Home Insight मतदाताको मतलाई कदर गर्ने गरी नेतृत्व शैली अपनाएँ

मतदाताको मतलाई कदर गर्ने गरी नेतृत्व शैली अपनाएँ

172
0

सन्धान संवाद शृङ्खला -१

कार्यकाल २०७४–२०७९ साललाई फर्किएर हेर्दा पालिकाका सारथी महिलाहरूको लहरमा देखापर्ने एउटा नाम हो, कान्तिका सेजुवाल । उहाँ देश सङ्घीय संरचनामा रूपान्तरण भएपछि भएको पहिलो स्थानीय तह निर्वाचनमा साबिक प्रदेश नम्बर ६ स्थित जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका प्रमुखमा निर्वाचित हुनुभयो । २०७४ फागुन १२ मा कर्णाली प्रदेश नाम राखिएको उक्त प्रदेशबाट नगरपालिका प्रमुखमा एक र गाउँपालिका अध्यक्षमा एक महिला निर्वाचित भएका थिए । उहाँ नेपाली कांग्रेसबाट चुनावी मैदानमा उत्रिएर अन्य तीन प्रतिस्पर्धीलाई पछि पार्दै दुई हजार ८०६ मत प्राप्त गरी विजयी हुनुभएको थियो । २०७४ वैशाख ३१ गते भएको सो निर्वाचनमा कुल सात हजार ५१३ मत खसेकोमा सदर मतको सङख्या छ हजार ९३५ थियो । निर्वाचनका लागि उम्मेदवारी दिँदा उहाँ ४६ वर्षको हुनुहुन्थ्यो । उहाँ नगरपालिका प्रमुखमा देशभरबाटै निर्वाचित जम्मा सात महिलामध्ये एक हुनुहुन्थ्यो ।

चन्दननाथ नगरपालिका–४ बस्ने कान्तिका २०४२ सालबाट राजनीतिमा क्रियाशील रहनुभयो । उहाँ नेपाली कांग्रेस केन्द्रीय सदस्यको जिम्मेवारीमा हुनुहुन्थ्यो । पहिले रहरै रहरमा ‘सोसल’ हुने र समाजसेवा गर्ने इच्छाबाट प्रेरित हुँदै आफू राजनीतिमा लागेको भन्दै उहाँले ‘तर पछिल्लो पटक राजनीति अर्थात् नगरपालिकाको नेतृत्वमा आउनु परिघटनाले ल्याएको अवस्था’ भएको पनि बताउनुभयो ।

कान्तिकालाई स्थानीय सरकारको नेतृत्वमा पुर्‍याउने मूल आधार बन्यो, नेपालको संविधान । २०७२ सालमा जारी सो संविधानले मुलुकलाई सङ्घीय संरचनामा रूपान्तरण गर्‍यो । आज असोज ३ गते यस वर्षको संविधान दिवस पनि हो । यही सन्दर्भ पारेर हामीले ‘सन्धान संवाद शृङ्खला’ अन्तर्गत ‘फर्किएर हेर्दा : पालिकाका सारथी महिलाहरू’ स्तम्भको सुरुवात गरेका छौँ । आजदेखि एउटा बिहिवार संवाद र अर्को बिहिवार रिपोर्ट पर्ने गरी हरेक हप्ता पालिकाका सारथी महिलाहरूसित सम्बन्धित सामग्री प्रस्तुत गर्दै जानेछौँ । प्रस्तुत सामग्री ‘फर्किएर हेर्दा : पालिकाका सारथी महिलाहरू’ स्तम्भको संवाद खण्ड हो ।

मुलुक सङ्घीय संरचनामा गइसकेपछि तीन चरणमा स्थानीय तहको निर्वाचन भयो । पहिलो चरणमा २०७४ वैशाख ३१ गते ३४ जिल्लाका २८३, दोस्रो चरणमा २०७४ असार १४ गते ३५ जिल्लाका ३३४ र तेस्रो चरणमा २०७४ असोज २ गते आठ जिल्लाका १३६ गरी कुल ७५३ स्थानीय तहका लागि निर्वाचन भएको थियो । नेपालकै पहिलो निर्वाचन भने २००४ जेठ २९ गते भएको थियो । तत्कालीन काठमाडौं म्यूनिसिपलिटीको उक्त निर्वाचनमा महिलाहरूले उम्मेदवारी दिन त के भोट खसाल्न पनि पाएका थिएनन् । महिलाहरूलाई मताधिकार नै दिइएको थिएन । देशकै पहिलो निर्वाचन भएको छ वर्षपछि २०१० सालमा अर्को निर्वाचन भयो । त्यस निर्वाचनमा महिलाहरूले मताधिकार मात्र नभएर उम्मेदवारीको अधिकारसमेत पाए । यस्तो अधिकार पाएको साढे छ दशक हुनै लाग्दा २०७४ सालमा भएको स्थानीय निर्वाचनमा त ५७ हजार ८४३ महिला चुनावी मैदानमा नै उत्रिए । तीमध्ये १४ हजार ३५१ महिला पालिकाका विभिन्न पदहरूमा निर्वाचित पनि भए । स्थानीय तह निर्वाचनमा महिलाको कुल प्रतिनिधित्व ४०.९५ प्रतिशत रह्यो । यत्तिको प्रतिनिधित्व वैधानिक प्रावधानको कारण सम्भव भएको थियो । परिणाम उत्साहजनक हुँदाहुँदै पनि महिलाहरूले पाउनुपर्ने जति महत्त्व र अधिकार अझै पाएनन् ।

