सन्धान संवाद शृङ्खला ५
कार्यकाल २०७४–२०७९ साललाई फर्किएर हेर्दा पालिकाका सारथी महिलाहरूको लहरमा देखापर्ने नाम हो, लक्ष्मीदेवी पाण्डे । उहाँ देश सङ्घीय संरचनामा रूपान्तरण भएपछि भएको पहिलो स्थानीय तह निर्वाचनमा साबिक प्रदेश नम्बर ४ स्थित नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाको हुप्सेकोट गाउँपालिका अध्यक्ष निर्वाचित हुनुभयो । २०७५ जेठ २१ मा गण्डकी प्रदेश नाम राखिएको उक्त प्रदेशबाट नगरपालिका प्रमुखमा दुई र गाउँपालिका अध्यक्षमा चार महिला निर्वाचित भएका थिए । देशका सात प्रदेशमध्ये गण्डकी प्रदेश त्यो प्रदेश हो, जहाँ सबैभन्दा बढी सङ्ख्यामा पालिका प्रमुख/अध्यक्षमा महिलाहरू निर्वाचित भएका थिए । उहाँ नेपाली कांग्रेसबाट चुनावी मैदानमा उत्रिएर अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै चार हजार ५९२ मत प्राप्त गरी विजयी हुनुभएको थियो । उहाँ नगरपालिका प्रमुखमा देशभरबाटै निर्वाचित सात महिलामध्ये एक हुनुहुन्थ्यो । गाउँपालिका पदाधिकारीका लागि २०७४ वैशाख ३१ गते भएको निर्वाचनमा कुल १० हजार २४२ मत खसेकोमा सदर मतको सङख्या १० हजार ४५ थियो । निर्वाचनका लागि उम्मेदवारी दिँदा उहाँ ४८ वर्षको हुनुहुन्थ्यो ।
हाल हुप्सेकोट–३, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बस्दै आएकी लक्ष्मीदेवी पारिवारिक पृष्ठभूमिकै कारण कक्षा ८ मा पढ्दादेखि नै राजनीतिमा सक्रिय हुनुभयो । उहाँ पार्टीको क्षेत्रीय प्रतिनिधि पनि रहनुभयो । नेपाल महिला संघ, नवलपरासीका पूर्व अध्यक्ष उहाँ २०५४ सालमा साबिक देउराली गाविसको वडा सदस्य पनि हुनुभएको थियो ।
लक्ष्मीदेवीलाई स्थानीय सरकारको नेतृत्वमा पुर्याउने मूल आधार बन्यो, नेपालको संविधान । २०७२ सालमा जारी सो संविधानले मुलुकलाई सङ्घीय संरचनामा रूपान्तरण गर्यो । २०८१ असोज ३ गते संविधान दिवसको सन्दर्भ पारेर हामीले ‘सन्धान संवाद शृङ्खला’ अन्तर्गत ‘फर्किएर हेर्दा : पालिकाका सारथी महिलाहरू’ स्तम्भको सुरुवात गरेका थियौँ । सोही दिनदेखि एउटा बिहिवार संवाद र अर्को बिहिवार रिपोर्ट पर्ने गरी हरेक हप्ता पालिकाका सारथी महिलाहरूसित सम्बन्धित सामग्री प्रस्तुत गर्दै आएका छौँ । प्रस्तुत सामग्री ‘फर्किएर हेर्दा : पालिकाका सारथी महिलाहरू ’ स्तम्भको संवाद खण्ड हो ।
मुलुक सङघीय संरचनामा गइसकेपछि तीन चरणमा स्थानीय तहको निर्वाचन भयो । पहिलो चरणमा २०७४ वैशाख ३१ गते ३४ जिल्लाका २८३, दोस्रो चरणमा २०७४ असार १४ गते ३५ जिल्लाका ३३४ र तेस्रो चरणमा २०७४ असोज २ गते आठ जिल्लाका १३६ गरी कुल ७५३ स्थानीय तहका लागि निर्वाचन भएको थियो । नेपालकै पहिलो निर्वाचन भने २००४ जेठ २९ गते भएको थियो । काठमाडौं म्यूनिसिपलिटीको उक्त निर्वाचनमा महिलाहरूले उम्मेदवारी दिन त के भोट खसाल्न पनि पाएका थिएनन् । महिलाहरूलाई मताधिकार नै दिइएको थिएन । देशकै पहिलो निर्वाचन भएको छ वर्षपछि २०१० सालमा अर्को निर्वाचन भयो । त्यस निर्वाचनमा महिलाहरूले मताधिकार मात्र नभएर उम्मेदवारीको अधिकारसमेत पाए । यस्तो अधिकार पाएको साढे छ दशक हुनै लाग्दा २०७४ सालमा भएको स्थानीय निर्वाचनमा त ५७ हजार ८४३ महिला चुनावी मैदानमा नै उत्रिए । तीमध्ये १४ हजार ३५१ महिला पालिकाका विभिन्न पदमा निर्वाचित पनि भए । स्थानीय तह निर्वाचनमा महिलाको कुल प्रतिनिधित्व ४०.