Home Opinion निष्ठापूर्वक काम गरे सफल भइँदो रहेछ

निष्ठापूर्वक काम गरे सफल भइँदो रहेछ

58
0

सन्धान संवाद शृङ्खला ४

कार्यकाल २०७४–२०७९ साललाई फर्किएर हेर्दा पालिकाका सारथी महिलाहरूको लहरमा देखापर्ने नाम हो, मन्जु मलासी । उहाँ देश सङ्घीय संरचनामा रूपान्तरण भएपछि भएको पहिलो स्थानीय तह निर्वाचनमा साबिक प्रदेश नम्बर ७ स्थित डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका प्रमुख निर्वाचित हुनुभयो । २०७५ असोज २२ मा सुदूरपश्चिम प्रदेश नाम राखिएको उक्त प्रदेशबाट नगरपालिका प्रमुखमा एक र गाउँपालिका अध्यक्षमा एक महिला निर्वाचित भएका थिए । उहाँ नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट चुनावी मैदानमा उत्रिएर अन्य पाँच प्रतिस्पर्धीलाई पछि पार्दै चार हजार ४२८ मत प्राप्त गरी दिपायल सिलगढी नगरपालिका प्रमुखमा विजयी हुनुभएको थियो । उहाँ नगरपालिका प्रमुखमा देशभरबाटै निर्वाचित सात महिलामध्ये एक हुनुहुन्थ्यो । २०७४ असार १४ गते भएको नगरपालिका पदाधिकारीका लागि भएको सो निर्वाचनमा कुल १० हजार २४३ मत खसेकोमा सदर मतको सङख्या आठ हजार ९४५ थियो । निर्वाचनका लागि उम्मेदवारी दिँदा उहाँ ४७ वर्षको हुनुहुन्थ्यो ।

डोटी निवासी मन्जुले २०४८ सालमा राजनीतिक यात्रा सुरु गर्नुभएको थियो । उहाँ पार्टीको जिल्ला उपाध्यक्ष पनि बन्नुभयो । २०५६ सालमा अखिल नेपाल महिला संघको सदस्य बनेकी मन्जुले राजनीति रोज्नुको कारण थियो समाजसेवा । नगरपालिका प्रमुखमा निर्वाचित भएपछि उहाँका सामु समाजसेवाको क्षेत्र फराकिलो बन्यो ।

मन्जुलाई स्थानीय सरकारको नेतृत्वमा पुर्‍याउने मूल आधार बन्यो, नेपालको संविधान । २०७२ सालमा जारी सो संविधानले मुलुकलाई सङ्घीय संरचनामा रूपान्तरण गर्‍यो । हामीले २०८१ असोज ३ गते संविधान दिवसको सन्दर्भ पारेर ‘सन्धान संवाद शृङ्खला’ अन्तर्गत ‘फर्किएर हेर्दा : पालिकाका सारथी महिलाहरू’ स्तम्भको सुरुवात गरेका थियौँ । सोही दिनदेखि एउटा बिहिवार संवाद र अर्को बिहिवार रिपोर्ट पर्ने गरी हरेक हप्ता पालिकाका सारथी महिलाहरूसित सम्बन्धित सामग्री प्रस्तुत गर्दै आएका छौँ । प्रस्तुत सामग्री ‘फर्किएर हेर्दा : पालिकाका सारथी महिलाहरू ’ स्तम्भको संवाद खण्ड हो ।

