Home Insight अनुशासनमा रहेर थुप्रै काम महिला नेतृत्वले गर्न सक्छ

अनुशासनमा रहेर थुप्रै काम महिला नेतृत्वले गर्न सक्छ

113
0

सन्धान संवाद शृङ्खला ३

कार्यकाल २०७४–२०७९ साललाई फर्किएर हेर्दा पालिकाका सारथी महिलाहरूको लहरमा देखापर्ने नाम हो, कुमारी बराल गौतम । उहाँ देश सङ्घीय संरचनामा रूपान्तरण भएपछि भएको पहिलो स्थानीय तह निर्वाचनमा साबिक प्रदेश नम्बर ५ स्थित रुकुम (पूर्व) जिल्लाको सिस्ने गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभयो । २०७७ असोज २० मा लुम्बिनी प्रदेश नाम राखिएको उक्त प्रदेशका चार उपमहानगरपालिका, ३२ नगरपालिका र ७३ गाउँपालिकाका प्रमुख/अध्यक्षमा १०९ जना निर्वाचित भएकोमा उहाँ एक मात्र महिला हुनुहुन्थ्यो । उहाँ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट चुनावी मैदानमा उत्रिएर अन्य छ प्रतिस्पर्धीलाई पछि पार्दै तीन हजार २९६ मत प्राप्त गरी विजयी हुनुभएको थियो । २०७४ असार १४ गते भएको सो निर्वाचनमा कुल छ हजार ५१५ मत खसेकोमा सदर मतको सङ्ख्या छ हजार ३९२ थियो । निर्वाचनका लागि उम्मेदवारी दिँदा उहाँ ३४ वर्षको हुनुहुन्थ्यो ।

हालको सत्यवती गाउँपालिका–२, गुल्मीमा जन्मेकी कुमारी २०५४ सालमा विद्यार्थी सङ्गठनमा आबद्ध हुनुभयो । २०५६ सालमा अनेरास्ववियु क्रान्तिकारीको जिल्ला सङ्गठनमा आबद्ध हुनुभयो र त्यसपछि निरन्तर नेकपा (माओवादी केन्द्र) मा आबद्ध रहनुभयो । राजनीतिबाट नै समाज परिवर्तन सम्भव छ भन्ने विश्वासबाट उहाँ राजनीतिमा लाग्नुभएको थियो ।

कुमारीलाई स्थानीय सरकारको नेतृत्वमा पुर्‍याउने मूल आधार बन्यो, नेपालको संविधान । २०७२ सालमा जारी सो संविधानले मुलुकलाई सङ्घीय संरचनामा रूपान्तरण गर्‍यो । २०८१ असोज ३ गते संविधान दिवसको सन्दर्भ पारेर हामीले ‘सन्धान संवाद शृङ्खला’ अन्तर्गत ‘फर्किएर हेर्दा : पालिकाका सारथी महिलाहरू’ स्तम्भको सुरुवात गरेका थियौँ । सोही दिनदेखि एउटा बिहिवार संवाद र अर्को बिहिवार रिपोर्ट पर्ने गरी हरेक हप्ता पालिकाका सारथी महिलाहरूसित सम्बन्धित सामग्री प्रस्तुत गर्दै आएका छौँ । प्रस्तुत सामग्री ‘फर्किएर हेर्दा : पालिकाका सारथी महिलाहरू ’ स्तम्भको संवाद खण्ड हो ।

मुलुक सङ्घीय संरचनामा गइसकेपछि तीन चरणमा स्थानीय तहको निर्वाचन भयो । पहिलो चरणमा २०७४ वैशाख ३१ गते ३४ जिल्लाका २८३, दोस्रो चरणमा २०७४ असार १४ गते ३५ जिल्लाका ३३४ र तेस्रो चरणमा २०७४ असोज २ गते आठ जिल्लाका १३६ गरी कुल ७५३ स्थानीय तहका लागि निर्वाचन भएको थियो । नेपालकै पहिलो निर्वाचन भने २००४ जेठ २९ गते भएको थियो । काठमाडौं म्यूनिसिपलिटीको उक्त निर्वाचनमा महिलाहरूले उम्मेदवारी दिन त के भोट खसाल्न पनि पाएका थिएनन् । महिलाहरूलाई मताधिकार नै दिइएको थिएन । देशकै पहिलो निर्वाचन भएको छ वर्षपछि २०१० सालमा अर्को निर्वाचन भयो । त्यस निर्वाचनमा महिलाहरूले मताधिकार मात्र नभएर उम्मेदवारीको अधिकारसमेत पाए । यस्तो अधिकार पाएको साढे छ दशक हुनै लाग्दा २०७४ सालमा भएको स्थानीय निर्वाचनमा त ५७ हजार ८४३ महिला चुनावी मैदानमा नै उत्रिए । तीमध्ये १४ हजार ३५१ महिला पालिकाका विभिन्न पदहरूमा निर्वाचित पनि भए । स्थानीय तह निर्वाचनमा महिलाको कुल प्रतिनिधित्व ४०.९५ प्रतिशत रह्यो । यत्तिको प्रतिनिधित्व वैधानिक प्रावधानको कारण सम्भव भएको थियो । त्यति हुँदाहुँदै महिलाहरूले पाउनुपर्ने जति महत्त्व र अधिकार अझै पाएनन् ।

देशका कुल ७५३ स्थानीय तहका प्रमुख/अध्यक्ष पदका लागि भएको निर्वाचनमा सात महिला नगरपालिका प्रमुखमा र ११ महिला गाउँपालिका अध्यक्षमा निर्वाचित भए । यसरी जम्मा १८ महिलाले मात्र पालिका प्रमुख वा अध्यक्षमा निर्वाचित भएर स्थानीय सरकारको नेतृत्व गर्ने अवसर पाए । ‘स्थानीय तह निर्वाचन ऐन, २०७३’ मा दफा १७ को उपदफा ४ मा उम्मेदवारको मनोनयनपत्र पेस गर्दा दलले अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुखमध्ये ५० प्रतिशत महिला उम्मेदवार रहने गरी मनोनयनपत्र पेस गर्ने व्यवस्था मिलाउनुपर्ने प्रावधान छ । त्यति बेला पालिकाको उपप्रमुख/उपाध्यक्ष पद महिलाकै लागि तोकिए जस्तो गरी उम्मेदवारी थमाइएको थियो । त्यति गर्दा पनि कुल १५०६ स्थानमा पुरुष ७८८ हुँदा महिला ७१८ जना मात्र विजयी भए । महिलाको सम्भाव्य प्रतिनिधित्व पनि ३५ स्थानले कम हुन पुग्यो । यसबाट ५० प्रतिशतको उम्मेदवारी प्रावधानले मात्र परिणामतः महिलालाई न्याय नहुने देखियो । यस्तो अवस्थामा पनि पालिकाको नेतृत्वमा उम्मेदवार बनेर निर्वाचित हुन पुगेका १८ महिलाहरू सामान्य पक्कै थिएनन् । तिनैमध्ये एकमा कुमारी पनि पर्नुभयो ।