९५ प्रतिशत रह्यो । यत्तिको प्रतिनिधित्व वैधानिक प्रावधानको कारण सम्भव भएको थियो । त्यति हुँदाहुँदै पनि महिलाहरूले पाउनुपर्ने जति महत्त्व र अधिकार अझै पाएनन् ।
देशका कुल ७५३ स्थानीय तहका प्रमुख/अध्यक्ष पदका लागि भएको निर्वाचनमा सात महिला नगरपालिका प्रमुखमा र ११ महिला गाउँपालिका अध्यक्षमा निर्वाचित भए । यसरी जम्मा १८ महिलाले मात्र पालिका प्रमुख वा अध्यक्षमा निर्वाचित भएर स्थानीय सरकारको नेतृत्व गर्ने अवसर पाए । ‘स्थानीय तह निर्वाचन ऐन, २०७३’ मा दफा १७ को उपदफा ४ मा उम्मेदवारको मनोनयनपत्र पेस गर्दा दलले अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुखमध्ये ५० प्रतिशत महिला उम्मेदवार रहने गरी मनोनयनपत्र पेस गर्ने व्यवस्था मिलाउनुपर्ने प्रावधान छ । त्यति बेला पालिकाको उपप्रमुख/उपाध्यक्ष पद महिलाकै लागि तोकिए जस्तो गरी उम्मेदवारी थमाइएको थियो । त्यति गर्दा पनि कुल १५०६ स्थानमा पुरुष ७८८ हुँदा महिला ७१८ जना मात्र विजयी भए । महिलाको सम्भाव्य प्रतिनिधित्व पनि ३५ स्थानले कम हुन पुग्यो । यसबाट ५० प्रतिशतको उम्मेदवारी प्रावधानले मात्र पनि परिणाममा महिलालाई न्याय नभएको देखियो । यस्तो अवस्थामा पालिकाको नेतृत्वमा उम्मेदवार बनेर निर्वाचित हुन पुगेका १८ महिलाहरू सामान्य पक्कै थिएनन् । तिनैमध्ये एकमा लक्ष्मीदेवी पनि पर्नुभयो ।
नयाँ शासकीय स्वरूप, नयाँ अभ्यास, वैधानिक तथा भौतिक पूर्वाधारहरूको अपर्याप्तता तथा अभाव जस्ता कारणले सबै पालिकामा एक प्रकारको अन्योल थियो । त्यस्तो बेला पुरुषहरूकै बाहुल्य रहेको संरचनामा नवनिर्वाचित प्रमुख/अध्यक्ष बनी नेतृत्वदायी भूमिका निर्वाह गर्नु महिलाका लागि झनै चुनौतीपूर्ण थियो । नागरिकका अपेक्षा चुलिएका थिए । लक्ष्मीदेवीका सामु पनि चुनौतीका पहाड खडा थिए । विभिन्नखाले चुनौतीका बिच गाउँपालिका अध्यक्षको जिम्मेवारी निर्वाह गरी दायित्व पूरा गर्दाको उहाँको अनुभव कस्तो रह्यो त ? विशेष गरी उहाँको नेतृत्वमा पालिकाले हासिल गरेका उपलब्धि के थिए ? उहाँको नेतृत्वशैली, बाधाअवरोध पन्छाउने उपाय के कस्ता थिए ? आफूले आफ्नो कार्यकाल र आफैँलाई फर्किएर हेर्दा उहाँले के पाउनुभयो ? भावी जनप्रतिनिधिलाई उहाँका सुझाव के के थिए ? द स्टोरी किचेनले तयार पारेको निर्देशिकाका आधारमा मूलतः यी र यस्ता प्रश्नका साथ ‘सन्धान’ को लागि फेलो पत्रकार कल्पना भट्टराईले लक्ष्मीदेवीसँग उहाँको कार्यकालको अन्तिमतिर टेलिफोन कुराकानी गर्नुभएको थियो । आजको शृङ्खलामा प्रस्तुत छ, लक्ष्मीदेवी पाण्डेसँग गरिएको सोही कुराकानी ।
करिब पाँच वर्षको कार्यकालमा तपाईंले गर्नुभएका एकदमै महत्त्वपूर्ण काम के के हुन् भन्ने लाग्छ ?
