Home Insight सुरुदेखि नै असल सोच राखेर धैर्यपूर्वक मिहिनेत गरियो

सुरुदेखि नै असल सोच राखेर धैर्यपूर्वक मिहिनेत गरियो

23
0

सन्धान संवाद शृङ्खला १३

कार्यकाल २०७४–२०७९ साललाई फर्किएर हेर्दा पालिकाका सारथी महिलाहरूको लहरमा देखापर्ने नाम हो, मायादेवी राना आले । उहाँ देश सङ्घीय संरचनामा रूपान्तरण भएपछि भएको पहिलो स्थानीय तह निर्वाचनमा साबिक प्रदेश नम्बर ४ स्थित तनहुँ जिल्लाको म्याग्दे गाउँपालिका अध्यक्ष निर्वाचित हुनुभयो । २०७५ असार २२ मा गण्डकी प्रदेश नाम राखिएको उक्त प्रदेशबाट पालिका प्रमुख/अध्यक्षमा सबैभन्दा बढी महिला निर्वाचित भएका थिए ।

गण्डकी प्रदेशबाट निर्वाचित कुल छ जना पालिका प्रमुख/अध्यक्ष महिलामध्ये मायादेवी एक हुनुहुन्थ्यो । उहाँ नेपाली कांग्रेसबाट चुनावी मैदानमा उत्रिएर अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै चार हजार ५४२ मत प्राप्त गरी विजयी हुनुभएको थियो । निर्वाचनमा कुल १० हजार पाँच मत खसेकोमा सदर मत सङ्ख्या नौ हजार ७५६ थियो । उम्मेदवारी दिँदा उहाँ ६० वर्षको हुनुहुन्थ्यो ।

तनहुँकी मायादेवी बाल्यकालदेखि नै राजनीतिक वातावरणमा हुर्कनुभयो । उहाँका बुबा पदमबहादुर आले नेपाली कांग्रेसमा आबद्ध हुनुहुन्थ्यो र २०१५ सालमा भएको राष्ट्रिय विधायिकाको निर्वाचनमा चुनिनुभएको थियो । उहाँका श्रीमान् पनि राजनीतिमा नै हुनुहुन्थ्यो । भाइहरू राजनीतिमा नै रहेकाले उहाँले पनि राजनीति रोज्नुभयो । मायादेवीका अनुसार, नेपाल महिला संघको सभापति छँदा नारी दिवस मनाउन जुलुस लिएर हिँडेको र पुलिसले धरपकड गरेको, वी.पी. जयन्ती मनाउँदा प्रहरीसँग लडभिड भएको जस्ता थुप्रै घटनाका अनुभव सम्झनामा छन् ।

मायादेवीलाई स्थानीय सरकारको नेतृत्वमा पुर्‍याउने मूल आधार बन्यो, संविधान । २०७२ सालमा जारी सो संविधानले मुलुकलाई सङ्घीय संरचनामा रूपान्तरण गर्‍यो । २०८१ असोज ३ गते संविधान दिवसको सन्दर्भ पारेर हामीले ‘सन्धान संवाद शृङ्खला’ अन्तर्गत ‘फर्किएर हेर्दा : पालिकाका सारथी महिलाहरू’ स्तम्भको सुरुवात गरेका थियौँ । सोही दिनदेखि एउटा बिहिवार संवाद र अर्को बिहिवार रिपोर्ट पर्ने गरी हरेक हप्ता पालिकाका सारथी महिलाहरूसित सम्बन्धित सामग्री प्रस्तुत गर्दै आएको कुरा त यहाँलाई थाहै छ । प्रस्तुत सामग्री ‘फर्किएर हेर्दा : पालिकाका सारथी महिलाहरू’ स्तम्भको संवाद खण्ड हो ।

मुलुक सङ्घीय संरचनामा गइसकेपछि तीन चरणमा स्थानीय तहको निर्वाचन भयो । पहिलो चरणमा २०७४ वैशाख ३१ गते ३४ जिल्लाका २८३, दोस्रो चरणमा २०७४ असार १४ गते ३५ जिल्लाका ३३४ र तेस्रो चरणमा २०७४ असोज २ गते आठ जिल्लाका १३६ गरी कुल ७५३ स्थानीय तहका लागि निर्वाचन भएको थियो ।

नेपालकै पहिलो निर्वाचन भने २००४ जेठ २९ गते भएको थियो । काठमाडौं म्यूनिसिपलिटीको उक्त निर्वाचनमा महिलाहरूले उम्मेदवारी दिन त के भोट खसाल्न पनि पाएका थिएनन् । महिलाहरूलाई मताधिकार नै दिइएको थिएन ।

देशकै पहिलो निर्वाचन भएको छ वर्षपछि २०१० सालमा अर्को निर्वाचन भयो । त्यस निर्वाचनमा महिलाहरूले मताधिकार मात्र नभएर उम्मेदवारीको अधिकारसमेत पाए । यस्तो अधिकार पाएको साढे छ दशक हुनै लाग्दा २०७४ सालमा भएको स्थानीय निर्वाचनमा त ५७ हजार ८४३ महिला चुनावी मैदानमा नै उत्रिए । तीमध्ये १४ हजार ३५१ महिला पालिकाका विभिन्न पदहरूमा निर्वाचित पनि भए ।

स्थानीय तह निर्वाचन २०७४ बाट महिलाले कुल प्रतिनिधित्वको ४०.९५ प्रतिशत हिस्सा प्राप्त गरे । यत्तिको प्रतिनिधित्व वैधानिक प्रावधानको कारण सम्भव भएको थियो । त्यति हुँदाहुँदै पनि बिर्सन नहुने कुरो के रह्यो भने महिलाहरूले पाउनुपर्ने जति महत्त्व र अधिकार अझै पाएका थिएनन् ।

देशका कुल ७५३ स्थानीय तहका प्रमुख/अध्यक्ष पदका लागि भएको निर्वाचनमा सात महिला नगरपालिका प्रमुखमा र ११ महिला गाउँपालिका अध्यक्षमा निर्वाचित भए । यसरी जम्मा १८ महिलाले मात्र पालिका प्रमुख वा अध्यक्षमा निर्वाचित भएर स्थानीय सरकारको नेतृत्व गर्ने अवसर पाए ।

