Home Insight बोलेर मात्र होइन काम नै गरेर पनि देखाएँ

बोलेर मात्र होइन काम नै गरेर पनि देखाएँ

43
0

सन्धान संवाद शृङ्खला १२

कार्यकाल २०७४–२०७९ साललाई फर्किएर हेर्दा पालिकाका सारथी महिलाहरूको लहरमा देखापर्ने नाम हो, रेणु दाहाल । उहाँ देश सङ्घीय संरचनामा रूपान्तरण भएपछि भएको पहिलो स्थानीय तह निर्वाचनमा साबिक प्रदेश नम्बर ३ स्थित चितवन जिल्लाको भरतपुर महानगरपालिका प्रमुख निर्वाचित हुनुभयो । २०७६ फागुन १७ मा बागमती प्रदेश नाम राखिएको उक्त प्रदेशका ११९ स्थानीय तहबाट पाँच महिला पालिका प्रमुख/अध्यक्षमा निर्वाचित भएका थिए ।

निर्वाचितमध्ये एक हुनुहुन्थ्यो, रेणु । देशभरकै छ महानगरपालिकामा प्रमुखमा निर्वाचित उहाँ एक मात्र महिला प्रमुख हुनुहुन्थ्यो । उहाँ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट चुनावी मैदानमा उत्रिएर ४३ हजार १२७ मत प्राप्त गरी विजयी हुनुभएको थियो । महानगरपालिका प्रमुखका लागि भएको निर्वाचनमा कुल १४ जनाले उम्मेदवारी दिएका दिएका थिए । २०७४ वैशाख ३१ गते भएको सो निर्वाचनमा एक लाख १२ हजार ८९७ मत खसेकोमा सदर मतको सङख्या एक लाख ११ हजार ४७३ थियो । निर्वाचनका लागि उम्मेदवारी दिँदा उहाँ ४१ वर्षको हुनुहुन्थ्यो ।

भरतपुर महानगरपालिका वडा नम्बर १४, चितवन बस्ने रेणुको राजनीतिक यात्राको सुरुवात २०५१ सालमा भयो । स्कुलको पढाइ सकिनेबित्तिकै भूमिगत भएर उहाँ राजनीतिमा लाग्दा जनयुद्ध सुरु भएको थियो । पार्टी केन्द्रीय सदस्य र अखिल नेपाल महिला संघ (क्रान्तिकारी को केन्द्रीय महासचिव रहेकी रेणुका लागि राजनीतिको मार्ग रोज्नुको कारण थियो, समाज परिवर्तन र जनताका लागि काम गर्नु ।

आफ्नो राजनीतिक यात्रा २०५१ सालबाट सुरु भए पनि रेणुलाई २०४६ सालको आन्दोलनताका विद्यालयमा तालाबन्दी हुँदा आफू विरोध सभाहरूमा गएको, कार्यक्रमस्थलमा झडप हुँदा चप्पल छाडेर भागेको, जनयुद्धमा सहभागी भएर युद्ध लडेको सम्झना छ ।

रेणुलाई स्थानीय सरकारको नेतृत्वमा पुर्‍याउने मूल आधार बन्यो, नेपालको संविधान । २०७२ सालमा जारी सो संविधानले मुलुकलाई सङ्घीय संरचनामा रूपान्तरण गर्‍यो । २०८१ असोज ३ गते संविधान दिवसको सन्दर्भ पारेर हामीले ‘सन्धान संवाद शृङ्खला’ अन्तर्गत ‘फर्किएर हेर्दा : पालिकाका सारथी महिलाहरू’ स्तम्भको सुरुवात गरेका थियौँ । सोही दिनदेखि एउटा बिहिवार संवाद र अर्को बिहिवार रिपोर्ट पर्ने गरी हरेक हप्ता पालिकाका सारथी महिलाहरूसित सम्बन्धित सामग्री प्रस्तुत गर्दै आएका छौँ । प्रस्तुत सामग्री ‘फर्किएर हेर्दा : पालिकाका सारथी महिलाहरू ’ स्तम्भको संवाद खण्ड हो ।

मुलुक सङघीय संरचनामा गइसकेपछि तीन चरणमा स्थानीय तहको निर्वाचन भयो । पहिलो चरणमा २०७४ वैशाख ३१ गते ३४ जिल्लाका २८३, दोस्रो चरणमा २०७४ असार १४ गते ३५ जिल्लाका ३३४ र तेस्रो चरणमा २०७४ असोज २ गते आठ जिल्लाका १३६ गरी कुल ७५३ स्थानीय तहका लागि निर्वाचन भएको थियो ।

नेपालकै पहिलो निर्वाचन भने २००४ जेठ २९ गते भएको थियो । काठमाडौं म्यूनिसिपलिटीको उक्त निर्वाचनमा महिलाहरूले उम्मेदवारी दिन त के भोट खसाल्न पनि पाएका थिएनन् । महिलाहरूलाई मताधिकार नै दिइएको थिएन । देशकै पहिलो निर्वाचन भएको छ वर्षपछि २०१० सालमा अर्को निर्वाचन भयो । त्यस निर्वाचनमा महिलाहरूले मताधिकार मात्र नभएर उम्मेदवारीको अधिकारसमेत पाए ।

मताधिकार पाएको साढे छ दशक हुनै लाग्दा २०७४ सालमा भएको स्थानीय निर्वाचनमा ५७ हजार ८४३ महिला चुनावी मैदानमा नै उत्रिए । तीमध्ये १४ हजार ३५१ महिला पालिकाका विभिन्न पदहरूमा निर्वाचित पनि भए । स्थानीय तह निर्वाचनमा महिलाको कुल प्रतिनिधित्व ४०.९५ प्रतिशत रह्यो । यत्तिको प्रतिनिधित्व वैधानिक प्रावधानको कारण सम्भव भएको थियो । त्यति हुँदाहुँदै समग्रमा महिलाहरूले पाउनुपर्ने जति महत्त्व र अधिकार अझै पाएनन् ।

