Home Insight म त पहिलेदेखि नै महिला पुरुष दुवैले घरभित्रको काम गरेपछि मात्रै समानता...

म त पहिलेदेखि नै महिला पुरुष दुवैले घरभित्रको काम गरेपछि मात्रै समानता आउँछ भन्थेँ – गणेशकुमारी भट्टराई (भिडियो सहित)

616
0

गणेशकुमारी भट्टराई नेपाली कांग्रेस र त्यसको भगिनी संस्था ‘नेपाल महिला संघ’ को पुरानो नेत्री हुनुहुन्छ । २०४६ सालको जनआन्दोलन सफल भएर देशमा बहुदलीय व्यवस्थाको पुनर्स्थापना भएपछि नेपाल महिला संघको रामेछाप जिल्ला सभापति हुने पहिलो महिला उहाँ नै हुनुहुन्छ ।

उहाँलाई पार्टी नेता, कार्यकर्ता तथा अरू धेरैले ‘कान्छी दिदी’ भनेर चिन्छन् । नेपाल महिला संघ रामेछापकी वर्तमान सभापति गंगा अधिकारीका अनुसार, उहाँ २०४८ देखि २०५६ सालसम्म संघको सभापति रहनुभयो । अधिकारी भन्नुहुन्छ, “दिदी राजनीतिक परिवारकै व्यक्ति हुनुहुन्थ्यो । पारिवारिक रूपमा पनि स्वतन्त्र भएका कारण उहाँले सभापति भएर काम गर्नुभयो । त्यतिबेला राजनीतिमा सक्रिय र समय दिने महिला नभएका कारण दिदी नै आठ वर्ष सभापति हुनुभयो ।”

गणेशकुमारीको १३ वर्षको उमेरमा नै बिहे भएको थियो । बिहेलगत्तै श्रीमान्ले छोडेर हिँडेपछि आफू माइतै बसेको उहाँ बताउनु हुन्छ । लामो समयदेखि उहाँ रामेछापको मन्थली बजारमा एक्लै बसिरहनुभएको छ । ८५ वर्षीया उहाँ अहिले आफू धार्मिक कार्य र अध्यात्मतिर लागेको बताउनु हुन्छ । लामो समयदेखि एकल जीवन बिताउँदै आउनुभएको छ । वृद्धावस्था र केही वर्ष अघिदेखिको स्वास्थ्य समस्याका कारण उहाँले पुराना महत्त्वपूर्ण अनुभवहरू पनि बिर्सन थाल्नुभएको छ ।

गणेशकुमारी महिला संघको सभापति छँदा कांग्रेस जिल्ला सभापतिमा लक्ष्मण घिमिरे हुनुहुन्थ्यो । घिमिरेको अनुभवमा गणेशकुमारी त्यतिबेला राजनीति र महिलाहरूलाई सहयोग गर्न सक्रिय व्यक्ति हुनुहुन्थ्यो । हाल अष्ट्रेलियामा रहनुभएका घिमिरेले टेलिफोन सम्पर्कमा भन्नुभयो, “उहाँले सभापतित्व कालमा धेरै सक्रिय भएर काम गर्नुभयो । त्यतिबेला रामेछापमा ५५ गाविस थिए । लगभग सबै गाविसमा उहाँ पुग्नुभयो ।” सभापति हुनुभन्दा अघिदेखि नै उहाँले दुःख तथा समस्या परेका महिलाहरूलाई सहयोग गर्ने, गाउँबाट मुद्दा लड्न आएका महिलाहरूलाई अड्डा अदालतमा पुर्‍याइदिने जस्ता कामहरू पनि गर्ने गरेको घिमिरे स्मरण गर्नुहुन्छ ।

गणेशकुमारी जिल्लाको पुरानो नेत्रीका साथै सामाजिक काममा सक्रिय व्यक्ति हुनुहुन्छ तर उहाँको योगदान र सहभागिताका बारेमा लिखित जानकारी वा दस्तावेज कतै पनि भेटिँदैन । उहाँका समकालीन र पछिका केहीले उहाँको बारेमा बताए पनि अहिलेको पुस्ताले उहाँलाई राजनीतिक व्यक्तिका रूपमा लगभग चिन्दैन ।

रामेछाप नगरपालिकाकी पूर्व उपमेयर सिर्जना खड्का पनि गणेशकुमारी जस्ता महिलाहरूको योगदानलाई पार्टीले बिर्सिने गरेकै कारण जिल्लाबाट कांग्रेसका एक जना महिला पनि संसद्मा पुग्न नसकेको बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ, “राजनीतिमा सक्रिय महिलाहरू नभएका होइनन् तर समानुपातिकबाट समेत सङ्घ र प्रदेशमा सांसद हुने अवसर पाएका छैनन् । प्रत्यक्षमा महिलाले टिकट पाउने त कहिले हो कहिले !” पुरानो पार्टीको पुरानो सोचले गर्दा नै यो अवस्था आएको उहाँको निष्कर्ष छ ।

गणेशकुमारीका आफन्त तथा कांग्रेस नेता निर्मला घिमिरे पनि गणेशकुमारी जस्ता महिलाहरूलाई पार्टीले बिर्सिँदै गएको बताउनु हुन्छ । जिल्लामा क्रियाशील महिला नभएको समयमा उहाँले गाउँगाउँ पुगेर महिलाहरूलाई सङ्गठित गर्दै महिला संघ चलाउनुभएको तर त्यो अहिले सबैले बिर्सिसकेको घिमिरेको भनाइ छ ।

पहिलेदेखि नै महिला पुरुष दुवैले घरभित्रको काम गरेपछि मात्रै समानता आउँछ भन्ने लैङ्गिक चेत भएका गणेशकुमारी जस्ताहरूको राजनीतिक अनुभव र सङ्घर्ष वर्तमान र भावी पुस्ताका लागि पनि महत्त्वपूर्ण छ र रहन्छ । त्यसैले पनि हामीले गणेशकुमारीसँग भिडियो कुराकानी गर्ने र जिल्लाका नेताहरूसँग सोधेर उहाँका बारेमा अभिलेखीकरण गर्ने निधो गर्‍यौँ। ‘सन्धान’ टोली केही महिनाअघि रामेछाप पुगेको बेला भिडियो अन्तर्वार्ताका लागि गणेशकुमारीको घर पुगेको थियो । निर्मला घिमिरेले सहजीकरण गर्नुभएको सो अन्तर्वार्तामा गणेशकुमारीले आफू महिला संघको सभापति हुँदा काठमाडौँमा तीन पटक भएका राष्ट्रिय सम्मेलनहरूमा सहभागी भएको, महिलाको अधिकारका विषयमा बोलेको र कवितामार्फत पनि अधिकारको कुरा उठाएको बताउनुभयो ।

प्रस्तुत छ, गणेशकुमारी भट्टराईसँग ‘सन्धान’ का तर्फबाट लक्ष्मी बस्नेत र गार्डिका बज्राचार्यले गर्नुभएको कुराकानीको सम्पादित भिडियाे अंश :

नेपाली राजनीतिमा महिलाका योगदानका थप कथाहरू

सन्धान प्रकाशन मिति : २०७९ माघ २ गते, साेमवार


Previous articleपरिवार धान्न नसकेपछि छोरीलाई कमलरी पठाउँथे – कौशिला चौधरी (भिडियो सहित)
Next articleमेरो प्राथमिकता शिक्षा र स्वास्थ्य – स्यानी चौधरी (भिडियो सहित)