Home Insight सुरुदेखि नै असल सोच राखेर धैर्यपूर्वक मिहिनेत गरियो

सुरुदेखि नै असल सोच राखेर धैर्यपूर्वक मिहिनेत गरियो

30
0

सन्धान संवाद शृङ्खला १५

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य भएको घोषणासहित नेपालको संविधान (२०७२) जारी भएको डेढ वर्षपछि २०७४ सालमा मुलुकमा स्थानीय तहका लागि निर्वाचन सम्पन्न भयो । २०७३ फागुन ९ गते स्थानीय तह निर्वाचनको मिति घोषणा गरिँदा २०७४ वैशाख ३१ गते मुलुकभर एकै चरणमा निर्वाचन सम्पन्न गर्ने घोषणा गरिएको थियो ।

विविध कारणले २०७४ साल वैशाख ३१ गते, असार १४ गते र असोज २ गते गरी तीन चरणमा निर्वाचन भयो । उक्त निर्वाचनमा ७४.१६ प्रतिशत मतदाताले मतदान गरे । ३५ हजार ४१ स्थानीय प्रतिनिधिको छनोट भयो । कार्यकाल २०७४–२०७९ साललाई फर्किएर हेर्दा पालिकाका सारथी महिलाहरूको लहरमा देखापर्ने नाम हो, थमसरा पुन ।

देश सङ्घीय संरचनामा रूपान्तरण भएपछि भएको पहिलो स्थानीय तह निर्वाचनमा थमसरा साबिक प्रदेश नम्बर ४ स्थित म्याग्दी जिल्लाको धवलागिरी गाउँपालिका अध्यक्ष निर्वाचित हुनुभयो । २०७५ असार २२ मा गण्डकी प्रदेश नाम राखिएको उक्त प्रदेशबाट नगरपालिका प्रमुखमा दुई र गाउँपालिका अध्यक्षमा चार जना महिला निर्वाचित भएका थिए ।

थमसरा नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट चुनावी मैदानमा उत्रिएर एक मात्र प्रतिस्पर्धीलाई पछि पार्दै दुई हजार ४९० मत प्राप्त गरी विजयी हुनुभयो । चार हजार ८४८ पुरुष र चार हजार ४८६ महिला गरी कुल नौ हजार ३३४ मतदाता रहेको धवलागिरीमा पाँच हजार ८१९ मत खसेको थियो । खसेकामध्ये सदर मत सङ्ख्या चार हजार ६५६ थियो । गाउँपालिका अध्यक्ष पदका लागि उम्मेदवारी दिँदा थमसरा ४६ वर्षकी हुनुहुन्थ्यो ।

धवलागिरी गाउँपालिका वडा नं. ४ खिवाङ साबिक वडा नं. ६ मुदी गाविस निवासी थमसराले, उहाँकै भनाइमा, स्कुले जीवनबाटै राजनीतिक यात्रा सुरु गर्नुभएको थियो । २०५४ सालमा उहाँ मुदी गाविसको वडा नं. ६ को महिला सदस्यमा निर्वाचित हुनुभयो । वडा सदस्य निर्वाचित हुँदा उहाँको उमेर २६ वर्ष थियो ।

थमसराले २०६३ सालमा एमाले पार्टीको सङ्गठित सदस्यता लिनुभयो । आफू विसं २०५४ देखि नै सो पार्टीसँग आबद्ध रहँदै आएको, २०६५ सालमा जनजाति कोटाबाट जिल्ला कमिटी सदस्य भएको र २०७४ सालमा अध्यक्षको उम्मेदवारी दिँदा जिल्ला पार्टी कमिटीको सचिवालय सदस्य र अनेमसंघको जिल्ला अध्यक्ष रहेको उहाँको भनाइ थियो ।

वडा नं. ४ कै चन्द्रज्योति प्रस्तावित मावि खिवाङ स्कुलमा २०६३ कात्तिकदेखि पढाउन थालेकी थमसरा सोही स्कुलमा २०६९ सालदेखि प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्नुभयो । २०७४ बैशाख पहिलो हप्ता राजीनामा दिएर उम्मेदवार बनेको र २०७५ सालमा त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र सङ्कायतर्फ धवलागिरी क्याम्पस बागलुङबाट स्नातकोत्तर तह उत्तीर्ण गरेको पनि उहाँले बताउनुभयो ।

थमसरालाई ‘विकास निर्माणको काम गर्न पनि च्यानल चाहिने रहेछ’ भन्ने सोचले डोर्‍याएर राजनीतिमा लाग्न प्रेरित गरेको थियो । उहाँका लागि स्थानीय सरकारको नेतृत्वमा पुर्‍याउने मूल आधार बन्यो, २०७२ सालमा जारी भएको संविधान । सो संविधानले मुलुकलाई सङ्घीय संरचनामा रूपान्तरण गर्‍यो ।

विसं २०८१ असोज ३ गते संविधान दिवसको सन्दर्भ पारेर हामीले ‘सन्धान संवाद शृङ्खला’ अन्तर्गत ‘फर्किएर हेर्दा : पालिकाका सारथी महिलाहरू’ स्तम्भ सुरु गरेका थियौँ । सोही दिनदेखि एक बिहिवार संवाद र अर्को बिहिवार रिपोर्ट पर्ने गरी हरेक हप्ता पालिकाका सारथी महिलाहरूसित सम्बन्धित सामग्री प्रस्तुत गर्दै आएको थियो । प्रस्तुत सामग्री ‘फर्किएर हेर्दा : पालिकाका सारथी महिलाहरू ’ स्तम्भको संवाद खण्ड हो । यसपछि एक साता बिराएर बिहिवारकै दिन बढीमा तीन अङ्कसम्म यो संवाद शृङ्खला प्रस्तुत हुने सम्भावना छ ।

