कुरा २०५७ चैत १७ गतेको हो । छ जना राजबन्दी महिला रातारात ‘जेलतोड’ गरी गोरखा कारागारबाट निस्किए । उनीहरू आफैँले योजना बनाएर खनेको एक मान्छे र एक हातभन्दा बढी तलतिर गहिरो र त्यत्ति नै तेर्साे/सीधा खनेर जेलकै तीन वटा पर्र्खाल तोडेर निस्किएका थिए । सुरुङ खन्ने काम चार महिनाअघि नै सुरु भएको थियो । चार महिना निरन्तर सुरुङ खनेर अन्त्यमा झ्यालको रड काट्दासम्म पनि जेलका अरू कसैले भेउ पाएनन्, उनीहरू रातारात त्यसरी भाग्दैछन् भन्ने ।
नेपालको राजनीतिमा क्रान्तिकारिताको खुबै चर्चा हुने गर्छ । क्रान्तिका क्रममा जे जसरी हुन्छ जेलबाट भाग्नुलाई ‘बहादुरी’ कै रूपमा लिने गरिएको पनि छ । यसमा पहिले पहिले पुरुष राजनीतिकर्मीको मात्रै नाम आउँथ्यो । पछिल्लो चरणमा भने महिलाहरूले पनि त्यो कामको अनुसरण गरे ।
आजभन्दा २४ वर्षअघि जेलतोड गरी निस्किएका महिलाको घटना चर्चित पनि भयो । नेपालको इतिहासमा राजनीति भनेको केही साहसी पुरुषले मात्र गर्ने हो र महिलाले त त्यस्तो साहसिक काम गर्नै सक्दैनन् भन्ने भ्रम थियो । त्यसरी भ्रमको पर्दा लगाउने काम लामो समयसम्म भइरहेकै थियो । यद्यपि, व्यवस्था परिवर्तनका लागि भएका विभिन्न आन्दोलनमा महिलाहरू सहभागी हुने गरेकै थिए । महिलाको योगदानको उचित कदर नभएको मात्र हो ।
सशस्त्र द्वन्द्वका बेला माओवादीका तर्फबाट समूहको नेतृत्वसमेत गरेका महिलाहरूमध्ये केहीले जेल पर्ने मात्र होइन, जेल तोड्ने काम पनि गरे । यसै पनि महिलाहरू पुरुषभन्दा कम शक्तिशाली, कम बुद्धिमान् र कम व्यवस्थापकीय कौशलले युक्त भएर जन्मिएका हुँदैनन् । उनीहरूलाई जन्मेदेखि नै घरमा परिवारले, समाजमा छरछिमेकी तथा इष्टमित्रले, सङ्घसंस्था र राज्य तहमा विभिन्न ओहोदाका व्यक्तिहरूले पछि पार्दै ल्याएका हुन् ।
राज्यले लिँदै आएको विभेदकारी सोच र संरचनाले नै महिलालाई घरैदेखि अप्राकृतिक र अस्वाभाविक तरिकाले पछि पार्दै ल्याएको हो । व्यक्ति विशेषका रुचि, शैली, क्षमता, अवस्था आदि फरक होलान्, हुन्छन् पनि तर सानै उमेरदेखि पुरुषले जत्तिकै अवसर र सम्मानजनक व्यवहार पाउने हो भने महिलाहरू कुनै पनि क्षेत्रमा पछि नै पर्नुपर्ने व्यक्ति भने होइनन् । गोरखा जेलतोड घटनासँग जोडिएका महिलाका जीवनभोगाइ र सोचाइबाट पनि यो कुरा बुझ्न सकिन्छ ।
नेकपा माओवादीले लैङ्गिकलगायत विभिन्न खालका विभेदका खाडल पुर्ने भनी महिलाहरूलाई विभिन्न मोर्चामा सहभागी बनाएर देशमा १० वर्षसम्म सशस्त्र द्वन्द्व गरेको थियो । २०६३ मङ्सिर ५ गते शान्ति सम्झौता गरी सकिएको सो द्वन्द्व २०५२ फागुन १ गते सुरु भएको थियो । सामाजिक, राजनीतिक विषयका विभिन्न मागसहित गरिएको सशस्त्र द्वन्द्वको समयमा लगभग १७ हजार मानिसको ज्यान गयो ।
द्वन्द्वमा परेर घाइते भएका, अपाङ्गता भएका, जेल परेका, बेपत्ता भएकाहरू र तिनका परिवारका छुट्टै कथाव्यथा पनि छन् । कतिपय व्यक्ति अहिलेसम्म पनि बेपत्ता नै छन् । द्वन्द्वमा सहभागी हुँदा ज्यान गुमाएका, बेपत्ता रहेका, घाइते भएका, अपाङ्गता भएका र जेलनेल भोगेका व्यक्तिमा महिलाको सङ्ख्या पनि उल्लेख्य रह्यो । माओवादी पार्टीका अनुसार, द्वन्द्वमा हिँड्ने ४० प्रतिशत महिला थिए, जो सङ्गठन निर्माणदेखि सैन्य नेतृत्वसम्मै पुगे ।
सशस्त्र द्वन्द्वका समयमा सयौँ नेता कार्यकर्ता पक्राउ परे । पक्राउ परेकामध्ये छ जना महिलाले गोरखा जेलभित्रबाट सुरुङ खनेर बाहिर निस्किएका थिए । यसका लागि उमा भुजेलको नेतृत्वमा कमला नहर्की, सञ्जु अर्याल, रीता विक, एन्जिला विक र मीना मरहट्ठाको समूहले चार महिना लामो प्रयास गरेको थियो । समयक्रममा उहाँहरूको पहिचानमा गोरखा ‘जेलब्रेक’ गर्ने साहसी महिलाको विशेषण पनि जोडिँदै र स्थापित हुँदै गयो ।

