सन्धान संवाद शृङ्खला १६
विसं २०७२ असोज ३ मा नेपालको संविधान जारी भएसँगै मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यमा रूपान्तरित भयो । नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा निहित रहने गरी नयाँ संविधान जारी भएको १७ महिनापछि २०७३ फागुन ९ मा स्थानीय तह निर्वाचनको मिति घोषणा गरियो । घोषणामा २०७४ वैशाख ३१ गते मुलुकभर एकै चरणमा निर्वाचन सम्पन्न गर्ने भनियो ।
विविध कारणले एकै चरणमा निर्वाचन हुन सकेन । २०७४ वैशाख ३१ गते, असार १४ गते र असोज २ गते गरी तीन चरणमा निर्वाचन भयो । पहिलो चरणमा साबिक प्रदेश नं. ३ (हालको बागमती प्रदेश), प्रदेश नं. ४ (हालको गण्डकी प्रदेश) र प्रदेश नं. ६ (हालको कर्णाली प्रदेश) का ३४ जिल्लाका २८३ स्थानीय निकायका लागि निर्वाचन भयो । दोस्रो चरणमा साबिक प्रदेश नं. १ (हालको कोशी प्रदेश), प्रदेश नं. ५ (हालको लुम्बिनी प्रदेश) र प्रदेश नं. ७ (हालको सुदूरपश्चिम प्रदेश) का ३५ जिल्लाका ३३४ स्थानीय निकायका लागि निर्वाचन भयो । यस्तै, तेस्रो चरणमा साबिक प्रदेश नं. २ (हालको मधेश प्रदेश) का आठ जिल्लाका १३६ स्थानीय निकायका निर्वाचन भयो ।
तीन चरणमा कुल ७५३ स्थानीय तहका लागि निर्वाचन सम्पन्न भयो । त्यसमा ७४.१६ प्रतिशत मतदाताले मतदान गरे । ३५ हजार ४१ जना स्थानीय प्रतिनिधिको छनोट भए । मुलुक सङ्घीयतामा गइसकेपछिको स्थानीय तहको पहिलो कार्यकाल २०७४–२०७९ मा गाउँपालिका अध्यक्षका हैसियतले ११ र नगरपालिका प्रमुखका हैसियतले सात गरी कुल १८ महिलाले पालिकाको नेतृत्व गर्ने अवसर पाए ।
नेपालकै पहिलो निर्वाचन भने २००४ जेठ २९ गते भएको थियो । काठमाडौं म्यूनिसिपलिटीको उक्त निर्वाचनमा महिलाहरूले उम्मेदवारी दिन त के भोट खसाल्न पनि पाएका थिएनन् । महिलाहरूलाई मताधिकार नै दिइएको थिएन । देशकै पहिलो निर्वाचन भएको छ वर्षपछि २०१० सालमा अर्को निर्वाचन भयो । त्यस निर्वाचनमा महिलाहरूले मताधिकार मात्र नभएर उम्मेदवारीको अधिकारसमेत पाए ।
महिलाले यस्तो अधिकार पाएको साढे छ दशक हुनै लाग्दा २०७४ सालमा भएको स्थानीय निर्वाचनमा त ५७ हजार ८४३ महिला चुनावी मैदानमा नै उत्रिए । तीमध्ये १४ हजार ३५१ महिला पालिकाका विभिन्न पदहरूमा निर्वाचित पनि भए ।
स्थानीय तह निर्वाचन २०७४ बाट महिलाले कुल प्रतिनिधित्वको ४०.९५ प्रतिशत हिस्सा प्राप्त गरे । यत्तिको प्रतिनिधित्व वैधानिक प्रावधानको कारण सम्भव भएको थियो । त्यति हुँदाहुँदै पनि बिर्सन नहुने कुरो के रह्यो भने महिलाहरूले पाउनुपर्ने जति महत्त्व र अधिकार अझै पाएका थिएनन् ।
‘स्थानीय तह निर्वाचन ऐन, २०७३’ मा दफा १७ को उपदफा ४ मा उम्मेदवारको मनोनयनपत्र पेस गर्दा दलले अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुखमध्ये ५० प्रतिशत महिला उम्मेदवार रहने गरी मनोनयनपत्र पेस गर्ने व्यवस्था मिलाउनुपर्ने प्रावधान छ । त्यतिबेला पालिकाको उपप्रमुख/उपाध्यक्ष पद महिलाकै लागि तोकिए जस्तो गरी उम्मेदवारी थमाइएको थियो ।
समग्रमा ५० प्रतिशतको परिणाम पनि महिलाको हातमा परेन । कुल एक हजार ५०६ स्थानमा पुरुष ७८८ हुँदा महिला ७१८ जना मात्र विजयी भए । महिलाको सम्भाव्य प्रतिनिधित्व पनि ३५ स्थानले कम हुन पुग्यो । यसले महिलालाई न्याय नभएको स्पष्टै देखायो । त्यस्तो अवस्थामा पनि पालिकाको नेतृत्वमा उम्मेदवार बनेर निर्वाचित हुन पुगेका १८ महिलाहरू सामान्य पक्कै थिएनन् । कार्यकाल २०७४–२०७९ साललाई फर्किएर हेर्दा निर्वाचित भएर पालिका हाँकेका सारथी महिलाहरूको लहरमा देखापर्ने नामहरूमध्ये एक हो, प्रभा बराल ।
प्रभा साबिक प्रदेश नम्बर ३ स्थित चितवन जिल्लाको राप्ती नगरपालिका प्रमुख निर्वाचित हुनुभयो । २०७६ पुस २७ मा बागमती प्रदेश नाम राखिएको उक्त प्रदेशबाट नगरपालिका प्रमुखमा दुई र गाउँपालिका अध्यक्षमा तीन गरी पाँच जना महिला निर्वाचित भए । निर्वाचित पाँचमध्ये तीन जना चितवन जिल्लाकै थिए, एक जना महानगरपालिका प्रमुखमा, एक जना नगरपालिका प्रमुखमा र एक जना गाउँपालिका अध्यक्षमा ।
