Home Insight सफल हुन पुरुषले भन्दा दोब्बर काम गर्नुपर्ने रहेछ

सफल हुन पुरुषले भन्दा दोब्बर काम गर्नुपर्ने रहेछ

138
0

सन्धान संवाद शृङ्खला १४

मुलुक सङ्घीयतामा गएपछि सम्पन्न पहिलो स्थानीय तहको निर्वाचनमा पालिका प्रमुखको रूपमा निर्वाचित १८ महिलामध्ये एक हुनुहुन्छ, सीमाकुमारी क्षेत्री । २०७४–२०७९ को अवधिका लागि भएको स्थानीय निकाय निर्वाचनमा उहाँ साबिक प्रदेश नम्बर ४, स्याङ्जा जिल्ला, पुतलीबजार नगरपालिकाको प्रमुख (मेयर) मा निर्वाचित हुनुभयो । निर्वाचन सम्पन्न भएको एक वर्षपछि २०७५ असार २२ मा प्रदेशको नाम गण्डकी राखियो ।

तीन चरणमा सम्पन्न स्थानीय निकाय निर्वाचनमा प्रदेश नं. ४ मा पहिलो चरणमा २०७४ वैशाख ३१ मा निर्वाचन भएको थियो । प्रदेशका एक महानगरपालिका, २६ नगरपालिका र ५८ गाउँपालिका गरी जम्मा ८५ स्थानीय तहका पदाधिकारीका लागि भएको निर्वाचनमा नगरपालिका प्रमुख/गाउँपालिका अध्यक्षमा उहाँसहित कुल छ महिला निर्वाचित हुनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी एमालेबाट चुनावी प्रतिस्पर्धामा उत्रिएकी सीमाकुमारी छ जना प्रतिस्पर्धीलाई पछि पार्दै १० हजार २४९ मत प्राप्त गरी विजयी हुनुभएको थियो । उहाँले निकटतम प्रतिद्वन्द्वी नेपाली कांगे्रसका तुलसीराम रेग्मीलाई एक हजार २२० मतले पछि पार्नुभएको थियो । निर्वाचनका लागि उम्मेदवारी दिँदा उहाँ ४९ वर्षकी हुनुहुन्थ्यो ।

कुल ३१ हजार ३०८ मतदाता रहेको पुतलीबजार नगरपालिका पदाधिकारीका लागि भएको निर्वाचनमा कुल २१ हजार ६५९ मत खसेको थियो । त्यसमध्ये सदर मतको सङ्ख्या २१ हजार ४०८ रहेको थियो ।

भारतकोे सिलोङमा २०२४ मङ्सिरमा जन्मिएकी सीमाकुमारी डेढ वर्षको उमेरमा आमासँग नेपाल आउनुभयो । उहाँले तत्कालीन पोवैगौडे गाविसमा रहेको शीतला माध्यमिक विद्यालयमा पढ्दा २०३८ सालमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनमा आबद्ध भई विद्यार्थी राजनीति सुरु गर्नुभयो ।

समाजमा छोरीमाथि हुने विभेद, जातीय विभेद, बहुविवाह र अत्याचारको अन्त्यका लागि विद्यार्थी सङ्घ/संगठनले काम गर्दो रहेछ र न्याय पाइँदो रहेछ भन्ने बुझाइले आफू विद्यार्थी राजनीतिमा लागेको उहाँको भनाइ थियो । पार्टीका जनवादी गीतहरूले पनि उहाँमा पार्टी राजनीतिप्रति रूचि जगाएको थियो । उहाँ अहिले पार्टीको केन्द्रीय सदस्य हुनुहुन्छ ।

नगरप्रमुखमा निर्वाचित हुनुअघि सीमाले स्याङ्जा जिल्ला क्षेत्र नं. १ को इन्चार्ज र पार्टी प्रदेश कमिटीको सदस्यका साथै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन आदि संस्थामा काम गर्नुभएको थियो । २०४४ सालदेखि शिक्षण पेसामा रहेकी उहाँले २०६९ सालमा शिक्षण पेसाबाट स्वेच्छिक अवकाश लिनुभयो ।

सीमाकुमारीलाई स्थानीय सरकारको नेतृत्वमा पुर्‍याउने मूल आधार बन्यो, नेपालको संविधान । २०७२ सालमा जारी सो संविधानले मुलुकलाई सङ्घीय संरचनामा रूपान्तरण गर्‍यो । २०८१ असोज ३ गते संविधान दिवसको सन्दर्भ पारेर हामीले ‘सन्धान संवाद शृङ्खला’ अन्तर्गत ‘फर्किएर हेर्दा : पालिकाका सारथी महिलाहरू’ स्तम्भ सुरु गरेका थियौँ । सोही दिनदेखि एक बिहीबार संवाद र अर्को बिहीवार रिपोर्ट पर्ने गरी हरेक हप्ता पालिकाका सारथी महिलाहरूसित सम्बन्धित सामग्री प्रस्तुत गर्दै आएका छौँ । प्रस्तुत सामग्री ‘फर्किएर हेर्दा : पालिकाका सारथी महिलाहरू’ स्तम्भको संवाद खण्ड हो ।

मुलुक सङ्घीय संरचनामा गइसकेपछि तीन चरणमा स्थानीय तहको निर्वाचन भयो । पहिलो चरणमा वैशाख ३१ गते प्रदेश नं. ३, ४ र ६ का २८३, दोस्रो चरणमा असार १४ गते प्रदेश नं. १, ५ र ७ का ३३४ र तेस्रो चरणमा २०७४ असोज २ गते प्रदेश नं. २ का १३६ गरी कुल ७५३ स्थानीय तहका लागि निर्वाचन भएको थियो ।

नेपालकै पहिलो निर्वाचन २००४ जेठ २९ गते भएको थियो । काठमाडौं म्यूनिसिपलिटीको उक्त निर्वाचनमा महिलाहरूले उम्मेदवारी दिन त के भोट खसाल्न पनि पाएका थिएनन् ।

महिलाहरूलाई मताधिकार दिइएको थिएन । त्यसको छ वर्षपछि २०१० सालमा भएको निर्वाचनमा महिलाहरूले मताधिकार मात्र नभएर उम्मेदवारीको अधिकारसमेत पाए ।

