पुस्तक साभार शृङ्खला– २१
‘कर्णाली गाथा’ सशस्त्र द्वन्द्वपीडित तथा प्रभावित महिलाको सङ्घर्ष र साहसको मौलिक इतिहास हो । द स्टोरी किचेनबाट २०८० सालमा प्रकाशित सोही पुस्तकमा रहेका २२ कथामध्येबाट एउटालाई साभार गरी ‘सन्धान’ ले २०८१ जेठ २५ गतेदेखि हरेक शुक्रबार प्रकाशन प्रसारण गर्दै आएको यहाँलाई थाहै छ । पुस्तकमा सशस्त्र द्वन्द्वको समयमा महिला र बालिकाले भोगेका तर शान्ति प्रक्रियामा खुलेर आउन र समेटिन नसकेका २२ जनाका जीवनभोगाइ छन् । कथाहरू महिलाको दृष्टिकोणबाट सत्यको अभिलेखीकरण गर्न र महिलाहरूलाई सङ्क्रमणकालीन न्याय प्रक्रियामा सहभागी बनाउन सशक्तीकरण गर्ने उद्देश्यले द स्टोरी किचेनको पहलमा ‘न्यारेटिभ थेरापी’ विधिबाट उत्खनन गरी तयार गरिएका हुन् ।
यसमा न्याय संवाददाता बनेका द्वन्द्वपीडित महिलाका र तिनको सहयोगमा अरू भुक्तभोगी महिलाले आ–आफैँ लेखेका कथा पनि छन् । पुस्तकमा समेटिएका कथालाई महिला इतिहासमा विशिष्ट सामग्रीका रूपमा लिन सकिन्छ । कतिपय कथाकार र व्यक्तिका हकमा द स्टोरी किचेनलाई वास्तविक नाम, थर र ठेगाना बताइएको भए पनि सम्बन्धित व्यक्तिको सुरक्षा संवेदनशीलता र गोपनीयतालाई सम्मान गरिएको छ । यसैले कतिपय ठाउँमा व्यक्तिबोधक बोलचालको नाता, पद, संस्था जस्ता नाम, ठामलाई मात्र उल्लेख गरिएको हो । आजको शृङ्खलामा कर्णाली गाथाको अन्तिम कथा दिइएको छ । आफूमाथि ४५ वर्षको उमेरमा भएको घटनाको न्यायका लागि सङ्घर्षरत महिलालाई पुस्तकमा ‘साहसी ४५’ भनी कोडनाम दिइएको छ । प्रस्तुत छ, उहाँको ‘अब म खुल्न चाहन्छु’ शीर्षकको जीवन कथा ।
म जन्मिँदा मेरो परिवारमा आमा र बुवा मात्र हुनुहुन्थ्यो रे ! म छ महिना हुँदा टिबी रोगले बुवा बित्नुभएछ । त्यसपछि आमा र म एक्लै भयौँ । बुवा बितेको ४५ दिनपछि आमाले मलाई मामाघरमा लिएर जानुभएछ । मामाघरमा छ महिना जति बसिसकेपछि मामाहरूले आमाको दोस्रो बिहे गरिदिनुभयो । आमाले मलाई पनि आफूसँगै उहाँको बिहे भएको घर लैजानुभयो । त्यसपछि अरू दुई बहिनी जन्मिए । आमाले हामी तीन बहिनीमा केही फरक व्यवहार गर्नु भएन । म चार वर्षको हुँदादेखि नै घरधन्दाको काम सँगसँगै गोरु चराउने, दाउरा, स्याउला गर्ने गर्थें ।
पढ्ने, राम्रो लगाउने, खाने त मेरो पनि मन थियो । तर, त्यतिखेरको समयमा पढाइलाई त्यति महत्त्व दिँदैनथे । म १३ वर्षको हुँदा नै मेरो बिहे भयो । मेरो श्रीमान्काे मसँग दोस्रो बिहे रहेछ । पहिलो श्रीमतीको एउटा छोरी थियो । पहिलो श्रीमती बितिसकेको रहेछ । मैले ‘बिहे गर्दिनँ’ भन्दा परिवारमा सबैले ‘केटा ठिक छ । केटाको बुवाआमा कोही छैनन् । तँ जस्तो आधा टुहुरोलाई टुहुरोले नै राम्रोसँग राख्छ’ भनेर मेरो बिहे गराइदिनुभयो । श्रीमान् असाध्यै सोझो हुनुहुन्थ्यो । मसँग राम्रो व्यवहार गर्नुहुन्थ्यो । बिहे गरेको एक वर्षपछि मेरो पनि छोरी जन्मियो । त्यसपछि लगातार मेरो आठ जना बच्चा जन्मिए । चार जना मात्र बाँचेका थिए । पहिलेकी श्रीमतीबाट एउटी छोरी गर्दा पाँच जना छोराछोरी, श्रीमान् र म बस्थिम् ।