नयाँ शासकीय स्वरूप, नयाँ अभ्यास, वैधानिक तथा भौतिक पूर्वाधारहरूको अपर्याप्तता/अभाव जस्ता कारणले सबै पालिकामा एक प्रकारको अन्योल थियो । त्यस्तो बेला पुरुषहरूकै बाहुल्य रहेको संरचनामा नवनिर्वाचित प्रमुख/अध्यक्ष बनी नेतृत्वदायी भूमिका निर्वाह गर्नु महिलाका लागि झनै चुनौतीपूर्ण थियो । नागरिकका अपेक्षा चुलिएका थिए । कुमारीका सामु पनि चुनौतीका पहाड खडा थिए । चुनौतीहरूबिच गाउँपालिका प्रमुखको जिम्मेवारी निर्वाह गरी दायित्व पूरा गर्दाको उहाँको अनुभव कस्तो रह्यो त ? विशेष गरी उहाँको नेतृत्वमा पालिकाले हासिल गरेका उपलब्धि के थिए ? उहाँको नेतृत्वशैली, बाधाअवरोध पन्छाउने उपाय के कस्ता थिए ? आफूले आफ्नो कार्यकाल र आफैँलाई फर्किएर हेर्दा उहाँले के पाउनुभयो ? भावी जनप्रतिनिधिलाई उहाँका सुझाव के के थिए ? द स्टोरी किचेनले तयार पारेको निर्देशिकाका आधारमा मूलतः यी र यस्ता प्रश्नका साथ ‘सन्धान’ को लागि फेलो पत्रकार गगनशिला खड्काले कुमारीसँग उहाँको कार्यकालको अन्तिमतिर टेलिफोन कुराकानी गर्नुभएको थियो । आजको शृङ्खलामा प्रस्तुत छ, कुमारी बराल गौतमसँग गरिएको सोही कुराकानी ।

करिब पाँच वर्षको कार्यकालमा तपाईंले नेतृत्व गर्नुभएका एकदमै महत्त्वपूर्ण काम के के हुन् ?

सबैभन्दा महत्त्वपूर्ण काम भनेको गाउँपालिका प्रमुखमा निर्वाचित भएपछि नीतिनिर्माण कार्यलाई अगाडि बढाउँदै हामीले पाँचबर्से र बिसबर्षे गुरुयोजना निर्माण गर्‍यौँ । त्यही गुरुयोजनामा टेकेर हामीले २०७८/७९ देखि २०८२/८३ सम्मको आवधिक योजना पनि बनाइसकेका छौँ । शिक्षाको क्षेत्रमा हामीले कक्षा १ देखि ८ सम्म पाठ्यक्रम निर्माण गरेका छौँ । कक्षा १ देखि ६ सम्म स्थानीय पाठ्यक्रम निर्माण गरेका छौँ । कक्षा ६ र ७ लाई पाठ्यपुस्तक वितरण पनि गरिसकेका छौँ । पर्यटन क्षेत्रमा हामीले सम्भावित क्षेत्रहरूको डिपिआर तयार गरेका छौँ । हामीले युद्धथलो रुकुम भनेर चिनिने भको भएर यहाँ युद्ध सङ्ग्रहालय बनाएका छौँ ।

स्वास्थ्यको क्षेत्रमा पनि हामीले पालिकामा चार शैय्याको अस्पतालदेखि पाँच वटा स्वास्थ्यचौकी, पाँच वटा स्वास्थ्य सामुदायिक इकाइ केन्द्र र पाँच वटा आधारभूत सेवा केन्द्रहरू स्थापना गरेका छौँ । महिलाको हकमा गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा र प्रोत्साहनस्वरूप यातायात सुविधा पनि दिइएको छ । १ नम्बर वडा विकट भएकाले स्वास्थ्यकर्मीहरू जान नमान्ने भएका हुँदा त्यहाँका नागरिकलाई स्वास्थ्य सेवा पुर्‍याउन स्टाफ नर्स र ल्याब टेक्निसियनको सङ्ख्या बढाएका छौँ । हाम्रा लागि यो पनि महत्त्वपूर्ण पाटो रहेको छ । सडक, यातायात, खानेपानी, विद्युत्, स्वास्थ्य, शिक्षाका पूर्वाधार क्षेत्रमा निर्वाचित हुनुभन्दा पहिले गरेको प्रतिबद्धताभन्दा पनि बढी काम गरेका छौँ । लैङ्गिक सवालमा समावेशिताका कुरालाई मुख्य प्राथमिकता दिएका छौँ ।

महिला र बालबालिकाको क्षेत्रमा हामीले हामीले विभिन्न काम गरेका छौँ । गर्भमै छोरीको विवाह गरिदिने चलनलाई कम गरोस् र भविष्यमा गएर आत्मनिर्भर बन्नका लागि सघाउ पुगोस् भनेर छोरी बचत कार्यक्रम सञ्चालन गरेका छौँ । २० वर्षसम्म विवाह गर्न नपाइने, पढ्नुपर्ने भनेर नै छोरी बचत कार्यक्रम सुरु गरेका हौँ । गाउँपालिकामा हुने वा जिल्ला रुकुम पूर्वमा हुने गरेका हिंसाजन्य घटनालाई न्यूनीकरण गर्न पीडित महिलालाई कानुनी उपचारसम्म लैजानको लागि गाउँपालिकाको आफ्नै पहल र लगानीमा छुट्टै ‘सेफ हाउस’ सञ्चालनमा ल्याएका छौँ । हिंसामा परेका पीडित महिलाहरूलाई सुरक्षित तरिकाले अदालतको ढोकासम्म पुर्‍याउनको लागि स्वास्थ्य उपचारदेखि अदालत, प्रशासन, जिल्ला अस्पतालसँग समन्वय गरेर काम गर्नुपर्ने कुरालाई नीति र कानुनमै समावेश गरेका छौँ । कार्यविधि बनाएरै एक जना परामर्शदाता र एक जना व्यवस्थापक राखेर ‘सेफ हाउस’ सञ्चालनमा ल्याएका छौँ । यसलाई पनि मैले गाउँपालिकामा महिला प्रमुख भएकै कारण गरेको उपलब्धिका रूपमा लिएको छु ।

यस्ता यस्ता काम गरी उपलब्धि प्राप्त गर्न तपाईंले आफूलाई कसरी तयार गर्नुभयो ?

