Home Opinion सडक र विद्युत् नै थिएन तर अहिले भयो

सडक र विद्युत् नै थिएन तर अहिले भयो

20
0

सन्धान संवाद शृङ्खला ९

कार्यकाल २०७४–२०७९ साललाई फर्किएर हेर्दा पालिकाका सारथी महिलाहरूको लहरमा देखापर्ने नाम हो, दिलमाया बुढा मगर (गिरी) । उहाँ देश सङ्घीय संरचनामा रूपान्तरण भएपछि भएको पहिलो स्थानीय तह निर्वाचनमा साबिक प्रदेश नम्बर ६ स्थित सल्यान जिल्लाको कुमाख गाउँपालिका अध्यक्ष निर्वाचित हुनुभयो । २०७४ फागुन १२ मा कर्णाली प्रदेश नाम राखिएको उक्त प्रदेशबाट जम्माजम्मी दुई जना महिला पालिका प्रमुख/अध्यक्षमा निर्वाचित भएका थिए । त्यसमध्ये एक हुनुहुन्थ्यो दिलमाया ।

कुल २५ नगरपालिका र ५४ गाउँपालिका रहेको कर्णाली प्रदेशबाट पालिका प्रमुख/अध्यक्षमा निर्वाचित अर्को जनप्रतिनिधि जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका प्रमुख कान्तिका सेजुवाल हुनुहुन्थ्यो ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट चुनावी मैदानमा उत्रिएर अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै दिलमाया तीन हजार ६७३ मत प्राप्त गरी विजयी हुनुभएको थियो । २०७४ वैशाख ३१ गते भएको सो निर्वाचनमा कुल आठ हजार ८३० मत खसेकोमा सदर मतको सङख्या सात हजार ७५१ थियो ।

हालको चौरजहारी नगरपालिका–१०, रुकुम पश्चिममा जन्मेकी दिलमायाका अनुसार, उहाँको राजनीतिको सुरुवात २०५३ सालमा भयो । त्यति बेला नेपालमा सशस्त्र द्वन्द्व चलिरहेको थियो । गाउँमा कम्युनिष्टहरू थिए । राज्यपक्षले कम्युनिष्टहरू दबाउन विभिन्न कदम चालिरहेको थियो । त्यही दमनको पेटामा गाउँवासी परे । दमनको प्रतिरोधको क्रममा उहाँ युद्धमा सरिक हुनुभयो । उहाँ नेकपा (माओवादी) को कर्णाली प्रदेश सदस्य पनि रहनुभयो । महिला सङ्गठनको केन्द्रीय सदस्य पनि बन्नुभयो । महिलाहरूको मुक्ति, देशको रूपान्तरण तथा आमूल परिवर्तनका लागि राजनीतिमा लागेको उहाँको भनाइ थियो ।

दिलमायालाई स्थानीय सरकारको नेतृत्व तहमा पुर्‍याउने मूल आधार बन्यो संविधान । २०७२ सालमा जारी सो संविधानले मुलुकलाई सङ्घीय संरचनामा रूपान्तरण गर्‍यो । २०८१ असोज ३ गते संविधान दिवसको सन्दर्भ पारेर हामीले ‘सन्धान संवाद शृङ्खला’ अन्तर्गत ‘फर्किएर हेर्दा : पालिकाका सारथी महिलाहरू’ स्तम्भको सुरुवात गरेका थियौँ । सोही दिनदेखि एउटा बिहिवार संवाद र अर्को बिहिवार रिपोर्ट पर्ने गरी हरेक हप्ता पालिकाका सारथी महिलाहरूसित सम्बन्धित सामग्री प्रस्तुत गर्दै आएका छौँ । प्रस्तुत सामग्री ‘फर्किएर हेर्दा : पालिकाका सारथी महिलाहरू’ स्तम्भको संवाद खण्ड हो ।

