Home Insight पालिका बनाउनलाई मेरो आफ्नै योजना थियो

पालिका बनाउनलाई मेरो आफ्नै योजना थियो

82
0
गाडीको आडमा छुपिमाया गुरुङ उभिनु भएको छ । यो तस्विर यो स्टोरीको मुख्य तस्बिर समेत हो ।

सन्धान संवाद शृङ्खला -२

कार्यकाल २०७४–२०७९ साललाई फर्किएर हेर्दा पालिकाका सारथी महिलाहरूको लहरमा देखापर्ने नाम हो, छुपिमाया गुरुङ । उहाँ देश सङ्घीय संरचनामा रूपान्तरण भएपछि भएको पहिलो स्थानीय तह निर्वाचनमा साबिक प्रदेश नम्बर ४ स्थित लमजुङ जिल्लाको दूधपोखरी गाउँपालिका अध्यक्ष निर्वाचित हुनुभयो । २०७५ जेठ २१ मा गण्डकी प्रदेश नाम राखिएको उक्त प्रदेशबाट नगरपालिका प्रमुखमा दुई र गाउँपालिका अध्यक्षमा चार महिला निर्वाचित भएका थिए । लमजुङ जिल्लाका आठ पालिकाबाट निर्वाचित प्रमुख/अध्यक्षमा उहाँ एक मात्र महिला हुनुहुन्थ्यो । उहाँ नेपाली कांग्रेसबाट चुनावी मैदानमा उत्रिएर अन्य पाँच प्रतिस्पर्धीलाई पछि पार्दै दुई हजार ४१३ मत प्राप्त गरी विजयी हुनुभएको थियो । २०७४ वैशाख ३१ गते भएको सो निर्वाचनमा कुल पाँच हजार १२६ मत खसेकोमा सदर मतको सङख्या चार हजार ९७९ थियो । निर्वाचनका लागि उम्मेदवारी दिँदा उहाँ ५२ वर्षको हुनुहुन्थ्यो । उहाँ गाउँपालिका अध्यक्षमा देशभरबाटै निर्वाचित ११ महिलामध्ये एक हुनुहुन्थ्यो ।

दूधपोखारी गाउँपालिका–५ बस्ने छुपिमायाले २०३९ सालमा नेपाली कांग्रेसमा साधारण सदस्यबाट प्रवेश गरी आफ्नो राजनीति सुरु गर्नुभएको थियो । उहाँ २०४८ सालमा क्रियाशील सदस्य हुनुभयो । पार्टीको विभिन्न पदीय जिम्मेवारीमा पनि रहनुभयो । उहाँ समाजसेवा गर्ने इच्छाबाट प्रेरित भई राजनीतिमा लाग्नुभएको थियो ।

छुपिमायालाई स्थानीय सरकारको नेतृत्वमा पुर्‍याउने मूल आधार बन्यो, नेपालको संविधान । संविधानसभाबाट निर्मित भई २०७२ सालमा जारी सो संविधानले मुलुकलाई सङ्घीय संरचनामा रूपान्तरण गर्‍यो । २०८१ असोज ३ गते संविधान दिवसको सन्दर्भ पारेर हामीले ‘सन्धान संवाद शृङ्खला’ अन्तर्गत ‘फर्किएर हेर्दा : पालिकाका सारथी महिलाहरू’ स्तम्भको सुरुवात गरेका थियौँ । सोही दिनदेखि एउटा बिहिवार संवाद र अर्को बिहिवार रिपोर्ट पर्ने गरी हरेक हप्ता पालिकाका सारथी महिलाहरूसित सम्बन्धित सामग्री प्रस्तुत गर्दै आएका छौँ । प्रस्तुत सामग्री ‘फर्किएर हेर्दा : पालिकाका सारथी महिलाहरू’ स्तम्भको संवाद खण्ड हो ।

मुलुक सङ्घीय संरचनामा गइसकेपछि तीन चरणमा स्थानीय तहको निर्वाचन भयो । पहिलो चरणमा २०७४ वैशाख ३१ गते ३४ जिल्लाका २८३, दोस्रो चरणमा २०७४ असार १४ गते ३५ जिल्लाका ३३४ र तेस्रो चरणमा २०७४ असोज २ गते आठ जिल्लाका १३६ गरी कुल ७५३ स्थानीय तहका लागि निर्वाचन भएको थियो । नेपालकै पहिलो निर्वाचन भने २००४ जेठ २९ गते भएको थियो । तत्कालीन काठमाडौं म्यूनिसिपलिटीको उक्त निर्वाचनमा महिलाहरूले उम्मेदवारी दिन त के भोट खसाल्न पनि पाएका थिएनन् । महिलाहरूलाई मताधिकार नै दिइएको थिएन । देशकै पहिलो निर्वाचन भएको छ वर्षपछि २०१० सालमा अर्को निर्वाचन भयो । त्यस निर्वाचनमा महिलाहरूले मताधिकार मात्र नभएर उम्मेदवारीको अधिकारसमेत पाए । यस्तो अधिकार पाएको साढे छ दशक हुनै लाग्दा २०७४ सालमा भएको स्थानीय निर्वाचनमा त ५७ हजार ८४३ महिला चुनावी मैदानमा नै उत्रिए । तीमध्ये १४ हजार ३५१ महिला पालिकाका विभिन्न पदहरूमा निर्वाचित पनि भए । स्थानीय तह निर्वाचनमा महिलाको कुल प्रतिनिधित्व ४०.९५ प्रतिशत रह्यो । यत्तिको प्रतिनिधित्व वैधानिक प्रावधानको कारण सम्भव भएको थियो । परिणाम उत्साहजनक हुँदाहुँदै पनि महिलाहरूले पाउनुपर्ने जति महत्त्व र अधिकार अझै पाएनन् ।