राप्ती नगरपालिकाको प्रमुख पदका लागि भएको निर्वाचनमा १० जना उम्मेदवार प्रतिस्पर्धामा थिए । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट चुनावी मैदानमा उत्रिएकी प्रभा ११ हजार ६१३ मत प्राप्त गरी विजयी हुनुभयो । १४ हजार ९०६ महिला र १५ हजार ९२ पुरुष गरी कुल २९ हजार ९९८ मतदाता रहेको राप्ती नगरपालिकामा २३ हजार २१७ मत खसेको थियो । खसेकामध्ये सदर मत सङ्ख्या २१ हजार ९२९ थियो ।
प्रभाको जन्म कास्की जिल्लाको पोखरा महानगरपालिका हालको वडा नम्बर ७ मा भएको थियो । प्रभाकै भनाइमा बुबा टेकनाथ बराललाई २०३२/३३ सालतिर सरकारले राजनीतिक कारणले देशनिकाला गरेको र टाउकाको मोल तोकेको थियो । यसैले उहाँ पनि विद्यालय जीवनदेखि नै राजनीतितिर उन्मुख हुन पाउनुभयो ।
विसं २०४२ तिर स्थानीय तालबाराही माध्यमिक विद्यालयमा पढ्दै गर्दा ‘स्कुल प्रारम्भिक कमिटी’ मा आबद्ध प्रभा पोखराकै पृथ्वीनारायण क्याम्पस पढ्दै गर्दा प्रारम्भिक कमिटीमा सचिव हुनुभयो । २०४४ सालमा अखिल नेपाल महिला संघमा आबद्ध भएको केही समयपछि उहाँले अर्धभूमिगत भएर काम गर्नुभयो भने २०४८ सालमा अनेमसंघको कास्की जिल्ला अध्यक्ष हुनुभयो ।
प्रभाको बिहे २०५१ सालमा चितवनको राप्ती नगरपालिका वडा नम्बर ७ का हरिप्रसाद पौडेलसँग भयो । बिहेपछि उहाँले नेकपा एमालेको चितवन जिल्ला कमिटीको सदस्य तथा अनेमसंघको चितवन जिल्ला सचिव हुँदै २०५६ सालमा अनेमसंघ चितवनको अध्यक्ष भएर राजनीतिलाई निरन्तरता दिनुभयो । राप्ती नगरपालिका प्रमुखका लागि उम्मेदवारी दिँदा उहाँ ४७ वर्षको हुनुहुन्थ्यो ।
नगरपालिका प्रमुखमा निर्वाचित भएपछि जिम्मेवारी निर्वाहको पाटो भने सहज थिएन । नयाँ शासकीय स्वरूप, नयाँ अभ्यास, वैधानिक तथा भौतिक पूर्वाधारहरूको अपर्याप्तता/अभाव जस्ता कारणले सबै पालिकामा एक प्रकारको अन्योल थियो । त्यस्तो बेला पुरुषहरूकै बाहुल्य रहेको संरचनामा नवनिर्वाचित प्रमुख/अध्यक्ष बनी नेतृत्वदायी भूमिका निर्वाह गर्नु महिलाका लागि झनै चुनौतीपूर्ण थियो ।
नागरिकका अपेक्षा चुलिएका थिए । चितवन जिल्लाको राप्ती नगरपालिकाको प्रमुखमा निर्वाचित प्रभाका सामु पनि विभिन्न खालका चुनौती थिए । महिला भएकै कारण उहाँमाथि खटेर काम गर्न नसक्ने हो कि भन्ने पूर्वाग्रहजन्य आशङ्का पनि थपिएको थियो ।
समग्रमा नगरपालिका प्रमुखको जिम्मेवारी निर्वाह गरी दायित्व पूरा गर्दाको प्रभाको अनुभव कस्तो रह्यो त ? विशेष गरी उहाँको नेतृत्वमा पालिकाले हासिल गरेका उपलब्धि के थिए ? उहाँको नेतृत्वशैली, बाधाअवरोध पन्छाउने उपाय के कस्ता थिए ? आफूले आफ्नो कार्यकाल र आफैँलाई फर्किएर हेर्दा उहाँले के पाउनुभयो ? भावी जनप्रतिनिधिलाई उहाँका सुझाव के के थिए ?
जवाफ खोतल्ने क्रममा द स्टोरी किचेनले तयार पारेको निर्देशिकाका आधारमा मूलतः यी र यस्ता प्रश्नका साथ ‘सन्धान’ को तर्फबाट लक्ष्मी बस्नेतले प्रभासँग २०७९ कात्तिकमा कुराकानी गर्नुभयो । थप स्पष्टताका लागि २०८१ चैतको तेस्रो साता तथा वैशाख पहिलो साता उहाँसँग पुनः सम्पर्क गरिएको थियो ।
गत वर्ष २०८१ असोज ३ गते संविधान दिवसको सन्दर्भ पारेर हामीले ‘सन्धान संवाद शृङ्खला’ अन्तर्गत ‘फर्किएर हेर्दा : पालिकाका सारथी महिलाहरू’ स्तम्भ सुरु गरेका थियौँ । सोही दिनदेखि एक बिहिवार संवाद र अर्को बिहिवार रिपोर्ट पर्ने गरी हरेक हप्ता पालिकाका सारथी महिलाहरूसित सम्बन्धित सामग्री प्रस्तुत गर्दै आएको थियो ।
प्रस्तुत सामग्री ‘फर्किएर हेर्दा : पालिकाका सारथी महिलाहरू ’ स्तम्भको संवाद खण्ड हो । यसपछि एक साता बिराएर बिहिवारकै दिन बढीमा दुई अङ्कसम्म यो संवाद शृङ्खला प्रस्तुत हुने सम्भावना छ । आजको शृङ्खलामा प्रस्तुत छ, प्रभा बरालसँग गरिएका चरणबद्ध कुराकानीका अंश ।
मेयरको रूपमा पाँचवर्से कार्यकालको अन्तिम वर्षमा आइपुग्दा आफ्नो कार्यकालमा गरिएका उपलब्धिमूलक कामहरूका बारेमा भन्दिनुस् न !