मताधिकार पाएको साढे छ दशक हुनै लाग्दा २०७४ सालमा भएको स्थानीय निर्वाचनमा त ५७ हजार ८४३ महिला चुनावी मैदानमा नै उत्रिए । तीमध्ये १४ हजार ३५१ महिला पालिकाका विभिन्न पदहरूमा निर्वाचित पनि भए । स्थानीय तह निर्वाचनमा महिलाको कुल प्रतिनिधित्व ४०.९५ प्रतिशत रह्यो । यत्तिको प्रतिनिधित्व वैधानिक प्रावधानको कारण सम्भव भएको थियो । त्यति हुँदाहुँदै महिलाहरूले पाउनुपर्ने जति महत्त्व र अधिकार अझै पाएनन् ।

देशका कुल ७५३ स्थानीय तहका प्रमुख/अध्यक्ष पदका लागि भएको निर्वाचनमा सात महिला नगरपालिका प्रमुख (मेयर) र ११ जना गाउँपालिका अध्यक्षमा निर्वाचित भए । यसरी जम्मा १८ महिलाले मात्र पालिका प्रमुख वा अध्यक्षमा निर्वाचित भएर स्थानीय सरकारको नेतृत्व गर्ने अवसर पाए ।

‘स्थानीय तह निर्वाचन ऐन, २०७३’ मा दफा १७ को उपदफा ४ मा उम्मेदवारको मनोनयनपत्र पेस गर्दा दलले अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुखमध्ये ५० प्रतिशत महिला उम्मेदवार रहने गरी मनोनयनपत्र पेस गर्ने व्यवस्था मिलाउनुपर्ने प्रावधान छ । त्यति बेला पालिकाको उपप्रमुख/उपाध्यक्ष पद महिलाकै लागि तोकिए जस्तो गरी उम्मेदवारी थमाइएको थियो । यसो गर्दा प्रमुख र उपप्रमुख गरी कुल एक हजार ५०६ जना निर्वाचित भएकोमा सात सय जना महिला उपप्रमुख/उपाध्यक्ष र १८ प्रमुख/अध्यक्षमा विजयी भए ।

महिलाको सम्भाव्य प्रतिनिधित्व पनि ३५ स्थानले कम हुन पुग्यो । यसबाट ५० प्रतिशतको उम्मेदवारी प्रावधानले मात्र परिणामतः महिलालाई न्याय नहुने देखियो । यस्तो अवस्थामा पनि पालिकाको नेतृत्वमा उम्मेदवार बनेर निर्वाचित हुन पुगेका १८ महिलाहरू सामान्य पक्कै थिएनन् । तिनैमध्ये एकमा सीमाकुमारी पनि हुनुहुन्थ्यो ।

नयाँ शासकीय स्वरूप, नयाँ अभ्यास, वैधानिक तथा भौतिक पूर्वाधारहरूको अपर्याप्तता/अभाव जस्ता कारणले सबै पालिकामा एक प्रकारको अन्योल थियो । त्यस्तो बेला पुरुषहरूकै बाहुल्य रहेको संरचनामा नवनिर्वाचित प्रमुख/अध्यक्ष बनी नेतृत्वदायी भूमिका निर्वाह गर्नु महिलाका लागि झनै चुनौतीपूर्ण थियो । नागरिकका अपेक्षा चुलिएका थिए । त्यसमाथि कोभिड–१९ महामारीको चुनौती थपिएको थियो ।

चुनौतीहरूका बिच नगरपालिका प्रमुखको जिम्मेवारी निर्वाह गरी दायित्व पूरा गर्दाको सीमाकुमारीको अनुभव कस्तो रह्यो त ? विशेष गरी उहाँको नेतृत्वमा पालिकाले हासिल गरेका उपलब्धि के थिए ? उहाँले अपनाएको नेतृत्वशैली कस्तो थियो ? बाधा, कठिनाइ पन्छाउन के कस्ता उपाय लाउनुभयो ? आफूले आफ्नो कार्यकाल र आफैँलाई फर्किएर हेर्दा उहाँले के पाउनुभयो ? आफूपछि निर्वाचित भएका वर्तमान जनप्रतिनिधिलाई उहाँका सुझाव के के छन् ?

द स्टोरी किचेनले तयार पारेको निर्देशिकाका आधारमा मूलतः यी र यस्तै प्रश्नका साथ ‘सन्धान’ को तर्फबाट प्रणेताले सीमाकुमारीसँग उहाँको कार्यकाल सकिएको झन्डै साढे दुई वर्षपछि २०८१ असोजमा टेलिफोन कुराकानी गर्नुभएको थियो ।

आजको शृङ्खलामा प्रस्तुत छ, स्याङ्जाको पुतलीबजार नगरपालिकाका पूर्व मेयर (नगरप्रमुख) सीमाकुमारी क्षेत्रीसँग गरिएको सोही कुराकानीको अंश :

नगरप्रमुख (मेयर) को भूमिकामा रहँदाको अनुभव बताइदिनुस् न ! पाँच वर्षमा तपाईंले गर्नुभएका पाँच वटा एकदमै महत्त्वपूर्ण उपलब्धि के के हुन् भन्ने लाग्छ ?

पहिला त, हामीले स्थानीय सरकारका २२ वटा एकल अधिकारका सम्बन्धमा कानुन बनाएर मात्रै नगर चलाउनुपर्ने थियो । ती नियम कानुन बनाउने काममा लाग्यौँ । सुशासनमा एकदमै कमजोर थियो, (पुनः संरचनाअघिको) पुतलीबजार नगरपालिका । कमिसनको खेल, भ्रष्टाचार हुने । बाहिर जाँदासमेत पुतलीबजारको मान्छे भनेपछि राम्रो नजरले नहेर्ने अवस्था थियो । त्यसैले नगरको सुशासन मेरो पहिलो लक्ष्य थियो । त्यो लक्ष्य लिएर काम गर्दै जाँदा मेरै कार्यकालको पाँचौँ तथा अन्तिम वर्षसम्म आइपुग्दा सेवा प्रवाह तथा वित्तिय सुशासनमा राष्ट्रिय पुरस्कार पायो । नेपाल नगरपालिका संघको मुल्याङ्कनमा परेर तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको हातबाट उक्त पुरस्कार पाएको पनि एउटा महत्त्वपूर्ण उपलब्धि हो भन्ने लाग्छ ।

स्वास्थ्यतर्फ पनि प्रदेश स्तरमा नगरपालिका पुरस्कृत भएको थियो । हामीले पुतलीबजारका १४ वडालाई २९५ टोलमा विभाजन गरेर प्रत्येक टोलमा स्वास्थ्य कर्मचारी पठाएर ज्येष्ठ नागरिकहरूलाई निःशुल्क औषधि वितरण जस्ता सेवा दियौँ । टोलमा उपस्थित हुन नसक्नेहरूका लागि उहाँहरूको घरमै कर्मचारी पठाएर सेवा दिन लगायौँ । गाउँमा ज्येष्ठ नागरिक मात्रै थिए । अप्ठ्यारोमा सेवा गर्ने छोराछोरी साथमा थिएनन् । ती ज्येष्ठ नागरिकका लागि हामी छोराछोरी हुन सक्नुपर्छ भन्ने लागेर त्यसरी घरघरमै सेवा दिन पुग्यौँ । त्यसलाई मैले उपलब्धि मानेको छु ।