‘स्थानीय तह निर्वाचन ऐन, २०७३’ मा दफा १७ को उपदफा ४ मा उम्मेदवारको मनोनयनपत्र पेस गर्दा दलले अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुखमध्ये ५० प्रतिशत महिला उम्मेदवार रहने गरी मनोनयनपत्र पेस गर्ने व्यवस्था मिलाउनुपर्ने प्रावधान छ । त्यति बेला पालिकाको उपप्रमुख/उपाध्यक्ष पद महिलाकै लागि तोकिए जस्तो गरी उम्मेदवारी थमाइएको थियो ।

समग्रमा ५० प्रतिशतको परिणाम भने महिलाको हातमा परेन । कुल १५०६ स्थानमा पुरुष ७८८ हुँदा महिला ७१८ जना मात्र विजयी भए । महिलाको सम्भाव्य प्रतिनिधित्व पनि ३५ स्थानले कम हुन पुग्यो । यसले महिलालाई न्याय नभएको स्पष्टै देखायो । त्यस्तो अवस्थामा पनि पालिकाको नेतृत्वमा उम्मेदवार बनेर निर्वाचित हुन पुगेका १८ महिलाहरू सामान्य पक्कै थिएनन् । तिनैमध्ये एकमा मायादेवी पनि पर्नुभयो ।

नयाँ शासकीय स्वरूप, नयाँ अभ्यास, वैधानिक तथा भौतिक पूर्वाधारहरूको अपर्याप्तता/अभाव जस्ता कारणले सबै पालिकामा एक प्रकारको अन्योल थियो । त्यस्तो बेला पुरुषहरूकै बाहुल्य रहेको संरचनामा नवनिर्वाचित प्रमुख/अध्यक्ष बनी नेतृत्वदायी भूमिका निर्वाह गर्नु महिलाका लागि झनै चुनौतीपूर्ण थियो । नागरिकका अपेक्षा चुलिएका थिए । मायादेवीका सामु पनि चुनौतीका पहाड खडा थिए ।

विभिन्न चुनौतीहरूका बिचमा प्रश्नहरू पनि उठ्ने नै भए । गाउँपालिका अध्यक्षको जिम्मेवारी निर्वाह गरी दायित्व पूरा गर्दाको मायादेवीको अनुभव कस्तो रह्यो त ? विशेष गरी उहाँको नेतृत्वमा पालिकाले हासिल गरेका उपलब्धि के थिए ? उहाँको नेतृत्वशैली, बाधाअवरोध पन्छाउने उपाय के कस्ता थिए ? आफूले आफ्नो कार्यकाल र आफैँलाई फर्किएर हेर्दा उहाँले के पाउनुभयो ? भावी जनप्रतिनिधिलाई उहाँका सुझाव के के थिए ?

द स्टोरी किचेनले तयार पारेको निर्देशिकाका आधारमा मूलतः यी र यस्ता प्रश्नका साथ ‘सन्धान’ को लागि फेलो पत्रकार सीता वि.के. ले मायादेवीसँग उहाँको कार्यकालको अन्तिमतिर टेलिफोन कुराकानी गर्नुभएको थियो । आजको शृङ्खलामा प्रस्तुत छ, मायादेवी राना आलेसँग गरिएको सोही कुराकानी ।

करिब पाँच वर्षको कार्यकालमा तपाईंले गर्नुभएका एकदमै महत्त्वपूर्ण काम वा उपलब्धि के के हुन् भन्ने लाग्छ ?

विकासकै कुरा गर्दा मुख्य कुरा यातायात नै हो । जनताहरू दुःख, बिमार हुँदा आउने जाने बाटाहरू स्ट्रेचर लिएर हिँड्न नमिल्ने थिए । एम्बुलेन्स, गाडी हिँड्ने कुरा त कल्पनामा मात्र थियो । अहिले त्यस्तो छैन । अरू केही नभए पनि ट्र्याकहरू खुलिसकेका छन् । मेरो गाउँपालिकाका हरेक वडामा अहिले गाडी जान्छ ।

म नेतृत्वमा आउँदा पालिकाको भौतिक संरचना केही थिएन । यहाँ एउटा वडा कार्यालय मात्रै थियो । त्यही वडामा गाउँपालिकाको कार्यालय राख्यौँ । अरू वडाहरू सबै भाडामा थिए । अहिले हामी भटाभट भौतिक संरचना बनाएर आफ्नै भवनमा सर्दैछौँ ।

अर्को कुरा, हामी त जनतासँग जोडिन्छौँ । वडामा आउने कतिपय जनता गरिबीले गर्दा १० रुपैयाँ पनि निकाल्न नसक्ने देख्यौँ । त्यसैले त्यस्ता जनताको लागि भनेर प्रत्येक वडामा फोटोकपी मेसिन राखेर निःशुल्क फोटोकपी सेवा दियौँ । त्यस्तै, निवेदन लेख्ने कर्मचारी प्रत्येक वडामा राख्यौँ । कर्मचारीको व्यवस्था भएपछि जनतालाई विभिन्न विषयमा निवेदन लेखाउन सहज भयो ।

विद्यालयमा सुधार छ । एकदेखि तीन कक्षामा अध्ययनरत विद्यार्थीहरूलाई २०७६ सालबाटै दिवा खाजाको व्यवस्था गर्‍यौँ। पालिकाले खाजाको लागि भाँडाकुँडा, ग्यास, खाद्यान्न आदिको व्यवस्था गर्‍यो । पोेहोरदेखि नेपाल सरकारले एकदेखि पाँच कक्षासम्मका लागि दिवा खाजाको व्यवस्था त गर्‍यो तर अरू सामग्री दिएन । त्यसपछि हामीले गाउँपालिकाबाट त्यहाँ चाहिने भाँडाकुँडा, ग्यासलगायत अरू आवश्यक सामग्रीको व्यवस्था गर्‍यौँ ।

स्वास्थ्यका क्षेत्रमा क्यान्सर, मुटु, मृगौला र टाउकाको रोगसम्बन्धी बिरामीलाई यातायात खर्च भनेर १० हजार दिने र भवितव्यमा परी मृत्यु भएकाहरूलाई १५ हजार रुपैयाँ दिने व्यवस्था गरेका छौँ । त्यस्तै, ‘अध्यक्षसँग सुत्केरी कार्यक्रम’ लागु गरेँ । गाउँपालिकाभित्र रहेका गर्भवती महिला, जसले नियमित चेकजाँच गराएर स्वास्थ्यचौकीमा नै बच्चा जन्माउँछ, उसलाई प्रोत्साहनस्वरूप तीन हजार रुपैयाँ भत्ता दिने गरेको छु ।