मुलुक सङघीय संरचनामा गइसकेपछि तीन चरणमा स्थानीय तहको निर्वाचन भयो । पहिलो चरणमा २०७४ वैशाख ३१ गते ३४ जिल्लाका २८३, दोस्रो चरणमा २०७४ असार १४ गते ३५ जिल्लाका ३३४ र तेस्रो चरणमा २०७४ असोज २ गते आठ जिल्लाका १३६ गरी कुल ७५३ स्थानीय तहका लागि निर्वाचन भएको थियो । नेपालकै पहिलो निर्वाचन भने २००४ जेठ २९ गते भएको थियो । काठमाडौं म्यूनिसिपलिटीको उक्त निर्वाचनमा महिलाहरूले उम्मेदवारी दिन त के भोट खसाल्न पनि पाएका थिएनन् । महिलाहरूलाई मताधिकार नै दिइएको थिएन ।

देशकै पहिलो निर्वाचन भएको छ वर्षपछि २०१० सालमा अर्को निर्वाचन भयो । त्यस निर्वाचनमा महिलाहरूले मताधिकार मात्र नभएर उम्मेदवारीको अधिकारसमेत पाए । यस्तो अधिकार पाएको साढे छ दशक हुनै लाग्दा २०७४ सालमा भएको स्थानीय निर्वाचनमा त ५७ हजार ८४३ महिला चुनावी मैदानमा नै उत्रिए । तीमध्ये १४ हजार ३५१ महिला पालिकाका विभिन्न पदहरूमा निर्वाचित पनि भए । स्थानीय तह निर्वाचनमा महिलाको कुल प्रतिनिधित्व ४०.९५ प्रतिशत रह्यो । यत्तिको प्रतिनिधित्व वैधानिक प्रावधानको कारण सम्भव भएको थियो । त्यति हुँदाहुँदै महिलाहरूले पाउनुपर्ने जति महत्त्व र अधिकार अझै पाएनन् ।

देशका कुल ७५३ स्थानीय तहका प्रमुख/अध्यक्ष पदका लागि भएको निर्वाचनमा सात महिला नगरपालिका प्रमुखमा र ११ महिला गाउँपालिका अध्यक्षमा निर्वाचित भए । यसरी जम्मा १८ महिलाले मात्र पालिका प्रमुख वा अध्यक्षमा निर्वाचित भएर स्थानीय सरकारको नेतृत्व गर्ने अवसर पाए ।

‘स्थानीय तह निर्वाचन ऐन, २०७३’ मा दफा १७ को उपदफा ४ मा उम्मेदवारको मनोनयनपत्र पेस गर्दा दलले अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुखमध्ये ५० प्रतिशत महिला उम्मेदवार रहने गरी मनोनयनपत्र पेस गर्ने व्यवस्था मिलाउनुपर्ने प्रावधान छ । २०७४ सालको स्थानीय चुनावमा पालिकाको उपप्रमुख/उपाध्यक्ष पद महिलाकै लागि तोकिए जस्तो गरी उम्मेदवारी थमाइएको थियो ।

त्यति गर्दा पनि कुल १५०६ स्थानमा पुरुष ७८८ हुँदा महिला ७१८ जना मात्र विजयी भए । महिलाको सम्भाव्य प्रतिनिधित्व पनि ३५ स्थानले कम हुन पुग्यो । यसबाट ५० प्रतिशतको उम्मेदवारी प्रावधानले मात्र परिणामतः महिलालाई न्याय नहुने देखियो । यस्तो अवस्थामा पनि पालिकाको नेतृत्वमा उम्मेदवार बनेर निर्वाचित हुन पुगेका १८ महिलाहरू सामान्य पक्कै थिएनन् । तिनैमध्ये एकमा दिलमाया पनि पर्नुभयो ।

नयाँ शासकीय स्वरूप, नयाँ अभ्यास, वैधानिक तथा भौतिक पूर्वाधारहरूको अपर्याप्तता/अभाव जस्ता कारणले सबै पालिकामा एक प्रकारको अन्योल थियो । त्यस्तो बेला पुरुषहरूकै बाहुल्य रहेको संरचनामा नवनिर्वाचित प्रमुख/अध्यक्ष बनी नेतृत्वदायी भूमिका निर्वाह गर्नु महिलाका लागि झनै चुनौतीपूर्ण थियो । नागरिकका अपेक्षा चुलिएका थिए । दिलमायाका सामु पनि चुनौतीका पहाड खडा थिए ।