साथै, ठुलो रोग लागेका र अपाङ्गता भएका नागरिकहरूलाई सिफारिस गरेर ठुला अस्पताल पनि पठायौँ । मुस्लिम समुदायका महिलाहरू अरू महिलाको तुलनामा अझै अन्यायमा परेको महसुस गरेर पुतलीबजार नगरपालिकाको पाँच वटा वडामा भएका ती समुदायका महिलाहरूलाई न्यायाधीश नै बोलाएर कानुनसम्बन्धी तालिम दियौँ ।

मुस्लिम समुदायमा पुरुषहरूलाई रिस उठ्यो अथवा मन परेन भने ‘तलाक’, ‘तलाक’, ‘तलाक’ भनेर श्रीमतीसँग छोडपत्र गर्न पाउने धार्मिक कानुन छ । हामीले नेपालको कानुन सबैले मान्नुपर्छ, धर्मको आधारमा विभेद गर्न पाइन्न भन्ने संविधानमै लेखिएको छ भन्ने जानकारी दिँदै तालिम दियौँ । यसले मुस्लिम समुदायमा राम्रो सन्देश गएको थियो, छ ।

नगरपालिकामा पहिला नदी, खोल्साहरूमा मनपरीसँग फोहर फ्याँकिन्थ्यो । हामी आएपछि जग्गाको व्यवस्थापन गर्दै, संरचना तयार गरेर, सड्ने र नसड्ने फोहर वर्गीकरण गर्‍यौँ । सड्ने फोहरबाट ५० घनमिटर क्षमताको बायोग्यास प्लान्ट बनाएर १० घरमा दियौँ ।

हामी आउनुअघि सबै टोलमा गाडी जाँदैनथ्यो । हामीले पालिकामा भएका २९५ वटै टोलमा, कम्तीमा कच्ची सडक पुर्‍याउन र गाडी जाने व्यवस्था गर्ने गरी भौतिक पूर्वाधारमा विशेष जोड दियौँ । मुख्य सडकहरूलाई ग्राभेलिङ गर्ने, पिच गर्ने काम पनि प्राथमिकतामा थियो ।

कृषिलाई निर्वाहमुखी र व्यावसायिक खेतीमा वर्गीकरण गरेर अगाडि बढायौँ । निर्वाहमुखी खेतीअन्तर्गत ‘एक टोल एक नर्सरी, एक घर एक करेसाबारी’ अभियान चलायौँ । आफूले खाने तरकारी आफैँ उत्पादन गरेर खानुपर्छ भनेको कोभिडका बेला निक्कै काम लाग्यो । घर बसेका बेला सबैले उत्पादन गरे ।

कृषिमा आधुनिकीकरण गर्ने गरी अघि बढाउने क्रममा व्यावसायिक खेती गर्ने किसानलाई ८० प्रतिशत छुटमा कृषि औजारहरू वितरण गर्‍यौँ । यसका कारण व्यावसायिक किसानहरू राम्रोसँग अगाडि बढ्न सकेको देख्न सकिन्छ । कृषि चकलाबन्दीलाई अगाडि बढायौँ । वडा नम्बर १४ मा ७४ रोपनी र ४ नम्बर वडामा ३०१ रोपनीमा सामूहिक खेती सुरु गर्‍यौँ ।

तपाईंले गरेका विशेष कामका साथै महिलासँग सम्बन्धित काम के के थिए ?

सबभन्दा पहिले मैले कर्मचारी व्यवस्थापनलाई ध्यान दिएँ र त्यो टुङ्ग्याएँ । त्यसपछि सबै जनप्रतिनिधि साथीहरूसँग बसेर समन्वय गर्नेतिर लागेँ । जनताले जिताएर पठाइसकेपछि हामीले पाँच वर्ष राम्रो काम गरेर देखाउनुपर्छ, जनताले यिनीहरूको कार्यकालमा राम्रो गरेका थिए है भनेर सम्झने काम गर्नुपर्छ भनेर बारम्बार ‘कन्भिन्स’ गरिरहन्थेँ ।

महिला सवालसँग सम्बन्धित काम भन्नुपर्दा मुस्लिम समुदायमा हामीले काम गर्‍यौँ । बालबालिका तथा एकल महिलाको क्षेत्रमा साङ्गठनिकरूपमा, व्यवस्थित तरिकाले काम गरेको थिएँ । यसका साथै, सङ्घीय सरकारको सुरक्षित आप्रवासन परियोजना ‘सामी’ सँग हाम्रो पालिकाले पनि काम गर्‍यो ।

सामीअन्तर्गत विदेशमा अलपत्र परेका नागरिकलाई नगरपालिकाले सङ्घीय सरकार र विदेशस्थित सम्बन्धित निकायसँग समन्वय गरेर त्यहाँ फसेको बिमाको रकम, रोजगारदाताले नदिएको तलब रकम उपब्व्ध गराउने काम गरेका थियौँ । यसै सिलसिलामा हामीले वैदेशिक रोजगारीमा अप्ठ्यारोमा परेका र फसेकाहरूको लगभग दुई करोड रुपैयाँ जति रकम मिलाइदिन सकेका थियौँ ।

तपाईंले जे जस्ता काम गरी जुन उपलब्धि पाउनुभयो, ती काम गर्नुपर्छ भन्ने तपाईंलाई किन लाग्यो ?