हामी निर्वाचित भएर आएपछि पहिलो पटक स्थानीय सरकारको रूपमा पहिलो नगरपालिका सञ्चालन गर्नुपर्ने अवस्था थियो । नगरपालिकामा निर्वाचित भएर आयौँ तर आवश्यक पर्ने कर्मचारी थिएनन् । बस्नका लागि भवन थिएन, वडा कार्यालयहरू पनि थिएनन् । नगरपालिका कार्यालय भवन, सभाहल नै थिएन राप्ती नगरपालिकामा । यस नगरपालिकामा हामी आएपछि मात्र नगरपालिकाको मापदण्ड पूरा गर्नुपर्ने भयो, हामीले त्यो काम गर्यौँ ।
संविधानमै लेखिएको २२ वटा अधिकार क्षेत्र त स्थानीय तहको एकल अधिकार क्षेत्रमा पर्दछ, त्यसका लागि बनाउनुपर्ने ऐन, नियमावली, कार्यविधि बनाएर काम गर्नुपथ्र्याे । हामीले ५६ वटा ऐन नियम, नियमावली कार्यविधिहरू बनाएर त्यसै अनुसार काम पनि गर्यौँ ।
मेरो कार्यकालमा सम्झनालायक काममध्ये स्वास्थ्य, शिक्षा, कृषिको क्षेत्रमा धेरै राम्रा काम भएका छन् । यहाँ स्वास्थ्यचौकी तथा अस्पताल नै थिएन । साबिकका पाँच वटा गाविसमा एउटा स्वास्थ्य चौकी थियोे । त्यही भएर यहाँका नागरिकको स्वास्थ्य संस्थामा सहज पहुँच थिएन ।
हामीले राप्तीका नागरिकको स्वास्थ्य संस्थामा सहज पहुँच बढाउने काम गर्यौँ । सबै वडाहरूमा स्वास्थ्यचौकीहरू बनाउने कार्य भयो । हामीले १३ वटै वडामा आधारभूत स्वास्थ्यचौकी र एउटा आयुर्वेदिक औषधालय पनि निर्माण गर्यौँ ।
स्वास्थ्यका क्षेत्रमा महिला विशेषज्ञसहितको भण्डारामा अस्पताल निर्माणाधीन अवस्था छ । चेपाङ महिलाहरू स्वास्थ्य परीक्षणका लागि भण्डारासम्म आउने तर भरतपुर नजाने भएपछि भण्डारामै महिला विशेषज्ञसहितको अस्पताल निर्माण गर्न थाल्यौँ । उहाँहरूलाई डाक्टर, नर्सले सल्लाह दिएर उपचार सम्भव भएकालाई त्यहीँ गर्ने र ‘रिफर’ गर्नुपरे भरतपुर पुग्नका लागि एम्बुलेन्सको निःशुल्क व्यवस्था गर्यौँ ।
यस्तै, शिक्षाको क्षेत्रमा हामीले होस्टेल बनाएका छौँ । चेपाङका बालबालिका तीन–चार घण्टा हिँडेर स्कुल पुगेर पढ्नुपर्ने अवस्था थियो । त्यो भएर होस्टेल बनायौँ । चेपाङ समुदायका बालबालिकालाई सङ्घीय सरकारबाट खाजा आउँथ्यो । पछि कक्षा ५ सम्मका सबैलाई स्कुलमा खाजा खुवाउने व्यवस्था गर्यौँ ।

हामीले सामुदायिक विद्यालयमा पढ्ने बालबालिकाको घरको आर्थिक स्थिति कमजोर हुने भएकाले राप्तीमा १० कक्षामा पढ्ने विद्यार्थीलाई एसइईमा राम्रो नम्बर लिएर पास गर्न सकून् भन्ने उद्देश्यले तीन महिना निःशुल्क कोचिङ पढाउने व्यवस्था गर्यौँ ।
मेरो कार्यकालमा भण्डारा माध्यमिक विद्यालय संघबाट नमुना विद्यालय घोषणा भयो भने वीरेन्द्र आदर्श विद्यालय प्रदेशबाट नमुना विद्यालय घोषणा भयो ।
कृषिको क्षेत्रमा राप्तीमा खेतीयोग्य जमिनको संरक्षण गर्ने कुरा महत्त्वपूर्ण छ । यो पालिकाका चार वटा वडा पहाडी क्षेत्रमा पर्छन् । त्यहाँ खहरे खोलाहरू बढी छन्, पहिरो गइरहन्छ । यो क्षेत्र भनेको बाढीग्रस्त क्षेत्र हो । हामी निर्वाचित भएकै साल बाढी आएको थियो । केही वडा तराई क्षेत्र भएकाले बाढीका कारण डुबानमा परे ।
बाढीका कारण कतैका खेतीयोग्य जमिन बगे, कतैका पुरिए । यसैले हामीले आठ–नौ वटा खोलालाई तटबन्धन गर्ने, राप्ती नदीमा पनि प्रदेशका माननीय र नगरपालिकाको समन्वयमा तटबन्धन बनाउने र पुरानालाई मर्मत गर्नुपर्ने ठाउँमा गर्ने काम गर्यौँ ।
हामीले सरसफाइ पनि हुने र मल पनि हुने भएकाले कुहिने र नकुहिने फोहोरलाई छुट्ट्याउने व्यवस्था गरेर अर्गानिक मलको उद्योग पनि सञ्चालन गर्यौँ । हाम्रो नगरपालिकामा पशु स्वास्थ्य अस्पताल सञ्चालन पनि गर्यौँ । हाम्रो नगरपालिका दुधको पकेट क्षेत्र हो । गाईपालन धेरै हुने भएकाले पनि पशु अस्पताल आवश्यक थियो ।
हामीले दिने सार्वजनिक सेवालाई छिटोछरितो र पारदर्शी बनाउनका लागि सफ्टवेयर बनाएर प्रविधिको माध्यमबाट सेवा दिन थाल्यौँ । जनताका आवश्यकताहरू अनन्त हुन्छ्न । सके जति आवश्यकता, माग र चाहनालाई प्राथमिकतामा राखेर काम गरेका छौँ । नगरवासीसँग ठुलो अपेक्षासँगै वास्तविक समस्या र आवश्यकताहरू थिए । यी सबै कुरालाई मिलाउँदै अगाडि बढ्दै गयौँ ।
बिस वर्ष स्थानीय सरकार नभएर ‘ग्याप’ भएको अवस्था थियो । यसले गर्दा यहाँ विकासका पूर्वाधारहरू पनि बनिसकेका छैनन् । पुल, तटबन्धन छैन । कुलो, खानेपानी छैन । टेलिफोन पनि छैन । यसैले यहाँ यस्ता पूर्वाधारको परिपूर्ति हुनुपर्नेमा पनि ध्यान दिँदै आएका छौँ ।
हामीले २०७२ सालको भूकम्पपछिको पुनर्निर्माणको बाँकी काम अघि बढायौँ । हामीले गर्नुपर्ने अर्को काम भनेको राष्ट्रिय निकुञ्जको हो । निकुञ्जका जङ्गली जनावर र जनताबिचको द्वन्द्वलाई व्यवस्थापन गर्ने योजनाअनुसार काम गर्न थाल्यौँ ।
जनताका आवश्यकता, माग र चाहनालाई प्राथमिकतामा राखेर सके जति काम गरेका छौँ । तीमध्ये कतिपय पूरा भए भने कति पूरा हुने क्रममा छन् । यसरी हेर्दा मैले शिक्षा, महिला स्वास्थ्य सँगसँगै भौतिक पूर्वाधारको कामलाई प्राथमिकतामा राख्नैपर्ने अवस्था थियो । त्यसलाई अघि बढाएँ ।
साथै, महिला बालबलिकाको क्षेत्रमा हामीले आमा पोषणको कार्यक्रम सञ्चालन गर्यौँ । महिलाहरू सुत्केरी हुँदा निःशुल्क एम्बुलेन्स सेवा दिने व्यवस्था गर्यौँ । गर्भवती अवस्थामा लगाउनुपर्ने सबै खोप लगाएका महिलालाई पुरस्कारस्वरूप १८ सय रुपैयाँ पनि दिने गरेका छाैँ ।
तपाईंले जे जति र जस्ता काम गर्नुभयो, ती काम गर्नुपर्छ भन्ने तपाईंलाई किन लाग्यो ?