चुनौतीहरूबिच गाउँपालिका अध्यक्षको जिम्मेवारी निर्वाह गरी दायित्व पूरा गर्दाको उहाँको अनुभव कस्तो रह्यो त ? विशेष गरी उहाँको नेतृत्वमा पालिकाले हासिल गरेका उपलब्धि के थिए ? उहाँको नेतृत्वशैली, बाधाअवरोध पन्छाउने उपाय के कस्ता थिए ? आफूले आफ्नो कार्यकाल र आफैँलाई फर्किएर हेर्दा उहाँले के पाउनुभयो ? भावी जनप्रतिनिधिलाई उहाँका सुझाव के के रहे ?

द स्टोरी किचेनले तयार पारेको निर्देशिकाका आधारमा मूलतः यी र यस्ता प्रश्नका साथ ‘सन्धान’ को लागि फेलो पत्रकार निसु जोशीले दिलमायासँग उहाँको कार्यकालको अन्तिमतिर टेलिफोन कुराकानी गर्नुभएको थियो । आजको शृङ्खलामा प्रस्तुत छ, दिलमाया बुढा मगर (गिरी) सँग गरिएको सोही कुराकानी ।

करिब पाँच वर्षको कार्यकालमा तपाईंले गर्नुभएका एकदमै महत्त्वपूर्ण काम र ती कामबाट प्राप्त उपलब्धि के के हुन् भन्ने लाग्छ ?

गाउँपालिकामा निर्वाचित भएर आउँदा पालिकाको आफ्नै एक आना पनि जग्गा थिएन । अहिले ७५ रोपनी जग्गा निःशुल्क प्राप्त भएको छ । हामीले सडक, बिजुली, स्वास्थ्य, प्रविधि, सिँचाइ, खानेपानी, सुशासन जस्ता क्षेत्रमा काम गरेका छौँ । सबैभन्दा पहिला सदरमुकामदेखि गाउँपालिका जोड्ने करीब ४५ किलोमिटर सडक विस्तार गर्‍यौँ । त्यसपछि सबै वडामा जानका लागि केन्द्र, प्रदेश र पालिकाको बजेटबाट सडक विस्तार गर्‍यौँ । बिस्तारै जनताको आवश्यकताअनुसार टोल र बस्तीमा सडक निर्माण गर्‍यौँ ।

हामी निर्वाचित भएर आउनुअघि हाम्रो पालिकामा एउटा पनि बिजुलीको पोल थिएन । अर्काे महत्त्वपूर्ण उपलब्धि भनेको आफ्नै पालिकाको बजेटबाट विद्युतीकरणको काम गर्‍यौँ । सबै वडामा विद्युतीकरण गर्‍यौँ । ३ र ५ नम्बर गरी अब दुइटा वडामा मात्र करेन्ट जोड्न बाँकी छ । यो महिनामा त्यहाँ पनि जोडिसक्छौँ । बाँकी वडामा विद्युत् पुगिसकेको अवस्था छ ।

स्वास्थ्य उपचारका लागि यहाँबाट नेपालगन्ज, दाङ, काठमाडौँ जानुपर्ने बाध्यता थियो । यहाँ सिटामोलसमेत समयमा नपाउने अवस्था थियो । त्यसका लागि विकट बस्तीमा चार वटा सामुदायिक संस्था इकाइ निर्माण गर्‍यौँ । घरमै सुत्केरी गराउने अवस्था रहेकाले स्वास्थ्य संस्थामै सुत्केरी गराउनुपर्छ भनेर घरघरमै पुगेर जानकारी गरायौँ । पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गर्न सफल भयौँ । पालिकाभित्रका गर्भवती महिला र ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने निर्णय गरेका छौँ । चार वटा सामुदायिक स्वास्थ्य संस्थामा चार वटा ‘बर्थिङ सेन्टर’ सञ्चालन गरेका छौँ । विशेषज्ञ चिकित्सकसहितको १५ शैय्याको अस्पताल सञ्चालन गरेका छौँ ।