देशका कुल ७५३ स्थानीय तहका प्रमुख/अध्यक्ष पदका लागि भएको निर्वाचनमा सात महिला नगरपालिका प्रमुखमा र ११ महिला गाउँपालिका अध्यक्षमा निर्वाचित भए । यसरी जम्मा १८ महिलाले मात्र पालिका प्रमुख वा अध्यक्षमा निर्वाचित भएर स्थानीय सरकारको नेतृत्व गर्ने अवसर पाए ।

‘स्थानीय तह निर्वाचन ऐन, २०७३’ मा दफा १७ को उपदफा ४ मा उम्मेदवारको मनोनयनपत्र पेस गर्दा दलले अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुखमध्ये ५० प्रतिशत महिला उम्मेदवार रहने गरी मनोनयनपत्र पेस गर्ने व्यवस्था मिलाउनुपर्ने प्रावधान छ । निर्वाचनमा पालिकाको उपप्रमुख/उपाध्यक्ष पद महिलाकै लागि तोकिए जस्तो गरी उम्मेदवारी थमाइयो ।

कुल १५०६ स्थानमा पुरुष ७८८ हुँदा महिला ७१८ जना विजयी भए । परिणाममा महिलाको सम्भाव्य प्रतिनिधित्व पनि ३५ स्थानले कम हुन पुग्यो । यसले ५० प्रतिशतको उम्मेदवारी प्रावधानले मात्रै महिलालाई न्याय हुन नसक्ने कुराको सङ्केत पनि दियो । यस्तो अवस्थामा पालिकाको नेतृत्वमा उम्मेदवार बनेर निर्वाचित हुन पुगेका १८ महिलाहरू सामान्य पक्कै थिएनन् । तिनैमध्ये एकमा रेणु पनि पर्नुभयो ।

नयाँ शासकीय स्वरूप, नयाँ अभ्यास, वैधानिक तथा भौतिक पूर्वाधारहरूको अपर्याप्तता/अभाव जस्ता कारणले सबै पालिकामा एक प्रकारको अन्योल थियो । त्यस्तो बेला पुरुषहरूकै बाहुल्य रहेको संरचनामा नवनिर्वाचित प्रमुख/अध्यक्ष बनी नेतृत्वदायी भूमिका निर्वाह गर्नु महिलाका लागि झनै चुनौतीपूर्ण थियो । नागरिकका अपेक्षा चुलिएका थिए । रेणुका सामु पनि चुनौती चुलिएका थिए ।

विभिन्न चुनौतीहरूका बिचमा महानगरपालिका प्रमुखको जिम्मेवारी निर्वाह गरी दायित्व पूरा गर्दाको रेणुको अनुभव कस्तो रह्यो त ? विशेष गरी उहाँको नेतृत्वमा पालिकाले हासिल गरेका उपलब्धि के थिए ? उहाँको नेतृत्वशैली, बाधाअवरोध पन्छाउने उपाय के कस्ता थिए ? आफूले आफ्नो कार्यकाल र आफैँलाई फर्किएर हेर्दा उहाँले के पाउनुभयो ? भावी जनप्रतिनिधिलाई उहाँका सुझाव के के थिए ?

द स्टोरी किचेनले तयार पारेको निर्देशिकाका आधारमा मूलतः यी र यस्ता प्रश्नका साथ ‘सन्धान’ को लागि फेलो पत्रकार सविता श्रेष्ठले रेणुसँग उहाँको कार्यकालको अन्तिमतिर टेलिफोन कुराकानी गर्नुभएको थियो । आजको शृङ्खलामा प्रस्तुत छ, रेणु दाहालसँग गरिएको सोही कुराकानी ।

करिब पाँच वर्षको कार्यकालमा तपाईंले गरेका एकदमै महत्त्वपूर्ण कामबाट प्राप्त उपलब्धि के के हुन् भन्ने लाग्छ ?

विकासको पहिलो आधार सडक पूर्वाधार हो । देश विदेश जहाँ पनि यो अभ्यास भइरहेको छ । सडक बनाउँदा विकास गर्न सहज हुन्छ भनेरै यो पाँच वर्षको अवधिमा महानगरपालिकाले पहिलो र ठुलो उपलब्धिको रूपमा ६१० किलोमिटर कालोपत्रे र ४५० किलोमिटर सडक ग्राभेल गरेको छ । महानगरपालिकालाई गुरुयोजना बनाएर ८८ किलोमिटरको रिङरोडले जोड्दै छौँ । यसमा ४४ किलोमिटर निर्माण कार्य अगाडि बढिसकेको छ ।

महानगरपालिकामा अन्तर्राष्ट्रिय स्तरकोे सिटी हल निर्माण अघि बढेको छ । चितवनलाई खेलकुदको हब बनाउन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम सुरु भएको छ । यसको निर्माणलाई सरकारको स्वामित्वमा लिएर सम्पन्न गर्ने छौँ ।

नारायणी नदी किनार क्षेत्रमा बसोबास गर्दै आएका नगरवासीलाई नदी कटान र बाढीको जोखिम र समस्याबाट सधैँका लागि जोगाउन केन्द्र सरकारसँगको समन्वयमा झन्डै पाँच अर्ब रुपैयाँ बजेटको सुनिश्चितता गरेर काम अघि बढिसकेको छ । यसले नारायणी नदीबाट हुने जोखिम सदाका लागि अन्त्य गर्नेछ ।

यसबाहेक महानगरपालिकाको प्रशासनिक भवन, सार्वजनिक निजी साझेदारी मोडलअन्तर्गत अन्तर्राष्ट्रिय स्तरको ‘मल्टि कम्प्लेक्स’ भवन निर्माण सुरु भएको छ । यस बिचमा वडा कार्यालयका भवन, स्वास्थ्य केन्द्रका पूर्वाधारहरूसमेत तयार गरेका छौँ ।

नीतिगत तहमा भएका कामको कुरा गर्ने हो भने हामीले स्थानीय सरकार सञ्चालन ऐनले दिएको क्षेत्राधिकारभित्र रहेर महानगरपालिकामा आवश्यक २३ ऐन, ६२ कार्यविधि, पाँच नियमावली, १० निर्देशिका र १० वटा मापदण्ड बनाइसकेका छौँ । महानगरपालिकामा जति पनि विकास निर्माणका पूर्वाधारहरू बनेका र बन्न लागेका छन् ती सबै महानगरपालिकाको आन्तरिक आयबाट मात्र सम्भव थिएन । प्रदेश, केन्द्रसँगको नियमित समन्वयबाट काम गरेका छौँ ।

