झापाको दमक नगरपालिका वडा नम्बर ५ मा दमक नगरपालिकाका पूर्वउपप्रमुख गीता अधिकारीको घर छ । त्यही घरमा २०७९ फागुन ६ गते भेटघाट गरेका थिए, ऐतिहासिक झापा आन्दोलनका सहभागी महिलाहरूले । व्यवस्थाविरोधी आन्दोलनका बेलासमेत विभिन्न भूमिका र जिम्मेवारीमा रहेर काम गरेका महिलाहरूको भेटघाटको चाँजोपाँजो मिलाउनुभएको थियो, कमल गाउँपालिकाकी पूर्वअध्यक्ष मेनुका काफ्लेले । मेनुकाको भेट पार्टी कामको सिलसिलामा अष्टलक्ष्मी शाक्यसँग धेरै पटक भएको थियो । त्यही भएर मेनुकासँग झापा आन्दोलनमा सँगै रहेका महिलाहरूको साझा गुनासो हुन्थ्यो– हामीलाई झापा आन्दोलनका कमरेडहरूले भुल्नुभयो ।
सम्झाउने वातावरण बनाउने कसरी भनेर मेनुकालाई लागिरहेको थियो । यस्तैमा नेकपा एमालेले ‘मिसन ग्रासरुट’ अभियान सुरु गर्यो । यसै सन्दर्भमा प्रदेश १ को जिम्मेवारी मिल्यो, पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र सचिव टोपबहादुर रायमाझीलाई । त्यही मिसनका लागि फागुन ४ गते अष्टलक्ष्मी विराटनगर पुग्नुभयो । विराटनगर बैठकमा सहभागी मेनुकाले अष्टलक्ष्मीलाई झापा जान जोड गर्नुभयो । यसपछि फागुन ६ गते दमकमा पुराना ‘कमरेड’ महिलाहरूको भेटघाट कार्यक्रम तय भयो ।
निरङ्कुश पञ्चायत व्यवस्थाविरुद्ध कम्युनिस्टहरूले गरेको आन्दोलनमा अष्टलक्ष्मी भूमिगत भएर लाग्नुभएको कुरा सार्वजनिक भइसकेको तथ्य हो । आफ्ना दुई सन्तानको रेखदेख पार्टी कमिटी झापाले गरिदिने भएपछि उहाँ २०४१ सालमा झापा पुग्नुभयो । उहाँले छोरी आस्था र छोरा विश्वासलाई अलग अलग परिवारको जिम्मा लगाएर हिँड्नुभएको थियो । त्यही भएर अष्टलक्ष्मीले झापालाई ‘माइतीघर’ नै ठान्नुहुँदो रहेछ ।
यस वर्ष प्रजातन्त्र दिवसको अघिल्लो दिन झापा पुग्दा अष्टलक्ष्मीलाई पुराना सहकर्मी मात्र होइन, आफ्ना छोरी र छोरालाई हुर्काइदिने परिवारहरूलाई भेट्न पनि मौका मिल्यो । अष्टलक्ष्मी र भेटघाटमा सहभागी महिलाहरूबिच भेट नभएको तीन दशकभन्दा बढी भइसकेको रहेछ । कारण, २०४६ सालमा खुला राजनीतिमा आएपछि अष्टलक्ष्मीले काठमाडौँ केन्द्रित भएर राजनीति गर्न थाल्नुभयो । उहाँका अनुसार, कामको सिलसिलामा कहिलेकाहीँ झापा पुगे पनि विभिन्न कमिटीमा रहेका महिलाहरूसँग भेट्ने चाँजोपाँजो मिलेको थिएन ।