शिक्षातर्फ शिक्षकहरूको दरबन्दी मिलान गरी विद्यार्थीहरूको पठनपाठनमा सहज बनाउने उद्देश्यले शिक्षक कम भएको ठाउँमा स्वयंसेवी शिक्षकको व्यवस्थापन र बालविकासको काम गरेका छौँ । पालिकालाई समयअनुसार प्रविधिमैत्री बनाएका छौँ, हातले लेख्ने काम बन्द गर्नका लागि । सिँचाइ, खानेपानीलगायतको विकास गरेका छौँ । आवश्यकता भएका ठाउँमा लिफ्ट खानेपानीको व्यवस्था गरिएको छ ।

हामीले सुशासनको काम पनि गरेका छौँ । भ्रष्टाचारलाई न्यूनीकरण गर्नका लागि सबै एकताबद्ध भएको भनेर निर्णय गरेका छौँ । त्यस्तै, गाउँपालिकाबाट सञ्चालन हुने सम्पूर्ण योजना, कामकारबाही सहायता कक्षमार्फत गर्ने र उक्त कामबारे स्थानीयलाई फोटोकपीमार्फत जानकारी दिने भनेर निर्णय गरेका छौँ । साथै, यी निर्णयहरू कार्यान्वयन पनि गरिरहेका छौँ । गाउँपालिकामा पहिलेको भन्दा आमूल परिवर्तन त कोही माइका लालले गर्न सक्तैन तर साधन स्रोतको अपर्याप्तताका बिच पनि हामीले विकास निर्माणको जग बसालेका छौँ ।

‘संस्थागत सुत्केरी’ को कुरा त भनिहाल्नुभयो, महिलाहरूलाई नै लक्षित गरेर गर्नुभएको थप काम पनि छ ?

आत्मनिर्भर बनाउन महिलाहरूका लागि गरेको भनेको मुख्य आयआर्जनको तालिम हो । तालिम लिएका केही महिला पेसा व्यवसायमा पनि लागेका छन् । होजेरी, सिलाइकटाइ, चोयाको डोको बुनाइलगायतका तालिम दिएका छौँ । कृषकलाई पनि तालिम दिइएको छ । डेढ सय जति महिलाहरू तालिमप्राप्त भएका छन् । तालिम पाएका अधिकांशले यसलाई व्यवसाय बनाएका छन् । महिलाहरूले मुढा बनाएको, स्विटर बुनेको देख्न सकिन्छ ।

यस्ता काम गरी उपलब्धि प्राप्त गर्न तपाईंले आफूलाई कसरी तयार गर्नुभएको थियो ?

पहिलो कुरा, उपलब्धि हासिल गर्नका लागि हामीसँग यो गर्छौं भन्ने इच्छाशक्ति थियोे । ‘संघीयता, गणतन्त्र, समानुपातिक समावेशी’ भन्ने हाम्रो नारा थियो नि, माओवादीको नारा । यही नारा स्थापित गर्नका लागि हृदयदेखि नै लागियो । जनताको सहयोगबाट धेरै उपलब्धि हासिल भएका छन् । उपलब्धिको श्रेय भनेको जनयुद्ध, जनआन्दोलन, सहिदहरूको बलिदानी हो भन्ने कुरा राख्न चाहन्छु ।

यस्ता उपलब्धिमूलक काम गर्नुपर्छ भन्ने तपाईंलाई किन लाग्यो ?