महानगरपालिका हुनका लागि एक अर्ब आन्तरिक आय हुनुपर्ने प्रावधान रहेको छ । हामी आउनुअघि २५/३० करोड रुपैयाँ आन्तरिक आय थियो । हामीले हाम्रो कार्यकालमा बल्ल एक अर्ब आन्तरिक आय कटाउन सफल भएका छौँ । बजेट विनियोजन, व्यवस्थापन क्षेत्रमा हामीले कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार, खानेपानी, सिँचाइलगायत क्षेत्रलाई प्राथमिकता दिएर सन्तुलित ढङ्गले बजेट विनियोजन गरेर काम गर्दै आएका छौँ । समानुपातिक विकासको मोडल र खाकाअनुसार काम गरेकाले सबै क्षेत्रमा प्रगति र सफलता हासिल गरेका छौंँ ।

महिला सवालमा भएका विशेष निर्णय र कामको कुरा गर्ने हो भने हामीले निर्वाचित भएर पद बहाल गर्दाखेरि पहिलो निर्णय नै महिलाकै क्षेत्रमा गरेका थियौँ । भरतपुर अस्पतालमा बहिरङ्ग (ओपिडी) सेवाको टिकट शुल्क महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएकाहरूलाई निःशुल्क गर्ने निर्णय गरेर मैले यहाँको नेतृत्वको काम सुरु गरेको थिएँ ।

सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा र विद्यालयमा पढ्ने छात्रालाई मेयरसँग छात्रा कार्यक्रममार्फत साइकल वितरण भएको छ । यसले स्कुलको माथिल्लो तह पढ्दै गरेका विद्यार्थीलाई पढाइमा प्रेरित गर्दै निरन्तरता दिन सहयोग पुर्‍याएको छ ।

महिलासँग मेयर कार्यक्रम पनि सञ्चालन भैरहेको छ । यस कार्यक्रमबाट हामीले महिलालाई दक्ष, आत्मनिर्भर र स्वावलम्बी बनाउन र क्षमता अभिवृद्धि गर्न आवश्यकताअनुसारका सिप विकासका तालिम र सामग्री उपलब्ध गराउँदै आएका छौंँ ।

यस्ता उपलब्धि प्राप्त गर्न तपाईंले आफूलाई कसरी तयार गर्नुभयो ?

त्यति धेरै तयारी, त्यस्तो केही गरिएको थिएन । ममाथि ‘प्रचण्डपुत्री’ भन्ने आरोप धेरै नै आउने गथ्र्यो । प्रचण्डपुत्रीको रूपमा टिकट लिएर सजिलै नेतृत्वमा आएको भन्ने खालका टीकाटिप्पणी भएका थिए । राजनीतिक पृष्ठभूमिको परिवारको सदस्य भएकाले सानैदेखि राजनीतिमा मेरो चासो थियो । स्कुलको पढाइ सक्नासाथ भूमिगत भएर हिँडेको थिएँ ।

मैले गरेर देखाउनुपर्छ, मैले गर्न सक्छु भन्ने सङ्कल्प मात्र थियो, ममा केही स्वार्थ थिएन । त्यही सङ्कल्पअनुसार जनताको लागि, भरतपुरको समृद्धिका लागि सबैसँग समन्वय गर्दै अगाडि बढ्दै जाँदा सबैले साथ दिने स्थिति बन्यो । सङ्कल्पका साथ अघि बढ्दा सफल भइन्छ भन्ने थियो, मेरो हकमा त्यही भयो ।

राजनीतिक आग्रह, पूर्वाग्रहभन्दा माथि उठेर सबैको साथ र सहयोग लिन मैले गरेको समन्वयले नै मलाई यहाँसम्म ल्याएको हो । समग्र विकासलाई नै अर्जुनदृष्टि ठानेर काम गरेँ । प्रदेश र केन्द्रसँग पनि मैले सकेको समन्वय गर्दा सोचेको भन्दा बढी बजेट ल्याउन सफल भयौँ । चाहे त्यो सडकमा होस्, चाहे स्वास्थ्य, कृषि, पर्यटन, शिक्षामा नै किन नहोस्, सबै क्षेत्रमा तहगत आधारमा माथिल्ला सरकारसँग समन्वय गर्न सफल भयौँ ।

इमान्दार भएर अघि बढ्दा जनताले पनि साथ दिनुभयो । मितव्ययी र पारदर्शी ढङ्गबाट जनउत्तरदायी भएर काम गर्दा उपलब्धि हासिल गर्न सफलता मिलेको भन्ने मलाई लाग्छ ।

यस्ता उपलब्धिमूलक काम गर्नुपर्छ भन्ने तपाईंलाई किन लाग्यो ?

देशको परिवर्तन र जनताको अधिकार स्थापित गर्न क्रान्तिमा होमिएको थिएँ । मर्न, बलिदान दिन तयार भएर जनयुद्धमा सहभागी भएको पृष्ठभूमिबाट म राजनीतिमा आएको हुँ । जनयुद्धबाट बाँचेर आइयो, यो हाम्रो लागि नाफाको जिन्दगी हो । जहिले पनि नेताका छोराछोरीहरू भन्ने आरोप आउने भएकाले आफूले गर्ने कामबाट, व्यवहारबाट त्यस्ता आरोपलाई मेटाउनुपर्छ भन्ने लागिरहन्थ्यो ।

काम गरेर केही उदाहरण र उत्प्रेरणा दिन सकौँ भन्ने थियो । नेताका छोराछोरी पनि जनताका सेवक भएर काम गर्न लागिपर्छन् भनून् भन्ने सोच थियो । जनताप्रति जिम्मेवार भएकाले हिजो जनताका लागि मर्न पनि तयार भयौँ र आज जनप्रतिनिधि हुँदा यहाँका जनताका समस्यामा केन्द्रित हुनुपर्छ भनेरै पालिकाको नेतृत्वमा रहेर कामहरू गरियो ।

तपार्ईंले गरेका कामबाट स्थानीय नागरिकको जीवनमा के परिवर्तन भएको छ जस्तो लाग्छ ? कसैले तपाईंलाई केही भनेको पनि छ कि ?

