सन्धान संवाद शृङ्खला ८
कार्यकाल २०७४–२०७९ साललाई फर्किएर हेर्दा पालिकाका सारथी महिलाहरूको लहरमा देखापर्ने नाम हो, कौशिलाकुमारी भट्ट । उहाँ देश सङ्घीय संरचनामा रूपान्तरण भएपछि भएको पहिलो स्थानीय तह निर्वाचनमा साबिक प्रदेश नम्बर ७ स्थित डडेल्धुरा जिल्लाको भागेश्वर गाउँपालिका अध्यक्ष निर्वाचित हुनुभयो । २०७५ असोज २२ मा सुदूरपश्चिम प्रदेश नाम राखिएको उक्त प्रदेशका ५४ गाउँपालिकाबाट अध्यक्षमा निर्वाचितहरूमध्ये उहाँ एक मात्र महिला हुनुहुन्थ्यो ।
सिङ्गो प्रदेशबाट नै नगरपालिका प्रमुखमा एक र गाउँपालिका अध्यक्षमा एक गरी दुई महिला निर्वाचित भएका थिए । उहाँ नेपाली कांग्रेसबाट चुनावी मैदानमा उत्रिएर अन्य पाँच प्रतिस्पर्धीलाई पछि पार्दै दुई हजार सात मत प्राप्त गरी विजयी हुनुभएको थियो । २०७४ असार १४ गते भएको सो निर्वाचनमा कुल सात हजार ४९ मत खसेकोमा सदर मतको सङख्या छ हजार ३२५ थियो । निर्वाचनका लागि उम्मेदवारी दिँदा उहाँ २८ वर्षको हुनुहुन्थ्यो ।
डडेल्धुरा जिल्लाको बगरकोटमा जन्मिएकी कौशिलाकुमारीले २०६१ सालमा राजनीतिक यात्रा शुरु गर्नुभएको थियो । कक्षा ८ मा पढ्दै गर्दा नै राजनीतिमा प्रवेश गरेकी उहाँ २०६२/६३ सालको जनआन्दोलनमा सक्रियरूपमा सहभागी हुनुभयो । काठमाडौैँ अध्ययनका क्रममा नेविसंघको केन्द्रीय सदस्य हुनुभयो । उहाँ नेपाली कांग्रेसको महासमिति सदस्य पनि हुनुभयो । केही नयाँ गर्ने सोचका साथ सामाजिक विकास, परिवर्तन र रूपान्तरणको चाहनाले राजनीतिमा लागेको र पारिवारिक पृष्ठभूमिले नेपाली काँग्रेसको सिद्धान्तलाई अँगाल्न सहयोग पुगेको उहाँको भनाइ थियो ।
कौशिलाकुमारीलाई स्थानीय सरकारको नेतृत्वमा पुर्याउने मूल आधार बन्यो, नेपालको संविधान । २०७२ सालमा जारी सो संविधानले मुलुकलाई सङ्घीय संरचनामा रूपान्तरण गर्यो । २०८१ असोज ३ गते संविधान दिवसको सन्दर्भ पारेर हामीले ‘सन्धान संवाद शृङ्खला’ अन्तर्गत ‘फर्किएर हेर्दा : पालिकाका सारथी महिलाहरू’ स्तम्भको सुरुवात गरेका थियौँ । सोही दिनदेखि एउटा बिहिवार संवाद र अर्को बिहिवार रिपोर्ट पर्ने गरी हरेक हप्ता पालिकाका सारथी महिलाहरूसित सम्बन्धित सामग्री प्रस्तुत गर्दै आएका छौँ । प्रस्तुत सामग्री ‘फर्किएर हेर्दा : पालिकाका सारथी महिलाहरू ’ स्तम्भको संवाद खण्ड हो ।
मुलुक सङघीय संरचनामा गइसकेपछि तीन चरणमा स्थानीय तहको निर्वाचन भयो । पहिलो चरणमा २०७४ वैशाख ३१ गते ३४ जिल्लाका २८३, दोस्रो चरणमा २०७४ असार १४ गते ३५ जिल्लाका ३३४ र तेस्रो चरणमा २०७४ असोज २ गते आठ जिल्लाका १३६ गरी कुल ७५३ स्थानीय तहका लागि निर्वाचन भएको थियो । नेपालकै पहिलो निर्वाचन भने २००४ जेठ २९ गते भएको थियो । काठमाडौं म्यूनिसिपलिटीको उक्त निर्वाचनमा महिलाहरूले उम्मेदवारी दिन त के भोट खसाल्न पनि पाएका थिएनन् । महिलाहरूलाई मताधिकार नै दिइएको थिएन ।
देशकै पहिलो निर्वाचन भएको छ वर्षपछि २०१० सालमा अर्को निर्वाचन भयो । त्यस निर्वाचनमा महिलाहरूले मताधिकार मात्र नभएर उम्मेदवारीको अधिकारसमेत पाए । यस्तो अधिकार पाएको साढे छ दशक हुनै लाग्दा २०७४ सालमा भएको स्थानीय निर्वाचनमा त ५७ हजार ८४३ महिला चुनावी मैदानमा नै उत्रिए । तीमध्ये १४ हजार ३५१ महिला पालिकाका विभिन्न पदहरूमा निर्वाचित पनि भए । स्थानीय तह निर्वाचनमा महिलाको कुल प्रतिनिधित्व ४०.९५ प्रतिशत रह्यो । यत्तिको प्रतिनिधित्व वैधानिक प्रावधानको कारण सम्भव भएको थियो । त्यति हुँदाहुँदै महिलाहरूले पाउनुपर्ने जति महत्त्व र अधिकार अझै पाएनन् ।