देशका कुल ७५३ स्थानीय तहका प्रमुख/अध्यक्ष पदका लागि भएको निर्वाचनमा सात महिला नगरपालिका प्रमुखमा र ११ महिला गाउँपालिका अध्यक्षमा निर्वाचित भए । यसरी जम्मा १८ महिलाले मात्र पालिका प्रमुख वा अध्यक्षमा निर्वाचित भएर स्थानीय सरकारको नेतृत्व गर्ने अवसर पाए । ‘स्थानीय तह निर्वाचन ऐन, २०७३’ मा दफा १७ को उपदफा ४ मा उम्मेदवारको मनोनयनपत्र पेस गर्दा दलले अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुखमध्ये ५० प्रतिशत महिला उम्मेदवार रहने गरी मनोनयनपत्र पेस गर्ने व्यवस्था मिलाउनुपर्ने प्रावधान छ । त्यति बेला पालिकाको उपप्रमुख/उपाध्यक्ष पद महिलाकै लागि तोकिए जस्तो गरी उम्मेदवारी थमाइएको थियो । त्यति गर्दा पनि कुल १५०६ स्थानमा पुरुष ७८८ हुँदा महिला ७१८ जना मात्र विजयी भए । महिलाको सम्भाव्य प्रतिनिधित्व पनि ३५ स्थानले कम हुन पुग्यो । यसबाट ५० प्रतिशतको उम्मेदवारी प्रावधानले मात्र परिणामतः महिलालाई न्याय नहुने देखियो । यस्तो अवस्थामा पनि पालिकाको नेतृत्वमा उम्मेदवार बनेर निर्वाचित हुन पुगेका १८ महिलाहरू सामान्य पक्कै थिएनन् । तिनैमध्ये एकमा छुपिमाया पनि पर्नुभयो ।

नयाँ शासकीय स्वरूप, नयाँ अभ्यास, वैधानिक तथा भौतिक पूर्वाधारहरूको अपर्याप्तता/अभाव जस्ता कारणले सबै पालिकामा एक प्रकारको अन्योल थियो । त्यस्तो बेला पुरुषहरूकै बाहुल्य रहेको संरचनामा नवनिर्वाचित प्रमुख/अध्यक्ष बनी नेतृत्वदायी भूमिका निर्वाह गर्नु महिलाका लागि झनै चुनौतीपूर्ण थियो । नागरिकका अपेक्षा चुलिएका थिए । छुपिमायाको सामु पनि चुनौतीका पहाड खडा थिए । चुनौतीहरूबिच नगरपालिका प्रमुखको जिम्मेवारी निर्वाह गरी दायित्व पूरा गर्दाको उहाँको अनुभव कस्तो रह्यो त ? विशेष गरी उहाँको नेतृत्वमा पालिकाले हासिल गरेका उपलब्धि के थिए ? उहाँको नेतृत्वशैली, बाधाअवरोध पन्छाउने उपाय के कस्ता थिए ? आफूले आफ्नो कार्यकाल र आफैँलाई फर्किएर हेर्दा उहाँले के पाउनुभयो ? गर्न बाँकी कामसँगै भावी जनप्रतिनिधिलाई उहाँका सुझाव के के रहे ? द स्टोरी किचेनले तयार पारेको निर्देशिकाका आधारमा मूलतः यी र यस्ता प्रश्नका साथ ‘सन्धान’ को लागि फेलो पत्रकार विद्या राईले छुपिमायासँग उहाँको कार्यकालको अन्तिमतिर टेलिफोन कुराकानी गर्नुभएको थियो । आजको शृङ्खलामा प्रस्तुत छ, छुपिमाया गुरुङसँग गरिएको सोही कुराकानी ।

तपाईंको पालिकामा करिब पाँच वर्षको कार्यकालमा तपाईंले गर्नुभएका एकदमै महत्त्वपूर्ण काम वा उपलब्धि के के हुन् भन्ने लाग्छ ?

लमजुङ पर्यटन सहकारस् संस्था लिमिटेडको ब्यानरको अगाडी छुपिमाया गुरुङ मन्तब्य राख्दै हुनुहुन्छ भने उहाँको दायाँवाया पुरुषहरु कुर्सिमा बसिरहेका छन् । उनीहरु केही खाइरहेका छन् ।

मेरो गाउँपालिकामा धेरै चाहिँ जनजातिको समुदाय छ । त्यसमा हामीले सामाजिक भवनहरू, महिला तथा आमा समूहका भवनहरूलाई स्थापना गरायौँ । मेरो गाउँपालिकामा कच्ची बाटो पनि थिएन । सडकहरू थिएनन् । यसैले हामीले मेन मूल सडकहरू, गौँडा हुँदै पात्ले सडकलाई सडकको रूपमा निर्माण गर्‍यौँ । त्यसपछाडि राइनास, बोरङ खोला हुँदै कुनाघाट, पात्लेसम्मको रिङरोड बनाउने योजना बनाएर बाटो निर्माण गरियो । त्यसको ‘ट्र्याक ओपन’ गरियो । मेरो कार्यकालमा त्यस्ता धेरै गौरवमय विकास निर्माणका कामहरू भएका छन् ।

प्रत्येक वार्डमा वार्ड कार्यालय भवनहरू बनायौँ । स्वास्थ्यचौकी स्थापना गरायौँ । शिक्षामा चाहिँ सबै विद्यालयमा शिक्षकहरूको व्यवस्थापन गरायौँ । सबैभन्दा महत्त्वपूर्ण कुरो, अब यो राष्ट्रिय गौरवका योजनाहरूमा यहाँ एउटा १५ शैयाको अस्पताल पनि निर्माण हुँदैछ । कोभिड–१९ लागेपछाडि कोभिड–१९ को लागि पाँच बेडको अस्पताल निर्माण गरियो । तीन/तीन पटक देशमा कोभिड–१९ को लहर फैलँदै गर्दा मेरो पालिकाको मान्छेलाई बिरामी लागे पनि कोरोना सङ्क्रमित सबैलाई मृत्यु हुनबाट चाहिँ जोगाइयो ।