देशका कुल ७५३ स्थानीय तहका प्रमुख/अध्यक्ष पदका लागि भएको निर्वाचनमा सात महिला नगरपालिका प्रमुखमा र ११ महिला गाउँपालिका अध्यक्षमा निर्वाचित भए । यसरी जम्मा १८ महिलाले मात्र पालिका प्रमुख वा अध्यक्षमा निर्वाचित भएर स्थानीय सरकारको नेतृत्व गर्ने अवसर पाए । ‘स्थानीय तह निर्वाचन ऐन, २०७३’ मा दफा १७ को उपदफा ४ मा उम्मेदवारको मनोनयनपत्र पेस गर्दा दलले अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुखमध्ये ५० प्रतिशत महिला उम्मेदवार रहने गरी मनोनयनपत्र पेस गर्ने व्यवस्था मिलाउनुपर्ने प्रावधान छ । त्यति बेला पालिकाको उपप्रमुख/उपाध्यक्ष पद महिलाकै लागि तोकिए जस्तो गरी उम्मेदवारी थमाइएको थियो । त्यति गर्दा पनि कुल १५०६ स्थानमा पुरुष ७८८ हुँदा महिला ७१८ जना मात्र विजयी भए । महिलाको सम्भाव्य प्रतिनिधित्व पनि ३५ स्थानले कम हुन पुग्यो । यसबाट ५० प्रतिशतको उम्मेदवारी प्रावधानले मात्र परिणामतः महिलालाई न्याय नहुने देखियो । यस्तो अवस्थामा पनि पालिकाको नेतृत्वमा उम्मेदवार बनेर निर्वाचित हुन पुगेका १८ महिलाहरू सामान्य पक्कै थिएनन् । तिनैमध्ये एकमा कान्तिका पनि पर्नुभयो ।

नयाँ शासकीय स्वरूप, नयाँ अभ्यास, वैधानिक तथा भौतिक पूर्वाधारहरूको अपर्याप्तता/अभाव जस्ता कारणले सबै पालिकामा एक प्रकारको अन्योल थियो । त्यस्तो बेला पुरुषहरूकै बाहुल्य रहेको संरचनामा नवनिर्वाचित प्रमुख/अध्यक्ष बनी नेतृत्वदायी भूमिका निर्वाह गर्नु महिलाका लागि झनै चुनौतीपूर्ण थियो । नागरिकका अपेक्षा चुलिएका थिए । कान्तिकाको सामु पनि चुनौतीका पहाड खडा थिए । चुनौतीहरूबिच नगरपालिका प्रमुखको जिम्मेवारी निर्वाह गरी दायित्व पूरा गर्दाको उहाँको अनुभव कस्तो रह्यो त ? विशेष गरी उहाँको नेतृत्वमा पालिकाले हासिल गरेका उपलब्धि के थिए ? उहाँको नेतृत्वशैली, बाधाअवरोध पन्छाउने उपाय के कस्ता थिए ? आफूले आफ्नो कार्यकाल र आफैँलाई फर्किएर हेर्दा उहाँले के पाउनुभयो ? गर्न बाँकी कामसँगै भावी जनप्रतिनिधिलाई उहाँका सुझाव के के रहे ? द स्टोरी किचेनले तयार पारेको निर्देशिकाका आधारमा मूलतः यी र यस्ता प्रश्नका साथ ‘सन्धान’ को लागि फेलो पत्रकार भाषा शर्माले कान्तिकासँग उहाँको कार्यकालको अन्तिमतिर टेलिफोन कुराकानी गर्नुभएको थियो । आजको शृङ्खलामा प्रस्तुत छ, कान्तिका सेजुवालसँग गरिएको सोही कुराकानी ।

करिब पाँच वर्षको कार्यकालमा तपाईंले गर्नुभएका एकदमै महत्त्वपूर्ण काम वा उपलब्धि के के हुन् भन्ने लाग्छ ?