‘महिलाले केही नै गर्न सक्दैनन्, हामी पुरुष नै सर्वश्रेष्ठ हो’ भन्ने पुरुषको दम्भसँग जुध्नुपर्ने थाहा थियो । त्यही कुरालाई ध्यानमा राखेर मैले आफूलाई तयार गरेकी थिएँ । पालिकामा आफूले गरेका निर्णयबाट पछि हट्न नपर्ने गरी सही निर्णय लिँदै गएँ । यसो गर्दा उपलब्धि प्राप्त हुने गरी काम गर्न सकियो ।

उपलब्धि प्राप्त गर्ने गरी काम गर्नुपर्छ भन्ने तपाईंलाई किन लाग्यो ?

किनभने हामीले गर्ने भनेको जनताको जहाँ जुन समस्या छ, त्यहाँ त्यो समस्याको समाधान गर्नेतर्फ लाग्ने हो । मुख्य कुरो त यो राजनीतिक प्रेरणाको कुरो पनि हो ।

पहिलेदेखि नै ती काम गर्नुपर्छ भन्ने लाग्थ्यो कि पछि कुनै कुराले त्यसरी काम गर्नुपर्छ भन्ने लाग्यो ?

हामीले चाहिँ पहिलेदेखि नै आमूल परिवर्तन गर्नुपर्छ, सबैलाई एकै किसिमको नीतिनिर्माण हुनुपर्छ, समावेशी र समान सहभागिता हुनुपर्छ, समाजमा विभाजित वर्ग, हुनेखाने र हुँदा खाने वर्गबिचको जुन अन्तद्र्वन्द्वको समस्या छ, त्यसलाई समाधान गर्नुपर्छ भन्ने मान्यता लियौँ । त्यसकारण हाम्रा कार्यक्रमहरू चाहिँ तलको वर्गलाई माथि उठाउनको लागि तल्लो वर्गमा कृषिलक्षित कार्यक्रमहरू अगाडि बढाउनुपर्छ भन्ने मान्यतामै आधारित छ । त्यसका लागि सहकारी संस्थामार्फत लाग्नुपर्छ भनेर म राजनीतिक रूपमा त्यहाँ आबद्ध थिएँ । विगतमा विभिन्न सङ्घसंस्थाहरूमा रहेर पनि यी र यस्ता समस्याहरूसँग जुध्दै आएकी थिएँ । यही कारण पालिकाको नेतृत्वमा पुगेपछि यी काम गरेर उपलब्धि पनि हासिल गर्नुपर्छ भन्ने भयो । यसमा मलाई पहिलेदेखि नै प्रेरणा मिल्यो ।

तपार्ईंले गर्नुभएका कामबाट स्थानीय नागरिकको जीवनमा के कस्तो परिवर्तन भएको छ ? कसैले तपाईंलाई केही भनेको पनि छ कि ?

कामले गर्दाखेरी सबै ठाउँमा राम्रो प्रभाव परेको छ । हामीले धेरै काम गर्दाखेरि केही काम चर्चामा पनि आएका छन् । खासगरी गर्भवती महिलाका कुरामा सुत्केरी सेवा, पोषणसम्बन्धी, निःशुल्क एम्बुलेन्स सेवा आदिले सकारात्मक प्रभाव परेका छन् । यहाँ वर्षमा करीब तीन सय महिलाहरू सुत्केरी हुनुहुन्छ । उहाँहरूले पटक—पटक गर्भजाँच गराउनुपर्छ र स्वास्थ्य संस्थामै सुत्केरी हुनुपर्छ । जिल्लामा सुत्केरी हुन नसकेर बाहिर ‘रिफर’ गर्नुपर्‍यो भने पनि अति विपन्न महिलालाई हामीले नेपालगन्ज र दाङसम्म पुर्‍याउने हो, त्यो पनि विभिन्न सङ्घसंस्थासँग सहकार्य गरेर । त्यसो गर्दा महिलाहरू प्रत्यक्ष लाभान्वित हुनुभएको छ । यसरी महिलाहरू प्रत्यक्ष लाभान्वित हुनु र एउटा स्वस्थ बच्चा जन्मनु भनेको समाजका सबैलाई फाइदा पुग्नु हो ।

छोरी बचतका कुराबाट पनि समाजमा प्रत्यक्ष परिवर्तन देखिएको छ । हिजो छोरी पढाउन नचाहनेले आज जसरी पनि पढाउन चाहनुहुन्छ । आज छोराछोरी दुवै सन्तान बराबर हुन् भन्ने भावना जागृत भएको छ । हिजोको तुलनामा धेरै परिवर्तन भएको छ । हिजो घरकै खेतीकिसानीमा सीमित रहेका व्यक्तिहरूले आज व्यवसाय पनि गरेको देखिन्छ । परिवर्तनबाट उहाँहरू खुसी पनि देखिनुहुन्छ ।

नेतृत्वमा आउँदा तपाइँंलाई केही कुराको डर थियो कि ?

खासै डर त थिएन । खास गरेर नयाँ संरचनामा जाने सुरुआती चरण पनि हो । स्थानीय सरकारको भूमिका त धेरै नै हो हुने । त्यो भूमिकालाई कानुनसम्मत तरिकाले पूरा गर्न सकिन्छ भन्ने कुरा हामीलाई मनमा लागिरहेको थियो । त्यसलाई सहजै रूपमा हाम्रो कानुन कसरी निर्माण गर्ने, सहजीकरण कसरी गर्ने भनेर गाउँपालिका राष्ट्रिय महासंघले कानुनका ड्राफ्टहरू हामीलाई पेस गरिराखेको अवस्था थियो । सङ्गठित भएको हिसाबले ती कुरालाई हामीले सहजै लग्यौँ ।

डर त खासै रहेन छ, स्थानीय सरकार प्रमुख भएर काम गर्दा बाधा अड्चन आइपरे कि परेनन् नि ?