अध्यक्षसँग सुत्केरी कार्यक्रमले कुना कुनामा रहेका महिलाहरूलाई आफू गर्भवती भएको बेला नियमित स्वास्थ्य चेकजाँच गराउनुपर्छ भन्ने सोच आयो र स्वास्थ्यचौकीमा गएर सुत्केरी हुने क्रम बढ्यो । अहिले आमा र शिशुले अकालमा ज्यान गुमाउने जोखिम घट्दै गएको छ । यहाँ हस्पिटलहरू बन्दैछन् । निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा छ ।

कृषिमा हामीले धेरै लगानी गरेका छौँ । बाख्रा पाल्नेलाई बाख्रा, बोका पाल्नेलाई ६०–७० हजार रुपैयाँसम्म अनुदान दिएका छौँ । बङ्गुर पाल्नेलाई ५० प्रतिशत अनुदान दिएका छौँ । आलुमा त हामी आत्मनिर्भर भयौँ । यहाँ सुन्तला पनि दुई–तीन करोडको पैठारी हुन्छ ।

हाम्रो यहाँ परापूर्वकालदेखि नै फागु पूर्णिमामा सधैँ बजार लाग्ने प्रचलन थियो । द्वन्द्वकालमा त्यो प्रचलन बन्द नै भयो । त्यसलाई हामीले कृषिमेलाको शीर्षक दिएर इतिहास र संस्कृति बचाउनेतर्फ पनि लागेका छौँ ।

अर्को एउटा काम, मेरो कार्यकालको अन्त्यमा भए पनि फोहोर व्यवस्थापनका लागि जग्गा खरिद गर्‍यौँ । त्यो अहिले कार्यान्वयनको प्रक्रियामा छ । यो काम अलि गाह्रो रै’छ ।

नीति, कार्ययोजना, बजेट विनियोजन र व्यवस्थापनका कामबारे अहिले धेरै भनेर भ्याउँदैन है ! हामीले कम्तीमा पनि ३०–४० वटा नीति बनाइसकेका छौँ । पालिकाभित्र एउटै नियम लागु गरेका छौँ । शिक्षाको क्षेत्रमा पनि एकरूपताको नीति लागु गरेका छौँ । हामीले पालिकामा राख्नुपर्ने र गर्नुपर्ने नीति नियम लागु गरेका छौँ ।

महिला सवालमा गरेका निर्णय र कामको बारेमा एउटा त ‘अध्यक्षसँग सुत्केरी कार्यक्रम’ हो । पालिकाभर एम्बुलेन्स सेवा निःशुल्क गरेका छौँ । हरेक काममा महिलालाई प्राथमिकता दिने गरेको छौँ । कर्मचारी राख्दा पनि एकल महिला, बेसहारा महिलाहरूलाई प्राथमिकता दिने गरेका छौँ ।

महिला दिवस, लैङ्गिक हिंसाविरुद्धको अभियानको सन्दर्भमा पनि मैले सबै महिलाहरूको सर्वदलीय बैठक राखेर रक्तदान कार्यक्रम गर्ने निर्णय गरेँ । समयमा रगत नपाउँदा धेरै महिलाले ज्यान गुमाउनुपरेको हुनाले यस्तो कामको थालनी गरेँ ।

हरेक बैठकमा सर्वदलीय महिलाहरू, वडा सदस्य महिलाहरू, पालिका सदस्य महिलाहरूलाई राखेर प्रस्तावित निर्णय पास गर्छु । उहाँहरूलाई पालिकाले गरेका निर्णय पनि थाहा होस् भनेर त्यसो गरेको मैले ।

हाम्रो समाजमा वृद्धवृद्धालाई सम्मान गर्नेभन्दा हेलाँ गर्नेहरू पनि छन् । त्यसैले प्यारालाइसिस भएका वृद्धवृद्धालाई राम्रो हेरचाह गरेका बुहारीहरूलाई प्रोत्साहनका लागि सम्मान गर्ने कार्यक्रम पास गरेँ । केही दिनअघि मैले अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भमा यस्तो कार्यक्रम पास गरेको थिएँ । मलाई लाग्छ, मेरो कार्यकालमा भएका यी र यस्ता सबै काम उपलब्धिपूर्ण छन् ।

यस्ता उपलब्धि प्राप्त गर्न तपाईंले आफूलाई कसरी तयार गर्नुभएको थियो ?

कसरी भनौँ ? एउटा पोहोरको अनुभव सुनाउँछु । खेलकुदमा महिला सहभागिता बढाउनका लागि मैले ‘अध्यक्ष कप’ नाम राखेर हरेक विद्यालयका छात्राहरूबिच फुटबलको म्याच राख्ने प्रस्ताव गरेँ । शिक्षा शाखामा त पुरुष कर्मचारी छन् । उनीहरूले नै मलाई ‘यो हुँदैन मेडम, गाह्रो हुन्छ बरु पुरुष फुटबल म्याच राख्नुस्’ भने । मैले उनीहरूलाई ‘अर्काले नसकेको, नगरेको काममा हो हात हाल्ने, सजिलो त जसले पनि गरेका छन् नि’ भनेँ ।

‘म संस्थापक अध्यक्ष हुन खोजेको हो यहाँ, यो गाउँपालिकामा छात्राहरूले पनि फुटबल खेलेर देखाउन सक्छन्’ भनेर भनेँ । अनि छात्राहरू धेरै खुसी भए । ‘म्याच फेरि पनि राख्दिनुस्’ भन्छन् अहिले पनि । खेलाडीहरूमा पनि लुकेको प्रतिभा रै’छ । अनि मैले पछि कर्मचारी र जनप्रतिनिधिको पनि फुटबल म्याच राखेँ । दुःख हुन्छ नयाँ काम सुरु गर्न, कसैले पनि पचाउँदैन, त्यसलाई रूपान्तरण गर्न गाह्रै हुन्छ, तैपनि प्रयास चाहिँ जारी राख्नुपर्छ भन्ने मान्यता मेरो !

तपाईंले जे जस्ता काम गरी जुन उपलब्धि पाउनुभयो, ती काम गर्नुपर्छ भन्ने तपाईंलाई किन लाग्यो ?