म लैङ्गिक हिसाबले महिला हुँ । मेरा अगाडि पनि थुप्रै महिला नेतृत्व आउनुहुनेछ भने मेरा पछाडि पनि हजारौँ महिला दिदीबहिनीहरू हुनुहुुन्छ । म नगरप्रमुख भइसकेपछि मैले कसरी गर्छु भनेर सबैले हेर्नुहुन्छ । समग्र राजनीतिक दल र अन्य मानिसहरूले पनि मलाई हेरेका छन् । म सबको साझा व्यक्ति हुँ भन्ने कुराले छोइरहन्थ्यो । महिलाले कति गर्न सक्छ भनेर हेर्ने पनि हुन्छन् कतिपय । त्यो मनमा राखेर काम गर्थें ।

देशभर ७५३ स्थानीय तहमा नगरका प्रमुख सात जना र गाउँपालिका ११ जना अध्यक्ष गरी १८ जना महिलाहरू पालिका प्रमुख थियौँ । स्याङ्जाका ११ पालिकामध्ये एउटा पालिकामा मात्रै महिला प्रमुख थिएँ । अरू पालिकाबिच पनि प्रतिस्पर्धाको भावना भइहाल्थ्यो, हुन्थ्यो ।

मलाई अधिकांश ठाउँमा पुरुषले नेतृत्व गरिरहेकामा म एक जना मात्रै महिला छु । मैले केही न केही राम्रो गरेर देखाउनुपर्छ भन्ने महसुस हुन्थ्यो । राम्रो गर्नका लागि एक किसिमको दबाब पनि थियो । मैले नेतृत्व गरिरहेको पालिका कमजोर भयो भने महिला कमजोर हुन्छन् भनिने र समग्र महिला आन्दोलन पनि कमजोर हुनेछ भन्ने लागेर पनि खट्नैपर्छ, राम्रो गर्नुपर्छ भन्ने लाग्थ्यो ।

तपार्ईंले गर्नुभएका कामबाट स्थानीय नागरिकको जीवनमा के परिवर्तन भएको छ जस्तो लाग्छ ? कसैले तपाईंलाई केही भनेको पनि छ कि ?

हामीले पहिले भएको तीन मिटर (चौडा) सडकलाई आठ मिटर कायम गरेर संरचना बनाउँदै, बजेट पारेर चक्लाउँदै पोखरा–कास्कीसँग जोड्ने भनेर योजनाका साथ काम गर्‍यौँ । सुरुका दिनमा आफ्नोे जग्गा पर्ने जनताले निकै अपमान गर्नुभयो । झगडा नै गर्नुभयो, दोष लगाउनुभयो । बाटो पिच भइसकेपछि यो सुरुवात गरेको फलानाले हो, बजेट परेको पनि फलानाकै सक्रियताले हो, राम्रो भयो भनेका छन् भन्दै त्यहाँका दिदीबहिनीले पनि सुनाउनुभएको थियो ।

हामीले अस्थायी कर्मचारीहरूलाई पनि श्रम ऐनअनुसार पारिश्रमिक दिनुपर्छ भनेर नगरपालिकामा निर्णय गरेर सबैलाई स्थायी कर्मचारीसरह तलब दियौँ । उहाँहरू खुसी हुनुभएको थियो । अहिले त्यस्तो नभएको सुनेको छु । विभिन्न कार्यक्रमहरूमा जाँदा आफ्नै पार्टीका मान्छेले मात्र होइन, कांग्रेसकै साथीहरूले पनि ‘सीमाजीले सबैलाई समेटेर काम गर्नुहुन्थ्यो’ भन्नुहुन्छ ।

नेतृत्वमा आउँदा तपाईंलाई केही कुराको डर थियो ? थियो भने त्यो हटाउन तपाईंले के गर्नुभयो ?

व्यक्तिगत रकम आफ्नो खुसीले खर्च गर्न पाइन्छ तर सरकारी रकम एक रुपैयाँ पनि सिस्टमले चलाउनुपर्छ भन्नेमा सचेत थिएँ । मैले नीतिगत निर्णय गरे पनि प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतको हातबाट चेक चल्ने सिस्टम थियो । यहाँनेर सधैँ मलाई डर लाग्थ्यो ।

महिला भएकाले मान्छेले अघिल्तिर नहेपे पनि पछाडिबाट मलाई असहयोग गरेर असफल बनाउँछन् कि भन्ने कुराले पनि कहिलेकाहीँ डर लाग्थ्यो । सफल हुन यसो गर्नुपर्छ भनिरहेका बेलामा कसैले असफल बनाउन बाहिरबाट खुट्टा तानिरहेका त छैनन् भन्ने लाग्थ्यो ।

सुरुका दिनमा त खुट्टा पनि ताने । मलाई निकै अप्ठ्यारोमा पनि पारे । यसलाई असहयोग गरेर असफल बनाउन पर्छ, यसले राम्रो गरी भने उसैले पाउली भन्नेहरू आफ्नै पार्टीमा पनि हुन्छन् । यस्तै यस्तै कुराले मलाई अलिअलि डर लाग्थ्यो ।

मुख्यतः देशमा आर्थिक/नीतिगत भ्रष्टाचार र कमिसन व्याप्त भएकाले यस्ता कुराबाट जोगिनुपर्छ भन्नेमा म सतर्क थिएँ । त्यसैले मलाई सहयोग गर्ने मान्छे कानुन पनि बुझेको प्रशासकीय अधिकृत पठाइदिनुस् भनेर सङ्घीय सरकारसँग लबिङ गरेँ ।

स्थानीय सरकार प्रमुख भएर काम गर्दा के कस्ता बाधाहरू आइपरे/आउँदा रहेछन् ?

निर्वाचित भएर आएपछि सुरुका दिनमा हामीलाई निक्कै गाह्रो भएको थियो । एक त कर्मचारी निक्कै थोरै, त्यसमाथि सङ्घीयता नबुझेका, विभिन्न सेक्टरबाट आएका कतिपय सामान्य पढेलेखेका व्यक्ति जनप्रतिनिधि हुँदा सङ्घीयताको मर्म बुझ्न अप्ठ्यारो थियो । यी विविध कारणले हुने गाह्रोलाई व्यवस्थापन गर्ने कोसिस गर्‍यौँ ।

सबभन्दा अप्ठ्यारो त महिलाहरूको बसाइउठाइको कुरा हुने रहेछ । हामी रक्सी र कमिसन खाँदैनौ, जुवातास खेल्दैनौँ, भ्रष्टाचार गर्दैनौँ तर समाजले यो शतप्रतिशन मान्दैन । हामीलाई फलाना–फलाना पालिकामा पुरुष छन्, अब उनीहरू टेबलमा बसेर, रक्सी खाएर/ख्वाएर पनि योजना बजेट ल्याउँछन्, महिलाहरू भएका ठाउँमा (बजेट) आउँदैनसम्म भन्थे । नेतृत्व गर्नेहरूलाई अवसरसँगै सजिलो र अप्ठ्यारो पनि हुन्छ ।

यी अप्ठ्यारा वा बाधाहरू आउनाका भित्री कारण के के थिए होलान् ?