भेटघाटका लागि तय गरिएको हलमा अष्टलक्ष्मी आइपुग्नुअघि नै धेरै महिलाहरू भेला भइसकेका थिए । उनीहरूमध्ये कोही पुराना कुराहरू सम्झँदै भक्कानिए त कोही खुसी मान्दै गरेका पनि देखिन्थे । यस्तैमा एक जनाले ‘टीका कमरेडले त हामीलाई चिन्नुहुन्न होला नि ?’ भनेको सुनियो । अष्टलक्ष्मीको भूमिगतकालको नाम टीका रहेछ । पार्टीमा टीका भनेर चिनिने अष्टलक्ष्मी अखिल नेपाल महिला संघमा भने ‘मीरा’ नामले चिनिनुहुन्थ्यो । यस्तै कुरा भइरहेका बेला उहाँ हलमा आइपुग्नुभयो ।
झन्डै तीन दशकपछि महिला सहकर्मीहरूको भेट ! अष्टलक्ष्मीको मुहारमा पनि खुसीको चमक देखियो । पार्टीले प्रदेश १ को जिम्मेवारी दिएकोमा आफू दङ्ग परेको बताउँदै अष्टलक्ष्मीले सुरुमै भन्नुभयो, “कमरेडहरू भेटघाट नभएको धेरै भयो, आज मलाई माइतीसँग भेटे जस्तो भएको छ, पुरानासँगै नयाँ कमरेडहरू हुनुहुन्छ, एकपटक परिचय गरौँ ।”
परिचयका क्रममा झापा आन्दोलनका बेला विभिन्न भूमिका र जिम्मेवारीमा रहेका महिलाहरूले अष्टलक्ष्मीलाई आफ्नो नाम मात्रै सम्झाएनन्, आफूहरूले त्यतिबेला ‘पञ्चायत लडाउन’ गरेको योगदानको पनि स्मरण गरे । प्रजातन्त्रदेखि लोकतान्त्रिक गणतन्त्र आउँदासम्म कुनै पनि कालखण्डमा आफूहरूको योगदानको कदर नभएकामा खुलेरै गुनासो गरे । पार्टी नेतृत्वप्रति विभिन्न प्रश्नहरू पनि तेर्स्याए ।
के हुन्थ्यो ‘सेल्टरदाता’ महिलाहरू नभएका भए ?
पञ्चायतकालमा महिलाहरू मूलतः सेल्टरदाता बनेर आन्दोलनमा सहभागी भएका थिए । छिमेकीले देख्लान् र सरकारलाई सुराकी गर्देलान् भनेर महिलाहरूले सुझबुझ देखाए र निकै नै सचेत बनेर काम गरे । उनीहरूका अनुसार, उनीहरूले पार्टीका मान्छेलाई लुकाउने र खुवाउने मात्रै गरेनन्, घरभित्रै लुकेर बसेका नेताहरूको दिसापिसाब फाल्नेसम्मका काम पनि गरे । गोमा खनाल सम्झनुहुन्छ, “मलाई धेरै कमरेडहरूको गूमुत सोहोरेको हिजै जस्तो लाग्छ । पञ्चायतले देख्ला कि भनेर हेरेको पनि हिजै जस्तो लाग्छ । तर खै ? हामीले हिजो गरेको योगदानलाई हाम्रा कमरेडहरूले कत्ति छिटो बिर्सेको ? कति छिटो केही हैन भन्ने परेको ?”