आवश्यकता र जिम्मेवारी दुवैले गर्दा हो । पालिकाले यो यो काम गर्नुपर्नेछ भनेर देखिरहेको हो र यी गर्नैपर्ने काम हुन् भनेर बुझिरहेको पनि हो । अझ बढी चाहिँ प्रमुख पदमा पुगेपछि यहाँ बसेर के के जिम्मेवारी पूरा गर्नुपर्छ त भनेर मिहिन ढङ्गले हेरियो । त्यसरी हेरेपछि झन् राम्ररी देखियो ।
अर्को भनेको काम गर्दै जाँदा झन् नयाँ अरूअरू आवश्यकता पनि देखिने रहेछ । स्थानीय नागरिकसँग छलफल गर्दै गर्दा पनि उहाँहरूबाट धेरै कुरा आउने रहेछ । छलफलकै कुरा भन्छु, स्वास्थ्य शाखामा धेरै कर्मचारी भए पनि विकट गाउँठाउँमा गएर सेवा दिने भनेका स्वयंसेविकाहरू हुनुहुँदो रहेछ । उहाँहरू हिँडेरै एउटा डाँडाबाट अर्काे डाँडामा जानुपर्ने रहेछ ।

मैले स्वास्थ्य स्वयंसेविकाहरूलाई के भयो भने काम गर्न सजिलो हुन्छ भनेर पनि सोधेँ । उहाँहरूमध्ये तराई क्षेत्रका स्वयंसेविकाले ‘साइकल भए सजिलो हुन्छ’ भन्नुभयो । पहाडतिरकाले ‘मोबाइल भए सजिलो हुन्छ’ भन्नुभयो । हामीले पहाडका लागि मोबाइल र तराईका लागि साइकलको व्यवस्था गरिदियौँ ।
अर्को उदाहारण पनि दिन्छु, स्कुलका शिक्षक महिला प्रसूति बिदामा बसेको बेलामा कक्षा खाली हुँदो रहेछ । यसले गर्दा सुत्केरी अवस्थामा घर बस्दा पनि शिक्षक महिलालाई तनाव हुने बुझियो । यसैले बिदामा बस्नेलाई तनाव नहोस् र यता कक्षा पनि खाली नहोस् भनेर हामीले सट्टा शिक्षक राख्न थाल्यौँ ।
काम गर्दै जाँदा यो काम यसरी गर्दा राम्रो हुन्छ, तत्कालको आवश्यकता यो हो भनेर सम्बन्धित पक्षबाटै राय लिएर, निर्णय गरेर कामलाई अगाडि बढाएँ । यसो गर्दा आवश्यकता र जिम्मेवारी दुवैमा तालमेल पनि हुने भयो । पालिकावासीका लागि राम्रो हुने काम गर्नुपर्छ भन्ने लागेर पनि गरेको हो ।
मेयर बनेपछि जिम्मेवारी सम्हाल्न सकिएला कि नसकिएला भन्ने डर पनि लागेको थियो ?
मैले मेयरको शपथ २०७४ जेठ ८ गते लिएँ र त्यही दिन कार्यभार सम्हालेँ । प्रमुख भएपछि यो जिम्मेवारी कसरी सम्हाल्ने होला भनेर मनमा अलि अर्कै चाहिँ भएको थियो । म उम्मेदवार बनेको र जितेको पनि यो पहिलो पटक हो ।
पहिलो पटक पालिका प्रमुखमा उठेर जितेपछि स्वाभाविक नै हो, कसरी काम गर्ने, के के गर्ने, यसपछिका ‘स्टेप’ हरू के के हुन् भन्ने कौतुहलता त जाग्यो । मलाई सुरुमा डर नै भन्नेभन्दा पनि कस्तो हुन्छ होला, राम्रो काम गर्न सकिएला कि नसकिएला भन्ने चाहिँ लागेको थियो ।
डर नभए पनि अन्योल रहेछ, त्यसलाई कसरी हटाउनुभयो ?
मलाई सुरुमा केही अलि अर्कै र अन्योल जस्तो लागे पनि नआत्तिकन काम गर्छु भन्ने पनि लागेको थियो । मैले सङ्गठन सञ्चालन गर्ने, परिचालन गर्ने, बनाउने, आन्दोलनमा जाने, कुटिने, पिटिने, थुनिने यी सबै कुराहरू जीवनमा पहिले नै अनुभव गरिसकेको थिएँ ।
पञ्चायतकालमा २०४३ सालमा पार्टीले जनपक्षीय उम्मेदवार उठाउने निर्णय गरेको थियो । पार्टीले त्यस्तो निर्णय गरेपछि मैले चुनाव प्रचारप्रसार समितिको संजोजक भएर काम गरेको थिएँ ।

पहिले सङ्गठनमा लागेर अरू काम गरेको अनुभवले गर्दा मलाई पालिकाको प्रमुख भएर पनि काम गर्न सक्छु भन्ने लागेको थियो । ममा त्यस्तो आत्मविश्वास थियो । कर्मचारी, अग्रजहरूसँग सरसल्लाह गरेर काम गर्छु भन्ने पनि मलाई लागेको थियो ।
पालिकामा काम गर्ने क्रममा बाधाहरू आए कि आएनन् ? आएका थिए भने तिनलाई पन्छाउन के गर्नुभयो ?