मुलुक सङ्घीय संरचनामा गइसकेपछि तीन चरणमा स्थानीय तहको निर्वाचन भयो । पहिलो चरणमा २०७४ वैशाख ३१ गते ३४ जिल्लाका २८३, दोस्रो चरणमा २०७४ असार १४ गते ३५ जिल्लाका ३३४ र तेस्रो चरणमा २०७४ असोज २ गते आठ जिल्लाका १३६ गरी कुल ७५३ स्थानीय तहका लागि निर्वाचन भएको थियो । नेपालकै पहिलो निर्वाचन भने २००४ जेठ २९ गते भएको थियो । तत्कालीन काठमाडौं म्यूनिसिपलिटीको उक्त निर्वाचनमा महिलाहरूले उम्मेदवारी दिन त के भोट खसाल्न पनि पाएका थिएनन् । महिलाहरूलाई मताधिकार नै दिइएको थिएन । देशकै पहिलो निर्वाचन भएको छ वर्षपछि २०१० सालमा अर्को निर्वाचन भयो । त्यस निर्वाचनमा महिलाहरूले मताधिकार मात्र नभएर उम्मेदवारीको अधिकारसमेत पाए । यस्तो अधिकार पाएको साढे छ दशक हुनै लाग्दा २०७४ सालमा भएको स्थानीय निर्वाचनमा त ५७ हजार ८४३ महिला चुनावी मैदानमा नै उत्रिए । तीमध्ये १४ हजार ३५१ महिला पालिकाका विभिन्न पदहरूमा निर्वाचित पनि भए । स्थानीय तह निर्वाचनमा महिलाको कुल प्रतिनिधित्व ४०.९५ प्रतिशत रह्यो । यत्तिको प्रतिनिधित्व वैधानिक प्रावधानको कारण सम्भव भएको थियो । परिणाम उत्साहजनक हुँदाहुँदै पनि महिलाहरूले पाउनुपर्ने जति महत्त्व र अधिकार अझै पाएनन् ।

देशका कुल ७५३ स्थानीय तहका प्रमुख/अध्यक्ष पदका लागि भएको निर्वाचनमा सात महिला नगरपालिका प्रमुखमा र ११ महिला गाउँपालिका अध्यक्षमा निर्वाचित भए । यसरी जम्मा १८ महिलाले मात्र पालिका प्रमुख वा अध्यक्षमा निर्वाचित भएर स्थानीय सरकारको नेतृत्व गर्ने अवसर पाए । ‘स्थानीय तह निर्वाचन ऐन, २०७३’ मा दफा १७ को उपदफा ४ मा उम्मेदवारको मनोनयनपत्र पेस गर्दा दलले अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुखमध्ये ५० प्रतिशत महिला उम्मेदवार रहने गरी मनोनयनपत्र पेस गर्ने व्यवस्था मिलाउनुपर्ने प्रावधान छ । त्यति बेला पालिकाको उपप्रमुख/उपाध्यक्ष पद महिलाकै लागि तोकिए जस्तो गरी उम्मेदवारी थमाइएको थियो । त्यति गर्दा पनि कुल १५०६ स्थानमा पुरुष ७८८ हुँदा महिला ७१८ जना मात्र विजयी भए । महिलाको सम्भाव्य प्रतिनिधित्व पनि ३५ स्थानले कम हुन पुग्यो । यसबाट ५० प्रतिशतको उम्मेदवारी प्रावधानले मात्र परिणामतः महिलालाई न्याय नहुने देखियो । यस्तो अवस्थामा पनि पालिकाको नेतृत्वमा उम्मेदवार बनेर निर्वाचित हुन पुगेका १८ महिलाहरू सामान्य पक्कै थिएनन् । तिनैमध्ये एकमा मन्जु पनि पर्नुभयो ।

