पुस्तक साभार शृङ्खला – १
‘कर्णाली गाथा’ सशस्त्र द्वन्द्वपीडित तथा प्रभावित महिलाको सङ्घर्ष र साहसको मौलिक इतिहास हो । द स्टोरी किचेनबाट २०८० सालमा प्रकाशित सोही पुस्तकमा रहेका २२ कथालाई ‘सन्धान’ ले एक एक गरी क्रमशः हरेक हप्ता साभार गरी प्रकाशन प्रसारण गर्ने निर्णय गरेको छ । पुस्तकमा सशस्त्र द्वन्द्वको समयमा महिला र बालिकाले भोगेका तर शान्ति प्रक्रियामा खुलेर आउन र समेटिन नसकेका २२ जनाका जीवनभोगाइ छन् । ‘न्यारेटिभ थेरापी’ विधिबाट उत्खनन् गरिएका र न्याय संवाददाताको भूमिकामा क्रियाशील द्वन्द्वपीडित महिलाको सहयोगमा सम्बन्धित महिलाहरूबाट आ–आफैँ लेखिएका समेत हुनाले पुस्तकमा समेटिएका कथालाई महिला इतिहासमा विशिष्ट सामग्रीका रूपमा लिन सकिन्छ । कतिपय व्यक्तिका हकमा कथाकारले वास्तविक नाम र थर नै खुलाएको भए पनि सम्बन्धित व्यक्तिको गोपनीयतालाई सम्मान गर्दै कथामा व्यक्तिबोधक बोलचालको नाता, पद जस्ता नामलाई मात्र उल्लेख गरिएको छ । महिलाको दृष्टिकोणबाट सत्यको अभिलेखीकरण गर्न र महिलाहरूलाई सङ्क्रमणकालीन न्याय प्रक्रियामा सहभागी बनाउन सशक्तीकरण गर्ने उद्देश्यले द स्टोरी किचेनको पहलमा तयार गरिएका ‘कर्णाली गाथा’ का कथामध्ये एउटा कथाबाट ‘सन्धान’ ले आजै यस शृङ्खलाको प्रकाशन प्रसारण प्रारम्भ गरेको छ । प्रस्तुत छ, जुम्लाकी हरी महतको ‘पचास रुपैयाँले मोडिएको जीवन’ :
मेरो जन्म २०२५ साल असोज १६ गते जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका वडा नम्बर २ शान्तिनगर बुदथबाढामा भएको हो । म घरकी माइली छोरी हुँ ।
परिवारमा एक दिदी, एक बहिनी र दुई भाइ छन् । त्यति बेला छोरीलाई पढाउनु हुँदैन भन्ने चलन थियो । बुवाआमाले पढ्ने समयमा वनमा गाई चराउन पठाउनुहुन्थ्यो । तर पनि मैले जबर्जस्ती स्कुल गएर कक्षा ३ सम्म पढेँ ।
म १३ वर्षको थिएँ । मेरो गाउँका काका र अरू तीन चार जना मैले नचिनेका मान्छेहरू मेरो घरमा आए । मेरो मुखमा टोपीको बुझो हालेँ अनि जबरजस्ती तानेर भगाएर लगी मेरो विवाह गरिदिए ।
रातिको समयमा लगेको हुँदा मैले फर्केर आउने बाटो पनि चिनिनँ । मलाई मेरो घरमा लगिदिनुस् भनेर धेरै रोएँ तर कसैले मेरो कुरा सुनेन । सानै उमेरमा बिहे भयो । अर्काको घरको काम गर्न मलाई धेरै गाह्रो भयो ।
विवाह भएको दुई तीन वर्षसम्म त घरमा व्यवहार राम्रै थियो । पछि श्रीमान्ले रक्सी खान थाल्नुभयो । घरमा कसैलाई ख्याल नगर्ने, मैले खाए नखाएको, दुःख परेको, बिरामी भएको उहाँले केही हेर्नु भएन । त्यसैले परिवारका अरुले पनि मलाई हेलाँ गर्न थाले ।
