पहिलो पटक फोन चलाएको हो ।
छोरी पढायो भनेर पहिले जरिवाना तिराएको ठाउँमा अहिले छोरी महिलाहरू पढ्दै छन् । घरका बुहारीहरू नोकरी गर्छन् । ती नयाँ छोरी, बुहारीहरूले कहिलेकाहीँ हाम्रो जमानाको कुरा सोध्छन् अनि म तिमीहरू भाग्यमानी हौ भन्छु ।
पहिला त महिलाले पुरुषको मुख नै हेर्नु हुँदैन भन्ने चलन थियो । हाम्रो आमा कसैको मुखै नहेरी मर्नुभयो । सधैँ घरभित्रकै काम गरेर जानुभयो । मेरै पालाका पनि धेरै महिलाले घरबाहिरको संसार देख्न पाएका छैनन् । म आफैँले पनि ५० वर्षको उमेरमा पहिलो पटक फोन चलाएको हो ।
देशमा हरेक कुरा परिवर्तन भइरहेको छ । भौतिक विकास पनि हुनुपर्छ । बाटोघाटो, धारापँधेरो, रेडियो, टेलिभिजन सबै हुनुपर्छ । यस्ता विकाससँगै मान्छेको सोचको पनि विकास हुनुपर्छ । शिक्षा ठुलो हो । पढे लेखेर दुनियाँ देख्ने हुनुपर्छ ।
हाम्रो जमनाको जत्तिको बुझाउन गाह्रो अहिले छैन । महिलाहरू राजनीतिमा आएर म खुसी छु । अरू विभिन्न क्षेत्रमा पनि पुगिरहेका छन् । त्यो देखेर खुसी लाग्छ तर जातीय छुवाछूत, महिनावारी हुँदा महिलालाई घरभित्र पस्न नदिने खालका धेरै कुप्रथा बाँकी नै छन् । बोल्नुपर्ने अझै धेरै कुराहरू छन् ।
काम गरेको गर्यै । पाउने केही पनि होइन । मेरो पनि पालो आउँछ भन्ने आशा पनि गरिएन । हामी जब पार्टीमा सङ्गठित भयौँ । मन्त्री, माननीय भएर पैसा कमाइएला, पदमा पुगुँला भन्ने त दिमागमै थिएन । गरिब वर्गको उद्धार, शोषित पीडित जनताको हकअधिकारका लागि लागेका हौँ ।

हामीसँग माननीय, मन्त्री हुनुपर्छ भन्ने ज्ञानै थिएन । हामी त महिलाका दुःख देखेर राजनीतिमा लागेको हो । समाजमा केही गरेर महिला र दलितहरूको स्तर माथि उठाउन पाए हुन्थ्यो भन्ने हिसाबले लागेका हौँ अनि पो माननीय भएँ, आएको अवसर लिएँ ।
अहिलेकाहरूमा त पैसा दिएर हुन्छ कि, कसरी हुन्छ, टिकट पाउने हो । कसरी मन्त्री हुने हो, कसरी माननीय हुने, कसरी पैसा कमाउने भन्ने भावना बढी भएको जस्तो लाग्छ । सबैले म म मात्र भन्ने भए । पैसावालाहरूले पैसा दिएर चुनावमा टिकट पाउने भए तर जसले हिजो पार्टीलाई माथि उठाए उनीहरूले केही पाएनन् । पछाडि नै रहे । त्यसैले पहिले र अहिलेका राजनीति र राजनीतिज्ञमा धेरै अन्तर छ ।
कति जना मसँगका बुढा भइसके, केही पनि पाएका छैनन् । पार्टीलाई माथि उठाउने काम गरे । त्यस्तालाई पार्टीले मूल्याङ्कन गर्नुपर्थ्यो । एक जना सांसद ज्ञानेन्द्र शाहीले ‘राष्ट्रिय सभाका माननीयहरू वृद्ध भत्ता खाएर बस्नुपर्ने, उनीहरूलाई देवघाट पठाउनुपर्छ । वृद्ध आश्रममा पठाउनुपर्छ’ भनेर बोलेछन् ।
