Home Opinion धेरै त कुरै नबुझेर बाधा गर्न आउने हो कि जस्तो लाग्छ

धेरै त कुरै नबुझेर बाधा गर्न आउने हो कि जस्तो लाग्छ

20
0

सन्धान संवाद शृङ्खला ७

कार्यकाल २०७४–२०७९ साललाई फर्किएर हेर्दा पालिकाका सारथी महिलाहरूको लहरमा देखापर्ने नाम हो, रीना कुमारी साह । उहाँ देश सङ्घीय संरचनामा रूपान्तरण भएपछि भएको पहिलो स्थानीय तह निर्वाचनमा साबिक प्रदेश नम्बर २ स्थित रौतहट जिल्लाको मौलापुर नगरपालिका प्रमुख निर्वाचित हुनुभयो । उहाँ २०७८ माघ ३ मा मधेश प्रदेश नाम राखिएको उक्त प्रदेशबाट पालिका प्रमुख/अध्यक्षमा निर्वाचित एक मात्र महिला जनप्रतिनिधि हुनुभयो ।

सो प्रदेशका एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी कुल १३६ स्थानीय तहका पदाधिकारीहरूका लागि निर्वाचन भएको थियो । उहाँ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट चुनावी मैदानमा उत्रिएर तीन हजार ९१२ मत प्राप्त गरी नरपालिका प्रमुखमा विजयी हुनुभएको थियो । चुनावी मैदानमा उहाँसहित १९ जनाको उम्मेदवारी परेको थियो । २०७४ असोज २ गते भएको सो निर्वाचनमा मौलापुर नगरपालिकामा कुल नौ हजार ६१८ मत खसेकोमा सदर मतको सङख्या नौ हजार ५५५ थियो । निर्वाचनका लागि उम्मेदवारी दिँदा उहाँ ३२ वर्षको हुनुहुन्थ्यो ।

रौतहट जिल्लाको मौलापुर नगरपालिका बस्ने रीना कुमारीको राजनीतिक यात्रा २०५८ सालमा सुरु भयो । नेकपा (माओवादी केन्द्र) को जिल्ला सदस्य बनेकी उहाँ २०७८ सालमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा प्रवेश गर्नुभयो, प्रदेश सदस्य बन्नुभयो । महिलाको आर्थिक सशक्तीकरण, सामाजिक परिवर्तन तथा विकासका लागि राजनीति रोजेको बताउने उहाँका लागि सशस्त्र द्वन्द्वकालमा भूमिगत बस्नुपरेको सम्झनायोग्य घटनाका रूपमा रह्यो ।

रीनाकुमारीलाई स्थानीय सरकारको नेतृत्वमा पुर्‍याउने मूल आधार बन्यो, नेपालको संविधान । २०७२ सालमा जारी सो संविधानले मुलुकलाई सङ्घीय संरचनामा रूपान्तरण गर्‍यो । २०८१ असोज ३ गते संविधान दिवसको सन्दर्भ पारेर हामीले ‘सन्धान संवाद शृङ्खला’ अन्तर्गत ‘फर्किएर हेर्दा : पालिकाका सारथी महिलाहरू’ स्तम्भको सुरुवात गरेका थियौँ । सोही दिनदेखि एउटा बिहिवार संवाद र अर्को बिहिवार रिपोर्ट पर्ने गरी हरेक हप्ता पालिकाका सारथी महिलाहरूसित सम्बन्धित सामग्री प्रस्तुत गर्दै आएको कुरा त यहाँलाई थाहै छ । प्रस्तुत सामग्री ‘फर्किएर हेर्दा : पालिकाका सारथी महिलाहरू ’ स्तम्भको संवाद खण्ड हो ।

मुलुक सङघीय संरचनामा गइसकेपछि तीन चरणमा स्थानीय तहको निर्वाचन भयो । पहिलो चरणमा २०७४ वैशाख ३१ गते ३४ जिल्लाका २८३, दोस्रो चरणमा २०७४ असार १४ गते ३५ जिल्लाका ३३४ र तेस्रो चरणमा २०७४ असोज २ गते आठ जिल्लाका १३६ गरी कुल ७५३ स्थानीय तहका लागि निर्वाचन भएको थियो । नेपालकै पहिलो निर्वाचन भने २००४ जेठ २९ गते भएको थियो । काठमाडौं म्यूनिसिपलिटीको उक्त निर्वाचनमा महिलाहरूले उम्मेदवारी दिन त के भोट खसाल्न पनि पाएका थिएनन् । महिलाहरूलाई मताधिकार नै दिइएको थिएन ।