मेयर बनिसकेपछि मैले जनताका लागि नै भनेर काम गरेको छु । बाटोघाटो बनाउनु भनेको जनताको जीवन सहज बनाउनु पनि हो । यसले समयको बचत र आवतजावतमा सहजता भएको छ ।

चितवनको अर्थतन्त्रको मेरुदण्ड भनेकै कृषि हो । महानगरमा कृषि र पशुपालन पेसा गर्ने किसानलाई प्रोत्साहित गर्ने कार्यक्रम ल्याएका छौँ । कृषिमा अनुदान, यान्त्रीकरण, औजारीकरणमा जोड दिँदा पक्कै पनि राम्रो प्रभाव पारेको छ ।

शिक्षामा प्राथमिकता दिँदा महानगरका सरकारी विद्यालयमा विद्यार्थी बढेका छन् । करीब सात हजार विद्यार्थी बोर्डिङ छाडेर सरकारी स्कुलमा फर्किएका छन् । छात्रवृत्ति, विद्यालयलाई स्कुल बस आदिमा जोड दिँदा शिक्षामा पनि राम्रो प्रभाव पारेको छ ।

स्वास्थ्यमा एक वडा एक स्वास्थ्यचौकीबाट सेवा दिइराखेका छौँ । महानगरपालिकामा महानगरअन्तर्गतका ४३ वटा स्वास्थ्य संस्था छन् । यहाँको आधारभूत आवश्यकता र जनताका समस्यालाई प्राथमिकता दिएर काम गर्दा आमजनताले प्रत्यक्ष लाभ लिएका छन् । जनताको जीवनस्तर उठेको छ । खानेपानीमा मात्र पौने चार अर्बका आयोजना अगाडि बढेका छन् ।

अहिलेसम्म मेयरले यस्तो बेथिति गरेको भनेर औँला ठड्याएर खबरदारी कसैले गरेका छैनन् । भेदभाव गरेको भन्ने खालका आरोपहरू पनि सुनेको छैन । जे गरेको छ, राम्रो गरेको छ, सकेको कोसिस गरेर मेयरले काम गरेको छ भन्ने गरेका छन् ।

नेतृत्वमा आउँदा तपाईंलाई केही कुराको डर थियो कि ?

मेयरको नेतृत्वमा यहाँ आउँदाखेरि म बिल्कुल नयाँ थिएँ । स्कुलेजीवनमै भूमिगत भएर काम गरेकाले चितवनमै जन्मिएर हुर्किए पनि यहाँका जनताका लागि म नौलो थिएँ । भूमिगत भएपछि म जिल्लाबाहिर नै भएँ ।

जनताको घरदेखि सबैभन्दा नजिकको सरकार अर्थात् स्थानीय सरकारमा निर्वाचित भइसकेपछि ममाथि जनताका हरेक खालका समस्यालाई समाधानको बाटोतर्फ लैजाने चुनौती थियो । स्थानीय जनसमुदायसँग मेरो त्यति धेरै भेटघाट, घुलमिल थिएन ।

करीब २० वर्षको अन्तरालपछि म मेयरको जिम्मेवारी लिएर जिल्लामा फर्किएको थिएँ । अब के हुने हो भन्ने थियो । यहाँको परिवेश, यहाँको भूगोल, यहाँको मनोविज्ञान कस्तो हुने हो भन्ने थियो । जनताका आवश्यकता के के छन् भन्ने विषयमा म पोख्त थिइनँ ।

म यहाँ चुनावको निकटको समयमा आएको थिएँ । यहाँ आउने क्रममा ‘एकै पटक मेयरमा आई’ भन्ने खालका टीकाटिप्पणी पनि सुन्नुपर्‍यो । अब यसले गर्न सक्ने हो वा होइन भन्ने खालका जिज्ञासा र खुलदुली आममानिसमा थिए ।

नेतृत्वमा आइसकेपछि जनतासँग समन्वय र सहकार्य गर्नुपर्ने चुनौती थपिएका थिए । मलाई यहाँको परिवेश, जनताको मनोविज्ञान र आवश्यकता बुझ्न केही समय लाग्यो । केही समय त म रनभुल्ल जस्तो पनि भएँ ।

यस्ता चुनौती र रनभुल्ल पर्नुपर्ने अवस्थालाई हटाउन तपाईंले के के गर्नुभयो ?

मेयरका हिसाबले कामप्रति प्रतिबद्ध भएपछि यस्ता चुनौती र समस्यालाई पार लगाउँदै अघि बढ्न सकिन्छ भन्ने मलाई लाग्यो । रनभुल्लको अवस्थालाई हटाउन सुरुदेखि नै अध्ययन, छलफल, समन्वय र सहकार्यमा जोड दिएँ ।

देशका छ वटा महानगरपालिकामध्ये अरू सबै ठाउँमा पुरुषको नेतृत्व भएकाले पनि होला, बढी चर्चा चाहिँ भरतपुरकै भयो । अहिले पनि अरू पुरुष मेयरहरूभन्दा महिला मेयर भएको ठाउँमा चर्चा धेरै हुने गरेको छ । मलाई ‘महिलाले अवसर पाए गर्न सक्ने रैछ’ भन्ने कुरा पुष्टि गर्नु थियो ।

सबै राजनीतिक दलले पनि महिलालाई नेतृत्व दिँदाखेरि सक्षम छन् र पुरुषभन्दा कम छैनन् भन्ने कुराको ‘जस्टिफाइ’ खोजेका थिए । मलाई त्यो कुरा बोलेर होइन, गरेरै देखाउन मन थियो । यसैले जनताको लागि रातदिन नभनेर कुनै पुरुष मेयरभन्दा पछि नपरी आफ्नो जिम्मेवारी पूरा गरेँ । बोलेर मात्र हैन गरेर पनि देखाएँ भन्ने लाग्छ ।

स्थानीय सरकार प्रमुख भएर काम गर्दा बाधाअड्चन पनि आइपरे कि ?