म एउटा महिला हो । सप्पैले ‘महिला पनि अध्यक्ष ?’ भन्छन् । कार्यालयमा आएर मलाई ‘नमस्कार उपाध्यक्षज्यू’ भन्छन् । धेरैजसो ठाउँमा महिला उपाध्यक्ष छन् नि ! त्यही भएर ‘म अध्यक्ष हो’ भन्दा ‘तपाईं वडा अध्यक्ष हो ?’ पनि भन्छन् । हतपती विश्वास नै गर्दैनन् ।

मैले टिकट लिन पनि धेरै सङ्घर्ष गर्नुपरेको थियो । पार्टीले पनि उपाध्यक्षमा थन्क्याउन खोजेको थियो । मैले अडान राखेँ, ‘अध्यक्ष दिए चुनाव लड्छु नत्र म लड्दिनँ’ भनेँ । मैले अडान नछोडेपछि पार्टीले टिकट दियो तर मैले जित्छु भन्ने आशा पार्टीलाई त्यति थिएन । पछि मैले जितेँ । जितेपछि सबैको साझा मान्छे भएर काम गर्नुपर्छ ।

सबैको साझा मान्छे भएर काम गर्न पनि चुनौती नै छ । तर, म चाहिँ निष्पक्ष र हक्की स्वभावकी पनि छु । कतिपय ठाउँमा स्वभावले पनि काम गर्‍यो होला भन्ने लाग्छ । यदि मैले जात, जाति, पार्टी मात्रै भनेर हेर्दै गएको भए एक–दुई महिनामा राजीनामा गराउँथे । तर, मैले फरक ढङ्गले काम गर्दै गएँ ।

मैले जनताको मन बुझेँ । ममाथि उहाँहरूको आशा, भरोसा पनि रहेछ । दुःखसुखका कुरा गर्ने गर्नुहुन्छ । यसैले जनता नै हो मेरो प्ररेणा र ज्ञानको स्रोत । पहिलादेखि नै कति मुद्दा मामिला बोकियो र जितियो । त्यो अनुभव पनि थियोे मसँग । जिल्ला सदरमुकाम पुग्न हप्ता दिन, गा.वि.स. कार्यालय पुग्न दुई–चार दिन धाउनुपर्ने समस्या थियो । त्यसलाई सुधार गर्ने, समाधान गर्ने प्रयासमा छु ।

जनताको काम छिटोछरितो गर्नुपर्छ भन्ने मान्यतामा छु । जनताको अवस्था र आवश्यकताअनुसार काम गर्ने गर्छु । त्यसैले होला, गत वर्ष तनहुँका १० स्थानीय तहलाई पछि पार्दै मन्त्रालयको स्वमूल्याङ्कनमा पनि हामी पहिलो भयौँ । कतिपय ठाउँमा विरोध भएको, झगडा भएको खबर पनि आए तर हाम्रोमा त्यस्तो भएन ।

अहिलेसम्म १२५ वटा जति बैठक भयो, सहज तरिकाले नै भएको छ । जनताको काम यस्तै र यसरी नै काम गर्नुपर्छ भन्ने लागेको थियो । यसैले उपलब्धि पनि प्राप्त भयो ।

तपार्ईंले गर्नुभएका कामबाट स्थानीय नागरिकको जीवनमा के परिवर्तन भएको छ जस्तो लाग्छ ? कसैले तपाईंलाई केही भनेको पनि छ कि ?

कृषिसँग सम्बन्धित विषयका जनशक्ति हाम्रो गण्डकी प्रदेशमा नै कम हुनुहुँदो रहेछ । त्योसँग सम्बन्धित कर्मचारी खोज्न निकै भौँतारिनुपर्‍यो । गाउँपालिकामा नै एउटा भेटनरीको पढाइ हुने क्याम्पस छ तर त्यहाँ विद्यार्थीहरू आउँदैनन् । पछि एउटा महिलालाई पनि भनेँ । उहाँले छोरालाई भेटनरी डाक्टर पढाउनुभयो । त्यो महिला यति खुसी हुनुहुन्छ नि, उहाँले ‘म डाक्टरको आमा भएँ, छोराले आम्दानी राम्रै गरेको छ’ भनेर खुसी साट्नुहुन्छ । मैले चाहेको त्यही हो ।

मान्छेले ब्याचलर, मास्टर गरेर जागिर खान पाइन्छ भन्ने जुन मानसिकता छ नि, त्यो होइन । वास्तवमा जुन विषयको आवश्यकता हुन्छ, त्यही लाइनमा पढ्न जानुपर्छ भन्ने खालको शिक्षा पनि हामीले दिएका छौँ जस्तो लाग्छ मलाई । अर्काे, हाम्रै गाउँपालिकाको वडा नम्बर २ को गुन्जारा र दुनडाडा गाउँमा पानीको समस्या भयो । त्यहाँ पानी त छ तर आकाश गर्जिंदा, आकाशबाट पानी पर्दा बिजुली जाँदो रै’छ ।

बिजुली नभएपछि खानेपानीको समस्या पर्‍यो । चिल्ड्रेन नेपालसँग मिलेर हामीले थोपा सिँचाइ लागु गर्‍यौँ र ती गाउँमा खानेपानीको व्यवस्था गर्‍यौँ । अहिले त्यहाँको जनजीवन र जीविकोपार्जनको तरिका नै फेरिएको छ । सधैँ बजारबाट किनेर खानेहरू अहिले सिजनअनुसारको तरकारी खेती गर्ने, बेचबिखन गर्ने पनि भएका छन् । त्यहाँका महिलाहरू खुसी छन् । पहिले किनेर खाने मान्छे, अहिले बेचेर खाने भएका छन् ।

त्यस्तै, आयआर्जन दिगो होस् भनेर हर्षपुर, मानुङमा र छाङगैरा भन्ने ठाउँमा होमस्टे स्थापना र सञ्चालन गरेका छौँ । त्यहाँका नागरिकहरूलाई भवन बनाउन सहयोग गरेँ । एक सेट चरेसको थाल, ह्वाइट कभर भएको बेड अनि बाहिरबाट प्रशिक्षक ल्याएर तालिम दिने व्यवस्था पनि गरेँ । अहिले त्यहाँ पाहुनाहरू आउनुहुन्छ । त्यो उहाँहरूको आयस्रोत भएको छ ।

हाम्रो पालिकामा कसैको मृत्यु भयो भने सकेसम्म हामी घाटमा जान्छौँ । बिचमा भेट्न पनि जान्छौँ । शोक मनाउँछौँ । यसरी पालिकावासीलाई दुःख र शोक पर्दा सान्त्वना दिने गरेका छौँ, जसले गर्दा उहाँहरूलाई अलि सहज महसुस हुन्छ ।

कोभिड–१९ महामारीका बेलामा पनि म कहिल्यै घरमा बसिनँ । राहत वितरण, क्वारेन्टाइन व्यवस्थापन, आइसोलेसन व्यवस्थापनमा हामी खटियौँ । त्यसैले जनधनको क्षति कम भयो । मैले सधैँ राम्रो गर्ने प्रयास गरेँ, तैपनि सबैको चित्त बुझाउन त कहाँ सकिन्थ्यो र ? तर पनि मैले सकेको कोसिस गरेँ, पालिकावासीको जीवनमा राम्रो परिवर्तन ल्याउनलाई ।

नेतृत्वमा आउँदा तपाईंलाई केही कुराको डर थियो कि ?