सेल्टरदाता मध्येकी एक निर्मला सिवाकोटी ‘मीरा’ पनि भन्नुहुन्छ, “घरभित्रै ३/४ दिन पार्टीका मान्छेहरूलाई लुकाउँदा उनीहरूका दिसापिसाबको व्यवस्थापन कसरी पो गरियो ?” रातभर पार्टीका बैठक र छलफलमा हिँड्ने नेताहरूलाई दिनभर बास, गाँस र रेखदेखको व्यवस्था गर्ने काम महिलाहरूले गर्थे । यो काम निर्मला जस्तै धेरै महिलाहरूले गरेका थिए । त्यो पनि झापामा मात्रै होइन, देशैभर । त्यतिबेलाको सम्झना गर्दै निर्मला सुनाउनुहुन्छ, “अरूलाई अँध्यारोमा डर हुन्थ्यो, हामीलाई उज्यालोसँग ! कसैले हाम्रा कमरेडहरूलाई देखेर प्रशासनलाई सुनाइ पो हाल्छन् कि ?” उहाँका अनुसार, निकै सचेत भएर जोगाइएको थियो कमरेडहरूलाई । २०४० सालपछी पञ्चायती सरकार र कम्युनिष्टहरू बिचको आन्दोलन झन्झन् चर्किदैँ गएको थियो ।
दमक भेटघाटमा आएका महिलाहरूमध्ये अधिकांश उमेरले ६० कटेका थिए । कोही आफूले सेल्टर दिएको बताउँथे । कसैले अष्टलक्ष्मीलाई लुकाउँदा आफूले पाएको दुःखका कुरा पनि सुनाए । अष्टलक्ष्मी मात्रै हैन, त्यतिबेला झापा आन्दोलनमा सहभागी भएका अधिकांश नेताहरूलाई लुकाउने जिम्मा महिलाहरूको काँधमा थियो । महिलाहरूका अनुसार, उनीहरूले एक ठाउँबाट अर्को ठाउँमा चिठ्ठी पुर्याउनु पनि पर्थ्यो । बाटामा पञ्चायत समर्थकले भेटे भने त्यो चिठ्ठी चपाएर निल्नेसम्मका काम आफूहरूले गर्ने गरेको पनि महिलाहरूले सम्झिए । उनीहरूका अनुसार, त्यसरी ‘पञ्चायत लडाउन’ महत्त्वपूर्ण भूमिका खेलेका आफूहरू जस्ता महिलाहरूलाई अहिले भने पार्टीले बिर्सेको छ । भेटघाटमा सहभागी अधिकांश महिलाहरूको यस्तै गुनासो रह्यो ।
महिलाहरूबाट चौतर्फी गुनासो सुनिसकेपछि कार्यक्रमको अन्तिम चरणमा नेकपा एमाले प्रदेश कमिटी सदस्य रहेका बलराम गजुरेल ‘जयन्त’ ले भन्नुभयो, “तपाईंहरूले सेल्टर नधान्नुभएको भए हाम्रो आन्दोलन कहाँ त्यति बलियो हुन्थ्यो र ?” बलरामको बुझाइमा महिलाहरूले सेल्टर चलाउने काममा सक्दिनँ भनेर हात उठाइदिएको भए कम्युनिस्ट आन्दोलन त्यहीँ तुहिन्थ्यो अथवा त्यो रूपमा अघि बढ्दैनथ्यो ।
‘माइती’ ठानेका परिवारको गुनासो
अष्टलक्ष्मीकी छोरी आस्थालाई झापाको धुलाबारीमा रहेको विष्णु र लता प्रसाईंको परिवारले हुर्काएका थिए । यस्तै, दमकमा छविलाल र चन्द्रकुमारी श्रेष्ठको परिवारले छोरा विश्वासको सम्पूर्ण रेखदेख गरेका थिए । “अरूका सन्तानलाई आफ्नो सन्तान भनेर ढाँटेर हुर्काउन कम्ती दुःख र अप्ठ्यारो भएन,” चन्द्रकुमारीको गुनासो छ, “कति दुःखले विश्वासलाई हुर्कायौँ, त्यो त हामीलाई थाहा छ । थाहा त पार्टीलाई पनि थियो तर अहिले त्यति दुःखले आएका हौँ भन्ने कुरा पार्टीले बिर्सियो ।”
