Home Video मेरो प्राथमिकता शिक्षा र स्वास्थ्य – स्यानी चौधरी (भिडियो सहित)

मेरो प्राथमिकता शिक्षा र स्वास्थ्य – स्यानी चौधरी (भिडियो सहित)

927
0

– स्यानी चौधरी, उपमेयर, तुलसीपुर उपमहानगर, दाङ

नेतृत्व विकास, नारीवाद र प्रजातन्त्र, गुणस्तरीय शिक्षा जस्ता विषयमा जापान, डेनमार्क, अमेरिका जस्ता देशबाट विशेष शिक्षा पाउनुभएकी स्यानी चौधरीले नेपालमै स्नातकोत्तर गर्नुभएको छ । साबिकको फूलबारी गाविस वडा नम्बर २ तुइखोला, दाङ जिल्लामा २०२९ सालमा स्यानी चौधरीको जन्म भएको थियो । स्यानीको विद्यालय जाने उमेरमा थारू समुदायका छोरीहरूलाई पढ्न पठाइँदैनथ्यो । छोरीले पढ्नै हुँदैन भन्ने गलत मान्यता थियो । त्यही भएर उहाँ जन्मिएको समुदायका करिब दुई सय परिवारका कोही पनि छोरीले पढ्न पाएनन् । उनीहरूलाई पढ्न पठाइएन । स्यानीलाई भने पढ्न एकदमै मन लाग्थ्यो । उहाँ भागेरै भए पनि विद्यालय जान थाल्नुभयो । स्यानीका दिदीहरूले विद्यालय जान पाउनुभएको थिएन । स्यानीले विद्यालय गएकी भनेर धेरै समयसम्म घरमा कुटाइ खानुपर्‍यो । कुटाइ खाएरै र घरको काम भ्याएरै पनि उहाँ विद्यालय गइरहनुभयो । उहाँले कहिले विद्यालय जाने कहिले घरको काम गर्ने गर्दै पनि पढ्नुभयो ।

स्यानीले पढेको विद्यालय अहिलेको जस्तो थिएन । आफू बस्नका लागि घरबाटै बोरा वा चकटी जे छ बोकेर जानुपथ्र्यो । उहाँ बोरा बोकेर जानु हुन्थ्यो । कापीका पानाहरू बटुलेर लेख्ने र पढ्ने गर्नु हुन्थ्यो । विद्यालयमा केटाहरू मात्रै हुन्थे । केटीहरू हुँदैनथे । केटाहरूको डरका कारण आफूले केटाको भेषमा पनि हिँड्ने गरेको उहाँ सम्झनु हुन्छ ।

स्यानीले २०४७ सालमा अमर मावि उरहरीबाट एसएलसी पास गर्नुभयो । त्यसपछि ‘बेस’ नामक संस्थाले जागिरका लागि बोलायो । भर्खरै एसएलसी पास गर्नुभएकी उहाँले तुलसीपुरस्थित राप्ती बबई क्याम्पसमा आइए पढ्दै जागिर पनि सुरु गर्नुभयो । सो संस्थामा स्यानीले १२ वर्ष काम गर्नुभयो । ‘बेस’ संस्थामार्फत साक्षरता कक्षाहरू सन्चालन गर्नुपथ्र्यो । ती कक्षामा उहाँले प्रौढहरूलाई साक्षर बनाउने काम गर्नुभयो । ती कक्षासँगै उहाँले थारू समुदायका छोरीहरूलाई कमलरी राख्ने र राख्न पठाउने प्रथा अन्त्यका लागि आन्दोलन गर्नुपर्छ भनेर पनि थारू समुदायलाई सचेत गराउनुभयो । यस किसिमको सचेतना दाङका साथै बाँके, बर्दिया, कैलाली र सल्यानलगायत जिल्लासम्म पुगेर पनि दिनुभयो । ती जिल्लामा साक्षरता कक्षा पनि चलाउनुभयो । यस किसिमको शिक्षा र सचेतनाले थारू समुदायमा राम्रै काम गर्‍यो । छोरीलाई पढाउनुपर्छ, स्यानी जस्तै बनाउनुुपर्छ भन्ने चेतना जाग्न थाल्यो । छोरीहरूले पढ्ने अवस्था बन्न थाल्यो । अनि त स्यानी र स्यानीको कामप्रति उहाँको परिवार मात्र होइन, सिङ्गो थारू समुदाय नै सकारात्मक हुन थाल्यो ।