यो कुमाख गाउँपालिका भनेको दुर्गम हो भनी परिभाषा गर्थे नेताहरूले, यहाँका राजनीतिक दलहरूले । यो गाउँपालिका आफैँमा दुर्गम भने होइन । आएको बजेट मनपरी ढङ्गले चलाउने, राजनीतिक दलका नेताहरूमा अनियमितता गर्ने व्यवहारले दुर्गम भएको थियो । यसैले यसलाई परिवर्तन गर्न हामीले नयाँ काम गरेर देखाउनुपर्छ भन्ने थियो । यसका लागि हामीलाई अवसर थियो, उद्देश्य थियो ।

तपार्ईंले गर्नुभएका कामबाट स्थानीय नागरिकको जीवनमा के परिवर्तन भएको छ जस्तो लाग्छ ? कसैले तपाईंलाई केही भनेको पनि छ कि ?

भनिहाल्छन् नि ! स्थानीय सरकार भएर धेरै विकास भयो, सेवा सुविधा पाउन सहज भयो भन्छन् । तपाईंहरू आएपछि बिउबिजन पाउन सहज भयो, निष्पक्ष ढङ्गले काम भएको छ भन्नुहुन्छ नि जनसमुदायले ।

नेतृत्वमा आउँदा तपाईंलाई केही कुराको डर थियो कि ?

निर्वाचित भएर आउँदा जनताले दिएको यो अवसरलाई सम्भावनामा बदल्न सक्छु कि सक्तिनँ भन्ने चुनौती ममा थियो । योभन्दा अर्को चुनौती थिएन । किनकि काम गर्न सक्छु, नेतृत्व गर्न सक्छु भनेर नै म निर्वाचनमा होमिएको हो । सही ढङ्गले जिम्मेवारी वहन गर्न सक्छु कि सक्तिनँ भन्ने मात्रै चुनौती थियो । यो चुनौतीलाई हटाउन सकेँ ।

त्यो चुनौतीलाई हटाउन के के गर्नुभयो ?

विवादरहित ढङ्गले कार्यकाल सम्पन्न गर्ने कुमाख गाउँपालिका एउटा मात्र होला । जनप्रतिनिधि एकताबद्ध भयाँै । कर्मचारीलाई सही तरिकाले परिचालन गर्‍यौँ । राजनीतिक दलहरूसँग समन्वय र सहकार्य गर्‍यौँ । पालिकाको विकास कसरी गर्ने भन्नेमा छलफल गर्‍यौँ । बस्ती बस्ती र टोल टोलमा पुग्यौँ । उनीहरूको आवश्यकता के के छन् र कसरी विकास गर्ने भनेर बुझ्न पुग्यौँ । सबैको सहयोग र आवश्यकताअनुसार बजेट विनियोजन गरेर अवसरलाई सम्भावनामा बदल्न सफल भयौँ ।

स्थानीय सरकार प्रमुख भएर काम गर्दा बाधाअड्चन आइपरे कि परेनन् ?

खास बाधाअड्चन आएको अनुभूति भएको छैन । आफ्नै कानुन, कार्यविधि, ऐन, नियमावली बनाउँदा सामान्य अप्ठेरो भएको महसुस भएको थियो । अन्य काम गर्दा बाधा आएन । आएका केही बाधालाई पनि पन्छाउँदै काम गर्‍यौँ ।

बाधालाई कसरी पन्छाउनुभयो ?

हामीले कार्यपालिकाको बैठक बसेर बाधालाई समाधान गर्ने अभ्यास गर्‍यौँ। त्यही गरिरहेका छौँ ।

बाधा हटाउने रणनीति र सिप कसरी सिक्नुभयो ?

सङ्घीय मामिला मन्त्रालयबाट बनाइएको नमुना कानुन हेरेर हामीले बाधालाई समाधान गर्न सिक्यौँ र सक्यौँ । गाउँपालिकाका लागि ती कानुन हेरेर छलफल र परिमार्जन गर्‍यौँ । गाउँपालिका राष्ट्रिय महासंघको केन्द्रीय कोषाध्यक्ष पनि हो म । त्यहाँबाट पनि यसमा केही सहयोग भयो ।

निर्वाचित भएर आएपछि कसरी नेतृत्व गर्नुभयो ? तपाईंको नेतृत्व शैली कस्तो थियो ?