अष्टलक्ष्मीको पुरानो परिवार र पुराना कमरेड महिलाहरूले गुनासोसहित प्रश्न गरिरहे– कमरेड, हामीले त्यागको राजनीति गरेको, जेल र नेलको राजनीति गरेको तर सुविधा र शक्तिको राजनीति गर्ने बेलामा हामीलाई किन बेवास्ता भयो ? यस्ता प्रश्नहरूको चित्तबुझ्दो जवाफ दिनका लागि अष्टलक्ष्मी आफैँ पनि सहज देखिनुभएन । पार्टीमा उहाँको तहमा पुगेका महिलाहरूले स्त्रीद्वेषी नेतृत्वको षड्यन्त्रपूर्ण व्यवहारबाट झेल्नुपरेका असामान्य समस्या पनि सार्वजनिक भइसकेका छन् ।
जेलमा पुरुष, आन्दोलन हाँक्ने महिला
झापा आन्दोलनमा धेरै पुरुष नेताहरू जेल परेपछि महिलाहरूले नै त्यो आन्दोलन हाँकेका थिए । महिलाहरूले उत्कर्षमा पुर्याएको झापा आन्दोलनमा सहभागी महिलाहरू यतिबेला भने आफूहरू पार्टी नेतृत्वको सम्झनामै नरहेको र सम्झाउन खोज्दा पनि बहिष्करणमा पारिएको अनुभव गरिरहेका छन् । उनीहरूका अनुसार, महत्त्वपूर्ण योगदान गरेका महिलाहरूलाई पनि ‘यी को हुन् र ?’ भन्ने खालको तुच्छ मानसिकताले शक्ति र सत्ताबाट ओझेलमा पारिएको छ । नयाँ पुस्ताले महिलाहरूको योगदान के थियो भन्ने थाहा पनि पाएको छैन । पार्टी नेतृत्वले आफ्नै व्यक्तित्वको प्रचारप्रसारमा चासो लियो तर त्यो व्यक्तिलाई सफल बनाउने सहभागीहरूको योगदानको कदर गरेन । महिलाहरूको योगदानको अभिलेखीकरण पनि हुन सकेन । यसको बदलामा नेतृत्वले बेलाबेला महिलाहरूको आवाजलाई ‘ट्याउँ ट्याउँ’ भनेर सञ्चारमाध्यमबाटै कटाक्ष गरेको भनी झापा आन्दोलनमा सहभागी महिलाहरूले दमक भेटघाटमा नराम्रो मान्दै स्मरण गरे । कसै कसैले आक्रोश र असन्तुष्टिजन्य प्रश्न पनि उठाए । गोमा खनाल भन्नुहुन्छ, “आफ्नो विगत सम्झँदा कहिलेकाहीँ ग्लानि हुन्छ । हामीले त्यति ठुलो बलिदान गर्दा हाम्रा आवाजहरू अहिले कसरी ट्याउँ ट्याउँ भए ?”
के हो झापा आन्दोलन ?
वि.सं. २०२१ मङ्सिर १ गते तत्कालीन राजा महेन्द्रबाट भूमिसुधार कार्यक्रम लागु भयो । भूमिसुधार कार्यक्रमले जमिनदारी प्रथालाई उन्मूलन गर्दै किसानहरूलाई मोहियानी हकको व्यवस्था गर्ने भनिएको थियो । भूमि सम्बन्धी ऐन, २०२१ मा “मोही भन्नाले अरू जग्गावालाको जग्गा कुनै शर्तमा कमाउन पाई सो जग्गामा आफ्नो वा आफ्नो परिवारको श्रमले खेती गर्ने किसान सम्झनु पर्छ” भन्ने उल्लेख छ । कुनै किसानले जग्गावालाको जग्गा कमाएर मुख्य एक बालीको कुत बुझाएमा उसले मोहियानी हक पाउने व्यवस्था पनि गरिएको थियो । तर, किसानले मोहियानी हक पाउन सकेका थिएनन् । मोहियानी हकलाई लिएर किसान र जमिनदारहरूबिचको फाटो बढ्दै गयो ।