मेरो नेतृत्वमा नीतिगत कामहरू धेरै भए । सुरुमा हामीले नीति र कानुनहरू नबनाइकन, कार्यविधि नबनाइकन कुनै काम गर्न नपाउने अवस्था थियो । त्यल्ले गर्दा हामीले सबै नीति र कार्यविधिहरू बनाएर, त्यसैमा टेकेर त्योअनुसार काम गर्‍यौँ । सङ्घ र प्रदेशसँग नबाझिने गरेर हामीले यहाँको सबै आवश्यकतालाई बुझेर नीतिगत कामहरू गर्‍यौँ । अरू पनि धेरै काम गरियो । पर्यटन क्षेत्रमा काम भइराखेको छ । यहाँका तीन ठाउँमा ‘होमिस्टे’ पनि सुचारु गरियो । अनि मेरो गाउँपालिकामा धेरै तालतलैयाहरू छन् । तीमध्ये दुइटा तालतलैयाको संरक्षण गर्‍यौँ । अब बिजुलीको पनि सुरुआत हुँदैछ । यो आर्थिक वर्षमा अहिले तीनटा वार्डमा बत्ती बाल्न सफल भएका छौँ । थप तीनटा वार्डमा काम गर्न सुरु भइराखेको छ । गाउँपालिकाको प्रशासकीय भवन थिएन, त्यसको पनि काम गरिराखेको छ । यही असारसम्ममा निर्माण सम्पन्न हुँदैछ ।

महिलाहरूका लागि सिपमूलक र चेतनामुखी कार्यक्रमहरू ल्यायौँ । दलित अनि अपाङ्गता भएकाहरूलाई जीवन निर्वाहको कार्यक्रम पनि राखियो । पशुपालन र कृषितिर कुखुरापालन, बाख्रापालन, तरकारी खेती गराएर दलितहरूलाई र अपाङ्गता भएकाहरूलाई सहयोग गरियो । बजेट विनियोजन गर्दा चाहिँ सुरुमा हामीले बाटो तथा सडकको निर्माणमा बढी प्राथमिकता दियौँ । त्यसपछाडि वार्ड कार्यालय निर्माणमा लाग्यौँ । त्यसपछाडि लक्षित वर्ग, महिला, दलित, अपाङ्गता, कृषि, स्वास्थ्य, शिक्षामा काम गर्‍यौँ ।

यहाँको भूगोल र आवश्यकतालाई बुझेर, शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, पर्यटन, सडक, बिजुली बत्ती आदि पूर्वाधारतिर आफूलाई फोकसिङ (केन्द्रित) गरेर काम गर्‍यौँ । हामीले महिला र लक्षित वर्गलाई पनि ‘फोकसिङ’ गरेरै काम गरेको हो । सचेतना कार्यक्रमहरू राखिदिएपछाडि सबैले आफ्नो कुराहरू भन्न सक्ने भएका छन् । यहाँ परिवर्तन नै आइसकेको छ हेर्नुस् ! पहिले आफ्नो कुरा भन्न नसक्ने दलित परिवारका महिलाहरू, लमजुङको गाउँपालिकाको अन्तिम सिमानामा पर्ने मान्छेहरू पनि अहिले आफूलाई लागेको कुरा बोल्न सक्ने भएका छन् ।

हाम्रा सबै वार्डहरू गोरखासँग जोडिएको हुँदा २०७२ सालको गोरखा भूकम्पले तहसनहस भएका थिए । पुनर्निर्माणका कामहरू पनि धेरै भएको छ हाम्रोमा । मेरो गाउँपालिका एकदमै नयाँ हो । यहाँको कुनै वार्डमा पनि बिजुली बत्ती थिएन । मेरो पालिकाका सबै वार्डमा केन्द्रीय बिजुली लाइनहरू आएको थिएन । सडक पूर्वाधार पनि थिएन । यो ठाउँ विकट पनि छ । यसैले मैले भनेका यी सबै कामलाई मेरो कार्यकालमा भएका एकदमै महत्त्वपूर्ण उपलब्धिका रूपमा लिन सक्नुहुन्छ ।

यस्ता उपलब्धि प्राप्त गर्न तपाईंले आफूलाई कसरी तयार गर्नुभएको थियो नि ?

म आफैँले नीति नियम र कार्यविधिहरू हेरेँ । पालिकालाई चाहिने नीति र कार्यविधि बनाएँ । अनि आफूले सबै अभिभावकहरूलाई, मुख्यमन्त्रीहरूलाई, सहकर्मीहरूलाई समेटेर पनि कार्यक्रमहरू बनाएँ र काम सुरु गरेँ । पार्टीले पनि सहयोग गर्थ्याे । परिआएको बेलामा विपक्षी पार्टीहरूसँग पनि सहकार्य गरेर काम गरियो । मैले पालिकाको अध्यक्ष भएर मेरो पालिकाका महिलाहरूलाई कसरी अगाडि सार्न सकिन्छ भन्ने सोचेर कार्यक्रमहरू राखेँ । पालिकाको अध्यक्ष हुनुअघि मैले सामाजिक क्षेत्रमा काम गरिसकेको थिएँ । त्यसले पनि मलाई पालिकाको नेतृत्व गर्नमा मद्दत पुगेको हो भन्ने लाग्छ ।

तपाईंले जे जस्ता काम गरी जुन उपलब्धि पाउनुभयो, ती काम गर्नुपर्छ भन्ने तपाईंलाई किन लाग्यो ?

पहिल्यैदेखि मैले सामाजिक क्षेत्रमा काम गर्दै आएको हो नि ! हामी राजनीति गर्ने मान्छे । जनप्रतिनिधि बनिसकेपछि जनताकै आवश्यकता र मागबमोजिम काम गर्छु भनेर आ’को हो नि ! महत्त्वपूर्ण त यहाँको जनताको आवश्यकता र भूगोल हेरेर यहाँ यो गर्नुपाए, यसरी बाटो र बत्ती लैजानुपाए यहाँको मान्छेको जीवनमा सुधार हुन्थ्यो कि भन्ने सोचले नै काम गर्‍या हो मैले । मलाई मेरो पालिकाको आवश्यकता के हो, सम्भावना, स्रोत र सामर्थ्य के हो भन्ने पहिल्यै थाहा थियो । आफ्नो पालिकाको लागि, जनताको लागि मैले यत्ति त गर्नै पर्छ भन्ने सोचेर काम थालेको हो । मैले अगुवाइ नगरे कसले गर्छ त भन्ने पनि भयो ।

तपाईंले गर्नुभएका कामबाट स्थानीय नागरिकको जीवनमा के परिवर्तन भएको छ जस्तो लाग्छ ? कसैले तपाईंलाई केही भनेको पनि छ कि ?