देशका कुल ७५३ स्थानीय तहका प्रमुख/अध्यक्ष पदका लागि भएको निर्वाचनमा सात महिला नगरपालिका प्रमुखमा र ११ महिला गाउँपालिका अध्यक्षमा निर्वाचित भए । यसरी जम्मा १८ महिलाले मात्र पालिका प्रमुख वा अध्यक्षमा निर्वाचित भएर स्थानीय सरकारको नेतृत्व गर्ने अवसर पाए ।
‘स्थानीय तह निर्वाचन ऐन, २०७३’ मा दफा १७ को उपदफा ४ मा उम्मेदवारको मनोनयनपत्र पेस गर्दा दलले अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुखमध्ये ५० प्रतिशत महिला उम्मेदवार रहने गरी मनोनयनपत्र पेस गर्ने व्यवस्था मिलाउनुपर्ने प्रावधान छ । त्यति बेला पालिकाको उपप्रमुख/उपाध्यक्ष पद महिलाकै लागि तोकिए जस्तो गरी उम्मेदवारी थमाइएको थियो । त्यति गर्दा पनि कुल १५०६ स्थानमा पुरुष ७८८ हुँदा महिला ७१८ जना मात्र विजयी भए । महिलाको सम्भाव्य प्रतिनिधित्व पनि ३५ स्थानले कम हुन पुग्यो । यसबाट ५० प्रतिशतको उम्मेदवारी प्रावधानले मात्र परिणामतः महिलालाई न्याय नहुने देखियो । यस्तो अवस्थामा पनि पालिकाको नेतृत्वमा उम्मेदवार बनेर निर्वाचित हुन पुगेका १८ महिलाहरू सामान्य पक्कै थिएनन् । तिनैमध्ये एकमा कौशिलाकुमारी पनि पर्नुभयो ।
नयाँ शासकीय स्वरूप, नयाँ अभ्यास, वैधानिक तथा भौतिक पूर्वाधारहरूको अपर्याप्तता/अभाव जस्ता कारणले सबै पालिकामा एक प्रकारको अन्योल थियो । त्यस्तो बेला पुरुषहरूकै बाहुल्य रहेको संरचनामा नवनिर्वाचित प्रमुख/अध्यक्ष बनी नेतृत्वदायी भूमिका निर्वाह गर्नु महिलाका लागि झनै चुनौतीपूर्ण थियो । नागरिकका अपेक्षा चुलिएका थिए । कौशिलाकुमारीका सामु पनि चुनौतीका पहाड खडा थिए ।
चुनौतीहरूका बिच गाउँपालिका अध्यक्षको जिम्मेवारी निर्वाह गरी दायित्व पूरा गर्दाको उहाँको अनुभव कस्तो रह्यो त ? विशेष गरी उहाँको नेतृत्वमा पालिकाले हासिल गरेका उपलब्धि के थिए ? उहाँको नेतृत्वशैली, बाधाअवरोध पन्छाउने उपाय के कस्ता थिए ? आफूले आफ्नो कार्यकाल र आफैँलाई फर्किएर हेर्दा उहाँले के पाउनुभयो ? भावी जनप्रतिनिधिलाई उहाँका सुझाव के के थिए ?
द स्टोरी किचेनले तयार पारेको निर्देशिकाका आधारमा मूलतः यी र यस्ता प्रश्नका साथ ‘सन्धान’ को लागि फेलो पत्रकार मानमती पाण्डेयले कौशिलासँग उहाँको कार्यकालको अन्तिमतिर टेलिफोन कुराकानी गर्नुभएको थियो । आजको शृङ्खलामा प्रस्तुत छ, कौशिलाकुमारी भट्टसँग गरिएको सोही कुराकानी ।
करिब पाँच वर्षको कार्यकालमा तपाईंले गर्नुभएका एकदमै महत्त्वपूर्ण र उपलब्धिमूलक काम के के हुन् भन्ने लाग्छ ?
हामीले पहिलो चरणमा गाउँपालिका पदाधिकारीको आचारसंहिता बनाएका थियौँ । त्यसयता गाउँपालिकाको अधिकारक्षेत्रमा पर्ने कार्य गर्नका लागि सहकारी ऐन, निर्माण व्यवसायी इजाजत पत्रसम्बन्धी कार्यविधि, स्वयंसेवक शिक्षक भर्नासम्बन्धी कार्यविधि, विपद् न्यूनीकरण विधेयक, बजार अनुगमन निर्देशिका, करारमा जनशक्ति व्यवस्था गर्नेसम्बन्धी कार्यविधि, विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि, अर्थसम्बन्धी विभिन्न विधेयक तथा ऐन निर्माण गरेका छौँ ।
मेरो नेतृत्वको गाउँपालिकाले निर्माण गरेका विभिन्न नीतिगत व्यवस्थाका आधारमा भौतिक, आर्थिक, राजनीतिक तथा सामाजिक कार्यहरू सम्पन्न गरेको छ । भौतिक निर्माणतर्फ हरेक वडामा सडक सञ्जालको विस्तार गरिएको छ । खानेपानीको सहज व्यवस्थापन गर्दै हरेक घरमा धाराको व्यवस्था गरेका छौँ । कृषि उपजको व्यवस्थापनका लागि कृषि चिस्यान घर निर्माण भएको छ । किसानलाई प्रोत्साहन दिन तरकारी खेती तालिम, बिउबिजन वितरण आदि विभिन्न कार्यक्रम सञ्चालन गरेका छौँ ।
महिला सवालमा पनि केही निर्णय र काम गर्नुभयो कि ?