श्रीमान् पहिला जिल्ला अदालतमा जागिर गर्नुहुन्थ्यो । जाँड खाने बानीले गर्दा उहाँको जागिर पनि छुट्यो । घरमा सासू ससुराले पनि ‘तेरो कमाइ केही छैन, तेरो जहानलाई हामी पाल्न सक्दैनम्’ भनेर अंश दिएर छुटाइदिनुभयो । अब मलाई मेरा छोराछोरी कसरी पाल्ने होला, के गरेर पढाउने होला भन्ने चिन्ता लाग्न थाल्यो । मैले त्यही गाउँकी एक जना दिदीसँग ‘अब म कसरी बाँचौं ? कमाउने ठाउँ छैन, म छोराछोरीलाई कसरी पालुँ ?’ भनेर रुँदै दुःख पोखेँ । उहाँले ‘नरोऊ ! गाउँमा अरूको काम गर्न जाने, मल बोक्ने, घाँस काट्ने, खेतबारीमा काम गर्न गएर पनि बच्चा पाल्न सकिहाल्छौ’ भन्नुभयो ।
तर मैले अरूको काम गर्नुभन्दा बजार नजिकै सानो होटल चलाएर बच्चालाई पाल्ने पढाउने सोच बनाएँ । त्यसपछि जेठी छोरीलाई उसकै बज्यैसँग छोडेर म साना दुई बच्चालाई डोकोमा बोकेर बजार आएँ ।
जिल्ला अदालत कार्यालय अगाडिको एउटा घरको माटे छतमा गएर बसेँ । दिनभरि दुई बच्चाहरू भोकै थिए । कसरी, कहाँबाट, के ल्याएर खान दिने होला, मैले कसरी सामान जुटाएर होटल गर्ने होला भन्ने पिरले मलाई सताउन थाल्यो । मेरा दुई बच्चा र म भोकै त्यहीँ घरको छतमा सुतिराखेका थियौँ । त्यसरी भोकै सुतेको देखेर जनकपुर चुरोट कारखानामा काम गर्ने एक जना बाबुले ‘भाउजू, छोराछोरीलाई केही किनेर खुवाउनुस्’ भनेर ५० रुपैयाँ दिनुभयो ।
मैले त्यो ५० रूपैयाँको एक पोका तेल र आलु किनेँ । त्यति बेला २५ रूपैयाँमा एक लिटर तेल आउँथ्यो । घरबाट ल्याएको दुई तीन माना चामल थियो । त्यो चामल कुटेर सेलरोटी बनाएँ र आलुको तरकारी बनाएँ ।
त्यसपछि अदालतका स्टाफहरूलाई मैले बनाएको नास्ता खान अनुरोध गरेँ । एउटा सेलरोटीलाई दुई रूपैयाँको दर लगाएँ र तरकारी एक रूपैयाँ प्लेटमा बेचेँ । त्यस दिन तीन सय रुपैयाँ आम्दानी भयो । त्यो तीन सय रुपैयाँले थप सामान ल्याएर त्यसैगरी बेचेँ । गर्दागर्दै मेरो पैसा बढ्दै गयो । अनि त ‘सटर’ भाडामा लिएर होटल खोल्ने आँट आइहाल्यो ।
पछि महिला विकासबाट २५ हजार रुपैयाँ ऋण पनि निकालेँ । छोराछोरी सानै थिए । फेरि अर्को छोरा पनि जन्मियो । त्यो कान्छो छोरा जन्मेको तीन वर्ष पुगेपछि जाँडरक्सीका कारण श्रीमान् बित्नुभयो । मेरो त्यो कठिन अवस्था देखेर महिला विकासले ऋण पनि मिनाहा गरिदियो ।
मैले अरूले दिएको ५० रुपैयाँले सुरु गरेको सेलरोटी पसललाई खाना, नास्ता र सामान्य चार–पाँच जनालाई सुत्नेसम्मको व्यवस्था भएको होटल बनाएँ। त्यहीँको आम्दानीले छोराछोरीलाई खान र पढाउन पुगेको थियो ।
देशमा सङ्कटकाल चलिरहेको थियो । प्रहरीले ‘तेरो होटलमा माओवादीले खाना खान आउँछन् ।’ भनेर दुःख दिन थाले । दिनदिनै होटलमा आएका ग्राहकको नाम टिपेर जिल्ला प्रहरी कार्यालयमा दिनुपर्थ्याे ।
प्रहरीले होटेलमा आएर पनि कुटपिट गर्थे । उनीहरुले मेरो पाँच वर्षको छोरोलाई कुटेर खुट्टामा पाँच वटा टाँका लगाउनुपरेको थियो । २०५७ सालको कुरा हो । उनीहरूले ‘माओवादीलाई सहयोग गरिस्’ भनेर मलाई जिल्ला प्रहरी कार्यालयमा लगे ।