नयाँ शासकीय स्वरूप, नयाँ अभ्यास, वैधानिक तथा भौतिक पूर्वाधारहरूको अपर्याप्तता/अभाव जस्ता कारणले सबै पालिकामा एक प्रकारको अन्योल थियो । त्यस्तो बेला पुरुषहरूकै बाहुल्य रहेको संरचनामा नवनिर्वाचित प्रमुख/अध्यक्ष बनी नेतृत्वदायी भूमिका निर्वाह गर्नु महिलाका लागि झनै चुनौतीपूर्ण थियो । नागरिकका अपेक्षा चुलिएका थिए । मन्जुका सामु पनि चुनौतीका पहाड खडा थिए । चुनौतीहरूबिच नगरपालिका प्रमुखको जिम्मेवारी निर्वाह गरी दायित्व पूरा गर्दाको उहाँको अनुभव कस्तो रह्यो त ? विशेष गरी उहाँको नेतृत्वमा पालिकाले हासिल गरेका उपलब्धि के थिए ? उहाँको नेतृत्वशैली, बाधाअवरोध पन्छाउने उपाय के कस्ता थिए ? आफूले आफ्नो कार्यकाल र आफैँलाई फर्किएर हेर्दा उहाँले के पाउनुभयो ? भावी जनप्रतिनिधिलाई उहाँका सुझाव के के थिए ? द स्टोरी किचेनले तयार पारेको निर्देशिकाका आधारमा मूलतः यी र यस्ता प्रश्नका साथ ‘सन्धान’ को लागि फेलो पत्रकार इन्दु केसीले मन्जुसँग उहाँको कार्यकालको अन्तिमतिर टेलिफोन कुराकानी गर्नुभएको थियो । आजको शृङ्खलामा प्रस्तुत छ, मन्जु मलासीसँग गरिएको सोही कुराकानी ।

करिब पाँच वर्षको कार्यकालमा तपाईंले गर्नुभएका एकदमै महत्त्वपूर्ण काम वा उपलब्धि के के हुन् भन्ने लाग्छ ?

घोषणापत्रमा खानेपानी, स्वास्थ्य र शिक्षालाई जोड दिएका थियौँ । त्यसलाई प्राथमिकतामा राखेर काम ग¥यौँ । पहिलो कुरा त घरघरमा खानेपानीको व्यवस्था ग¥यौँ । नदीको बगेको पानी जनताले खानु परेन । दोस्रो कुरा, कागती, सुन्तला, अमिलोलाई पकेट क्षेत्र बनाएर किसानहरूलाई ‘एक वडा एक कृषि’ भनेर नमुना बस्तीका रूपमा विकास गर्न लगाएका छौँ । तेस्रो कुरा, सबै वडामा भूगोल हेरेर बर्थिङ सेन्टरको व्यवस्था गरेका छौँ । गर्भवतीका लागि सुत्केरी भत्ता वडामै पुर्‍याएका छौँ । चौथो कुरा, सडक सञ्जाल विस्तार ग¥यौँ । जनसङ्ख्या हेरेर शिक्षाको स्तरमा मावि, निमावि तहका विद्यालय स्थापना गरेका छौँ । श्रम गराउने, विद्यालय नपठाउने बालबालिकालाई वर्षको १० लाख तिरेर २० जनालाई छात्रवृत्ति राखेका छौँ । यी र यस्तै काम नै मेरो कार्यकालका महत्त्वपूर्ण उपलब्धि हुन् ।

यो उपलब्धि प्राप्त गर्न तपाईंले आफूलाई कसरी तयार गर्नुभयो ?

मैले पहिलेदेखि नै जनताको नजिक रहेर काम गर्थें । स्थानीय तहमा जनताको समस्या समाधान गर्न सक्नु नै सफल नेतृत्व हो जस्तो लाग्छ । मैले जनताको समस्यालाई नजिकबाट नियालेको थिएँ र उनीहरूको आवश्यकतालाई सकेसम्म परिपूर्ति गर्ने काम पनि गर्दै आएको थिएँ ।

तपाईंले जे जस्ता काम गरी जुन उपलब्धि पाउनुभयो, ती काम गर्नुपर्छ भन्ने तपाईंलाई किन लाग्यो ?

दिपायल सिलगढीमा १८ हजार मतदातामा १२ हजार त महिलाहरू नै छन् । हामी आत्मनिर्भर बन्छौँ भन्ने अठोट लिएको देखेर हामीले महिलाका लागि काम गरेका हौँ ।

तपार्ईंले गर्नुभएका कामबाट स्थानीय नागरिकको जीवनमा के परिवर्तन भएको छ जस्तो लाग्छ ? कसैले तपाईंलाई केही भनेको पनि छ कि ?

