सन्दर्भ : संसदीय निर्वाचन २०७९
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य छान्नका लागि यही २०७९ मङ्सिर ४ गते निर्वाचन हुँदैछ । देशभरका मतदाताले मतदानस्थलमा गएर मतदान गर्न अब १३ दिन बाँकी छ । यस निर्वाचनमा प्रत्यक्षतर्फ १० प्रतिशतको हाराहारीमा मात्रै महिलाहरूको उम्मेदवारी परेको छ ।
अहिलेका ठुला सबैजसो पार्टीमा स्थापनाकालदेखि नै महिलाहरूको योगदान र सहभागिता रहँदै आएको छ । संसदीय निर्वाचनको इतिहास हेर्ने हो भने २०१५ सालमै एक जना महिला उम्मेदवार भएर संसद् सदस्यमा निर्वाचितसमेत भएको देखिन्छ । २०१५ सालमा जारी भएको ‘नेपाल अधिराज्यको संविधान’ मा संसद् गठनको व्यवस्था गरिएको थियो । सो व्यवस्था अनुसार १०९ सदस्यीय प्रतिनिधिसभा सदस्य निर्वाचन २०१५ साल फागुन ७ गते प्रारम्भ भई विभिन्न चरण हुँदै चैत २८ गते सम्पन्न भएको थियो ।
उक्त संसदीय निर्वाचनमा निर्वाचन क्षेत्र नम्बर ६६ डडेल्धुराबाट नेपाली कांग्रेस उम्मेदवार द्वारिकादेवी ठकुरानी तीन हजार ९०३ मत पाएर निर्वाचित हुनुभएको थियो । यस अनुसार २०१५ सालको संसदीय निर्वाचनमा झन्डै एक प्रतिशत (०.९१ प्रतिशत) महिला निर्वाचित भएको देखिन्छ । संघीय संसद सचिवालयबाट प्रकाशित ‘संसदमा महिला सहभागिता २०१५–२०७४’ पुस्तिकामा द्वारिकादेवी २०१५ फागुन १६ गते निर्वाचित भएको उल्लेख छ ।
‘नेपालको निर्वाचन इतिहास’ मा उल्लेख भए अनुसार, द्वारिकादेवी २०१५ सालको संसदीय निर्वाचनमा एक मात्र महिला उम्मेदवार हुनुहुन्थ्यो । उहाँ नेपालकै पहिलो महिला मन्त्री पनि बन्नुभयो ।
संसदमा महिला सहभागिताको स्थिति केलाउँदा एक प्रतिशतभन्दा कम सङ्ख्यामा भएको उम्मेदवारी र निर्वाचित भएको २०१५ सालदेखि २०७९ सालसम्म आइपुग्दा उम्मेदवार महिलाको सङ्ख्या बल्ल १० प्रतिशतको हाराहारीमा पुगेको भेटिन्छ । यसमा स्वतन्त्र उम्मेदवारी दिएका महिलासमेत रहेका छन् । ठुला भनिएका राजनीतिक पार्टीका तर्फबाट निकै कम महिलाले मात्र उम्मेदवार हुने मौका पाएका छन् ।
अहिले प्रत्यक्षतर्फ नेकपा एमालेबाट ११, नेकपा माओवादी केन्द्रबाट सात, नेपाली कांग्रेसवाट पाँच, नेकपा समाजवादी र राष्ट्रिय जनमोर्चाबाट एक एक गरी २५ जना महिलाले मात्रै उम्मेदवारी दिएको देखिन्छ । तराई मधेसका जनताको अधिकारका लागि स्थापना भएको भनिएका मधेस केन्द्रित ठुला दलबाट त झन् प्रत्यक्षतर्फ महिलाले उम्मेदवार हुनै पाएका छैनन् ।