स्थानीय तहको निर्वाचनको पहिलो चरणमा साबिक प्रदेश नं. ३ (हालको बागमती प्रदेश), प्रदेश नं. ४ (हालको गण्डकी प्रदेश) र प्रदेश नं. ६ (हालको कर्णाली प्रदेश) का ३४ जिल्लाका २८३ स्थानीय निकायका लागि निर्वाचन भयो । दोस्रो चरणमा साबिक प्रदेश नं. १ (हालको कोशी प्रदेश), प्रदेश नं. ५ (हालको लुम्बिनी प्रदेश) र प्रदेश नं. ७ (हालको सुदूरपश्चिम प्रदेश) का ३५ जिल्लाका ३३४ स्थानीय निकायका लागि निर्वाचन भयो । यस्तै, तेस्रो चरणमा साबिक प्रदेश नं. २ (हालको मधेश प्रदेश) का आठ जिल्लाका १३६ स्थानीय निकायका निर्वाचन भयो । यसरी तीन चरणमा गरी कुल ७५३ स्थानीय तहका लागि निर्वाचन सम्पन्न भयो ।

नेपालकै पहिलो निर्वाचन भने २००४ जेठ २९ गते भएको थियो । काठमाडौं म्यूनिसिपलिटीको उक्त निर्वाचनमा महिलाहरूले उम्मेदवारी दिन त के भोट खसाल्न पनि पाएका थिएनन् । महिलाहरूलाई मताधिकार नै दिइएको थिएन । देशकै पहिलो निर्वाचन भएको छ वर्षपछि २०१० सालमा अर्को निर्वाचन भयो । त्यस निर्वाचनमा महिलाहरूले मताधिकार मात्र नभएर उम्मेदवारीको अधिकारसमेत पाए ।

महिलाले यस्तो अधिकार पाएको साढे छ दशक हुनै लाग्दा २०७४ सालमा भएको स्थानीय निर्वाचनमा त ५७ हजार ८४३ महिला चुनावी मैदानमा नै उत्रिए । तीमध्ये १४ हजार ३५१ महिला पालिकाका विभिन्न पदहरूमा निर्वाचित पनि भए ।

स्थानीय तह निर्वाचन २०७४ बाट महिलाले कुल प्रतिनिधित्वको ४०.९५ प्रतिशत हिस्सा प्राप्त गरे । यत्तिको प्रतिनिधित्व वैधानिक प्रावधानको कारण सम्भव भएको थियो । त्यति हुँदाहुँदै पनि बिर्सन नहुने कुरो के रह्यो भने महिलाहरूले पाउनुपर्ने जति महत्त्व र अधिकार अझै पाएका थिएनन् ।

देशका कुल ७५३ स्थानीय तहका प्रमुख/अध्यक्ष पदका लागि भएको निर्वाचनमा सात महिला नगरपालिका प्रमुखमा र ११ महिला गाउँपालिका अध्यक्षमा निर्वाचित भए । यसरी जम्मा १८ महिलाले मात्र पालिका प्रमुख वा अध्यक्षमा निर्वाचित भएर स्थानीय सरकारको नेतृत्व गर्ने अवसर पाए ।

‘स्थानीय तह निर्वाचन ऐन, २०७३’ मा दफा १७ को उपदफा ४ मा उम्मेदवारको मनोनयनपत्र पेस गर्दा दलले अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुखमध्ये ५० प्रतिशत महिला उम्मेदवार रहने गरी मनोनयनपत्र पेस गर्ने व्यवस्था मिलाउनुपर्ने प्रावधान छ । त्यतिबेला पालिकाको उपप्रमुख/उपाध्यक्ष पद महिलाकै लागि तोकिए जस्तो गरी उम्मेदवारी थमाइएको थियो ।

समग्रमा ५० प्रतिशतको परिणाम भने महिलाको हातमा परेन । कुल एक हजार ५०६ स्थानमा पुरुष ७८८ हुँदा महिला ७१८ जना मात्र विजयी भए । महिलाको सम्भाव्य प्रतिनिधित्व पनि ३५ स्थानले कम हुन पुग्यो । यसले महिलालाई न्याय नभएको स्पष्टै देखायो । त्यस्तो अवस्थामा पनि पालिकाको नेतृत्वमा उम्मेदवार बनेर निर्वाचित हुन पुगेका १८ महिलाहरू सामान्य पक्कै थिएनन् । तिनैमध्ये एकमा थमसरा पुन पनि पर्नुभयो ।

नयाँ शासकीय स्वरूप, नयाँ अभ्यास, वैधानिक तथा भौतिक पूर्वाधारहरूको अपर्याप्तता/अभाव जस्ता कारणले सबै पालिकामा एक प्रकारको अन्योल थियो । त्यस्तो बेला पुरुषहरूकै बाहुल्य रहेको संरचनामा नवनिर्वाचित प्रमुख/अध्यक्ष बनी नेतृत्वदायी भूमिका निर्वाह गर्नु महिलाका लागि झनै चुनौतीपूर्ण थियो । नागरिकका अपेक्षा चुलिएका थिए । म्याग्दी जिल्लाको धवलागिरी नगरपालिकाको अध्यक्षमा निर्वाचित थमसराका सामु पनि चुनौतीका पहाड खडा थिए ।

विभिन्न चुनौतीका बिचमा प्रश्नहरू पनि उठ्ने नै भए । गाउँपालिका अध्यक्षको जिम्मेवारी निर्वाह गरी दायित्व पूरा गर्दाको थमसराको अनुभव कस्तो रह्यो त ? विशेष गरी उहाँको नेतृत्वमा पालिकाले हासिल गरेका उपलब्धि के थिए ? उहाँको नेतृत्वशैली, बाधाअवरोध पन्छाउने उपाय के कस्ता थिए ? आफूले आफ्नो कार्यकाल र आफैँलाई फर्किएर हेर्दा उहाँले के पाउनुभयो ? भावी जनप्रतिनिधिलाई उहाँका सुझाव के के थिए ?

द स्टोरी किचेनले तयार पारेको निर्देशिकाका आधारमा मूलतः यी र यस्ता प्रश्नका साथ ‘सन्धान’ को तर्फबाट लक्ष्मी बस्नेतले थमसरासँग उहाँको कार्यकालको अन्तिमतिर पहिलो पटक टेलिफोन कुराकानी गर्नुभएको थियो । थप जानकारी र स्पष्टताका लागि उहाँसँग २०८१ चैत दोस्रो साता पनि सम्पर्क गरिएको थियो । आजको शृङ्खलामा प्रस्तुत छ, थमसरा पुनसँग टेलिफोन सम्पर्क गरी तयार गरिएको कुराकानी ।

दुई हजार चौहत्तर सालको निर्वाचनबाट निर्वाचित भएपछि तपाईंले गर्नुभएका महत्त्वपूर्ण काम के के हुन् भन्ने लाग्छ ?