छ नि ! मान्छे बाँच्नका लागि सबैभन्दा पहिले त खानेपानीको आवश्यकता पर्दछ । नदीको पानी पिउन बाध्य भइरहेकाहरूलाई घरघरमै धारा जडान गर्न पुग्ने गरी स्वच्छ पिउने पानी पुर्‍यायौँ । विद्यालयमा पुग्न नसकेकालाई विद्यालय गएर पढ्न पाउने अवस्थामा पुर्‍यायौँ । यसले जनताको जीवनमा नै राम्रो परिवर्तन ल्याएको छ । ‘राम्रो काम गर्नुभएको छ’ भन्छन् ।

नेतृत्वमा आउँदा तपाईंलाई केही कुराको डर थियो कि ?

मलाई केही कुराको पनि डर थिएन । मैले हरेक समूहका जनतासँग बसेर उहाँहरूको पिरमर्का बुझ्दथेँ । त्यही भएर उहाँहरूले मलाई साथ दिनुभयो । मैले उहाँहरूकै आवश्यकता र मागअनुसार काम गरेँ ।

डर त रहेनछ, स्थानीय सरकार प्रमुख भएर काम गर्दा बाधा अड्चनहरू आइपरे कि परेनन् नि ?

मलाई त्यस्तो केही बाधा अड्चनहरू पनि आएनन् । मलाई कसैको केही पनि चुनौती रहेन । पर्यटकको हिसाबले पनि सबैले ‘महिलाले पनि राम्रो गर्न सक्छन्’ भन्ने गर्छन् ।

बाधा अड्चन नआउनुका पछाडिका कारणहरू के के थिए ?

म अलि कडा स्वभावको मान्छे हुँ । ‘महिलाले चुनाव जित्यो भने अबका दिनमा बाधा नपुगोस्, महिलाहरूले पनि अवसर पाए केही गर्न सक्छन् है’ भन्दै आएकी थिएँ । भनेको कुरालाई मैले प्रमाणित पनि गरेको छु । म सबैसँग जोडिएको महिला थिएँ । प्रहरी, प्रशासन सबैसँग पनि जोडिएको थिएँ । यसैले मलाई बाधा अड्चन आएनन् बरु सबैले सहयोग गरे । यसले गर्दा मलाई काम गर्न सहज भयो ।

तपाईंले ती बाधाहरू पन्छाउन के के गर्नुभयो ? बाधा पन्छाउने रणनीतिहरू के थिए ?

कुनै पनि बाधा अड्चनलाई पन्छाउने मुख्य कुरा भनेको सजगता हो । मैले पहिलेदेखि नै सजगताको रणनीति अपनाएँ । त्यसमा धेरै कुरा पर्छन् । आफूले बेलैमा बुझेर अघि बढ्न सक्नुपर्छ ।

बाधा पन्छाउने यस्तो रणनीति तपाईंले कसरी सिक्नुभयो ? निर्वाचित हुनुअघि कत्तिको सजग हुुनुहुन्थ्यो ? केही उदाहरण छन् भने बताइदिनुस् न !

मलाई यो कुरा आफूभित्रैबाट आएको हो जस्तो लाग्छ । स्थानीय स्तरमा जनताको चाहना के हो र त्यसलाई कसरी परिपूर्ति गर्न सकिन्छ भन्ने कुरा निर्वाचनअघिदेखि नै थाहा थियो । त्यसैले मैले निर्वाचित भइसकेपछि पनि कुनै खालको अलमलमा पर्नु परेन । सङ्घीयता नयाँ व्यवस्था भएकाले सुरुमा मलाई मात्रै होइन, हामी सबैलाई केही समय अन्योल भएको थियो । त्यसलाई पहिले नीतिनियम बनाएर पार लगाउँदै जाने भन्ने कुरा थाहा भएपछि काम अघि बढाइहालियो । सुरुआती अन्योलको बाधालाई सजिलैसँग पन्छाएँ । त्यसपछि मैले चुनावमा दिएका आश्वासन र गरेका बाचाहरू सबैलाई मैले पूरा गर्दै गएँ ।

निर्वाचित भएर आएपछि कसरी नेतृत्व गर्नुभयो ? तपाईंको नेतृत्व शैली कस्तो थियो ?