मेरो कार्यकालमा भएका एकदमै महत्त्वपूर्ण काम वा उपलब्धिको कुरा गर्नुपर्दा, हामीले हाइड्रो पावर, नीति नियम र बाटोघाटो निर्माण, सुशासन, महिला सशक्तीकरण, कृषि तथा पशुपालनका साथै उद्यम र बजार क्षेत्रमा काम गरेका छौँ । कति काम पूरा हुने क्रममा छन् । कतिपय योजनामा काम भैरहेको छ । नीति निर्माणका काम पनि थुप्रै गरेका छौँ । महिला, बालबालिका, फोहोरमैला, कृषि, स्वास्थ्यलगायतका क्षेत्रमा ३६ वटा ऐन, नियम निर्माण गरिसकेका छौँ ।

चन्दननाथ नगरपालिकाका सबै वडा कार्यालयलाई व्यवस्थित ढङ्गबाट सञ्चालन गरेका छौँ । सबै नागरिकलाई दिइने सेवा सुविधा सहज ढङ्गले पुर्‍याएका छौँ । त्यसका लागि सबै वडा कार्यालयसम्म पुग्न सहज हुने गरी बाटोघाटो निर्माण गरेका छौँ । हामीले दुई वटा हाइड्रो पावर निर्माण गर्‍यौँ । लक्षित समुदायका लागि १० वटा वडामा कृषिमा पकेट कार्यक्रम लागु गरेका छौँ । स्थानीय रूपमा उत्पादन हुने आलु, स्याउ, तरकारी, सिमी जस्ता कृषिजन्य वस्तुका लागि ‘सुपर जोन’ निर्माण गरेका छौँ । कुन कुन वडामा के के उब्जनी हुन्छ बुझेर पहुँचको आधारमा त्यो काम गरेका छौँ । हामीले आलु हुने ठाउँमा आलु जोन, ओखर हुने ठाउँमा ओखर जोनका कार्यक्रम गरेका छौँ । त्यसैगरी, पशुपालनमा भेडा, बाख्रापालन कार्यक्रम गरेका छौँ । गरिब तथा विपन्न वर्ग र महिलालाई लक्षित गरेर आयआर्जनका लागि काम गरेका छौँ । हाम्रो नगरपालिकाका १० वटै वडामा उद्यम थालेका छौँ । ढाकाका पछ्यौरा बुन्ने, आलुको चिप्स बनाएर बेच्ने, स्याउको जाम बनाउने जस्ता तालिम दिएर महिलालाई उद्यमी बनाउने प्रयत्न गरेका छौँ । आयआर्जनका लागि महिला सशक्तीकरणका धेरै काम गरेका छौँ । मेरो कार्यकालका भएका महत्त्वपूर्ण उपलब्धि यिनै हुन् भन्ने लाग्छ ।

यस्ता उपलब्धि प्राप्त गर्न तपाईंले आफूलाई कसरी तयार गर्नुभएको थियो ?

सबैभन्दा पहिले सबैको सहमति आवश्यक पर्छ भन्ने थाहा थियो । यस्ता उपलब्धिका लागि आफूलाई तयार गर्ने कुरा एउटा लामो प्रक्रिया पनि हो । म राजनीतिक माहोल र सुझबुझ भएको परिवारको सदस्य हुँ । सानैदेखि केही गर्नुपर्छ भन्ने भावना लिएर हुर्किएकी थिएँ र मौका पनि पाउँदै आएकी थिएँ । मैले मौकाको सदुपयोग पनि गरेकी थिएँ । चुनाव जितेर नगरपालिकाको नेतृत्वमा आएपछि नीति, कार्यक्रम पारित गरेर काम गर्न सुरु गरेका थियौँ । ऐनअनुसारको नीति बनाइयो । नीति बनाएकै वर्षमा कार्यक्रम सुरु गर्‍यौँ । कार्यक्रम समयमै सञ्चालन गर्नुपर्छ भन्ने थाहा थियो । मसँग प्रमुख भएर विद्यालय चलाएको लामो अनुभव थियो । त्यसबाट मलाई नगरपालिकाबाट यस्ता उपलब्धि प्राप्त गर्न सकिने कुरामा सामान्य ज्ञान, व्यवस्थापकीय सिप र सबैभन्दा ठुलो कुरा, आत्मबल मिलेको थियो ।

तपाईंले जे जस्ता काम गरी जुन उपलब्धि पाउनुभयो, ती काम गर्नुपर्छ भन्ने तपाईंलाई किन लाग्यो ?