मैले विकास निर्माण र सामाजिक क्षेत्रका कामहरू गरेँ । सडक, विद्युत्, स्वास्थ्य र शिक्षामा जोड दिएँ । सबै वडामा मोटर बाटो बनाउने, सबै बस्तीमा विद्युत् सेवा पुर्‍याउने काम भयो । विद्युत्का लागि केन्द्रीय प्रसारण लाइन पुग्ने ठाउँमा त्यो लाइनबाट र नपुग्ने ठाउँमा सोलार जडान गरेर धेरै घरमा बिजुली बत्ती पुर्‍यायौँ ।

स्वास्थ्यतर्फ स्वास्थ्यचौकी निर्माण जस्ता कामलाई प्राथमिकतामा राखेँ । शिक्षातर्फ एक दर्जनभन्दा बढी मावि र निमावि चलाउन आवश्यक बजेट पालिकाबाट उपलब्ध गराएँ । पहिले ती स्कुलहरू पालिकावासी हरेकको घरबाट मासिक सहयोग उठाएर चलाइएका थिए ।

हामी नयाँ संरचनामा पालिकामा आएका थियौँ । यस्तो बेलामा मैले पालिका सञ्चालन गर्नेदेखि विकास निर्माण र सामाजिक क्षेत्र दुवैलाई प्राथमिकतामा राखेर काम गरेँ ।

नयाँ संरचनामा यी कामहरू गर्न आफूलाई कसरी तयार गर्नुभयो ?

म गाउँपालिकाको अध्यक्ष हुनुभन्दा पहिला माध्यमिक विद्यालयको प्रधानाध्यापक थिएँ । गाउँपालिकाको अध्यक्षमा उम्मेदवार हुने भनेपछि विद्यालय छोड्नुपर्ने भयो । अनि आर्थिकरूपमा पनि तयार हुनुपर्ने थियो । पालिकास्तरीय पार्टी कमिटीको सहसंयोजक थिएँ । त्यो भएकाले चुनावका लागि माहोल बनाउने काम अलि पहिलादेखि नै सुरु भयो । चुनावमा खर्च हुन्छ भन्ने थाहा थियो । पार्टी जिताउनुपर्छ भन्ने तयारीमा लागेँ ।

जब आफैँ उम्मेदवार हुने भन्ने भयो, तब व्यक्तिगतरूपमा थप तयारीहरू गर्न थालेँ । आर्थिक कुरा मुख्य थियो । शिक्षक हुँदा केही रकम जम्मा गरेको थिएँ । आधा जति कान्छा दाइले व्यवस्थापन गर्दिनुभयो । त्यो दाइ अहिले हुनुहुन्न । निर्वाचन भएको डेढ वर्षपछि बित्नुभयो ।

निर्वाचनमा जानुअघि नै चुनावमा जति खर्च हुन्छ, अध्यक्ष र उपाध्यक्षले ६० र ४० को अनुपातमा बेहोर्नुपर्छ भनेर मैले पहिले नै प्रस्ताव गरेको थिएँ । आफू उम्मेदवार भइसकेर होइन, चुनावको तयारी गर्दैगर्दा यस्तो प्रस्ताव गर्दै तयारी गरिएको हो । यो गर्नुको कारण पुरुष अध्यक्ष, महिला उपाध्यक्ष हुने होला भन्ने लागेको थियो । महिलालाई खर्चको भार बढी पर्ला भनेर पनि सोचेको थिएँ ।

चुनावी माहोल बनाउने, रणनीति बनाउने, आर्थिक आचारसंहिता बनाउनेदेखि लिएर सबै पूर्वतयारी गरेका थियौँ । स्कुलको प्रधान अध्यापक भएसँगै म पहिलेदेखि नै सामाजिक अभियानमा लागेको थिएँ । त्यसैले होला मैले भनेका कुराको सुनुवाइ हुन्थ्यो । मेरो जनआधार बलियो थियो । त्यही भएर पनि पार्टीले मलाई अध्यक्षको उम्मेदवार बनाउने भयो । त्यसपछि म जागिर छोडेर अध्यक्षको उम्मेदवारको हैसियतमा चुनावी तयारीमा लागेँ । सहयोग जुटाएँ ।

पहिला हाम्रो कुनै पनि वडामा गाडी जाँदैनथ्यो । हिँडेरै चुनावको प्रचारप्रसार गरियो । यातायात खर्च पनि जोगियो । अनावश्यक तडकभडक गरिएन । खानेकुरामा पनि धेरै खर्च गरिएन । चुनावको तयारीदेखि निर्वाचित भएर धन्यवादज्ञापन गर्न सातवटै वडामा घुम्दासम्मको खर्च जति आयो, हामीले संयुक्तरूपमा नै ६० देखि ४० को अनुपातमा त्यो खर्च बेहोर्‍यौँ ।

निर्वाचित भएपछि शपथ लिएर कुर्सीमा बस्दै गर्दा केही डर थियो कि ?

सरकार कसरी चलाउने भन्ने डर त थियो । नयाँ संरचनामा पहिलो पटक जिम्मेवारी सम्हाल्न लागेको हुनाले मनभित्र अन्य डरहरू पनि थियो । मुख्य डर चाहिँ यो विकट क्षेत्रमा न सञ्चार छ, न बाटोघाटो, न बिजुलीको सुविधा । पूर्वाधार केही छैन । पालिकावासीको अपेक्षा धेरै भन्ने लागेको थियो । अर्को कुरा, यस्तो अवस्थामा कर्मचारी आउन, बस्न नमान्ने होला भन्ने लाग्थ्यो । कर्मचारी नै नभएपछि कसरी काम गर्ने होला भन्ने पनि लाग्थ्यो । सुरुमा यस्तो खालको डर लागेको थियो ।

त्यो डरलाई हटाउन के गर्नुभयो ?