अघिल्तिर राम्रै गरे जस्तो गरे पनि पछिल्तिरबाट महिलाको नेतृत्व छ, यसलाई हामीले मान्नुपर्ने अवस्था आयो भन्ने खालको पितृसत्तात्मक मानसिकता अहिले पनि समाजमा व्याप्त छ । खुट्टा तान्ने प्रवृत्ति अर्को कारण हो । अझ महिला भएकै आधारमा विश्वास नगरेकै कारण पनि कतिपय ठाउँमा थप गरेर देखाउनुपर्ने चुनौती आउँछन् ।

तपाईंले ती बाधा तथा चुनौतीलाई पन्छाउन कस्तो रणनीति अपनाउनुभयो ?

मैले कानुन बुझेका, विश्वासिला वकिल साथीहरूको सहयोग लिएँ । परिवार पनि राजनीति राम्ररी बुझेको भएकाले सजिलो भयो । श्रीमान्‌बाट सबै किसिमको साथसहयोग पाएँ । अप्ठ्यारा परिस्थितिहरूमा श्रीमान्, पार्टीभित्रका असल नेता र आमजनतासँग पनि सरसल्लाह लिने मेरो बानी थियोे । यसरी सबैसँग सरसल्लाह लिँदै सहयोग लिएर नै आइपरेका समस्या पन्छाउँदै अगाडि हिडेँ ।

बाधा पन्छाउने त्यस्ता सिप/रणनीतिहरू तपाईंले कसरी सिक्नुभयो ? पहिला पनि यी सिपहरू प्रयोग गर्नुभएको थियो ? केही उदाहरण छन् भने बताइदिनुस् न !

जब हामी पार्टी सङ्गठनमा आबद्ध भयौँ, त्यतिबेला नै सजिलोमा त जसले पनि गर्छ अप्ठ्यारोमा कहिल्यै पछि नहट्न र सतिसाल झैँ अडिन अनि जुध्न सिकाएको म आबद्ध राजनीतिक पार्टीले नै हो ।

निरक्षर भए पनि आमाबाट पनि मलाई धेरै शिक्षा मिलेको छ । आमाले कुनै पनि गल्ती नगर, नडराऊ र अघि बढिरहनू भनेर हिम्मत दिनुहुन्थ्यो । निरास हुने अवस्थामा यी कुरा सम्झने गर्छु ।

म पनि मान्छे हुँ, अप्ठ्यारो पर्दा एकदमै निरास हुने अवस्था कहिलेकाहीँ आउँछ । त्यस्तो बेला श्रीमान्‌ले घरमा सहज वातावरण बनाइदिनुहुन्छ । मेरा दुई छोराले त्यसमा साथ दिन्छन् । यसलाई यसरी समाधान गर्न सकिन्छ भन्नुहुन्छ । पारिवारिक साथसहयोगले पनि ठुलो आत्मविश्वास दिन्छ ।

मेरो कार्यकालमा आइपरेका बाधाहरूलाई पन्छाउन पार्टी र आमाबाट पाएको ज्ञान र परिवारको साथसहयोगलाई रणनीतिका रूपमा प्रयोग गरेकी थिएँ ।

निर्वाचित भएपछि तपाईंले पालिकामा कसरी नेतृत्व गर्नुभयो ? कस्तो प्रकारको नेतृत्व शैली अपनाउनुभयो ?

मैले कहिल्यै पनि निरङ्कुश खालको निर्णय गर्न चाहिनँ । कसैसँग नसोधी मैले बैठकमा लगे हुने एजेन्डामा पनि पहिले छलफल गर्थें । कहिलेकाहीँ वडाध्यक्षज्यूहरूले मेयरसाब यति धेरै प्रजातान्त्रिक पनि नहुनुहोस् न भन्नुहुन्थ्यो । म एक्लै अघि बढ्दा, निरङ्कुशता लाद्दा मेरो अगाडि नभने पनि कसैले दुःख मानेको हुन्छ; कार्यान्वयनमा लैजाँदा अप्ठ्यारै बनाइदिन सक्छ; मलाई असफल बनाउन सक्छ भनेर त्यसो गर्थें ।

निरङ्कुश शासन र नेतृत्वप्रति म विश्वास गर्दिनँ । मेरो कार्यकालमा हाम्रो पालिकामा उपमेयर पुरुष हुनुहुन्थ्यो । उहाँले कहिलेकाहीँ पितृसत्ता देखाउनुहुन्थ्यो मप्रति । कतिपय ठाउँमा मेयरले उपमेयरलाई पेल्ने, कुनै सरसल्लाह नलिने, मेयरले एक्लै गर्ने गरेकाले मेयर र उपमेयरबिच अन्तरविरोधहरू भएको सुनिन्थ्यो । हाम्रोमा फरक थियो ।

उपमेयरले कहिलेकाहीँ पितृसत्ता देखाउनुहुन्थ्यो म महिला मेयरप्रति । त्यो अनुभव भएको छ कहिलेकाहीँ । त्यस्तो बेलामा उहाँसँग अलग्गै बसेर तपाईंसँग गरेको समन्वयलाई मेरो कमजोरी ठान्नुभएको हो भने आइन्दा तपाईंसँग न समन्वय गर्छु र न सुझाव माग्छु भनेपछि ‘सरी मेयरसाब’ भन्नुहुन्थ्यो उहाँले ।

मैले उपमेयरदेखि वडाध्यक्षज्यूहरूसँग समन्वय गरेरै काम गरेँ । प्रमुखको धेरै अधिकार छ । एक्लै गर्न पनि सकिन्थ्यो तर मलाई कहिल्यै पनि त्यस्तो गरौँ भन्ने लागेन । सबैसँग राय सल्लाह लिएर काम गरेमा सबैले अपनत्व महसुस गर्छन् र त्यसलाई कार्यान्वयनमा लैजान सहज हुन्छ भन्ने लाग्थ्यो ।

समन्वय र सल्लाहमा काम गर्दा मलाई घाटाभन्दा बढी फाइदा नै भयो भन्ने लाग्छ । समग्रमा मैले बितेका पाँच वर्ष निरङ्कुश राजनीति गरिनँ, प्रजातान्त्रिक हिसाबले चलाएँ ।

नेतृत्वको यो शैली तपाईंले कहाँबाट सिक्नुभयो ? कोबाट प्रेरित हुनुभयो ?