केही डर थिएन । मेरो ससुरा पनि प्रधानपञ्च चलाउनुभएको व्यक्ति, कांग्रेसको नेता । उहाँले समाजसेवा नै गर्नुहुन्थ्यो । मेरो श्रीमान् पनि त्यस्तै हुनुहुन्थ्यो । माइतीमा पनि राजनीतिक माहोल थियो ।

राजनीतिक काम गर्दा घर र माइती कतैबाट अवरोध भएन । सधैँ सहयोग पाएँ । ससुरा बुबाले नै आज कार्यक्रम छ, जाऊँ भनेर भन्नुहुन्थ्यो, कति खुसी लाग्थ्यो । मैले खोजे जस्तो पाएँ भन्ने सोच्थेँ ।

मेरो श्रीमान् पनि राजनीति गर्नुहुन्थ्यो । जिल्लामा उहाँको राम्रो सम्बन्ध थियो । गाउँको विकासको लागि पनि बजेट ल्याउने गर्नुहुन्थ्यो । चुनावको बेलामा अचानक मेरो श्रीमान्‌काे मृत्यु भयो । म चुनावमा उठ्दा श्रीमान्‌काे मृत्यु भएको २४ दिन मात्रै भएको थियो । यसैले म शोकमा थिएँ तर पनि मैले आँसु लुकाएर आँट गरेर चुनावी मैदानमा भिडेँ ।

श्रीमान्‌काे सपना पनि पूरा गर्नु छ भनेर शोकलाई शक्तिमा बदलेर काम गरेँ । आँसु देखाउँदा रुन्चे भन्लान् भनेर मन बलियो बनाएर मत माग्ने काममा खटिएँ । पछि मैले जितेँ पनि । पुरुषले जस्तै अधिकार खोज्ने अनि काम गर्ने बेलामा महिला हो भनेर पन्छिन त भएन नि ! त्यसकारण मलाई डर चाहिँ केहीको पनि लागेन ।

मैले कर्मचारीहरूसँग पनि त्यहीअनुसार व्यवहार गरेर ‘नियम कानुनअनुसार जाने हो, नियम कानुन विपरीत म गर्न सक्दिनँ’, अनि अर्को कुरा, ‘आर्थिक पारदर्शिता चाहिन्छ’ भनेँ । झुटा आरोप लगाउने, बेइमानी र बदमासी गर्नेहरूसँग त डराउनै पर्‍यो ।

त्यस्ताहरूबाट उत्पन्न डरलाई हटाउन के गर्नुभयो ?

पूरै बैठक राख्ने, केलाउने, सोध्ने, खोज्ने गर्थें । हामीसँग भएका प्रशासकीय अधिकृतहरूसँग त मैले टिउसन् नै लिए जस्तै हुन्थ्यो । कार्यालय भनेको कागज बोल्ने हो, हामी बोल्ने होइन नि !

हामी जनप्रतिनिधि नक्कली काममा लागेर पैसा कमाउनेतिर, आफ्नो–अर्को भन्ने कुरामा चुक्नु हुँदैन । यही भावनाले दरो भएर काम गरेँ । यसैले मलाई अरू कुराको डर थिएन ।

नीति र कानुन समातेर सही बाटो हिँड्ने भएपछि पालिकामा जे जस्ता समस्या आए पनि सुल्झाउन सकियो । मैले तिनलाई हाउगुजी र ठुलो समस्या जस्तो देख्तिनँ ।

स्थानीय सरकार प्रमुख भएर काम गर्दा बाधाअड्चन आइपरे कि ?

बाधाअड्चनको सवालमा बाटोकै कुरा गरौँ । बाटोका नाममा पुराना गोरेटाहरू मात्रै थिए । यसैले मुख्य बाटोलाई आठ–नौ मिटर र भित्री बाटोलाई छ मिटर कायम गर्ने नियम पास गर्‍यौँ । पास त गर्‍यौँ तर लागु गर्न धौ धौ भयो । पटक्कै जग्गा दिन्नन् जनताले !

लिनलाई हात बढाउने तर दिनलाई पछि हट्ने भयो । सबैको त्यही रै’छ फेरि ! जब अर्काको जग्गा खन्छ, तब कम्मरमा हात लगाएर ‘अलि उता अलि उता’ भनेर टाठोबाठो हुने । जब आफ्नो जग्गामा पुग्छ अनि ‘ल खन् त, पख्लास्’ भन्ने । डोजरवालाहरूलाई दुःख दिने, साँचो चोरिदिने । यो चुनौती त आयो नि ! चर्काचर्की भएका बेलामा त्यसलाई छोड्दिने तर पछि तिनलाई सहमतिमा ल्याएर काम गर्‍यौँ ।

अर्को, पोखरा काठमाडौँ सडक पनि २०२४–२५ सालमै सरकारले १०२ मिटर कायम गरेको रै’छ । त्यो नीति लागु गरेर त्यो निर्णय पास गरेर राखेको रै’छ । हामीले पनि त्यही १०२ मिटर कायम गर्ने नीति पास गर्‍यौँ । अरू छिमेकी स्थानीय तह व्यास र शुक्ला गण्डकीले ८५ मिटर कायम गरेका छन् यहाँ केको १०२ भनेर मलाई धेरै विरोध आयो, धेरै ‘डेलिगेसन’ आए ।

मैले ‘व्यास र शुक्ला गण्डकीले भन्दा राम्रो गर्न पाउने कि नपाउने ?’ भनेर प्रश्न गरेँ । ‘पछि घर बनाएर बस्दा पार्किङको समस्या हुन्छ भनेर यस्तो गरेँ’ भनेर सहमतिमा ल्याएँ । पछि सडक विभागले पनि १०२ मिटर छोड्न भन्यो ।

एकल महिलालाई मात्रै कार्यक्रम दिँदा, एकल पुरुषहरूको पनि बाधा विरोध आयो अनि एकल पुरुषलाई पनि भत्ता दिने व्यवस्था गरेको छु । त्यस्तै, अपाङ्गता भएकाको हकमा पनि क र ख वर्गका अपाङ्गता भएकाहरूलाई नेपाल सरकारले भत्ता दिने गरेको छ भने पछि ग र घ वर्गका अपाङ्गता भएकाहरूलाई पालिकाले सम्बोधन गर्ने भनी पास गरेको छु ।

काम गर्ने क्रममा बाधा विरोध गर्नेहरूलाई तपाईंले कसरी बुझ्नुभएको छ ?

