सन्धान संवाद शृङ्खला ११
कार्यकाल २०७४–२०७९ साललाई फर्किएर हेर्दा पालिकाका सारथी महिलाहरूको लहरमा देखापर्ने नाम हो, गीताकुमारी गुरुङ । उहाँ देश सङ्घीय संरचनामा रूपान्तरण भएपछि भएको पहिलो स्थानीय तह निर्वाचनमा साबिक प्रदेश नम्बर ३ स्थित चितवन जिल्लाको इच्छाकामना गाउँपालिका अध्यक्ष निर्वाचित हुनुभयो । २०७६ पुस १६ मा बागमती प्रदेश नाम राखिएको उक्त प्रदेशबाट गाउँपालिका अध्यक्षमा निर्वाचित तीन महिलामध्ये उहाँ एक जना हुनुहुन्थ्यो । बागमती प्रदेशबाट थप दुई महिला भने नगरपालिका प्रमुखमा निर्वाचित भएका थिए । उहाँ नेपाली कांग्रेसबाट चुनावी मैदानमा उत्रिएर अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै तीन हजार २५४ मत प्राप्त गरी विजयी हुनुभएको थियो । २०७४ वैशाख ३१ गते भएको सो निर्वाचनमा कुल नौ हजार ३५७ मत खसेकोमा सदर मतको सङख्या आठ हजार ७५६ थियो । निर्वाचनका लागि उम्मेदवारी दिँदा उहाँ ४४ वर्षको हुनुहुन्थ्यो ।
इच्छाकामना गाउँपालिका वडा नं. ३ फिस्लिङ बस्ने गीताकुमारीको राजनीतिक यात्राको सुरुवात २०४६ सालमा भएको थियो । २०४६ सालको जनआन्दोलनमा उहाँले सक्रिय सहभागिता जनाउनुभएको थियो । उहाँ कांग्रेस महासमिति सदस्य र नेपाली कांग्रेसको तरुण भ्रातृ सङ्गठन नेपाल तरुण दलको दारेचोकको अध्यक्ष पनि रहनुभयो । उहाँ पेसाले शिक्षक हुनुहुन्थ्यो । गाउँठाउँको आवश्यकता र नागरिकको चाहनालाई ध्यानमा राख्दै जनताको सेवा गर्न शिक्षकबाट राजीनामा दिएर राजनीतिमा लागेको उहाँको भनाइ थियो गीताकुमारीलाई स्थानीय सरकारको नेतृत्वमा पुर्याउने मूल आधार बन्यो, नेपालको संविधान । २०७२ सालमा जारी सो संविधानले मुलुकलाई सङ्घीय संरचनामा रूपान्तरण गर्यो । २०८१ असोज ३ गते संविधान दिवसको सन्दर्भ पारेर हामीले ‘सन्धान संवाद शृङ्खला’ अन्तर्गत ‘फर्किएर हेर्दा : पालिकाका सारथी महिलाहरू’ स्तम्भको सुरुवात गरेका थियौँ । सोही दिनदेखि एउटा बिहिवार संवाद र अर्को बिहिवार रिपोर्ट पर्ने गरी हरेक हप्ता पालिकाका सारथी महिलाहरूसित सम्बन्धित सामग्री प्रस्तुत गर्दै आएका छौँ । प्रस्तुत सामग्री ‘फर्किएर हेर्दा : पालिकाका सारथी महिलाहरू ’ स्तम्भको संवाद खण्ड हो ।
मुलुक सङ्घीय संरचनामा गइसकेपछि तीन चरणमा स्थानीय तहको निर्वाचन भयो । पहिलो चरणमा २०७४ वैशाख ३१ गते ३४ जिल्लाका २८३, दोस्रो चरणमा २०७४ असार १४ गते ३५ जिल्लाका ३३४ र तेस्रो चरणमा २०७४ असोज २ गते आठ जिल्लाका १३६ गरी कुल ७५३ स्थानीय तहका लागि निर्वाचन भएको थियो । नेपालकै पहिलो निर्वाचन भने २००४ जेठ २९ गते भएको थियो । काठमाडौं म्यूनिसिपलिटीको उक्त निर्वाचनमा महिलाहरूले उम्मेदवारी दिन त के भोट खसाल्न पनि पाएका थिएनन् । महिलाहरूलाई मताधिकार नै दिइएको थिएन ।
देशकै पहिलो निर्वाचन भएको छ वर्षपछि २०१० सालमा अर्को निर्वाचन भयो । त्यस निर्वाचनमा महिलाहरूले मताधिकार मात्र नभएर उम्मेदवारी दिने अधिकारसमेत पाए । यस्तो अधिकार पाएको साढे छ दशक हुनै लाग्दा देशमा बेला बेलामा स्थानीय निर्वाचनहरू हुँदै थिए । तिनमा नगन्य नै भए पनि महिलाको सहभागिता देखिने गरेको थियो । २०७४ सालसम्म आइपुग्दा स्थानीय निर्वाचनमा ५७ हजार ८४३ महिला चुनावी मैदानमा उत्रिए । तीमध्ये १४ हजार ३५१ महिला पालिकाका विभिन्न पदहरूमा निर्वाचित पनि भए ।