भनिन्छ, वर्षौं जमिनदारको खेतबारीमा काम गरेर पनि मोहियानी हक नपाएका किसानहरूको अधिकार प्राप्तिका लागि सघाउने उद्देश्यले सुरु गरिएको आन्दोलन हो, झापा आन्दोलन । त्यही समयमा छिमेकी देश भारतको पश्चिम बंगालको नक्सलबाडीमा कानु सन्याल र चारु मजुमदारको नेतृत्वमा कम्युनिस्ट पार्टीले सशस्त्र विद्रोह गरिरहेका थिए । त्यसको प्रभाव नेपालको झापामा पनि बढ्दै गएको थियो ।
झापा आन्दोलन सामूहिक नेतृत्वबाट सुरु भएको थियो । यसलाई अर्को शब्दमा ‘टाउको काट्ने’ आन्दोलन पनि भनिन्थ्यो । झापा आन्दोलनका पुराना योद्धा नरेश खरेलका अनुसार, त्यतिबेला जमिनदारले किसानहरूलाई मोहियानी हक नदिएर मात्रै दुःख दिएका थिएनन्, किसानका घरमा आएका नयाँ दुलहीहरूलाई पनि जमिनदारहरूले दुःख दिने गर्थे । उहाँ भन्नुहुन्छ, “झापा आन्दोलनले महिलाहरूको त्यति ठुलो साथ पाउनुको पछाडि जमिनदारहरूले महिलाहरूमाथि गाडेको गिद्धे नजर पनि हो ।”
त्यतिबेलाको निरङ्कुश पञ्चायत सरकारले जेल सार्ने बहानामा झापा जिल्लाको सुखानी खण्डमा २०२९ फागुन २१ गते पाँच जनालाई गोली हानी हत्या गरेको थियो । त्यसपछि झापा आन्दोलनले राजनीतिक व्यवस्था परिवर्तनको मुद्दालाई पनि सँगै लिएर अगाडि बढ्यो । झापा आन्दोलनलाई मत्थर बनाउने उद्देश्यले पञ्चायतकालमा चलाइएको उक्त गोलीले अझ आन्दोलनलाई चर्काउने बारुदको काम गर्यो । आन्दोलनको सुरुआती चरणदेखि बहुदल प्राप्तिको आन्दोलनसम्म कम्युनिस्ट आन्दोलनलाई महिलाहरूको नेतृत्व, सहभागिता र योगदानको दरिलो साथ मिल्दै आएको थियो ।
अष्टलक्ष्मी शाक्य २०४१ सालमा झापा आउँदा महिलाहरूको एउटा जमात तयार भइसकेको थियो । पहिलो पुस्ताका महिलाहरूमा स्वर्गीय लीला कटेल, गौरा प्रसाईं, सीता खड्का हुनुहुन्छ । उहाँहरूले देखाएको बाटोमा अर्को पुस्ता तयार भएर आउँदै थियो । अष्टलक्ष्मीले त्यतिबेला आफ्ना पुस्ताका खासगरी २०३० साल पछाडिको झापा आन्दोलनलाई साथ र हात दिने महिलाहरूसँग भेट गर्नुभएको थियो । तिनै महिलाहरू दमक भेटघाटमा थिए ।
भेटघाटले दिएको स्पष्ट सन्देश हो– व्यवस्थाविरोधी आन्दोलनलाई उत्कर्षमा पुर्याउन समुदाय तहबाट महत्त्वपूर्ण काम गरेका महिलाहरू अहिले पनि समुदायभन्दा माथि उठ्न सकेका छैनन् । नेपालको इतिहासमा जेल, नेल, त्याग र बलिदानको राजनीति गरेका महिलाहरू देश बनाउन योगदान गर्नुपर्ने राजनीतिक चरणमा भने शक्ति र पदबाट बाहिर पारिएका छन् । मुस्किलले केही महिलाहरू उपल्लो पदमा पुगेको देखिए पनि उनीहरू पितृसत्ताको जगमा उभिएका पार्टी नेतृत्वबाटै महिला भनी हेपिएको, दुत्कारिएको र गलहत्तिएको अनुभव गरिरहेका छन् । अहिलेको व्यवस्थाले अङ्गीकार गरेको भनिएको समता र न्याय दुवै दृष्टिले यो अनुभव सही र सामान्य होइन ।