गाउँपालिकाको अध्यक्ष भएपछिको पहिलो बैठकबाटै सुरक्षित रूपमा सुत्केरी हुन प्रेरित गर्नका लागि सरकारी अस्पतालमा सुत्केरी गराएबापत पाँच हजार रुपैयाँ दिने निर्णय गर्यौँ । यो सुविधा लिनका लागि आमाबुबाको विवाहदर्ता, बच्चाको जन्मदर्ता तथा सरकारी अस्पतालमा बच्चा जन्माएको कार्ड हुनुपर्ने सर्त राखिएको छ । मेरो कार्यकालमा भएको सबैभन्दा महत्त्वपूर्ण निर्णय यो नै हो । हामीले सुविधासम्पन्न बर्थिङ सेन्टर स्थापना गरेका छौँ ।
भौगोलिक विकटता भएको गाउँपालिका भएकाले सडक र बिजुली बत्तीलाई पनि प्राथमिकतामा राखेर काम गरियो । हामीले हुप्सेकोट चक्रपथ सडक निर्माण गर्यौँ । बिजुली नभएका केही वडामा बिजुली बत्ती बाल्न सकेका छौँ । सबै वडामा बिजुली बाल्नका लागि थप काम पनि गरिरहेका छौँ । यसैगरी, हामीले ‘विद्यालय गाभ्ने कार्यक्रम’ लाई पनि प्राथमिकता दियौँ ।
मेरो कार्यकालको अन्तिम वर्ष यही हो । चालु आ.व. २०७८/७९ का लागि गाउँपालिकाले कुल ५४ करोड ७९ लाख रुपैयाँको बजेट ल्याएको छ । यसपछि निर्वाचन हुने भएकाले बजेटमा महत्त्वाकांक्षी कार्यक्रमहरू पनि समेटिएको छ । चालु आ.व.मा गाउँपालिकाले किसान पेन्सन कार्यक्रम, दुधमा अनुदान कार्यक्रम, राहत तथा करार शिक्षक कल्याणकारी कोष स्थापना, खानेपानीको न्यूनतम महसुल पालिकाले बेहोर्नेलगायत महिलाका सवालमा विशेष कार्यक्रम पनि ल्याएको छ । यसमा छोरीको सुनौलो भविष्य, एकल महिलासँग स्थानीय सरकार जस्ता कार्यक्रम छन् । मेरो कार्यकालमा महिलाका हकमा एकल महिला पाठशाला, एकल महिला उद्यमी, सुत्केरी तथा पोषण जस्ता विशेष कार्यक्रमहरू पनि सञ्चालन गरियो र यसबाट सकारात्मक उपलब्धि पनि हासिल गरिँदै छ ।
यस्ता उपलब्धि प्राप्त गर्न तपाईंले आफूलाई कसरी तयार गर्नुभएको थियो ?
समाजको काम गर्न नै जनप्रतिनिधि बनेकी हुँ । त्यसैले त्यहीअनुरूप आफूलाई तयार पारेँ । त्यसमा सम्पूर्ण कर्मचारी, जनप्रतिनिधि साथीको सहयोगले अझ काम गर्ने हौसला आयो ।
तपाईंलाई उपलब्धिमूलक काम गर्नुपर्छ भन्ने किन लाग्यो ?