देशका कुल ७५३ स्थानीय तहका प्रमुख/अध्यक्ष पदका लागि भएको निर्वाचनमा सात महिला नगरपालिका प्रमुखमा र ११ महिला गाउँपालिका अध्यक्षमा निर्वाचित भए । यसरी जम्मा १८ महिलाले मात्र पालिका प्रमुख वा अध्यक्षमा निर्वाचित भएर स्थानीय सरकारको नेतृत्व गर्ने अवसर पाए ।
स्थानीय तह निर्वाचन, २०७४ बाट सो तहमा महिलाको कुल प्रतिनिधित्व ४०.९५ प्रतिशत हुन गयो । यत्तिको प्रतिनिधित्व वैधानिक प्रावधानको कारण सम्भव भएको थियो । त्यति हुँदाहुँदै पनि बिर्सन नहुने कुरो, महिलाहरूले पाउनुपर्ने जति महत्त्व र अधिकार अझै पाएनन् ।
‘स्थानीय तह निर्वाचन ऐन, २०७३’ मा दफा १७ को उपदफा ४ मा उम्मेदवारको मनोनयनपत्र पेस गर्दा दलले अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुखमध्ये ५० प्रतिशत महिला उम्मेदवार रहने गरी मनोनयनपत्र पेस गर्ने व्यवस्था मिलाउनुपर्ने प्रावधान छ । त्यति बेला पालिकाको उपप्रमुख/उपाध्यक्ष पद महिलाकै लागि तोकिए जस्तो गरी उम्मेदवारी थमाइएको थियो । त्यति गर्दा पनि कुल १५०६ स्थानमा पुरुष ७८८ हुँदा महिला ७१८ जना मात्र विजयी भए ।
महिलाको सम्भाव्य प्रतिनिधित्व पनि ३५ स्थानले कम हुन पुग्यो । ५० प्रतिशतको उम्मेदवारी प्रावधानले मात्रै पनि परिणाममा महिलालाई न्याय नभएको देखियो । यस्तो अवस्थामा पनि पालिकाको नेतृत्वमा उम्मेदवार बनेर निर्वाचित हुन पुगेका १८ महिलाहरू सामान्य पक्कै थिएनन् । तिनैमध्ये एकमा गीताकुमारी पनि पर्नुभयो ।
नयाँ शासकीय स्वरूप, नयाँ अभ्यास, वैधानिक तथा भौतिक पूर्वाधारहरूको अपर्याप्तता/अभाव जस्ता कारणले सबै पालिकामा एक प्रकारको अन्योल थियो । त्यस्तो बेला पुरुषहरूकै बाहुल्य रहेको संरचनामा नवनिर्वाचित प्रमुख/अध्यक्ष बनी नेतृत्वदायी भूमिका निर्वाह गर्नु महिलाका लागि झनै चुनौतीपूर्ण थियो । नागरिकका अपेक्षा चुलिएका थिए । गीताकुमारीका सामु पनि चुनौतीका चाङ थिए ।
विभिन्न खालका चुनौतीका बिचमा पनि गाउँपालिका अध्यक्षको जिम्मेवारी निर्वाह गरी दायित्व पूरा गर्दाको गीताकुमारीको अनुभव कस्तो रह्यो त ? विशेष गरी उहाँको नेतृत्वमा पालिकाले हासिल गरेका उपलब्धि के थिए ? उहाँको नेतृत्वशैली, बाधाअवरोध पन्छाउने उपाय के कस्ता थिए ? आफूले आफ्नो कार्यकाल र आफैँलाई फर्किएर हेर्दा के पाउनुभयो ? भावी जनप्रतिनिधिका लागि सुझाव के के थिए ?
द स्टोरी किचेनले तयार पारेको निर्देशिकाका आधारमा मूलतः यी र यस्ता प्रश्नका साथ ‘सन्धान’ को लागि फेलो पत्रकार रुपा गहतराजले गीताकुमारीसँग उहाँको कार्यकालको अन्तिमतिर टेलिफोन कुराकानी गर्नुभएको थियो । आजको शृङ्खलामा प्रस्तुत छ, गीताकुमारी गुरुङसँग गरिएको सोही कुराकानी ।
करिब पाँच वर्षको कार्यकालमा तपाईंले गरेका कामबाट प्राप्त भएका महत्त्वपूर्ण उपलब्धि के के हुन् भन्ने लाग्छ ?