राजनीतिक तथा सामाजिक परिवर्तनका लागि भएका हरेक आन्दोलनहरूमा महिलाहरू अग्रमोर्चामै रहँदै आएका छन् । तर, मुख्य–मुख्य पदहरूका लागि होस् वा प्रत्यक्ष निर्वाचनमा उम्मेदवार चयन गर्ने बेलामा होस्, पार्टी नेतृत्वले महिलाहरूलाई सकेसम्म सहभागी नै नगराई पन्छाउने गरेको पाइन्छ । राजनीतिकर्मी महिलाहरूको साझा अनुभवजन्य गुनासो छ– नेतृत्वले महिलालाई अवसर नै दिँदैन । कहिले गठबन्धनको नाममा त कहिले ‘जित्ने उम्मेदवारलाई उठाउने नीति’ भन्ने जस्ता बहानावाजी गरेर महिलाहरूलाई वञ्चितीमा पार्ने गरिएको छ । यसैले निर्वाचनमा ठुला पार्टीहरूबाट कमै मात्र महिलाहरू उम्मेदवार भएका हुन् ।
ठुला पार्टीमा महिला उम्मेदवारीको कमीबाट लैङ्गिक समानताको यात्रामा कोरिएको अग्रगमनको बाटो अवरुद्ध हुँदै गरेको सहजै बुझ्न सकिन्छ । साथै, प्रश्न उठ्छ, आधाभन्दा बढी जनसङ्ख्याको सहभागिताको अधिकारलाई बढाउनुपर्ने ठाउँमा झन् खुम्च्याउँदै लगेर मुलुकमा कस्तो खालको लोकतान्त्रिक गणतन्त्रको अभ्यास गर्न खोजिएको हो ? यस खालको अभ्यासले लैङ्गिक समानताको मुद्दालाई महत्त्व नदिएको मात्र छैन, सार्वजनिक जीवनमा महिलाको सम्मानजनक उपस्थितिलाई नकार्दै लैजाने सङ्केत पनि गरेको छ । यसलाई समावेशीको सवालमा ‘काल पल्किएको’ अर्थमा इतिहासले मूल्य निरूपण गर्न नपरोस् ।
गणतन्त्र आइसकेपछि दुई वटा स्थानीय निर्वाचन भए । २०७४ र २०७९ सालमा भएका ती निर्वाचनमा पनि एकदमै कम मात्र महिलाले प्रमुख पदमा उम्मेदवारी दिन पाए । महिला सहभागी हुनुपर्ने कतिपय प्रमुख पदमा त वास्ता नै पनि गरिएन । पछिल्लो समय संसदले उपसभामुख पनि नपाएको अवस्था रह्यो । लामो समय रिक्तता खडा गरी कार्यकाल नै गुजारिएको समेत देखियो । महिला राजनीतिकर्मीप्रति राजनीतिक नेतृत्वले गर्ने यस खालको विभेद र अन्यायपूर्ण व्यवहार कहिलेसम्म ? ‘सन्धान’ ले यही मूल प्रश्नसहित पुराना राजनीतिज्ञ महिलाहरूको अनुभव र पार्टी एवं राजनीतिक सामाजिक आन्दोलनहरूमा महिलाको योगदानलाई प्रस्तुत गर्न थालेको छ । यसै सन्दर्भमा आज हामीसँग हुनुहुन्छ, धनुषा जनकपुर (महेन्द्रनगर) की प्रेममाया श्रेष्ठ :
प्रेममाया श्रेष्ठ २०४६ सालदेखि कम्युनिष्ट राजनीति र सामाजिक अभियानमा क्रियाशील हुनुहुन्छ । २०२६ सालमा जन्मिनुभएकी उहाँ कम्युनिष्ट पार्टीको विचारधारा र प्रशिक्षणबाट प्रभावित भएर राजनीतिमा लाग्नुभयो । उहाँ पञ्चायतकालदेखि नै आफू राजनीतिप्रति सचेत भएको बताउनु हुन्छ । पञ्चायतकालमा महिलाहरूले भोग्न परेको विभेद र हिंसा आफैँले देखेको भएर राजनीतिक सामाजिक अभियानमा लागेको पनि उहाँ स्मरण गर्नुहुन्छ ।