शिक्षाले यहाँका नागरिकको जीवनमा परिवर्तन ल्याएको छ । स्वास्थ्यले स्वास्थ्यसम्बन्धी चेतना बढाएको छ । सफा हुनुपर्छ भन्ने चेतना ल्याएको छ । कृषिले चाहिँ तरकारी खेती र नगदेबालीहरू लगाउने तरिका सिकाएपछि उहाँहरूलाई राम्रो भएको छ । एउटा महिलालाई सिपमूलक कार्यक्रमहरूमा लाइदिएपछि त्यही सिपले आफ्नो जीविका निर्वाह गरेको उदाहरण पनि छ । दलित, सीमान्तकृत परिवारको जीवनस्तर उक्सेको छ । उदाहरणका लागि त यहाँ आएर हेरेपछि थाहा हुन्छ । मलाई भाषण र सञ्चारमा धेरै कुरा गर्न मन पर्दैन । म काम गरेर देखाउने मान्छे हो । जे बोलिन्छ, त्यही गरिन्छ । विकास निर्माण र नागरिकलाई दिनुपर्ने सेवासुविधाका काममा यो वार्डमा गर्ने, अर्को वार्डमा नगर्ने भन्ने कुरा आउँदैन । मैले त सबैलाई समान रूपले हेर्ने हो । त्यहीअनुसार समान व्यवहार गर्दै काम गरेको हुनाले कसैबाट गुनासो सुन्नुपरेको छैन । मैले त राम्रै प्रतिक्रिया पाउने गरेको छु ।

नेतृत्वमा आउँदा तपाईंलाई केही कुराको डर थियो कि ?

मलाई कुनै कुराको डर थिएन । किन डर मान्नुपर्‍यो ?

यस्तो निडर कसरी हुनुभयो ?

कसरी भन्ने ? नीति निर्माण गर्ने ठाउँमा म निर्वाचित भएर आएको हो । मैले नीति निर्माणको काम गरेँ । त्यहीअनुसार नीतिमा टेकेर काम गरियो । मैले डराउनुपर्ने गरी कुनै काम गरेको छैन । त्यही भएर मलाई कुनै डर थिएन र छैन ।

स्थानीय सरकार प्रमुख भएर काम गर्दा कुनै बाधा र अड्चन पनि आइपरे कि ?

मलाई कुनै बाधा अड्चन वा समस्या आएन । मैले यहाँको नागरिकलाई के आवश्यक छ, त्यो बुझेर काम गरेको छु । त्यसो गर्दा मलाई कुनै किसिमको अप्ठेरो आएन । सबैले मेरो कुरा पनि बुझ्नुभयो र सहयोग नै गर्नुभयो । सबैले सहयोगको भावना राखेर मलाई चुनाव जिताउनुभयो । त्यही उहाँहरूको विश्वासलाई पहिलो प्राथमिकतामा राखेर अनि मेरो नागरिकलाई, मेरो पालिकावासीलाई के काम गर्दा दिगो र राम्रो हुन्छ, त्यो बुझेर काम गरेको हो । त्यसैले पनि मलाई सबैको सहयोगै छ । कुनै कुनै काम गर्ने बेलामा केही तितामिठा कुराहरू पनि भए होलान् । त्यसलाई मैले बाधा अड्चन र समस्याको रूपमा लिएको छैन ।

तपाईंले बाधा अड्चनको सामना गर्नुपरेको रहेनछ, निर्वाचित भएर आएपछि कसरी नेतृत्व गर्नुभयो नि ? तपाईंको नेतृत्व शैलीबारे बताइदिनुस् न !

बाधा अड्चन नआउने गरी काम गर्छु भनेर मैले पहिल्यैदेखि सोचेकै हो । त्यही कारणले गर्दा मलाई यहाँको बासिन्दाले चुनावमा जिताउनुभाको हो । मेरो नेतृत्वको आधार नै त्यही हो । मेरो नेतृत्व शैली जनतालाई खुसी बनाउने खालको हो । राम्रो काम नै गरेको छु । त्यही काम नै जनताले मलाई सहयोग गर्ने आधार पनि हो । त्यही आधारलाई बलियो बनाउने गरी काम गर्ने खालको मेरो नेतृत्व शैली हो । यसलाई के नाम दिनुहुन्छ र कसरी बुझ्नुहुन्छ, आफैँ विचार गर्नुहोला ।

नेतृत्व गर्ने यस्तो शैली तपाईंले कहाँबाट सिक्नुभयो र कोबाट प्रेरित हुनुहुन्छ ?

कुर्सीमा बसेर खैरो रंगको कोट लगाएर हल्का मुस्कान दिदैं छुपिमाया गुरुङ ।

नेतृत्व गर्ने मेरो शैली मभित्रबाटै जन्मिएको हो । पार्टी र मेरो पालिकाका मतदाताले पनि यसमा केही मलजल गरेका हुन् । पहिला पार्टीमा लाग्दा पनि मैले यो जात र त्यो जात भनेर काम गरिनँ । त्यसैले गर्दा मलाई नेपाली कांगे्रसको नेतृत्वले टिकट दिनुभो । मलाई आफ्नो पार्टीले टिकट दिएपछि यहाँको जनताले पनि मलाई खुसी खुसी स्विकार्नुभो । पालिका बनाउनलाई मेरो आफ्नै योजना थियो । यो कुरा हाम्रो पार्टीभित्र पनि चलेको थियो । मैले यहाँका साथीभाइहरूसँग मिलेर काम गर्‍या हो । घोषणापत्रमा पनि मैले चुनाव जितेपछि यो यो काम गर्छु हामी नेपाली कांग्रेसकोबाट भन्ने कुरा थियो । विपक्षी पार्टीहरूबाट पनि निस्वार्थ भावना भएकाहरूले मेरो व्यक्तिगत जीवनलाई हेरेर पनि सबैले मलाई ‘सपोर्ट’ गरेको हो । म व्यक्ति र मेरो सामाजिक काम दुवै देखेर मलाई ‘सपोर्ट’ गर्‍या हो । म अविवाहित मान्छे हो । ‘यसको कुनै पारिवारिक स्वार्थ छैन । यल्ले कुनै भ्रष्टाचार गर्दिन । सामाजिक भावनाको ख्याल गर्दै विकास निर्माणको काम गर्छे’ भनेर मलाई मतदाताले जिताएको हो । मैले त्यही जनमतमा टेकेर, सबैलाई मानेर सहकार्य गर्दै त्यही विश्वासको आधारमा काम गर्‍या हो । मलाई लाग्छ, मेरो नेतृत्व शैलीको प्रेरणाको बाहिरी स्रोत मेरै मतदाता हुन् ।

पालिका प्रमुखको भूमिका र जिम्मेवारीले तपाईंलाई केही नयाँ कुरा पनि सिकायो कि ?