महिला पनि पुरुषसरह हुन सक्छन्, यसैले महिलाहरूका लागि विभेद हटाउनुपर्छ र छोरीलाई पनि छोरासरह हेर्नुपर्छ भनेर बालिका बचत कार्यक्रम सुरु गर्यौँ ।
कृषिले भरिपूर्ण छौँ । यसमा इच्छाशक्ति भएका युवामा भएको क्षमता र कृषिमा लागेका व्यक्तिहरूको आवश्यकतालाई ध्यान दिँदै फलफूल खेतीको प्रवर्धन गर्यौँ । ‘तपाईं एक बोट रोप्नुस्, हामी १० को नोट दिन्छौँ’ भनेर ‘एक बोट, १० को नोट’ कार्यक्रम गर्यौँ ।
मेरो गाउँपालिकाका कुनै टोलमा बाटो राम्रो थिएन । यसैले हामी आइसकेपछि बाटोघाटोको व्यवस्था गर्यौँ । अहिले हामीले एउटा टोलबाट अर्को टोलमा पुग्नै तीन चार घण्टा हिँडनुपर्ने अवस्थाको अन्त्य गरेका छौँ । ६६ वटा टोलमा बाटो बनायौँ ।
बाँच्नका लागि पानी चाहिन्छ । हामीले ‘मुहानदेखि मुखसम्म’, ‘खानेपानी एक, घर एक’ भन्दै खानेपानीको व्यवस्था गरेका छौँ ।

कुनै पनि एकल महिला सहारा नभएको अनुभूति लिएर बाँच्नुपर्ने अवस्थामा छन् । उहाँहरूलाई ‘हामी एकल भए पनि सबल छौँ’ भन्ने सोच राख्न सघायौँ । समूहमा तालिम दियौँ । सिपसहित साधन दिएर स्वरोजगार बनायौँ । एकल महिलाहरूलाई आत्मनिर्भर बनायौँ ।
गाउँपालिकाका सात वटा वडामध्ये कम्तीमा दुई वटा वडामा स्वास्थ्यचौकी निर्माण गरेका छौँ । स्वस्थ बच्चा जन्मिएन भने त्यो बच्चा असल नागरिक बन्न सक्दैन । यसैले गर्भवती अवस्थामा महिलाको ख्याल गर्नुपर्छ भनेर हामीले पोषण कार्यक्रम गरेका छौँ ।
महिलाको हकमा गरेका कामको बारेमा भन्नुपर्दा, हामीले बालिका बचत, पोषण कार्यक्रम, एकल महिलालाई सिपसहित साधनको कार्यक्रम गरेका छौँ । हामीले गरेका सबै कार्यक्रमलाई हामीले उपलब्धि मानेका छौँ । त्यसले नागरिकलाई फाइदा भएको छ ।
यस्ता उपलब्धि प्राप्त गर्न तपाईंले आफूलाई कसरी तयार गर्नुभएको थियो ?
इच्छाकामना गाउँपालिकाको आवश्यकतालाई मैले नजिकबाट बुझेको छु । यहाँका नागरिकको आवश्यकता पूरा नभएको अवस्था भोगेको पनि छु । मेरी आमाले हरेक दिन खानेपानीको लागि मात्रै घरबाट एक घण्टा टाढासम्म हिँडनुपर्थ्याे । आफूले भोगेको समस्यालाई प्रत्यक्ष चित्र बनाएर मैले पालिकाको योजना बनाएँ । आफैँले प्रत्यक्ष देखेको समस्यालाई नकार्न सकिनँ । यसै सिलसिलामा ३३ वटा कानुन बनाएँ ।
नेपालको संविधान र कानुनको दायराभित्र रहेर ‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४’ ले पालिकाहरूलाई दिएको अधिकार क्षेत्रभित्र रहेर हामीले आफ्नो पालिकाको कानुन बनायौँ । कानुन बनाएरै आफ्नो पालिकामा रहेका समस्याहरूको समाधान गर्ने हिसाबले मैले आफूलाई तयारी गरेको थिएँ ।
यसरी काम गर्नुपर्छ भन्ने तपाईंलाई किन लाग्यो ?
मेरो पालिकाले सदियौँदेखि भोग्दै आएको समस्या मेरी आमाले पनि भोग्नुपर्यो । मैले पनि भोगेँ । पालिकाको नेतृत्वमा पुगिसकेपछि ती सबै समस्यालाई आफैँले समाधान गर्नुपर्छ भन्ने लाग्यो । आउने दिनमा ‘सुखी, खुसी र समृद्ध इच्छाकामना : कृषि, पर्यटन र पूर्वाधार विकास हाम्रो चाहना’ भन्ने नारालाई सफल बनाउन हामीले ल्याएका नीति तथा कार्यक्रम पूरा लागु गर्नुपर्छ । हामीले देखेका र सदियौँदेखि भोगेका समस्यालाई समाधान गर्नुपर्छ भनेर हामी लाग्यौँ ।
आफैँले प्रत्यक्ष देखे भोगेका समस्या हुन् । ती कुनै कल्पना तथा परिकल्पना गरिएका कुरा थिएनन् । त्यही आधारमा नीति, योजना बनाएर, बजेट ल्याएर कार्यक्रम पनि बनाएर समस्या समाधान गर्नका लागि हामी स्थानीय जनप्रतिनिधि भएका हौँ ।
जनप्रतिनिधि भनेका जनताका सेवक हुन् । तिनले स्थानीय जनताका आवश्यकतालाई परिपूर्ति गर्नुपर्छ भनेर बुझेको थिएँ । आफूले पालिकाको नेतृत्व गर्दा त्यही कुरालाई ध्यान दिएँ र जनताका आवश्यकतालाई पूरा गर्नतिर लागेँ ।
तपार्ईंले गरेका कामबाट स्थानीय नागरिकको जीवनमा के परिवर्तन भएको छ जस्तो लाग्छ ? कसैले तपाईंलाई केही भनेको पनि छ कि ?