नअत्तालिइकन राजनीतिक अभिभावक र ‘सिनियर’ कर्मचारीहरूसँग छलफल गरेँ । बिस्तारै सबै ठिक हुँदै गयो । विकट क्षेत्र भएकाले मन्त्रालयको सूचना हेर्नुपर्‍यो भने पनि आधा घण्टाको बाटो हिँडेर डाँडामा पुग्नुपर्थ्यो । त्यहाँ पुगेर मोबाइलमा डाटा चलाएर सूचना ‘डाउनलोड’ गरेर ल्याउनुपर्थ्यो अनि कार्यालय पुगेर बल्ल त्यो सूचना कागजमा निकाल्नुपर्थ्यो ।

हामीले ‘यस्तो अवस्था अब धेरै राख्नु हुँदैन’ भनेर योजना बनायौँ । पालिकामा सञ्चारको व्यवस्था नगरुन्जेल कम्प्युटर र इन्टरनेट अनलाइनबाटै गर्नुपर्ने मुख्य मुख्य कामहरू गर्नलाई बेनीमा कार्यालय राख्यौँ । बेनीमा कार्यालय राखेर करिब दुई वर्ष काम गर्‍यौँ । योजना सम्झौता र चेक भुक्तानी सम्पर्क कार्यालयको काम पनि बेनीबाटै गर्‍यौँ, किनभने हाम्रो पालिकाको कार्यालय भएको गाउँमा कुनै क, ख वर्गमा पर्र्ने बैङ्क थिएन ।

हामीले अन्य सबै काम गाउँको कार्यालयबाटै गर्‍यौँ । कार्यपालिकाको बैठक, गाउँसभा, विभिन्न छलफलहरू, वडामा परामर्श गर्नेदेखि लिएर सुझाव सङ्कलन र बैठक बस्ने जस्ता सबै काम गाउँमै गर्‍यौँ ।

समस्या पर्दा हडबडाउने, आत्तिनेभन्दा पनि शान्त भएर काम गर्नुपर्छ, ढिला होस् तर विचार पुर्‍याएर काम गर्नुपर्छ, छलफल परामर्श गरी निष्कर्ष निकाल्नुपर्छ भन्ने खालका सान्त्वना दिने काम चाहिँ पार्टीबाट पनि भयो । त्यसलाई मनन गरेर डरलाई हटाउने काम गरियो ।

स्थानीय तहमा सरकार प्रमुख भएर काम गर्दा बाधाव्यवधान पनि आइपरे ?

सञ्चारको बाधा भनिहालेँ । अन्य व्यवधानको कुरामा आफ्नै पार्टीभित्रबाट पनि केही व्यक्ति र पक्षको असहयोग भयो । २०७५ सालमा नेकपा माओवादी र नेकपा एमाले एकीकरण भएपछि व्यवधान उत्पन्न भयो, काम गर्न गाह्रो भयो । सबैभन्दा गाह्रो पार्टी एकीकरणको कारणले भयो । काम गर्नै गाह्रो भयो ।

एमालेमा भोटर बढी नेता कम, माओवादीमा भोटर कम नेता बढी । अनि नेताले नेतागिरी गर्ने भए । राम्रो काम गर्दागर्दै पनि जनता तथा सहयात्रीका बिचमा यो काम भएन अथवा यसरी गर्नुपर्थ्यो, यसले गरेन भन्ने जस्ता कुराहरू गर्ने काम भए । जनताको बिचमा हामीलाई नराम्रो बनाउने, भ्रम फिँजाउने जस्ता काम भए ।

कसैले ज्ञापनपत्र लेखेर दिने, लिखित अल्टिमेटम दिने, कानुनले व्यवस्थापन नगरेका कुराहरू पनि यो गर्नुपर्छ, यो हुनुपर्छ, यो भएन, त्यो भएन भन्नेदेखि लिएर फोन गरेर पनि त्यत्तिकै तनाव दिए । दुई वर्षसम्म त काम गर्ने वातावरण नै भएन भन्दा हुन्छ ।

मलाई त नेकपा एमाले र माओवादीबाट निर्वाचित भएका जनप्रतिनिधि अभागी हो जस्तो लाग्छ, किनकि हामी जितेको एक वर्षपछि पार्टी एकीकरण भयो । पार्टी एकीकरणपछि काम भएन, तनाव मात्रै भयो । काम गर्ने वातावरण नै भएन ।

पछिल्लो समयमा पार्टी आ–आफ्नो धारमा फर्केपछि विवाद त कम भयो तर पार्टी नेतृत्व आएर हामीलाई प्रशिक्षण दिने काम भएन । यस्तो गर भन्ने सही बाटो देखाउने काम पनि खासै भएन । अघि भने जस्तो सान्त्वना दिने काम चाहिँ भएको थियो । हाम्रो गाउँपालिकाको हकमा भन्नुपर्दा आफैँ विकल्प खोज्ने आफैँ समाधान गर्ने जस्तो भयो ।

पार्टी एकीकरण हुने, पार्टी छुट्टिनेदेखि, कोराना महामारी अनि बर्खामा बाढीपहिरो जस्ता समस्या हाम्रो कार्यकालमा हामीमाथि थपिएका समस्या हुन् । तिनलाई समाधान र व्यवस्थापना गर्ने बेलामा पनि बाधाव्यवधान आइपरेका थिए ।

बाधाव्यवधानहरू आउनुका पछाडि थप कारणहरू पनि थिए कि ?

एमाले र माओवादी पार्टीबिचको एकता एउटा कारण थियो भने पालिका दुर्गम ठाउँमा हुनु अर्को कारण रह्यो । पालिकाको भूगोल ठुलो छ । कुल एक हजार ३७ वर्गकिलोमिटर क्षेत्रफल रहेको धवलागिरी गाउँपालिकाले म्याग्दी जिल्लाको झन्डै ४५ प्रतिशत भूभाग ओगटेको छ । यहाँ कहीँ हिमाली क्षेत्र छ, कहीँ बेँसी छ । १२ सयदेखि करिब आठ हजार फिटसम्मको उचाइ छ । भौगोलिक तहमा पनि विविधता भएको दुर्गम गाउँठाउँको पालिका हो यो ।

दुर्गम गाउँ भएकाले यहाँ कर्मचारी नै नहुने, आए पनि बस्नुपर्ने जति समय यहाँ नबस्ने । हाम्रो गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत डेढ दुई महिनासम्म नभएको अवस्था पनि भयो । यसले गर्दा पनि नियमित प्रशासनिक काममा अप्ठ्यारो पर्‍यो । लेखाका कर्मचारी पनि चार पाँच महिनासम्म आइदिएनन् ।