मलाई मेरै पार्टीको कारणबाट, पार्टीमा यसरी नै काम गरेको कारणबाट, पार्टीबाटै त्यस्तो काम गर्ने प्रेरणा मेरो मनमा जाग्यो । मैले त्यहीअनुसार काम गर्नुपर्छ भन्ने सिकेँ । आफू जन्मेको ठाउँ हो, आफ्नो भूगोल हो । सङ्घीयताले यो पालिका बनायो । स्थानीय निकाय, प्रदेश र सङ्घीय भनेर तीन तहमा सरकारलाई विभाजन गरियो । त्यही विभाजनको अनुसारमा यहाँको आवश्यकतालाई बुझेर शून्यबाट काम सुरु गर्नुपर्छ भन्ने कुरा मेरो सोचमा आको हो । साथीभाइहरूसँग, आफ्नो टिमका सबैसँग पनि सल्लाह गरेर काम गरेको हो । काम गर्दै जाँदा उत्प्रेरित पनि हुँदै गएँ । अवसर पाएमा महिलाले राम्रो नेतृत्व गरी गाउँसमाजलाई माथि उठाउन सक्छन् भन्ने कुरा मैले गरेर देखाउँदै छु । मलाई मेरो भूमिका र जिम्मेवारीले यही नयाँ कुरा सिकाए जस्तो पनि लाग्छ ।

मैले यो सङ्घीयताको विषयमा सिकेँ । सङ्घीयतामा टेकेर स्थानीय विकास निर्माणको काम गर्न पर्छ भन्ने कुरो सिकेँ । राजनीतिमा मलाई झन् बढी काम गर्ने अवसर मिल्यो । काम थालिसकेपछाडि गर्दागर्दै पनि केही नयाँ कुरा सिकेँ ।

व्यक्तिगत जीवनमा मैले सामाजिक कामहरू त पहिला पनि गरिराखेकै हो । जब चाहिँ गाउँपालिका अध्यक्ष बनेँ, त्यसपछाडि सबैको मन जित्ने काम गर्नुपर्छ भन्ने प्रेरणा मेरो आफैँभित्र जागेको हो । त्यसैअनुसार काम गर्नुृपर्छ भन्ने पनि मैले सिकेँ ।

तपाईंको सिकाइको यो तौरतरिका र कार्यशैलीले सहकर्मीहरूलाई कस्तो प्रभाव पारेको होला ? केही उदाहरण छन् कि ?

त्यो त मैले कसरी भन्ने ? मसँग काम गर्ने जनप्रतिनिधिहरूले भन्न सक्ने कुरा हो यो । अहिले भन्नलाई मसँग त्यस्तो केही उदाहरण छैन ।

तपाईंको नेतृत्वलाई अझै प्रभावकारी बनाउन, थप के कस्ता ज्ञान र सिप आफूमा भएको भए सहज हुन्थ्यो होला ?

मैले आठ कक्षा पास गरेको । त्यतिको सर्टिफिकेट छ । योभन्दा धेरै पढ्न सकेको भए नीति निर्माण र योजनाको काम अझै प्रभावकारी ढङ्गले गर्न सक्थेँ भन्ने लाग्छ ।

तपाईंले चुनावमा उठ्दा मतदाताहरूसँग गर्नुभएको प्रतिबद्धता र परिकल्पनालाई पूरा गर्न सके जस्तो लाग्छ ?

लाग्छ, तर मलाई केही अभावहरू खड्किराखेको छ । प्रतिबद्धता र परिकल्पना त त्यही हो, विकासका कुराहरू । सडक, बिजुली, खानेपानी, पर्यटन, स्वास्थ्यका कुराहरू । बाटोको कुरामा बल्ल बल्ल ‘ट्र्याक’ खोलियो । अब यल्लाई ग्राभेल गराएर पिच गराउनुपाए, आतेजातेमा सुबिस्ता बढाउनुपाए भन्ने लाग्छ । बिजुली बत्तीको बारेमा चाहिँ तीन वटा वार्डमा पोल गाड्ने काम मात्रै भइराखेको छ । अब यी वार्डमा बिजुली बत्ती बाल्दिनुपाए भन्ने लाग्छ । खानेपानीका कामहरू पनि त्यस्तै अधुरो भैराखेको छ । त्यल्लाई पूरा गर्न ‘एक घर एक धारा’ को अभियान ल्याएका छौँ । त्यसको काम चाहिँ ७० पर्सेन्ट मात्रै हुनसकेको छ । अझै ३० पर्सेन्ट काम बाँकी छ ।

पर्यटनको धेरै सम्भावना बोकेको ठाउँ हो, यो गाउँपालिकाका । यसबाट सम्पूर्ण गाउँवासीलाई फाइदा हुन्छ । पर्यटनको विषयमा गुरुयोजना बनाएका छौँ । त्यो गुरुयोजनामा चाहिँ यहाँ पनि पर्यटकहरू ल्याउनुपाए पालिकाको आयआर्जन बढ्थ्यो, स्थानीय आर्जन बढ्थ्यो भन्ने छ । यो पाँच वर्षमा हामीले जम्मा तीनटा ठाउँमा मात्रै ‘होमिस्टे’ खोल्न सफल भयौँ । यो सुरुआत मात्रै गरेको हो । अहिले पालिकाले स्थानीय आयआर्जन बढ्न सक्ने कुनै काम गर्न सकेको छैन । हामीले सुरुआत मात्रै गरेका छौँ । अब यो कोभिड–१९ भन्नेको लहर चाहिँ बर्सैपिच्छे आइराखेको छ । यसैलाई र स्वास्थ्यलाई ध्यानमा राखेर १५ शैयाको हस्पिटल बनाउँदैछौँ । यी कामहरू सम्पन्न गर्नुपाए हुन्थ्यो भन्ने सोच छ ।

पालिकावासीले तपाईंलाई जुन उत्साहका साथ जिताएका थिए, अहिले पनि त्यही उत्साहको भाव देखाउँछन् कि फरक महसुस गरेका छन् जस्तो लाग्छ ?