महिलालाई भोट हालेपछि के होला ? महिलाले के गर्न सक्छिन् र ? यस्तो सोच पनि थियो । त्यो अहिले परिवर्तन भएको छ । महिलालाई भोट हाले राम्रा काम गर्छिन् । उनले जनताका काम गर्न सक्छिन् भन्ने कुरालाई मैले गरेका कामहरूले प्रमाणित गरे ।
जनताको आवश्यकतालाई मध्यनजर गरी भूगोललाई पनि हेरेर जनताको परिचालन गरेँ । यस्तो गर्न सक्यौँ भने राम्रो उपलब्धि हुन्छ । गाउँसम्म बाटोघाटो र घरसम्म खानेपानी पुगेको हुनाले नागरिक खुसी भएका छन् ।
कोरोनाकालमा पनि नागरिकलाई जोगाउन पालिकाबाट गर्नुपर्ने सबै काम गरियो । पालिकाले नागरिकको स्वास्थ्य र जीवनलाई जोगाउन एक प्रकारले अभिभावक जस्तै भएर काम गरेको हो ।
महिलाको जीवनमा पनि अहिले परिवर्तन आएको छ । पुरुष समान हुन् भन्ने हौसला पाएर महिलामा आत्मविश्वास देखिएको छ । पहिलेको जस्तो विभेदमा रहनुपर्छ र सहनुपर्छ भन्ने सोच्दैनन् ।
पालिकाका कतिपय नागरिकले ‘तपाईं त हाम्रो लागि भगवान्को अवतार हो, तपाईं फेरि पालिकाको नेतृत्वमा आउनुपर्छ’ भन्छन् । यस्तो भनेको सुन्दा म भित्रैबाट गदगद हुन्छु ।
पालिकाको नेतृत्वमा आउँदा तपाईंलाई केही कुराको डर थियो कि ?
म पालिकाको नेतृत्वमा आउँदा हामीसँग नेपालको संविधानले दिएको नयाँ संरचना थियो । नयाँ अधिकार थियो । पहिलोचोटि स्थानीय सरकारको भूमिका निर्वाह गर्न पुगेका थियौँ । नागरिकले मेरो हातमा नेतृत्व सुम्पिएको अवस्था थियो ।
के होला कसो होला भन्ने कुराले मनमा अलि डर पसेको थियो । बजेटको कमी र भूगोलको विकटता जस्ता कारणले नागरिकसँग गरेको सबै प्रतिबद्धता पूरा गर्न सकिँदैन कि भन्ने मलाई लागेको थियो ।
आफ्नो डरलाई कसरी हटाउनुभयो नि ?
मसँग धेरै समस्यासँग जुध्दै आएको अनुभव थियो । २८ हजार नागरिकको प्रमुख हुँदा मैले समस्यासँग जुधेर भए पनि समाधान गर्नुपर्छ भन्ने सोच राखेँ ।
परिआउने समस्यालाई जसरी पनि समाधान गर्छु भनेरै चुनावमा जितेर आएको थिएँ । यसैले काम गर्नुपर्ने बेलामा आफूलाई कमजोर हुन दिइनँ । मनोबल उच्च राखेँ र पहिल्यैदेखि समाधान नगरिएका स्थानीय समस्यालाई केलाएँ ।

प्राथमिकता निर्धारण गरी योजना बनाएर तिनको समाधान गर्दै गएँ । त्यसपछि समस्या कम हुँदै गएको अनुभव भयो । मनमा डर रहेन ।
स्थानीय सरकार प्रमुख भएर काम गर्दा बाधाअड्चन पनि आइपरे कि ?
नयाँ संरचना भएकाले पहिलो कुरो त बस्ने ठाउँको नै अभाव थियो । सात वटै वडा कार्यालय बनाउने र कर्मचारी व्यवस्थापन गर्ने काममा सुरुका दुई वर्ष लाग्यो ।
वडा कार्यालयको घर कसरी व्यवस्थापन गर्ने भन्ने कुराले पनि गाह्रो अप्ठेरो अनुभव भयो । पछि सबैतिरका पालिकाका काम हेर्दै, सुन्दै र बुझ्दै काम अघि बढाइयो । सुरुमा पालिकाको पूर्वाधार खडा गर्ने कुरामै समस्या भयो ।
तपाईंले भोगेका गाह्रा अप्ठेरा वा समस्याका कारण के थिए होलान् ?