मेरो आफ्नै शैली हो कि जस्तो पनि लाग्छ । म आफ्नै पार्टीको मात्र नभएर, माओवादी, काङ्ग्रेस पार्टीका ती दिग्गज नेताहरू, जो व्यवहार र भाषणले एउटै गर्नेहरू भनेर चिनिन्छन्, उनीहरू सबैसँगको व्यवहार हेर्छु । मेरो कार्यकालभरि मैले कहिल्यै चर्को बोल्नु परेन ।

मलाई कार्यपालिका तथा नगरसभाका सदस्यहरूले (मतर्फ) औँलो ठड्याएर बोलेको पनि मैले देख्नु परेन । पाँच वर्षको अवधिमा नगरपालिकामा म नभई उपमेयरको अध्यक्षतामा दुई वटा बैठक भयो । उपमेयरले अध्यक्षता गर्नुभएको त्यो बैठकमा वडाध्यक्ष र उपमेयरको हात हालाहाल नै हुन्छ कि जस्तो स्थिति पनि बन्यो रे !

मलाई नेतृत्व भनेको व्यक्तिको शैलीमा भर पर्छ जस्तो लाग्छ । मलाई यसमा चाहिँ घमण्ड गर्न मन लाग्छ, मैले प्रमुख भएर नेतृत्व गर्दा कहीँ कसैलाई पनि काखा र पाखा गरिनँ । कामको आधारमा मूल्याङ्कन गर्दै कामकै आधारमा सहयोग गरेपछि आफूलाई पनि सबैले सहयोग गर्ने रहेछन् ।

जुन नेतृत्व शैली तपाईंले अभ्यास गर्नुभयो, त्यसले तपाईंलाई आफ्नै बारेमा नयाँ कुरा के सिकायो ?

मलाई व्यक्तिगत भेटघाटमा बसेर ‘कन्भिन्स’ गराउने, विश्वस्त तुल्याउने र समूहमा बसेर निर्णय गराउने शैलीमा ध्यान दिनुपर्दो रहेछ भन्ने सिकाइ भएको छ । यो सिकाइले आज पनि मलाई सजिलो भएको छ ।

कुनै विषयमा वादविवाद हुन सक्छ भनेर आफूले पहिल्यै आकलन गरियो भने विषयप्रति क–कसले नकारात्मक टिप्पणी गर्लान्, विरोध गर्लान् भन्ने आकलन गरियो भने सम्बन्धित मान्छेलाई एक्लै बोलाएर उहाँको असमझदारी कहाँनेर, के कारणले हो, उहाँसँग समाधानको उपाय के छ भन्ने बारेमा कुरा गरिसकेपछि सहमतिमा आउन सकिन्छ । सामूहिक छलफलका क्रममा उत्तेजनामा आउनुपर्ने अवस्था हुँदैन ।

पूर्वसहमतिको अभ्यास भएमा प्रत्येक बैठकहरूमा प्रस्तुत गरिने हरेक विषयवस्तुहरू व्यवस्थित गरी लान सकिने कुरा मैले पाँच वर्ष पालिकामा सबैको नेता भएर काम गर्दा सिकेँ ।

तपाईंको नेतृत्वलाई अझै प्रभावकारी बनाउन, अरू के कस्ता ज्ञान र सिपहरू भएको भए सहज हुन्थ्यो होला ?

कर्मचारी र जनप्रतिनिधिहरू सबैलाई पदअनुसारको क्षमता विकास, सङ्घीयतालगायतका विषयमा कानुनी प्रशिक्षणहरू दिन सकेको भए पालिकामा मेरो नेतृत्व अझै प्रभावकारी हुन्थ्यो । नेतृत्व गर्न मलाई सहज हुन्थ्यो भन्ने पनि लाग्छ ।

तपाईंले चुनावमा उठ्दा गरेका प्रतिबद्धता र परिकल्पनालाई पूरा गर्न सके जस्तो लाग्छ ?

हाम्रो भिजनबारे समग्रमा पार्टीले नै घोषणापत्र बनाउने भएकाले हामीले गर्न नसक्ने कुरा घोषणापत्रमा नलेखौँ भन्ने कुरा भएको थियो र लेखेनौँ पनि । घोषणापत्र प्रमाण हो । पाँच वर्षभित्र हामीले घोषणापत्रबमोजिम काम गर्न सकेनौँ भने हामी जेनतेन चले पनि पछि आउने साथीहरूलाई घोषणापत्रले अप्ठ्यारो पार्छ । यसैले गर्न सम्भव लागेको लेखियो र हामी घोषणापत्रबमोजिम अगाडि बढ्दै गयौँ ।

हामीले गरेका प्रतिबद्धतालाई शतप्रतिशत पूरा गर्न चाहिँ सकेनौँ । किनकि हामीले दुई वर्षको विकास निर्माणको सबै बजेट कोरोना महामारीले गर्दा जनताको स्वास्थ्यमा लगायौँ, लगाउन पर्‍यो ।

पालिकावासीले तपाईंलाई जसरी जिताएका थिए, अहिले तपाईंलाई देख्दा उनीहरूले कस्तो महसुस गर्छन् होला ?

मलाई नगरवासीले नकारात्मकरूपमा हेर्नुभएको छैन होला भन्ने अनुमान उहाँहरूको सकारात्मक व्यवहारबाट गरेको छु । उहाँहरूसँगको भेटघाटका क्रममा गरिएका व्यवहार र अरूमार्फत सुनिएका कुराबाट ठिकै सकारात्मक रहेछ भन्ने मूल्याङ्कन गर्छु ।

शतप्रतिशत असल गुण हाम्रा पनि छैनन् । यसलाई मैले कसरी बुझ्छु भने हामीप्रति सकारात्मक भाव भएका व्यक्तिको व्यवहार हामीसँग बसउठ गर्दा पनि सकारात्मक नै हुन्छ ।

स्थानीय सरकार प्रमुख हुँदा पार्टी, सहकर्मी, घरपरिवार, साथीभाइ, छिमेकी, पालिकावासीमध्ये कसको के कस्तो सहयोग भएको भए नेतृत्व गर्न अझ सहज हुने रहेछ जस्तो महसुस भयो ?