गोरखा जेलतोड्ने समूहका छ जनामध्ये उमा भुजेल नेकपाको स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज, कमला नहर्की भूमि आयोगको जिल्ला अध्यक्ष र सञ्जु अर्याल नेकपा माओवादीको गण्डकी प्रदेश सदस्य पनि हुनुभयो । पछिल्लो समयमा उमा, कमला र सञ्जुको भनाइको सार थियो– आफू र आफ्नो परिवारले द्वन्द्वमा लागेर हिँडेका बेला सोचेको जस्तो समानता र विकासको सपना पूरा भएको छैन तर पूरा होस् भन्ने चाहना मरिसकेको पनि छैन ।
कुनै पनि समाजमा व्यक्तिको चेतले धेरै ठुलो अर्थ राख्छ । त्यही चेतले राजनीतिक व्यक्तिमा चाहिने असल गुणको पहिचान र पारख गर्न सक्छ । त्यस्तो गुण भएकालाई नेतृत्वमा स्थापित गर्न सक्दा मात्र सुशासन, समानता र विकास निर्माणका सही कामले स्थान पाउने हुन् । कुरै गर्ने हो भने कामयाबी योजना, निरन्तरको प्रतिबद्धता, श्रम, राजनीतिक सुझबुझ र व्यवस्थापकीय तालमेलका कारण महिलाहरूको सो समूह जेल तोडेर बाहिर निस्किन सफल भएको थियो ।
महिलाहरू पुरुषप्रधान राजनीतिक आन्दोलनको प्रयोजनमा उपयोग गरिने पात्र मात्रै होइनन्, उनीहरूमा असल नेतृत्वको लागि चाहिने गुणहरू भरपुर मात्रामा रहेका हुन्छन् । यो कुराको सङ्केत केही हदसम्म जेलतोड घटनाले पनि गरेको छ । सुशासनविनाको राजनीतिले देश, समाज र व्यक्तिलाई सधैँ आन्दोलनकै गोलचक्करमा फसाउँछ । महिलाले पनि पुरुषप्रधान राजनीतिको मतियार र हतियार मात्रै बनिराख्नुपर्ने हुन्छ । कामना गरौँ, अब यस्तो नहोस् !
गोरखामा जेलतोड गरी निस्किएका महिलामध्ये एन्जिला विक र मीना मरहट्ठाको सन्दर्भमा माओवादी पार्टीले पार्टी जिम्मेवारीकै क्रममा पछि सहिद भएको जानकारी दियो । बाँकी चारमध्ये तीन जनासँग ‘सन्धान’ का तर्फबाट समीक्षा गाहाले २०८१ चैत पहिलो साता कुराकानी गर्नुभएको थियो । रीता विकले यस विषयमा बोल्ने इच्छा आफूलाई नभएको बताउनुभयो ।
प्रस्तुत छ, जेल बस्दा र निस्किने प्रयास गर्दाको अनुभवका सन्दर्भमा उमा भुजेल, कमला नहर्की र सञ्जु अर्यालको राजनीतिक पृष्ठभूमिसहितको स्वकथन :
नेतृत्व गर्ने जिम्मेवारीमा थिएँ

– उमा भुजेल
म छ कक्षामा पढ्ने बेलाबाटै विद्यार्थी राजनीतिमा लागेँ । जति बेला सही र गलत छुट्ट्याउन सक्ने चेतना हुँदै गयो । मेरो पारिवारिक पृष्ठभूमि नै राजनीतिक जनमोर्चामा आबद्ध थियो । बुबा, दाइहरूले सानै उमेरबाटै सचेत भएर मलाई कलाकारको रूपमा राजनीतिमा लगाउनुभयो । दाइ गाउँकै स्थानीय नेता हुनुहुन्थ्यो । बुबा औपचारिक शिक्षा नपढे पनि राजनीतिक चेत भएको व्यक्ति हुनुहुन्थ्यो ।
हाम्रो परिवारको आर्थिक अवस्था कमजोर थियो । जातीय हिसाबले पनि भुजेल उत्पीडनमा परेको जाति हो, म त त्यसमा पनि महिला । त्यो भएर समाजमा धनी गरिबबिचको विभेद, जातीय विभेद र शोषण, लैङ्गिकरूपमा पनि महिला र पुरुषबिच असमानताको अनुभूति परिवार र म आफैँलाई पनि हुन्थ्यो ।
कम्युनिस्टले धनी र गरिबबिचको असमानताको खाडल पुर्छ । गरिबलाई गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारको ग्यारेन्टी गर्छ । कम्युनिस्ट व्यवस्था आएपछि महिला र पुरुषबिचको असमानताको अन्त्य गर्छ । जातीय शोषण अन्त्य हुन्छ भन्ने थाहा पाएँ । राजनीतिक चेतना आयो अनि मलाई कम्युनिस्ट पार्टी सही लाग्यो ।
म राजनीतिमा लाग्नुका मुख्यतः दुई कारण छन् । एउटा, परिवारले कम्युनिस्टका बारेमा राम्रो पढायो । अर्को, धनी र गरिबबिचको विभेद र उत्पीडनले गर्दा । हामीलाई खानलाउन, बस्न, पढ्न गाह्रो थियो । साहुहरूको काम गरेर बाँच्नुपर्ने अवस्था थियो । हामीलाई हजुरआमाले मेलापात गरेर हुर्काउनुभयो तर परिवारमा पढाउनुपर्छ भन्ने चेतना थियो ।