त्यो त सोचाइमा भर पर्छ, कति खुसी भा’ छन् कति भा’ छैनन् ! तर, धेरै मान्छे खुसी नै छन् । कहिले नगरेको कामहरू गर्नुभो भन्छन् । मैले शिक्षा, स्वास्थ्य, सडक, बत्ती, खानेपानी, पर्यटन, कृषि तथा नगदेबाली, सामाजिक भवनहरू यी कुराहरू राखेर घोषणापत्र तयार बनाएको थिएँ । त्यही घोषणापत्र र स्थानीयको आवश्यकतामा टेकेर सपै काम कुरो यो नेपालकै संविधान र नियमले जनताको जनभावनाको आधारमा दियो हैन ? माथिबाट अनुदान दिने बेलामा चाहिँ हामीलाई थोरै पर्‍यो । मेरो पालिकामा जनसङ्ख्या थोरै छ । यहाँको भूगोल ठुलो छ । त्यल्ले गर्दा पनि मैले बनाएको घोषणापत्रमा टेकेर जाँदै गर्दा कुनै कुनै कामहरू चाहिँ अधुरो नै रहेको छ । धेरैजसो चाहिँ पूरा गरिसकेँ तर कुनै कामहरू चाहिँ सक्नु बाँकी नै छ । यहाँको भूगोल हेर्ने हो भने दुइटा नगरपालिकाको क्षेत्रफलभन्दा पनि ठुलो छ । एउटा घरदेखि अर्को घरमा पुग्नुपर्दा समय पनि आधादेखि एक घण्टा लाग्छ । त्याँनिर खानेपानी, बिजुली, शिक्षा र स्वास्थ्यको सुविधा पुर्‍याउनुपर्‍यो । मैले सबै कामहरू स्थानीय माग र पार्टीको घोषणापत्रअनुसार गरेको छु । यसो गर्दा मलाई जिताएका मतदाता र स्थानीयवासीलाई मैले फरक गरेको छैन । मलाई त उहाँहरू अहिले पनि उत्साहित नै हुनुहुन्छ भन्ने लाग्छ ।

नेपालको परिवेशमा स्थानीय सरकार प्रमुखको भूमिकामा एक जना महिला निर्वाचित भएर नेतृत्व गर्नु भनेको के रहेछ जस्तो लाग्छ तपाईंलाई ?

मलाई म एक्लो भए जस्तो लागेको छैन । मैले नगरपालिका पहिल्यै भको, नगर विकास भको गाविसहरूमा पहिला पनि काम गरेको हो । मैले सबैलाई खुसी पार्ने गरी काम गर्नलाई नेतृत्व दिने हो, काम त सबैले मिलेरै गर्ने हो । सबै जनप्रतिनिधिले मसँग मिलेर काम गर्नुभएकै छ । अझै पनि मेरो तीनटा वार्डमा बिजुली बत्ती बलेको छैन । त्यसमा तारको कामहरू भैराखेको छ । स्कुल, विद्यालयहरू लथालिङ थिए । हामीले धेरैजसो विद्यालयको भौतिक संरचनालाई सुधार गरेका छौँ । हाम्रो एउटा वार्ड चाहिँ नयाँ वार्ड हो । त्यसमा स्वास्थ्यचौकी थिएन, अहिले दुइटा स्वास्थ्यचौकी पनि स्थापना गर्देको छ । मैले नयाँ स्वास्थ्यचौकीको भवनै बनाइदिएर त्यसमा कर्मचारीको पनि व्यवस्थापन गर्दिएको हो । पहिला विद्यालयहरूको शैक्षिक सत्रमा पनि नियमितता थिएन, अहिले धेरै नियमितता भएको छ । स्वास्थ्य र शिक्षामा कर्मचारी पनि नियमित बनाइदिएको छ । यस्तै हो, नयाँ पालिकामा सबै संरचनाहरू नयाँ बनाउनुपर्ने हुँदा मिलेर काम गरिराखेका छौँ, म एक्लो छैन ।

आफ्नै कार्यकालमा भएको कुन कुराले तपाईंलाई सबैभन्दा धेरै गर्व लागेको छ ?

गाउँपालिकावासीको खुसीमै मलाई गर्व छ । हामीले टोल टोलमा आमा समूहका भवनहरू, सामाजिक भवनहरूको आवश्यकता हेरेर निर्माण गर्‍यौँ । यो लमजुङ जिल्लाको छेउको एउटा गाउँपालिका हो । यो पूर्वी सिमानाको गाउँपालिका हो । यसको भूगोल लगभग मनाङ जस्तै हो । हिउँले पुरिएर एक हप्तासम्म काम गर्ने वातावरण पनि बनेन । यो सहर बजार होइन । गाडी चढ्ने वातावरण पनि नभाको ठाउँ हो । हामीले त्यस्तो ठाउँलाई पनि सहज बनाएर अहिले हिँडिराखेका छौँ । मनाङ, मुस्ताङमा जस्तै पहिलेदेखि हेलीमा गाडी लगेर गुडाएको ठाउँ हो यो । हामीले गर्व गर्ने काम गरेको भनेको यहाँका सबै ठाउँका बस्तीमा पुग्ने गरी ‘ट्र्याक ओपन’ गरेका छौँ । सडक खोल्ने विषयभन्दा पनि पहिले हामीले यहाँ पूरै ‘ट्र्याक’ खोल्यौँ । २०७२ सालको भूकम्प गएपछाडि भूकम्पले क्षति पुर्‍याएका घरहरू बनाउनलाई यहाँ सामानहरू ल्याउन पनि गाह्रो थियो । यसैले टोल टोलमा ट्र्याक खोलेर टेक्टर जाने बाटो बनायौँ । अहिले बाटो बनाएर यातायातको सुविधा पाएकाले सबै जनताले घर बनाइसकेका छन् ।