उनीहरूले मलाई आँखामा पट्टी बाँधेर कारागारमा राखे । दिउँसो त राम्रै व्यवहार गर्थे, राति भयो कि आएर पिट्थे । मलाई खान पनि मन लाग्थेन । यता छोराछोरीले के खाए होला के गरी बसे होलान् भन्ने चिन्ता थियो, उता प्रहरीको यातना उस्तै थियो ।
हिरासतमा लगेको १५ दिनको राति मलाई यति धेरै पिटे कि मेरो करङ नै भाँचिएछ । टाउकोमा पनि धेरै चोट लाग्यो । प्रहरीहरूले नै मलाई अस्पतालमा ल्याएर छोडिदिए ।
अस्पतालमा उपचार गराएर म दुई हप्तापछि बल्ल घर फर्के । त्यति बेला प्रहरीले बन्दुकले घोचेको चोट अहिलेसम्म पनि मेरो छातीमा छ । टाउकोमा धेरै चोट लागेका कारण पछि टाउकोको अप्रेसन पनि गर्नुपर्यो । काठमाडौँमा अप्रेसन गराउन जाँदा एउटा संस्थाले सहयोग गर्यो ।
त्यसपछि २०५८ कार्तिकमा माओवादीले जुम्ला जिल्लाको सदरमुकाम खलङ्गामा आक्रमण गरे । मेरो होटल जिल्ला प्रशासन कार्यालयको नजिकै थियो । त्यही बेला मेरो होटलको सारा सामान बेपत्ता भयो र त्यो दिनबाट होटलको काम पनि छुट्यो ।
मैले त्यति दुःख गरेर जम्मा पारेको होटलको केही सामान पनि भेटिएन । त्यहाँबाट रित्तो हात माइततिर गएँ । माइतीले जग्गा दिनुभयो । त्यही जग्गामा अहिले घर बनाएर बसेकी छु ।
मैले दुःख गरेर पढाएका छोराछोरी सबैले अहिले सानोतिनो जागिर खाएका छन् । दुवै छोरा स्कुलमा पढाउँछन् । जेठो छोरो पातारासी गाउँपालिकाको स्कुलमा शिक्षक छ ।
कान्छो छोराले चन्दननाथ नगरपालिकाको श्री चन्दननाथ नमुना माध्यमिक विद्यालयमा पढाउँछ । जेठी छोरी सहकारीमा एकाउन्टेन्ट छे । छोरीले एसएलसी पास गर्दाखेरि मेरो एक आँखामा आँसु र अर्को आँखामा हाँसो थियो । दुःख र सुखका आँसु सँगसँगै आएका थिए । कसैले नदेख्ने गरी भित्र गएर आँसु पुछेँ । बाहिर आएर छोरी पास भएको खुसीमा टीका लगाइदिएँ ।
अहिले जुम्लामा म जस्तै द्वन्द्वमा परेका दिदीबहिनीहरू मिलेर ‘द्वन्द्वपीडित एकता महिला सञ्जाल’ खोलेका छौँ । बेला बेलामा बैठक बस्छौँ । दिदीबहिनी भेटेर दुःखसुखका कुरा गर्छौँ । नगरपालिकाहरू र गाउँपालिकाहरूमा द्वन्द्वपीडित महिलाहरूको लागि बजेट छुट्टयाउनको लागि अनुरोध गर्ने गरेका छौँ । कुनै पालिकाहरूले त बजेट पनि छुट्टयाएका पनि छन् ।
तेह्र वर्षको उमेरबाट दुःख काट्दै अहिले म ५५ वर्षकी भएँ । कारागारमा पाएको यातनाको चोटको उपचार अझै गरिरहेको छु । तर छोराछोरीका कारण परिवारमा बल्ल बल्ल सुखका दिन भेटाएकी छु । जनकपुर चुरोट कारखानाको बाबुले दिनुभएको ५० रुपैयाँ मेरो लागि धेरै ठुलो छ । उहाँलाई म लाखौँ लाख चोटि आभार व्यक्त गर्छु ।
प्रकाशन मिति : २०८१ जेठ २५ गते, शुक्रवार