स्कुले जीवनमा विद्यार्थीको इकाई कमिटीको नेता हुँदै अगाडि बढेँ । दस कक्षासम्म आउँदा गाउँमा कांग्रेस र कम्युनिस्ट भन्थे अनि त्यसका भ्रातृसंस्थाहरू नेविसंघ र अखिल भन्ने थियो । पछि म पढ्न गोरखा क्याम्पस भर्ना भएँ । २०५० सालतिर स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा उठेँ ।
पछि २०५२ सालमा ‘जनयुद्ध’ को पहिलो दिन साना किसान बैङ्कमाथि कारबाही गर्ने भन्ने योजना थियो । म त्यहाँ सहभागी भएँ । त्यसपछि पूर्णरूपमा राजनीतिमा लागियो । २०५२ सालको फागुन १ गतेदेखि नै पूर्णरूपमा हिँडेँ । यसरी म ‘जनयुद्ध’ भन्दा अघिदेखि निरन्तर राजनीतिमै छु ।
माओवादी ‘जनयुद्ध’ मा विभिन्न तह हुँदै सैन्यतिरको सबैभन्दा माथिल्लो तह बिग्रेड कमिसारसम्म भएँ । त्यो भनेको पार्टीको सेनाको उच्च तह हो । म त्यहाँ पुगेको महिला नेतृत्व हो । सेनामा सदस्य, कमान्डर हुँदै लामो समय ब्रिगेड कमिसार भएर युद्धमा भूमिका निर्वाह गरेँ ।
माओवादी पार्टीमा सानै उमेरमा २०५९ सालमा केन्द्रीय सदस्य भएँ । अन्तरिम विधायक हुँदै संविधानसभामा गएँ । अहिले नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी सदस्य र गण्डकी प्रदेश इन्चार्ज छु ।
जेल ब्रेकको प्रसङ्गमा म जेल पर्नुअघिदेखिको कुरा भन्छु । २०५६ साल कात्तिक १३ गते सङ्गठनको कामकै क्रममा चार जना साथीहरू गोरखाको तान्द्राङमा थियौँ । दुई जना एउटा घरमा बस्थ्यौँ । अरू साथीहरू अरू ठाउँमा बस्नुभएको थियो । मलाई त्यही दिन बिहान ७ बजे तान्द्राङबाटै प्रहरीले गिरफ्तार गर्यो तर मलाई त्यतिबेला चिनेनन् ।
चिनेको भए, म बाँच्ने स्थिति नै हुन्थेन । उमेर पनि धेरै भएको थिइनँ, त्यो भएर पनि होला सामान्य कार्यकर्ता मात्रै ठाने । पछि तान्द्राङबाट बेलुका सदरमुकाम गोरखा ल्याएपछि प्रहरीले मलाई चिने । चिनेपछि त यातना दिन थाले । गोरखामा दुई दिन राखे ।
तेस्रो दिनमा मलाई तनहुँ लगेछन्, राति नै । मेरो आँखामा पट्टि बाँधिएको थियो । कतै लगेको थाहा भए पनि कहाँ पुर्याएको भन्ने थाहा भएन । उज्यालो भएर थाहा पाउँदा तनहुँ जिल्ला सदरमुकाम दमौलीको प्रहरी उपरीक्षकको क्वार्टरमा रहेछु । मलाई तनहुँमा करिब करिब चार महिना राख्यो ।
मलाई त्यहाँ राख्दा हत्कडी लगाइएको थियो । साङ्लोले बाँधेर कुटपिट गर्ने । नेताहरू कहाँ छन्, हतियार कहाँ छ, तपाईं कहाँ कहाँ जानुभयो, कस्लाई कस्लाई मार्नुभयो, सेल्टर कहाँ छ जस्ता कुरा सोधे । त्यसपछि २०५६ साल पुस २२ गते तनहुँकै अदालतमा लगियो ।
मलाई कालिकाटारको केस लगाइएको थियो र फेरि २५ गते अदालत लगियो । त्यहाँ दुई घण्टासम्म कालिकाटारसम्बन्धी बयान लिइयो । माघ १८ मा आउने गरी तारिखमा छोड्यो । त्यतिबेला निस्कन धेरै प्रयास गरेँ तर गोरखामा मुद्दा छ भनेर दिएन । केही समयपछि गोरखा नै लगेर हिरासतमा राख्यो ।
पाँच दिनपछि गोरखा हिरासतमा मलाई एउटा कागजमा सही गर्न लगाए । सबै सरर हेरेँ, हातहतियारसम्बन्धी मुद्दा लगाएको थियो । माघ २५ मा फेरि जेल चलान गर्यो । त्यहाँ हातहतियार, खरखजानालगायतका मुद्दा लागेका अन्य बन्दी थिए ।
आन्तरिक हिसाबले हामी राजनीतिक बन्दीहरूको नेतृत्व आशाकाजी दाइले गर्नुहुन्थ्यो । म जेल गएको एक महिनापछि कमला नहर्कीलाई ल्यायो । त्यसपछि २०५७ साल असारमा मीना मरहठ्ठा, भदौमा रीता विक र असोजमा सञ्जु अर्याललाई ल्याइएको थियो ।
जेलमा बस्दा यहाँबाट कसरी निस्किने र भाग्ने भन्ने मानसिकता थियो । धेरै वटा योजना बनाए पनि एउटै सफल भएको थिएन । अस्पताल जाँदा भाग्ने योजना पनि विफल भयो । धेरै पटकसम्मको असफलता भए पनि हामीले हार खाएका थिएनौँ ।