अघि पनि भनेँ, म कडा स्वभावको मान्छे हुँ । पुरुषहरू महिलालाई नेतृत्व सुम्पिन निकै कठिन मान्ने गर्दछन् । महिलाहरू नेतृत्वमा पछाडि छन् भन्ने भावना उनीहरूमा छ । त्यस्तो अवस्थामा पनि जनताले मलाई विश्वास गरेर मतदान गरी नेतृत्व सुम्पिए । मैले राम्रोसँग पालिका कसरी चलाउने भनेर विज्ञहरूसँग छलफल गर्ने गर्थें । उनीहरूका दृष्टिमा जनताका समस्या के छन् भनेर उनीहरूसँगै सोध्थेँ । आफूले बुझेको र उनीहरूले बुझेको कुरालाई मिलाएर समाधान दिन जोड गर्थें । कडा स्वभावको भए पनि सबैसँग सौहार्दपूर्ण तरिकाले मैले नेतृत्व गरे जस्तो लाग्छ ।

नेतृत्व गर्ने त्यो शैली तपाईंले कहाँबाट सिक्नुभएको थियो र कोबाट प्रेरित हुनुहुन्छ ?

कुनै कुरा पढेर, हेरेर त कुनै कुरा परेर सिकिन्छ भन्ने कुरालाई मनन गरेँ । स्थानीय राजनीतिमा होमिँदै गर्दा अग्रजहरूले गाविस चलाएको कार्यशैलीलाई पनि पछाडि फर्किएर नियालेँ । त्यताबाट पनि यता पालिकाको नेतृत्व गर्ने केही आधारभूत शैली सिकेको हुँ । सङ्घीयतापछिको पालिकाको संरचना भिन्न भए पनि नेतृत्व गर्नलाई पहिलेका केही कुरा काम लाग्छन् भन्ने पनि भयो । व्यक्तिगत रूपमा भने म कसैबाट प्रेरित छैन ।

यसले तपाईंलाई नेतृत्वका विषयमा नयाँ कुरा पनि सिकायो कि ?

नयाँ कुरा आयो । सङ्घीयता संरचनामा नयाँ नगरपालिका, हरियाली नगरपालिका, पर्यटकीय नगरपालिका बनाउनका लागि मैले गुरुयोजना नै बनाएर काम गर्नुपर्ने कुरा सिकेँ । पहिले गुरुयोजना र रणनीति नै थिएन । त्यो चाहिन्छ भन्ने बुझेपछि मैले बनाएँ । जनतालाई राखेर एक वर्षसम्म छलफल गरेर गुरुयोजना पास पनि गराएँ । असारमा नयाँ योजना आउँथ्यो भने एक महिनाअगावै सबै वडामा म आफैँ जान्थेँ । त्यहाँको समस्या बुझ्थेँ र त्यसलाई समाधान गर्ने काम गर्थें । मैले यही र यस्तै नयाँ कुरा सिकेँ ।

तपाईंको सिकाइको यो तौरतरिका र शैलीले सहकर्मीहरूलाई कस्तो प्रभाव पारेको होला ? केही उदाहरण छन् कि ?

मैले गरेको कामले पक्कै पनि मेरा सहकर्मीहरूलाई प्रभाव पारेको छ । निष्ठापूर्वक काम गरे सफल भइँदो रहेछ भन्ने कुराको प्रभाव उहाँहरूमा परेको बुझेको छु । महिलाहरू पनि नेतृत्वमा अग्रपङ्तिमा हुन्छन् भन्ने कुराको प्रमाणले उहाँहरूलाई प्रभाव पारेको छ ।

तपाईंको नेतृत्वलाई अझै प्रभावकारी बनाउन, अरू थप के कस्ता ज्ञान र सिपहरू भएको भए सहज हुन्थ्यो होला ?