सङ्घीयतापछिको पहिलो स्थानीय सरकार भएकाले हामीले कानुनी जटिलताहरूलाई झेल्दै अघि बढ्नुपर्ने अवस्था थियो । बनिबनाउ संरचनामा स्थानीय सरकार चलाउनु र बिल्कुल नयाँ संरचनामा कामको थालनी गर्नुमा धेरै फरक हुन्छ ।

हामी आफैँले स्थानीय नीतिनियम, ऐनहरू बनाउनुपर्ने थियो । जनताका अपेक्षा धेरै थिए तर स्रोत साधन सीमित थियो । जनताको तीव्र विकासको चाहनालाई लय समातेर बाटो बनाउनु पनि गाह्रै थियो । त्यसमाथि महिला भएकै कारणले मलाई ‘यसले गर्ली या नगर्ली’, ‘गर्न सक्ली या नसक्ली’ भनेर अलिकति ‘मिनिमाइज’ गरिएको पनि पाएँ ।

पितृसत्तावादी समाज हो नि त ! महिला भएपछि जो कोहीलाई पनि अलिकति कम आँक्ने खालको माहोल थियो । त्यस्तो माहोलमा गरिने ‘जजमेन्ट’ मा म पनि परेको थिएँ ।

यस्ता चुनौती र समस्या आउनाका कारण के थिए होलान् ?

सबैभन्दा ठुलो कारण त समाजमा विद्यमान पितृसत्तात्मक सोच नै हो । यही कारण नै महिलालाई कम ठान्ने, जिम्मेवारी पूरा गर्नै सक्दिन भन्ने खालको सोचाइ आउने हो ।

हिजोको एउटा परिस्थितिमा मेयर पदमा पुरुष हुँदा जहाँ र जति बेला पनि जान सक्ने हुन्छ भन्ने थियो । कतिपयका लागि साँझतिर र बेलुका अबेरसम्म रेष्टुरेन्टतिर बस्ने काम त महिलाबाट हुँदैन भन्ने पनि भयो । त्यो काम हुँदा पनि हुँदैन नि त !

अर्को कारण हो, सङ्घीयतापछिको पहिलो स्थानीय सरकार हुनु । यही भएकाले पनि धेरैजसो समस्या आएका हुन् । नयाँ ढङ्गले स्थानीय सरकारको जग बनाउने समय थियो त्यो । मलाई लाग्छ, स्थानीय सरकारमा अब आउनेहरूले त्यो तहको समस्या भोग्नु पर्दैन ।

चुनौती र समस्या हटाउन के कस्ता रणनीति लिनुभयो ?

सबैभन्दा पहिले त पितृसत्तावादी सोचबाट आफूलाई टाढै राखेँ । हामी महिला कमजोर होइनौँ र छैनौँ भन्ने सोच राखेँ । पहिलाका महिलालाई मन्त्री बन्न पनि निकै सकस थियो तर गणतन्त्रको स्थापना भइसकेपछि प्रमुख संवैधानिक पदहरू र तिनको नेतृत्वमा समेत महिला पुगेका छन् भन्ने कुरामा ध्यान दिएँ ।

इतिहास रचिएको छ । अवसर पाउँदा महिलाले गर्न सक्ने रहेछन् भनेर देखाएका छन् । यसैले हामी महिलाहरू वास्तवमा कमजोर होइनौँ, अवसरबाट वञ्चित भएका मात्र हौँ भन्ने कुरालाई मनमा राखेँ । त्यसपछि सबै पक्षसँग समन्वय गर्ने, सबैसँग शालीन ढङ्गबाट प्रस्तुत हुने, आक्रामक नहुने, राजनीतिक आग्रह, पूर्वाग्रह र भेदभाव नराखी काम गर्दै गएँ ।

सकेसम्म आफू संयमित भएर काम गरेँ । पालिकाको विकास गर्ने हो भने त सबै मिलेर र जुटेर मात्र गर्नुपर्छ भन्ने सङ्कल्प नै मेरा बाधा पन्छाउने रणनीति थिए । हामी फुटेर एक्लाएक्लै अघि बढ्न सम्भव छैन भन्ने कुराको पाठ सिकेरै मैले आफ्नो काम गरेँ ।

काममा मेरो निरन्तर खटाइ हुँदाखेरि सबैले त्यसलाई राम्रो मूल्याङ्कन गर्नुभयो । महिला भइकन पनि यत्तिको खटेको छ भन्नुहुन्थ्यो । त्यसले पनि मलाई आफूले सहानुभूति पाए जस्तो लाग्थ्यो । काममा हौसला मिले जस्तो हुन्थ्यो । सकारात्मक सोचको शक्ति मलाई मिल्थ्यो ।

समस्या र चुनौतीलाई हटाउने त्यस्तो सिप कसरी सिक्नुभयो ? केही उदाहरण भए त्यो पनि बताइदिनुस् न !

केही विषयमा त म पहिले नै तयार भइसकेको थिएँ । अरू धेरै विषयमा भने काम गर्दै जाँदा समस्या आइपरेका थिए । तिनलाई समाधान गर्ने क्रममा थप सिकाइ पनि भयो । जस्तो कि, म पहिलो संविधानसभाको सदस्य भएको थिएँ । त्यसभन्दा अघि पनि मैले पार्टीका विभिन्न भूमिकामा रहेर काम गरिसकेको थिएँ ।

जनयुद्धमा निर्वाह गरेको भूमिका, रोल्पा जिल्लामा पार्टीको सह–इन्चार्जसमेत भएर काम गरेको र प्रवासमा अल इन्डिया वुमन एसोसियसनमा समेत महासचिव र अध्यक्ष भएर काम गरेको अनुभव मसँग थियो । मेयरमा उम्मेदवार भएर चितवन आउनुअघिसम्म म काठमाडौँ जिल्लामा पार्टीको सचिव भएर काम गर्दै थिएँ ।

अहिले मेयरसँगै पार्टीको जिल्ला इन्चार्जको रूपमा काम गरिरहेको छु । पार्टीमा र महानगरको नेतृत्वमा कुशलतापूर्वक जिम्मेवारी पूरा गर्दै गर्दा तल्लो तहदेखि आएर माथिल्लो तहसम्म पुगेको हुँ । सोहीअनुरूप काम पनि गरेको छु ।

जिम्मेवारी पूरा गर्नु भनेकै मेरो निरन्तरको खटाइबाट प्राप्त भएको सिप पनि हो । म कहिले पनि रोकिइनँ । निरन्तररूपमा राजनीतिमा अघि बढिराखेको छु । यसबाट निरन्तर सिकाइ पनि भइरहेको छ ।

तपाईंले पालिकाको नेतृत्व कसरी गर्नुभयो ? कस्तो नेतृत्व शैली अपनाउनुभयो र किन ?