खास गरेर अब विकास निर्माणको सवालमा हामीले सडक पूर्वाधारका र ढल निकासका काम गर्दाखेरि भौतिक क्षति हुने अवस्थामा समुदायले केही अवरोध सिर्जना गरेका थिए । विवाद गरी सहजै जग्गा अवरुद्ध गर्ने र काम अघि बढाउन नदिने समस्याहरू आइपरेका थिए ।

त्यस्ता बाधा अड्चन आउनु पछाडिका कारण के थिए ?

एउटा मुख्य कारण के थियो भने यहाँको भौगोलिक बनावट । हाम्रो तराईतिरको जस्तो समथर भूगोल यहाँको हुँदैन । यहाँ भिराला पाखाहरू हुन्छन् । त्यसले गर्दा व्यक्तिहरूको क्षति दुवैतर्फ नभएर एकतर्फी मात्र हुन्छ । त्यही खालका जमिनहरू भएको कारणले गर्दा विकास निर्माणमा आइपरेका मुख्य समस्याको मूल कारण त त्यही र त्यस्तै थिए ।

तपाईंले ती बाधालाई पन्छाउन के कस्ता रणनीति लिनुभयो ?

हामीले बाधा अड्चन, विवाद र समस्या जे भन्नुस्, त्यसलाई सहज तरिकाले नै लियौँ । बाधा सिर्जना गर्नेहरूलाई सम्झाइबुझाइ गरेपछि त्यस्ता समस्याको समाधान पनि भयो । सबैभन्दा पहिले समुदायलाई भेला गराएर छलफल गराई उहाँहरूको राय, परामर्श लियौँ । उहाँहरूलाई सहरीकरण, बजारीकरण बढ्दै जाँदा सडक विस्तार गर्नुपर्ने र त्यसपछि उहाँहरूको जमिनको मूल्याङ्कन गर्दा उहाँहरूलाई नै फाइदा हुन्छ भनेर पनि बुझायौँ । हामी स्थानीय सरकारले गर्ने भनेको आफ्नो व्यक्तिगत हितको लागि नभएर समुदायका सबैलाई सामूहिक रूपमा फाइदा हुने काम हो । ‘काम गर्दै जाँदा आज तपाईंहरूलाई दुई मिटर बाटोको लागि जग्गा जाँदा नराम्रो लागे पनि भोलि बाटो पिच भइसकेपछि तपाईंहरूको पाँच लाख लाग्ने जग्गाको मूल्य २० लाख, २५ लाख जाँदाखेरि तपाईंहरूलाई नै फाइदा हुन्छ’ भन्ने कुरामा उहाँहरू स्पष्ट हुनुभयो । त्यसरी नै हामीले बाधाहरूलाई हटायौँ ।

बाधा पन्छाउने तरिका/रणनीति कसरी सिक्नुभयो ? निर्वाचित हुनुअघि पनि तपाईंले त्यसै गरी बाधा पन्छाउने गर्नुभएको थियो ? उदाहरण भए बताइदिनुस् न !

बाधा पन्छाउने रणनीतिहरू त हिजो पनि राजनीतिमा समावेश भएको हिसाबले पनि समुदायमा कस्ता कस्ता समस्या आउँछन् र कसरी हल गर्न सकिन्छ भन्ने थाहा थियो । हामी हिजोदेखि नै राजनीतिमा आबद्ध भएको हुनाले योभन्दा जटिल खालका समस्यालाई पनि हामीले युद्धकालीन अवस्थामा भूमिगत रहँदाखेरि झेल्नुपरेको थियो । त्यसकारणले गर्दाखेरि मेलमिलाप गराउने र कसरी मेलमिलापमा जाने भन्ने कुरा चाहिँ हामीले पहिलेदेखि नै राजनीतिक जीवनमा सिकेको हो । त्यही कारण पनि अहिले पालिका प्रमुख भएर कार्यान्वयन गर्ने समयमा मलाई सहयोग मिल्यो ।

निर्वाचित भएर आएपछि कसरी नेतृत्व गर्नुभयो ? तपाईंको नेतृत्व शैली कस्तो थियो ?

निर्वाचित भएर आइसकेपछि हामीले चाहिँ अहिलेसम्म उत्कृष्ट नेतृत्व नै गर्दै आएका छौँ । सबैका राय, परामर्शहरू लिने, बाहिर रहेका राजनीतिक दलहरूसँग पनि परामर्श लिने । विकास भनेको एउटै व्यक्तिको लागि मात्र नभएर सम्पूर्ण समुदायको नै लागि हो । राजनीतिक सिद्धान्त फरक भए पनि विकास निर्माणका काममा हामी सबै एकै ठाउँमा उभिनुपर्ने अवस्था रहन्छ । त्यसकारणले सबैको राय लिएर निर्णय चाहिँ आफूले गर्नुपर्छ । त्यसो गरे मात्र हामीले आफ्नो नेतृत्व स्थापित गर्न सकिन्छ ।

नेतृत्व गर्ने त्यो शैली तपाईंले कहाँबाट सिक्नुभएको हो र कोबाट प्रेरित हुनुहुन्छ ?

नेतृत्व शैली कसरी गर्ने भनेर हामीलाई भूमिगत जीवनमा नेकपा माओवादी पार्टीले नै सिकाएको हो । त्यतिखेर पनि हामीले पार्टीको जिम्मेवारी लिँदाखेरि इन्चार्ज, विभिन्न पोस्ट हुँदै जिल्ला प्रदेशलगायतका पार्टीको कमिटीमा आबद्ध हुने अवसर मिल्यो । त्यसै गरेर मुख्य महाधिवेशन आयोजक समितिको एउटा पदसम्ममा मैले आफूलाई पुर्‍याएँ । पार्टीको कामको दौरानमा हिँड्ने क्रममा त्यसरी नेतृत्व गर्न सिकेँ । पार्टीको नेतृत्व गर्दागर्दै मैले सरकारको नेतृत्व पनि त्यसरी नै गर्न सकिन्छ भन्ने सिकेको हुँ ।

तपाईंले अभ्यास गर्नुभएको नेतृत्व शैलीले आफ्नै बारेमा पनि नयाँ कुरा केही सिकायो कि ?