तीन पटक त काठमाडाैँमा सङ्घीय मामिला मन्त्रालयमा नै गएर लेखाको कर्मचारी पठाइदिनुपर्‍यो भनेँ । वडा सचिव पनि कम थिए । त्यस्तो भएकाले एउटै सचिवले दुई–तीन वटा वडासम्म पनि हेर्ने गरी व्यवस्था मिलाएका थियौँ । दुई–तीन जना प्राविधिक, इन्जिनियरहरूलाई करारमा राखेर काम गर्‍यौँ ।

करिब २० वर्षपछि चुनाव भएको, त्यो पनि नयाँ संरचनामा । त्यो कारणले पनि कर्मचारी व्यवस्थापनमा गाह्रो भयो । अलिपछि स्थानीय सरकारसँग स्थानीय कर्मचारीहरू नै रहने गरी लोकसेवा आयोगमा नाम निकालेका कर्मचारी आउन थाले । अब कर्मचारी व्यवस्थापन भयो भन्यो फेरि कर्मचारीबाट आफूलाई पायक पर्ने ठाउँमा सरुवा माग गर्ने हुँदोरहेछ ।

पालिकाको नेतृत्व गर्दैगर्दा मलाई सिस्टममा काम गरिरहेका अनुभवी कर्मचारीको खाँचो अनुभव भयो । काममा बाधाव्यवधान आउनुपछाडि कर्मचारी व्यवस्थापनदेखि काममा अप्ठ्यारा हुने यस्ता थुप्रै कारणहरू थिए भन्ने लाग्छ ।

सङ्घीय मामिला मन्त्रालय छ । पार्टीकै पनि स्थानीय तह हेर्ने विभाग छ । गाउँपालिका/नगरपालिका महासङ्घ पनि छन् नि ! त्यहाँबाट समन्वय भएन ?

गाउँपालिका राष्ट्रिय महासङ्घ, नगरपालिका महासङ्घले कतिपय मुद्दामा सरकारसँग समन्वय गरे । कर्मचारी व्यवस्थापनका लागि आवाज उठाउने काम गरे । बजेटहरू अड्किए, आउने ठाउँबाट सूचीकृत भएर आएको तर समयमा भुक्तानी नभएको खण्डमा सहजीकरण गरेर सहयोग गर्ने काम ती संस्थाबाट भयो । तर, दुर्गम क्षेत्रका पालिकाहरूलाई जतिबेला, अघि मैले भनेको जस्तो समस्या नै समस्या भयो, त्यतिबेला हुनुपर्ने जति सहयोग पाउन गाह्रो हुँदोरहेछ ।

बाधाव्यवधानहरू पन्छाउन के कस्ता रणनीति अपनाउनुभयो ? ती रणनीतिक सिपहरू कसरी सिक्नुभएको थियो ?

नेतृत्वमा पुगेपछि कुन बेला कहाँ के गर्नुपर्छ भन्ने कुरा थाहा हुँदैन तर मैले गर्नुपर्छ भन्ने आत्मबल ममा थियो । त्यो आत्मबलले मलाई सहयोग गर्‍यो । बिहान ९ बजेदेखि बेलुका ६–७ बजेसम्म कार्यालयमै बसेर सिक्दै, सिकाउँदै र सम्झाउँदै काम गरियो ।

व्यक्ति–व्यक्तिसँग पैसा उठाएर स्कुल सञ्चालन गरेर, प्रधानाध्यापकको पनि जिम्मेवारीमा रहिसकेको अनुभवले पनि धेरै काम गर्‍यो । एक–दुई जना मात्र स्थायी शिक्षक, अरू सबै करार शिक्षक राखेर दुर्गम ठाउँमा विद्यालय चलाउन चुनौती त थियो तर शिक्षक र प्रधानाध्यापकको भूमिकाबाट गाउँका धेरैसँग मेरो राम्रो चिनजान र सम्बन्ध भएको थियो ।

हाम्रो ठाउँमा दलित र जनजाति समुदायका बस्तीहरू धेरै छन् । ती समुदाय एकदमै पछाडि परेका छन् । विद्यालय १५० घरधुरीको सेवा क्षेत्रभित्र पर्छ । मैले अभिभावकहरूलाई विद्यालय राम्रो भयो भने हाम्रा बालबालिका शिक्षित र असल हुन्छन् अनि भोलि हाम्रो समाजले कोल्टे फेर्छ भन्थेँ । त्यसमा धेरैले मलाई विश्वास गर्नुभएको थियो । त्यो भूमिकाबाट पालिका अध्यक्ष भएपछि पनि उहाँहरूले मलाई विश्वास गरिराख्नुभयो । त्यसले मलाई आत्मबल पनि दियो ।

त्यतिबेला गाउँमा भएका स्थानीय सङ्घसंस्था, क्लबहरू, आमा समूह, सामुदायिक वन उपभोक्ता समितिलगायत सबैको साथ थियो ।

अझ कानुनको कुरा जानेको भए, मेनेज्मेन्ट विषय पढेको भए अझ सजिलो हुनेरहेछ । तर पनि विद्यालयको नेतृत्व गरेको भएर सहजै भयो ।

स्थानीय सरकार प्रमुखको रूपमा निर्वाचित भइसकेपछि तपाईंले कस्तो प्रकारको नेतृत्व शैली अपनाउनुभयो ?

नेतृत्वका शैलीहरू चार–पाँच प्रकारका हुन्छन् जस्तो लाग्छ । कुन समयमा कस्तो खालको शैली ठिक हुन्छ भन्ने पनि हुन्छ, नेतृत्वमा पुगेपछि । सुरुसुरुका केही समय त्यस्तै खालको अप्ठ्यारो, असहयोग भएका कारणले मैले प्रजातान्त्रिक ढङ्गको भन्दा पनि त्यहाँको अवस्थालाई बुझेर निरङ्कुश किसिमको नेतृत्व गर्नुपर्ने अवस्था पनि आयो । बाध्यात्मक अवस्थामा त्यो शैली प्रयोग गरेँ तर त्यो मेरो शैलीले पालिकावासीको हितमा काम गरेको थियो ।

धेरैको हितमा हुने काम छ भने नेतृत्वमा भएको व्यक्तिले एकल निर्णय पनि गर्नुपर्ने रहेछ । मैले यस्तो अनुभव गरेँ र दुरदराजका जनताको आवश्यकतालाई ध्यानमा राखेर काम गर्नतर्फ लागेँ । सुरुसुरुमा कोही व्यक्ति आगोआगो पनि भए तर बिस्तारै उनीहरू सेलाउँदै गए । बिस्तारै समस्याहरूको पनि समाधान हुँदै गयो ।

नेतृत्व गर्ने कला तपाईंले कसरी सिक्नुभयो ? कोहीबाट प्रेरित पनि हुनुहुन्छ कि ?