हामीले २०५७ साल पुस ११ गते पर्ने माओ जयन्तीका लागि कार्यक्रमको योजना बनाउँदै गर्दा बाहिर निस्कने बारेमा छलफल गर्यौँ । करिब पाँच घण्टाको छलफलपछि हामी सुरुङ खनेर बाहिर निस्किने निष्कर्षमा पुग्यौँ ।
वास्तवमा प्रशासनको हिसाबले जेल भनेको सुरक्षित र बलियो ठाउँ हो तर पनि हामी माक्र्सवादका विद्यार्थी अनि नेता, कार्यकर्ता भएकाले बलियो भनिएको ठाउँ कमजोर पनि हुन्छ भन्ने विश्वास थियो । जटिल ठाउँमा सहजता पनि हुन्छ तर त्यसलाई आफूले पहिचान गर्न सक्नुपर्छ भन्ने विश्वास हामीमा थियो ।
युद्ध चलिरहेकै थियो । मर्न पनि सकिन्छ भन्ने सल्लाहसहित हामी महिलाहरू एक भएर सुरुङ खन्न सुरु गरेको हो । मरिन्छ भनेर डराएको भए जेलबाटै सुरुङ खन्न सुरु नै गर्ने थिएनौँ । त्यही भएर हामीले माओ दिवसका दिनबाट सुरुङ खन्न सुरु गर्यौँ । कार्य विभाजन गर्यौँ ।
मेरो नेतृत्व र संयोजनमा सुरुङ खन्ने मुख्य काम कमला र सञ्जुको थियो । पहरा दिने काम मीनाको थियो । बन्दीहरूलाई भुलाउने काम एन्जिलाको थियो भने तानको काम गर्ने रीताको जिम्मेवारी थियो । कामको बेलामा केही भन्नुपरे एक आपसमा साङ्केतिक भाषा प्रयोग गर्थ्यौं ।
हामीले जेल परिसरकै बारीमा फूल, तरकारी लगाउने भनेर खनेका थियौँ । रोपेका थियौँ । केही खाली ठाउँ छोडेका थियौँ । त्यही खाली ठाउँबाट सुरुङ खन्न सुरु गर्यौँ । त्यतिबेला केही रोपे जस्तो गर्न पाइन्थ्यो भनेर त्यसो गरेका थियौँ । खाडल खन्दै गयौँ र झारपातहरूले छोप्दै पनि गर्यौँ।
खाडल ठुलो हुँदै गएपछि अप्ठ्यारो हुँदै गयो । बिहान, दिउँसो पुलिस आउँछ । हाकिमहरू आउँछन् । चौबिसै घण्टा निगरानी भएको ठाउँ भयो । खाल्डोबाट निस्केको आलो माटो अर्को ठाउँमा खाल्डो खनेर व्यवस्थापन गर्ने काम पनि चुनौतीपूर्ण थियो । जति सुरुङको खाल्डो बढाउँदै लग्यो, माटो व्यवस्थापन गर्न उति गाह्रो हुन्थ्यो ।
एक दिन चाहिँ हामीले तान बुन्ने भनेर जेल प्रशासनसँग बाँस माग्यौँ र बाँसको कप्टेरा बनाएर खनेको ठाउँमा बिच्छ्यायौँ । त्यसले गर्दा खाडल नदेखिने गरी छोप्नलाई अलिकति सजिलो भयो । त्यतिबेला माओवादीका बन्दी महिलाहरू जेलमा त्यति थिएनन् । म त्यहाँ चर्चाकै मान्छे थिएँ । त्यही भएर पनि प्रहरीले कडा सुरक्षामा राख्थ्यो । सुरक्षा कडा गर्नका लागि काँडेतार पनि लगायो ।
हामीले जहाँबाट निस्कने भनेर सुरुङ खन्न थालेका थियौँ, त्यहीँ प्रहरीले काँडेतार लगाउने भन्यो । तल हामीले खनेको खाल्डो छ । यदि त्यहाँ त्यसरी लगाएको भए त प्रहरीले थाहा पाइहाल्थ्यो । यसैले हामीले फेरि अर्को आइडिया निकालेर तरकारी रोपेको जस्तो बनायौँ र त्यहाँ जान मिल्दैन भन्यौँ । कसो त्यो कुरा उनीहरूले पनि माने ।
हामीमध्ये कोही सुरुङ खन्दै गर्दा त्यहाँ पुलिस नजाऊन् भनेर कहिले नाच्ने, गीत गाउने, खेल खेल्ने गर्थ्यौं । कहिले गफ लगाएर अलमल्याउने विभिन्न उपाय गर्थ्यौं । एकचोटि एक दुई महिना त कामै बन्द गर्नुपरेको थियो । एकचोटि चाहिँ खन्दाखन्दै धेरै तल पुगिएछ । लगभग एउटा मान्छे र एक हात जति खनिएछ । ठुलो ढुङ्गा आयो त्यो ढुङ्गा निकाल्न सकिएन ।
ठुलो ढुङ्गा निकाल्न नसकेपछि खन्दै खन्दै अर्कोतिर लागियो । सुरुङ खन्दा तीन वटा पर्खाल नै फुटायौँ । यस्ता विभिन्न खालका चुनौतीका बिचबाट काम ग¥र्यौं । पटक पटक अब सकियौँ, समातियौँ, मारिने भयौँ भन्दै काम गर्थ्यौं । त्यस्तो डर हुँदा हुँदै पनि सुरुङ खनिसक्न सफल भयौँ । त्यसपछि हामीले पार्टीलाई जानकारी गरायौँ ।