म मेयरमा निर्वाचित भएर नआउँदै पनि ममा काम गर्नुपर्छ भन्ने भावना थियो । भौगोलिक विकटताले गर्दा उपेक्षित रहेको/गरिएको कर्णालीको मान्छे भएर पनि मलाई स्थानीय तहको नेतृत्वबाट यहाँ केही गर्नुपर्छ भन्ने लाग्थ्यो । गाउँघरमा केही विकास गर्नुपर्छ भन्ने मनमा थियो । सहज ढङ्गले नागरिकहरूलाई सेवा सुविधा दिनुपर्छ भन्ने लाग्थ्यो । तिनै मनमा भइरहेका कुरालाई मेयरको पदमा पुगेपछि कार्यान्वयन गर्ने मौका पनि पाएँ ।

तपार्ईंले गर्नुभएका कामबाट स्थानीय नागरिकको जीवनमा के परिवर्तन भएको छ जस्तो लाग्छ ? कसैले तपाईंलाई केही भनेको पनि छ कि ?

मैले गरेका कामको त लक्षित वर्ग वा लाभान्वित वर्गले नै महसुस गर्ने कुरा हो । उनीहरूले के महसुस गरेका छन् भन्ने कुरा उनीहरूले नै भन्ने कुरा हो । यो प्रश्न मलाईभन्दा पनि मेरो नगरपालिकाका नागरिकलाई सोध्नुभयो भने उत्तर पाउनुहुन्छ ।

नेतृत्वमा आउँदा तपाईंलाई केही कुराको डर थियो कि ?

नेतृत्वमा आउँदा मलाई डर थियो । आन्तरिक द्वन्द्व थियो । यसैले सबैलाई सहमतिमा लिनुपर्ने चुनौती थियो । सहमति कसरी गर्ने होला भन्ने लागेको थियो । आन्तरिक द्वन्द्वकै कारण सबैसँग सहमति भएन भने के कसरी काम गर्ने होला भनेर पनि मभित्र डर उत्पन्न भएको थियो ।

त्यो डरलाई हटाउन तपाईंले के के गर्नुभयो ?

नेताको जिम्मा भनेको सक्षम व्यवस्थापन गर्ने हो भन्ने बुझेको थिएँ । मैले नगरपालिकामा सक्षम व्यवस्थापन गरेँ । त्यसो गर्न सक्छु भन्ने आत्मविश्वास ममा पहिल्यै थियो । विद्यालय चलाएको अनुभवले पनि मलाई साथ दियो होला । सचेत भएर अनुभवको सदुपयोग गर्दै गएँ । त्यसले नगरपालिकाको नेतृत्व सम्हाल्दै गर्दा आन्तरिक द्वन्द्वका कारण मभित्र उब्जिएको डरलाई बढ्न दिएन । सक्षम तरिकाले काम गर्दै जाँदा त्यो डर बिस्तारै हट्दै पनि गयो ।

स्थानीय सरकार प्रमुख भएर काम गर्दा के कस्ता बाधा आइपरे ?

‘युनिभर्सल’ सत्य कुरा हो, कुनै पनि व्यक्ति नेतृत्वमा पुगेपछि विघ्नबाधा आइपर्छन् । स्थानीय सरकारको प्रमुख भएर काम गर्दा विभिन्न दलसँग प्रतिनिधित्व गर्नेहरूसँग काम गर्नुपर्छ । कुनै कुरामा विचार नमिल्दा काममा बाधा पर्ने चुनौती पनि हुन्छ । नसोचेका समस्याको पनि सामना गर्नुपर्ने हुन्छ । कहिलेकाहीँ बहुमतीय प्रणालीको निर्णय मान्नुपर्छ । कहिले सहमति गर्नुपर्छ । कहिले एकल निर्णयका आधारमा पनि काम गर्नुपर्ने हुन्छ । विकास निर्माणका काम पनि निर्णय गरेरै गर्नुपर्छ । निर्णय गर्ने बेलामा आइपर्ने मतभेदलाई मैले बाधाको रूपमा होइन, सामान्य रूपमै लिएको छु ।

त्यसोभए बाधा सिर्जना गर्नेहरूलाई तपाईंले कसरी बुझ्नुभएको छ नि ?