मेरो विचारमा सहकर्मी र राजनीतिक दल भनेको कुरो आज यता जान्छ, भोलि उता जान्छ । यो ऊ होइन तर यहाँ धेरै ‘न्युट्रल’ मतदाताहरू छन् । यस्तो मतदाताहरू भको ठाउँमा अब चाहिँ कांग्रेसले यो काम गर्ने रछ सबैलाई सहयोग पुग्ने र सबैलाई सजिलो हुने काम गर्ने रछ भन्ने भको छ । आफ्नो आफ्नो ठाउँबाट जनताले सहयोग गरेका छन् । यसमा पनि मलाई गर्व छ ।

मलाई सबैभन्दा गौरवको कुरो मलाई के लाग्छ भने कुहेलेदेखि लाङ्दीको भिसम्मको बाटोको ट्र्याक मैले खोल्या हो । यो भाग वार्ड नम्बर ५ देखि, ४ र २ मा पर्छ । मेरो कार्यकालको दोस्रो वर्ष म बिरामी थिएँ । त्यस्तो हुँदाहुँदै पनि मैले हस्पिटलको बेडबाट हप्ताको दुई दिन, शुक्रवार र शनिवार धाएर ट्र्याक खोल्ने काम गरेको । पहिलाको जिविस र चाइने ठेकदारहरू, ठेकदारले गर्न नसकेको काम म आफैँले समिति गठन गराएर गाउँपालिकाले ट्र्याक ओपन गरेको, ठुलो भिर खोलेको हो । त्यसको दुरी १५ किलोमिटर होला तर त्यो ठाउँ भिर हो भिर ! भिर खनेर त्यो ट्र्याक ओपन गरेको छ । मलाई चाहिँ त्यस्तो काम गर्न सकेकोमा असाध्यै गौरव लाग्छ ।

स्थानीय सरकार प्रमुख हुँदा तपाईंलाई पार्टी, सहकर्मी, घरपरिवार, साथीभाइ, छिमेकी र पालिकावासीले के कस्तो सहयोग गरिदिए नेतृत्व गर्न अझ सहज हुने थियो जस्तो लागेको छ ?

सबैले सहयोग गरिदिए हुन्थ्यो भन्ने लागेर नै मैले काम गरेको हो पहिला पनि । म खासै पढाइलेखाइ भाको मान्छे पनि होइन । मैले सामाजिक काम पहिला पनि गरेको हो । मैले कुनै स्वार्थ नलिइकन काम गरेँ । यहाँ व्यक्तिगत स्वार्थ पूरा गर्ने कुरो पनि मेरो छैन । म एउटा अविवाहित व्यक्ति हो । मेरो छोरालाई सम्पत्ति पुर्‍याइदिनु छैन । मेरो छोरीलाई सम्पत्ति जुटाइदिनु पनि छैन । मैले निस्वार्थ भावनाले काम गर्छु भनेर नै मलाई जनताले यहाँसम्म ल्याइदिएका हुन् । मैले जनताको मन जितेर उहाँहरूका आवश्यकतालाई ध्यानमा राखेर योजना बनाएरै यो गाउँको विकास गरेको छु । उहाँहरूको सहयोग कायम रहिरहे स्थानीय सरकार प्रमुख भएर यहाँको काममा नेतृत्व गर्न मलाई अझ सहज हुने थियो । साथै, सबै जनप्रतिनिधिहरू उपाध्यक्षदेखि लिएर वडाध्यक्ष, वार्ड सदस्य, कार्यपालिकाका सदस्यहरूसम्मले आफूले सकेको काम गर्नुभो । यो विकटमा सबै कामहरू जिरोबाट गर्नुपर्ने हुँदा कर्मचारीले पनि साथ सहयोग दिए र मुख्य शिक्षा, स्वास्थ्य, खानेपानी, भूकम्पपछिको पुनर्निर्माण गर्नमा सघाए । यी कामहरू गर्दा प्राविधिक इन्जिनियरहरूदेखि प्रशासकीय कर्मचारीहरूले पनि धेरै ‘सपोर्ट’ गरेका छन् । यस्तै सहयोग भइरह्यो भने अब आउने नयाँ जनप्रतिनिधिहरूलाई पनि काम गर्न मलाई जस्तै सहज हुन्थ्यो भन्ने लाग्छ ।

अब निर्वाचित भएर स्थानीय सरकारको नेतृत्वमा आउने जनप्रतिनिधिका लागि मुख्य पाँच वटा के के सुझाव दिन चाहनुहुन्छ ?

नीति र कार्यविधि बनाएर राखेका छौँ, जो आए पनि त्यसैमा टेकेर काम गर्न सक्छन् । मेरो पहिलो सुझाव छ, सडक, बिजुली बत्ती, खानेपानी, स्वास्थ्य , शिक्षा र पर्यटनका लागि पूर्वाधार निर्माणका थप कार्यक्रमहरू ल्याएर सुधारका काम गर्ने । गाउँपालिकालाई सुधार्ने कुरोमा बहुवर्षीय योजनाको चाहिँ नीति तथा कार्ययोजना बनाएर राखेको छ । त्यसमा टेकेर काम गर्नुहुन्छ अब आउने जनप्रतिनिधिहरूले । त्योभित्रै स्वास्थ्य छ, शिक्षा छ, बिजुली बत्ती छ । दोस्रो, ट्रयाक खोलिसकेको बाटोलाई ग्राभेल गरी पिच गराउने । कति ठाउँमा चाहिँ हामी आफैँले स्तरोन्नतिको काम गरेका छौँ । सडकमा उन्नतस्तरको काम गर्नुपर्छ । तेस्रो, पर्यटनसम्बन्धी गुरुयोजनामा भएअनुसार कामलाई अघि बढाउने । पर्यटकको विषयमा तीनबर्से योजनामा हामीले एउटा लागत स्टमेट बनाएर राखेको छ । त्यसैमा टेकेर काम गर्नुपर्ने हुन्छ । चौथो, महिला, दलित र अपाङ्गता भएकाहरूलाई विशेष कार्यक्रम ल्याएर भए पनि आत्मनिर्भर हुन र सम्मानजनक तरिकाले जीवनयापन गर्न सक्ने वातावरण उपलब्ध गराउने । पाँचौँ, यो पालिकामा बसोबास गरेका सबै खालका नागरिकलाई शान्ति, सुरक्षा, सुव्यवस्था र सुशासन दिएर नमुना गाउँपालिका बन्ने । हामीले थालेका सपै कामलाई पछि आउने जनप्रतिनिधिले निरन्तरता दिँदै जाऊन् भन्ने सुझाव दिन चाहन्छु ।

आफ्नो कार्यकालमै यसरी पछाडि फर्केर हेरिरहँदा तपाईंलाई कस्तो महसुस भइरहेको छ ?