नीति नियम नै पालना नगर्ने परिपाटी छ । बाटो बनाउन, भवन बनाउन जग्गा दिने कुरा त कसैले नसहने कुरा हो । अर्को, आर्थिक भार धान्नै नसक्ने छ । सातवटै वडालाई मैले बराबर हेर्नुपर्छ तर एउटै क्षेत्रमा २० लाख, १० लाख चाहियो भन्छन् । उनीहरूलाई अरू वडाहरूको मतलब नहुने, आफूलाई मात्रै भए हुन्थ्यो भन्ठाने रहेछन् । मैले यसरी नै बुझेको छु ।

बाधा पन्छाउनलाई तपाईंले के कस्ता रणनीति लिनुभयो ?

बाधा पन्छाउनलाई हामीले नयाँ अभ्यास पनि गरेका छौँ । लागत सहभागिता नियम बनायौँ । कुनै कार्यक्रम गर्दा सम्बन्धित समूहले आधा खर्च बेहोर्ने र आधा खर्च पालिकाले बेहोर्ने गरी लागत सहभागिता नियम बनायौँ र त्यहीअनुसार काम गर्‍यौँ । त्यसो गर्दा नागरिकहरूलाई पनि विकासका काममा अपनत्व महसुस भयो ।

बाधाका आधारअनुसार पनि धेरै बाधा फुकाइयो । त्यसो गर्दा विकास पनि भयो । अर्को, थोरै मान्छेसँग छलफल गर्ने, सहमतिमा ल्याउने र पठाउने । मासमा बोल्नै हुँदैन, अरू के गर्ने त ?

बाधा विरोधमा अगाडि आउने व्यक्तिहरू थोरै हुन्छन् । जो जो अगाडि आएका छन्, ती तीलाई छलफलमा बोलाएर सहमतिमा ल्याएर पठाएपछि त्यही मान्छेले नै अरूलाई सम्झाउँछ । यसरी पनि बाधा पन्छाइयो र विकास निर्माणका काम गरियो ।

बाधा पन्छाउने त्यो सिप कसरी सिक्नुभयो ? केही उदाहरण भए त्यो पनि बताइदिनुस् न !

पहिला म शिक्षक थिएँ । त्यही बेला पनि समस्या परेका व्यक्ति मकहाँ आउनुहुन्थ्यो । त्यसलाई सकेसम्म सुल्झाउने प्रयत्न गर्थें । कुनै सिपभन्दा पनि थरिथरिका समस्या सुल्झाउँदै जाँदा व्यावहारिक ज्ञान भयो । बाधा पन्छाउन खोज्ने मान्छेलाई बाधा अड्चनले नै धेरै सिकाउने रै’छ ।

कतिको श्रीमान् श्रीमतीबिचको समस्या मिलाइयो । कतिको जग्गाजमिनको झगडा मिलाइयो । यस्ता उदाहरण त कति छन् कति !

तपाईंले कस्तो शैलीमा पालिकाको नेतृत्व गर्न थाल्नुभएको थियो र किन ?

सहकार्यको भावनाले छलफल चलाएँ । सबैभन्दा पहिले नीतिनियम बुझ्नुपर्‍यो, बुझ्न कोसिस गरेँ । मैले एकदमै सामान्य भएर नेतृत्व गर्ने ‘नर्मल’ शैली अपनाएँ । ‘म अध्यक्ष हुँ, मैले नै जानेको छु’ भनेर नेतृत्व गर्न थालेको भए त म कहिलै पनि सफल हुन सक्दैनथेँ । यसैले एकदमै साधारण शैली अपनाएँ । हाइफाइ गरेर नेतृत्व गर्न खोज्नेलाई त कसले सहयोग गर्छ र ?

तपाईंले त्यस्तो साधारण नेतृत्व शैली कहाँबाट सिक्नुभयो ? कोबाट प्रेरित हुनुहुन्छ ?

मेरो आमा, बुवा, मेरो ससुराबुवा साधारण हुनुहुन्थ्यो । उहाँहरू निकै साधारण हुनुहुन्थ्यो । यसैले गाउँ समाजले पनि बुवाको निक्कै प्रशंसा गर्थे । ‘कत्ति पनि ठुलो नहुने, जस्तोमा पनि बस्ने, जे दिए पनि खाने’ भनेर कुरा गर्थे । मेरो ससुराबुवा पनि त्यस्तै हुनुहुन्थ्यो । उहाँलाई गाउँमा मुखिया बा भन्थे । जनताको घरदैलोमा जाने, हातमा दिए पनि पातमा दिए पनि खाने गर्नुहुन्थ्यो । त्यही भएरै प्रेरित भएँ ।

जति साधारण भयो त्यति धेरैको मन जित्न सकिन्छ भन्ने अनुभव चाहिँ छ । मेरो बुवालाई म सानै हुँदा अञ्चलाधीशहरूले पनि विश्वास गरेर ‘त्यताको भेगको केस तपाईं मिलाउनू’ भन्थे । मलाई अझै सम्झना छ ।

म चाहिँ व्यावहारिक मान्छे हो । म शिक्षक हुँदा पनि फरक फरक भूमिकामा काम गरेँ । छ–सात वर्ष जिल्ला बालकल्याण समितिमा रहेर पनि काम गरेकी थिएँ । त्यसैले नीतिगत कुरा पनि केही बुझेकी थिएँ ।

तपाईंको यस्तो नेतृत्व शैलीले आफ्नै बारेमा पनि केही नयाँ कुरा के सिकायो कि ?