मेरो कार्यकालमा मैले महिलाका लागि थुप्रै निर्णय र काम गरेकी छु । सुदूरपश्चिममा अझै छाउपडी प्रथा कायमै भएकाले छात्राहरू महिनावारी भएका बेला विद्यालय जान पनि समस्या भएको थियो । यसैले छात्राहरूको पढाइलाई निरन्तरता दिन हामीले विद्यालयमा स्यानिटरि प्याड उपलब्ध गराउन भेन्डिङ मेसिनसहितको शौचालय निर्माण गर्यौँ । गाउँमा स्यानिटरि प्याड वितरण गर्यौँ। महिलाका लागि सिलाइकटाइ जस्ता स्वरोजगारका काम गर्यौँ।
यस्तै, गर्भवती महिलालाई नियमित स्वास्थ्य जाँच गराएबापत प्रोत्साहनस्वरूप अन्डा वितरण कार्यक्रम सुरु गर्यौँ । आमा समूहमा सरसफाइ तथा पानी शुद्धीकरणसम्बन्धी छलफल तथा प्रदर्शनी गर्यौँ । किशोरीहरूका लागि जीवन उपयोगी सिप, पोषण, महिनावारी प्रक्रिया र स्यानिटरि प्याड निर्माणसम्बन्धी दुईदिने तालिम दियौँ । यी सबै मेरो कार्यकालमा गरिएका उपलब्धिमूलक काम हुन् ।
यस्ता उपलब्धि प्राप्त गर्न तपाईंले आफूलाई कसरी तयार गर्नुभएको थियो ?
म काठमाडौँमा स्नातकोत्तर पढिरहेकी थिएँ । पढ्दापढ्दै स्थानीय तहको निर्वाचन हुने कुरा भयो र मलाई पार्टी नेतृत्वले ‘तिमीले लड्नुपर्छ’ भन्यो । त्यति बेला म नेपाल विद्यार्थी सङ्घको केन्द्रीय सदस्य थिएँ । मलाई पनि आफ्नै ठाउँमा गएर केही गर्नुपर्छ र उतै समय दिनुपर्छ जस्तो लाग्यो । त्यसपछि म गृह जिल्ला डडेल्धुरा फर्किएँ र चुनाव लडेँ ।
चुनाव जितिसकेपछि केही समय त के गर्ने, कसरी गर्ने भन्ने अलमलमा परेँ । त्यसपछि चुनावको प्रचारप्रसारको दौरानमा गाउँघर घुम्ने बेला जनताले ‘तपाईंले जित्नुभयो भने हाम्रो लागि यस्तो समस्या छ, यसलाई यस्तो काम गरिदिनुहोला’ भनेका कुरालाई आधार बनाएँ । सोहीअनुसार पालिकाबाट गर्नुपर्ने काम सुरु गर्यौँ । त्यसरी गरिएका काम उपलब्धिमूलक पनि भए ।
यसरी उपलब्धिमूलक काम गर्नुपर्छ भन्ने तपाईंलाई किन लाग्यो ?
पहिलो कुरा त आफू जुन समाजमा बसेँ, त्यो समाजमा भएका समस्या र अभावबारे राम्रोसँग बुझेकी थिएँ । त्यसैले ती समस्या र अभावलाई हटाउने कामहरू गरियो । त्यसपछि आफ्नै पालिकावासीसँग कुरा गर्दा उनीहरूको आवश्यकता बुझियो र त्यसैअनुरूप काम गरियो । हामीलाई जनताले नै विश्वास गरेर यो ठाउँसम्म पुगाइसकेपछि आफूले पनि इमानदार भएर नेतृत्व दिने काम गर्नुपर्छ जस्तो मलाई लाग्यो ।
गाउँपालिका अध्यक्ष भएर मैले राम्रोसँग काम गर्न सकेन भने एक त युवाप्रति मानिसको विश्वास त घट्छ घट्छ नै, अर्को, महिलाले काम गर्न सक्दैनन् यिनीहरूलाई ठुलो पोस्टमा पुर्याउनु हुँदैन रहेछ भन्ने छाप पर्ला भन्ने डर मलाई थियो ।
म आफैँ पनि समाजका लागि केही नयाँ गर्नुपर्छ भन्ने सोच भएको व्यक्ति हुँ । केही गर्नुपर्छ भन्ने सोचेर नै राजनीतितिर लागेकी हुँ । मेरो परिवार पनि राजनीतिक पृष्ठभूमिकै हो । यही भएकाले पनि म यतातिर आकर्षित भएकी हुँ । राजनीति गर्ने व्यक्तिले नेतृत्वमा रहँदा सकेसम्म उपलब्धिमूलक काम गर्नुपर्छ भन्ने मलाई थाहा थियो ।
तपार्ईंले गर्नुभएका कामबाट स्थानीय नागरिकको जीवनमा के परिवर्तन भएको छ जस्तो लाग्छ ? कसैले तपाईंलाई केही भनेको पनि छ कि ?
कसैको व्यक्तिगत जीवनमा भन्दा पनि समाजमा विकासका कामहरू भएका छन् । हाम्रो गाउँमा सडक थिएन । अहिले घरसम्मै सडक पुग्या’ छन् । सडक नै बनिसकेपछि त्योसँग धेरै कुराहरू जोडिए । गाउँमा गाडी पुग्यो । कृषकहरूलाई बजारको सहजता भयो । यो पनि सकारात्मक प्रभाव नै हो ।
अर्को कुरा, हाम्रो गाउँपालिकामा स्वास्थ्य संस्थाको सङ्ख्या कम थियो । हामीले थप पाँच वटा स्वास्थ्य संस्था बनायौँ । हाम्रै पालिकामा १० शैय्याको अस्पताल पनि बन्ने भएको छ । यो पनि सकारात्मक परिवर्तन नै हो । हामीले प्राविधिक शिक्षालयको निर्माण गरेका छौँ । यसबाट पनि धेरै विद्यार्थीहरू लाभान्वित भएका छन् ।
अझ अर्को कुरा, पहिले गर्भवती महिलाहरूले घरमै बच्चा जन्माउने गर्थे भने अहिले भने ‘बर्थिङ सेन्टर’ मा गएर बच्चा जन्माउने गरेका छन् । गर्भवती भएपछि उनीहरू नियमित चेकजाँच गराउन स्वास्थ्यचौकी पनि जान्छन् । हामीले गरेका यस्ता कामबाट यहाँका नागरिकका जीवनमा सकारात्मक परिवर्तन भएको छ । कसैले केही नभने पनि आफ्नो समाजमा भएका यस्ता महत्त्वपूर्ण परिवर्तनलाई सबैले देख्न सक्छन् ।
नेतृत्वमा आउँदा तपाईंलाई केही कुराको डर थियो कि ?