मेरो गाउँपालिकाको सबै वार्डमा चाहिँ, छ वटा वार्डको कुरो हो, सबैमा पहिले हिँडेर पुग्नुपर्थ्याे । अहिले हिउँदमा सहज तरिकाले गाडी कुद्छ । यो वर्षदेखि त बर्खामा पनि कुद्छ । राइनास बोरङ खोला हुँदै कुनाघाट पात्लेसम्मको सडक रिङरोड पनि हो । हामीले नै बनाएको । यस्तै, पर्यटनको सम्भावना भको हुनाले लमजुङको लिके भन्ने हिउँ खेल्ने डाँडासम्म हामीले पैदल मार्ग बनायौँ । त्यसपछाडि त्याँ जाँदा थप हुरीबतास आयो भने थप हिउँ पर्‍यो भने ओत लाग्ने ठाउँ चाहिन्छ भनेर एउटा भवन बनायौँ । पर्यटकलाई टार्गेट बनाएर हामीले यो कोही नजाने बनमा, जहाँ पाँच छ वटा सानो सानो भेडिगोठ र पाँच सौदेखि माथि भेडाबाख्रा छन्, त्यहाँ माथि दुधपोखरी कुण्डसम्म ठाउँ ठाउँमा हामीले छ वटा चाहिँ ट्रस बनाएका छौँ । त्यसैगरी मठमन्दिरहरू बनाइएको छ । पदयात्रामा चाहिँ हाम्रो दुधपोखरी कुण्ड हिँडेर जाँदा तीन दिन लाग्छ । पहिला जनैपूर्णिमाको बेला तीर्थयात्री ठाउँ ठाउँमा बास बसेर त्यहाँ जान्थे । तिनलाई पनि टार्गेट बनाएर हामीले सबै ठाउँबाट मान्छेहरू आउनुहुन्छ भनी ट्रसहरू निर्माण गरिदिएका हौँ । मेरो गाउँपालिकाबाट दुधपोखरी कुण्डमा जाने तीनटा बाटा छन् । तीनटै बाटामा राती बास बस्नुपर्ने हुँदा वार्ड नम्बर १ बाट जाँदा र फर्कंदा बास बस्ने ठाउँ र वार्ड नम्बर २, ३, ४, ५ र ६ हुँदै जाँदा र फर्कंदा बास बस्ने ठाउँमा हामीले ट्रसहरू निर्माण गरेर राखेका छौंँ । यहाँ अलिकति तालतलैयाहरू धेरै भाको ठाउँ पनि छन् । पुरानो भएर ती सबै पुरिएर बसेका थिए । तीमध्ये हामीले लेमाक्जोङ र इलमपोखरी गरी दुइटा ताललाई संरक्षण गरेर राखेका छौँ । त्यसलाई स्तर बनाएर पानी जम्ने ठाउँ वरपर ‘वाल’ लगाउँदै त्यसमा पानी जाने ठाउँसमेत बनाको छ हामीले । यसरी आफूले नेतृत्व दिएर थालनी गरेका कामलाई फर्किएर हेर्दा मलाई गर्व महसुस हुन्छ । नेतृत्व गर्ने अवसर पाए हामी महिलाले स्थानीय सरकारमा बसेर राम्रो काम गर्न सक्छौँ जस्तो लाग्छ । आत्मविश्वास पनि बढेको छ ।

अरू पनि केही भन्न मन लागेको छ ?

मैले गरेको काममा म खुसी छु । यसैमा मलाई आनन्द पनि छ । यतिमै सन्तुष्ट भने हुन सकेकी छैन किनकि मैले अझै पनि अधुरै रहेका कामहरूलाई पूरा गर्न बाँकी छ । ती कामलाई अब अर्को जो कोही आए पनि अथवा मै दोहोरिए पनि अगाडि बढाउनुपर्छ जस्तो लाग्छ । मैले आज पाँच बर्षसम्म राम्रोसँग गरेको काममा हामी सबै जनप्रतिनिधिलाई आनन्द छ, खुसी छ । मैले यही बुझेको छु । हामीले कुनै किसिमले जनताको मन दुखाउने काम गरेका छैनौँ ।

आफ्नो कुरा सक्नुअगाडि मसँग काम गर्ने जनप्रतिनिधिहरूलाई म पाँच वर्षको धन्यवाद पनि दिन चाहन्छु । उहाँहरूले मलाई नीतिनियम र कार्यविधिहरू बनाउन पनि सहयोग गर्नुभो । जुनसुकै विकासका कामहरू गर्ने बेला पनि सबैले साथ दिनुभयो । म यथार्थवादी मान्छे भ’को कारणले गर्दा ‘यो काम गर्नैपर्छ तपाईंले, तपाईंहरू यो ठाउँमा पुग्नैपर्छ’ भन्दा सबै सहकर्मीहरूले सहयोग गर्नुभो । मेरो नेतृत्व र निर्देशन सबैले मान्नुभो । पाँच वर्षको कार्यावधिमा म खुसी छु ।

मैले द स्टोरी किचेनले तयार गरेको निर्देशिकाका आधारमा तपाईंलाई केही प्रश्नहरू गरेँ । यसरी कुराकानी गर्दा तपाईंलाई कस्तो अनुभव भयो ?

किताब बनाउने कुरो रहेछ । सुन्दा आनन्द लागेको छ । मलाई स्थानीय सरकार प्रमुख भएको भन्दै महत्त्वपूर्ण कुराहरू सोध्दिनुभो । आफूले पनि नयाँ पालिकाको नेतृत्वमा रहेर काम गर्दा गौरव लागेको कुरा भन्न पाएँ । यसमा पनि म खुसी छु । तपाईंलाई धेरै धेरै धन्यवाद छ ।

प्रकाशन मिति : २०८१ असाेज १७ गते, बिहीवार

पालिकाका सारथी महिलाहरू