माओवादी आएर ‘हाम्रो पार्टीमा जानुपर्दछ’ भनेर धम्की दिने गर्थे । जान्नँ, गर्दिनँ भन्नेलाई मारिदिन्थे । माओवादीले लैजालान् भन्ने डरले मेरो श्रीमान् नेपालमा नबसेर इन्डिया कमाउन जानुभएको थियो । श्रीमान् नभए पनि मैले माओवादीहरूको काम दिनभरि गरिदिनुपर्थ्याे । मलाई वनमा ‘सेन्टी’ कुर्न लगाउँथे । म बिहान खाना खाएर जान्थेँ । साँझ सात बजेतिर घर फर्किन्थेँ । दिनभरि को आयो, को गयो हेर्थें । त्यो काम निरन्तर गरिरहेको थिएँ ।
म ४५ वर्ष भएकी थिएँ । २०६२ साल भदौ २१ गतेको कुरा हो । म सधैँ झैँ सेन्टी कुरेर बसिरहेको थिएँ । साँझ झिसमिसे परेपछि घरतिर लागेँ । फर्किंदा अलिकति घाँस लानुपर्याे, बाख्राले खाला भनेर लुछ्न मात्र लाएको थिएँ, धेरै जना आर्मी आएर ‘को हो ?’ भने । मैले ‘घाँस लुछ्न लागेको’ भनेँ र अलि अलमलिएँ । तिनीहरूले सेन्टी बस्छ भन्ने थाहा पाएछन् कि क्या हो पछाडिबाट दुई स्वाँठ बेस्सरी हाने र मलाई बलात्कार गरे । मलाई अरू के के गरे केही होस भएन ।
भोलिपल्ट बजारमा दुध पुर्याउने मान्छे सायद दिसा पिसाब गर्न जङ्गलतिर आएका थिए होलान्, उनीहरूले मलाई देखेछन् । अनि मेरो आफ्नो मान्छेलाई खबर गरेछन् । मेरो अवस्था नाजुक थियो । त्यहाँको सामान्य मेडिकलमा मेरो उपचार सम्भव नभएपछि आफन्तले केही पैसा जुटाएर मलाई उपचार गर्न नेपालगन्ज लगेछन् । तीन दिनपछि बल्ल मेरो होस आयो । मेरो शरीरबाट खुन बगिरहेको थियो । शरीरभरि नीलडाम थियो । पाँच दिनसम्म उपचार गरेपछि मलाई घर फर्काइयो । उपचार गरे पनि पाठेघर चस्किरहन्थ्यो ।
मेरो श्रीमान् इन्डियामै हुनुहुन्थ्यो । मलाई कुटेर घाइते बनाएको छ भनेर मेरो छिमेकीले उहाँलाई घर बोलाइदिए । साँचो कुरा भन्दा घर बिग्रिन्छ भनेर मैले श्रीमान्लाई केही भन्न सकिनँ । मैले र छिमेकीले सारा कुरा लुकाएर कुटपिट मात्र भएको भनेर झुट बोलिम् । श्रीमान् घर त आउनुभयो तर त्यहाँ बस्ने अवस्था थिएन । कि त पार्टीमा लाग्नुपर्ने कि बाँझो खेत जोत्नुपर्ने ! माओवादीहरूले १२ दिनसम्म लगातार खेत जोत्न लगाएपछि मेरो श्रीमान्काे हातभरि ठेला उठेका थिए । भात पनि हातले खान नमिलेर चम्चाले खानुपर्ने भएको थियो । घरमा माओवादी आउने, पकाएको खाना खाइदिने, दुध घ्यु छ भने त्यो पनि खाइदिने ! उनीहरूले माओवादीको सचिव, अध्यक्ष बन् भनेर मेरो श्रीमान्लाई दिनहुँ धम्की दिइरहन्थे ।
