Home About

About

sandhan-facebook-cover

हाम्रो बारेमा

सन्धान किन ?  

नेपालको राजनीतिक आन्दोलनको शृङ्खलाबद्ध अभिलेखीकरण कुनै न कुनै रूपमा उपलब्ध छ । यसले गर्दा यो सुनिन्छ र देखिन्छ । तर विविध महिला आन्दोलन र यसका उपलब्धिहरुको एकीकृत अभिलेख छैन । त्यसैले नेपालका विविध महिला आन्दोलन र यसका उपलब्धिहरु सुनिएका र देखिएका छैनन् । नेपालको समग्र राजनीतिक, सामाजिक, साँस्कृतिक र आर्थिक रुपान्तरणका लागि नेपाली महिला आन्दोलनले दिएको नेतृत्व र पुर्याएको योगदानको लेखाजोखा पनि हुन सकेको छैन । यस परिदृश्यमा, नेपाली महिला आन्दोलनका छरिएर रहेका उपलब्धि, महिलाले लिएका नेतृत्वका कथाहरु र उनीहरुका योगदानलाई सहकार्य, सहखोजी र सहलेखनको माध्यमबाट एकीकृत गर्ने परिकल्पनासहित सन्धान शुरु गरिएको हो । नेपालको महिला आन्दोलनबारे वैचारिक बहस र आलोचनात्मक समीक्षाका लागि एउटा साझा थलो निर्माण गर्नु पनि सन्धानको मूल उद्देश्य रहेको छ । 

सन्धान के हो ? 

वर्गीय र जातीय व्यवस्थामा आधारित पितृसत्तात्मक सामाजिक व्यवस्थाले महिला र पिँधमा पारिएका वर्गको ज्ञान, बोली र विचारलाई मौन बनाइरहेको सन्दर्भमा सन्धान हाम्रो रणनीतिक र वैचारिक हस्तक्षेप हो । सन्धान, यो हस्तक्षेपमार्फत नेपाली महिला र पिँधमा पारिएका वर्गलाई सुनिने र देखिने बनाउन एउटा माध्यमको सिर्जना गर्ने अपेक्षा गर्दछ । नेपाली समाजले ‘औँठाछाप’ चिह्नलाई ‘अज्ञानता’ को प्रतीकका रुपमा व्याख्या गर्दछ । तर, सन्धानले ‘औँठाछाप’ लाई ‘अस्तित्व’को प्रतीकका रुपमा पुनव्र्याख्या गर्दछ । त्यसैले आम महिलाको ज्ञानलाई ‘औँठाछाप’ करार गरि शक्ति र सत्ताको दुरुपयोगबाट एकपक्षीय ज्ञान र कथ्य निर्माण गर्न उद्दत व्यक्ति वा समूहहरुलाई सन्धान एउटा चुनौती पनि हो । सन्धान आजसम्म मौन बनाइएका ज्ञान, बोली र विचारहरुलाई एकीकृत र सङ्गठित गर्ने साझा थलो हो । महिलावादी दृष्टिकोणको सहखोजीका लागि सन्धान द स्टोरी किचेनले शुरू गरेको विचारप्रधान बेव पोर्टल हो ।

सन्धानले के गर्छ ?  

सन्धानले सहकार्य, सहखोजी र सहलेखनका माध्यमबाट नेपालका विविधखालका महिला आन्दोलनको हालसम्मका उपलब्धिलाई अभिलेखीकरण, एकत्रित र एकीकृत गर्छ । यसरी तयार भएका सामग्रीहरुलाई सन्धानको वेब पोर्टल www.sandhaann.com तथा यसको फेसबुक पेज  https://www.facebook.com/sandhaann र ट्विटर @sandhaann बाट  नियमित प्रकाशन तथा प्रसारण गरिन्छ । 

सन्धानको यो यात्रामा सहकार्यका लागि यहाँलाई हामी आव्हान र अनुरोध गर्दछौँ ।

सन्धान टिम

about-sandhaann-flyer