महानगरपालिकामा आइसकेपछि सबैभन्दा पहिले महानगरका बारेमा जानकारी लिएँ । यहाँका समस्या र आवश्यकता बुझेँ र सोहीअनुसारका योजना अघि बढाएँ । समन्वय र सहकार्यमा गर्नुपर्ने कामहरूलाई अघि बढाएँ ।

मसँग त्यस्तो विशेष प्रकारको नेतृत्व शैली त केही थिएन । सहकार्य, समन्वय र सरल शैलीले नै मैले नेतृत्व गरेँ र गरिराखेको छु । यसबाटै उपलब्धि र सफलता मिल्छ भन्ने लाग्छ ।

नेतृत्वको यस्तो शैली तपाईंले कहाँबाट सिक्नुभयो ? कोबाट प्रेरित हुनुहुन्छ ?

मैैले जुनरूपमा नेतृत्व गरिराखेको छु, त्यसको सिकाइ मेरो मात्र नभई पार्टीको पनि अभिभावक रहनुभएका मेरा बुबाबाटै प्राप्त भएको हो । उहाँको जस्तै सरल नेतृत्व शैलीमा महानगरका काम अघि बढाउने प्रयास मैले गरेँ, गरिरहेको छु ।

सबैसँग सन्तुलित खालको व्यवहार गरी आफ्नो भूमिका कायम गर्ने, समन्वय र सहकार्यबाटै निकास दिने जस्ता सिप बुबाकै देन हुन् । सहमति, सहकार्य र एकताका लागि आफूलाई केन्द्रमा राखिराख्ने उहाँको जुन तौरतरिका छ, सायद त्यसैको छाप ममा पनि परेको होला ।

बुबाकै ‘स्कुलिङ’ बाट हुर्किएको र आफूमा अलिकता समन्वयकारी सोच र शैली भएकाले पनि मैले महानगरको नेतृत्व गर्न सकेँ भन्ने लाग्छ ।

यस्तो नेतृत्व शैलीले तपाईंलाई आफ्नै विषयमा नयाँ कुरा पनि सिकायो कि ?

हिजोको जनयुद्धको बेलादेखि आजको सङ्घीय लोकतन्त्रात्मक गणतन्त्रसम्म हेर्दा मैले आफूलाई फरक–फरक भूमिकामा रहेर काम गरेको पाउँछु । जनयुद्धको समयमा एकदमै कहालीलाग्दो अवस्थाबाट अघि आइएको थियो । युद्धमा कि मरिन्छ कि बाँचिन्छ भन्ने मात्र थियो । कुनै कुरामा निश्चितता थिएन । जेसुकै हुनसक्थ्यो ।

विभिन्न समयमा विविध भूमिका निर्वाह गरेको मलाई भरतपुरको मेयरको भूमिका पनि फरक नै थियो । यी फरक–फरक खालका जिम्मेवारीको अभ्यासमा पनि मैले आफूलाई एउटै रफ्तार र स्तरमा उभ्याएँ र जिम्मेवार भएर भूमिकाहरू निर्वाह गरेँ । यसो गर्दा सबै ठाउँमा सफल भइने रहेछ भन्ने सिकाइ पनि भयो ।

तपाईंको सिकाइको यो तौरतरिका र नेतृत्व शैलीले सहकर्मीहरूलाई कस्तो प्रभाव पारेको होला ? केही उदाहरण छन् कि ?

सहकर्मीहरूमा सकारात्मक प्रभाव परेको छ भन्ने लाग्छ । आफू इमानदार हुने कुरा, सङ्कल्प लिएर अगाडि बढ्ने कुरा, जनतालाई सर्वोपरि ठान्ने र कामलाई प्राथमिकता दिने शैलीले उहाँहरूलाई पक्कै ऊर्जा दिएको छ । ‘कसरी सकेको होला, बिहानदेखि बेलुकैसम्म खटिन’ भन्ने पनि सुन्ने गरेको छु ।

केही समयअघि एक जना जिम्मेवार संस्थाको सरकारी हाकिमले मलाई भन्नुभएको थियो– कार्यालयमा कहिलेकाहीँ एकदमै धेरै खटाइ हुँदाखेरि ओहो आज त एकदमै थाकियो भन्ने लागेको बेला झल्याँस्स म भरतपुरको मेयरलाई सम्झिन्छु । मेरो थकान आफसे आफ हराउँछ ।

सरकारी हाकिमको यो कुरा सम्झिँदै गर्दा मलाई मसँगै रहेर काम गर्नेहरूमा पनि यस्तै खालको सन्देश प्रवाह भएर प्रभाव पारेको छ होला भन्ने लाग्छ । कसै कसैले ‘थकाइ भन्ने कुरा भरतपुरको मेयरको डायरीमा छैन’ भन्छन् । मेराबारेमा यस्तै यस्ता कुरा हुन्छन् भन्ने पनि सुनिरहेको हुन्छु ।

अहिलेसम्म बिरामी भएँ भनेर मैले एक दिन पनि थकाइ मारेको छैन । म बिरामी भएर अस्पतालमै भर्ना हुनुपरेको पनि छैन ।

तपाईंको नेतृत्वलाई अझै प्रभावकारी बनाउन, अरू के कस्ता ज्ञान र सिप भएको भए सहज हुन्थ्यो होला ?