सबैभन्दा ठुलो कुरो त जीवनमा जुनसुकै क्षेत्रमा जेसुकै गर्दा पनि सिकेर कहिल्यै नपुग्ने रहेछ । यसैले मैले विज्ञहरूसँग छलफल चलाउँदै उहाँहरूको सुझाव लिएर पालिकाको नेतृत्व दिने काम गरेँ । सुरुमा आफूसँग के गर्नुपर्छ भन्ने कुराको ज्ञान भए पनि कसरी गर्नुपर्छ भन्नेतिर खासै सिपहरू थिएनन् । नेतृत्वमा आइसकेपछि बिस्तारै सिकेँ, आफूलाई चाहिने जति सबै कुराहरू । अब सहज असहज भन्ने कुरो त त्यस्तै हो ।

तपाईंले चुनावमा उठ्दा मतदाताहरूसँग गर्नुभएको प्रतिबद्धता र परिकल्पनालाई पूरा गर्न सके जस्तो लाग्छ ?

मैले चुनावमा मुख्य १८ ओटा कुरामा प्रतिबद्धता गरेको थिएँ । ती कुरा पूरा गर्छु भनेर घोषणा गरेरै चुनावमा उठेको थिएँ । अहिले त्यो प्रतिबद्धतालाई सबै पूरा गरेको छु । कसैले प्रश्न उठाउने ठाउँ छैन । दुई वर्ष त कोरोना भाइरसको कारण चलेको कोभिड–१९ महामारीले गर्दा अरू काम गर्न पाइएन । त्यही महामारीका विभिन्न लहरसँग जुध्ने काम गरियो । त्यति बेला सडक कालोपत्रे गर्न पनि पाइएन । योजनाअनुसार कुनै पनि काममा अगाडि बढ्न पाइएन । तर पनि मैले चुनावमा गरेका १८ ओटा प्रतिबद्धता अहिले पूरा गरेको छु ।

पालिकावासीले तपाईंलाई जिताउँदा देखाएको उत्साह अहिले पनि देखाउँछन् कि के गर्छन् ?

पालिकावासीले अहिले पनि मञ्जुले टिकट पाइदेको भए हुन्थ्यो भन्ने जनताले महसुस गरेका छन् । मैले पाएको भए, त्यति बेला अधुरै रहेका केही काम पनि अहिले पूरा हुन्थे भन्ने जनताको महसुस छ । दोस्रो कार्यकालका लागि ‘किन टिकट दिइएन ?’ भन्ने खालको कुरा केहीले मसँग पनि गर्नुहुन्छ ।

स्थानीय सरकार प्रमुख हुँदा तपाईंलाई पार्टी, सहकर्मी, घरपरिवार, साथीभाइ, छिमेकी, पालिकावासीबाट के कस्तो सहयोग भएको भए नेतृत्व गर्न अझ सहज हुन्थ्यो जस्तो लागेको छ ?

मलाई पालिकाको नेतृत्व गर्न खासै समस्या भएन । मैले काम गर्नुपूर्व नै सबैसँग सल्लाह लिने गर्दथेँ । एउटा पालिकालाई कसरी सबल बनाउन सकिन्छ, त्यहाँका जनतालाई कसरी सरकारी सेवा सुविधाको पहुँचमा सहज तरिकाले पुर्‍याउन सकिन्छ भन्ने कुराको बोध मलाई सबैले गराइरहेका हुन्थे । सबैले सक्दो सहयोग गरेका हुन् । मलाई काम गर्न खासै समस्या भएन । नेतृत्व गर्न मलाई सहज नै भएको थियो ।

डोटीको परिवेशमा स्थानीय सरकारको प्रमुखको भूमिकामा एक जना महिला निर्वाचित भएर नेतृत्व गर्नु भनेको के रहेछ जस्तो लाग्छ तपाईंलाई ?

