Home Opinion महिला भएरै नजानेको भन्ठान्नेहरूले मलाई पनि लैङ्गिक विभेद गरे

महिला भएरै नजानेको भन्ठान्नेहरूले मलाई पनि लैङ्गिक विभेद गरे

47
0

सन्धान संवाद शृङ्खला ६

कार्यकाल २०७४–२०७९ साललाई फर्किएर हेर्दा पालिकाका सारथी महिलाहरूको लहरमा देखापर्ने नाम हो, सीताकुमारी पौडेल अधिकारी । उहाँ देश सङ्घीय संरचनामा रूपान्तरण भएपछि भएको पहिलो स्थानीय तह निर्वाचनमा साबिक प्रदेश नम्बर ३ स्थित रसुवा जिल्लाको कालिका गाउँपालिका अध्यक्ष निर्वाचित हुनुभयो । २०७६ पुस १७ मा बागमती प्रदेश नाम राखिएको उक्त प्रदेशबाट महानगरपालिका प्रमुखमा एक, नगरपालिका प्रमुखमा एक र गाउँपालिका अध्यक्षमा तीन गरी पाँच महिला पालिका प्रमुख/अध्यक्षमा निर्वाचित भएका थिए । त्यसमध्ये एक हुनुहुन्थ्यो, सीताकुमारी । उहाँ नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट चुनावी मैदानमा उत्रिएर अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै एक हजार ४५८ मत प्राप्त गरी विजयी हुनुभएको थियो । २०७४ वैशाख ३१ गते भएको सो निर्वाचनमा कुल चार हजार ९७७ मत खसेकोमा सदर मतको सङख्या चार हजार ५३६ थियो । निर्वाचनका लागि उम्मेदवारी दिँदा उहाँ ४६ वर्षको हुनुहुन्थ्यो ।

कालिका गाउँपालिका–२, रसुवा बस्ने सीताकुमारीले आफ्नो राजनीतिक यात्रा नेपाली कांग्रेसबाट सुरु गर्नुभएको थियो । २०५० सालमा शिक्षकको जागिरसँगै नेपाल महिला संघको जिल्ला सचिव हुनुभयो र नेपाली कांग्रेसको राजनीतिमा प्रवेश गर्नुभयो । पछि नेपाली कांग्रेस त्यागेर नेकपा (एमाले) प्रवेश गर्नुभयो । उहाँ अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य र एमाले पार्टी जिल्ला कमिटीको सदस्य पनि हुनुभयो । समाजसेवा सक्रिय उहाँको उद्देश्य समाजमा पछाडि पारिएका महिलाहरूको निम्ति केही गर्नु थियो । सत्ता र शक्तिको अभावमा लक्ष्यसम्म पुग्न गाह्रो हुँदै गएको अनुभवपछि त्यसको विकल्पमा उहाँले राजनीतिलाई रोज्नुभयो ।

सीताकुमारीलाई स्थानीय सरकारको नेतृत्वमा पुर्‍याउने मूल आधार बन्यो, नेपालको संविधान । २०७२ सालमा जारी सो संविधानले मुलुकलाई सङ्घीय संरचनामा रूपान्तरण गर्‍यो । २०८१ असोज ३ गते संविधान दिवसको सन्दर्भ पारेर हामीले ‘सन्धान संवाद शृङ्खला’ अन्तर्गत ‘फर्किएर हेर्दा : पालिकाका सारथी महिलाहरू’ स्तम्भको सुरुवात गरेका थियौँ । सोही दिनदेखि एउटा बिहिवार संवाद र अर्को बिहिवार रिपोर्ट पर्ने गरी हरेक हप्ता पालिकाका सारथी महिलाहरूसित सम्बन्धित सामग्री प्रस्तुत गर्दै आएका छौँ । प्रस्तुत सामग्री ‘फर्किएर हेर्दा : पालिकाका सारथी महिलाहरू ’ स्तम्भको संवाद खण्ड हो ।