हामीमा इमानदारी छ । जनताप्रति उत्तरदायी छौँ । मबाट पनि काममा, खटाइमा, व्यवहारमा कहीँ कतै कमी भएको छैन । पढाइको हिसाबमा भन्नुपर्दा मैले एसएलसी मात्रै पास गरेको छु । क्याम्पस पढ्ने ठुलो धोको थियो मेरो ।

घरेलुको साडी लगाएर क्याम्पस पढ्न जाने बेला आउन लाग्यो भनेर खुसी हुँदै थिएँ । त्यही बेलामा युद्धमा जानुपर्ने परिस्थिति आयो । पढ्दापढ्दै छाडेर त्यतातिर गइयो । भूमिगत भएपछि अगाडिको शिक्षा मैले पूरा गर्न सकिनँ ।

औपचारिक शिक्षाको हिसाबमा एसएलसी मात्र हुँदा कहिलेकाहीँ अन्तर्राष्ट्रिय जगत्मा र बौद्धिक जमातमा रहेका बेला आफूमा थोरै कमीको अनुभूति हुन्छ । त्यसमा खासै पछुतो त छैन । ज्ञानगुनका हिसाबले लामो समयदेखि राजनीतिमा नै रहेर धेरै विषयको सिकाइ भएको छ ।

अनुभवका हिसाबले राजनीतिक विश्वविद्यालयमा अध्ययन गरियो । केही पाउनका लागि त केही गुमाउनु पनि पर्‍यो । जनताको विश्वविद्यालयमा रहेर कार्यस्थलबाटै गर्नुपर्ने कामका बारेमा सिकिराखेको छु, त्यसमा भने मलाई गर्व लाग्छ ।

तपाईंले चुनावमा उठ्दा मतदाताहरूसँग गरेका प्रतिबद्धता र परिकल्पनालाई पूरा गर्न सके जस्तो लाग्छ ?

मैले त्यति बेला राखेको प्रतिबद्धता, परिकल्पना र घोषणापत्रलाई पूर्णरूपमा कार्यान्वयन भने गरिसकेको छैन । घोषणापत्रमा हामीले पाँच वर्षका लागि मात्र योजनाहरू राखेका थिएनौँ । महानगरपालिकाको दीर्घकालीन योजना र सोचहरू प्रस्तुत गरेका थियौँ ।

पाँचै वर्षमा ती सबैको कार्यान्वयन भइसक्ने पनि थिएन । कतिपय साना र ठुला गरी धेरै योजनाहरू थिए । यसैले मैले सयमा सय नै त गर्न सकेको छैन । घोषणापत्रमा उल्लेख गरेभन्दा केही फरक तर महत्त्वपूर्ण हुने गरी भरतपुरको समग्र विकासमा ठुला योजनाहरू अघि बढाएका छौँ ।

हामीले जे–जे योजनामा काम गरिराखेका छौँ, बोलेको भन्दा धेरै ल्याएर अघि बढाएर देखाएका छौँ । ठुला योजना भएका हिसाबले अझै पूर्णरूपमा सम्पन्न भने भइसकेका छैनन् । म आफूले गरेका प्रतिबद्धता पूरा गर्ने बाटोमै निरन्तर छु ।

पालिकावासीले तपाईंलाई जुन उत्साहका साथ जिताएका थिए, अहिले पनि त्यही उत्साहको भाव देखाउँछन् कि फरक महसुुस गरेका छन् जस्तो लाग्छ ?

आमभरतपुरवासी जनसमुदायहरू जुनसुकै पार्टीमा आस्था राख्नेहरू भए पनि उहाँहरू महानगरपालिकाले गरेका कामप्रति सन्तुष्ट नै हुनुहुन्छ । राम्रो, खुसी र आनन्दको अनुभूति गर्नुभएको छ । एउटा जनप्रतिनिधि भएर गर्न सक्ने जति सबै काम गरेको छ भनेर भन्ने गर्नुभएको छ ।

भरतपुरको विकास भएन, मेयरले गर्न सकेन भन्ने अवस्था यहाँ छैन । कैयौँं वर्षदेखि हुन नसकेका कामहरू यो पाँच वर्षमा भएका छन् । यसैले सबै जना दङ्ग, खुसी र उत्साहित नै हुनुहुन्छ ।

स्थानीय सरकार प्रमुख हुँदा तपाईंलाई पार्टी, सहकर्मी, घरपरिवार, साथीभाइ, छिमेकी र पालिकावासीले के कस्तो सहयोग गरिदिए नेतृत्व गर्न अझ सहज हुने थियो जस्तो लागेको छ ?

मैले जे जति काम गर्नसकेँ त्यसप्रति खुसी नै छु । तर पनि, कहिलेकाहीँ मलाई विज्ञ र सल्लाहकारहरूको अभाव भने खट्किएको महसुस हुने गरेको छ । विज्ञ, सल्लाहकार तथा सचिवालयको टिम समयको मागअनुसारको चुस्त, ‘क्रियटिभ’ र ‘फरवार्ड’ खालको हुन नसकेको अनुभूति गरेको छु ।

कुनै योजना बनाउँदा र कार्यहरू गर्दा ती योजना र कामको बारेमा सही र उपयुक्त जानकारी तुरुन्त दिनसक्ने जनशक्ति भइदिएको भए योभन्दा बढी उपलब्धि हासिल गर्न सकिन्थ्यो र समयमा नै योजना सम्पन्न गर्न सकिन्थ्यो कि भन्ने मलाई लागेको छ ।

चितवनको परिवेशमा स्थानीय सरकार प्रमुखको भूमिकामा एक जना महिला निर्वाचित भएर नेतृत्व गर्नु भनेको के रहेछ जस्तो लाग्छ तपाईंलाई ?

नेतृत्व भनेको सबैलाई समन्वय गर्न सक्ने, सबैसँग सन्तुलन मिलाउन सक्ने, जनताको तहबाट आएका समस्याहरू समाधान गर्न सक्ने हुनु नै हो भन्ने मलाई लाग्छ । अपेक्षा र समस्या बोकेर जनता आउँछन् भने नेतृत्वले त्यो अपेक्षा पूरा गर्न र समस्या समाधान गर्न सक्नुपर्छ ।

जनताका आवश्यकता र समस्याको समाधान गर्न सक्नुपर्ने भएकाले मेरो ठाउँबाट नगरवासी समस्या लिएर आउँदा आश्वासन मात्र दिएर बस्ने काम गरिनँ । म सकेसम्म तुरुन्तै त्यसको ‘रेस्पोन्स’ गरिहाल्छु । हुने काम यो यो कारणले हुन्छ र नहुने काम यो यो कारणले हुन सक्दैन भनेर उहाँहरूकै अगाडि भन्छु र सन्तुष्ट बनाएर पठाउने गर्छु ।

नेतृत्व भनेकै उपयुक्त समाधान र निकास हो । समयमै उपयुक्त समाधान र निकास दिनसक्ने नेतृत्वलाई नै जनताको निरन्तर साथ र विश्वास मिल्छ । स्थानीय सरकारमा एक जना महिलाले गर्ने नेतृत्व भनेको पनि यही र यस्तै रहेछ जस्तो लाग्छ मलाई ।

आफ्नै कार्यकालमा भएको कुन कुराले तपाईंलाई सबैभन्दा धेरै गर्व लागेको छ ?