यहाँका जनताले आफ्नो प्रतिनिधिको रूपमा मलाई छाने । म २८ वर्षको उमेरमा नै गाउँपालिका अध्यक्ष बनेँ । यो मेरा लागि नौलो अभ्यास मात्रै होइन, एकदमै ठुलो जिम्मेवारी पनि थियो । यो जिम्मेवारी मैले सफलतापूर्वक पूरा गर्न सक्छु कि सक्दिनँ भन्ने डर ममा थियो । जुन कुरा मेरो भविष्यसँग पनि जोडिएको थियो । मैले राम्रो काम गर्न सकेन भने सानै उमेरमा मेरो राजनीतिक जीवन सकिन्छ भन्ने डर मलाई थियो ।
समस्या आए कसरी डिल गर्ने भन्ने कुरा त्यति बेला नै थाहा हुन्छ । मैले गाउँपालिकाको अध्यक्ष हुनुभन्दा अघि पनि हरेक ठाउँमा आफूसँग असन्तुष्ट मानिससँग डिल गरेरै आएको हो । अब यस्तै रणनीति र सिप भन्ने त छैन तर म अवस्थाअनुसार डिल गर्न सक्छु ।
अर्को कुरा, गाउँपालिका अध्यक्ष भएर मैले राम्रोसँग काम गर्न सकेन भने एक त युवाप्रति मानिसको विश्वास त घट्छ घट्छ नै, अर्को, महिलाले काम गर्न सक्दैनन् यिनीहरूलाई ठुलो पोस्टमा पुर्याउनु हुँदैन रहेछ भन्ने छाप पर्ला भन्ने डर मलाई थियो ।
त्यस्ता डरलाई हटाउन तपाईंले के गर्नुभयो ?
डर हटाउनै भनेर त खासै त्यस्तो केही गरिनँ तर मैले बढीभन्दा बढी काम गर्नुपर्छ भन्ने सोच राखेँ । आफ्नो कार्यकालमा बढीभन्दा बढी काम गर्नुपर्छ जस्तो लाग्यो । पालिकाकै काममा जोड दिएर लागेँ । त्यसपछि डर हराउँदै गयो ।
स्थानीय सरकार प्रमुख भएर काम गर्दा बाधाअड्चन पनि आइपरे कि ?
मैले स्थानीय सरकार प्रमुख भएर काम गर्दा त्यति धेरै बाधाहरू त आएनन् । तर, कहिलेकाहीँ गर्दै नगरेको गल्ती, कहिले अरूले गरेका गल्तीको कारणले पनि आरोप र जनगुनासाहरू आए । केन्द्र सरकार तथा प्रदेश सरकारसँग रुष्ट भए पनि जनताले गुनासो पोख्ने ठाउँ भनेको स्थानीय सरकारसँग नै हो । स्थानीय तहको सरकार भनेको जनताको प्रत्यक्ष निगरानीमा रहेको हुन्छ । त्यसैले स्थानीय जनगुनासाहरू सिधै हामी कहाँ आइपुग्छन् । तर पनि यहाँ विकासका कामहरू गर्दा, राम्रा कामहरू गर्दा अवरोध गर्ने काम चाहिँ कसैबाट भएन ।
मैले काम गर्दा स्थानीयले सबैभन्दा दुःख दिएको भनेको प्रधानमन्त्री स्वरोजगार कार्यक्रम लागु गर्दा हो । यस कार्यक्रमअन्तर्गत सफ्टवेयरले मान्छे छान्छ । वडा अध्यक्षले सिफारिस गरेअनुसार नै छान्दा एकैघरका कोही पाँच–सात जनासम्म पर्ने तर कोहीको परिवारै छुट्ने पनि भयो । यसले गर्दा मलाई ‘तपाईंले भेदभाव गर्नु भो हामीलाई छान्नु भएन’ भन्ने गुनासो धेरै आयो । यस्ता गुनासा र समस्याहरू हरेक क्षेत्रमा आउने गर्छन् । तिनको बेलैमा सम्बोधन गर्न नखोज्ने र नसक्ने हो भने काममा बाधाहरू पनि आउन सक्छन् ।
ती गुनासा र समस्यालाई सम्बोधन गर्न के कस्ता रणनीति लिनुभयो ?