मुलुक सङघीय संरचनामा गइसकेपछि तीन चरणमा स्थानीय तहको निर्वाचन भयो । पहिलो चरणमा २०७४ वैशाख ३१ गते ३४ जिल्लाका २८३, दोस्रो चरणमा २०७४ असार १४ गते ३५ जिल्लाका ३३४ र तेस्रो चरणमा २०७४ असोज २ गते आठ जिल्लाका १३६ गरी कुल ७५३ स्थानीय तहका लागि निर्वाचन भएको थियो । नेपालकै पहिलो निर्वाचन भने २००४ जेठ २९ गते भएको थियो । काठमाडौं म्यूनिसिपलिटीको उक्त निर्वाचनमा महिलाहरूले उम्मेदवारी दिन त के भोट खसाल्न पनि पाएका थिएनन् । महिलाहरूलाई मताधिकार नै दिइएको थिएन । देशकै पहिलो निर्वाचन भएको छ वर्षपछि २०१० सालमा अर्को निर्वाचन भयो । त्यस निर्वाचनमा महिलाहरूले मताधिकार मात्र नभएर उम्मेदवारीको अधिकारसमेत पाए । यस्तो अधिकार पाएको साढे छ दशक हुनै लाग्दा २०७४ सालमा भएको स्थानीय निर्वाचनमा त ५७ हजार ८४३ महिला चुनावी मैदानमा नै उत्रिए । तीमध्ये १४ हजार ३५१ महिला पालिकाका विभिन्न पदहरूमा निर्वाचित पनि भए । स्थानीय तह निर्वाचनमा महिलाको कुल प्रतिनिधित्व ४०.९५ प्रतिशत रह्यो । यत्तिको प्रतिनिधित्व वैधानिक प्रावधानको कारण सम्भव भएको थियो । त्यति हुँदाहुँदै महिलाहरूले पाउनुपर्ने जति महत्त्व र अधिकार अझै पाएनन् ।

देशका कुल ७५३ स्थानीय तहका प्रमुख/अध्यक्ष पदका लागि भएको निर्वाचनमा सात महिला नगरपालिका प्रमुखमा र ११ महिला गाउँपालिका अध्यक्षमा निर्वाचित भए । यसरी जम्मा १८ महिलाले मात्र पालिका प्रमुख वा अध्यक्षमा निर्वाचित भएर स्थानीय सरकारको नेतृत्व गर्ने अवसर पाए । ‘स्थानीय तह निर्वाचन ऐन, २०७३’ मा दफा १७ को उपदफा ४ मा उम्मेदवारको मनोनयनपत्र पेस गर्दा दलले अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुखमध्ये ५० प्रतिशत महिला उम्मेदवार रहने गरी मनोनयनपत्र पेस गर्ने व्यवस्था मिलाउनुपर्ने प्रावधान छ । त्यति बेला पालिकाको उपप्रमुख/उपाध्यक्ष पद महिलाकै लागि तोकिए जस्तो गरी उम्मेदवारी थमाइएको थियो । त्यति गर्दा पनि कुल १५०६ स्थानमा पुरुष ७८८ हुँदा महिला ७१८ जना मात्र विजयी भए । महिलाको सम्भाव्य प्रतिनिधित्व पनि ३५ स्थानले कम हुन पुग्यो । यसबाट ५० प्रतिशतको उम्मेदवारी प्रावधानले मात्र परिणामतः महिलालाई न्याय भएको देखिएन । यस्तो अवस्थामा पनि पालिकाको नेतृत्वमा उम्मेदवार बनेर निर्वाचित हुन पुगेका १८ महिलाहरू सामान्य पक्कै थिएनन् । तिनैमध्ये एकमा सीताकुमारी पनि पर्नुभयो ।