मेरो बुझाइमा बाधा आउनुको पछाडिको कारणमा जसले बाधा गर्छ त्यसको क्षमताको कुरा पनि हुन्छ । बाधा ल्याउने मान्छेहरूको बुझाइको कुरा प्रमुख कारण हो । निर्णय गर्ने क्रममा सहभागी हुनेले ठिक ढङ्गले बुझ्न सकेन भने उसले नै काममा बाधा ल्याइदिन सक्छ । कोही कोही जहिले पनि अर्काको विरोधै गरेर आफू नेता हुनुपर्छ भन्ने पनि हुन्छन् । काममा बाधा सिर्जना गर्न खोज्ने र गर्नेहरूलाई मैले यसरी बुझ्ने गरेको छु ।

बाधा पन्छाउनलाई तपाईंले के कस्ता रणनीति लिनुभयो र त्यो सिप कसरी सिक्नुभयो ? केही उदाहरण भए त्यो पनि बताइदिनुस् न !

नेतृत्वमा रहेर बाधा पन्छाउनलाई विभिन्न रणनीति अपनाउने कुरा छँदैछन् । मैले चाहिँ सकेसम्म समन्वय गरेरै अगाडि बढ्ने रणनीति लिएँ । त्यसरी नै अगाडि बढ्न पनि सकेँ । मैले सक्ने जति सहज वातावरण बनाएर अगाडि बढ्ने कोसिस गरेँ । जहाँसम्म बाधा पन्छाउने रणनीतिको कुरा छ, त्यो सिप सिक्ने भनेको व्यवस्थापन (म्यानेजमेन्ट) बाट हो । म व्यवस्थापनको पाटोबाटै आएको व्यक्ति हुँ । मैले २५ वर्ष विद्यालयमा पढाएर आएको हुँ । त्यसमा १४ वर्ष मैले विद्यालय प्रमुख (हेड टिचर) को काम पनि गरेको हो । व्यवस्थापन गर्ने काम त्यसबाटै सिकेर आएको थिएँ । यसमा अरू बताउनैपर्ने उदाहरण त त्यस्तो खासै केही छैन भन्दा पनि हुन्छ ।

निर्वाचित भएर आएपछि कसरी नेतृत्व गर्नुभयो ? तपाईंको नेतृत्व शैली कस्तो थियो ?

मैले मतदाताको मतलाई कदर गर्ने गरी नेतृत्व शैली अपनाएँ । मतदाताले मलाई विश्वास गरेर पालिकाको नेतृत्व गर्ने अवसर दिनुभयो । उहाँहरूको मतलाई कदर गर्ने क्रममा सक्षम र निडर भई समयको मागअनुसार चल्न सक्नुपर्छ भन्ने मान्यतालाई पनि ध्यान दिएँ । नेतृत्व सफल भएपछि मात्रै मतदाताले मतदान गरेको सार्थक हुन्छ भन्ने मलाई लाग्छ । मेरो नेतृत्व शैली मतदाताको असल भावनालाई कदर गर्ने र सबै नागरिकको हितमा काम गर्ने कुरामा केन्द्रित थियो ।

नेतृत्व गर्ने त्यस्तो शैली तपाईंले कहाँबाट सिक्नुभएको थियो र कोबाट प्रेरित हुनुहुन्छ ?

मैले प्रयोग गरेको नेतृत्व शैलीको मूल स्रोत मेरो परिवार नै हो । यसमा मेरो परिवार नै पहिले आउँछ । त्यो मेरो ‘हेरिडिटी’ मै थियो । म जन्मिएको परिवारमै नेतृत्वको वातावरण थियो । विवाह गरेर आइसकेपछि पनि मेरो श्रीमान् नेता हुुनुहुन्थ्यो । उहाँको नेतृत्व शैलीलाई पनि मैले नजिकबाट बुझ्ने मौका पाएँ । म आफ्नो परिवारबाट प्रेरित भई सामाजिक काममा अघि बढेको हो । अघि नै भनिसकेँ, स्कुल पढाउँदै गर्दा, विभिन्न सङ्घसंस्थामा काम गर्दा पनि मैले नेतृत्व कसरी गर्नुपर्छ भन्ने सिकेको हो । घरपरिवारभन्दा बाहिरको सिकाइले पनि मलाई नेतृत्व गर्ने काममा लाग्न प्रेरित गरेको हो । आफू वरपरका सबै कुराबाट मैले समय र जिम्मेवारीको क्षेत्रअनुसार नेतृत्व कसरी गर्न सकिन्छ भन्ने कुराको प्रेरणा लिएको छु ।

यसले तपाईंलाई नेतृत्वका विषयमा नयाँ कुरा पनि सिकायो कि ?