हामीले सबैको गुनासो सुन्ने र उनीहरूलाई सम्झाउने काम गर्यौँ । मैले अघि पनि भनेँ, तपाईं जुनसुकै काम गर्नुस्, विरोध गर्ने मान्छे भइ नै हाल्छन् । राम्रो कामको पनि विरोध हुन्छ, नराम्रो कामको पनि । गुनासा आइसकेपछि बाधा पनि आइपर्न सक्छ । यसैले त्यसलाई बेलैमा सम्बोधन गर्नुपर्छ भन्ने भयो ।
मैले अवलम्बन गरेको नेतृत्व शैलीले मलाई आत्मविश्वास थपेको छ । अब मैले जस्तो जिम्मेवारी पनि वहन गर्न सक्छु जस्तो लाग्छ । यसले मलाई आफूभित्रबाटै बलियो हुन सिकाएको छ ।
गुनासाहरूसँग कसरी ‘डिल’ गर्ने भन्ने कुरा सिक्न कतै बाहिर जानु पर्दैन । समस्या आए कसरी डिल गर्ने भन्ने कुरा त्यति बेला नै थाहा हुन्छ । मैले गाउँपालिकाको अध्यक्ष हुनुभन्दा अघि पनि हरेक ठाउँमा आफूसँग असन्तुष्ट मानिससँग डिल गरेरै आएको हो । अब यस्तै रणनीति र सिप भन्ने त छैन तर म अवस्थाअनुसार डिल गर्न सक्छु । अब ठुलै समस्या आयो भने मात्र माथिल्लो तहसँग छलफल गर्ने हो ।
यस्ता गुनासा र समस्याहरू आउनुपछाडिका कारणहरू के थिए होलान् ?
मैले गरेको काम सबैलाई चित्त बुझ्नुपर्छ भन्ने छैन । कुनै काम कसै कसैलाई चित्त नबुझ्न पनि सक्छ । त्यसपछि गुनासाहरू त आइ नै हाल्छन् । अब एउटा पार्टीको सरकार हुँदा अर्को पार्टीमा लागेका स्थानीयले अवरोध गर्नु वा गुनासो गर्नु सामान्य जस्तै हो । कसैको मनसाय आफ्नो ठाउँको विकास गर्नु हो भने सहयोग नै गर्छन् । नभए विरोध नै गर्छन् । कुनै बेला सिस्टम नबुझेर र सफ्टवेयरको कारणले पनि गुनासा र समस्याहरू आउने गर्छन् । मैले सुनेका गुनासा र भोगेका समस्याका पछाडि यस्तै कारणहरू थिए ।
निर्वाचित भएर आएपछि कसरी नेतृत्व गर्नुभयो ? तपाईंको नेतृत्व शैली कस्तो थियो ?
पालिका अध्यक्षमा निर्वाचित भएर आएपछि मैले सबैसँग मिलेर सबैलाई समेट्ने गरी नेतृत्व दिने काम गरेँ । मैले अन्य पार्टीका साथीहरूका पनि कुरा सुनेँ । सबैले सबैको कुरा सुनेर आपसमा सहमति बनाएर हामीले पालिकावासीको हितका लागि काम गर्यौँ । जे गर्यौँ, जनताको इच्छाअनुरूप उनीहरूको हितमा नै काम गर्यौँ । अब नेतृत्व शैली भन्नाले हाम्रो त प्रजातान्त्रिक नेतृत्व शैली हो ।
प्रजातान्त्रिक नेतृत्व शैली तपाईंले कहाँबाट सिक्नुभएको थियो र कोबाट प्रेरित हुनुहुन्छ ?
राजनीतिमा लागेर हिँडिसकेपछि धेरै मानिसहरूसँग मेरो भेटघाट भयो । विभिन्न कार्यक्रमहरूमा सहभागी भइयो । आफूलाई थाहा भएको कुरा अरूलाई ‘सेयर’ गरेँ भने थाहा नभएको कुरा अरूबाट सिकेँ । अर्को कुरा, २०६२–६३ को बृहत् जनआन्दोलनले पनि धेरै कुरा सिकायो । सानै उमेरमा मैले धेरै सिक्ने मौका पाएँ ।
मैले अघि पनि भनेँ, म राजनीतिक पृष्ठभूमि भएको परिवारबाट आएकी हुँ । मेरो बुवा नेपाली कांग्रेसको नेता हुनुहुन्थ्यो । प्रजातान्त्रिक नेतृत्व शैलीमा विश्वास गर्ने मान्छे हो । म उहाँबाटै प्रेरित र प्रभावित हुँदै आएकी छु ।
यस्तो नेतृत्व शैलीले तपाईंलाई आफ्नै विषयमा नयाँ कुरा पनि सिकायो कि ?
अवसर पायौँ भने हामीले धेरै कुरा गर्न सकिने रहेछ भन्ने बुझेँ । आन्दोलन र विभिन्न कार्यक्रममा जाँदा आफूभन्दा ‘सिनियर’ दाइ दिदीको पछि लागेर हिँड्ने गरिन्थ्यो । पछि आफ्नै हातमा नेतृत्वको जिम्मेवारी आइसकेपछि मैले पनि गर्न सक्ने रहेछु जस्तो लाग्यो ।
पालिकावासीले उठाएका समस्याहरूलाई समाधान गर्न सकियो । महिला भएकै कारणले उनीहरूले भोग्दै आइरहेको समस्यामा कमी ल्याउनका लागि पनि थुप्रै कामको थालनी गरियो ।
अर्को कुरा, अवसर पायो भने महिलाले पनि पुरुषसरह काम गर्न सक्छ भन्ने थाहा भयो । वास्तवमै भन्ने हो भने नेतृत्व वा ‘लिडरसिप’ भन्ने कुरा आफूले जिम्मेवारी वहन गरिसकेपछि मात्र सिकिने रहेछ । अरूले गरेको हेर्नु र आफैँले वहन गर्नुमा धेरै नै फरक हुने रहेछ भन्ने कुरा बुझेँ ।
अर्को कुरा, मैले अवलम्बन गरेको नेतृत्व शैलीले मलाई आत्मविश्वास थपेको छ । अब मैले जस्तो जिम्मेवारी पनि वहन गर्न सक्छु जस्तो लाग्छ । यसले मलाई आफूभित्रबाटै बलियो हुन सिकाएको छ । यो मेरा लागि नयाँ सिकाइ पनि हो ।
तपाईंको सिकाइको यो तौरतरिका र शैलीले सहकर्मीहरूलाई कस्तो प्रभाव पारेको होला ? केही उदाहरण छन् कि ?