धेरैले मलाई हातै समातेर अँगालो हालेर ‘महिला अध्यक्ष हुँदा खुसी लाग्यो’ भन्नुहुन्छ । मप्रति उहाँहरूको त्यो आन्तरिक भावना आयो नि त ! उहाँहरूलाई खुसी दिने काम गरेको रै’ छु, यो पद मेरो व्यक्तिगत उपलब्धि मात्रै नभएर म महिलाको लागि हिँडेको रै’ छु, मैले महिलाकै लागि गरेको रै’ छु भन्ने लाग्छ ।

अर्को कुरा, मैले महिला अध्यक्ष भनेर परिचित हुने मौका पनि पाएको छु । म मेरो लागि मात्रै होइन, आममहिलाको प्रेरणाको लागि पनि हिँडेको छु भन्ने लाग्छ । मेरो साधारण तरिकाको नेतृत्व शैलीले आफ्नैबारेमा मलाई नयाँ कुरा यही सिकायो जस्तो लाग्छ ।

तपाईंको सिकाइको तौरतरिका र शैलीले सहकर्मीहरूलाई कस्तो प्रभाव पारेको होला ? केही उदाहरण छन् कि ?

छ नि, किन नहुने ? मेरो सङ्गत गरेका बहिनीहरू सबै हक्की स्वभावका छन् । उनीहरू ‘अब म्याग्दे गाउँपालिकाको उपाध्यक्ष यो हुन्छ’ भनेर एकले अर्कोलाई देखाएर भन्छन् । किनभने, कुनै कार्यक्रममा महिलाहरू त पछाडि बस्ने गर्दछन् नि, तर मैले मेरो सङ्गत गरेका बहिनीहरूलाई कुनै पनि कार्यक्रममा बस्दा मर्यादाक्रम भङ्ग गर्नु हुँदैन, अन्यथा नहुने गरी अगाडि बस्ने, बोल्ने गर्नुपर्छ भन्छु । सोहीअनुरूप उहाँहरूले गर्दै पनि आउनुभएको छ ।

कर्मचारीहरूलाई त कत्तिको फरक परेको छ, त्यो उहाँहरूलाई नै सोध्नुपर्ला । तर, उहाँहरूले मेरो नेतृत्वमा काम गर्न सहज भएको छ भनेको त बेला बेलामा सुनेको छु ।

तपाईंको नेतृत्वलाई प्रभावकारी बनाउन थप के कस्ता ज्ञान र सिप भएको भए सहज हुन्थ्यो होला ?

नेतृत्व प्रभावकारी बनाउन आर्थिक स्रोत जुटाउने ज्ञान र सिप आफूमा भएको भए अझै धेरै काम गर्न सकिन्थ्यो जस्तो लाग्छ । अझै धेरै जनताका मागहरू सम्बोधन हुन सक्थे जस्तो लाग्छ । यसैले पनि मेरो नेतृत्वलाई प्रभावकारी बनाउन धेरै व्यावहारिक ज्ञान र सिपको जरुरी छ भन्ने लागेको छ ।

अवस्था, समस्या, बाधा, चुनौती आदिलाई हेरेर र बुझेर पछिसम्मलाई काम लाग्ने र बाटो देखाउने गरी समाधान खोज्नुपर्छ भन्ने लाग्छ । यस्ता कुराको ज्ञान र व्यावहारिक सिप आफूमा अझ धेरै भइदिएको भए मेरो नेतृत्व अझै प्रभावकारी हुन्थ्यो होला जस्तो लाग्छ ।

तपाईंले चुनावमा उठ्दा मतदाताहरूसँग गर्नुभएको प्रतिबद्धता र परिकल्पनालाई कत्तिको पूरा गर्न सके जस्तो लाग्छ ?

शतप्रतिशत त कहीँ पनि हुँदैन । घरकै योजनाहरू त सबै लागु हुँदैनन् । पालिकाबाट त प्रक्रिया मिलाएर माथिल्लो विधि, विधानमा टेकेर आफैँले विधि विधान बनाइसकेपछि त्यसैमा टेकेर काम गर्ने हो । यस प्रक्रियाबाट काम गर्दै गर्दा हामीले सकेसम्म थोरै स्रोत र साधनमा पनि राम्रै गर्‍यौँ जस्तो लाग्छ ।

आफूले मतदाताहरूसँग गरेका सबैजसो प्रतिबद्धतालाई कार्यक्रम बनाएर छुन सकिएको छ । यसबारेमा म ७५ प्रतिशत सन्तुष्ट नै छु । आफूले चाहेर पनि कतिपय प्रतिबद्धताहरू विभिन्न कारणले गर्न नसकिएका पनि छन् ।

पालिकावासीले तपाईंलाई जुन उत्साहका साथ जिताएका थिए, अहिले पनि त्यही उत्साहको भाव देखाउँछन् कि फरक महसुुस गरेका छन् जस्तो लाग्छ ?

यो कुरा त मलाईभन्दा पालिकावासीलाई सोध्दा राम्रो हुन्थ्यो । अहिले सबै गाउँ, टोलले कामबाटै मलाई चिन्नुभएको छ । गाउँमा जाँदा ‘अध्यक्षज्यू आउनुभयो’ भनेर खुसी हुनुहुन्छ र ‘अब तपाईंले गर्ने काम यो छ है’ भनेर सकारात्मक सुझाव दिनुहुन्छ ।

मैले वडाको उद्घाटन गर्नुअघि नै पहिला गा.वि.स.ले गर्न नसकेको सबैभन्दा अफ्ठेरो काम के छ भनेर सोधेको थिएँ । भूकम्पको पैसा नपाएर जनता धेरै समस्यामा हुनुहुुन्छ भन्ने थाहा पाएपछि मैले उद्घाटनको बेला नै भूकम्पको कागजमा हस्ताक्षर गरेर वडा कार्यालय खोलेको हो । यसैले उहाँहरूले अहिले मलाई गाउँमा देखेपछि ‘यस्तो छ, यो काम गर्न बाँकी छ’ भनेर भन्नुहुन्छ । आशा र विश्वास गरेर मसँग आफ्ना अपेक्षाका कुरा राख्नुहुन्छ ।

स्थानीय सरकार प्रमुख हुँदा तपाईंलाई पार्टी, सहकर्मी, घरपरिवार, साथीभाइ, छिमेकी र पालिकावासीले के कस्तो सहयोग गरिदिए नेतृत्व गर्न अझ सहज हुने थियो जस्तो लागेको छ ?

कोसँग के र कस्तो सहयोग कुन बेला चाहिन्छ, त्यही बेला मैले खोज्ने हो । ‘रेडिमेट’ सहयोग काम छैन । मलाई समस्या पर्दा सबैबाट पाउनुपर्ने सहयोग पाएकै छु । परेका बेला पार्टीदेखि पालिकावासी सबैको सहयोग नभएको भए म अहिले यो ठाउँमा नहुन पनि त सक्थेँ ।

तनहुँको परिवेशमा स्थानीय सरकार प्रमुखको भूमिकामा एक जना मात्र महिला निर्वाचित भएर नेतृत्व गर्नु भनेको के रहेछ जस्तो लाग्छ तपाईंलाई ?