धेरै कुरा सिक्यौँ हामीले । हाम्रो लागि र सबैको लागि सङ्घीयता पहिलो अभ्यास नै हो । सङ्घीयता सफल हुन्छ कि हुन्न भनेर प्रश्नचिह्न खडा नै थिए । स्थानीय सरकारलाई अधिकार प्रत्यायोजन गर्ने बेला उसले गर्न सक्छ कि सक्दैन भनेर सङ्घ र प्रदेश सरकारले हेरिरहेको अवस्था थियो । अहिले स्थानीय तह हुँदैनथ्यो भने कुनै पनि विपद्मा रोकथाम गर्न सक्ने अवस्था पनि हुँदैनथ्यो । किनभने सङ्घ र प्रदेश सरकारले त्यस रूपको भूमिका पाएको छैन । आर्थिकले मात्रै सबै समस्या समाधान हुन्छ भन्ने होइन । मुख्य कुरा भनेको बाटो हो । व्यावहारिक रूपमा कार्यान्वयन गर्ने मामलामा चाहिँ कोभिड–१९ को दोस्रो लहरको महामारीको बेला स्थानीय सरकारले अहं भूमिका खेल्यो । अहिले पनि सबैलाई खोप लगाउन जानुपर्छ भन्नेदेखि ठुलो विपद्मा जनतालाई आइसोलेशन, क्वारेन्टाइनमा राख्नेसम्मका काम स्थानीय सरकारले थेगेको छ । सङघमा, प्रदेशमा जान सक्ने सबैको हैसियत हुँदैन । त्यसकारण जनतामा विकास निर्माण मात्रै नभएर बसाइँसराइ, जन्मदर्ता, विवाहदर्ता, घटनादर्तालगायतका हरेक किसिमका काम स्थानीय सरकारबाट हुन्छन् । सानातिना विकास निर्माणका काम जनताको प्रत्यक्ष संलग्नतामै गर्ने भएकाले स्थानीय सरकारले गर्न सक्छ भन्ने प्रमाणित भएको छ । स्थानीय सरकारले आन्तरिक राजस्व उठाएर, आफैँ स्रोत साधन जुटाएर काम गर्न सक्छ भन्ने प्रमाणित पनि गर्‍यौँ । स्वतन्त्र तरिकाले पनि स्थानीय सरकार चल्न सक्छ, आफैँ आर्थिक व्यवस्थापन गरेर विद्युत्, खानेपानी, विद्यालय भवनहरू बनाउने अभ्यास गर्ने मौका पायौँ । आफैँ नीतिनिर्माणका काम गरेर पनि विकास निर्माण गर्न सक्छौँ भन्ने सिकाइ र अभ्यास गर्‍यौँ ।

तपाईंसँगै रहेर काम गर्नेहरूलाई तपाईंको नेतृत्व शैली र काम गर्ने तौरतरिकाले कस्तो प्रभाव पारेको छ ? केही उदाहरण पनि छन् कि ?

नेतृत्व गर्ने सवालमा हामी चाहिँ धेरै नै सहनशील हुनुपर्ने अवस्था रहन्छ । कुनै पनि काम गर्दाखेरि सोचविचार गरेर मात्र गर्‍यौँ भने त्यो कामले परिणाम दिन्छ । कुनै कुनै निर्णय हामीले छिटो लिनुपर्ने हुन्छ भने कुनै कुनै निर्णयहरू हामीले सम्झी बुझेर गर्नुपर्ने हुन्छ । हामीले अधिकांश निर्णय गर्दाखेरि जनताको पक्षमा हुन्छ कि हुन्न भन्ने कुरालाई मध्यनजर गरेर गर्नुपर्ने हुन्छ । होइन बरु निर्णय गर्न ढिला होस् तर सबैसँग सिकेर हामीले गर्‍यौँ भने राम्रो हुन्छ । अरूसँग सिकेर हामी सानो भइँदैन । नजानेका, नबुझेका कुरा हामीले सबैसँग राय परामर्श लिन सक्छौँ । कर्मचारीसँग होला, जनप्रतिनिधिसँग होला, राजनीतिक दलहरूसँग होला, अन्य सरोकारवाला व्यक्तिहरूसँग होला अथवा कुनै कुरामा जनताले पनि सही निर्णय दिन सक्छन् । त्यसकारणले पनि सबैको कुरा सुन्यौँ र अब निर्णय गर्‍यौँ भने त्यो चाहिँ परिपक्व निर्णय हुन सक्छ ।

जनयुद्धको उद्गम थलो र यसका लागि हामीले कृषिको पकेट कार्यलाई अगाडि बढाउने काम त छँदै छ, त्यो गरेर पनि हामीले आर्थिक आय आर्जन गर्न सकिन्छ । स्तर वृद्धि गर्न सक्छौँ । सबैलाई रोजगारी दिएर जागिर नै ख्वाउने अवस्था छैन तर पनि कृषि क्षेत्रमा उत्पादन बढ्यो भने त्यसलाई आत्मनिर्भर बनाउन सकिन्छ भनेर हामीलाई केही व्यक्तिले सल्लाह दिनुभएको थियो । त्यसो गर्दाखेरि पकेट क्षेत्र विस्तार भयो र सबैलाई फाइदा पुग्यो । पर्यटकीय क्षेत्रमा पनि हामीसँग प्राकृतिक बनावट भएका हिमाल, गुप्तादह, कमलदह आदि छन् । युद्ध सङ्ग्रहालय निर्माण गरेर नेपालभरिकै आन्तरिक पर्यटकहरू भित्र्याउने र बाह्य पर्यटकहरूका लागि पनि रुकुममा आएर सिक्न सक्ने बनायौँ । बाहिरका मान्छेले थेसिस लेख्ने सवालमा पनि जनयुद्धको बारेमा विस्तृत रूपमा लेख्न सकून् । त्यसमा युद्धका समयमा प्रयोग भएका हातहतियार, संस्मरणहरू होलान् । सबै कलाहरू प्रस्तुत भएका थिए । तिनलाई संरक्षण गरेर राख्यौँ भने पर्यटकीय हिसाबले पनि यो राम्रो हुन्छ । यो काम गर्न सकिन्छ भनेर बाहिरबाट मार्गदर्शन गर्ने माननीय गणेशमान पुनलगायतका व्यक्तित्वहरूले सुझाव दिनुभएको थियो । आजभन्दा भोलि यसको महत्त्व रहने छ । हाम्रा सन्तानहरूले सम्झिने खालको इतिहास निर्माण गरेका छौँ । बाहिरको सल्लाह सुझाव लिँदा धेरै नै राम्रो काम गर्न सकिन्छ भन्ने प्रमाणित भएको छ ।

तपाईंको नेतृत्वलाई अझै प्रभावकारी बनाउन थप के कस्ता ज्ञान, सिप भएको भए सहज हुन्थ्यो होला ?