नयाँ शासकीय स्वरूप, नयाँ अभ्यास, वैधानिक तथा भौतिक पूर्वाधारहरूको अपर्याप्तता/अभाव जस्ता कारणले सबै पालिकामा एक प्रकारको अन्योल थियो । त्यस्तो बेला पुरुषहरूकै बाहुल्य रहेको संरचनामा नवनिर्वाचित प्रमुख/अध्यक्ष बनी नेतृत्वदायी भूमिका निर्वाह गर्नु महिलाका लागि झनै चुनौतीपूर्ण थियो । नागरिकका अपेक्षा चुलिएका थिए । सीताकुमारीका सामु पनि चुनौतीका पहाड खडा थिए । चुनौतीहरूबिच गाउँपालिका अध्यक्षको जिम्मेवारी निर्वाह गरी दायित्व पूरा गर्दाको उहाँको अनुभव कस्तो रह्यो त ? विशेष गरी उहाँको नेतृत्वमा पालिकाले हासिल गरेका उपलब्धि के थिए ? उहाँको नेतृत्वशैली, बाधाअवरोध पन्छाउने उपाय के कस्ता थिए ? आफूले आफ्नो कार्यकाल र आफैँलाई फर्किएर हेर्दा उहाँले के पाउनुभयो ? भावी जनप्रतिनिधिलाई उहाँका सुझाव के के रहे ? द स्टोरी किचेनले तयार पारेको निर्देशिकाका आधारमा मूलतः यी र यस्ता प्रश्नका साथ ‘सन्धान’ को लागि फेलो पत्रकार ललिता साहले सीताकुमारीसँग उहाँको कार्यकालको अन्तिमतिर टेलिफोन कुराकानी गर्नुभएको थियो । आजको शृङ्खलामा प्रस्तुत छ, सीताकुमारी पौडेल अधिकारीसँग गरिएको सोही कुराकानी ।

करिब पाँच वर्षको कार्यकालमा तपाईंले गर्नुभएका एकदमै महत्त्वपूर्ण काम वा उपलब्धि के के हुन् भन्ने लाग्छ ?

मैले पूर्वाधार विकासतिर किसानहरूको आलु राख्नको लागि प्रदेश सरकारको सहयोगमा शीत भण्डारको निर्माण गरेँ । पालिकाभरिका सबै वडालाई सडक सञ्जालसँग जोड्न सफल भइयो । हिमाली जिल्लातिर कम बजेट आउने चलन छ । त्यसका बिच मैले जिल्लाकै सबैभन्दा धेरै बजेट ५५ करोड ६२ लाख (रुपैयाँ) सङ्घ र प्रदेशबाट ल्याउन सफल भएँ । पालिकाको दुई वटा वडामा कालोपत्रे थिएन । उक्त बजेटले दुइटै वडाको कालोपत्रेको काम सुरु गरिसकेका छौँ र छिट्टै सम्पन्न हुनेछ ।

शिक्षातिर सबैजसो विद्यालयहरूमा पालिकाको बजेटबाट विद्यार्थीहरूलाई खाजा खाने क्यान्टिनको निर्माण गरी पालिकाकै बजेटबाट खाजा ख्वाउने गरिएको छ । त्यसैगरी स्वास्थ्यतिर अपाङ्गता भएका व्यक्ति, अशक्त तथा वृद्ध आमाबुबाहरूका लागि सामाजिक सुरक्षा भत्ताको भरमा मात्रै नभई उनीहरूका लागि सुरक्षित तरिकाले आवास योजना नै ल्याइएको छ । त्यसको भवन निर्माणसँगै अन्य कामहरू सुचारु छन् । त्यसमा छिट्टै १५ जना असहाय बालबालिका र १५ जना वृद्धवृद्धालाई सम्पूर्ण सेवा सुरक्षा दिई राख्ने योजना रहेको छ । युवाको हकमा पालिकामा राष्ट्रिय स्तरको खेल मैदानको निर्माण गर्न लागेका छौँ ।

मैले जितेर आएदेखि नै समाजको निम्न वर्ग, दलित, असहाय र एकल महिलाका लागि योजनाहरू प्राथमिकतामा राखेर कामहरू गर्दै आएको छु । म आफैँ पनि एकल महिला भएको अनुभूतिबाट प्रेरित भएर ५० जना एकल महिलाहरूका लागि जीविकोपार्जनको योजनासमेत ल्याएको छु । त्यो बिस्तारै कार्यान्वयनको चरणमा छ ।

महिला सवालमा थप केही विशेष निर्णय वा काम पनि गरिएका छन् कि ?