देशकै पहिलो निर्वाचन भएको छ वर्षपछि २०१० सालमा अर्को निर्वाचन भयो । त्यस निर्वाचनमा महिलाहरूले मताधिकार मात्र नभएर उम्मेदवारीको अधिकारसमेत पाए । यस्तो अधिकार पाएको साढे छ दशक हुनै लाग्दा २०७४ सालमा भएको स्थानीय निर्वाचनमा त ५७ हजार ८४३ महिला चुनावी मैदानमा नै उत्रिए । तीमध्ये १४ हजार ३५१ महिला पालिकाका विभिन्न पदहरूमा निर्वाचित पनि भए । स्थानीय तह निर्वाचनमा महिलाको कुल प्रतिनिधित्व ४०.९५ प्रतिशत रह्यो । यत्तिको प्रतिनिधित्व वैधानिक प्रावधानको कारण सम्भव भएको थियो । त्यति हुँदाहुँदै महिलाहरूले पाउनुपर्ने जति महत्त्व र अधिकार अझै पाएनन् ।

देशका कुल ७५३ स्थानीय तहका प्रमुख/अध्यक्ष पदका लागि भएको निर्वाचनमा सात महिला नगरपालिका प्रमुखमा र ११ महिला गाउँपालिका अध्यक्षमा निर्वाचित भए । यसरी जम्मा १८ महिलाले मात्र पालिका प्रमुख वा अध्यक्षमा निर्वाचित भएर स्थानीय सरकारको नेतृत्व गर्ने अवसर पाए । ‘स्थानीय तह निर्वाचन ऐन, २०७३’ मा दफा १७ को उपदफा ४ मा उम्मेदवारको मनोनयनपत्र पेस गर्दा दलले अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुखमध्ये ५० प्रतिशत महिला उम्मेदवार रहने गरी मनोनयनपत्र पेस गर्ने व्यवस्था मिलाउनुपर्ने प्रावधान छ । त्यति बेला पालिकाको उपप्रमुख/उपाध्यक्ष पद महिलाकै लागि तोकिए जस्तो गरी उम्मेदवारी थमाइएको थियो ।

त्यति गर्दा पनि कुल १५०६ स्थानमा पुरुष ७८८ हुँदा महिला ७१८ जना मात्र विजयी भए । महिलाको सम्भाव्य प्रतिनिधित्व पनि ३५ स्थानले कम हुन पुग्यो । यसबाट ५० प्रतिशतको उम्मेदवारी प्रावधानले मात्र परिणामतः महिलालाई न्याय नहुने देखियो । यस्तो अवस्थामा पनि पालिकाको नेतृत्वमा उम्मेदवार बनेर निर्वाचित हुन पुगेका १८ महिलाहरू सामान्य पक्कै थिएनन् । तिनैमध्ये एकमा रिना कुमारी पनि पर्नुभयो ।

नयाँ शासकीय स्वरूप, नयाँ अभ्यास, वैधानिक तथा भौतिक पूर्वाधारहरूको अपर्याप्तता/अभाव जस्ता कारणले सबै पालिकामा एक प्रकारको अन्योल थियो । त्यस्तो बेला पुरुषहरूकै बाहुल्य रहेको संरचनामा नवनिर्वाचित प्रमुख/अध्यक्ष बनी नेतृत्वदायी भूमिका निर्वाह गर्नु महिलाका लागि झनै चुनौतीपूर्ण थियो । नागरिकका अपेक्षा चुलिएका थिए । रीना कुमारीका सामु पनि चुनौतीका पहाड खडा थिए ।

चुनौतीहरूबिच नगरपालिका प्रमुखको जिम्मेवारी निर्वाह गरी दायित्व पूरा गर्दाको उहाँको अनुभव कस्तो रह्यो त ? विशेष गरी उहाँको नेतृत्वमा पालिकाले हासिल गरेका उपलब्धि के थिए ? उहाँको नेतृत्वशैली, बाधाअवरोध पन्छाउने उपाय के कस्ता थिए ? आफूले आफ्नो कार्यकाल र आफैँलाई फर्किएर हेर्दा उहाँले के पाउनुभयो ? भावी जनप्रतिनिधिलाई उहाँका सुझाव के के थिए ?