यस्तो हो, पहिलेको तुलनामा महिलाहरू खुलेर बाहिर आउन थालेका छन् । यसअघिसम्म कसैलाई भन्न हुँदैन भनी लुकाएर राख्दै आएका आफ्ना समस्याहरूलाई समाधान गर्नुपर्छ भनी समूहमा राख्न थालेका छन् । केही मात्रामै भए पनि महिलाहरू विभिन्न कार्यक्रममा सहभागी हुन थालेका छन् । सामाजिक बहसमा पनि सहभागी हुन थालेका छन् । यो भनेको हामी जस्तै स्थानीय तहको नेतृत्वमा रहेर काम गरेका महिलाबाट प्रभावित भएर नै हो ।
यस विषयमा त्यस्तो खासै तपाईंबाट प्रभावित छु भनेर त कसैले भनेनन् । तर कुरा के हो भने, म एक युवा, त्यसमाथि महिला भएर गाउँपालिका अध्यक्ष जस्तो नेतृत्वदायी पदमा बसेर काम गरेँ भने मेरो वरिपरिका म जस्ता युवा तथा महिलाहरूलाई एक प्रकारको हौसला मिल्ने नै भयो । आँट गर्यौँ भने हामीले पनि नेतृत्व गर्न सक्छौँ भन्ने विश्वास जगाउने भयो भन्ने मलाई लाग्छ । यसले गाउँ समाजमा महिलालाई हेर्ने दृष्टिकोणमा पनि फरक पार्छ जस्तो लाग्छ ।
तपाईंको नेतृत्वलाई अझै प्रभावकारी बनाउन, अरू थप के कस्ता ज्ञान र सिप आफूमा भएको भए सहज हुन्थ्यो होला ?
सङ्घीयता कार्यान्वयनको पहिलो चरणमा सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको हैसियतले स्थानीय तह सञ्चालनका लागि विभिन्न नीतिगत तहमा, कार्ययोजना निर्माण र बजेट व्यवस्थापनको एउटा चुनौतीपूर्ण काम गर्नुपर्ने थियो । सो कार्य सम्पन्न गर्न पाउँदा स्थानीय सरकारको पहिलो जननिर्वाचित प्रतिनिधिको हैसियतले खुसी पनि लागेको छ ।
तर, मलाई हाल बनेका विभिन्न आयामका कानुनहरू स्थानीय तह सञ्चालनका लागि पर्याप्त छन् भन्ने लाग्दैन । यसैले स्थानीय सरकारको कामलाई प्रभावकारी बनाउन र स्वायत्त शासन व्यवस्थाको अभ्यासका लागि थप नीति र कानुन आवश्यक ठान्छु । त्यसका लागि आफूमा थप ज्ञान र सिप भएको भए सहज हुन्थ्यो होला भन्ने पनि लाग्छ ।
साथै, पालिकाको नेतृत्वमा पुगिसकेपछि सबै पालिकावासीसँग घुलमिल भएर भेट्न र समेट्न सक्ने ज्ञान र सिप बेलैमा आइदिएको भए आफूले गरेका प्रतिबद्धता र परिकल्पनालाई जनस्तरमा पुर्याउन सकिन्थ्यो । त्यसो गर्दा नेतृत्व प्रभावकारी देखिन्थ्यो र पालिकामा काम गर्न सहज पनि हुन्थ्यो कि जस्तो लाग्छ ।
तपाईंले चुनावमा उठ्दा मतदाताहरूसँग गर्नुभएको प्रतिबद्धता र परिकल्पनालाई पूरा गर्न सके जस्तो लाग्छ ?
मैले अघि पनि भनेँ, यो मेरा लागि नयाँ अभ्यास थियो । मैले मेरा प्रतिबद्धता र परिकल्पनालाई सय प्रतिशत नै नभए पनि सक्दो काम चाहिँ गरेकै हो । पालिकावासीले उठाएका समस्याहरूलाई समाधान गर्न सकियो । महिला भएकै कारणले उनीहरूले भोग्दै आइरहेको समस्यामा कमी ल्याउनका लागि पनि थुप्रै कामको थालनी गरियो ।
पालिकावासीले तपाईंलाई जुन उत्साहका साथ जिताएका थिए, अहिले पनि त्यही उत्साहको भाव देखाउँछन् कि फरक महसुुस गरेका छन् जस्तो लाग्छ ?
नेपाली कांग्रेसको उम्मेदवार भएर चुनावी मैदानमा उत्रँदै गर्दा पार्टीले अघि सारेको घोषणापत्रका साथै हामीले पालिका स्तरमा बनाएको घोषणापत्र लिएर चुनावी मैदानमा गएका थियौँ । हामीले घोषणापत्रमा उल्लेख गरेका योजनाका कारण तथा मेरो व्यक्तिगत आचरणका कारण पनि मतदाताले मलाई भोट दिएर जिताएका हुन सक्छन् ।
हामीले घोषणा गरेका सबै कुराहरू पूरा गर्न नसक्दा आमनागरिकको चित्त दुखाइ भए पनि मेरो नेतृत्वमा भएका कामबाट असन्तुष्ट चाहिँ छैनन् । मेरो नेतृत्वमा पालिकाले गरेको कामले पालिकावासी सन्तुष्ट छन् भन्ने मलाई लाग्छ ।
स्थानीय सरकार प्रमुख हुँदा तपाईंलाई पार्टी, सहकर्मी, घरपरिवार, साथीभाइ, छिमेकी र पालिकावासीले के कस्तो सहयोग गरिदिए नेतृत्व गर्न अझ सहज हुने थियो जस्तो लागेको छ ?