अझै हाम्रो कार्यकाल भनेको पाँच वर्ष एकदमै छोटो अवधि हुने रहिछ । सुरुआतदेखि अहिलेसम्म कानुनहरू निर्माण गर्ने र त्यसको कार्यान्वयन गर्ने भएका हिसाबले एकदम छोटो लागेको छ । दुई कार्यकालसम्म भयो भने हामीले गरेका अधुरा काम जति हामीले परिकल्पना गरेका छौँ, लक्ष्य लिएका छौँ, त्यो लक्ष्यमा पुग्नका लागि थप अझै पाँच वर्षको एक कार्यकाल खान सक्दाखेरि हुने थियो । हुन त यो स्थानीय तहको ऐनमै पनि छ, दुई कार्यकाल खान सकिने जनप्रतिनिधिहरूले भनेर । दीर्घकालीन सोच राखेर नै कानुन बनेको रहेछ । त्यसो गर्दाखेरि मेरो मात्र सवालको कुरा भएन कि प्रत्येक जनप्रतिनिधिलाई दुई कार्यकाल सञ्चालन गर्न दिइयो भने उसले थालेका कामहरूलाई पूर्णता दिन सक्छ । व्यक्ति फेरियो भने सबै कुरा उल्टिने सम्भावना पनि रहन्छ । हामीले संसारभरि देखेकै छौँ, एउटा हुँदाखेरि एउटा हुने र अर्को हुँदाखेरि अर्को निर्णय गर्ने कुरा । त्यसकारणले गर्दा पनि हामीले जुन लक्ष्य राखेका छौँ, त्यसलाई पूरा गर्नको लागि दुई कार्यकाल भयो भने पर्याप्त हुन्छ । हामीले सोचेका र थालेका योजनाहरू सम्पन्न गरेर सफल बन्न सक्छौँ ।

तपाईंले चुनावमा उठ्दा गर्नुभएको प्रतिबद्धता र परिकल्पनालाई पूरा गर्न सके जस्तो लाग्छ ?

एकदम पूरा गरेको छु । चुनावमा धेरै ठुला कुरा गरेकै थिएनौँ के ! सडक सञ्जाल विस्तार गरिने छ भनेको हो, अहिले सबै वडामा पुर्‍याएका छौँ । सूचनाको हकमा, सञ्चारको पहुँचमा ल्याइने छ भनेको हो, आफ्नै रेडियो स्थापना गरेर अहिले ‘रुकुमपूर्व रेडियो’ सञ्चालन गरिरहेका छौँ । यो भूमे, सिस्ने, पुथा तीन वटै गाउँपालिकाको लगानीमा स्थापना गरी सबैलाई सञ्चारको पहुँचमा ल्याएका छौँ । सूचना र सञ्चारको लागि टावरहरू पनि स्थापना गरेका छौँ । विद्युत्को पहुँचमा ल्याउने छौँ भनेको हो, विद्युत् नभएको १ नम्वर वडामा केन्द्रीय प्रसारण लाइन र लघु जलविद्युत्हरूको संरक्षण गरेका छौँ । शिक्षाको क्षेत्रमा स्थानीय पाठ्यक्रम बनाएरै हाम्रै भूगोलको कुरा गरेका छौँ । हामीले चुनावी प्रतिबद्धतामा पाठ्यक्रम र छात्रवृत्तिको व्यवस्था राखेकै थिएनौँ तैपनि त्यसको व्यवस्था गरेका छौँ । शैक्षिक सुधार र प्राविधिक धारका विद्यालय सञ्चालन गर्ने कुरा गरेका छौँ । जनतालाई ‘एक घर एक धारा र स्वच्छ खानेपानी’ को प्रतिबद्धता गरेका थियौँ । अहिलेसम्म हामीले ३५ सय घरधुरीमध्ये दुई सय घरधुरीमा पानी पुर्‍याएका छौँ । धेरै कामहरू कार्यान्वयनको सिलसिलामा छन् । स्वास्थ्यको क्षेत्रमा हामीसँग पाँच वटा स्वास्थ्यचौकी थिए । एउटा गाउँपालिकाको स्वास्थ्यचौकीलाई अस्पताल बनाएका छौँ । एउटा ५० शैय्याको जिल्ला अस्पताल बनाएका छौँ । छ वटा आधारभूत स्वास्थ्य इकाइ थपेका छौँ । हरेक किसान युवालाई रोजगारीमा जोड्ने भनेका थियौँ । पाँच सय युवालाई रोजगारी मिलिसकेको छ । कसैले शिक्षाको क्षेत्रमा, कसैले स्वास्थ्यको क्षेत्रमा, कसैले सरकारी क्षेत्रमा जागिर पाएका छन् । अझै हामीले जागिर मात्र होइन कि आत्मनिर्भर बन्ने उपाय खोज्नेतिर पनि लागिरहेका छौँ । सहिदको सम्मान मात्रै नभएर सहिद परिवारलाई केही गर्नका लागि सहिद सहकारी सञ्चालनमा ल्याएका छौँ । गत वर्ष मात्रै २९ लाख निकासा भएको छ ।

पालिकावासीले तपाईंलाई जिताउँदा देखाएको उत्साह अहिले पनि कायम छ कि के लाग्छ ?