अन्तिम दिनमा बाहिर निस्कने प्वाल बोराहरूले टालेर हामी सुरुङभित्र आयौँ । साँझ ६ बजे नै भित्र गइसक्नुपर्थ्यो । बाहिरको सबै तयारी त भयो तर भित्रबाट राति कसरी निस्कने भन्ने तयारी गर्न बाँकी थियो । झ्यालका रडहरू निकालेर निस्किने सोचेका थियौँ तर गर्नुपर्ने तयारी केही पनि गरेका थिएनौँ ।
हामीले काम गर्न आउनेसँग काट्ने कुरा मागेका थियौँ । हेक्सा ब्लेड पायौँ । त्यसले बिस्तारै काट्यौँ । हामीले काट्ने भनेको झ्याल पुलिसको पोस्टबाट सिधै देखिने ठाउँमा थियो । अर्कोतर्फ अरू बन्दीहरूबाट पनि लुकेर गर्नुपर्ने थियो ।
बेलुकातिर हामी नियमित नाचगान गर्थ्यौं । दुई–तीन जनाले अरूलाई नचाउन पनि गाउन थाल्नुभयो । म र सञ्जुले झ्यालको रड निकाल्न थाल्यौँ । हेक्सा ब्लेडले आवाज सुनिन्छ भनेर बिस्तारै गर्यौँ । त्यही क्रममा ढोका खोले जस्तो ढ्याक्क आवाज आयो । अब आज सकियौँ भनेर सल्याकसुलुक भयौँ ।
चार महिनामा सबैभन्दा धेरै चुनौती भएको दिन त्यही अन्तिम दिन हो भन्ने लाग्छ, किनभने बाहिर खोलिसकियो, भित्र खोल्न सकेको छैन । झ्याल काट्दा काट्दा रात बित्न लागिसक्यो । जति रात छिपियो उति डर ! अब हुन्न कि क्या हो भन्दै आत्तिन्थ्यौँ पनि ।
भोलि थाहा पाए भने हामी बाँच्ने स्थिति नै हुँदैनथ्यो । त्यही राति नगरे भोलिका दिनबाट बाँच्ने स्थिति थिएन । चिहान हुने निश्चित थियो । अरू बन्दीहरू पनि ट्वाइलेट जान आउँछन् । उनीहरूले देख्लान् भन्ने पनि डर थियो । यसैले धेरै गाह्रो भयो । बल्लबल्ल गर्यौँ ।
धेरै गाह्रोपछि एउटा झ्यालको रड निकाल्यौँ । त्यहाँबाट निस्केपछि सुरुङ पुगिन्थ्यो । हामीले पहिला एक महिना जति पुलिसहरू कति बेला सक्रिय र निष्क्रिय हुन्छन्, कति बेला निस्कँदा ठिक होला भन्ने बारेमा झ्याल ढोकाबाट हेरेर डिउटी गरेका थियौँ ।
रातको १२ बजेदेखि २ बजेको बिचमा निस्कनु ठिक हुन्छ भन्ने थियो । त्यहीअनुसार सल्लाह गर्यौँ किनभने मानिस सुरुमा र अन्तिम डिउटी सकिएपछि सक्रिय हुन्छन् । बिचमा पार्नु ठिक होला भनेर पौने १ बजेतिरको योजना बनाएका थियौँ । यसैले हामी पौने १ मै निस्कियौँ ।
मेरो र कमला नहर्कीको नेतृत्वमा दुई समूह बनायौँ । म पहिला निस्किने भन्ने थियो । सबैभन्दा पहिला कोठाबाट निस्किन थाल्यौँ तर झ्यालमा बनाएको प्वाल सानो थियो । खुट्टा छिराउँदा पनि हुँदैन, टाउको छिराउँदा पनि हुँदैन । सानो प्वाल ठुलो बनाउनलाई फलाम काट्ने केही धारिलो हतियार पनि हामीसँग थिएन ।
आधा घण्टा, पौने घण्टा जति कसरी छिर्ने भनेर अभ्यास गर्नै लाग्यो । बल्लबल्ल छिरेपछि तरिका थाहा भयो र सबै साथीहरू लाइनबद्ध भएर छिर्नुभयो । यसरी झ्यालबाट बाहिर निस्कन सफल भयौँ ।
हामी जहाँनिर निस्कने हो, त्यहाँ सन्जोगले छाया पर्दोरहेछ । बत्तीको उज्यालो पर्ने भएको भए अर्को चुनौती थियो । सबै जना घिस्रँदै दुई नम्बर सेन्ट्रीतिर लाग्यौँ र मेन पोस्टमा आयौँ । त्यहाँ आउँदा पुलिसहरू माथि हिँडिरहेका देखिन्थे । एकै पटक पर्खालबाट जम्प गर्दा आवाज आयो अनि पुलिसले को हो भन्दै फायर गर्यो ।
मैले पनि ‘खबरदार, माओवादीले कब्जा गरिसक्यो, सबै हतियार बुझाउनू’ भनेँ । त्यसपछि ऊ मौन भयो । त्यतिन्जेल हामी भागेर कता पुग्यौँ कता ? यसरी हामी जेलबाट सुरुङ खनी निस्केका थियौँ । भोलिपल्ट ९ बजेतिर बग्राङ पुगेर पार्टीमा सम्पर्क गर्यौँ । पार्टीले आफ्नो तरिकाले सम्मान गर्यो ।
म सानै उमेरमा पार्टीको केन्द्रीय सदस्य भएको । मैले सानै उमेरदेखि सङ्गठनका जिम्मेवारी पनि लिएँ । विभिन्न भूमिका निर्वाह गर्दै ठुलो नेता भएँ । मलाई लाग्छ, नेपालको इतिहासमा जनताको न्यायको निम्ति लडेको युद्ध ‘जनयुद्ध’ थियो । अहिले संविधानमा जे जति अधिकार प्राप्त भएका छन् । ‘जनयुद्ध’ र जनआन्दोलनको बलमा मात्र प्राप्त भएका हुन् ।