सबैभन्दा पहिले त म अल्पमतमा सरकार चलाएर आएको मान्छे हो । मलाई पार्टी, घरपरिवार, साथीभाइ, छिमेकीबाट सहयोग नै भएको हो । तर, गाउँपालिका पदाधिकारी र सदस्यमा मेरो पार्टीका मान्छे एकदमै कम थिए । यस्तो हुँदा कार्यपालिकाका निर्णयदेखि गाउँसभा गर्ने कुराहरूमा पनि सहमति गर्न गाह्रो हुने रहेछ ।
महिनावारीको समस्यादेखि लिएर गर्भवती महिला र बच्चाको स्वास्थ्यको कुरामा धेरै परिर्वतन आएको छ । त्यो देख्दा खुसी लाग्छ । सोचे जति सबै र थालेका काम पूरै गर्न भ्याइएन । अझै थप काम गर्न समय पाएको भए हुन्थ्यो जस्तो पनि लाग्छ ।
मेरो निर्णयमा सहकर्मीहरू सहमत नहुने अवस्था आउँथ्यो । काम गर्दा धेरै कुरामा ‘कम्प्रोमाइज’ गर्नुपर्ने अवस्था आयो । यसैले आफ्नै पार्टीका मान्छेको बहुमत भएका भए निर्णय गर्नदेखि कार्यक्रम कार्यान्वयन गर्ने गराउने, पालिकावासीलाई दिनुपर्ने सेवा सुविधाका काममा सुशासन र पारदर्शिता ल्याउन अझै सहज हुन्थ्यो जस्तो लाग्छ ।
डडेल्धुराको परिवेशमा स्थानीय सरकारको प्रमुखको भूमिकामा एक जना महिला निर्वाचित भएर नेतृत्व गर्नु भनेको के रहेछ जस्तो लाग्छ तपाईंलाई ?
नेतृत्वका लागि यो एउटा परीक्षा पनि हो । महिला होस् या पुरुष नेतृत्वमा पुगेपछि सबैले जनताको हितमा नै काम गर्ने हो । पुरुषको तुलनामा महिला नेतृत्व अलि कम भएकाले महिलाले नेतृत्व सम्हाल्न सक्छन् कि सक्दैनन्, काम गर्न सक्छन् कि सक्दैनन् भन्ने कुरामा अलिकति शङ्का उपशङ्काहरू आउन सक्छन् । तर, मलाई लाग्छ, महिलाले नेतृत्व सम्हाल्ने अवसर पाए भने महिलाका मुद्दालाई राम्रोसँग सम्बोधन गर्न सक्छन् ।
नेतृत्वमा महिला आउँदा समाजमा सकारात्मक सन्देश जान्छ । नेतृत्वमा रहने अधिकार महिलाको पनि छ । सहभागिता पनि समान देखिन्छ । नेतृत्वमा महिला भए क्षमता पनि विकास हुन्छ । अरू महिलालाई हौसला हुन्छ । धेरै महिलाहरू खुलेर बाहिर आउन सक्छन् । महिलाले आफ्ना समस्याहरू पालिकामा खुलेर राख्न पनि सक्छन् ।
मेरो हकमा भन्ने हो भने महिला भएर पार्टीका हिसाबले अल्पमतमै रहेको अवस्थामा पनि नेतृत्वमा रहिसकेपछि पालिकाका लागि राम्रा काम गर्न चाहेमा सकिँदो रहेछ भन्ने लाग्छ ।
आफ्नै कार्यकालमा भएको कुन कुराले तपाईंलाई सबैभन्दा धेरै गर्व लागेको छ ?
मैले आफ्नो कार्यकालमा जति पनि काम गरेँ, ती सबै उत्कृष्ट नै छन् । सडक नपुगेको ठाउँमा सडक पुग्यो । यसमा पनि गर्व नै लाग्छ ।
विशेष गरी महिलाका लागि जुन जुन काम गरेँ, त्यसमा चाहिँ एकदमै गर्व लाग्छ । एक त हाम्रो सुदूरपश्चिम आफैँमा विकट छ । त्यसमा पनि डडेल्धुरा भनेको पहाडी जिल्ला हो । यहाँ स्वास्थ्य, शिक्षाका पहुँचको हिसाबले पनि विकटता नै छ ।
स्कुल क्याम्पस जाने छात्राहरूलाई महिनावारीको समयमा एकदमै समस्या हुन्थ्यो । हामीले माध्यमिक विद्यालयमा स्यानिटरि प्याड दिन भेन्डिङ मेसिनसहितको शौचालय निर्माण गर्यौँ । गर्भवती महिला र बच्चाको स्वास्थ्यलाई मध्यनजर गर्दै नियमित चेकजाँच र अन्डा वितरण कार्यक्रम लागु गर्यौँ । यी कामहरू सम्झँदा पनि गर्व लाग्छ ।
अब निर्वाचित भएर स्थानीय सरकारको नेतृत्वमा आउने महिला जनप्रतिनिधि र पुरुष जनप्रतिनिधिका लागि मुख्य पाँच वटा के के सुझाव दिन चाहनुहुन्छ ?