अब सुरुमा चाहिँ के भएको थियो भने हाम्रो समाजमा महिला नेतृत्व स्वीकार गर्न गाह्रो नै हुन्छ के ! जति जान्ने बुझ्ने भए पनि हाम्रो त समाजमै पितृसत्तात्मक सोच छ नि त ! पुरुषहरूले गरेको काम चाहिँ राम्रो हुन्छ, महिलाहरूले गरेको हुँदैन भन्ने छ । त्यसले गर्दाखेरि महिलाले नेतृत्व गरे भने निरीहता हुन्छ भनेर सरकारका धेरैले भन्ने गर्छन् । हामीले फजुलखर्च गर्दैनौँ के, होइन ? पुरुष नेतृत्वमा भए भने फजुल खर्च गर्ने, अनावश्यक घुम्ने, विभिन्न कुराहरू गर्ने हुन्छ । हामी हिजो जस्ता थियौँ आज पनि त्यस्तै छौँ र भोलि पनि त्यस्तै रहने कुरा हुन्छ । साधारण जीवनशैलीमा बस्ने कुरालाई सबै जनताले देख्नुभएकै छ । उहाँहरूले महसुस गर्नुभएकै छ । प्रस्ट भन्न नसके पनि भित्रभित्रै धेरै मान्छेलाई के लागेको छ भने महिला नेतृत्वले पनि धेरै कुरा गर्न सक्ने रहेछ । अझै पारदर्शी बन्न र सुशासन राख्न सक्दो रहेछ भन्ने उहाँहरूले अनुभूत गर्नुभएको छ ।

स्थानीय सरकार प्रमुख हुँदा तपाईंलाई पार्टी, सहकर्मी, घरपरिवार, साथीभाइ, छिमेकी र पालिकावासीले के कस्तो सहयोग गरिदिए नेतृत्व गर्न अझ सहज हुने थियो जस्तो लागेको छ ?

अहिलेसम्म सुशासन र जनप्रतिनिधिको क्षेत्रबाट मलाई साथसहयोग नै भएको छ । केही राजनीतिज्ञबाहेक सबैले नै मलाई साथ दिनुभएको छ । पालिकाको काममा सबैको एकदम सरसहयोग हुन अति नै आवश्यक छ, होइन ? किनभने हामी राजनीतिकर्मी, कर्मचारी भनेको कार्यान्वयन गर्ने टिम हो । जनप्रतिनिधिले नीतिनिर्माण गर्ने, योजना तर्जुमा गर्ने हो । त्यसलाई कार्यान्वयन गर्ने पाटो भनेको कर्मचारी नै हो । यसको सहयोग चाहिन्छ । अहिलेसम्म केही प्रतिनिधिले विवाद गरे पनि योजना कार्यान्वयन गर्नमा सबै कर्मचारीको एकदम महत्त्वपूर्ण भूमिका रहेको छ । त्यसै गरेर यसलाई समुदायले पनि मेरै विकास हो, मैले गर्नुपर्छ भन्ने, सबैले ‘म म’ गर्नुपर्ने अवस्था रहन्छ । मुख्य कुरा त विकास गर्नमा मैले केही न केही गर्नुपर्छ भन्ने कुरा जनताले बुझे भने थप विकास निर्माण गर्नमा सहयोग र सहजता हुन्छ भन्ने लाग्दछ । अहिलेसम्म सरसहयोग गर्नुभएको छैन भन्ने कुरा त होइन कि, आफ्नो गाउँमा हुने सडक, खानेपानी, विद्युत्, विद्यालय आदिका हरेक किसिमका विकास निर्माणहरूमा ‘यो हाम्रो हो, हाम्ले यसलाई संरक्षण गर्नुपर्छ, दीर्घकालीन हिसाबले टिकाउ हुने खालको योजनाहरू गर्नुपर्छ । राज्यको लगानी सही तरिकाले सदुपयोग गरेनौँ भने भोलि हामीलाई पनि नोक्सान हुन्छ’ भन्ने कुरा समुदायले बुझ्यो भने पनि नेतृत्व गर्न धेरै सजिलो हुन्छ । सबैले अपनत्व लियौँ भने जनप्रतिनिधिलाई पनि उत्साह हुन्छ, जनतालाई पनि राम्रो हुन्छ, कर्मचारीलाई पनि जोसजाँगरका साथ काम गर्ने प्रेरणा मिल्छ र कामलाई अझै प्रभावकारी बनाउन सकिन्छ ।

रुकुम पूर्वको परिवेशमा स्थानीय सरकारको प्रमुखको भूमिकामा एक जना महिला निर्वाचित भएर नेतृत्व गर्नु भनेको के रहेछ जस्तो लाग्छ तपाईंलाई ?

नेतृत्व गर्नु भनेको हाम्रो लागि एकदम अवसर नै हो भन्न चाहन्छु म । हामीले नेतृत्व गरेको ठाउँमा ढुक्कसाथ भन्न सक्छौँ कि जहाँ महिला ‘लिडर’ हुन्छ, त्यहाँ चाहिँ सबै हिसाबले पारदर्शिता हुन्छ । त्यसकारणले गर्दाखेरि अधिकांश पुरुष नेतृत्वले गरेका कामभन्दा महिला नेतृत्वले गरेको काम सफल हुन्छ । एउटा महिला सक्षम भए समाजकै लागि राम्रो हुन्छ । महिलाको नेतृत्वलाई अगाडि बढाउन सकियो भने समाजमा छिटो र सजिलो गरी सकारात्मक परिवर्तन ल्याउन सकिन्छ । यहाँ समुदायमा बस्ने भनेकै धेरै महिलाहरू हो । पिछडिएको, पछाडि पारिएको भनेको पनि महिलाहरू नै हो । त्यसैले उनीहरूको जीवनस्तर उठाउन पनि महिला नेतृत्वलाई नै सहज हुन्छ ।

तपाईंलाई आफूले गरेको कुन कुरामा सबैभन्दा धेरै गर्व लागेको छ ?

मलाई चाहिँ खास गरेर महिलाको विषयमा पनि धेरै कामहरू गरेको छु । हिंसापीडित महिलालाई न्याय र महिलाको क्षमता अभिवृद्धिदेखि आफ्नै प्रशासनिक भवन, सभाहल, अथिति भवनलगायतको निर्माण गरेका छौँ । हाम्रा लागि ती संरचना एकदम महत्त्वपूर्ण छन् । यसमा मलाई गर्व लाग्छ । हामीले त्यति मात्र नभएर सहिदहरूको सम्मानस्वरूप युद्ध पर्यटकीय क्षेत्रहरू निर्माण गरेका छौँ । सहिद पार्कहरू निर्माण गरेका छौँ । व्यवस्थापन र योजनामा आबद्ध गरेका छौँ । यो कारणले चाहिँ आफूलाई गर्वको महसुस हुन्छ ।

अब निर्वाचित भएर स्थानीय सरकारको नेतृत्वमा आउने सबै जनप्रतिनिधिका लागि तपाईंको मुख्य पाँच वटा सुझाव के के छन् ?