विधि छ, विधान छ, अधिकार छ । हामीले त्यसैमा टेकेर जनताका लागि काम गर्ने हो । महिला र पुरुष दुवैलाई नै नेतृत्वको काम गर्न चुनौती छ । त्यसैले मलाई खासै त्यस्तो केही लागेन ।
मलाई बुवाले सधैँ तीन वटा कुरा सम्झिएर अघि बढ्न सिकाउनुभएको थियो । उहाँले जहिले पनि मलाई ‘सक्छु, गर्छु, भन्छु भन्ने नारा लिएर हिँडे तिमी सफल हुन्छौ’ भन्नुहुन्थ्यो ।

मैले पनि ‘सक्दिनँ, गर्दिनँ, हुँदैन’ नभन्ने गरेँ क्या ! यसले मलाई यत्तिको सफल पनि बनायो । यसैले मलाई त महिलाले पालिकाको नेतृत्व गर्नु भनेको आफ्नो आँट र नागरिकको भरोसा, यी दुवैको तालमेल हो जस्तो लाग्यो ।

आफ्नै कार्यकालमा भएको कुन कुरामा तपाईंलाई सबैभन्दा धेरै गर्व लागेको छ ?

अरू गाउँपालिकाले सुरु नगरेका केही नयाँ कामहरू हामीले सुरु गर्‍यौँ । प्रत्येक वडामा फोटोकपी मेसिन राखेर निःशुल्क फोटोकपी सेवा, विद्यालयमा दिवा खाजाको व्यवस्था, ‘अध्यक्षसँग सुत्केरी कार्यक्रम’, भौतिक संरचना विस्तार, ‘अध्यक्ष कप : छात्रा म्याच’ आदि थुप्रै छन् । अझै कति त मैले भन्न छुटाए जस्तो पनि लाग्यो । यस्ता काम आफ्नो कार्यकालमा गर्न सकेको कुराले मलाई धेरै नै गर्व लागेको छ ।

अब निर्वाचित भएर स्थानीय सरकारको नेतृत्वमा आउने जनप्रतिनिधिका लागि मुख्य पाँच वटा के के सुझाव दिन चाहनुहुन्छ ?

अब आउने महिला र पुरुष जनप्रतिनिधिहरूलाई मेरो पहिलो सुझाव के छ भने उहाँहरू जनसेवा गर्ने, जनताको कुरा सुन्ने खालको जनप्रतिनिधि हुनुपर्‍यो । अनि, हामीले जग बसाएका छौँ, नीति नियमहरू बनाएका छौँ । त्यसमा टेकेर उहाँहरू अघि बढ्न सक्नुहुन्छ ।

तेस्रोमा, हामीले थालेर पनि पूरा गर्न नभ्याएका कतिपय कामहरू छन् । कोल्ड स्टोर बनाउने, पूरै बाटो पिच गर्ने, भूकम्प, बाढीपहिरो, खरको छानोमुक्त अभियान जस्ता काम अधुरा छन् । ती कामलाई पूरा गर्ने खालको जनप्रतिनिधि हुन सक्नुपर्‍यो । चौथो, उहाँहरू बनेका नीति नियमलाई पालना गर्ने खालको हुनुपर्‍यो ।

अन्त्यमा, हामीले महिला, बालबालिका तथा सीमान्तकृत समुदायलाई प्राथमिकतामा राखेर काम गर्दै आएका छौँ, उहाँहरूले त्यसलाई पनि निरन्तरता दिनुहोस् भन्ने सुझाव दिन चाहन्छु ।

आफ्नो कार्यकालमै यसरी पछाडि फर्केर हेरिरहँदा तपाईंलाई कस्तो महसुस भइरहेको छ ?

कस्तो भने हामीले एउटा बाँझो बारी पाएका थियौँ । त्यो बारीमा विकास निर्माण, शिक्षा, स्वास्थ्य, खानेपानी, बालबालिका, अपाङ्गता भएका व्यक्ति, महिला, पुरुष आदि सबै एकै ठाउँमा थिए ।

मेरो नेतृत्वमा हामीले सबैको उन्नति, प्रगति र खुसीका लागि सकारात्मक सोच राख्यौँ । बाँझो बारीमा खनजोत गर्‍यौँ, माटो सम्यायौँ, धुलो बनायौँ । त्यसमा बिउबिरुवा लगाएर मलजल, गोडमेल र रेखदेख गर्‍यौँ ।

यसरी सुरुदेखि नै असल सोच राखेर धैर्यपूर्वक मिहिनेत गरी अन्त्यमा सबैका लागि सबैले मिलेर उब्जनी गरे जस्तो महसुस भयो । यसैले पालिकामा सबै उत्साही र खुसी छन् । यसमा मलाई पनि गर्व महसुस हुन्छ ।

अरू केही भन्न मन लागेको छ ?

सहरमुखीभन्दा पनि म गाउँमुखी हुने मान्छे हो । त्यसैले गाउँ गाउँमा राम्रो काम गर्दै आएका महिलाहरूलाई प्रोत्साहन गर्नुपर्छ भन्ने लाग्छ । टोल विकास समितिका अध्यक्ष महिलाहरूलाई पनि प्रोत्साहनस्वरूप सम्मान गर्दै छु । एक जना गन्धर्व महिला, जो सारङ्गी बजाएर जीवनयापन गर्दै हुनुहुन्छ, उहाँलाई प्रोत्साहनका लागि सम्मान गर्ने सोच बनाएकी छु । अरू त त्यस्तो खासै केही छैन । मैले काम नै गरेर देखाउने हो ।

मैले द स्टोरी किचेनले तयार गरेको निर्देशिकाका आधारमा तपाईंलाई केही प्रश्न गरेँ । यसरी कुराकानी गर्दा तपाईंलाई कस्तो अनुभव भयो ?

हामी महिला नेतृत्वको बारेमा स्थानीय तहमा लुकेका कुरा के रहेछन् भनी मिडियामार्फत देखाउन लागे जस्तो लाग्यो ।

प्रकाशन मिति : २०८१ फागुन २२ गते, बिहीवार

पालिकाका सारथी महिलाहरूका थप कथाहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here