महिला हुन् या पुरुष, अब आउने नयाँ जनप्रतिनिधिलाई म सबैसँग समान रूपमा घुलमिल हुन सल्लाह दिन्छु । यसो गर्दा उनीहरूको समस्याको पहिचान हुन्छ र समाधान गर्न सहयोग मिल्छ ।
अनि अर्को कुरा, मेरो कार्यकालमा सुरु भएका महिला स्वास्थ्य तथा रोजगारका कार्यक्रमहरूलाई निरन्तरता दिन र छुटेका अपुग कार्यक्रमहरूलाई थप्न सुझाव दिन्छु ।
अर्को कुरा, अझै पनि हाम्रो डडेल्धुरा जिल्लामा जनचेतनाको कमी नै देखिन्छ । यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिन सुझाव दिन्छु । डडेल्धुरामा कृषियोग्य जमिन भएकाले कृषिलाई आधुनिकीकरण गर्न सुझाव दिन्छु । पालिकाले गर्ने कार्यक्रमहरूमा महिलाहरूको समान सहभागितामा जोड दिन सुझाव दिन चाहन्छु । जनप्रतिनिधिलाई यिनै सुझाव दिन चाहन्छु ।
आफ्नो कार्यकालमै यसरी पछाडि फर्केर हेरिरहँदा तपाईंलाई कस्तो महसुस भइरहेको छ ?
मसँग केही सामर्थ र केही कमजोरीहरू थिए । म गाउँपालिका अध्यक्ष बन्नुभन्दा अघि यहाँ थुप्रै समस्या पनि थिए । मैले अघि पनि धेरै कुरा भनेँ, तपाईंले यहाँको अहिले र पहिलेको स्वास्थ्यको डाटा हेर्नुभयो भने धेरै फरक पाउनुहुन्छ ।
महिनावारीको समस्यादेखि लिएर गर्भवती महिला र बच्चाको स्वास्थ्यको कुरामा धेरै परिर्वतन आएको छ । त्यो देख्दा खुसी लाग्छ । सोचे जति सबै र थालेका काम पूरै गर्न भ्याइएन । अझै थप काम गर्न समय पाएको भए हुन्थ्यो जस्तो पनि लाग्छ । त्यस्तै, खानेपानी, बाटोघाटो निर्माणदेखि लिएर स्वास्थ्य संस्था निर्माण जस्ता थुप्रै काम भएका छन् । यो देख्दा एकदमै खुसी लाग्छ ।
साथै, मेरो कमजोरी के थियो भने मैले चुवाव जितिसकेपछि गाउँमा सबैसँग घुलमिल हुन सकिनँ । म उमेरका हिसाबले पनि सानै भएको हुनाले आफू जस्तै युवाका समूहहरूसँग बढी घुलमिल भएँ । सबैलाई बराबर समेट्न सकिनँ । केहीसँग विचार नमिलेपछि धेरै कुराकानी नै भएन । त्यसैले पनि उहाँहरूबाट त्यति धेरै ‘फिडब्याक’ पाइनँ । यो कमजोरी अब आउने जनप्रतिनिधिले नदोहोर्याऊन् भन्ने लाग्छ ।
अरू केही भन्न मन लागेको छ ?
एउटा कुरामा हामी पनि चुक्यौँ, हाम्रो पालिकामा हुने हरेका कार्यक्रममा महिला, जनजाति या दलितका नाममा एउटा मान्छे मात्र आउने प्रचलन देखियो । धेरै मान्छेहरू सेवाको लाभ लिनबाट वञ्चित भए । यसमा चाहिँ विशेष ध्यान राख्न जरुरी छ । अब आउने नेतृत्वले यसमा ध्यान देओस् भन्न चाहन्छु । पुरुष जनप्रतिनिधि आउनुभयो भने पनि महिलाका समस्यालाई विशेष रूपले सम्बोधन गरिदिनुहोला भन्न चाहन्छु ।
मैले द स्टोरी किचेनले तयार गरेको निर्देशिकाका आधारमा तपाईंलाई केही प्रश्न गरेँ । यसरी कुराकानी गर्दा तपाईंलाई कस्तो अनुभव भयो ?
एकदमै खुसी लाग्यो । ढिलै भए पनि तपाईंसँग कुराकानी गर्न पाएँ । दुर्गम क्षेत्रका महिलाका मुद्दाहरू उठाउनुभयो । एकदमै राम्रो लाग्यो । तपाईंसँग कुराकानी गर्दा मैले गरेको सङ्घर्षको पुनः स्मरण पनि भयो । विगतलाई फर्केर हेर्दा आनन्द पनि आयो । हजुरलाई पनि धेरै धन्यवाद भन्न चाहन्छु ।
प्रकाशन मिति : २०८१ पाैष ११ गते, बिहीवार
पालिकाका सारथी महिलाहरूका थप कथाहरू
- विभेद र अपमानको बोझ कार्यस्थलमा पनि थोपरिँदा
- धेरै त कुरै नबुझेर बाधा गर्न आउने हो कि जस्तो लाग्छ
- नयाँ संरचनाको थालनी गर्दाका केही भोगाइ र सिकाइ
- महिला भएरै नजानेको भन्ठान्नेहरूले मलाई पनि लैङ्गिक विभेद गरे
- मतदाताको मतलाई कदर गर्ने गरी नेतृत्व शैली अपनाएँ
- चितवनमा महिला जनप्रतिनिधिले गरेका अनुभव र उत्कृष्ट काम
- पालिका बनाउनलाई मेरो आफ्नै योजना थियो
- स्थानीय स्रोतसाधनमा मुस्लिम महिलाको पनि पहुँच र पकड
- अनुशासनमा रहेर थुप्रै काम महिला नेतृत्वले गर्न सक्छ
- जानियो, बुझियो र सकेसम्म राम्रै गरियो
- निष्ठापूर्वक काम गरे सफल भइँदो रहेछ
- विषम परिस्थितिमा पनि केही सकारात्मक काम
- कोही कसैबाट प्रेरित नभई काम गर्दै नेतृत्व गर्न सिकेँ
- गुणस्तर, जवाफदेहिता र पारदर्शिता बढाउन सफल