द स्टोरी किचेनले तयार पारेको निर्देशिकाका आधारमा मूलतः यी र यस्ता प्रश्नका साथ ‘सन्धान’ को लागि फेलो पत्रकार माधुरी महतोले रीना कुमारीसँग उहाँको कार्यकालको अन्तिमतिर टेलिफोन कुराकानी गर्नुभएको थियो । आजको शृङ्खलामा प्रस्तुत छ, रीना कुमारी साहसँग गरिएको सोही कुराकानी ।

करिब पाँच वर्षको कार्यकालमा तपाईंले गर्नुभएका एकदमै महत्त्वपूर्ण र उपलब्धिमूलक काम के के हुन् भन्ने लाग्छ ?

सबभन्दा पहिले २०७४ साल असोज २ गतेको निर्वाचनबाट निर्वाचित भएर नगर प्रमुखको रूपमा असोज ६ गते मैले शपथग्रहण गरेँ अनि नगरपालिकामा उपस्थित भएँ । मेरो प्रतिज्ञा नै थियो कि नगरपालिकाको आफ्नै भवन हुनुपर्छ भनेर । त्यसैले सर्वप्रथम मैले भवन निर्माणतर्फ नै जोड दिएँ । अहिले मौलापुर नगरपालिकाले गर्नुपर्ने कार्यालयका सबै काम कारबाही आफ्नै भवनबाट सञ्चालन हुन्छन् । गाउँमा खासगरी ५० प्रतिशतभन्दा बढी महिलाहरूले परम्परागत चुल्हो प्रयोग गर्थे र धुवाँका कारण उनीहरूले विभिन्न समस्याबाट गुज्रिनुपरेको थियो । त्यसकारण सबैभन्दा पहिले म महिलाको भान्सालाई धुवाँमुक्त बनाउने अभियानमा पनि जुटेँ र ग्यास चुल्होलाई घरघरमा पुर्‍याउने कार्य गरियो । त्यसपछि विद्यालय गएर पढ्न समस्या भइरहेका कक्षा ८ देखिका किशोरीदेखि ४५ वर्षीया महिलाहरूसम्मलाई लक्षित गरी स्वास्थ्य र शिक्षाको दृष्टिकोणले ‘सेनेटरी प्याड’ को व्यवस्था गराएँ ।

मौलापुर अति नै दुर्गम ग्रामीण भेग भनेर चिनिन्थ्यो तर हाल गल्लीगल्लीमा सडक संरचना विस्तार भएको छ । यहाँका छोरालाई गाउँबाहिर सहर बजार जिल्लामा राखेर पनि पढाउने तर छोरीलाई नजिकैको विद्यालयमा पनि पढ्न पठाउन असुरक्षित मान्ने गरिन्थ्यो । यही कारण छोरी पढाउन अभिभावकलाई हौसला होस् र किशोरीहरूलाई विद्यालय शिक्षातर्फ आकर्षित गर्न सकियोस् भनेर साइकल वितरण गर्ने कार्य पनि गरियो । अति विपन्न समुदायका किशोरीहरूलाई पढाइमा सहज होस् भन्ने उद्देश्यले ल्यापटपसमेत वितरण गरिएको छ ।

मेरो चुनावी प्रतिज्ञाअनुसार जनताले मलाई विश्वास गरेर जिताएपछि मैले सबैभन्दा पहिले महिला सशक्तीकरणलाई जोड दिएँ । मैले शिक्षा र भौतिक विकासलाई पनि सँगसँगै लैजाने प्रयास गरेको छु । अहिले तपाईंले मौलापुरमा हेर्नुभयो भने प्रधानमन्त्री स्वरोजगार कार्यक्रम होस् वा अन्य कुनै पनि कार्यक्रममा ७० प्रतिशत महिलाहरू नै सहभागी भेटिन्छन् । यहाँ पुरुषकै सङ्ख्या कम छ । यहाँका महिलाहरू हाल अन्य स्थानभन्दा बढी सशक्त भएका छन् । यहाँका जनताकै सल्लाह सुझाव र आवश्यकता बुझेर काम गरेको हो । त्यसैले यी काम एकदमै महत्त्वपूर्ण र उपलब्धिमूलक भए ।

यस्ता उपलब्धि प्राप्त गर्न तपाईंले आफूलाई कसरी तयार गर्नुभएको थियो ?