सबैभन्दा नयाँ कुरा मैले मेरो पालिकाका नागरिकको अन्तर्मन चिन्ने मौका पाएँ । निर्वाचनका बेला प्रत्येकको घरमा पुग्ने मौका पाएँ । हरेक नागरिकको व्यक्तिगत परिचय (बायोडाटा) के रहेछ भनी बुझ्ने मौका पनि पाएँ । यसरी प्रत्येक नागरिकलाई चिन्न र उनीहरूका बारेमा थाहा पाउने मौका पाउनु नै मेरा लागि सबैभन्दा ठुलो सिकाइ भयो । त्यसबाट आफूले निर्वाचन जितिसकेपछि अब कसरी नेतृत्व गर्दै अगाडि बढ्ने भन्ने कुराको पनि सिकाइ भयो । मलाई लाग्छ, म मेयरमा निर्वाचित भएर आइसकेपछि पनि सोही परिचयका आधारमा टेकेर निकै महत्त्वपूर्ण कुरा सिकेकी छु । यस्तो सिकाइ मेरा लागि नयाँ पनि हो ।

तपाईंको सिकाइको तौरतरिका र नेतृत्व शैलीले सहकर्मीहरूलाई कस्तो प्रभाव पारेको होला ?

मेरो सिकाइका तौरतरिका र नेतृत्व शैली एकै खालको मात्र छैन । आवश्यकताअनुसार धेरै खालका विधि प्रयोग गर्छु । कुनै बेला कसैलाई म एकदम फकाउन पनि फकाउँछु । कुरा बुझ्नै नचाहनेलाई रुवाउन पनि रुवाउँछु । कुरा बुझ्न सक्ने र काम गर्नमा साथ दिनेलाई माया पनि त्यत्तिकै गर्छु ।

केही उदाहरण छन् कि ?

उदाहरणका लागि भन्नुपर्दा, कसैले योजनाअनुसार राम्रो काम गरेको छ, प्लानअनुसार काम गरेको छ भने उसलाई सेवासुविधा थप गर्नमा म कन्जुस्याइँ गर्दिनँ । काम नगर्ने र बहानाबाजी गर्नेलाई भने कारबाहीको लागि प्रक्रिया अघि बढाउन स्पष्टीकरण सोधेर पत्र पनि काटेको छु । मेरो कार्यकालमा काम नगरेका जनप्रतिनिधि हुन् कि कर्मचारी, सबैलाई स्पष्टीकरण सोधेको छु । जनताको हित हुने कामको लागि हरतरहले कटिबद्ध रहन सम्झाएको छु ।

तपाईंको नेतृत्वलाई अझै प्रभावकारी बनाउन, अरू के कस्ता ज्ञान र सिप आफूमा भएको भए सहज हुन्थ्यो होला ?

नेतृत्वलाई प्रभावकारी बनाउन ज्ञान र सिप ठुलो कुरा हो । मैले अझै पनि विश्वविद्यालयमा पुगेर राजनीतिशास्त्र (पोलिटिकल साइन्स) पढ्न पाएको भए आफूमा अझै ज्ञान वृद्धि हुन्थ्यो कि ! मैले अझै धेरै विषयविज्ञ वा विज्ञेषज्ञहरूसँग छलफल र अन्तर्क्रिया गर्न पाएको भए हुन्थ्यो होला । उहाँहरूका कुरा सुन्न पाएको भए हुन्थ्यो होला । उहाँहरूबाट व्यावहारिक कुरा पनि सिक्न पाएको भए मलाई अझै सहज हुन्थ्यो होला ।

तपाईंले चुनावमा उठ्दा मतदाताहरूसँग गर्नुभएको प्रतिबद्धता र परिकल्पनालाई पूरा गर्न सके जस्तो लाग्छ ?

मलाई लाग्छ, ठाउँपिच्छे वातावरण फरक हुन्छ, परिवेश फरक हुन्छ । हिमाल, तराई र पहाडमा मतदाताको अवस्था फरक फरक हुन्छ । सबैका आवश्यकता एकै हुँदैनन् । चाहना पनि फरक हुन्छन् । स्वाभाविक ढङ्गले धेरै जातजाति, भेषभूषाले भरिपूर्ण भएको हाम्रो देश हो । यहाँ धेरै धर्म, संस्कृति, रीतिरिवाज, चालचलन, मान्यता आदि छन् । मेरो पालिकामा कसैलाई छाक टार्न पनि गाह्रो छ । यस्तो परिवेशमा सबैको कुरा एकै पटक र उही तहमा सम्बोधन गर्न नसकिने हुन्छ । कतिपय त गर्ने चाहना हुँदाहुँदै पनि स्रोतसाधनले पनि नभ्याउने हुन्छ । यसैले पनि चुनावमा उठ्दा मैले मतदाताहरूसँग गरेको प्रतिबद्धता, परिकल्पनालाई अझैसम्म पूरा गर्न सके जस्तो लाग्दैन । केही केही कुरा ‘टच्’ भए होलान् तर पनि केही कुरा अझै गर्न बाँकी छन् ।

पालिकावासीले तपाईंलाई जुन उत्साहका साथ जिताएका थिए, अहिले पनि त्यही उत्साहको भाव देखाउँछन् कि फरक महसुस गरेका छन् जस्तो लाग्छ ?