मेरो कार्यकालमा त्यति बाधाहरू आएनन् । खासै त्यस्तो असहयोग पनि भएन । मलाई जनप्रतिनिधि, कर्मचारी, समुदाय, राजनीतिक नेताहरूको साथ सहयोग राम्रो थियो । त्यही भएर पनि सम्झनै पर्ने बाधा असहयोग खासै छैन जस्तो लाग्छ ।
हामीले काममा बढी ध्यान दियौँ । कामको समयमा पनि कालो चिया मात्र खायौँ । काम गर्ने क्रममा अरू नै रमाइलो गर्न चाहनेहरूलाई त्यो अवसर मिलेन होला तर पनि कामका क्रममा बाधा, अप्ठ्याराहरू सिर्जना भएनन् ।
सँगसँगै अर्को एउटा कुरा, राम्रा काम गर्ने क्रममा पार्टीभित्र एकीकृत भएका अन्य केही नेतालाई भने यो स्थापित हुने भई भनेर रिस, डाहा पनि हुने रहेछ । कहिलेकाहीँ प्रत्यक्ष वा अप्रत्यक्षरूपमा ‘त्यस्ता’ केही प्रवृत्तिहरू त झल्कन्थे तर मैले त्यस्ता कुरालाई वास्ता गरिनँ । काममा मात्रै ध्यान दिएँ । अरूतिर ध्यान नै दिइनँ ।
महिला भएकै कारण कतै केही अप्ठ्यारो त अनुभव भएन नि ?
हामी समानताको पक्षधर हौँ । महिला र पुरुष समतामूलक समाज निर्माण गर्न अघि बढिरहेका छाैँ । मलाई महिला भएकै कारणले खासै अप्ठेरो अनुभव भएन । समस्या आए भन्ने पनि केही छैन । बरु म महिला भएकै कारण नगरपालिकावासीलाई धेरै राम्रो भयो भन्ने लाग्छ ।
प्रतिपक्षबाट पनि राम्रै कुरा सुनियो । नगरपालिकालाई सभ्य, सुव्यवस्थित बनाउने अभियानमा लागेको महिला मेयर भएका कारण एक वर्षमा एक करोड बचत गर्नुभयो भनेर प्रतिपक्षले नै चिया पसलमा भन्नुभयो रे !

समाजमा कहीँ कतै भने महिलाले गर्नै सक्दैनन् भन्ने सोच पनि छ । अहिले पनि त्यस्तो सोच हटिसकेको छैन । त्यसलाई पछि पार्दै, महिलाले पनि अवसर पायो भने गर्न सक्छन् भनेर देखाउनेतिर लागेँ । कसले के भन्यो, के सोच्यो भनेर हेर्ने फुर्सद पनि हुँदैनथ्यो ।
अर्को कुरा, स्थानीय पालिका मात्र होइन, देशको प्रमुख, प्रधान न्यायाधीश र सभामुख पदमा महिला पुग्नुभयो । अवसर पाएपछि महिलाले गर्न सक्नुहुन्छ भन्ने त ‘क्लियर’ भइसकेकै छ । बरु समस्यालाई मिहिनरूपमा केलाएर सम्बोधन गर्न जति हामी महिलाले सक्छौँ, त्यति पुरुषहरूले सक्नु हुन्न भन्ने मलाई लाग्छ ।
तपाईंलाई आफूले कस्तो खालको नेतृत्वशैली अपनाए जस्तो लाग्छ ?
मेरो नेतृत्व शैली नरम खालकै हो । झुठ बोल्न जान्दिनँ । त्यो भएर भोट पाउनकै लागि झुठा आश्वासन दिइनँ । कुनै काम गर्ने भनेर निर्णय गरिसकेपछि मरेर भए पनि गर्नुपर्छ भन्ने मान्यताको मान्छे हुँ । म जहिले पनि पारदर्शी हुने, चरित्रवान् र अनुशासित हुनुपर्छ अनि फजुल खर्च गर्नु हुँदैन भन्नेमा विश्वास गर्छु ।
विकास गर्दा पनि दिगो हुने गरी गर्नुपर्छ भन्थेँ, भन्छु । धेरै गर्छु भनेर अलिअलि गर्दै छोड्दै गर्नु वा दिगो नहुने गरी गर्नुभन्दा मलाई थोरै गरौँ बरु राम्रो गरौँ भन्ने लाग्छ । पालिकाको नेतृत्वमा रहेर त्यही अभ्यास गरियो ।
नेतृत्वको त्यस्तो शैली तपाईंले कहाँबाट सिक्नुभयो ? कोही कसैबाट प्रेरित पनि हुनुहुन्छ कि ?
म कम्युनिस्ट परिवारमा हुर्कें, कम्युनिस्ट सिद्धान्तमा हुर्किएँ । त्यही सिद्धान्तअनुसार सङ्गठनमा काम गरेँ । बिहेपछि पनि त्यही खालको वातावरण पाएँ । राजनीतिमा लाग्न पनि पारिवारिक हिसाबले प्रेरणा मिल्यो ।
स्थानीय सरकार चलाइरहँदा मसँग यस्तो ज्ञान, सिप भएको भए अझ राम्रो गर्थें होला भन्ने महसुस कुनै बेलामा भयो ?
हामी जनप्रतिनिधिलाई सङ्घीय सरकार र पार्टीले पहिले नै मार्गदर्शन, सहयोग र प्रशिक्षण दिने काम गरिदिएको भए अझ राम्रो गर्थें भन्ने लाग्छ । दुई पार्टी एक भएका कारणले अन्योल पनि भयो होला । यसैले पार्टीबाट पनि हुनुपर्ने जति प्रशिक्षण प्राप्त हुन सकेन ।
सङ्घीय सरकार र पार्टीबाट समयमै आवश्यक मार्गदर्शन, सहयोग र प्रशिक्षण नभएपछि केही समय अन्योल भयो तर पछि हामीले आफ्नै हिसाबले काम गर्यौँ । आफ्नो सीमित स्रोत, साधन र आफूसित भएकै ज्ञान, सिप, अनुभवबाट पालिकावासीलाई खुसी बनाउने गरी काम गर्नुपर्छ भन्नेतिर लागियो ।
पालिकावासीलाई खुसी बनाउने गरी गरेका कामका केही उदाहरण पनि दिनुहुन्छ कि ?