त्यो त नयाँ संरचना भएकाले नै हो । पहिला चार वटा गाविसलाई सात वटा वडा कार्यालय बनाउन समस्या भयो ।
मलाई लाग्छ, ७५३ स्थानमा कर्मचारी पठाउने कुरा सामान्य थिएन । त्यसमा दक्ष जनशक्ति पठाउन र पाउन त झनै गाह्रो । एकैचोटि सबै कुरा व्यवस्थापन गर्न र जनचाहना पूरा गर्न गाह्रो हुन्छ ।
बिचमा कोरोनाकाल पनि आयो । त्यो झन् हामी कसैले पनि सोच्दै नसोचेको महामारीको समय थियो ।
गाह्रा अप्ठेरा पन्छाउनलाई तपाईंले के कस्ता रणनीति लिनुभयो ? त्यो सिप कसरी सिक्नुभयो ? केही उदाहरण भए त्यो पनि बताइदिनुस् न !
म पहिला विद्यालयको अध्यापक भएर व्यवस्थापनमा बसेको मान्छे पनि हो । विद्यालय व्यवस्थापनका केही निश्चित कुरा पालिका व्यवस्थापनका सन्दर्भमा पनि मिल्छन् । तिनलाई मिलाएर उपयोग गर्न जान्नुपर्छ ।
मसँग शैक्षिक संस्थालाई कसरी व्यवस्थापन गर्ने, कुन तरिकाले ‘म्यानेज’ गर्ने भन्ने सिप र क्षमता थियो । त्यसरी शैक्षिक संस्था चलाएको अनुभवलाई मैले यता पालिकाको नयाँ संरचना बनाएर चलाउन पनि उपयोग गरेँ ।
पालिकाको नेतृत्व कसरी गर्नुभयो ? तपाईंको नेतृत्व शैली कस्तो थियो ?
पालिकाको नेतृत्व गर्दा कामलाई प्राथमिकता दिएँ । इच्छाकामना गाउँपालिकाको भूगोल कस्तो छ, आवश्यकता के छ भनेर गाउँपालिका बनाउने, यहाँको जनताले देखेको सपना के हो भनेर टोलटोलमा गएर जनतासँग गएर विचार सङ्कलन गरेर काम गर्ने शैली अपनाएर काम गरेँ ।
मेरो नेतृत्वमा हामीले नीति तथा कार्यक्रमको कार्यविधि बनायौँ । आफ्नो अधिकार क्षेत्रभित्र रहेर हामीले कसैसँग नबाझिने गरी आठ वटा अधिकार प्रयोग गर्न सकिने कार्यविधि निर्माण गर्यौँ । जनप्रतिनिधिको लागि पनि कसरी बोल्ने, कसरी हिँड्ने, कसैलाई काखापाखा नगर्ने जस्ता कुरा राखेर आचारसंहिता बनायौँ । जनप्रतिनिधिका काम, कर्तव्य र अधिकार बनाएर सोहीअनुरूप काम गरेका छौँ ।

जनतासँग नजिक भएको, जनताको चाहना र आवश्यकतालाई कसरी प्राथमिकताको आधारमा समाधान गर्ने विषयमा छलफल गरी भूगोल कस्तो छ, जनताको चाहना कस्तो छ, सबैलाई एकै ठाउँमा राखेर कस्तो गाउँपालिका बनाउने भनेर टोलटोलमा गएर विचार सङ्कलन गरियो ।
पहिलेको संरचनामा चार वटा गाविस थिए । तिनलाई नयाँ संरचनामा ढाल्दा सात वडामा बाँडियो । गाउँसभाले वडा कार्यालय व्यवस्थापन गर्दा सबैभन्दा पहिले वडा कार्यालय तोक्यो, स्थानको छनौट गर्यो । सरकारी भवन, आमा समूह, क्लबका भवन भएका ठाउँमा कर्मचारीसहित वडा अध्यक्ष राखेर कार्य सञ्चालन गर्ने गरी वडा कार्यालयको व्यवस्थापन गर्यौँ । केही वडा कार्यालयका भवन छैनन्, अझै भाडामा छन् ।
नेतृत्व शैलीको बारेमा भन्नुपर्दा, मलाई शालीन र भद्र देखिने तर कडा स्वभावको अध्यक्ष भन्छन् । मलाई मनमा पाप नभएको अध्यक्ष पनि भन्छन् । मलाई लुकेर कुरा गर्न आउँदैन । कसैको बारेमा पछाडि कुरा गर्न पनि आउँदैन । कसैलाई केही भन्नुपर्ने छ भने म उसकै अगाडि भन्छु । पालिकाको नेतृत्व गर्ने सिलसिलामा पनि म यसरी नै पारदर्शी भएर काम र कुरा गर्छु ।
नेतृत्व गर्ने त्यस्तो शैली तपाईंले कहाँबाट सिक्नुभएको थियो र कोबाट प्रेरित हुनुहुन्छ ?