यो कुरा त जब म यो ठाउँबाट, यो जिम्मेवारीबाट बाहिर निस्कन्छु, त्यो बेला बल्ल मलाई थाहा हुन्छ, मतदाताले के महसुस गरेका छन् भन्ने । अहिलेसम्म मतदाताको त्यो उत्साहमा कमी आए जस्तो लागेको छैन ।

जुम्ला जिल्लाको परिवेशमा स्थानीय सरकारको प्रमुख भूमिकामा एक जना महिला निर्वाचित भएर नेतृत्व गर्नु भनेको के रहेछ जस्तो लाग्छ तपाईंलाई ?

मेरो विचारमा स्थानीय सरकारको प्रमुख भूमिकामा एक जना महिला आउनु र ती महिलाले पालिकाको नेतृत्व गर्नु भनेको संविधानमा लेखिएका समावेशी कुरालाई कार्यान्वयनमा ल्याउनु पनि हो । यो भनेको महिलालाई जुन अधिकार दिइएको छ, त्यसलाई अवलम्बन गर्नु नै हो । संविधान र कानुनले दिएको अधिकार कार्यान्वयन गर्नु नै हो भन्ने लाग्छ । कुनै पनि देशमा महिलाले स्थानीय पालिका प्रमुखको भूमिका निर्वाह गर्दा जसरी गर्छन्, मैले पनि त्यसरी नै गरेको छु । चन्दननाथ नगरपालिकामा म पहिलो नगर प्रमुख (मेयर) भएर एउटा इतिहास कायम गरेँ । साथै, जिम्मेवारीपूर्वक काम गरिरहेको छु भन्नेमा गर्व लाग्छ ।

आफ्नै कार्यकालमा भएको कुन कुराले तपाईंलाई सबैभन्दा धेरै गर्व लागेको छ ?

मैले भनिसकेँ, सबैभन्दा धेरै त म जनताको नजिकै गएँ । उनीहरूको मनचित्त बुझेँ । चुनौतीलाई पार गर्दै नेतृत्व गर्ने अवसर प्राप्त गरेँ । मेरो कार्यकालमा कोभिड–१९ ले गर्दा सबैको घरदैलोमा पुग्ने विशेष मौका पनि मिल्यो । अनुगमनको क्रममा अघि–पछि पनि जान त गइन्थ्यो तर कोभिड–१९ को कारण उत्पन्न जटिल परिस्थितिमा प्रत्येक व्यक्तिको घरमा पुगेँ । कोरोना सङ्क्रमितलाई भनी स्वास्थ्यलगायतका सामग्री राखिएको चार सय वटा झोला बाँड्न म आफैँ घरघरमा गएकी थिएँ । कोरोना पोजेटिभ भएकालाई कोसेली झोला बनाएर बाँड्ने क्रममा म प्रत्येकसँग पुगेँ । त्यो बेला जे जसरी खटिए पनि अहिले सम्झँदा निकै खुसी र सन्तोष लाग्छ । मेरो विचारमा त्यही नै सबैभन्दा धेरै गर्वको कुरा पनि हो ।

स्थानीय सरकार प्रमुख हुँदा तपाईंलाई पार्टी, सहकर्मी, घरपरिवार, साथीभाइ, छिमेकी र पालिकावासीले के कस्तो सहयोग गरिदिए नेतृत्व गर्न अझ सहज हुने थियो जस्तो लागेको छ ?

चुनाव लडिरहँदा मलाई जो जतिले सहयोग गरे, त्यसमा सन्तुष्ट छु । मलाई पार्टीको केन्द्रीय नेतृत्वले विश्वास गरेर जिम्मेवारी दियो । स्थानीय पालिकावासी सबैले साथ दिए । इष्टमित्र, घरपरिवार, नगरपालिकाका सबै बासिन्दाले मलाई सहयोग गरे । गरिरहेकै छन् । यस्तो अवस्थामा सबै पालिकावासीलाई दीर्घकालीन फाइदा हुने विकास निर्माण र सुशासनका काम गर्दा कसैले बाधा अवरोध नहाली सहयोग गरिदिए हुन्थ्यो । जिम्मेवारीमा भएकाहरूले रचनात्मक भूमिका निर्वाह गरिदिए नेतृत्वमा रहेर काम गर्न मलाई अझ सहज हुने थियो जस्तो लागेको छ ।

अब निर्वाचित भएर स्थानीय सरकारको नेतृत्वमा आउने जनप्रतिनिधिका लागि तपाईंका मुख्य पाँच वटा सुझाव के के छन् ?