मैले जनताकै सल्लाह सुझाव र आवश्यकताअनुसार नीतिगत रूपमै निर्णय गरी यस्ता कार्यलाई अगाडि बढाएको छु । २०५८ सालदेखि नेकपा माओवादी पार्टीबाट राजनीतिक यात्रा सुरु गरी २०५९ सालदेखि भूमिगत भएर काम गरेको थिएँ । खासमा म २०६१ सालमा नेकपा माओवादी केन्द्रको जिल्ला सदस्यसमेत भएँ । म भूमिगत रहेको बेला गाउँ समाजमै थिएँ । उक्त समयको मुद्दा नै महिलाहरू कसरी सशक्त र सुरक्षित हुन्छन् भन्ने थियो । भूमिगत भएर बस्दा अझ नजिकबाट मैले समाजका दुःख, वेदना र पीडा बुझ्ने मौका पाएँ । पछि जनताका लागि विकसित र समृद्ध समाज निर्माण गरी नमुना पालिका बनाउनका लागि भनेर आफू स्थानीय चुनावमा होमिन पुगेँ ।

चुनावमा होमिनुभन्दा पहिले नै धेरैका आफ्ना एजेन्डा घोषणापत्रमा राखिएका हुन्छन् । त्यति बेला मेरो प्रतिज्ञा नै थियो कि खासगरी महिलालाई अगाडि बढाउनु र मौलापुरलाई आधुनिक बनाउनु छ भनेर । विकासका लागि मैले जनताकै माझ गएर सल्लाह, सुझाव लिएँ । गाउँ गाउँ र टोल टोल पुगेर जनताको आवश्यकता बुझेँ । मैले यसरी आफूलाई पहिल्यैदेखि तयार गरेको थिएँ । यसरी काम गर्दा चाहेको भन्दा धेरै उपलब्धि पनि हासिल गर्न सकियो ।

यस्ता उपलब्धि पाउने गरी काम गर्नुपर्छ भन्ने तपाईंलाई किन लाग्यो ?

किनकि मैले पहिल्यैदेखि राजनीतिमा लागेर भूमिगत भएर गाउँ समाज र यहाँका महिलाहरूको अवस्था पुरुषको भन्दा धेरै खराब छ, त्यसलाई सरकारमा गएर आफूले नै फेर्नुपर्छ भन्ने बुझिसकेको थिएँ । त्यही भएर हो ।

तपार्ईंले गर्नुभएका कामबाट स्थानीय नागरिकको जीवनमा के परिवर्तन भएको छ जस्तो लाग्छ ? कसैले तपाईंलाई केही भनेको पनि छ कि ?

पाँच वर्षको अवधिमा केही चुनौतीसँगै धेरै सकारात्मक परिवर्तन भएका छन् । महिलाहरू, जो घरबाट कहिल्यै निस्केका थिएनन्, उनीहरूले आज आफ्नो गाउँ र आफ्ना सन्तानका आवश्यकताअनुसार राज्यले सेवा सुविधाहरू पालिकाबाट दिनुपर्ने कुरामा आवाज उठाउन थालेका छन् । बुहारीहरू, किशोरीहरू, आमाहरूले आफ्नो अधिकारको लागि आफैँ आवाज उठाउन थालेका छन् । हातमा हात मिलाएर सडक वा कार्यालय सबैतिर निर्धक्क भएर कुरा गर्न थालेका छन् । अहिले धेरैजसो कार्यक्रम, जुनसुकै ठाउँमा भए पनि त्यहाँ महिलाहरू मात्रै भेला भएका देखिन्छन् । यस्तो परिवर्तन पाँच वर्षअघिसम्म हुन सकेको थिएन । मेरो पाँच वर्षको कार्यकालमा यो कुरा पूरा भएको छ । यस्तो महसुस मलाई भएको छ ।

म निर्वाचित भएर आएपछि मेरो पालिकाका महिलाहरू आफैँ जागरुक हुने, अग्रसर हुने गरेको देखेँ । महिला जनप्रतिनिधिलाई पदमा रहेर काम गरेको, बाहिर निस्केर सबैसँग कुरा गरेको देखेपछि उनीहरूको पनि हौसला बढेको पाएँ । मेरो पालिकामा मैले यस्ता धेरै उदाहरण दिने खालका परिवर्तन हेरिरहेको छु । जस्तो भोजपुरीमा अहिले ‘जब उनकर पतोह बहरी आके अइसन काम कर सकेले त बतिया सकेले त हम काहे ना कर सकीं ?’ भन्ने गर्छन् । यस भनाइको अर्थ हो– जब उसको बुहारी निस्केर यस्तो काम गर्न सक्छिन्, कुरा गर्न सक्छिन् भने हामीले किन नसक्ने ?

नेतृत्वमा आउँदा तपाईंंलाई केही कुराको डर थियो कि ?