नेतृत्वमा पुगेको व्यक्तिले सबैलाई मिलाएर लैजानुपर्छ भन्ने खालको प्रशिक्षण पार्टीले पहिलेदेखि नै दिन्थ्यो । नेतृत्व भनेको कमलो खालको सबैलाई जुटाउने खालको हुनुपर्छ भनिन्थ्यो । सौहार्दपूर्ण वातावरणमा काम गर्न सक्नुपर्छ है भन्ने किसिमको सल्लाह, सुझाव पार्टीबाट पनि पाएँ ।

माध्यमिक विद्यालय स्थापना गरेर प्रधानाध्यापक भएको अनुभवले पनि सिकायो । काम गर्ने क्रममा कहाँ कस्तो परिस्थिति आउँछ, त्यस अनुसार पनि चल्नुपर्ने हुन्छ भन्ने लाग्छ । भ्रष्टाचार गर्नु हुँदैन, आफू इमानदार हुनुपर्छ भन्ने पहिलेदेखि नै लाग्थ्यो ।

अर्काे कुरा, मानिसलाई कामले नै बाटो देखाउने रहेछ । कामको योजना बनायो भने काम पूरा गर्न सजिलो हुन्छ भन्छौँ । कतिपय अवस्थामा पहिले नै योजना बनाएर जानुपर्छ भने कतिपय अवस्थामा परेको गर्दै र सिक्दै जाने हो भन्ने पनि लाग्छ अहिले ।

अर्काे महत्त्वपूर्ण कुरा, म पाको उमेरमा पुगेर शिक्षा हासिल गरेको व्यक्ति हुँ । पहिले सानो कक्षा पढेर छोडेँ । पछि पढ्नुपर्छ भन्ने भएर २३ वर्षमा कक्षा ८ मा भर्ना भएँ । २६ वर्षको हुँदा एसएलसी (हालको एसइई) पास गरेँ । त्यो भएर मेरो अनुभव र पढाइले पनि नेतृत्वमा पुग्दा आत्मबल अझ बढेर जानेरहेछ भन्ने अनुभूति भयो ।

समाज परिचालन गर्ने बेलामा, विद्यालय नेतृत्व गर्ने बेला, पार्टीभित्रका अन्तद्र्वन्द्वका चुनौती सामना गर्ने बेलामा पनि काम गर्न सकियो । त्यसैले गर्न चाह्यो भने समस्याका उपायहरू निस्किँदो रहेछ भन्ने लाग्छ । गाउँपालिका कार्यालय, हस्पिटल, वडा कार्यालय कहाँ राख्ने भन्ने खालका विकास निर्माण सम्बन्धमा पनि विवादै विवाद थियो । ती पनि समाधान गर्दै लगियो ।

कार्यकाल सकिन लाग्दा चुनावमा गरेका प्रतिबद्धता र परिकल्पनालाई पूरा गर्न सकियो जस्तो लाग्छ ?

हाम्रो क्षमता, हामीले पाएको र हामीसँग भएको स्रोतसाधनलाई प्रयोग गरेर जनताको अपेक्षा पूरा गर्न सहज छैन । तर, हामीले विशेष गरेर कोभिड–१९ महामारीलाई नियन्त्रणमा राख्न सक्यौँ । २०७६/७७ सालमा विनाशकारी बाढीपहिरो पनि गयो । फेरि धेरै आर्थिक स्रोत त्यता लगाउनुपर्ने अवस्था आयो । पार्टी एकबद्ध भएको भए र पालिकाको आर्थिक स्रोत बलियो भएको भए धेरै गर्न सकिने रहेछ । विविध चुनौती र बाधा हुँदाहँुदै पनि हामीले गरेको प्रतिबद्धता, घोषणा र परिकल्पनाको करिब ७० प्रतिशत पूरा भए जस्तो लाग्छ ।

तपाईंलाई आफ्नै कार्यकालमा भएका कुन कुन कुरामा सबैभन्दा धेरै गर्व लागेको छ ?

आफैँलाई गर्व लाग्ने तीन–चार वटा काम गरेँ भन्ने लाग्छ । सामाजिक विकासतर्फ स्वास्थ्य र शिक्षामा सुधार ल्यायौँ । पहिले यहाँ एउटा सिटामोल किन्न, गर्भजाँच गर्न, सानो बच्चालाई नियमित सुई लाउन कम्तीमा पनि पाँच–छ घण्टा हिँडेर जानुपर्ने ठाउँहरू थिए । ती ठाउँमा दुई जना कर्मचारीसहित निःशुल्क सामुदायिक स्वास्थ्यचौकी स्थापना गरियो । स्थानीय जनताले सेवा पाउनुभएको छ । निःशुल्क जग्गा प्राप्ति गरेर, बजेट स्वीकृत गरेर पनि हस्पिटल भवन धमाधम निर्माण भइरहेका छन् ।

अनाथ बालबालिका, अपाङ्गता भएका सन्तानका अभिभावक र त्यसमा पनि आर्थिक अवस्था नाजुक भएका दुरदराजका बालबालिकाका लागि आवासीय विद्यालय खोल्यौँ । खाने, बस्ने र पढाउने व्यवस्थासहितको विद्यालय सञ्चालन गरेका छौँ । त्यहाँ २५ जना विद्यार्थी छन् र ७५ जना लाइनमा छन् । तीन तलाको भवन व्यवस्थित हुन अन्तिम चरणमा छ ।