सिकाइको पहिलो कुरामा आवश्यकता हुन्छ, प्राथमिकताको आधारमा आवश्यकता निर्धारणको काम गर्ने । नेतृत्वमा बसेका अनुभवी जनतासँग सल्लाह र परामर्श गरेर काम गर्ने । पालिकाको भूगोल, आवश्यकता र जनताका सपना बुझेर काम गरेँ । सफल भएपछि म आफ्ना काम र पालिकावासीबाटै प्रेरित पनि भएँ ।
यो नेतृत्व शैलीले तपाईंलाई आफ्नै बारेमा नयाँ कुरा पनि सिकायो कि ?
यसले मलाई आफ्नो क्षमतालाई आफैँले बुझ्न सकिन्छ र एक क्षेत्रमा गरेको अनुभवलाई अर्कोतिर मिलाएर प्रयोग गर्न सकिन्छ भन्ने सिकायो । यसले मलाई इमानदार भएर जनताका काम गरे पालिकाको नेतृत्वमा सफल भइन्छ तर सिक्ने कुरा कहिल्यै सकिँदैन भन्ने पनि सिकायो । अझै नयाँ नयाँ कुरा सिकेर जनताको लागि काम गर्न सक्छु भन्ने पनि सिकायो ।
तपाईंको सिकाइको यो तौरतरिका र शैलीले सहकर्मीहरूलाई कस्तो प्रभाव पारेको होला ? केही उदाहरण छन् कि ?
मलाई सहकर्मीहरूले सुरुमा शालीन र भद्र देखिने तर उस्तै परेमा कडा स्वभावको, सत्यको लागि सही बाटो हिँड्ने, असत्यको लागि कसैसँग सम्झौता नगर्ने भन्ने हिसाबले बुझेका छन् । यसैले मबाट गलत काम गराउन सकिन्न भन्ने पनि उनीहरूलाई परेको छ । मसँग केही उदाहरण पनि छन् तर अहिले ती कुरा नगरौँ होला ।
तपाईंको नेतृत्वलाई अझै प्रभावकारी बनाउन अरू के कस्ता ज्ञान र सिप आफूमा भएको भए सहज हुन्थ्यो होला ?
स्थानीय सरकार सञ्चालन गर्न हामीलाई सुरुमै तालिम दिइएको भए अझ राम्रो हुने थियो । तालिमविना नै हामी आइसकेपछि अधिकार क्षेत्रभित्र रहेर काम गर्दा हामीलाई दिइएका अधिकारले मात्रै नपुग्ने अनुभव भयो ।
हामीले माथिल्लो तहको सरकारका अधिकारक्षेत्रसँग नबाझिने खालको नीति तथा कार्यक्रम बनाउँदा पनि प्रदेश तथा सङ्घीय सरकारले कतिपय अधिकार हामीलाई दिएनन् । यसले गर्दा पालिकाबाट गर्नैपर्ने केही कामहरू गर्न हामीलाई समस्या भयो ।
स्थानीय तहको पहिलो संरचना पालिका हो र यो सबैका लागि बनेको हो । यस्तो अवस्थामा प्रभावकारी तरिकाले काम गर्न सकिने केही उपायहरू पक्कै थिए होलान्, जुन मलाई र मेरा सहकर्मीहरूलाई थाहा भएन । यसले गर्दा त्यो कुराको ज्ञान र सिप ममा भएको भए प्रभावकारी काम गर्न सहज हुन्थ्यो होला भन्ने लाग्छ ।
तपाईंले चुनावमा उठ्दा मतदाताहरूसँग गरेका प्रतिबद्धता र परिकल्पनालाई पूरा गर्न सके जस्तो लाग्छ ?
लाग्छ । एक वर्ष कार्यालय स्थापना गर्दागर्दै बित्यो । दुई वर्ष कोरोनाकाल भयो । कोभिड–१९ महामारीको विरुद्ध लाग्दैमा सकियो । यस्तो भए तापनि मैले जनताको चाहना अनुरूप काम गरेँ ।
जनताको घरदैलोमा जाँदा उहाँहरूले मसँग राखेका अपेक्षालाई प्राथमिकतामा राखेर पूरा गरेको छु । भोट माग्न गएको टोलमा जहाँ बाटो बनेको थिएन, त्यहाँ बाटो बनाएको छु । पहिले पानी नपुगेको ठाउँमा अहिले खानेपानी पुर्याएको छु । बिजुलीबत्ती नभएको ठाउँमा बिजुलीबत्ती पनि पुर्याएको छु ।

चुनावका बेला आफूले गरेका प्रतिबद्धतालाई हृदयदेखि पूरा गरेकी छु । चुनावका बेला मतदाताहरूसँग जनताको चाहना पूरा गर्ने प्रतिबद्धता गरेँ । भोट हालेर उहाँहरूले पनि नेतृत्वमा पुग्ने गरी मलाई अनुमोदन गरेको हुनाले मैले पाएको जनमतलाई कदर गर्दै आफ्ना प्रतिबद्धता पूरा गरेको हुँ ।
पालिकावासीले तपाईंलाई जिताउने बेलामा देखाएको उत्साह अहिले पनि उस्तै छ कि के छ ? तपाईंलाई देख्दा कस्तो महसुस गर्छन् ?