डरभन्दा पनि मलाई चिन्ता चाहिँ पक्कै थियो । सबैभन्दा बढी चिन्ता समाजमा शिक्षा, सडक विकास, महिला सशक्तीकरणकै विषयमा लागेको थियो । सँगसँगै, मौलापुरलाई कसरी नमुना पालिकाको रूपमा अगाडि बढाउने भन्ने कुरामा मलाई चिन्ता थियो । यो काम पाँच वर्षमा कसरी सम्भव होला त भन्ने लागेको थियो ।

त्यो चिन्ता र आशङ्कालाई हटाउन तपाईंले के गर्नुभयो ?

मैले सकारात्मक सोच राखेँ र तिनै कुरालाई आफ्नो मुख्य उद्देश्य बनाएँ । जनताको सल्लाह, सुझाव र आवश्यकतालाई पूरा गर्ने उपायको खोजीतिर पनि लागेँ ।

स्थानीय सरकार प्रमुख भएर काम गर्दा बाधाअड्चन पनि आइपरे कि ?

बाधाहरू पनि आएका थिए । चुनौती पनि आए । कसै कसैले महिला भनेर हेप्ने गर्थे । विभिन्न आरोप पनि लगाएका थिए ।

ती बाधा र आरोपहरू पन्छाउन के कस्ता रणनीति लिनुभयो ?

मलाई लाग्ने गरेको विभिन्न आरोपको पछाडि नलागी जनताकै बिचमा पुगेर जनताकै बिचमा रहेर जरुरी परेका सबै कार्य जनताका लागि गर्ने प्रयास गरेँ । समुदायका जनतासँग नै सहकार्य गरेर कार्य गर्दै अघि बढ्ने रणनीति बनाएँ । सबैभन्दा पहिले त बाधाअड्चन नआओस् भनेर जनताकै बिचमा नगरपालिकाका कर्मचारीलगायत हामी जान्छौँ । सबैलाई सम्झाइबुझाइ सचेत गराएर काम गर्छौं । त्यसपछि आउने गरेका जनताको आग्रह, गुनासा, सुझावलाई आत्मसात गर्ने गर्छौं । त्यही रणनीतिअनुसार कार्य सम्पादन गर्दै आएको छु ।

काम गर्ने क्रममा बाधा आउनुपछाडिका कारणहरू के थिए होलान् ?

महिला भएकै कारण त जहाँ पनि महिला नेतृत्वले बाधाहरू झेल्नुपरेको छ जस्तो लाग्छ मलाई । कोही कसैले उचालेर, कोही पैसाको लोभमा र कोही रिस डाहाले पनि काममा बाधा गर्न आउँछन् । सबैभन्दा धेरै त कुरै नबुझेर बाधा गर्न आउने हो कि जस्तो लाग्छ मलाई ।

बाधा पन्छाउनलाई तपाईंले लिएका रणनीतिक सिप कसरी सिक्नुभएको थियो ? केही उदाहरण भए त्यो पनि बताइदिनुस् न !

सबैभन्दा पहिले त समयमै जनता माझ गएर कुरा बुझाउनसके समस्या समाधान पनि हुन्छ भन्ने कुरामा मैले विश्वास गरेँ । आफूले विश्वास गरेको रणनीतिलाई व्यवहारमा पनि प्रयोग गरेँ । भन्नलाई उदाहरण त अहिले छैन । आफूले विश्वास गरेको कुरा अभ्यासमा ल्याउँदै गएँ । त्यसरी नै सिकेको हो मैले । पालिकाका जनतालाई परिवार जस्तो मानेर आत्मसात गरेर हिँड्ने हो भने अरू केही सिप र रणनीति धेरै मात्रामा आवश्यकता पनि पर्दैन जस्तो लाग्छ मलाई ।

निर्वाचित भएर आएपछि कसरी नेतृत्व गर्नुभयो ? तपाईंको नेतृत्व शैली कस्तो थियो ?