हामीले ‘जनयुद्ध’ लडेको, जनआन्दोलन गरेको, सहिदले रगत बगाएको अहिले भएको जति मात्र उपलब्धिका लागि थिएन । जनताको गणतन्त्र ल्याउन खोजेको हो । जनताको सत्ता ल्याउन खोजेको हो । जनताको सत्ता ल्याएर सबै विभेदको अन्त्य गर्न खोजेको हो तर अहिले पनि हुनेले खाने, नहुनेहरू भोकै बस्नुपर्ने स्थिति छ ।
धनी र गरिबबिचको खाडल झन् बढ्दै छ । हामीले कोही मालिक जस्तो कोही दास जस्तो नहुने प्रथा कल्पना गरेको हो । त्यो आएको छैन । हामी अहिले जुन पार्टीमा छौँ, नेपाल कम्युनिस्ट पार्टी । हामीले क्रान्तिको बाटो नयाँ ढङ्गले बनाउनुपर्छ । नयाँ विचार, नयाँ कार्यक्रम बनाउनु पर्छ भनेर हाम्रो पार्टी अगाडि बढिरहेको छ ।
जेलबाट निस्किने हुटहुटी बढेपछि

– कमला नहर्की
म क्याम्पस पढ्ने बेला २०५४ सालदेखि माओवादी पार्टीमा आबद्ध भएँ । २०५५ सालदेखि घरै छोडेर पूर्णकालीन भई पार्टीमा काम गर्न थालेँ । माओवादीले उठाएका एजेन्डा, लक्ष्य उद्देश्यहरूमा आकर्षित भएर म पार्टीमा लागेको थिएँ । पूर्णकालीन कार्यकर्ता नहुँदा महिला सङ्गठन र विद्यार्थी सङ्गठनमा आबद्ध थिएँ ।
गोरखा कलेजमा ‘पिसिएल लेभल’ (प्लसटु) मा पढ्दै गर्दा महिला सङ्गठनको काम बढी गर्थें । २०५५ सालमा अखिल महिला सङ्घ (क्रान्तिकारी) को जिल्ला सदस्य भएर काम गरेँ । २०५६ सालमा महिला सङ्गठनको जिल्ला कोषाध्यक्ष निर्मला मरहट्ठालाई प्रहरीले गिरफ्तार गरेर बेपत्ता बनायो र सङ्गठनले मलाई कोषाध्यक्ष बनायो ।
निर्मला अहिले पनि बेपत्ता हुनुहुन्छ । म उहाँकै कार्यक्षेत्र त्यो बेला पार्टीले तोकेको पाँच नम्बर इलाकाबाट दुई नम्बर इलाकातिर जाँदै थिएँ । मसँग अर्को एक जना साथी पनि हुनुहुन्थ्यो । हामी जाँदै गर्दा बाटोमा प्रहरीसँग जम्काभेट भयो । मसँग सङ्गठनको प्रकाशन ‘महिला ध्वनि’ र रसिद थियो ।
पुलिसले रोकेर सोध्यो । मैले बजार गएर आएको, घर यहीँ हो भनेँ तर झोलामा खानतलास गर्यो । त्यो प्रकाशन र रसिद देखेपछि माओवादी रहेछौ, अब छोड्न मिल्दैन भनेर समात्यो । म पक्राउ परेको २०५६ साल माघ १३ गते । त्यसरी पक्राउ परेँ ।
पालुङटारकै प्रहरी हिरासतमा राख्यो त्यो रात । भोलिपल्ट रातमा रातको २–३ बजेतिर तनहुँको आँबुखैरेनीको चौकीमा पुर्यायो । कसैलाई पनि जानकारी दिएन । १० दिन त्यहाँ राख्यो तर कसैलाई पनि थाहा भएन । सायद बेपत्ता बनाउने प्लान थियो होला ! पहिले पनि त्यही प्रहरी चौकीले गिरफ्तार गरेर निर्मला मरहट्ठा दिदीलाई बेपत्ता बनाएको थियो ।
गिरफ्तार गरेको बेला नेताहरू को कहाँ छन्, तिमीहरू कहाँ बस्छौ, सेल्टर कहाँ छ भनेर सोधीखोजी गर्थे । अनि, आत्मसमर्पण गर पनि भन्थे । माओवादीमा लाग्दिनँ, सरकारलाई सहयोग गर्छु भनेर हस्ताक्षर गर तिमीहरूलाई छोड्दिन्छौँ भन्ने जस्तो कुरा गर्थे । हामी दुई जना थियौँ ।
दस दिनपछि गोरखा सदरमुकाम लिएर आयो । त्यसपछि मात्र परिवारहरूलाई त्यहाँ ल्याइएकोबारे जानकारी दिइयो । त्यसपछि मानसिक र शारीरिक यातना दिन थाले । कुट्ने, पिट्ने, झुन्ड्याउने गर्थे । ३५ दिन हिरासतमा राखियो । निशस्त्र अवस्थामा हिँडेको हामीलाई बम र बारुद बोकेर हिँडेको भनेर हस्ताक्षर गर, कि भने आत्मसमर्पण गर भन्थे ।
आत्मसमर्पण गर्ने त कुरै भएन । ठिकै छ, बरु जेल जाने भनेर तयार भएँ अनि २०५६ सालको फागुनको १७ गते मलाई जेल चलान गर्यो । मभन्दा अगाडि जेलमा उमा दिदी (उमा भुजेल) हुनुहुँदो रहेछ । जेलमा उमा दिदीपछि म गएँ । त्यसपछि अन्य साथीहरू आउनुभयो ।
हामी एकैचोटि जेल ब्रेक गरेका छ जना फरक फरक समयमा जेल परेका हौँ । उमेरका हिसाबले हामी सबै १६–१७ वर्षका मात्रै थियौँ । थुप्रै साथीहरू बेपत्ता, सहिद, गिरफ्तार हुने समय थियो । क्रान्ति गर्न हिँडेका हामी जेलभित्र थुनिएर बस्नुपर्दा एक खालको छटपटी हुन्थ्यो ।