अहिले पनि पालिकावासीहरू मलाई देख्ता खुसी हुन्छन् र उस्तै उत्साह देखाएर कुरा गर्छन् । भेटेको बेला कसै कसैले त ‘देउता, भगवान्, इच्छाकामना’ पनि भन्छन् मलाई ।
स्थानीय सरकार प्रमुख हुँदा तपाईंलाई पार्टी, सहकर्मी, घरपरिवार, साथीभाइ, छिमेकी र पालिकावासीले के कस्तो सहयोग गरिदिए नेतृत्व गर्न अझ सहज हुने थियो जस्तो लागेको छ ?
नेपाली कांग्रेसको झन्डा बोकेर रुख चिह्नबाट निर्वाचित भए पनि मलाई यहाँका सबै नागरिकले सहयोग गर्नुभयो । परिवारबाट त स्वाभाविकरूपमा सहयोग भयो । म कस्तो थिएँ भने २४ वर्ष विद्यालयमा पढाएको । मेरा दुई छोरा पनि त्यहीँ पढ्थे । मैले मेरा छोरालाई कहिले पनि फरक देखिनँ । सबै विद्यार्थीलाई एउटै देख्थेँ ।
मैले जुन पार्टीबाट जितेको भए पनि वडा अध्यक्षहरू कार्यपालिका सदस्य हुनुहुन्छ । जनताको सेवक भएर काम गरियो । कसैलाई जात भनिएन, पार्टी हेरिएन । जनताले पनि हामीलाई खुलेर सहयोग गर्नुभयो । मैले पनि कहिल्यै पार्टी हेरिनँ । मेरो कार्यकालमा पार्टीको नाम उठेन ।
पालिकाको नेतृत्व गर्दा ममा जनताको एउटा सेवक हुँ भन्ने मात्र धारणा आयो । मप्रति पनि सबैको सद्भाव र सहयोग रह्यो । यस्तै सद्भाव र सहयोग कायम रह्यो भने नेतृत्व गर्न अझै सहज हुन्छ ।
चितवनको परिवेशमा स्थानीय सरकार प्रमुखको भूमिकामा एक जना महिला निर्वाचित भएर नेतृत्व गर्नु भनेको के रहेछ जस्तो लाग्छ तपाईंलाई ?
सङ्घीयताले दिएको अवसर हो यो । त्यसैले आफूलाई भाग्यमानी ठान्छु । चुनौती थियो । महिलाले पनि अवसर पाए पालिकाको नेतृत्व गर्न सक्छन्, राम्रो काम गर्न सक्छन् भन्ने कुरा पनि यसले प्रमाणित गरिदिएको छ । महिलाले जसरी हरेक समस्यालाई संवेदनशील तरिकाले बुझ्छन्, त्यसरी नै इमानदार तरिकाले काम गर्न पनि सक्दा रहेछन् भन्ने भएको छ ।
आफ्नै कार्यकालमा भएको कुन कुराले तपाईंलाई सबैभन्दा धेरै गर्व लागेको छ ?
मतदाताका अगाडि आफूले गरेका प्रतिबद्धता पूरा गर्न सकेकोमा म अति नै गर्व गर्छु । मैले नागरिकको अगाडि आफूले गर्न सक्ने कुरा बोलेको थिएँ । बोलेपछि पूरा गर्नैपर्छ भनेर काम गर्ने कोसिस गरेँ । नागरिकका जति अपेक्षा, आवश्यकता र चाहनालाई पूरा गर्न सकिने थियो, त्यति मैले गरेँ ।
जनताले भोट हालेर मलाई अनुमोदन गरेका थिए । २०७४ सालको गर्मीमा लाइनमा बसेर भोट हालेका थिए । मलाई भोट हालेपछि गाउँको समस्या समाधान हुन्छ भनेर जनताले जुन आशा र अपेक्षा गरेका थिए, त्यो आशा र अपेक्षा ठुलो थिएन । त्यो प्राप्त गर्नु उनीहरूको अधिकारको कुरा पनि हो । यसैले उनीहरूले दिएको अभिमतलाई कदर गर्ने र यहाँको आवश्यकतालाई परिपूर्ति गर्ने काम गरेँ ।
पालिकाका नागरिकलाई सुखी, खुसी राख्ने जुन प्रतिबद्धता मेरो थियो, त्यो प्रतिबद्धता मैले मेरो कार्यकालमा पूरा गरेकामा आफूलाई गर्व लाग्छ । एउटा महिला अध्यक्ष भएर गाउँपालिका हाँकेर मैले समाजले महिलालाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न सकेँ । महिलाले पालिकाको नेतृत्व गर्न सक्तैनन् भन्ने जुन एउटा भ्रम थियो, त्यसलाई चिर्न सकेँ । मैले राजनीतिक दलको त्यस्तो भ्रमलाई चिर्न सकेँ । यसमा पनि मलाई गर्व लागेको छ ।
स्थानीय सरकारको नेतृत्वमा पछि आउने जनप्रतिनिधिका लागि तपाईंका मुख्य पाँच वटा सुझाव के के छन् ?