हेर्नुस्, जनतालाई परिवारको सदस्य जस्तो नै मानेँ । जनता मेरो परिवारका सदस्य जस्तै हुन् भन्ने मानेर काम गरेँ । जसरी परिवारमा देउरानी, जेठानी, जेठाजु, दाजुभाइ, आमाबुवा, नन्द, अमाजू, छोरा, छोरी, श्रीमान् र अन्य नाताका फरक फरक सोच भएका सदस्य हुन्छन् र पनि सबैलाई मिलाएर अगाडि बढ्ने कला अपनाइएको हुन्छ । खासगरी हामी महिलाले त्यस्तै त हो भनेर आफ्नै परिवारका सदस्य जस्तो गरी धेरैभन्दा धेरै जनतालाई बुझिदिएर त्यहीअनुसार व्यवहार र बोली गर्नसके कुनै समस्या र बाधा आइहाले पनि धेरै लामो समय टिक्न सक्दैन जस्तो लाग्छ । मेरो अनुभवमा पनि यस्तै हो जस्तो लाग्छ ।

नेतृत्व गर्ने त्यो शैली तपाईंले कहाँबाट सिक्नुभएको थियो र कोबाट प्रेरित हुनुहुन्छ ?

नेतृत्वको यो शैली मैले मेरो परिवारका सदस्यबाटै सिकेको हो । मेरो श्रीमान् प्रभु साह मन्त्री पनि भइसक्नुभएको छ । उहाँ मेरो प्रेरणाको स्रोत हुनुहुन्छ । मेरा श्रीमान् जनता र विकासप्रेमी भएको देखेँ । यसैले उहाँ नै मेरो प्रेरणाको स्रोत पनि बन्नुभएको हो ।

उहाँको नेतृत्व शैलीले तपाईंलाई आफ्ना विषयमा नयाँ कुरा पनि सिकायो कि ?

मैले हालसम्म उक्त नेतृत्व तरिका अभ्यास गरिरहँदा बुझेको कुरा हो– म घरबाट बाहिर निस्किन नसकेको बुहारी, कसैको श्रीमती, कसैको आमा, कसैको काकी र कसैको छोरी । मेरो यस्तै अलग अलग पहिचान छ जस्तो लागेको छ । सधैँ पुरुषलाई उच्च पदमा देख्ने जनताले महिलालाई उक्त पदमा हेर्दा सामाजिक संस्कारले सुरुमा नौलो मान्छन् । यस्तो भए पनि मभित्र हाल घरघरका बुहारी, छोरी, आमा, किशोरीलाई घरबाहिर आफ्नो लागि आफैँ आवाज उठाउन सक्ने क्षमता रहेछ भन्ने लागेको छ । यस्तो क्षमताले मलाई सहज पनि बनाएको छ । मभित्र रहेको कार्यकुशलतालाई मैले पहिचान गर्ने, चिन्ने मौका पाएको छु । मेरो कार्य गर्ने तौरतरिकाले कर्मचारीदेखि स्थानीय जनता सबै खुसी छन् । त्यसले मलाई खुसी रहन पनि सिकायो ।

तपाईंको सिकाइको यो तौरतरिका र शैलीले सहकर्मीहरूलाई कस्तो प्रभाव पारेको होला ? केही उदाहरण छन् कि ?

राम्रै प्रभाव पारेको छ । उहाँहरूलाई जसरी पनि पालिकामा विकासका काम गर्नुपर्छ भन्ने भएको छ ।

तपाईंको नेतृत्वलाई अझै प्रभावकारी बनाउन अरू थप के कस्ता ज्ञान र सिप आफूमा भएको भए सहज हुन्थ्यो होला ?

चुनावपछि यसरी प्रत्यक्ष रूपमा नै जनता माझ पुगेर सबैका समस्या सम्बोधन गर्नुका साथै विकास गर्ने अवसर र मौका त पाइयो । त्योअनुसार सरकारले सबै पदका जनप्रतिनिधिका लागि उक्त कार्यसम्बन्धी अध्ययन, जानकारीका लागि सहज माध्यम र अपुग कर्मचारी समयमा उपलब्ध गराउन पाए अझ सहज हुने थियो ।

स्थानीय सरकार प्रमुख हुँदा तपाईंलाई पार्टी, सहकर्मी, घरपरिवार, साथीभाइ, छिमेकी र पालिकावासीले के कस्तो सहयोग गरिदिए नेतृत्व गर्न अझ सहज हुने थियो जस्तो लागेको छ ?

मलाई स्थानीय सरकार प्रमुखको रूपमा पार्टी, सहकर्मी, घरपरिवार, साथीभाइ, छिमेकी, पालिकावासी अधिकांशले सहयोग र साथ दिएका छन् । यसमा म भाग्यमानी छु । सबैको साथले नै हो पाँच वर्षमा यति धेरै सकारात्मक परिवर्तन गर्न सकेको छु ।

तपाईंले चुनावमा उठ्दा मतदाताहरूसँग गर्नुभएको प्रतिबद्धता र परिकल्पनालाई पूरा गर्न सके जस्तो लाग्छ ?