यता मेरो अवस्था अर्कै थियो । श्रीमान्सँग शारीरिक सम्पर्क गर्दा एकदम दुख्थ्यो । मैले ‘सक्दिनँ, आर्मीहरूले सबै ठाउँमा पिटेछन्, पाठेघर दुख्छ’ भन्थेँ । सुरुसुरुमा त उहाँले ‘ठिकै छ’ भन्नुहुन्थ्यो । तर पछिपछि मैले सम्पर्क गर्न नसक्दा यही कुरामा झगडा पर्न थाल्यो । छोरीहरूलाई पनि मेरो घटनाको बारेमा थाहा थिएन । हाम्रो दिनहुँ झगडा पर्न थालेपछि मैले छोरीहरूलाई मेरो घटनाको बारेमा भनेँ । त्यसपछि छोरीहरूले ‘आमा बिरामी हुनुहुन्छ’ भनेर बुवालाई सम्झाए । छोरीहरूलाई त यो सब कुरा भन्ने हिम्मत गरेँ तर श्रीमान्लाई भने अहिलेसम्म बताउने हिम्मत गरेको छैन ।
मेरो घटना घटेकै सालको कुरा हो । दसैँ आइरहेको थियो । २०६२ साल असोज १२ गतेको दिन माइली छोरी वनमा पिङ खेल्न गएकी थिई । ऊ साँझसम्म पनि घर फर्केर आइन । हामीले साथीको घर गइहोली भन्ने सोचेका थियौँ । साथीका घर पनि टाढा थियो । अहिले जस्तो फोन पनि थिएन । मेरी छोरी १२ वर्षकी थिई । ऊ तीन दिनसम्म पनि घरमा आइन । जङ्गल नजिकै एउटा छोडेको घर थियो, जहाँ गाई, गोरु राखिन्थ्यो । त्यहाँ घाँस हाल्न गएका मान्छेले मेरो छोरी र अरू दुई जना नानीहरूलाई देखेछन् । उनीहरूले हामीलाई खबर गरे । हामी त्यहाँ पुग्दा तीनै जनाको कपडा च्यातिएको थियो । उनीहरूको शरीरभरि खुन र नीलडाम थियो ।
हामीले छोरीको उपचार गर्न मेडिकल लगिम् । बलात्कारको कारणले गर्दा छोरी राम्ररी बोल्न सक्ने थिइन । छोरीलाई धेरै उपचार गर्यौँ तर उसको रगत र सेतो पानी बग्ने समस्या कम भएन । रगतको कमी र कमजोरीले छ दिनपछि छोरीको मृत्यु भयो । १२ गते वन गएकी मेरी छोरीसहित अरू सात जना केटीलाई माओवादीले दिनभरि जङ्गल डुलाएर राति छोडुवा घरमा ल्याएका रहेछन् । सात जनामा चार जना भागेछन् । भागेर घर आएका उसका साथीले हामीलाई यो कुरा पछि बताए । मेरी छोरीसहित तीन जनालाई माओवादीहरूले बलात्कार गरेर फालेका रहेछन् । १२ वर्षकी मेरी कलिली छोरीको घटनापछि हामीलाई त्यो ठाउँमा बस्नै मन लागेन ।
त्यति बेला के किन भन्ने अवस्था नै थिएन । केही भन्यो भने मारिदिन्थे । त्यसैले ‘जे गरेर भए पनि खान्छु, तर म त्यो ठाउँमा बस्दिनँ’ भनेर हामी आफ्नो जिल्ला छोडेर अर्कै जिल्लामा आएर ऐलानी जग्गामा बस्न थाल्यौँ । अरूको धान, गहुँ काट्ने, बारी जोत्ने र खन्ने गरेर पेट पाल्न थाल्यौँ । केही समयपछि नेपालमा शान्ति आयो । विस्थापित परिवारलाई स्थापित गर्ने भनेर हामीलाई आफ्नो ठाउँ जानुपर्यो भनेका थिए । मैले ‘त्यो ठाउँले मेरो छोरी लग्यो, खुसी लग्यो, म जाँदैन, यही ठाउँमा बस्छु’ भनेँ । घर फर्कनेलाई चार प्याक चामल दिएका थिए । ‘म घर जाँदैन’ भनेपछि मलाई एक प्याक चामल, दाल र तेल मात्र दिए । मलाई पुरानो ठाउँमा जान मन नलागेकोले त्यहाँको सम्पत्ति सबै छोडेर यहीँ बसेँ । हामीले यहीँको बसाइँसराइ गरायौँ । मलाई सम्पत्तिको भन्दा पनि बढी छोरीहरूको माया भयो ।