पहिलो त, महिलाले पनि पुरुष बराबर गर्न सक्छन् भन्ने विश्वास गर्नुस् । दोस्रो, महिला अझै मितव्ययी हुन्छन् भन्ने बुझ्नुस् र नेतृत्वमा आउन आँट गर्दैनन् भने पनि हौसला दिनुस् । तेस्रो, समग्र नेपालको जनसङ्ख्याअनुसार ५१ प्रतिशत रहेका महिलालाई नेतृत्व गर्न दिनुस् र पिछडिएका महिलालाई समान रूपमा अगाडि बढ्ने मौका दिनुस् । चौथो, महिला र पुरुषको समान सहभागिता गराउनुस् । साधनस्रोत र अवसरमा महिलाको पहुँच वृद्धि गराउनुस् । अनि पाँचौँ, महिलाको नेतृत्वले घरेलुलगायत विभिन्न किसिमका हिंसालाई पनि कम गर्न सक्छ । यसैले महिलाले टेबुलमा गएर ‘टक’ गर्ने अवसर पाउनुपर्छ भन्ने मान्यतालाई साथ दिनुस् भन्न चाहन्छु ।

आफ्नो कार्यकालमै यसरी पछाडि फर्केर हेरिरहँदा तपाईंलाई कस्तो महसुस भइरहेको छ ?

तस्बिरहरू साैजन्यः कान्तिका

अहिले यति महत्त्वपूर्ण पदमा छु । यसलाई मैले ठुलो अवसरको रूपमा पनि लिँदै आएको छु । सोचे जस्तो काम गर्न अझै सकिरहेको छैन । यसैले मनमा खासै सन्तुष्टि त छैन । तैपनि त्यसका विभिन्न कारण छन्, तिनलाई बुझेको छु । हाम्रो कार्यकालको पहिलो वर्ष, तत्कालै बजेट ल्याउनुपर्‍यो । नयाँ पनि भैयो, सिक्दैमा गयो । दोस्रो वर्ष, कर्मचारी समायोजन गर्दा ठिकै भयो । त्यसै वर्ष लगानी सम्मेलन पनि गर्न खोजेकी थिएँ तर सकिनँ । विभिन्न पार्टीबाट काम अवरुद्ध हुँदा आफूले चाहेर पनि गर्न सकिनँ । लगानीका लागि युनिसेफ, युरोपियन युनियनलगायतबाट सहमति भइसकेको थियो । उद्योग मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट पनि सबै तयारी भइसकेको थियो । तर, राजनीतिक खिचातानीका कारणले लगानी सम्मलेलन गर्न सकिनँ । तेस्रो वर्ष कोभिडकाल सुरु भयो । सबैतिर बन्दाबन्दी भयो । अहिले पनि त्यसको लहर र पश्चप्रभाव बाँकी नै छ । पछाडि फर्किएर हेर्दा आफूले चाहे र सोचे जस्तो काम हुन सकेन भन्ने कुराले मनलाई बढी थिचेको छ ।

अरू पनि केही भन्न मन लागेको छ ?

विभिन्न सङ्घसंस्थामा काम गरिरहने सबैलाई भन्न चाहन्छु, हामीले सबैभन्दा पहिले स्थानीय तहलाई मजबुत बनाउनुपर्छ । जबसम्म स्थानीय तहलाई हामी मजबुत बनाउँदैनौँ, तबसम्म देशको विकास गर्न सकिँदैन । जनताका लागि अहिले जे जति काम भएको छ, त्यो स्थानीय तहको सरकारले गरेको हो । अबको चुनावमा पनि नागरिकहरूले मतदान गर्दा महिलालाई अघि बढाउनुस् । महिलालाई पुरुष सँगसँगै अघि बढ्न लगाउनुपर्छ । तब मात्र हामी केही गर्न सक्छौँ । साझेदार गैरसरकारी सङ्घसंस्था (पार्टनर एनजिओ) हरूलाई पनि म स्थानीय तहसँग सहकार्य गरेर काम गर्न भनी सुझाव दिन चाहन्छु ।

मैले द स्टोरी किचेनले तयार गरेको निर्देशिकाका आधारमा केही प्रश्न गरेँ । यसरी कुराकानी गर्दा तपाईंलाई कस्तो अनुभव भयो ?

मैले अहिलेसम्म गरेको गतिविधिको छोटकरीमा जानकारी दिने र लिने काम भयो । यसका लागि धन्यवाद !

प्रकाशन मिति : २०८१ असाेज ३ गते, बिहीवार