प्रेममाया अहिले नेपाल कम्युनिष्ट पार्टी समाजवादीकी केन्द्रीय सदस्य हुनुहुन्छ । उहाँको विचारमा राजनीति भनेको त्याग, तपस्या, लगनशीलता, सहनशीलता, योगदानसँगै बलिदान हो भने प्राप्ति चाहिँ शून्य हो । समाज परिवर्तनका लागि प्रत्येक व्यक्ति, अझ महिलाहरू राजनीतिमा लाग्नुपर्छ भन्ने उहाँको मान्यता छ । साथै, प्राप्ति र लाभको आशा गर्नु हुँदैन भन्ने सिद्धान्त बोकेपछि मात्रै राजनीतिलाई निरन्तरता दिन सकिन्छ भन्ने ठान्नुहुन्छ । उहाँ अहिलेसम्म कुनै लाभको पदमा पुग्नुभएको पनि छैन । करिब साढे तीन दशकदेखि राजनीति र सामाजिक अभियानमा क्रियाशील हुनुहुन्छ । प्रस्तुत छ, धनुषा जिल्लाको जनकपुर (महेन्द्रनगर) की प्रेममाया श्रेष्ठसँग राजनीति र सामाजिक अभियान, यस्ता अभियानमा लाग्दाको अप्ठ्यारा लगायतका विषयमा सन्धानको तर्फबाट लक्ष्मी बस्नेत र गार्डिका बज्राचार्यले गरेको कुराकानीको सम्पादित अंश :
भिडियो हेर्नुहोस् :
नेपाली राजनीतिमा महिलाका योगदानका थप कथाहरू
- तराई–मधेशमा महिलाको सहभागिता र योगदान महत्त्वपूर्ण थियो –धर्मेन्द्र झा
- ‘म सूचना आदानप्रदानको जिम्मेवारीमा थिएँ’ –डा. बिन्दा पाण्डे
- ‘म पक्राउ पर्दा छ वर्षको छोरालाई बाटोमा अलपत्र पारिदिए ’ –उमा रेग्मी
- ‘मेरो टाउकोको मूल्य दश हजार तोकिएको थियो’ – विष्णुमाया ओझा
- २०४६ सालमा ‘गाउँको राणा’ देखि सरकारविरुद्ध लड्यौँ
- सन्धान संवाद : खुलामञ्चबाट ३२ वर्षअघिको सम्झना
- ‘म स्वतःस्फूर्त २०४६ सालको आन्दोलनमा सहभागी भएको थिएँ’ –बुद्धलक्ष्मी महर्जन
- ‘प्रहरीबाट बच्न लुकेर बसेको कोठामै प्रहरीले कुटपिट गरे’ –लक्ष्मी कार्की
- ‘२०४६ को जनआन्दोलनमा महिलाहरू मियो नै थिए’ -डा. मीना पौडेल
- ‘मलाई किन नहटाएको भनेर क्याम्पसमा दरबारबाट पत्र आएछ’ –हिसिला यमी
- ‘पञ्चायत सरकारले २०३५ सालमा मेरो टाउकोको मोल तीनलाख तोकेको थियो रे’ –सुशीला श्रेष्ठ
- चैत ३ को आन्दोलन २०४६ को जनआन्दोलनका लागि उर्जा बन्यो -हरिगोविन्द लुईँटेल
- मलाई पनि गोली लाग्यो भन्ने हल्ला चलेछ –सुम्निमा तुलाधर
- ‘चैत ३ मा धर्ना बस्ने सबै सहभागीका लागि कालोपट्टी बनाएँ’ –निशा शर्मा, रङ्गकर्मी
- जनआन्दोलन २०४६ सालको आन्दोलनको समर्थनमा अमेरिकामै आन्दोलन गर्यौँ –डा. मञ्जुला गिरी
- ‘भर्खरै बिहे भएका हामी दम्पती नै आन्दोलनमा लाग्यौँ’ –प्रा.डा. सुधा त्रिपाठी
- ‘हिरासतमा प्रहरीले दुर्व्यवहार गरेको थियो’ – डा. बेञ्जू शर्मा
- जनआन्दोलनमा मजदुर मोर्चाबाट क्रियाशील थिएँ –धनकुमारी सुनार
- परिवर्तनकामी ‘विकासे’ हरूको समूहले लालटिन जुलुस निकाल्यौँ –शान्ता लक्ष्मी श्रेष्ठ
- ‘२०४६ सालमा महिलाहरु उर्लेर आएका थिए’ –कल्याणी शाह
- ‘रुपन्देहीमा महिलाहरुको सहभागिता र योगदान धेरै थियो’ –शान्ता बस्याल
- ‘मोतीदेवी जुझारु, इमान्दार र क्रान्तिकारी भावनाको हुनुहुन्थ्यो’ –अष्टलक्ष्मी शाक्य
- पहिले र अहिले आकाश जमिनको फरक छ (भिडियो सहित) – सीता बिडारी
सन्धान प्रकाशन मिति : २०७९ कात्तिक २१ गते, साेमवार