राष्ट्रिय सभा भनेको जो विद्वान, धेरै दुःख गरेका, पार्टीका लागि सङ्घर्ष गरेका, देशका लागि लागिपर्नेलाई ल्याउने सभा हो तर अहिले यस्तो भनिन्छ हामीलाई नै । जसले बाटो देखायो, जसले यहाँसम्म ल्याइपुर्यायो, उसैलाई त्यस्तोसम्म भनियो ।
प्रकाशन मिति : २०८२ बैशाख २२ गते, साेमवार
नेपाली राजनीतिमा महिलाका योगदानका थप कथाहरू
जेलभित्र खाना भनेर पनि आउँथ्यो सूचना (भिडियो सहित) – गीता गजुरेल
परिवर्तनमा महिलाको योगदान, राज्यले अझै उचित मूल्याङ्कन गरेको छैन (भिडियोसहित)
अपाङ्ता भएकाहरू जनआन्दोलन छयालिसमा सहभागी भयौँ, तर नेतृत्वले बिर्सियो – कुमार थापा (भिडियो सहित)
मेरो कोठा सेल्टर जस्तै थियो –सरस्वती चौधरी
बुबा प्रधानपञ्च, म पञ्चायत विरोधी –जयन्ती राई
तराई–मधेशमा महिलाको सहभागिता र योगदान महत्त्वपूर्ण थियो –धर्मेन्द्र झा
‘म सूचना आदानप्रदानको जिम्मेवारीमा थिएँ’ –डा. बिन्दा पाण्डे
‘म पक्राउ पर्दा छ वर्षको छोरालाई बाटोमा अलपत्र पारिदिए ’ –उमा रेग्मी
‘मेरो टाउकोको मूल्य दश हजार तोकिएको थियो’ – विष्णुमाया ओझा
२०४६ सालमा ‘गाउँको राणा’ देखि सरकारविरुद्ध लड्यौँ
सन्धान संवाद : खुलामञ्चबाट ३२ वर्षअघिको सम्झना
‘म स्वतःस्फूर्त २०४६ सालको आन्दोलनमा सहभागी भएको थिएँ’ –बुद्धलक्ष्मी महर्जन
‘प्रहरीबाट बच्न लुकेर बसेको कोठामै प्रहरीले कुटपिट गरे’ –लक्ष्मी कार्की
‘२०४६ को जनआन्दोलनमा महिलाहरू मियो नै थिए’ -डा. मीना पौडेल
‘मलाई किन नहटाएको भनेर क्याम्पसमा दरबारबाट पत्र आएछ’ –हिसिला यमी
‘पञ्चायत सरकारले २०३५ सालमा मेरो टाउकोको मोल तीनलाख तोकेको थियो रे’ –सुशीला श्रेष्ठ
चैत ३ को आन्दोलन २०४६ को जनआन्दोलनका लागि उर्जा बन्यो -हरिगोविन्द लुईँटेल
मलाई पनि गोली लाग्यो भन्ने हल्ला चलेछ –सुम्निमा तुलाधर
‘फ्याक्ट्री’ मा राजनीति घुसेपछि लुटिएको रोजीरोटी –सञ्जोगिता शाह
‘चैत ३ मा धर्ना बस्ने सबै सहभागीका लागि कालोपट्टी बनाएँ’ –निशा शर्मा, रङ्गकर्मी
जनआन्दोलन २०४६ सालको आन्दोलनको समर्थनमा अमेरिकामै आन्दोलन गर्यौँ –डा. मञ्जुला गिरी
‘भर्खरै बिहे भएका हामी दम्पती नै आन्दोलनमा लाग्यौँ’ –प्रा.डा. सुधा त्रिपाठी
‘हिरासतमा प्रहरीले दुर्व्यवहार गरेको थियो’ – डा. बेञ्जू शर्मा
जनआन्दोलनमा मजदुर मोर्चाबाट क्रियाशील थिएँ –धनकुमारी सुनार
परिवर्तनकामी ‘विकासे’ हरूको समूहले लालटिन जुलुस निकाल्यौँ –शान्ता लक्ष्मी श्रेष्ठ
‘२०४६ सालमा महिलाहरु उर्लेर आएका थिए’ –कल्याणी शाह
‘रुपन्देहीमा महिलाहरुको सहभागिता र योगदान धेरै थियो’ –शान्ता बस्याल
‘मोतीदेवी जुझारु, इमान्दार र क्रान्तिकारी भावनाको हुनुहुन्थ्यो’ –अष्टलक्ष्मी शाक्य
पहिले र अहिले आकाश जमिनको फरक छ (भिडियो सहित) – सीता बिडारी