उमेर बढ्दै जाँदा स्यानीलाई सामाजिक काम गर्ने इच्छा पनि लाग्दै गयो । २०६१ सालमा तुलसीपुर वडा नम्बर ६ डुम्रिगाउँमा उहाँले ‘दिदीघर’ नामक संस्था खोल्नुभयो । ‘दिदीघर’ मा आमाबाबु नभएका, घर नभएका र घर भएर पनि पढ्ने वातावरण नपाएका बेसहारा बालबालिकाहरूलाई राखिन्थ्यो । उनीहरूलाई राख्नका लागि उहाँले आफ्नै पहलमा संस्थाको घर पनि बनाउनुभयो । स्यानी भन्नुहुन्छ, “संस्थालाई कहिलेकाहीँ बाहिरबाट सहयोगहरू पनि आउँछ, कोही यहीँ आएर जन्मदिन मनाएर पनि सहयोग गरिरहेका छन् ।” अहिले संस्थामा १४ बालिकासहित २४ जना अनाथ तथा असहाय बालबालिका छन् । ती बालबालिकाले स्यानीलाई ‘प्यारी मामु’ भनेर बोलाउँछन् । उहाँ भने अविवाहित हुनुहुन्छ ।

स्यानीले समाजशास्त्र मानवशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । उहाँ राजनीति शास्त्रमा स्नातक पनि हुुनुहुन्छ । जापानबाट ‘नेतृत्व विकास’ विषयमा दुई वर्षको डिप्लोमा गर्नुभएको छ भने डेनमार्कबाट ‘महिलावाद र प्रजातन्त्र’ विषयमा तीन महिने कोर्स पनि गर्नुभएको छ । त्यस्तै, अमेरिकाबाट ‘गुणस्तरीय शिक्षा’ विषयमा केही समयको अध्ययन गर्नुभएको छ ।

अहिले दाङको तुलसीपुर उपमहानगरपालिकाको उपमेयर स्यानी २०७९ साल वैशाखमा भएको स्थानीय चुनावमा नेकपा एमालेबाट निर्वाचित हुनुभएको हो । उहाँमा झन्डै एक वर्षदेखि सामाजिक कामसँगै जनप्रतिनिधिको जिम्मेवारी थपिएको छ । उपमेयर बनेपछि आफूले पहिलो प्राथमिकतामा शिक्षा र स्वास्थ्यलाई राखेको उहाँले बताउनुभयो । पठनपाठनको अवस्था बुझ्न विद्यालय र स्वास्थ्य सेवाको अवस्था बुझ्न स्वास्थ्य चौकीहरूमा उहाँ प्रायजसो पुगिरहनु हुन्छ । अब करिब पाँच वर्ष उपमेयरको भूमिकामा रहनुभएकी स्यानी चौधरीसँग उहाँका व्यक्तिगत सङ्घर्षदेखि सामाजिक र राजनीतिक काम तथा जनप्रतिनिधि हुँदाका प्राथमिकता लगायतका विषयमा कुराकानी गरिएको छ । प्रस्तुत छ, ‘सन्धानका’ तर्फबाट समीक्षा गाहाले केही समयअघि दाङ गएका बेला गरेको कुराकानीको सम्पादित अंश :

याे पनि पढ्नुहाेला

लाेपाेन्मुख वनकरिया जातीकाे याे पनि पढ्नुहाेस्

सन्धान प्रकाशन मिति : २०७९ माघ ९ गते, साेमवार