मेरो पारिवारिक पृष्ठभूमि राजनीतिक भएकाले मलाई बाल्यकालबाटै राजनीति गर्ने प्रेरणा मिल्यो । सामाजिक सङ्घसंस्था र विभिन्न कार्यक्रममा भाग लिएर काम गर्ने मौका पनि पाएँ । नेतृत्व गर्ने सिप सिकेँ । शिक्षण पेसामा पनि आबद्ध भएँ । २०५४ सालमा भएको स्थानीय तहको निर्वाचनमा पहिलो पटक वडा सदस्य भएर काम गर्ने मौका पाएकी थिएँ । त्यसपछि स्थानीय तहमै थप काम गर्ने हौसला मिल्यो ।
तपाईंले ल्याएका कार्यक्रमहरूबाट कसको जीवनमा कस्तो प्रभाव परेको छ जस्तो लाग्छ ?
गाउँपालिकाको प्रमुख भएर काम गर्दा मैले स्थानीय जनतासँग नजिक भएर काम गर्न पाएँ । त्यसबाट धेरै कुरा सिक्न पनि पाएँ । उनीहरूका समस्या बुझ्न पाएँ । प्रशासनिक कामको बारेमा जान्ने मौका पाएँ । नीति नियम, योजना छनोट र बजेट विनियोजनका विषयमा जान्ने मौका पाएँ । विकास गर्ने तरिकाको बारेमा जान्ने मौका पाएँ । मैले ल्याएका कार्यक्रमहरूबाट पालिकावासीको जीवनमा राम्रो प्रभाव परेको छ ।
यसबारे कसैले तपाईंलाई केही भनेको पनि छ कि ?
छैन ।
नेतृत्वमा आउँदा तपाईंलाई केही कुराको डर थियो ?
सुरुमा गाउँपालिका प्रमुख नै भएर काम गर्न त सक्दिनँ कि जस्तो पनि लागेको थियो । पालिका प्रमुखले गर्नुपर्ने काम र दायित्वको बारेमा थाहा थिएन ।
त्यस खालको डरलाई हटाउन तपाईंले के गर्नुभयो ?
काम गर्दै गएँ । त्यसपछि धेरै कुरा सिक्ने र बुझ्ने मौका पाएँ । उपाध्यक्ष, वडा सदस्य, कर्मचारी र स्थानीय जनताको साथ, सहयोग र हौसलाले धेरै काम गर्न सकेँ । नेतृत्वमा रही काम सिकेर उपलब्धि हासिल गर्न पनि सकेपछि मभित्रको त्यस्तो डर हट्दै गयो ।
स्थानीय सरकार प्रमुख भएर काम गर्दा के कस्ता बाधा अड्चनहरू आइपरे ?
स्थानीय सरकार प्रमुख भएर काम गर्दा मलाई धेरै बाधा अड्चन र समस्याहरू पनि आए । बजेट अभावले धेरै काम गर्न सकिएन । भौगोलिक विकटताका कारण पनि काम गर्न अप्ठ्यारो भयो । चाहेर पनि जनताका सबै काम गर्न सकिएन । आफूले सबै कुरा बुझाउन पनि सकिएन ।
यस्ता बाधा अड्चन आउनुपछाडिका कारण के के थिए होलान् ?
एउटा त महिलाले सरकार प्रमुख भएर काम गर्दा धेरै नै चुनौती भोग्नुपर्ने रहेछ । सुरुमा सबैको विश्वास जित्नुपर्यो । विश्वासको माहोल बनाउन पनि गाह्रो हुँदो रहेछ । स्थानीय सरकार प्रमुखलाई प्रशासनिकदेखि नीति निर्माणसम्मको कामको बारेमा जानकारी हुनुपर्ने रहेछ । त्यस्तो जानकारी नहुँदा समस्या भयो । हुप्सेकोट गाउँपालिका विकट पहाडी क्षेत्रमा रहेको गाउँपालिका भएकाले यसको विकासका लागि कदम चाल्दा थुप्रै चुनौतीहरू थपिए । बिजुली बत्ती, सञ्चार र सडक नहुँदा यहाँ काम गर्न गाह्रो भयो । विकासका काम सुरु गर्दा जिरोबाट गर्नुपर्ने भयो । विकासका लागि गाउँपालिकाको बजेटले नपुगेर अरू निकायसँग सहयोग माग्दा पनि विभिन्न समस्याहरू भोग्नुपर्यो । सरकारकै निकायसँग समन्वय गर्न पनि गाह्रो भयो । कामको बारेमा धेरैलाई बुझाउन सकिएन । सबै योजनाहरूमा बजेट विनियोजन गर्न गाह्रो भयो । स्थानीय तहसँग जनताको अपेक्षा, माग र गुनासो धेरै थियो । ती सबै कुरालाई सम्बोधन गर्न नसके पनि हामीले धेरै विषयमा काम गरेका छौँ ।
तपाईंले ती बाधा अड्चनलाई पन्छाउन अपनाएका रणनीतिबारे पनि बताइदिनुस् न !