त्यतिखेर द्वन्द्वपीडित भनेर धेरैले राहत पाए तर मैले केही पाइनँ । फाराम भर्दा मैले ‘विस्थापित’ मात्र भनेर भरेँ । ममाथि भएको बलात्कारको बारेमा केही लेखाइनँ । छोरीलाई भएको बलात्कार अनि हत्याको बारेमा पनि मैले केही लेखाइनँ ।
एक दिन एउटा कार्यक्रममा गएको थिएँ । त्यहाँ एकल महिला संस्थाको जिल्लाको अध्यक्षलाई भेटेँ । उहाँले ‘तपाईंको घटना के हो ? मलाई खुलेर भन्नू, म कसैलाई भन्दैन’ भनेपछि मैले सबै सत्य कुरा उहाँलाई भनेँ । त्यसपछि उहाँले काठमाडौँमा मेरो औषधि उपचार गरिदिनुभयो । दुई चोटिसम्म पाठेघरको उपचार गरेर अलि केही बिसेक जस्तो त भएको छ, तर पूरै निको भएको छैन ।
केही वर्षपछि यही जिल्लामा स्टोरी किचेनको एक जना बहिनीले मसँग कुराकानी गर्नुभयो । मेरो समस्या सुनेपछि त्यो संस्थाले यहीँको अस्पतालमा पूरै शरीर चेकअप गराइदियो । मेरो त्यो घटनाको कारण खुट्टा बाङ्गो हुँदै गएको थियो । म ‘अपाङ्ग’ जस्तै भएको थिएँ । डाक्टरले दिएको औषधि र बेल्टले अहिले मलाई हिँडडुल गर्न सजिलो भएको छ । स्वास्थ्य राम्रो भएपछि त सम्पत्ति नभए पनि दुःख लाग्दो रहेनछ ।
छोरीलाई पढाउन सकिएन । तैपनि उनीहरूको आ–आफ्नै इलम छ । एउटी छोरीले बेलाबेलामा बाहिरबाट नुन, तेल, मसला र कपडा पठाउँछिन् । अर्को दुइटी छोरीले लेबरी गर्छन् तर पनि हाम्रो लागि चामल, दाल, नुन सबै किनेर छोडिदिन्छन् । अहिले त छोरीहरूले पनि उपचारको लागि सहयोग गर्छन् । बुढाले र मैले सानो घुम्ती पसल गरेका छौँ । छोरीहरूले बिहे गरेर सबैले आफ्नो घर गरी खाएका छन् । ‘बुवाआमा चिन्ता नमान्नू, हामी छम्’ भन्छन् । हामीलाई लाग्ने खर्च पनि छोरीहरूले पालैपालो तिर्छन् ।
मलाई भएको बलात्कारको बारेमा श्रीमान्ले थाहा पाउनुहुन्छ कि भन्ने डरैडरमा मेरो आजसम्मको जीवन बित्यो । अब त उहाँ पनि बुढो भइसक्नुभयो । सबै थाहा नपाए पनि मेरो शारीरिक अवस्थाका कारण केही त पक्कै थाहा पाउनुभएको होला । त्यसैले अब मेरो घटनाको बारेमा म खुलेर आउन चाहन्छु । यो कथामा मेरो नाम ठेगाना सबै राखिदिनू । अब म खुल्न चाहन्छु ।
प्रकाशन मिति : २०८१ कात्तिक ९ गते, शुक्रवार
कर्णाली गाथाका थप कथाहरू
- पचास रुपैयाँले मोडिएको जीवन
- मेरो सङ्घर्ष परिवारदेखि देशसम्म
- श्रीमान्सँग नबोलेको त्यो दिन
- एउटा प्रश्न
- आँट जुटाउँदै अघि बढेको जीवन
- कथा एक, भोगाइ अनेक
- सम्झना र साहस
- प्रहरीको जीवन
- विभेदविरुद्धको सङ्घर्ष
- नखुलिसकेको जीवनको कहानी
- आफैँले चलाएको जीवन
- द्वन्द्वले दुःख मात्रै दियो
- मैले सामन्ती जस्तो के गरेँ ?
- द्वन्द्वमा आमाको जीवन
- अझै न्याय पाइएन
- चरम अन्यायको भोगाइ
- सास कि लासको सङ्घर्ष
- सेतो देखी डर लाग्छ
- त्यो समय कहिल्यै नफर्कियोस्
- चेपुवामा मेरो बुवा