मलाई लाग्छ, कोभिड–१९ महामारीका बेलामा हामीले गरेको कामबाट नगरवासीहरू एकदमै खुसी हुनुभयो । बाहिरी छिमेकी देशहरूमा कोरोना भाइरसको सङ्क्रमण बढिरहेको समयदेखि नै हामीले पनि तयारी गर्नुपर्छ भनेर योजना बनायौँ । पूर्वतयारी राम्रोसँग गरेका थियौँ भन्ने लाग्छ ।
हामीसँग सात वटा एम्बुलेन्स थिए । ती एम्बुलेन्सहरूमा चाहिने स्वास्थ्यका उपकरणदेखि एम्बुलेन्स चालकको लागि सुरक्षित हुने व्यवस्थासमेत गरेका थियौँ । चालकहरूलाई मासिक तलब, अन्य सेवासुविधादेखि स्वास्थ्यका सामग्रीहरूको बन्दोबस्त गरेर ‘स्ट्यान्ड बाई एम्बुलेन्स’ राख्यौँ । ‘क्वारेन्टिन’ बनाएका थियौँ ।

सुनवल ‘बोर्डर’ मा मेरो मान्छे आएको छ भनेर कसैले भन्नुभयो भने पालिकाबाट एम्बुलेन्स पुगिहाल्ने व्यवस्था थियो । कति सङ्क्रमितलाई एक महिनासम्म पनि ‘क्वारेन्टिन’ र ‘आइसोलेसन’ मा राख्यौँ । उहाँहरूलाई कोरोना नेगेटिभ भएपछि मात्रै घर पठाउँथ्यौँ ।
कसै कसैको परीक्षणमा एक महिनासम्म पनि कोरोना पोजिटिभ नै आउँथ्यो । उहाँहरूलाई त्यतिन्जेल ‘आइसोलेसन’ मै राख्यौँ । हामीले समयमै परीक्षण गर्ने, खोप दिने काम पनि समयमै गर्यौँ, गर्न सक्यौँ ।
घरमै भएका कोरोना सङ्क्रमितलाई पनि म आफैँ घरघरमै पुगेर सान्त्वना दिने र उहाँहरूको स्वास्थ्य अवस्था बुझ्ने काम गरेँ । पहिलो र दोस्रो गरी दुई लहरको महामारी हुँदा पनि पूर्वतयारी राम्रो थियो । त्यही भएका कारणले केही दीर्घरोगीहरूबाहेक मानवीय क्षति त्यति धेरै भएन । यी सबै कुराले नगरवासीहरू खुसी हुनुहुन्छ ।
चुनावमा गरिएका प्रतिबद्धताहरू कति पूरा भए जस्तो लाग्छ ?
हामीले चुनावी घोषणापत्र नै बनाएर प्रतिबद्धताहरू गरेका थियौँ । पार्टीले घोषणा गरेका प्रतिबद्धताहरू थिए । तीमध्ये धेरै जस्ता प्रतिबद्धताहरू पूरा भएका छन् । केही पूरा हुन बाँकी छन् तर हामीले घोषणापत्रबाहेक पनि धेरै काम गरेका छौँ ।
हामी २०७४ सालमा निर्वाचित भयौँ । केही समय अलि अन्योलको अवस्था थियो । कहाँ, कसरी र कताबाट काम सुरु गर्ने, कर्मचारी कसरी ल्याउने भनेर एक वर्ष बित्यो । २०७५ सालमा कामले गति लिन थालेको थियो फेरि २०७६ सालदेखि करिब दुई वर्ष त कोभिड–१९ महामारीले पूर्णरूपमा आक्रान्त बनायो ।
सुरुवाती अन्योल र महामारीका बाबजुद पनि धेरै प्रतिशत कामहरू पूरा भएका छन् । मलाई लाग्छ, हामीले प्रतिबद्धता गरेअनुसारका ८० प्रतिशत कामहरू पूरा भएका छन् । कति पूर्वप्रतिबद्धताबाहेक बिचमा गर्नैपर्ने भएर गरिएका काम पनि हुन्छन् । कतिपय कामहरू निरन्तर छन् ।

अहिले पाँचौँ वर्षको आधा समय सकिँदासम्म हामीले एक सय वटा बैठक बसेर ८४० वटा प्रस्तावमा छलफल गर्यौँ । तीमध्ये पाँच प्रतिशत जति काम निरन्तर भइरहेका छन् । पाँच प्रतिशत विविध कारणले गर्न नसकेका काम पनि छन् । पाँच वर्षमा जनताको अपेक्षा र आफूले सोचेका जति सबै काम गर्न नसके पनि समग्रमा सफल भयौँ भन्ने लाग्छ ।
पालिकावासीले जे सोचेर तपाईंलाई जिताएका थिए, उनीहरूले अहिले तपाईंप्रति के सोच्छन् होला जस्तो लाग्छ ?
कतिपयले त चुनावकै बेलामा ‘कत्तिको मत माग्न हिँड्न सक्नुहुन्छ’ भनेजस्तो पनि लाग्थ्यो । ‘महिला हो कत्तिको कुद्न, दौडिन सक्छ’ अथवा ‘महिलाले जितेर पनि समस्या समाधान कत्तिको गर्ने हो’ भन्ने खालका कुरासमेत कताकति सुनिन्थे तर म पछि हटिनँ ।
मैले कास्कीमै हुँदा २०४३ सालदेखि डाँडाकाँडामा हिँडेर राजनीति गरेको थिएँ । म जस्तो मान्छेलाई खुट्टाले हिँड्न गाह्रो थिएन । कतिले चुनाव जितेपछि पनि मलाई विश्वास नगरे जस्तो लाग्थ्यो तर बिस्तारै कामबाटै देख्दै गएपछि उहाँहरूले विश्वास गर्न थाल्नुभयो ।
काम गर्दै जाँदा हाम्रो पालिकाको काम नगरपालिकाहरूमध्येमै राम्रो भएको मूल्याङ्कन हुन थाल्यो । सङ्घीय मामिला मन्त्रालयले गर्ने लिजा (स्थानीय सरकार संस्थागत स्वमूल्याङ्कन) मा राम्रो नगरपालिकामा हाम्रो नगरपालिका निरन्तर पर्यो । देशभरका झन्डै तीन सय नगरपालिकामध्ये ५०–६० वटा राम्रा नगरपालिकाभित्र हामी पर्छौं । वित्तीय आयोगको कार्यसम्पादन मूल्याङ्कनमा पनि हाम्रो नगरपालिका पहिलो बन्यो ।

नेपाल नगरपालिका संघले पाँच विधा छुट्ट्याएको थियो । त्यसमा आर्थिक विकास, संस्थागत विकास तथा सुशासन, वन वातावरण, सामाजिक विकासमा गरेको काम प्रमाणसहित फाराम भरेर पठाउनुपथ्र्यो । त्यो भरेर पठाउँदा सामाजिक विकास विधाअन्तर्गत २९३ नगरपालिका (महानगर र उपमहानगरसमेत) मध्येमा हाम्रो नगरपालिका प्रथम भयो ।
हामीले शिक्षा, स्वास्थ्य, कृषि, महिला, बालबालिका तथा अशक्त तथा ज्येष्ठ नागरिकलाई लक्षित गरेर सेवा दियौँ । बैङ्कसम्म जान नसक्ने ज्येष्ठ नागरिकलाई गाडीको व्यवस्था गर्यौँ भने पहाडका ज्येष्ठ नागरिकलाई बैङ्कका कर्मचारी घरमै गएर सामाजिक सुरक्षा भत्ता दिने व्यवस्था गर्यौँ ।
मेरो नेतृत्वमा भएका यस्ता थुप्रै काम देखेर पालिकावासीले महिलाले काम गर्न नसक्ने होइन रहेछ भन्नुहुन्छ । यही कारणले होला, पछिल्लो एक वर्षदेखि त ‘तपाईंले फेरि पनि प्रमुखको पद छोड्नु हुँदैन, फेरि चुनाव लड्नू’ भन्ने क्रम बढेको थियो ।
स्थानीय सरकार प्रमुख हुँदा तपाईंलाई पार्टी, सहकर्मी, घरपरिवार, साथीभाइ, छिमेकी र पालिकावासीले के कस्तो सहयोग गरिदिए नेतृत्व गर्न अझ सहज हुने थियो जस्तो लागेको छ ?