नेतृत्व भनेको जनताबाट जन्मिने हो । जहाँ समस्या हुन्छ त्यहाँबाट नेतृत्व जन्मिने हो । यो आँट, विश्वास, क्षमता भनेको मलाई जनता, कार्यकर्ताले दिएको हो । महिलाहरूले सरकारको बागडोर सञ्चालन गर्न सक्छन्, क्षमताको विकास भइसकेको छ भन्ने सन्देश पछिल्लो पिँढीलाई दिन खोजेको हो मैले । कुल ७५३ वटा स्थानीय तहमा ११ जना गाउँपालिका अध्यक्ष, सात जना मात्रै मेयर छन् । त्यसो भएकाले हामीले के सन्देश दिन जरुरी छ भने–सशक्त र जिम्मेवार ढङ्गले काम सञ्चालन गर्न सकियो भने महिलालाई पनि जनताले विश्वास गर्छन् । महिलाले पनि पारदर्शी, उत्तरदायी, स्वतःस्फूर्त ढङ्गले काम गर्न सक्छन् भन्ने अहिलेको निर्वाचनमा जितेका महिलाहरूले देखाइसकेका छन् । आगामी निर्वाचनमा पनि यसरी नै धेरै महिलाले स्थानीय तहको नेतृत्वमा पुगेर जनताको विश्वास जित्न सक्छन् । यही सोच लिएर मैले नेतृत्व लिएँ । सहकार्य र समन्वय गर्दै काम गरेँ ।

नेतृत्व गर्ने शैली तपाईंले कहाँबाट सिक्नुभएको थियो र कोबाट प्रेरित हुनुहुन्छ ?

आजसम्म मैले जे जति सिकेँ, त्यो सबै आफूले काम गरेर नै सिकेको हो । सिकाइ अझै जारी छ । मलाई काम गर्ने आँट, विश्वास, क्षमता जनता, कार्यकर्ताले दिएको हो । मलाई ‘काम गर्न सक्नुहुन्छ’ भन्ने प्रेरणा परिवार, सहिद, घाइते, जनता, कार्यकर्ता र साथीभाइले नै दिए । उनीहरूबाटै म प्रेरित पनि भएँ ।

तपाईंको सिकाइको यो तौरतरिका र शैलीले सहकर्मीहरूलाई कस्तो प्रभाव पारेको होला ? केही उदाहरण छन् कि ?

यो प्रभाव पार्ने कुराभन्दा एउटा त म खुला भएर काम गरिरहेको छु । सबैसँग छलफल गर्छु । सहकार्य र समन्वय गरेर अगाडि बढ्छु । सबै विकास गर्ने भनेर आएको हुँ । कुनै कुरा कसैसँग लुकाउँदिनँ । सङ्घीय सरकारको सदन चले जस्तो गरी हामी चलाउँदैनौँ । पार्टीको मोर्चा, बैठक बसे जसरी कार्य सञ्चालन गरेका छौँ । हाम्रो पालिकामा एमाले र कांग्रेसले एक/एक वडा जितेका छन् । यो पाँच वर्षको अवधिमा मेरो नेतृत्वमा काम गर्दा एउटै पार्टीको, एउटै परिवारको जस्तो भएको महसुस गरेको उनीहरूले बेला बेलामा भन्ने गरेका छन् ।

तपाईंको नेतृत्व शैलीले तपाईंलाई आफ्नै विषयमा नयाँ कुरा पनि सिकायो कि ?

सिकाइ त चलिरहने प्रक्रिया हो । आफ्नै विषयमा सिकाइ पनि जारी छ ।

तपाईंको नेतृत्वलाई अझै प्रभावकारी बनाउन, थप के कस्ता ज्ञान र सिप आफूमा भएको भए सहज हुन्थ्यो जस्तो लाग्छ ?