बाधा पन्छाउनको लागि मैले सबैको सहयोग लिएँ । सबैको सल्लाह सुझाव लिएर बाधाहरूलाई पन्छाउने काम गरेँ । समन्वय गर्ने ठाउँमा समन्वय गरेँ । बुझाउने ठाउँमा बुझाउने प्रयास गरेँ । बजेटको लागि सहयोग पनि मागेँ । जनताका माग, अपेक्षा र गुनासाहरू सुनेँ । गाउँमा कस्तो खालको विकास गर्नुपर्ने रहेछ, त्यसको बारेमा सल्लाह र सुझाव लिएँ । अध्ययन गरेँ । मैले अपनाउँदै आएका रणनीतिहरू यिनै हुन् ।
यस्ता रणनीति अपनाउन तपाईंले कसरी सिक्नुभयो ? पालिका प्रमुख हुनुभन्दा पहिले पनि तपाईंले यस्ता रणनीतिको प्रयोग गर्नुहुन्थ्यो ? केही उदाहरण पनि छन् कि ?
यस्ता रणनीति भनेको काम गर्दै जाँदा सिकिने कुरा हो । जनप्रतिनिधि हुनुभन्दा अघि शिक्षण पेसामा आबद्ध थिएँ । यस्तो ठुलो जिम्मेवारीमा थिइनँ । राजनीति गर्दा नेतृत्व गर्ने सिप सिकेँ । धेरै बजेटमा काम गरेको अनुभव योभन्दा अघि मसँग थिएन । जनप्रतिनिधि भएपछि बजेट बनाउने, वितरण गर्नेदेखि नीति नियम बनाउनेसम्मको काम गर्नुपर्यो । ती सबै विषयमा अध्ययन गरेर, सहयोग मागेर र समन्वय गरेर बाधाहरू पन्छाउने काम गरेँ । काम गर्दै गएपछि आवश्यक हुँदै गयो र सोेअनुसार मैले सिकेको हो । जनप्रतिनिधि हुनुभन्दा अघि यो विषयमा मलाई थाहा थिएन ।
निर्वाचित भएर आएपछि तपाईंले कसरी नेतृत्व गर्नुभयो ? कस्तो प्रकारको नेतृत्व शैली अपनाउनुभयो र किन ?
निर्वाचित भएर आएपछि मैले पालिका प्रमुखले गर्नुपर्ने कामको बारेमा जानकारी लिएँ, अध्ययन गरेँ, सल्लाह सुझाव मागेँ । यसरी नेतृत्व गरेकी हुँ । बाल्यकालबाटै अगाडि बढ्नुपर्छ, समाज र देशको लागि केही गर्नुपर्छ भन्ने इच्छा थियो । त्यसैले सामाजिक काम गर्दै राजनीतिमा सक्रिय भएँ । त्यसरी त्यहाँ सक्रिय हुँदा पनि धेरै काम सिकेँ । त्यसैले पनि म जनतासँग नजिक थिएँ । गाउँमा भएका समस्या म आफैँले पनि भोगेको हुनाले के–के समस्या छन् भन्ने बारेमा जानकारी थियो । जनतासँग नजिक भएर उनीहरूका समस्या र असुविधाहरू सोधेँ । त्यसको समाधानको लागि चाल्नुपर्ने कदमहरूको बारेमा पनि जानकारी लिएँ, अध्ययन गरेँ । कार्यालयका सहकर्मी, कर्मचारी र सरोकारवाला निकायसँग त्यसको बारेमा जानकारी लिएँ । त्यसरी नै नेतृत्व लिएर काम गरेँ । यसलाई कस्तो प्रकारको नेतृत्व शैली भन्छन्, त्यो तपाईं आफैँ बुझ्नुस् ।
नेतृत्वको त्यस्तो शैली तपाईंले कहाँबाट सिक्नुभयो ? कोही कसैबाट प्रेरित पनि हुनुहुन्छ कि ?