महिलाकै सवालमा केही विशेष गर्न सकेको त छैन तर बालबालिका कोष, एकल महिला कोषलगायतका विशेष निर्णयहरू गरेका छौँ ।

यस्ता निर्णय गरी उपलब्धि प्राप्त गर्न तपाईंले आफूलाई कसरी तयार गर्नुभयो ?

मैले चुनावकै बेला भोट माग्न जाँदै म एकल महिला भएको संवेदनाले हैन मेरो क्षमतालाई भोट दिनु होला भनेर जनतासँग निवेदन गरेको थिएँ ।

उपलब्धि हासिल गर्ने गरी काम गर्न संवेदना हैन क्षमता चाहिन्छ भन्ने तपाईंलाई किन लाग्यो ?

म जित्नुपूर्व नै यहाँ फोहोरमैला व्यवस्थापनको व्यापक समस्या थियो । विगत पाँच वर्षदेखि (फोहोरमैलाको व्यवस्थापन) गर्न खोजेका छौँ तर जग्गा विवादको कारण सफल भएको छैन । फोहोरमैला व्यवस्थापन तथा वर्गीकरणको लागि हामीले पटकपटक सुरुआत गर्‍यौँ तर बस्तीका केही मान्छेको अवरोधका कारण सुरुआत भए पनि काम पूर्ण भएको अवस्था छैन ।

तपार्ईंले पूरा गर्नुभएका अरू कामले पालिकावासीको जीवनमा कस्तो प्रभाव परेको छ ? यसबारे कसैले तपाईंलाई केही भनेको पनि छ कि ?

पालिकाभरिमा एउटा चर्चा त पक्कै पनि छ कि सीता अधिकारीले पालिकामा आफूले पनि कसैसँग भ्रष्टाचारबापतको पैसा लिँदैन र कर्मचारीलाई पनि लिन दिएको छैन बरु नियमसम्मत काम गरेको छ । हो, पालिकामा जब म विद्यालय अनुगमन गर्न जान्छु, जब म योजना अनुगमन गर्न जान्छु, त्यति बेला प्रधानाध्यापक, गाउँका बुद्धिजीवी जस्ता व्यक्तिले मलाई भन्नुहुन्छ कि तपाईंले धेरै राम्रो काम गर्नु भा’ छ । उहाँहरूले यस्तो भन्नुहुन्छ । त्यसले मलाई थप ऊर्जा प्रदान गरेको छ ।

नेतृत्वमा आउँदा तपाईंलाई केही कुराको डर थियो ?

मेरो पालिकामा केही वर्ष पहिलादेखि केही व्यक्तिहरूले सरकारी जग्गामा घर बनाएर बसिरहेका छन् । सो अतिक्रमण हटाउने भनेर मैले धेरै पहिलादेखि योजना बनाइरहेको तर भूमि आयोग पुनः गठन गरेर आइसके पनि उक्त काम अहिलेसम्म गर्नसकेको छैन । यसमा डरभन्दा पनि एउटा मानसिक तनावको रूपमा केही व्यक्तिहरूले मलाई ज्यानै मार्ने धम्की दिए । ट्रकले किचेर मार्ने योजना बनाएको कुरा मेरो कानसम्म आइपुग्यो तर पनि म डराएको छैन । मैले स्थानीय सरकारको प्रमुख भएर पनि राष्ट्रकै सम्पत्ति मास्नबाट जोगाउन सकिनँ भनेर कहिलेकाहीँ आफूलाई हीनताबोध हुन्छ ।

डराएको छैन त भन्नुभयो तर त्यो तनाव र हीनताबोधलाई हटाउन तपाईंले के गर्नुभयो ?

मैले हिम्मत हारेको छैन तर त्यस्ता व्यक्तिहरूको विरुद्ध स्थानीय सरकार सञ्चालन ऐनअनुसार पनि मैले अझैसम्म एकल निर्णयले केही गर्न सकेको छैन ।

स्थानीय सरकार प्रमुख भएर काम गर्दा तपाईंलाई थप के कस्ता बाधाअड्चनहरू आइपरे ?