हाम्रो कार्यकालमा हाम्रो पार्टीमा धेरै समस्याहरू आए । हामी जनप्रतिनिधि भइसकेपछि नेकपा एमाले र नेकपा माओवादीबिच पार्टी एकता भयो । हामी जनप्रतिनिधि भएका बेला दुई पार्टी मिलेर सरकारमा गएर सरकार पनि चलाउनुभयो । राम्रा काम पनि भए ।
राम्रा काम गर्ने क्रममा ‘उहाँ मात्र स्थापित हुनुहुन्छ’ भन्ने डरले प्रमुखसँग पार्टीभित्र अन्य नेतालाई रिस, डाहा पनि हुने रहेछ । यो सब हुँदा पार्टीको ध्यान आफ्नो आन्तरिक मामिला मिलाउँदा मिलाउँदै बित्यो ।
पार्टीबाट हामी जनप्रतिनिधिलाई सहयोग गर्ने, प्रशिक्षण दिने जस्ता कार्य हुनुपर्ने केही भए पनि जति हुनुपर्ने थियो त्यति हुन सकेन । पालिकामा हामीले जे जति गर्यौँ, आफ्नै हिसाबले गर्यौँ ।
चितवन जिल्लाको परिवेशमा स्थानीय सरकारको प्रमुख पदमा महिला पुगेर काम गर्नु भनेको के रहेछ ?
नेपालकै परिवेशमा भन्नुपर्दा महिलालाई संवैधानिक र कानुनतः राज्यका तर्फबाट मानिसको रूपमा हेरेको धेरै समय भएको छैन । २०७२ सालको संविधानले यस्तो व्यवस्था गरेको हो । त्यो भएर चितवन जिल्लाको परिवेशमा पनि महिलाले केही काम गर्न सक्दैनन् भन्ने सोच बाँकी छ ।
सामन्ती चिन्तनबाट गुज्रिएको समाज हो यो । यस्तो अवस्थामा महिलाहरूलाई स्थानीय सरकारको प्रमुख बनाएर पार्टीले पनि महत्त्वपूर्ण निर्णय गरेको हो । धेरै वर्षपछि जनप्रतिनिधि हुनु आफैँमा पनि सहज थिएन तर पार्टीले विश्वास गरेर उम्मेदवार बनायो ।
समुदायले पनि स्विकारेर भोट हालेर जितायो । यो सकारात्मक पाटो हो । मलाई के डर लाग्थ्यो भने म असफल भएँ भने महिलालाई नेतृत्व दिएर असफल भयो, महिलाले गर्न नसक्ने रहेछन्, कमजोर हुन्छन् भन्ने सन्देश जान सक्ला ।

मेरो कारणले भोलि चुनाव लड्ने, पदमा पुग्ने दिदीबहिनीमाथि समेत प्रश्न उठ्न सक्ला, त्यसैले अवरोध हुन सक्ला भन्ने लाग्थ्यो । यसरी सोच्दा चाहिँ यो पद मेरै लागि पनि ‘रिस्क’ थियो । यो अवस्था आउन सक्ला भन्ने आकलन गरेर मैले सचेतताका साथ काम गरेँ ।
राम्रो काम गरेको भएर राम्रो सन्देश पनि गएको छ र अब आउनेलाई बाटो बनेको छ । अब आउनेलाई मलाईभन्दा कमै चुनौती हुन्छ भन्ने लाग्छ तैपनि ‘महिलाले कस्तो गर्छ ? गर्न सक्छ कि सक्दैन ?’ भनेर शङ्काको नजरले हेर्ने चलन यहाँ अझै छ ।
आफ्नो कार्यकालमा भएका कामले आफैँलाई कत्तिको गर्व महसुस हुन्छ ?
राप्ती नगरपालिका पहिलो पटक बनेको हुनाले भौतिक संरचना नै नभएको, कर्मचारी पनि नभएको आवश्यक पूर्वाधारहरू नै निर्माण नभएको अवस्थामा हामी आएर नगरपालिकाको मापदण्ड पूरा गर्दै अघि बढ्यौँ । मुलुकको नयाँ संरचनापछि २०७४ सालमा निर्वाचित भएका हामीले ‘सिस्टम’ को जग बसालेर विधिवत् रुपमा प्रशासन चलायौँ । विकासका कामलाई लय दियौँ ।
अहिले मलाई धेरैले ‘तपाईंले राम्रो गर्नुभयो’ र ‘तपाईंको नेतृत्व राम्रो भयो’ भन्नुहुन्छ । विभिन्न मूल्याङ्कनमा हाम्रो नगरपालिका प्रथम भयो । त्यसपछि मलाई झन् धेरैले चिन्नुभयो । धेरैबाट बधाई पनि आए । यसरी नगरपालिकालाई चिनाउन सकियो भन्नेमा मलाई गर्व लाग्छ ।
पाँच वर्ष नगर प्रमुख भएर काम गरेको अनुभवका आधारमा अब आउने जनप्रतिनिधिलाई के के सुझाव दिन चाहनुहुन्छ ?