जनप्रतिनिधिहरू विभिन्न सेक्टरको हुनुभएकाले सुरुका दिनमा विभिन्न बुझाइ भयो । अप्ठ्यारो पनि भएकै हो । नेकपा माओवादी र नेकपा एमाले पार्टी एकीकरण भएको बेलामा पार्टी संस्थागत हिसाबले तलसम्म चलेको भए अप्ठ्यारो हुने थिएन । हामीलाई गाइड गर्नुपर्ने पार्टी नेतृत्व पनि अलिकति निष्क्रिय नभइदिएको भए काम गर्न सहज हुने थियो ।

पार्टी अहिलेको अवस्थामा जस्तो हुन्थ्यो भने त्यतिखेर हामीलाई काम गर्न निक्कै सजिलो हुन्थ्यो भन्ने लाग्छ । भर्खरै सङ्घीयता लागु भएको भएर जनतामा पनि बढी अपेक्षा थियो । जता पनि लथालिङ्ग भएकाले हो कि कतिपय गर्नै नसकिने कुरामा पनि जनताको ठुलो अपेक्षा हुन्थ्यो । त्यतिखेर सङ्घ र प्रदेशले हामीलाई देखाइदिने नगरेको भए पनि अलि सहज हुन्थ्यो जस्तो लाग्छ ।

हाम्रा जनप्रतिनिधि साथीहरूले आफ्ना काम, कर्तव्यहरू थाहा पाएर अघि बढेको भए वा विशेष गरी वडाध्यक्षज्यूहरूले यसमा समन्वय गरिदिएको भए पालिकाको नेतृत्वमा रहेर काम गर्न सजिलो हुँदो रहेछ भन्ने लाग्छ ।

स्याङ्जाको परिवेशमा स्थानीय सरकारको प्रमुखमा एक जना महिला निर्वाचित भएर नेतृत्व गर्नु भनेको के रहेछ ?

पुरुषहरूले ५० प्रतिशत काम गर्दा पनि उहाँहरू सफल भएको देखिन्छ भने हामीले त्यसको दोब्बर गर्नुपर्दो रहेछ भन्ने महसुस गरेको छु । मान्छेले लैङ्गिक हिसाबले अझै पनि महिलालाई विश्वास गर्दैन । चुनावमा भोट माग्न जाँदा मलाई ‘ए ! हजुर पनि मेयरमा उठेको ?’ भन्थे । मेयर भइसकेपछि पनि ‘ए, महिला पनि मेयर !’ भन्ने खालको बुझाइ थियो मान्छेहरूमा ।

मेरो स्वकीय सचिव र उपमेयर पुरुष हुनुहुन्थ्यो । हामी तीन जना सँगै हिँड्दा स्वकीय सचिव वा उपमेयरलाई मेयर भनेर अनुमान गर्थे । यहाँको परिवेशमा ‘महिला पनि प्रमुख हुन्छन् र ?’ भन्ने चिन्तनले काम गर्छ । यसैले मैले घरबाट जाँदा काम गर्न सक्दिनँ कि भनेर पालिकामा नै आवासीयरूपमा बसेर दिनरात खटेर काम गरेँ ।

महिलाले पुरुषको तुलनामा दुई गुणा काम गरे मात्र यिनीहरूले गर्दा रहेछन् भन्छन् । तर हामी महिलाहरूले पुरुष जत्तिकै काम गरेर मात्रै नपुग्ने रहेछ । यहाँको परिवेशमा यो मेरो भोगाइ हो ।

आफ्नै कार्यकालमा तपाईंलाई कुन कुराले सबैभन्दा धेरै गर्व लागेको छ ?

सुशासनको हिसाबले कालोसूचीमा परेको भनेर चर्चामा रहेको पुतलीबजार नगरपालिकाभित्रको विसङ्गतिलाई हटाएर र अव्यवस्थालाई व्यवस्थित गरेर सुशासन ल्याउन सफल भएँ । त्यही कुरामा मलाई धेरै गर्व छ ।

मेरो नेतृत्वको टिमले जुन किसिमले कुशासनको अन्त्य गर्ने काम गर्‍यो, त्यसले गर्दा अहिले वास्तवमा सीमा नेतृत्वको टिमले कहीँ दोष लाउन नमिल्ने गरी काम गरेको हो भनेर जुन चर्चा छ, यस विषयले मलाई गर्व भएको छ ।

साथै, सबैलाई समेटेर काम गरेको भनी विपक्षी पार्टीका साथीहरूले बेला बेलामा सम्झने गर्नुहुन्छ । त्यसमा मेरो आफ्नै नेतृत्व शैलीको कुरा जोडिन्छ । यसमा पनि मलाई गर्व लाग्छ ।

आफूभन्दा पछि निर्वाचित भएर स्थानीय सरकारको नेतृत्वमा आएका र आउने जनप्रतिनिधिका लागि तपाईंका मुख्य पाँच वटा सुझावहरू के के छन् ?

पहिलो कुरा, हामी पदमा पुग्दा जुनसुकै प्रकारका मान्छेहरूसँग हाम्रो सम्पर्क र समन्वय हुन्छ । हामीलाई मान्छेले फसाउन खोज्छन् । नेतृत्व गर्ने मान्छे चरित्रमा र आर्थिक मामिलामा इमानदार हुनुपर्छ । लोभमा फस्न भएन ।

सबैको अगाडि हाइहाइ गर्नेहरूले नै पछाडि जसरी पनि खेलाउन र प्रयोग गर्न सक्छन् भन्ने कुरा मनमा राखिरहनुपर्छ । समाजमा मान्छेहरू विभिन्न प्रकारका छन् । त्यसकारण नेतृत्व बेठिक र विसङ्गतियुक्त कुरामा लाग्न हुँदैन भन्ने कुरा साथीहरूले बुझ्नुपर्छ ।

सबभन्दा ख्याल गर्नुपर्ने कुरा, भ्रष्टाचार गर्न हुँदैन । कमिसन खान हुँदैन । आफूले नेतृत्व गरेका साथीहरूसँग खाने, बस्ने कुरामा कतिपय बेठिक कामहरू गरिरहेको पनि सुनिन्छ, यसबाट जोगिनुपर्छ ।

काम गर्दा धेरै चुनौतीहरू आउँछन्, त्यो बेला निर्धक्क भएर नआत्तिई र नडराइकन काम गर्नुपर्छ । म के–के न हुँ जसरी निरङ्कुश हिसाबले नेतृत्व गर्नु हुँदैन । सबैले अपनत्व लिने हिसाबले, प्रजातान्त्रिक खालको नेतृत्व प्रणाली आफूमा विकास गर्नुपर्छ ।

समग्रमा स्थानीय तहमा नेतृत्व गर्ने साथीहरूलाई ‘नबिराउनू, नडराउनू’ भन्न चाहन्छु । यति गर्नुभयो भने उहाँहरू सफल हुनुहुन्छ जस्तो लाग्छ ।

आफ्नो कार्यकाललाई यसरी पछाडि फर्केर हेरिरहँदा तपाईंलाई अहिले कस्तो महसुस भइरहेको छ ?