काम गर्दै जाँदा सिकेको हुँ । कोही कसैबाट प्रेरित छैन ।
तपाईंको यस्तो शैलीले तपाईंलाई नेतृत्वका विषयमा के कस्ता नयाँ कुरा सिकायो ?
यसले मलाई नेतृत्वमा रहेर सामाजिक काम कसरी गर्ने, सबैको गुनासो कसरी सम्बोधन गर्ने र प्रशासनिक काम कसरी गर्ने, बजेट व्यवस्थापन कसरी गर्ने, कस्तो नीति नियम बनाउने भन्ने विषयमा नयाँ सिप सिकायो ।
तपाईंको सिकाइको तौरतरिका र शैलीले सहकर्मीहरूलाई कस्तो प्रभाव पारेको होला ? केही उदाहरण छन् कि ?
राम्रै प्रभाव पारेको छ जस्तो लाग्छ । जनप्रतिनिधि भएर समाज र जनताको लागि धेरै काम गरेको छु । त्यो सबैलाई थाहा छ तर त्यस्तो उदाहरण अहिले सम्झनामा आएन ।
तपाईंको नेतृत्वलाई अझै प्रभावकारी बनाउन के कस्ता ज्ञान र सिप आफूमा भएको भए सहज हुन्थ्यो होला ?
नेतृत्वमा जानुअघि नै सबैका गुनासो कसरी सम्बोधन गर्ने, थोरै बजेटबाट पनि धेरै विकासका काम कसरी गर्ने, हामीलाई कस्तो मोडलको विकास चाहिएको हो भन्ने कुरा थाहा पाउने ज्ञान र सिप सिक्न पाएको भए काम गर्न अझै सजिलो हुन्थ्यो जस्तो लाग्छ । सबैको सहयोगले गाउँपालिका प्रमुख बनेकी हुँ । नेतृत्व गर्ने सिप, अवसर र ‘फिडब्याक’ दिएको भए काम गर्न अझ सजिलो हुन्थ्यो जस्तो लाग्छ ।
तपाईंले चुनावमा उठ्दा मतदाताहरूसँग गर्नुभएको प्रतिबद्धतालाई पूरा गर्न सके जस्तो लाग्छ ?
प्रतिबद्धता गरेअनुसारको सबै काम गर्न सकेको छैन तर धेरै काम गरेको छु ।
पालिकावासीले तपाईंलाई जिताउने बेलामा देखाएको उत्साह अहिले पनि देखाउँछन् कि के महसुस गरेका छन् जस्तो लाग्छ ?
मैले के भनौँ ? यसबारे भन्नैपर्दा, बिजुली, सञ्चार र सडक नपुगेको ठाउँमा ती संरचना बनाएकी छु । सडक नहुँदा सुत्केरी गराउनका लागि समयमै अस्पताल पुर्याउन नसकेर धेरै गर्भवती तथा सुत्केरी र बिरामीले ज्यान गुमाएको अवस्था थियो । त्यसलाई रोक्न नजिकै बर्थिङ सेन्टर र स्वास्थ्य, उपस्वाथ्य चौकीहरूको निर्माणको लागि बजेट विनियोजन गरेँ । गाउँका दुर्गम ठाउँमा विकासे योजनालाई प्राथमिकतामा राखेँ । गुणस्तरीय शिक्षा र घरदेखि विद्यालयसम्मको दुरी कम गर्न विद्यालयहरूलाई गाभ्ने काम पनि गरेँ । मलाई त उनीहरूको उत्साह अहिले पनि कायम छ जस्तो लाग्छ ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को परिवेशमा स्थानीय सरकार प्रमुखको भूमिकामा एक जना महिला निर्वाचित भएर नेतृत्व गर्नु भनेको के रहेछ जस्तो लाग्छ तपाईंलाई ?