पहिले जेलमा पत्रपत्रिका पढ्न पाउने व्यवस्था थिएन । हामीले माग गर्यौँ । रेडियो सुन्न पाउनुपर्छ, टेलिभिजन हेर्न पाउनुपर्छ भनेर पनि माग गर्यौँ । पछि पाइयो तर सरकारी पक्षका समाचार मात्रै हुन्थ्यो, त्यही पनि सुन्थ्यौँ ।

जेलबाट निस्किने हुटहुटी मनमै थियो । पहिला थोरै थियौँ, एक दुई महिनाको फरकमा साथीहरू थपिनुभयो । भदौसम्म त पाँच जना भयौँ । आन्दोलनमा पूर्णकालीन भएर हिँडेको युवाशक्तिहरू पाँच जना जेलभित्र बस्दा त झनै केही गरेर निस्कनुपर्छ भन्ने लाग्थ्यो ।
राजबन्दी पुरुष साथीहरू पनि हुनुहुन्थ्यो । एक जना आशाकाजी श्रेष्ठ भन्ने दाइ हुनुहुन्थ्यो । पछि सहिद हुनुभयो । उहाँ लामो समय जेल बस्नुभएको हो । जेलका बारेमा उहाँहरूलाई धेरै थाहा थियो र हामीलाई थुपै्र कुरामा मार्ग निर्देश गर्नुहुन्थ्यो ।
कसरी हुन्छ जेलबाट बाहिर निस्कनुपर्छ भन्ने हुटहुटी बढ्दै जान थाल्यो । आशाकाजी दाइले सुरुङ खनेर निक्सने सकिने कुरा सुनाउनुभयो । विभिन्न विकल्पबाट सम्भव नहुने निष्कर्ष निस्केपछि सुरुङ खनौँ भन्नेतिर लागियो । आन्दोलनमा कति बेला सहिद भइन्छ थाहा छैन, मरे मरिन्छ आँटौँ भनेर सामूहिक प्रतिबद्धता भयो । पुसको ११ गते माओ दिवसका दिनबाट खन्न थालियो ।
कसले कसले के के गर्ने भन्ने कार्य विभाजन भयो । उमा दिदी सिनियर हुनुहुन्थ्यो, सबै राजनीतिक कमान्ड दिदीले गर्ने, सुरुङ खन्ने काम म र सञ्जु अर्यालले गर्ने । गेटमा सुरक्षाकर्मीको निगरानी गर्ने काम मीना र रीताले गर्ने र अरू साथीले बन्दीहरूलाई हेर्ने भन्ने भयो । लामो समय त्यसरी गर्दा पनि हामी समातिएनौँ ।
बाहिर निस्केपछि पार्टी सम्पर्कमा गयौँ र फेरि पार्टीमै काम गर्न थाल्यौँ । हामीले जनवाद, क्रान्ति, समाजवाद ल्याउने भनेका थियौँ तर त्यो कुरा सहमतिमा टुङ्गियो । ‘जनयुद्ध’ पूर्णरूपमा सफल हुन सकेन तर पनि राजतन्त्रको अन्त्य भयो । गणतन्त्रको स्थापना भयो ।
संविधानसभाबाट बनेको संविधानले थुपै्र अधिकार सुनिश्चित गरेको छ । महिला, दलित, पिछडिएका वर्गको मुद्दा र सामाजिक न्यायको कुरा २०७२ सालको संविधानमा उल्लेख छ । सापेक्षिकरूपमा केही भएको पनि तर समाजवादी क्रान्तिको काम बाँकी नै छ । जसको लागि सङ्घर्ष पनि बाँकी नै छ ।
मेरो नेतृत्वमा कमिटी थियो

– सञ्जु अर्याल
कुरा बुझ्ने भएदेखि भेदभाव सहन नसक्ने स्वभावको थिएँ । गरिब धनीबिचको भेदभाव र गरिबका बच्चा देख्दा असह्य पीडा हुन्थ्यो । माओवादी पार्टीले धनी र गरिबलाई समान बनाउँछ रे भन्ने बुझेको थिएँ अनि यो लाइन मेरो हो भन्ने लागेर आठ कक्षामा पढ्दै गर्दा २०५४ सालमा म ‘जनयुद्ध’ मा हिँडेको थिएँ ।
गोरखाको छोप्राकबाट २०५७ साल भदौ ९ गते गिरफ्तारीमा परेँ । त्यतिबेला तत्कालीन गण्डकी क्षेत्रमा पार्टीले महिलाहरू मात्रकै सैन्यबल तयार गरेको थियो । महिलाको मात्र बनाउने भनेर मेरो नेतृत्वमा पाँच जनाको कमिटी बनेको थियो । त्यतिखेरै छोप्राक प्रहरी चौकीमा एम्बुस थाप्ने योजना बनाएर ठाउँ निरीक्षण गर्ने भनेर जाने क्रममा म पक्राउ परेको हो ।
टिमको साथीलाई सबै सामान तयार गर्न पठाएँ अनि म एक जना कमरेडलाई लिएर जाँदै थिएँ । भदौको महिना, टाढाका मानिसहरू नदेखिने गरी कुहिरो लाग्थ्यो । त्यही भएर प्रहरीसँग अगाडि नै भेट भयो । भाग्न सक्ने अवस्था नै थिएन । मेरो कम्मरमा ग्रिनेट थियो । त्यसलाई प्रहरीले च्याप्पै समाती हाल्यो । एक जना कमरेड (दाइ) कसो गर्दा भाग्नुभयो ।