यो पाँच वर्षको अवधिमा मैले २० वर्षमा गर्नुपर्ने काम गर्न सकेको छु जस्तो लागेको छ, जसमा जनता र कर्मचारी सबैको उत्तिकै योगदान, साथ र सङ्घर्ष छ । गाउँलाई शिक्षित र सिपमूलक बनाउने मेरो त्यो प्रतिज्ञा पनि धेरै हदसम्म पूरा गरेको जस्तो लागेको महसुस हुन्छ ।

छोरीलाई गाउँकै विद्यालयमा नपढाउने तर छोरालाई काठमाडौँसम्म पुर्‍याउने गरेको दृश्य मैले बर्सौैंसम्म हेर्दै आएकोले सबभन्दा पहिले छोराछोरीबिचको भेदभावको खाडल हटाउन आफ्नै गाउँमा तीन वटा मा.वि. २०७७ साल फागुनसम्ममा सञ्चालनमा ल्याएँ, पालिकाकै आर्थिक सहयोगमा । त्यस्तै, आजकालका जमानामा विद्यार्थीहरू धेरैजसोले पढ्न खोज्ने, चाहने पढाइ टेक्निकल शिक्षणका लागि बहुप्राविधिक शिक्षालय कलेज पनि सञ्चालनमा ल्याइयो ।

अहिले खासगरी छोरीहरू र त्यो पनि विपन्न समुदायका छोरीहरू विद्यालय तहसम्म सहजै पुगेका छन् । छोराहरूले पनि बाहिरका जिल्लामा भौँतारिनुभन्दा आफ्नै पालिकामा आधुनिक शिक्षा लिन पाएका छन् । योसँगै मन्दिर निर्माण, सबैको क्षमताअनुसारको दक्षता तथा सिपमूलक तालिम सञ्चालन गर्ने कार्य पनि निरन्तर सञ्चालन गरेका छौँ ।

साथै, गाउँलाई ढल, नाला, बाटा, बिजुली, घरलगायतका क्षेत्रमा व्यवस्थित गर्ने उद्देश्यले नारायणी अञ्चलमै पहिलो पटक ल्यान्ड पुलिङ र एकीकृत दलित बस्ती अवधारणा ल्याएका छौँ । अझ धेरै सपना साकार पार्न बाँकी नै छ ।

पालिकावासीले तपाईंलाई जिताउने बेलामा देखाएको उत्साह अहिले पनि देखाउँछन् कि के छ जस्तो लाग्छ ?

अहिले पनि उस्तै नै उत्साह छ जस्तो लाग्छ । मौलापुरका ग्रामीण भेगमा कुटो, कोदालो चलाउनेदेखि साइकल चलाउनेसम्म महिलाहरू अहिले सक्षम र सशक्त भएका छन् । महिलाहरूले जुनसुकै काम गर्न सक्छन् र गरेका पनि छन् । यहाँका जनता खुसी छन् । त्यस कारण म पनि खुसी छु ।

रौतहटको परिवेशमा स्थानीय सरकार प्रमुखको भूमिकामा एक जना महिला निर्वाचित भएर नेतृत्व गर्नु भनेको के रहेछ जस्तो लाग्छ तपाईंलाई ?

चुनौती छ तर पार्टी, सहकर्मी, घरपरिवार, साथीभाइ, छिमेकी, पालिकावासी अधिकांशले सहयोग गरे र साथसहयोग दिए भने महिलाले पनि राम्रोसँग नेतृत्व गर्न सक्छ जस्तो लाग्छ मलाई ।

आफ्नै कार्यकालमा भएको कुन कुराले तपाईंलाई सबैभन्दा धेरै गर्व लागेको छ ?

पहिले पनि भनेको छु । धुवाँमुक्त भान्सा र पालिका बनाउन सकेको छु । छोरी, चेली, आमालाई सशक्त बनाउने प्रयास गरेको छु । टेक्निकल कलेज खोल्न पाएका छौँ । पाँच वर्षअघिसम्म जहाँ कुनै सवारी जान सक्दैनथ्यो त्यहाँ चार बिगाहामा बस पार्क निर्माण गरेको छु । शिक्षामा सबैभन्दा बढी आफ्नो पालिकाले फड्को मारेको देख्दा गर्व महसुस गरिरहेको छु । त्यति मात्र नभई अन्य जिल्लाबाट हाम्रो पालिकामा अध्ययन अध्यापनका लागि आउने गरेका छन् । तिनलाई आफूले स्वागत गर्न पाउँदा गौरवान्वित महसुस हुने गरेको छ ।

अब निर्वाचित भएर स्थानीय सरकारको नेतृत्वमा आउने महिला जनप्रतिनिधि र पुरुष जनप्रतिनिधिका लागि मुख्य पाँच वटा के के सुझाव दिन चाहनुहुन्छ ?