आफ्नो नेतृत्वलाई अझै प्रभावकारी बनाउन चाहिने ज्ञान, सिप बाहिरबाट आउने होइन नि ! आफैँले गरेको कामबाट आउने हो । काम गर्दै जाँदा समस्या देखिन्छ । त्यहाँबाट सिक्ने हो । कसैले भनेर, सिकाएर आउने होइन । नेतृत्व चलाउने कुरा स्वचालित हुन्छ ।

तपाईंले चुनावमा उठ्दा मतदाताहरूसँग गर्नुभएको प्रतिबद्धता र परिकल्पनालाई पूरा गर्न सके जस्तो लाग्छ ?

किसानहरूलाई पेन्सन दिने र बहुमुखी क्याम्पस बनाउने यी दुई वटा योजनाबाहेक मैले गरेका सबै प्रतिबद्धता पूरा गर्न सकेँ । केही प्रतिबद्धताहरू सम्पन्न भइसके । केही सम्पन्न हुने चरणमा छन् । भौतिक पूर्वाधार, सामाजिक विकास शाखा, आर्थिक, सुशासन, विपत् व्यवस्थापन गरी पाँच वटा क्षेत्रमा हामीले काम गर्नुपर्छ । ती कामहरू भइरहेका छन् । मैले सुरुमा पनि भनेको थिएँ कि हामीले विकासको सुरुवात गरेका छौँ भनेर । मैले विकासको जग बसालेको छु । यो जगमा टेकेर आगामी आउने नेतृत्वलाई काम गर्न सहज हुनेछ भन्ने मलाई लाग्छ ।

पालिकावासीले तपाईंलाई जुन उत्साहका साथ जिताएका थिए, अहिले पनि त्यही उत्साहको भाव देखाउँछन् कि फरक महसुुस गरेका छन् जस्तो लाग्छ ?

मसँग अहिले पनि त्यही उत्साह देखाउँछन् र ‘तपाईं फेरि पनि उठ्नुपर्छ’ भन्छन् नि !

त्यसोभए आगामी निर्वाचनमा पनि उठ्ने सोच बनाउनुभएको छ ?

जनताले चाहे भने, सहयोग गरे भने म फेरि उठ्ने सम्भावना रहन्छ ।

स्थानीय सरकार प्रमुख हुँदा तपाईंलाई पार्टी, सहकर्मी, घरपरिवार, साथीभाइ, छिमेकी र पालिकावासीले के कस्तो सहयोग गरिदिए नेतृत्व गर्न अझ सहज हुने थियो जस्तो लागेको छ ?

सङ्घीय र प्रदेश सरकारले नियम कानुन बनाएर सहयोग गरेको भए सुरुवातमा अलि सजिलो हुन्थ्यो । अरूले त आफ्ना ठाउँबाट सहयोग गरेकै छन् ।

सल्यानको परिवेशमा स्थानीय सरकारको प्रमुखको भूमिकामा एक जना महिला निर्वाचित भएर नेतृत्व गर्नु भनेको के रहेछ जस्तो लाग्छ तपाईंलाई ?

खासमा नेपालमा महिलाहरूले नै नेतृत्व गर्नुपर्छ भन्ने लाग्यो मलाई । किनभने यो पुरुषप्रधान समाज हो, सामन्ती सोच सबैमा छ । अलिअलि तपाईंमा पनि छ र अलिअलि ममा पनि छ । तर, अलि बढी पुरुषमा हुने रहेछ । विकासको नेतृत्वमा महिलालाई सजिलै स्विकार्न नसक्ने छ नि त हाम्रो समाजमा ! महिलाले दिनभरि काम गर्दा पनि नगरेको जस्तो हुने, पुरुषले अलिकति गरे पनि धेरै गरे जस्तो हुने समाज छ नि हाम्रो ! अब यो समाजमा एकचोटि महिलाहरूले सबैतिर स्थानीय सरकार प्रमुख हुँदै प्रदेश र सङ्घीय सरकारको बागडोर सम्हाल्न सक्ने क्षमता पनि विकास गर्नुपर्छ भन्ने मलाई लागेको छ ।

आफ्नै कार्यकालमा भएको कुन कुराले तपाईंलाई सबैभन्दा धेरै गर्व लागेको छ ?