मलाई हत्कडी लगाइहाल्यो । त्यतिबेला १८ वर्षको थिएँ । इन्स्पेक्टरले सानो बच्चा छ भनेर गोरखामा ‘डिएसपी’ लाई जानकारी गरायो । त्यो दिन गोरखा ल्याइपुर्याएन । पालुङटारको चौकीमा राख्यो । त्यो रात मलाई मानसिक यातना दिने, निकाल्ने, जङ्गलमा लाने, बन्दुक ताक्ने गर्यो । एकदमै अभद्र शब्द पनि प्रयोग गर्यो ।
भोलिपल्ट गोरखाको जिल्ला प्रहरी कार्यालय लगियो र त्यहाँ पनि मलाई मानसिक यातना नै धेरै दियो । मार्न लान्छु भन्ने, सोधपुछ गर्ने गर्थ्यो । आत्मसमर्पण गरेपछि छाड्ने सरकारको ‘पोलिसी’ छ भनेर धेरै प्रयास गर्यो तर मैले त्यसो गरिनँ ।
मार्नुस् बरु मबाट केही पनि पाउनु हुन्न, आत्मसमर्पण पनि हुँदैन । सक्नुहुन्छ जेल लैजानुस्, नभए मार्नुस् भनेँ । त्यसो भनेपछि डिएसपीले यो १७–१८ वर्षको होला तर आइए, बिएभन्दा कम पढेको होइन, यस्तालाई मार्नुपर्छ भन्दै अश्लील शब्द प्रयोग गथ्र्याे । १९ दिनसम्म हिरासतमा मानसिक यातना दिँदै राखियो ।
पार्टीका तर्फबाट र मानव अधिकार आयोग, रेडक्रसलाई समयमै खबर गर्न सकेका कारण पनि मलाई नमारेको हो । त्यसपछि जेल चलान भयो । जेलमा अन्य चार जना साथीहरू हुनुहुन्थ्यो । हामीहरू फिल्डमा पनि सँगै काम गरेको साथीहरू नै हो । जेलमा साथीहरू भेटेपछि पनि कसरी निस्किने भनेर धेरै छलफलहरू भए ।

विभिन्न समयमा जेलबाट भाग्ने प्रयास पनि गरेको तर सफल हुन सकेका थिएनौँ । सुरुङको योजना आशाकाजी श्रेष्ठ दाइहरू बस्दादेखि नै छलफल भएको रहेछ । गर्ने तर साधनस्रोत केही पनि थिएन । हामीले चाहिँ टोपी बुन्ने, झोला बुन्ने भन्दै बाँस मगाउने गर्न थाल्यौँ ।
कामको विभाजनसहित सुरुङ खन्ने काम सुरु भएको थियो । दिउँसोको समयमा खाना खाएपछि अथवा विहानको समयमा मात्रै त्यो काम गर्थ्यौं । पछिपछि खनेको माटो व्यवस्थापनदेखि लास्टमा निस्कने बेला रड काट्नेसम्मका काम गरेँ अनि उमा दिदी सबैसँग समन्वयको भूमिकामा हुनुहुन्थ्यो ।
एञ्जिला पछि आउनुभएको हो । उहाँ एक दुई महिना मात्र बस्नुपर्यो । हामीले विभिन्न बहाना गर्दै सुरुङ खन्ने काम गर्याैँ । पुलिस प्रशासनसँग नजिक पनि भयौँ । हामीप्रति शङ्का नगर्ने वातावरण बनाउनेतर्फ लाग्थ्यौँ ।
अन्तिममा निस्कने दिनमा उमा दिदी र म झ्याल काट्न लाग्यौँ । त्यतिबेला अरूले बन्दीलाई टिभीमा भुलाए । झ्याल काटिसकेर निस्कने बेलामा सबै एकअर्काको अङ्गालोमा बाँधिएर हामीले हात मिलायौँ । जो कोही पनि मर्न सक्छौँ है भन्दै हामी छ जना पालैपालो निस्कियाैँ ।
सैनिक भाषामा ‘क्रलिङ’ भनिन्छ, सुरुङको क्रलिङ गर्दै तल झर्याैँ । त्यसरी चार महिना लगाएर सुरुङ खनेर चैत १७ गते निस्किन सफल भयौँ । कमला र मेरो घर गोरखाबजारको आसपासमा भएकाले तीन–तीन जना लिएर जाने कुरा भयो ।
क्रस गर्ने बेलामा प्रहरीहरूले लाइट बाल्ने को हो भन्यो अनि हामीले सैनिक भाषामा घेरा हाल्, बम ठोक् भन्दै भाग्दा कमला सीधै भाग्नुभएछ । अरू हामी पाँच जना जेलको तलतिर भाग्यौँ । फेरि डाँडामा निस्केर जन्मघरतिर गयौँ ।
दुई–तीन दिनपछि पार्टी सम्पर्कमा गयौँ । त्यसपछि पनि पार्टी काममै लागियो । अहिलेसम्म निरन्तर पार्टीमै छु । अहिले पार्टीको गण्डकी प्रदेशको सदस्य छु । जुन आमूल परिवर्तनका लागि पार्टीमा लागेको थिएँ, त्यो हुन नसके पनि केही परिवर्तन भएको छ ।
उत्पीडित वर्ग, जातजाति क्षेत्रहरूमा केही न केही अधिकारहरू प्राप्त भएको छ । गणतन्त्र स्थापना भएको छ । सबैले बोल्न पाएका छौँ । अधिकारका लागि लड्न सिकाएको छ । शोषित, पीडित र पछाडि पारिएका समुदायका प्रतिनिधिलाई पनि सदनसम्म नेतृत्व गर्ने अवसर मिलेको छ । यद्यपि, अझै सोचेको जस्तो भएको छैन, गर्न धेरै बाँकी छ ।
प्रकाशन मिति २०८१ चैत्र १७ गते आइतवार