हामीकहाँ तीनवटै तहको सरकारमा नियम कानुन बनाउन मिल्छ, सकिन्छ तर बाधाका कारण मनमा ठुलै चुनौती देखिएको छ । बजार अनुगमनको पाटोमा पनि काम गर्न बाधा छ । बजार अनुगमनको लागि हामीसँग कानुनी अधिकार छ, छिनमै निर्णय गर्न पाउने व्यवस्था छ तर स्थानीय बजार सञ्चालनमा ‘एलबी’ व्यवस्था गरिएको छ । हामीले त्यसको कार्यान्वयन गर्न खोज्दा व्यावहारिक चुनौती आइपरेको छ । नियमसङ्गत ढङ्गबाट पनि मेरो मनमा यस्ता बाधाअड्काउ फुकाउन उपायहरू आए पनि मैले त्यसलाई कार्यान्वयन गर्न सकेको छैन ।

बाधाहरू आउनुपछाडिका कारण के के थिए होलान् ?

यस्ता बाधाहरू आउनुको प्रमुख कारण हाम्रो समाजमा मानसिक रूपले नै एक अर्काको खुट्टा तान्ने प्रवृत्ति र काम गर्नुभन्दा राज्यको रकममा भागबन्डा गरी रमाउन खोज्ने चलन हो । अर्को, मेरो व्यक्तिगत विचारमा सहीलाई सही र गलतलाई गलत भन्न सक्नुपर्ने हो तर यो समाजमा त्यस्तो छैन । मेरो व्यक्तिगत मानसिकताले पनि यो समाज नै त्यस्तो भएको हुनाले मैले काम गरिरहँदा त्यस्ता बाधाहरू आइपरेको स्वाभाविक हो ।

तपाईंले ती बाधालाई पन्छाउन के कस्ता रणनीतिको प्रयोग गर्नुभयो ?

आफू निर्वाचित भएर आइसकेपछि मैले जहिले पनि आफू भ्रष्टाचार नगर्ने र आफू मातहतका कर्मचारीलाई पनि भ्रष्टाचार गर्न नदिने भन्ने एकसूत्रीय नीति र सहज शैली अपनाएँ । हामीले नियमसङ्गत काम गरेका छौँ । यस्तो गर्दा सुरु सुरुमा धेरैलाई नराम्रो पनि लाग्न सक्यो होला तर पछि पछि तिनै व्यक्तिहरूले हामीलाई राम्रो गरेको भनेर भन्नलाई बाध्य छन् ।

बाधा पन्छाउने यस्तो रणनीति तपाईंले कसरी सिक्नुभयो ?

मसँग त्यस्तो कुनै विशेष क्षमता त छैन तर मनले, पौरखले, पैसाले जसरी भ्याएँ, समाजको लागि जहिले पनि केही गर्न खोजेँ । यसरी गर्दै र सिक्दै गएको हो ।

पहिला पनि यस्तो रणनीतको प्रयोग गर्नुभएको थियो ? उदाहरण भए त्यो पनि बताइदिनुस् न !

पहिलादेखि यस्तो तरिकाले काम गर्दै र सिक्दै आएको हो । उदाहरण अहिले भन्न सक्तिनँ ।

निर्वाचित भएर पालिकामा आएपछि तपाईंले कसरी नेतृत्व गर्नुभयो ? कस्तो प्रकारको नेतृत्व शैली अपनाउनुभयो ?

मैले पालिका अध्यक्षको रूपमा निर्वाचित भएर काम गर्दै जाँदा समाजमा निष्पक्ष भएर काम गरेँ । त्यसरी नै काम गर्न सिकेँ । आलोचनाका बिच पनि राम्रो काम गरिरहेँ । राम्रो काम गरिसकेपछि आफैँ त्यसको मूल्याङ्कन हुन्छ भन्ने आत्मविश्वास ममा आयो । अझ नयाँ कुरामा मैले योजना तर्जुमा गर्न सिकेँ । कर्मचारी जो र जस्तोसुकै भए पनि आफूले नीति नियमअनुसार काम गर्ने अडान लिएँ र त्यसैअनुसार काम गर्न सिकेँ ।

नेतृत्वको त्यो शैली तपाईंले कहाँबाट सिक्नुभयो ? कसैबाट प्रेरित पनि हुनुहुन्छ कि ?