अर्काे गर्व लाग्ने काम विद्युत् सेवा हो । हामी निर्वाचित हुने बेलामा विद्युत्को केन्द्रीय प्रसारण लाइनको व्यवस्था कुनै पनि वडामा थिएन । अहिले तीन वटा वडामा केन्द्रीय लाइन जडान गरिसकेका छाैँ । दुइटा माइक्रोहाइड्रो चलिरहेको छ । त्यसलाई मर्मत गरेर क्षमता बढाएका छौँ । माइक्रोहाइड्रो पनि उत्पादन गर्न नसक्ने र केन्द्रीय लाइन पनि लान नसकिने अवस्थाका बस्तीहरूमा पावरहाउससहितको सोलार सिस्टम जोडेर घर उज्यालो बनाइदियौँ । ३०–४० लाखभन्दा बढी लगानी गरेर, पोल र तारसहितको सोलार सिस्टम जोडेका छौँ ।

बाढीपहिरोले दुई ठाउँमा ठुलो क्षति गर्‍यो । त्यो क्षति नभएको भए उज्यालो पालिका घोषणा गर्ने तयारी थियो । पहिरोले ध्वस्त बनाइदियो । यसैले घोषणा गर्न सकिएन । ध्वस्त भएकालाई फेरि बनाउने र वडा नम्बर ३ र ५ मा विद्युत् सेवा पुर्‍याउन बाँकी छ । कति कामहरू प्रदेश सरकारसँगको समन्वय र जनताको पनि १० प्रतिशतको योगदानमा भए । यसरी लगभग १६० घरधुरीलाई ५०/५० वाटको सोलारबाट वितरण गरेका हौँ । यसले गर्दा लगभग हाम्रो यहाँका जनताको घर उज्यालो भएको छ । अँधेरामा बस्नुपरेको छैन ।

हामी निर्वाचित हुँदा दुई वटा वडामा कच्ची सडकले छोएको मात्रै थियो । तीन–चार महिना मात्र राम्रो बाटो हुने अरू बेलामा धुलो र हिलाम्य हुन्थ्यो । पछि १ नम्बर वडाबाहेक अन्य सबै वडा कार्यालयसम्म मोटर बाटो पुर्‍यायौँ । आफ्नो कार्यकालमा पुल बनाउन सकिएन । दुई–चार बस्तीमा एक घर, एक धारा योजना पनि सम्पन्न गर्‍यौँ । कुवाको पानी ल्याउन दुई–तीन घण्टा कुर्नुपर्ने, कुवाको पानी खाँदा विभिन्न किसिमका महामारी फैलने जस्ता समस्या थिए । त्यस्ता समस्याबाट स्थानीय मुक्त भए तर खानेपानीको क्षेत्रमा अझै धेरै काम गर्न बाँकी छ ।

शिक्षाका क्षेत्रमा समस्या थियो । गाउँलेहरू मिलेर मासिकरूपमा पैसा उठाएर कम तलबमा कम योग्यता भएको शिक्षक राखेर चलाइरहेका विद्यालयहरू पनि थिए । विद्यालय सञ्चालनका लागि स्थानीयले मासिक पैसा तिर्नुपर्थ्यो । घरधुरीअनुसार महिनाको दुई सय, तीन सय उठाउने गरिन्थ्यो । त्यो बाहेक विद्यालयका लागि प्रत्येक वर्ष भैलो खेलेर, सांस्कृतिक कार्यक्रम गरेर पैसा उठाउन पर्ने हुन्थ्यो । पछि त्यसो गर्नु परेन । हामीले त्यहाँ विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनको मागको आधारमा शिक्षकको नियुक्त गरेर पठायौँ । जनताको त्यो समस्यालाई हटाउन सक्यौँ ।

पालिकाका १० वटा माध्यमिक विद्यालयमध्ये दुई वटा माध्यमिक विद्यालय मात्रै स्वीकृत भएर दरबन्दीअनुसार शिक्षक थिए । हामीले आठ वटा माध्यमिक विद्यालय र छ वटा निम्नमाध्यमिक विद्यालय सञ्चालनका लागि पालिकाबाट बजेट व्यवस्थापन गरिदियौँ । यस्ता कुरामा गर्व लाग्छ ।

म्याग्दी जिल्लाको परिवेशमा महिलाले स्थानीय तहको प्रमुख भएर नेतृत्व गर्नु भनेको के रहेछ ?

समाज अहिले पनि पितृसत्तात्मक सोच र मूल्यमान्यताकै भएका कारणले महिला भएकै कारण केही अप्ठ्यारा आए । महिलाले के गर्न सक्छन् र ? पुरुषले जति काम त गर्न सक्दैनन्, समवन्य गर्न पनि सक्दैनन् भन्ने खालको सोचाइ अहिले पनि रहेको पाएँ । यस्ता खालका आरोपहरू काम गर्ने क्रममा आइरहन्छन् भन्ने सोचेर काम गरेँ । यहाँको परिवेशमा मलाई नेतृत्वमा पुग्ने महिलाका लागि चुनौती र अवसर दुवै बराबरी हो जस्तो लाग्छ ।

तपाईंको अनुभवको आधारमा आउने प्रमुख, उपप्रमुख महिला तथा पुरुष जनप्रतिनिधिलाई के सुझाव दिनुहुन्छ ?

नेपालको सन्दर्भमा अनि हाम्रो जस्तो दुरदराजको क्षेत्रमा उच्च गुणस्तर भएको क्षमतावान् जनप्रतिनिधि पाउन गाह्रो हुन्छ । यस्तो बेलामा जुन कुनै पनि व्यक्ति आउन सक्नुहुन्छ । उहाँहरूलाई के भन्छु भने, पहिलो अध्ययनशील हुन जरुरी छ । दोस्रोमा चिन्तनशील र तेस्रोमा क्रियाशील हुनुपर्‍यो । आफूले यी तीन कुरालाई मिलाएर लग्यो भने अनि जनप्रतिनिधिलाई आवश्यक स्रोतसाधन उपलब्ध भयो भने जनताले अपेक्षा गरे जस्तो काम दिन नसके पनि जनताले गरेको अपेक्षाको नजिक पुग्न सकिन्छ ।