मलाई स्थानीय तहका लागि महिला नै एउटा सफल नेतृत्वकर्ता हुन सक्छन् भन्ने लाग्छ । महिलाले जनस्तरको भावना, चाहना र आवश्यकता बुझेर काम गर्न सक्छन् । महिलामा त्यस्तो व्यावहारिक क्षमता रहेको हुन्छ, जसबाट उनीहरूले सफल र कुशल नेतृत्व गर्ने गुण आफूमा विकास गर्न सक्छन् । मलाई केही समस्या भएन । किनकि मैले सबैलाई समेटेर सक्षम तरिकाले पालिकाको नेतृत्व गरेँ । त्यसैले व्यावहारिक गुण भएका कुनै पनि महिला एउटा सफल नेतृत्वकर्ता पनि हुन् भन्ने मलाई लाग्छ ।

आफ्नै कार्यकालमा भएको कुन कुराले तपाईंलाई सबैभन्दा धेरै गर्व लागेको छ ?

मैले मेरो कार्यकालमा शिक्षा, स्वास्थ्य र खानेपानी मुख्य यी कुरामा पालिकावासी सबैको पहुँच पुर्‍याउन पाएकोमा मलाई निकै गर्व लागेको छ । साथै, आयआर्जन, महिला र सडक विस्तारका कुरा पनि गरेँ । पालिकाको नेतृत्वमा रहेर यस्ता धेरै कुराहरू गर्न पाएकोमा मलाई गर्व लागेको छ ।

अब निर्वाचित भएर स्थानीय सरकारको नेतृत्वमा आउने महिला जनप्रतिनिधि र पुरुष जन प्रतिनिधिका लागि तपाईंको मुख्य पाँच वटा सुझाव के के छन् ?

पहिलो, आफै सक्षम हुनुस् । दोस्रो, आर्थिक प्रलोभनमा नपर्नुस् । तेस्रो, लाभ होइन काम गर्न आएको हुँ भन्ने महसुस गर्ने गर्नुस् । चौथो, जनताले औँला ठड्याउने गरी गलत काम नगर्नुहोस् । पाँचौँ, पालिकावासी सबैको समस्या बुझ्नुहोस् र खासगरी पछाडि परेकालाई अगाडि ल्याउन सक्दो प्रयास गर्नुहोस् । यही सुझाव दिन चाहन्छु ।

आफ्नो कार्यकाललाई अहिले यसरी पछाडि फर्किएर हेरिरहँदा तपाईंलाई कस्तो महसुस भइरहेको छ ?

यसो गर्दा मलाई गौरव महसुस भइरेहेको छ । मैले मेरो कार्यकालको पाँच वर्षको अवधिमा धेरै वर्षदेखि पछाडि पारिएका जनतालाई पनि आधारभूत सेवा सुविधाको पहुँचमा पुर्‍याउन सकेँ जस्तो लाग्छ । केही कुरा गर्न नसकेको र नभ्याएको पनि हुँला तर जनतालाई अति आवश्यक पर्ने वस्तु र सेवाहरूको पहुँचमा पुर्‍याएको छु । अहिले फर्किएर हेर्दा सन्तोष पनि लाग्छ ।

अन्तिममा, अरू केही भन्न मन लागेको छ ?

मेरो नेतृत्वमा रहेको पाँच वर्षको कार्यकालमा जसरी हामीले भ्रष्टाचारमुक्त भएर काम गरेका थियौँ, त्यसैगरी अहिलेका जनप्रतिनिधिले पनि काम गर्नुपर्छ । नेतृत्वको नैतिकता र चरित्रमा जनताले औँला ठड्याउन पर्ने गरी काम नहोस् भन्न चाहन्छु ।

मैले द स्टोरी किचेनले तयार गरेको निर्देशिकाका आधारमा तपाईंलाई केही प्रश्न गरेँ । यसरी कुराकानी गर्दा तपाईंलाई कस्तो अनुभव भयो ?

खुसी लागेको छ ।

प्रकाशन मिति : २०८१ कात्तिक १५ गते, बिहीवार

पालिकाका सारथी महिलाहरूका थप कथाहरू


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here