खास गरेर अब आउने जनप्रतिनिधिहरूले चाहिँ विशेषतः नम्बर १ मा हामीले निर्माण गरेका ऐन, कानुनमा टेकेर काम गर्नुहुनेछ । नम्बर २ मा हामीले सुरु गराएका पाँचबर्से गुरुयोजना पूरा भइसके पनि हामीले नै बनाएका बिसबर्से गुरुयोजना, आवधिक योजनामा टेकेर उहाँहरूले काम गर्नुहुनेछ । गाउँपालिकाले लिएका युद्ध सङ्ग्रहालय, बजारीकरण, ढल निकास, ल्यान्डफिल आदि जति पनि गाउँपालिकाका महत्त्वपूर्ण र ठुला योजना छन्, तिनलाई प्राथमिकता दिएर काम गर्नुहुनेछ । नम्बर ३ मा दीर्घकालीन हिसाबले महत्त्वाकांक्षी योजनामा पर्न सक्ने एयरपोर्ट व्यवस्थापनलाई प्राथमिकतामा राख्नुहुनेछ । नम्बर ४ मा रुकुमकोटदेखि सिस्ने हिमालसम्मको केबुलकारको परिकल्पनालाई पनि प्राथमिकता दिनुहुनेछ । नम्बर ५ मा हेर्दा सानो भए पनि गाउँपालिकाले लिएको दीर्घकालीन र प्रभावकारी योजना भएकाले भावी नेतृत्वले छोरी बचत योजनालाई निरन्तरता दिनुहुनेछ भन्नेमा म पूर्ण विश्वस्त छु । समग्रमा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामूहिक हितका लागि काम गरौँ । जनताको समस्यालाई बुझेर काम गर्दा प्रतिफल राम्रो हुन्छ । यही सुझाव दिन चाहन्छु ।

आफ्नो कार्यकालमै यसरी पछाडि फर्केर हेरिरहँदा तपाईंलाई कस्तो महसुस भइरहेको छ ?

एकदम मैले खुसीको महसुस गरेको छु । हाम्रा प्रतिबद्धताभन्दा धेरै महत्त्वपूर्ण काम मेरो नेतृत्वको स्थानीय सरकारले पूरा गरेको छ । हामीले एउटा जग चाहिँ बसालेका छौँ के ! राम्रो जग बसालिएको छ । मलाई अहिले आत्मग्लानि भन्ने केही नै छैन । म हिजो पनि त्याग, बलिदान गर्ने भनेर हिँडेको मान्छे हो । त्यसकारणले गर्दा पनि कुनै कुरामा लोभलालच छैन । अझै धेरै महिलाहरू नेतृत्वमा आउनसके भने पुरुषहरूले भन्दा डबल काम गर्न सकिन्छ । यस कुरामा मलाई आत्मविश्वास पनि छ । हामी महिलाले पारिवारिक कामदेखि सामाजिक र सरकारको नेतृत्व गर्नेदेखि सबै कामलाई एउटै थाप्लामा राखेर काम गर्न सक्छौँ । हामीले जति दुःख चाहिँ पुरुष साथीहरूले कुनै पनि हालतमा गर्न सक्नुहुन्छ जस्तो मलाई लाग्दैन । महिलामा धेरै सहनशीलता पनि हुन्छ । अनुशासनमा रहेर थुप्रै काम महिला नेतृत्वले गर्न सक्छ ।

अरू केही भन्न मन लागेको छ ?

आज सरकारमा रहेर केही सुविधा लिए पनि हामी जनताकै सेवामा छौँ र भोलिका दिनमा केही सुविधा नभए पनि जनताको सेवामै रहने छौँ । जहाँ बसेर भए पनि जे गरेर भए पनि सामुदायिक काममा जनतासँगै रहने कुरा चाहिँ म यहाँ राख्न चाहन्छु । हामीले गरेका धेरै कुरा भनिसकेँ । अन्त्यमा सबै समुदायलाई के भन्न चाहन्छु भने आत्मनिर्भर हुनको लागि हामी अर्काको मुख नताकौँ । आफैँ नै सक्षम हुनुपर्छ । चाहे व्यावसायिक होस् वा शिक्षाको क्षेत्रमा होस्, हामीले चाहिँ अर्काले गर्दिएला र मैले त्यसको जस पाउँला, त्यसपछि म सक्षम बनुँला भन्नेभन्दा पनि आत्मनिर्भर हुने हो । कसैको भर नपर्ने गरी आफू आत्मनिर्भर बन्नुस् । पेसा व्यवसाय जे गरेर भए पनि जीविकोपार्जन गर्न सक्ने सुधारोन्मुख कामहरू गर्नुस् । त्यो गर्दाखेरि समुदाय सुध्रिन्छ । त्यसैले लगानी छ भने पहिले शिक्षामा गरौँ । दोस्रो लगानी हाम्रो स्वास्थ्यमा गरौँ । सबैले सकारात्मक सोचौँ । हुँदैन, गर्दैनौँ, सक्र्दनौँ भन्नेतिर भन्दा पनि हुन्छ, गर्छु, सक्छु भन्नेतिर आत्मविश्वासका साथ हामी अगाडि बढौँँ । म यहाँ सबै कुरा सम्भव छ र गर्न सकिन्छ भन्ने कुरा राख्न चाहन्छु ।

मैले द स्टोरी किचेनले तयार गरेको निर्देशिकाका आधारमा तपाईंलाई केही प्रश्न गरेँ । यसरी कुराकानी गर्दा तपाईंलाई कस्तो अनुभव भयो ?

मलाई चाहिँ आफूले गरेका बनिबनाउभन्दा पनि वास्तविक कुरालाई मिडियामार्फत राख्न पाउँदाखेरि अत्यन्तै खुसीको महसुस भएको छ ।

प्रकाशन मिति : २०८१ कात्तिक १ गते, बिहीवार

पालिकाका सारथी महिलाहरूका थप कथाहरू