सही मूल्याङ्कन हुने सिस्टम बसाल्नुपर्छ – शशी श्रेष्ठ (भिडियो सहित)
महिलाहरू मिलेर प्रहरी कब्जाबाट वडाध्यक्षलाई फुत्कायौँ –रेशमकुमारी थापा
बुबा प्रधानपञ्च, म पञ्चायत विरोधी –जयन्ती राई
तराई–मधेशमा महिलाको सहभागिता र योगदान महत्त्वपूर्ण थियो –धर्मेन्द्र झा
‘म सूचना आदानप्रदानको जिम्मेवारीमा थिएँ’ –डा. बिन्दा पाण्डे
‘म पक्राउ पर्दा छ वर्षको छोरालाई बाटोमा अलपत्र पारिदिए ’ –उमा रेग्मी
‘मेरो टाउकोको मूल्य दश हजार तोकिएको थियो’ – विष्णुमाया ओझा
२०४६ सालमा ‘गाउँको राणा’ देखि सरकारविरुद्ध लड्यौँ
सन्धान संवाद : खुलामञ्चबाट ३२ वर्षअघिको सम्झना
‘म स्वतःस्फूर्त २०४६ सालको आन्दोलनमा सहभागी भएको थिएँ’ –बुद्धलक्ष्मी महर्जन
‘प्रहरीबाट बच्न लुकेर बसेको कोठामै प्रहरीले कुटपिट गरे’ –लक्ष्मी कार्की
‘२०४६ को जनआन्दोलनमा महिलाहरू मियो नै थिए’ -डा. मीना पौडेल
‘मलाई किन नहटाएको भनेर क्याम्पसमा दरबारबाट पत्र आएछ’ –हिसिला यमी
‘पञ्चायत सरकारले २०३५ सालमा मेरो टाउकोको मोल तीनलाख तोकेको थियो रे’ –सुशीला श्रेष्ठ
चैत ३ को आन्दोलन २०४६ को जनआन्दोलनका लागि उर्जा बन्यो -हरिगोविन्द लुईँटेल
मलाई पनि गोली लाग्यो भन्ने हल्ला चलेछ –सुम्निमा तुलाधर
‘फ्याक्ट्री’ मा राजनीति घुसेपछि लुटिएको रोजीरोटी –सञ्जोगिता शाह
‘चैत ३ मा धर्ना बस्ने सबै सहभागीका लागि कालोपट्टी बनाएँ’ –निशा शर्मा, रङ्गकर्मी
जनआन्दोलन २०४६ सालको आन्दोलनको समर्थनमा अमेरिकामै आन्दोलन गर्यौँ –डा. मञ्जुला गिरी
‘भर्खरै बिहे भएका हामी दम्पती नै आन्दोलनमा लाग्यौँ’ –प्रा.डा. सुधा त्रिपाठी
‘हिरासतमा प्रहरीले दुर्व्यवहार गरेको थियो’ – डा. बेञ्जू शर्मा
जनआन्दोलनमा मजदुर मोर्चाबाट क्रियाशील थिएँ –धनकुमारी सुनार
परिवर्तनकामी ‘विकासे’ हरूको समूहले लालटिन जुलुस निकाल्यौँ –शान्ता लक्ष्मी श्रेष्ठ
‘२०४६ सालमा महिलाहरु उर्लेर आएका थिए’ –कल्याणी शाह
‘रुपन्देहीमा महिलाहरुको सहभागिता र योगदान धेरै थियो’ –शान्ता बस्याल
‘मोतीदेवी जुझारु, इमान्दार र क्रान्तिकारी भावनाको हुनुहुन्थ्यो’ –अष्टलक्ष्मी शाक्य
पहिले र अहिले आकाश जमिनको फरक छ (भिडियो सहित) – सीता बिडारी
सही मूल्याङ्कन हुने सिस्टम बसाल्नुपर्छ – शशी श्रेष्ठ (भिडियो सहित)
महिलाहरू मिलेर प्रहरी कब्जाबाट वडाध्यक्षलाई फुत्कायौँ –रेशमकुमारी थापा
अपाङ्गता भए पनि जनआन्दोलनमा सहभागी भएँ (भिडियो सहित)– सूर्यकुमारी गुरुङ
गोली लागेका श्रीमान्काे शव पनि हेर्न दिइएन (भिडियो सहित)
पक्राउ पर्ने डरले भेष बदलेर हिँड्थेँ – सुप्रभा घिमिरे
महिला मुक्तिका कुराले तानेपछि (भिडियो सहित)
त्यस बेलाको जस्तो राजनीति कहाँ पाउनु अहिले ! (भिडियाे सहित)