मेरो बुबा दुर्गाप्रसाद पौडेल २०४४ सालतिर गाउँ पञ्चायतको अध्यक्ष हुनुहुन्थ्यो । उहाँको कार्यशैली पारदर्शी थियो । मैले सानैदेखि त्यो देख्तै आएँ । ममा पनि सानैदेखि त्यही गुण आएको छ । मलाई आमाले पनि सानैदेखि राम्रो काम गर्नुपर्छ भनेर सिकाउनुहुन्थ्यो । अरूको लिनु हुँदैन, अरूको खानु हुँदैन भनेर पनि भन्नुहुन्थ्यो । समाजको लागि केही गर्नुपर्छ भन्ने कुरामा बुबाको प्रेरणा लिएर म अगाडि बढेको छु ।

तपाईंले अभ्यास गर्नुभएको नेतृत्व शैलीले आफ्नै बारेमा केही नयाँ कुरा पनि सिकायो कि ?

समाजको लागि गर्नुपर्छ भन्ने सोच आफ्ना पुर्खाबाटै बिरासतमा पाएको छु । मेरो स्वभाव पनि त्यस्तै सोचबाट बनेको छ । नियमसङ्गत ढङ्गले निष्पक्ष शैलीमा काम गर्दै जाँदा त्यसको नतिजा स्वतः समाज र जनताको पक्षमा जान्छ । आफूले निष्पक्ष भएर गरेको कामले समाज र जनताको भलो भएको देखेँ । योसँगै आलोचकका मिथ्या आरोपहरू स्वतः परास्त हुँदै गएको देखेँ । त्यसले मलाई सही कामको लागि एक्लै भए पनि दृढ हुनुपर्ने रहेछ भन्ने पनि सिकायो । राम्रो कामका लागि अप्ठेरो परिस्थितिमा दृढ हुनसके सही नतिजा निस्कन्छ भन्ने पनि मलाई मेरै नेतृत्व शैलीले सिकायो ।

तपाईंको सिकाइ र काम गर्ने तौरतरिका वा शैलीले सहकर्मीहरूलाई कस्तो प्रभाव पारेको होला ? केही उदाहरण छन् कि ?

मसँगै काम गर्ने मेरा सहकर्मी र कर्मचारीहरूलाई सुरु सुरुमा सीता अधिकारीसँग काम गर्नु भनेको आफूलाई सुधारगृहमा राखेर काम गराए जस्तो लाग्थ्यो तर अहिले त्यस्तो लाग्दैन भन्नुहुन्छ । अहिले आएर मैले मेरो काम गर्ने तौरतरिका र शैली उहाँहरूलाई पनि बाँड्न खोजेको रहेछु भन्ने महसुस गरेको कुरा गर्नुहुन्छ । उहाँहरूले अहिले हामी एउटा राम्रो सहकर्मीसँग काम गरेका छौँ भनेर खुलेर पनि मसँग बोल्नुभएको छ ।

तपाईंको नेतृत्वलाई अझै प्रभावकारी बनाउन थप के कस्ता ज्ञान र सिप भएको भए हुन्थ्यो होला ?

मसँगै काम गर्नेहरू अझ बढी सक्षम, निःस्वार्थ र विकासीय एजेन्डामा एकमत भइदिएको भए मलाई नेतृत्वमा रहेर काम गर्न सहज हुन्थ्यो जस्तो लाग्छ ।

तपाईंले चुनावमा उठ्दा गर्नुभएको प्रतिबद्धता र परिकल्पनालाई पूरा गर्न सके जस्तो लाग्छ ?