मलाई त आफूले गरेका सबै काममा गर्व लागेको महसुस भइरहेको छ ।

अब निर्वाचित भएर स्थानीय सरकारको नेतृत्वमा आउने महिला जनप्रतिनिधि र पुरुष जनप्रतिनिधिका लागि मुख्य पाँच वटा के के सुझाव दिन चाहनुहुन्छ ?

मेरो पहिलो सुझाव, जनताको आवश्यकताअनुसारको विकास गर्नुस् भन्छु । दोस्रो, प्रदेश, सङ्घका सबै सरकार र सबै राजनीतिक दलसँग समन्वय र सहकार्य गर्नुस् भन्छु । यसले सहअस्तित्वको विकास हुन्छ क्या ! तेस्रो, समूहमा वा टिममा काम गर्नुस् । चौथो, सबैको मनोविज्ञान बुझेर सही तरिकाले काम गर्नुस् । पाँचौँमा, लक्षित वर्गका लागि अलि धेरै कार्यक्रम ल्याउन जोड दिनुस् भन्छु ।

आफ्नो कार्यकालमै यसरी पछाडि फर्केर हेरिरहँदा तपाईंलाई कस्तो महसुस भइरहेको छ ?

हामी पहिलोचोटि यो अभ्यासमा सहभागी भएको हो नि ! यसभन्दा अघि यो अभ्यास थिएन नि त ! स्थानीय सरकारको प्रमुख भएपछि धेरै सिक्नुपर्ने, धेरै कुरा जान्नुपर्ने । यसमा नियम, कानुन बनाउन सिकियो । योजना छनौट गर्न सिकियो । धेरै ज्ञान हासिल भयो । नत्र के थाहा थियो र हिजो ? तराईतिर त महिलाहरू ड्राइभिङ गरेर हिँड्ने । पहाडी क्षेत्रमा त्यस्तो सजिलो कहाँ थियो र ? मोटरसाइकल कुदाएर एउटा महिला अध्यक्ष हिँड्ने । टाढाको यात्रामा मात्र म गाडीको प्रयोग गर्छु । गाउँपालिकाभित्र मोटरसाइकलमा हिँड्छु । महिलाहरूले मलाई चुनावमा जितेकोभन्दा मोटरसाइकल चलाएर घुमेको देख्ता गर्व लागेको प्रतिक्रिया दिए ।

बजेट भएअनुसार पारदर्शी, जनआवश्यकताअनुसार विनापूर्वाग्रही ढङ्गले आवश्यकता र प्राथमिकताका आधारमा जवाफदेयी भएर काम गरिरहेका छौँ । जनताको साथ सहयोगले पनि काम गर्न सफल भएका छौँ । सडक नै थिएन, विद्युत् नै थिएन तर अहिले भयो । यसैलाई परिवर्तन भएको मान्न सकिन्छ । यसमा म खुसी छु । पछाडि फर्किएर हेर्दा आफू र आफ्नो नेतृत्व क्षमतामाथि गर्व पनि लाग्छ ।

अरू केही भन्न मन लागेको छ ?

खासै केही छैन । हामीकहाँ महिलाले नै महिलालाई कमजोर ठान्ने जुन प्रवृत्ति छ नि, त्यसलाई हटाएर महिलाले पनि अधिकार र अवसर पाए भने सरकारको नेतृत्व गर्ने मात्रै होइन, सरकार नै सञ्चालन गर्न सक्षम छन् भन्ने दिमागमा राख्नुपर्छ । हामीले पनि नेतृत्व लिएर काम पनि गरेर देखाउनुपर्छ ।

मैले द स्टोरी किचेनले तयार गरेको निर्देशिकाका आधारमा तपाईंलाई केही प्रश्न गरेँ । यसरी कुराकानी गर्दा तपाईंलाई कस्तो अनुभव भयो ?

खुसी लागेको छ, धन्यवाद भन्छु ।

प्रकाशन मिति : २०८१ पाैष १८ गते, बिहीवार

पालिकाका सारथी महिलाहरूका थप कथाहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here