अब आउने जनप्रतिनिधिले हामीले स्थापना गरेको विधि र कार्यको लयलाई अझ राम्रोसँग अघि बढाउनुपर्छ । जनप्रतिनिधि भएपछि मैले के पाएँ, के पाउँछु भन्दा पनि मैले के दिने, कसरी दिने, समस्या समाधानको बाटो के होला ? भन्ने तर्फ ध्यान दिएर जानुपर्छ ।

चुनावअघि जसरी तपाईंको प्रतिनिधि हुन्छु भनेर जित्छौँ, जितेपछि उहाँहरूलाई प्रतिनिधि भएको महसुस गराउन सक्नुपर्छ । यसरी काम गर्दा गर्न सकिन्छ र सफलतामा पुग्न सकिन्छ भन्ने आफ्नो व्यक्तिगत अनुभव पनि हो । म यही सुझाव दिन चाहन्छु ।
अरू पनि केही भन्न चाहनुहुन्छ ?
प्रमुखले गर्ने भनेको ‘सिस्टम’ बसाल्ने हो । हामीले सबैको साथ, सहयोग लिएर समन्वय गरेर काम गर्ने हो । त्यो सिस्टमभित्र बसेर गर्नुपर्ने जिम्मेवारी धेरै जनाको हुन्छ । धेरै जना भएर सरकार चल्ने हो । हामीसँग ज्ञानको भण्डार ठुलो छ । ज्ञानको भण्डार ठुलो भए पनि अहिलेको युगअनुसारको प्रविधिलाई हामीले पूर्णरूपबाट परिचालन गर्न सक्दैनौँ/जान्दैनौँ पनि ।
मैले एकदमै धेरै जानेको भए पनि प्रविधिसँग हिँड्न म भ्याउँदिन थिएँ होला । आफ्नो सीमित स्रोत, साधन, ज्ञान र सिपबाट राम्रो काम गर्नुपर्छ भन्नेतिर लागियो । यसरी काम गर्दा विभिन्न समयमा नगरपालिकाले राम्रो काम गरेको भन्दै विभिन्न ठाउँ, क्षेत्रबाट स्याबासी दिनुभयो, दिइरहनुभएको छ । यसको श्रेय सम्बन्धित अरू सबैलाई जान्छ ।
जनप्रतिनिधि, उपप्रमुख, वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, विभिन्न समितिहरू, प्रशासन प्रमुख तथा अन्य कर्मचारीहरू, प्राविधिक तथा नगरपालिकाको संघ, प्रदेश र संघका माननीयज्यूहरू, जिल्ला समन्वय समिति, सरकारी तथा गैरसरकारी संस्थालगायत सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।
मैले द स्टोरी किचेनले तयार गरेको निर्देशिकाका आधारमा तपाईंलाई केही प्रश्न गरेँ । यसरी कुराकानी गर्दा तपाईंलाई कस्तो अनुभव भयो ?

कुराकानी गर्दा आनन्द लागेको थियो । बनावटी कुरा गर्नुपरेको भए गाह्रो हुन्थ्यो होला, आफूले गरेको काम र आफ्नो राजनीति गरेका पुराना दिनहरूलाई सोध्नुभयो र भन्न पाएँ । पार्टी सङ्गठनको कुरा गर्ने हो भने म अनेमसंघ र पार्टीमा दुवैमा वडा कमिटीदेखि नगर, जिल्ला, त्यो बेलाको अञ्चल, विकासक्षेत्र र पछि प्रदेश हुँदै केन्द्रीय कमिटीमा पुगेको हुँ । पार्टी काम गर्दाको अनुभव एकखालको हुने रहेछ । मेयर भएपछि जनतासँग नजिक भएर सबै उमेर समुहका व्यक्ति तथा विभिन्न पेशा र क्षेत्रका व्यक्तिहरूको कुरा सुन्दै काम गर्नुको अनुभव अर्कै हुनेरहेछ, ती अनुभव पनि भन्न पाइयो । वर्षौँको अनुभव केही घण्टामै भनेर त सकिँदैन, त्यही पनि जति कुरा भयो राम्रो लाग्यो । आनन्द लाग्यो मलाई ।
प्रकाशन मिति : २०८२ बैशाख ४ गते, बिहीवार
पालिकाका सारथी महिलाहरूका थप कथाहरू
- सुरुदेखि नै असल सोच राखेर धैर्यपूर्वक मिहिनेत गरियो
- सफल हुन पुरुषले भन्दा दोब्बर काम गर्नुपर्ने रहेछ
- जसले भुल्न सकेनन् समुदायप्रतिको जिम्मेवारी
- सुरुदेखि नै असल सोच राखेर धैर्यपूर्वक मिहिनेत गरियो
- उपस्थितिसहित अर्थपूर्ण सहभागिता भए झनै राम्रो
- उपप्रमुख पद महिलाका लागि मात्रै ठानियो
- हामीलाई दिइएका अधिकारले मात्रै नपुग्ने अनुभव भयो
- प्रयोग नहुने चेतका साथ पदीय भूमिकाको खोजी
- सक्दो खटेर काम गरियो र मन जितियो
- उत्तरदायी र जवाफदेही प्रतिनिधित्वको अभ्यासमा
- सडक र विद्युत् नै थिएन तर अहिले भयो
- अविश्वास र विभेदको जगमा कोटाको राजनीतिक पिरलो
- आफू जस्तै युवाका समूहहरूसँग बढी घुलमिल भएँ
- विभेद र अपमानको बोझ कार्यस्थलमा पनि थोपरिँदा
- धेरै त कुरै नबुझेर बाधा गर्न आउने हो कि जस्तो लाग्छ
- नयाँ संरचनाको थालनी गर्दाका केही भोगाइ र सिकाइ
- महिला भएरै नजानेको भन्ठान्नेहरूले मलाई पनि लैङ्गिक विभेद गरे
- मतदाताको मतलाई कदर गर्ने गरी नेतृत्व शैली अपनाएँ
- चितवनमा महिला जनप्रतिनिधिले गरेका अनुभव र उत्कृष्ट काम
- पालिका बनाउनलाई मेरो आफ्नै योजना थियो
- स्थानीय स्रोतसाधनमा मुस्लिम महिलाको पनि पहुँच र पकड
- अनुशासनमा रहेर थुप्रै काम महिला नेतृत्वले गर्न सक्छ
- जानियो, बुझियो र सकेसम्म राम्रै गरियो
- निष्ठापूर्वक काम गरे सफल भइँदो रहेछ
- विषम परिस्थितिमा पनि केही सकारात्मक काम
- कोही कसैबाट प्रेरित नभई काम गर्दै नेतृत्व गर्न सिकेँ
- गुणस्तर, जवाफदेहिता र पारदर्शिता बढाउन सफल