गर्नुपर्ने काम धेरै भए पनि कतिपय गर्न सकिएन तर इमानदारपूर्वक जति गरेँ, त्यसमा म सन्तुष्ट छु । मैले कहिल्यै बिराइनँ र म डराउन परेको पनि छैन । कहिलेकाहीँ स–साना कुरामा विपक्षी साथीहरूले मुद्दा पनि हाल्नुहुन्थ्यो । त्यसलाई स्वाभाविक नै मानेँ ।

प्रतिपक्ष अलिअलि क्रियाशील हुनैपर्‍यो । मुद्दा परे पनि छिनोफानो हुँदा नगरपालिकाले कहिल्यै पनि हारेन । हामीले गलत गरेकै थिएनौँ । गलत नगरेपछि हार्ने कुरा पनि हुँदैनथ्यो । यसैले नबिराई नडराई अगाडि बढेपछि सबै ठिक हुन्छ भन्ने लाग्छ ।

मलाई अझ यो यो काम गर्न पाएको भए हुन्थ्यो भन्ने पनि धेरै छन् । मैले गर्थें पनि होला तर, दुई वर्षको कोरोनाकालको परिस्थितिले सबैलाई अप्ठ्यारोमै पार्‍यो । पछिल्लो समय पुतलीबजारका जनताहरूसँग भेट हुँदा उहाँहरूबाट प्राप्त प्रतिक्रियाले मलाई आनन्द आउँछ ।

अरू पनि केही भन्न मन लागेको छ कि ?

ठिकै छ । केही कुरा स्पष्ट पार्न चाहन्छु । हामी नगरसभाका ७५ जना जनप्रतिनिधिहरू सबैको उस्तै पद हुँदैन । त्यसकारण मैले वडा सदस्य, वडाध्यक्ष, कार्यपालिका सदस्यहरूलाई बेलाबेलामा पदअनुसारको तालिम दिने योजना बनाएँ । निर्वाचनको लगत्तै हामीले मसहित तीन जना महिला सदस्यको क्षमता विकासको कार्यक्रम गर्‍यौँ ।

पछि दुई वर्ष कोभिडसँग जुध्नुपरेकाले बनाएका योजनामा थप काम गर्न सकेनौँ । कोभिड नभएको भए हामीले कर्मचारी साथीहरू र जनप्रतिनिधिलाई सङ्घीयताको बारेमा अझ थप तालिमहरू दिन सक्थ्यौँ । क्षमता विकासका प्रशिक्षणहरू पनि दिनुपर्ने थियो तर दिन पाइएन । यो कुरा अहिले पनि खट्किरहन्छ ।

हामीले अस्थायी कर्मचारी निस्केर जाँदा रित्तो हात जान नपरोस् भनेर उहाँहरूको तलबबाट पाँच प्रतिशत कटाएर र नगरपालिकाले पनि पाँच प्रतिशत हालिदिने गरी कार्यविधि बनाएर लागू पनि गरेका थियौँ । अहिले त्यो हटाइएछ ।

नगरपालिकामा पैसा छैन भनेर तलब घटाइयो रे ! यसकारण ती कर्मचारीहरूले हिजो तलब खुवाउन सक्ने आज किन नसक्ने भनेर मलाई सम्झेको स्थिति छ । विभिन्न कार्यक्रमहरूमा जाँदा आफ्नै पार्टीका मान्छेले मात्र होइन, कांग्रेसकै साथीहरूले पनि ‘सीमाजीले सबैलाई समेटेर काम गर्नुहुन्थ्यो, अहिलेको नेतृत्वले गर्न सकेन’ भन्नुहुन्छ ।

गाउँतिर जाँदा कृषि क्षेत्रमा सक्रिय जनताले पनि ‘तपाईंहरूले कृषि क्षेत्रमा दुई तरिकाले काम गराउनुभएको थियो, अहिले त केही दिएनन्, केही आएन’ भन्छन् । हिजो ल्याइएका योजना परियोजनाहरूले अहिले निरन्तरता नपाएका हुनाले म गाउँतिर जाँदा भौतिक, स्वास्थ्य, शैक्षिक, सरसफाईलगायत क्षेत्रमा व्यवस्थितरूपमा काम भएन भन्ने गुनासा पाउँछु ।

अहिलेको नेतृत्वले हामीले भन्दा राम्रो गरेको भए जनताले हामीलाई सम्झिने थिएनन् होला । जुन हिसाबले मैले जग बसाल्दिएको छु, त्यही जगमा टेकेर काम गर्न अहिलेको नेतृत्वलाई कुनै अप्ठ्यारो थिएन तर काम गर्न जान्नु/नजान्नु उहाँहरूको कुरा भयो ।

हुन त पितृसत्तात्मक समाज हो । मैले एकैचोटिमा टिकट पाएर चुनाव जितेको भए ‘यसले के पो गरेकी थिई र सोर्सफोर्समा टिकट ल्याएर चुनाव जिती’ भन्ने पथ्र्यो होला तर मैले सानैदेखि धेरै दुःख गरेकी छु । राजनीतिक नेतृत्वका हिसाबले मलाई कसैले पनि हेप्दैनथे । मैले सबैसँग समन्वय गर्थें ।

अप्ठ्यारो परिस्थितिमा समेत जे जति उपलब्धि हासिल गर्न सकेँ, त्यसमा मेरो एक्लो कोसिस मात्र नभएर सबैको सहयोग थियो । कर्मचारी, फरक पार्टीबाट जित्नुभएका जनप्रतिनिधि साथीहरू, जसले असहयोग गर्नु भएन, सबैको सहयोग र गराइले ती उपलब्धिहरू हासिल भए । यिनै कुराहरू हुन् ।

मैले द स्टोरी किचेनले तयार गरेको निर्देशिकाका आधारमा तपाईंलाई केही प्रश्न गरेँ । यसरी कुराकानी गर्दा तपाईंलाई कस्तो अनुभव भयो ?

अनुभवका कुराहरू सोधेर एकदमै राम्रो गर्नुभयो । बलेको आगो मात्र ताप्ने भएकाले जो नेतृत्वमा छ उसलाई मात्र सम्झने चलन छ हामीकहाँ । हामीसँग भएका अनुभवहरू यसरी सोध्ने र सुन्ने कम नै हुन्छन् ।

निवर्तमान प्रमुखहरूसँग एक दुई दिन एकै ठाउँमा बसेर अनुभूति साटासाट गर्न मन छ । त्यसो गर्दा धेरै कुरा सिक्न पाइने थियो । यसरी कुराकानी गर्न पाउँदा पनि असाध्यै राम्रो लाग्यो । तपाईंहरूलाई धेरै नै धन्यवाद !

प्रकाशन मिति : २०८१ चैत ७ गते, बिहीवार

पालिकाका सारथी महिलाहरूका थप कथाहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here