नेपाली राजनीतिमा महिलाका योगदानका थप कथाहरू
- अपमान पनि हिंसाको एउटा स्वरूप हो –अष्टलक्ष्मी शाक्य (अडियो सहित)
- पुरुषहरू मोर्चामा, महिलाहरू विनाचर्चामा
- तराई–मधेशमा महिलाको सहभागिता र योगदान महत्त्वपूर्ण थियो –धर्मेन्द्र झा
- ‘म सूचना आदानप्रदानको जिम्मेवारीमा थिएँ’ –डा. बिन्दा पाण्डे
- ‘म पक्राउ पर्दा छ वर्षको छोरालाई बाटोमा अलपत्र पारिदिए ’ –उमा रेग्मी
- ‘मेरो टाउकोको मूल्य दश हजार तोकिएको थियो’ – विष्णुमाया ओझा
- २०४६ सालमा ‘गाउँको राणा’ देखि सरकारविरुद्ध लड्यौँ
- सन्धान संवाद : खुलामञ्चबाट ३२ वर्षअघिको सम्झना
- ‘म स्वतःस्फूर्त २०४६ सालको आन्दोलनमा सहभागी भएको थिएँ’ –बुद्धलक्ष्मी महर्जन
- ‘प्रहरीबाट बच्न लुकेर बसेको कोठामै प्रहरीले कुटपिट गरे’ –लक्ष्मी कार्की
- ‘२०४६ को जनआन्दोलनमा महिलाहरू मियो नै थिए’ -डा. मीना पौडेल
- ‘मलाई किन नहटाएको भनेर क्याम्पसमा दरबारबाट पत्र आएछ’ –हिसिला यमी
- ‘पञ्चायत सरकारले २०३५ सालमा मेरो टाउकोको मोल तीनलाख तोकेको थियो रे’ –सुशीला श्रेष्ठ
- चैत ३ को आन्दोलन २०४६ को जनआन्दोलनका लागि उर्जा बन्यो -हरिगोविन्द लुईँटेल
- मलाई पनि गोली लाग्यो भन्ने हल्ला चलेछ –सुम्निमा तुलाधर
- ‘चैत ३ मा धर्ना बस्ने सबै सहभागीका लागि कालोपट्टी बनाएँ’ –निशा शर्मा, रङ्गकर्मी
- जनआन्दोलन २०४६ सालको आन्दोलनको समर्थनमा अमेरिकामै आन्दोलन गर्यौँ –डा. मञ्जुला गिरी
- ‘भर्खरै बिहे भएका हामी दम्पती नै आन्दोलनमा लाग्यौँ’ –प्रा.डा. सुधा त्रिपाठी
- ‘हिरासतमा प्रहरीले दुर्व्यवहार गरेको थियो’ – डा. बेञ्जू शर्मा
- जनआन्दोलनमा मजदुर मोर्चाबाट क्रियाशील थिएँ –धनकुमारी सुनार
- परिवर्तनकामी ‘विकासे’ हरूको समूहले लालटिन जुलुस निकाल्यौँ –शान्ता लक्ष्मी श्रेष्ठ
- ‘२०४६ सालमा महिलाहरु उर्लेर आएका थिए’ –कल्याणी शाह
- ‘रुपन्देहीमा महिलाहरुको सहभागिता र योगदान धेरै थियो’ –शान्ता बस्याल
- ‘मोतीदेवी जुझारु, इमान्दार र क्रान्तिकारी भावनाको हुनुहुन्थ्यो’ –अष्टलक्ष्मी शाक्य
- पहिले र अहिले आकाश जमिनको फरक छ (भिडियो सहित) – सीता बिडारी
सन्धान, प्रकाशन मिति २०७९ फागुन १५ गते साेमवार