महिलाले स्थानीय सरकार प्रमुख भएर काम गर्दा धेरै अप्ठ्यारा आउँदा रहेछन् । तथापि, महिलाहरूले अवसर पाएमा काम गरेर देखाउन सक्छन् । महिला भएकै कारण प्रतिफल कम हुन्छ भनेर अनुमान लगाउनु गलत हो । यसलाई चिर्ने वातावरण घरपरिवार, समाज र पार्टीले पनि बनाउनुपर्छ । मलाई घरपरिवारबाट ‘सपोट’ भएरै पालिकाको सरकार प्रमुख बन्न सकेको हो । यसमा स्थानीय जनता, सहकर्मी, कर्मचारी र सरोकारवालाहरूको पनि ‘सपोट’ रहेको छ । यहाँको परिवेशमा घरपरिवारको ‘सपोट’ विना नेतृत्वमा रहेर काम गर्न एउटा महिलालाई गाह्रो हुन्छ । यो गाह्रो काम रहेछ जस्तो लाग्छ मलाई ।
आफ्नै कार्यकालमा तपाईंलाई कुन कुराले सबैभन्दा धेरै गर्व लागेको छ ?
गाउँपालिका प्रमुख बनेको पहिलो बैठकमै मैले महिलालाई सुत्केरी भत्ता दिने निर्णय गरेँ । यो कुराले मलाई सबैभन्दा बढी गर्व लागेको छ ।
अब निर्वाचित भएर स्थानीय सरकारको नेतृत्वमा आउने जनप्रतिनिधिका लागि मुख्य पाँच वटा के के सुझाव दिन चाहनुहुन्छ ?
पहिलो, जनताको समस्या सुन्ने र गुनासो सुन्ने गर्नुस् । दोस्रो, सम्पर्क र समन्वय गर्न सक्ने हुनुस् । तेस्रो, वडा, गाउँपालिका, नगरपालिका र जिल्लाको समस्याका बारेमा जानकारी राख्ने क्षमता राख्नुस् । चौथो, निर्माणका कार्यहरू गर्नुको साथै पारदर्शिता देखाउने गर्नुस् । पाँचौँमा जात, धर्म, लिङ्ग र वर्गको आधारमा विभेद नगर्ने नीतिलाई व्यवहारमा अनुसरण पनि गर्ने गर्नुस् भन्न चाहन्छु ।
आफ्नो कार्यकालमै यसरी पछाडि फर्केर हेरिरहँदा तपाईंलाई कस्तो महसुस भइरहेको छ ?
निकै खुसी लागिरहेको छ । नेतृत्व गर्ने अवसर पाएमा सबै महिलाले काम गर्न सक्छन् भन्ने लागेको छ । त्यसका लागि सबैले वातावरण मिलाइदिनु पर्छ । मैले पनि अवसर पाएको हुनाले मात्रै काम गर्न सकेकी हुँ ।
अरू केही भन्न मन लागेको छ ?
महिलाहरूलाई नेतृत्व गर्ने ठाउँ दिएमा जस्तोसुकै काम पनि गर्न सक्छन् भन्ने लागेको छ । प्रत्येक पार्टीले महिलाहरूलाई जुनसुकै पदमा पनि लड्ने अवसर दिनुपर्छ । आरक्षण कोटामा मात्र सीमित नराखी महिलालाई खुला प्रतिस्पर्धामा उत्रिन सक्ने बनाउनुपर्छ ।
मैले द स्टोरी किचेनले तयार गरेको निर्देशिकाका आधारमा तपाईंलाई केही प्रश्न गरेँ । यसरी कुराकानी गर्दा तपाईंलाई कस्तो अनुभव भयो ?
आफूले गरेका कामको बारेमा सुनाउन पाउँदा खुसी लाग्यो ।
प्रकाशन मिति : २०८१ कात्तिक २९ गते, बिहीवार
पालिकाका सारथी महिलाहरूका थप कथाहरू
- मतदाताको मतलाई कदर गर्ने गरी नेतृत्व शैली अपनाएँ
- चितवनमा महिला जनप्रतिनिधिले गरेका अनुभव र उत्कृष्ट काम
- पालिका बनाउनलाई मेरो आफ्नै योजना थियो
- स्थानीय स्रोतसाधनमा मुस्लिम महिलाको पनि पहुँच र पकड
- अनुशासनमा रहेर थुप्रै काम महिला नेतृत्वले गर्न सक्छ
- जानियो, बुझियो र सकेसम्म राम्रै गरियो
- निष्ठापूर्वक काम गरे सफल भइँदो रहेछ
- विषम परिस्थितिमा पनि केही सकारात्मक काम