मैले मेरो कार्यकालमा जस्तोसुकै राजनीतिक परिस्थितिमा पनि एउटै रफ्तारमा महानगरपालिकालाई हाँकेर अघि बढाइरहन सकेँ । राजनीतिकरूपमा दलीय आस्था नहेरी सबैसँग सन्तुलन मिलाएर काम गर्न सकेको छु । यिनै कुरामा मलाई सबैभन्दा धेरै गर्व महसुस हुन्छ ।

अब स्थानीय सरकारको नेतृत्वमा आउने जनप्रतिनिधिका लागि मुख्य पाँच वटा के के सुझाव दिन चाहनुहुन्छ ?

महिलाहरू अवसरबाट मात्र वञ्चित भएका हुन् । क्षमतामा पुरुषभन्दा कम छैनन् भनेर काम र व्यवहारले देखाउनुपर्छ । सन्तुलित र संयमित भएर आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ ।

काम गर्दै जाँदा कतिपय समस्या र उतारचढावहरू आउँछन् । त्यसमा नआत्तिइकन विज्ञ, सल्लाहकारको सुझाव लिने, कुनै पनि स्वार्थ नराखी दलीय राजनीतिभन्दा माथि रहेर पदीय जिम्मेवारी पूरा गर्नुपर्छ । साथै, इमानदार भएर जनताको सेवकको रूपमा जनताका माझमा पुग्नुपर्छ ।

घरपरिवारलाई दिनुपर्ने समय कटाएर रातदिन जनताका काममा खटिनुपर्ने भएकाले त्यसमा पनि आफूलाई तयार राख्नुपर्छ ।

आफ्नो ठाउँको बारेमा अध्ययन गर्ने, जानकारीहरू बटुल्ने र आफू ‘अपडेट’ भइराख्दा आफ्नो जिम्मेवारी पूरा गर्न सजिलो हुन्छ । मुख्यतः यिनै सुझाव दिन चाहन्छु ।

आफ्नो कार्यकालमै यसरी पछाडि फर्केर हेरिरहँदा तपाईंलाई कस्तो महसुस भइरहेको छ ?

भरतपुर महानगरको नेतृत्वमा आइसकेपछि म निकै व्यस्त भएँ । आफ्नो कामप्रति पूर्णरूपमा सन्तुष्ट छु । प्रायजसो काम गर्दा र जिम्मेवारी पूरा गर्दा विश्लेषण पनि गरिराखेको हुन्छु । आफ्ना कामहरूलाई पछाडि फर्केर हेर्दा अनि विश्लेषण गर्दा सन्तुष्टि महसुस भइरहेको हुन्छ । अहिले पनि त्यस्तै महसुस भएको छ ।

सङ्घीयता लागु भएपछिको पहिलो स्थानीय सरकारमा नेतृत्व गरी पाँच वर्षको जिम्मेवारी बिताउँदा सुरुमा आफूभित्र रहेका के होला, कसो होला भन्ने खुलदुलीहरू मेटिएका छन् । निःस्वार्थ काम गरेको हुनाले म पूर्णरूपमा सफल पनि भएँ भन्ने लाग्छ । भरतपुर महानगरका जनतालाई खुसी दिन सकेकोमा मलाई पनि खुसी लागिरहेको छ ।

अरू केही भन्न मन लागेको छ ?

समृद्ध नेपाल र सुखी नेपालीको परिकल्पना पूरा गर्न सबैले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ । सबैले सङ्कल्प बोकेर देशप्रतिको दायित्व पूरा गर्दा नै देश विकास हुन्छ । देशकै केन्द्रविन्दुमा रहेको यो महानगरपालिकाले देशमा विकासको पनि सन्देश दिनुपर्छ भन्ने मेरो सुरुदेखिकै सोच थियो, परिकल्पना र सङ्कल्प थियो । अहिले त्यो सोच, परिकल्पना र सङ्कल्पलाई यहाँ भएको प्रचुर सम्भावनासँग जोडेर उपयोग गर्न सकेको छु ।

देशकै अठहत्तरौँ जिल्ला पनि भनिने चितवनमा विकासका काम व्यापक रूप र तीव्र गतिमा अघि बढेका छन् । ‘क्रियटिभ’ र ‘क्रिटिकल’ दुवै रहेको यो ठाउँ देशकै चर्चा र परिचर्चाको केन्द्र पनि हो । राष्ट्रिय राजनीतिका लागि प्रतिष्ठाको ठाउँ बनेको भरतपुरबाट मैले विकासको सन्देश दिन सफल भएको छु ।

मैले द स्टोरी किचेनले तयार गरेको निर्देशिकाका आधारमा तपाईंलाई केही प्रश्न गरेँ । यसरी कुराकानी गर्दा तपाईंलाई कस्तो अनुभव भयो ?

रमाइलो लाग्यो । सबै विषयवस्तुमा रहेर कुराकानी भयो । सानादेखि ठुला विषयवस्तुमा महिलाका दृष्टिकोण राखेर जसरी प्रश्नहरू गर्नुभयो, त्यसलाई रुचाएर मैले पनि सोहीअनुसार जवाफ दिएँ । त्यसले मलाई नेतृत्वमा रहेर सम्पन्न गरेका र गर्न बाँकी रहेका आफ्ना कामहरू, जिम्मेवारीहरू विश्लेषण गर्ने अवसर पनि दिएकाले रमाइलो अनुभव भएको छ ।

प्रकाशन मिति : २०८१ फागुन ८ गते, बिहीवार

पालिकाका सारथी महिलाहरूका थप कथाहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here