समाज रूपान्तरणको लागि निष्पक्ष भावना राख्नुस् । जनचाहना, आवश्यकता र अपेक्षा पूरा गर्नुपर्छ । ‘जे बोल्छ त्यो गर्छ’ भन्ने कुरालाई आत्मसात गर्नुपर्छ । जुनसुकै दलबाट नेतृत्वमा आए पनि सबै नागरिकको अभिभावक भएर काम गर्न जरुरी छ । जनताको शासक होइन, सेवक हो भन्ने महसुस गर्नुपर्छ र त्यो कुरालाई कामबाटै प्रकट गर्नुपर्छ । जनताले नबताएका ससाना समस्यालाई पालिकाले कोट्ट्याएर भए पनि समाधान गर्नुपर्छ । सत्य, समानता, न्याय, सुशासन र पारदर्शिताको बाटोमा हिँड्नुपर्छ ।
आफ्नो कार्यकालमै यसरी पछाडि फर्केर हेरिरहँदा तपाईंलाई कस्तो महसुस भइरहेको छ ?
प्रतिबद्धता त पूरा गर्न सकेँ तर गाउँपालिकामा गर्नुपर्ने जति काम गर्न पाइनँ । भ्याइएन । थालिसकेका विकास निर्माणका कामहरू सम्पन्न गर्न बाँकी छन् । रेखाङ्कन भएका सडकलाई कालोपत्रे गर्न चाहन्छु । थप पूर्वाधारको व्यवस्था गर्नुपर्ने छ ।

गाउँपालिका आर्थिकरूपमा स्वावलम्बी बन्दै छ तर पूर्ण भइसकेको छैन । पहिले सिटामोल पनि नपाउने ठाउँमा अहिले गर्भवती महिला छटपटाउने अवस्थाको त अन्त्य भएको छ तर अझै मलाई यहाँ सुविधासम्पन्न अस्पताल बनाउने धोको छ । पालिकावासीलाई सुखी, खुसी, स्वस्थ र सम्पन्न नागरिकको रूपमा देख्ने मन छ ।
अरू केही भन्न मन लागेको छ ?
पालिकावासीले उपचारका लागि भरतपुर र काठमाडौँ जस्ता ठाउँमा पुग्नुपर्ने अवस्थाको अन्त्य गर्न चाहन्छु । यसैले गाउँपालिकामै ठुलो अस्पताल बनाउने मेरो ठुलो सपना छ । यो सपनालाई पूरा गर्न पाए हुन्थ्यो भन्ने कुरा पनि राख्न चाहन्छु ।
मैले द स्टोरी किचेनले तयार गरेको निर्देशिकाका आधारमा तपाईंलाई केही प्रश्न गरेँ । यसरी कुराकानी गर्दा तपाईंलाई कस्तो अनुभव भयो ?
मनका सबै कुरा पोख्न पाएँ । निकै आनन्द लाग्यो । भेटेर कुरा गर्न मन लागेको छ । कहिले नभनिएका कुराहरू सोधेर चित्रण गरिदिएकोमा धन्यवाद दिन चाहन्छु ।
प्रकाशन मिति : २०८१ माघ २४ गते, बिहीवार
पालिकाका सारथी महिलाहरूका थप कथाहरू
- प्रयोग नहुने चेतका साथ पदीय भूमिकाको खोजी
- सक्दो खटेर काम गरियो र मन जितियो
- उत्तरदायी र जवाफदेही प्रतिनिधित्वको अभ्यासमा
- सडक र विद्युत् नै थिएन तर अहिले भयो
- अविश्वास र विभेदको जगमा कोटाको राजनीतिक पिरलो
- आफू जस्तै युवाका समूहहरूसँग बढी घुलमिल भएँ
- विभेद र अपमानको बोझ कार्यस्थलमा पनि थोपरिँदा
- धेरै त कुरै नबुझेर बाधा गर्न आउने हो कि जस्तो लाग्छ
- नयाँ संरचनाको थालनी गर्दाका केही भोगाइ र सिकाइ
- महिला भएरै नजानेको भन्ठान्नेहरूले मलाई पनि लैङ्गिक विभेद गरे
- मतदाताको मतलाई कदर गर्ने गरी नेतृत्व शैली अपनाएँ
- चितवनमा महिला जनप्रतिनिधिले गरेका अनुभव र उत्कृष्ट काम
- पालिका बनाउनलाई मेरो आफ्नै योजना थियो
- स्थानीय स्रोतसाधनमा मुस्लिम महिलाको पनि पहुँच र पकड
- अनुशासनमा रहेर थुप्रै काम महिला नेतृत्वले गर्न सक्छ
- जानियो, बुझियो र सकेसम्म राम्रै गरियो
- निष्ठापूर्वक काम गरे सफल भइँदो रहेछ
- विषम परिस्थितिमा पनि केही सकारात्मक काम
- कोही कसैबाट प्रेरित नभई काम गर्दै नेतृत्व गर्न सिकेँ
- गुणस्तर, जवाफदेहिता र पारदर्शिता बढाउन सफल