मैले चुनावमा उठिरहँदा त्यति बेला गाउँपालिकाको लागि केही सपनाहरू देखेको थिएँ । ती कुरा चुनावी घोषणापत्रमा समेटिएका छन् । तिनैमध्ये शिक्षा र स्वास्थ्यको क्षेत्रमा गरेका प्रतिबद्धता केही हदसम्म पूरा भएका छन् । पूर्वाधारको क्षेत्रमा अझै अधुरो छ र अझ गर्नुपर्ने कामहरू थुप्रै छन् । म त भन्छु, स्थानीय तहमा पाँच वर्षमा मात्रै नभई एउटा जनप्रतिनिधिको कार्यकाल १० वर्षको हुनुपर्छ अनि मात्र उसले गरेको परिकल्पना र प्रतिबद्धतालाई पूरा गर्न र सोचेको जस्तो विकास गर्न सक्छ ।

पालिकावासीले तपाईंलाई जिताउने बेला देखाएको उत्साह अहिलेसम्म पनि देखाउँदै छन् कि के छ ?

मैले पाँच वर्ष पालिका चलाएको आधारमा यहाँका नागरिकहरू मलाई एउटै कुरा भन्नुहुन्छ, अब आउने चुनावमा अरूभन्दा पनि सीता अधिकारी अर्थात् ‘तपाईले उठ्नुपर्छ’ भनेर मलाई दबाब दिइराखेका छन् । तर, अब उठ्ने पक्षमा छैन भनेर उल्टै भन्ने गर्छु । थोरै भए पनि पालिका सिस्टममा चाहिँ गएको छ । अब मै उठ्नुपर्छ भन्ने छैन । मै जित्नुपर्छ भन्ने पनि के छ र भन्ने मलाई लाग्छ ।

स्थानीय सरकार प्रमुख हुँदा तपाईंलाई पार्टी, सहकर्मी, घरपरिवार, साथीभाइ, छिमेकी र पालिकावासीले के कस्तो सहयोग गरिदिए नेतृत्व गर्न सहज हुने थियो जस्तो लागेको छ ?

घरपरिवारसँगै पार्टीको र सहकर्मीको सहयोग अत्यावश्यक हृन्छ । योसँगै छिमेकी तथा पालिकावासीको सकारात्मक, सुधारात्मक सहयोग चाहिन्छ । त्यति मात्रै नभई हरेक काममा बराबरको अधिकार र दायित्व वहनको भूमिका देखाउनुपर्छ । गलत, अवैध तथा गैरकानुनी काम गर्नेलाई कसैले पनि साथ नदिएर रोक्ने कामको समर्थन गरिदिएदेखि स्थानीय सरकार प्रमुख भएर नेतृत्व गर्न सजिलो हुन्छ जस्तो लागेको छ मलाई ।

रसुवाको परिवेशमा स्थानीय सरकार प्रमुखको भूमिकामा एक जना महिला निर्वाचित भएर नेतृत्व गर्नु भनेको के रहेछ जस्तो लाग्छ तपाईंलाई ?

मैले पाँच वर्षसम्म काम गर्नलाई कति धेरै फलामको चिउरा चपाउनुपर्‍यो ! धेरै दुःखहरू सहेर काम गरेका ती दिनको सम्झनाले अब मेरो व्यक्तिगत चाहना छैन, फेरि पालिका अध्यक्षमा उठ्नलाई । यद्यपि, पार्टीले चाह्यो भने फेरि पनि हुनसक्छ । अहिले नै त्यो कुरा भनिहाल्न उचित देखिएको छैन ।

आफ्नो कार्यकालमै यसरी पछाडि फर्केर हेरिरहँदा तपाईंलाई कस्तो महसुस भइरहेको छ ?

मेरो आफ्नै कार्यकालमा अन्य पालिकाहरूभन्दा आफूले महिला भएर पनि देशैभरिमा उत्कृष्ट काम गरेको छु र आउँदा दिनमा पनि तुलनात्मक रूपले राम्रो गर्छु भन्ने हौसला थपिएको छ । यस कुरामा म आफैँमाथि गर्व गर्छु ।

प्रकाशन मिति : २०८१ मंसिर १३ गते, बिहीवार

पालिकाका सारथी महिलाहरूका थप कथाहरू


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here