हामी महिलालाई डबल जिम्मेवारी छ । पारिवारिक व्यवस्थापन गर्नुपर्ने भूमिका अहिलेसम्म प्रायः महिलाकै हो भन्ने अवस्था छ । कहिलेकाहीँ घरपरिवारको व्यवस्थापनको पाटो अनि अनेक थरिका तनावले पनि बाटो बिथोलिन सक्छ । त्यस्तो अवस्थामा पहिल्यै तयार रहनुपर्छ जस्तो लाग्छ । जनप्रतिनिधि भएपछि अलि संवेदनशील हुन जरुरी छ । बोल्दा, हिँड्दा हरेक कुरामा हामीले ध्यान दिनुपर्छ ।

आत्मविश्वासी हुनुपर्छ । म यो काम गर्न सक्छु भनेर आफ्नोे समूहभित्रको जनप्रतिनिधिसँग समन्वयात्मक भूमिका र सहकार्य गर्न पर्छ, छुट्याउन हुँदैन । काम गर्न डराउन भएन तर आर्थिक पारदर्शिता हुनुपर्छ । जनप्रतिनिधिले कहिल्यै पनि पेस्की लिनु हुँदैन । ठेक्कापट्टामा मुछिनु हुँदैन । उपभोक्ता समितिमा मुछिनु हुँदैन ।

जनप्रतिनिधिले अनुगमन गर्नुपर्छ । सल्लाह, सुझाव दिनुपर्छ । आर्थिक पाटो अर्थात् भ्रष्टाचार गर्नबाट जोगिनुपर्छ, महिला जनप्रतिनिधि भए पनि पुरुष भए पनि । राम्रोसँग काम गर्दै जाँदा पनि मानवीय त्रुटि त हुन्छन् नै । विधि प्रक्रियालाई पछ्याउँदै जाने हो भने कुनै पनि निर्णय अपाच्य हुँदैन । यसैले पालिकाको हितमा चाहिने काम गर्न डराउनु हँदैन ।

पालिकावासीले तपाईंलाई नेतृत्वदायी पदमा जिताएकोमा कस्तो महसुस गर्छन् होला भन्ने लाग्छ ?

समुदाय र जनता जहिले पनि सत्ताको विरुद्धमा हुँदा रहेछन् । सबै जनाको मन बुझाउन नसकिँदो रहेछ । आर्थिक दायित्वसहितको नेतृत्वप्रति जनताले धेरै खालका आशा अपेक्षा गरेका हुँदा रहेछन् तर स्थानीय स्रोतसाधन धेरै नहुने र सङ्घबाट आउँदा पनि गाउँपालिकामा जनसङ्ख्याका आधारमा आर्थिक स्रोत कम आउने ।

आर्थिक स्रोत कम हुनाले पालिकामा सबैको मन बुझाउन गाह्रो हुने रहेछ । यस्तो अवस्थामा पनि जुन स्रोतसाधनमा मैले विकास निर्माणका काम गरेँ, जुन मुद्दाहरूलाई मैले प्राथमिकतामा पारेँ, त्यसलाई समग्रमा हेर्दा फेरि पनि मलाई नै अध्यक्ष बने हुन्थ्यो जस्तो गर्नुहुन्छ ।

पहिलो कार्यकालमा काम गर्दा विभिन्न बाधाअड्चन आए । अब अलि सहज भएका बेला काम गर्न सहज हुन्छ । यसैले ‘फेरि तपाईं नै बन्नू’ भनेर पनि भन्नुहुन्छ । यो भन्नुको मतलब म आलोचित मात्रै भएको होइन, उहाँहरूको दृष्टिमा विश्वास गर्न लायक भएर काम गर्न पनि सकेछु भन्ने लाग्छ ।

समग्रमा आफ्नो कार्यकाललाई पछाडि फर्केर हेर्दा कसरी विश्लेषण गर्नुहुन्छ ?

आफ्नो कार्यकालमा मैले पूर्णरूपमा सफल भएर काम गरेँ त भन्न सक्दिनँ तर कोसिस अत्यधिक गरेको हो । अभावै अभावको परिस्थितिमा नेतृत्व गर्दा ६०–७० प्रतिशत काम गर्न सके जस्तो लाग्छ । जनताका अगाडि नबोले पनि भित्री आत्मादेखि यी ठाउँमा यो काम गर्न पाए हुन्थ्यो भन्ने लाग्छ । यसरी हेर्दा त गर्नैपर्ने धेरै छ, त्यही भएर आफैँलाई पनि आत्मसन्तुष्टि चाहिँ नहुने रहेछ ।

अन्त्यमा आएर हेर्दा आर्थिक विकासतर्फ, शिक्षातर्फ र स्वास्थ्यतर्फ कार्यक्रम गरियो । सरसफाइ क्षेत्रमा भने गर्न सकिएन । जनपरिचालन गर्न पनि सकिएन । यी दुई वटा कुरामा अलिकति चुक्यौँ कि जस्तो लागेको छ ।

अरू पनि केही भन्न मन छ ?

गाउँपालिकाको अध्यक्ष भएर सय प्रतिशत नै काम गर्छु भन्ने लाग्ने रहेछ तर केही कामहरू प्रयास गर्दा पनि नसकिने रहेछन् । विभिन्न कारणले गर्दा पनि सम्भव नहुने रहेछ । आगामी दिनमा म जहाँ हुनेछु, गर्न सक्ने काम र मेरो जिम्मेवारी पूरा गर्नेछु । अहिले आर्थिक दायित्वसहितको जिम्मेवारीमा जनतासँग छु । पछि यो पदमा नहुँदा पनि नैतिक दायित्वसहितको जिम्मेवारीमा हुनेछु । जनताको घरदैलोमा सधैँ साथमै हुनेछु ।

मैले द स्टोरी किचेनले तयार गरेको निर्देशिकाका आधारमा तपाईंलाई केही प्रश्न गरेँ । यसरी कुराकानी गर्दा तपाईंलाई कस्तो अनुभव भयो ?

म त गाउँमै बस्छु, आफूले गरेको काम भन्न पाउँदा खुसी लाग्यो । मलाई सम्झेर धेरै सोधेर मेरो कामलाई लेख्दिन लाग्नुभयो । तपाईंहरूलाई धन्यवाद !

प्रकाशन मिति : २०८१ चैत २१ गते, बिहीवार

पालिकाका सारथी महिलाहरूका थप कथाहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here