एक, महिला हुँ भनेर आफैँ हेपिएर घरभित्र बस्नभन्दा बाहिर पनि केही गरेर देखाउने । दुई, योजना र जुनसुकै विकास निर्माणको काम जनताको सहजताको लागि हुने भएकोले जनताकै बिचमा जाने । तीन, पालिकाको कर्मचारी र जनताका मत, मतभेद, गुनासा र सुझावलाई जहिले पनि आत्मसात गर्ने र कार्यान्वयन पक्षलाई बलियो बनाउने । चार, महिला वा पुरुष जो प्रमुख पदमा आए पनि बराबर नै हुन्छन् भन्ने मनन गर्ने । पाँच, जनताको विश्वास जित्न इमानदार बन्ने र आफूमाथि विश्वास गर्ने ।

तस्विरहरू:रीना कुमारी साहकाे फेसबुक पाेष्टवाट

आफ्नो कार्यकालमै यसरी पछाडि फर्केर हेरिरहँदा तपाईंलाई कस्तो महसुस भइरहेको छ ?

मैले काम गरिरहँदा जनताले पनि वा जनप्रतिनिधिले पनि दुवै तर्फबाट राम्रो व्यवहार र सम्बन्ध कायम राख्नुपर्छ अनि मात्रै हामीले भनेअनुसार काम हुन्छ भन्ने अनुभव गरेको छु । एक नगरपालिकाकै प्रमुख पदमा रहेर मलाई महसुस के भएको छ भने वडाका अध्यक्षदेखि नगर प्रमुख, सांसद, मन्त्रीसम्मको पदमा रहेर महिलाले अरूभन्दा इमानदारीपूर्वक धेरै विकास गर्न सक्छन् जस्तो लागेको छ । महिला, पुरुष जो जनप्रतिनिधि भए पनि विकासप्रेमी हुनुपर्‍यो ।

मैले जुन उद्देश्यले मेयरको पदमा रहेर जिम्मेवारी निर्वाह गर्ने प्रयास गरेँ, त्यो धेरै हदसम्म सार्थक साबित भएकै छ जस्तो लाग्छ मलाई । मैले पहिले पनि भनेको छु, आफ्नो गाउँ समाजलाई नजिकबाट नियाल्न पाउँदा जनताका धेरै आवश्यकता, सङ्घर्ष र सकारात्मक सम्भावनालाई बुझ्ने मौका पाएको छु । त्यसकारण महिला, बालबालिका, किशोरी, वृद्धवृद्धा, पुरुष आदि सबैलाई वर्गीकरण गरी उक्त वर्गीकरणअनुसार मैले कार्य अगाडि बढाएँ । कतिपय अवस्थामा सबैको साझा समस्यालाई पनि समाधान गर्दै अगाडि बढ्ने गरेको छु । यसले मलाई नेतृत्वमा सफल बनाएको छ ।

अरू केही भन्न मन लागेको छ ?

सहयोग र विरोध त सबै ठाउँमा हुन्छ तर सहकार्य गर्ने जनताको सङ्ख्या धेरै भएर नै मलाई पालिकाको प्रमुख भएर नेतृत्व गर्न सजिलो भएको हो । चुनावमा जित्नु मात्रै ठुलो कुरा होइन तर पद जस्तै अधिकांश जनताको मन जित्न सफल हुनु नै मेरो आत्मसन्तुष्टिको कारण बनेको छ । जनताले जिताएर यहाँसम्म ल्याएकाले जनताकै लागि अझ आगामी दिनमा पनि अग्रसर हुन मन छ ।

मैले द स्टोरी किचेनले तयार गरेको निर्देशिकाका आधारमा तपाईंलाई केही प्रश्न गरेँ । यसरी कुराकानी गर्दा तपाईंलाई कस्तो अनुभव भयो ?

मैले गरेको र गर्न बाँकी सबै अनुभव र योजना बताउन पाउँदा म खुसी छु । धन्यवाद !

प्रकाशन मिति : २०८१ मंसिर २७ गते, बिहीवार

पालिकाका सारथी महिलाहरूका थप कथाहरू


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here