Home Stories मेरो सङ्घर्ष परिवारदेखि देशसम्म

मेरो सङ्घर्ष परिवारदेखि देशसम्म

294
0

पुस्तक साभार शृङ्खला- २

‘कर्णाली गाथा’ सशस्त्र द्वन्द्वपीडित तथा प्रभावित महिलाको सङ्घर्ष र साहसको मौलिक इतिहास हो । द स्टोरी किचेनबाट २०८० सालमा प्रकाशित सोही पुस्तकमा रहेका २२ कथामध्येबाट एउटालाई साभार गरी ‘सन्धान’ ले हरेक शुक्रबार प्रकाशन प्रसारण गर्ने गरेको छ । पुस्तकमा सशस्त्र द्वन्द्वको समयमा महिला र बालिकाले भोगेका तर शान्ति प्रक्रियामा खुलेर आउन र समेटिन नसकेका २२ जनाका जीवनभोगाइ छन् ।

कथाहरू ‘न्यारेटिभ थेरापी’ विधिबाट उत्खनन् गरिएका हुन् । न्याय संवाददाताको भूमिकामा क्रियाशील द्वन्द्वपीडित महिलाको सहयोगमा सम्बन्धित महिलाहरूबाट आ–आफैँ लेखिएका समेत हुनाले पुस्तकमा समेटिएका कथालाई महिला इतिहासमा विशिष्ट सामग्रीका रूपमा लिन सकिन्छ ।

कतिपय व्यक्तिका हकमा कथाकारले वास्तविक नाम, थर र ठेगाना नै खुलाएको भए पनि सम्बन्धित व्यक्तिको गोपनीयतालाई सम्मान गर्दै कथामा व्यक्तिबोधक बोलचालको नाता, पद, संस्था जस्ता नाम, ठाम आदिलाई मात्र उल्लेख गरिएको छ । कथाहरू महिलाको दृष्टिकोणबाट सत्यको अभिलेखीकरण गर्न र महिलाहरूलाई सङ्क्रमणकालीन न्याय प्रक्रियामा सहभागी बनाउन सशक्तीकरण गर्ने उद्देश्यले द स्टोरी किचेनको पहलमा तयार गरिएका हुन् । २०८० जेठ २५ गतेदेखि ‘कर्णाली गाथा’ का कथालाई हरेक हप्ता प्रकाशन प्रसारण गर्ने तय भएअनुसार आजको शृङ्खलामा प्रस्तुत छ, दैलेखकी अमृता शाहीको परिवारदेखि देशसम्मको सङ्घर्ष समेटिएको स्वकथन ।

जीवनलाई फर्केर हेर्दा मैले धेरै उतारचढाव व्यहोरेँ । म हाँसीखुसी परिवार चलाएर बसेको थिएँ । कुनै बेला यस्तो आयो कि सशस्त्र द्वन्द्वमा श्रीमान्‌काे हत्या गरिएपछि म रुँदै घर र बच्चा सम्हालेर बसें । त्यसपछि द्वन्द्वपीडितको न्यायको लागि सधैँ लडिरहेको छु ।

पछिल्लो समय राजनीतिक यात्रा सुरु गरेर कर्णाली प्रदेशसभाभित्र समेत म जस्तै दिदीबहिनीको आवाज पुर्‍याएँ । यो यात्रा सजिलो थिएन तर अँध्यारो जिन्दगीमा दियो रूपी प्रकाश फिँजाइरहेँ र अघि बढिरहेँ ।

सशस्त्र द्वन्द्वपछि २०६४ सालमा भएको संविधानसभाको निर्वाचनमा मेरो नाम नेपाली काँग्रेस पार्टीको तर्फबाट समानुपातिक सूचीमा थियो । तर छनौटमा पर्न सकिनँ । मैले हार मानिनँ र राजनीतितिर अझ सक्रिय भएँ ।

सुर्खेतको छिन्चुमा मेरो श्रीमान्‌ले खोलेको भाँडाको पसल थियो । राजनीति गर्दै मैले त्यो पसल सम्हालेँ । त्यही पसलको कमाइले हामीलाई सामान्य खान लगाउन पुग्थ्यो । छोराछोरीलाई नजिकैको स्कुलमा पढाएँ । मेरो राजनीतिक यात्रामा मलाई छोराछोरी र समाजले पनि साथ दिए । यो कुराले मलाई अझै हिम्मत मिल्यो ।

म २०७४ सालमा समानुपातिक निर्वाचन प्रणालीबाट कर्णाली प्रदेशसभाको सदस्य भएँ । सदनभित्र र सङ्गठनमा मैले आफ्नो मात्र नभएर सम्पूर्ण द्वन्द्वपीडितका सवाल बारम्बार उठाइरहेँ । १० लाख रूपैयाँले न्याय मिल्दैन भन्ने मलाई लाग्छ ।

अहिले म जस्ता अन्य द्वन्द्वपीडित दिदीबहिनीलाई पनि न्यायको निम्ति आवाज उठाउन भनिरहन्छु । म यो स्थानसम्म आइपुग्दा मेरो माइतीतर्फ दाइभाइले पनि सहयोग गर्नुभयो । म सङ्घर्ष गरेर अहिले यो ठाउँसम्म आएकी छु । मेरो सङ्घर्ष अझै घटेको छैन, झन् बढेको महसुस भएको छ ।

मेरो जन्म दैलेखको कट्टी भन्ने गाउँमा भएको हो । मलाई सानोमा पढ्न निकै मन पथ्र्याे । तर पनि घर परिवारले छोरीलाई नपढाउने भन्ने भएको हुँदा मैले पढ्न पाइनँ । अर्को कुरा, म जन्मेको गाउँमा नजिकै स्कुल पनि थिएन ।

मेरो माइती किसानको काम गर्नुहुन्थ्यो । छोरीलाई छिट्टै बिहे गरिदिने चलनले गर्दा मेरो बिहे १६ वर्षकै उमेरमा मेरो इच्छाविना नै भयो । मेरो श्रीमान्‌काे पुर्ख्यौली घर जाजरकोट भए तापनि मलाई बिहे गरी सुर्खेतको रामघाट भन्ने ठाउँमा राखियो । त्यहाँ म र श्रीमान् बस्न थाल्यौं । हाम्रो आफन्तजनहरू पनि त्यहीँ बस्नुहुन्थ्यो ।

मेरो बिहे भएको केही समयमा माइतीघरतिरका पनि बसाइँ सरेर सुर्खेतको रामघाट भन्ने ठाउँमै आउनुभयो । यसले गर्दा मलाई माइतीको आड पनि भयो । मलाई पढ्न निकै मन पर्थ्याे । त्यसैकारण बिहेपछि मैले प्रौढ शिक्षा पढेँ । आफ्नो नाम लेख्न, चिन्न र हस्ताक्षर गर्न सक्ने भएँ । सानो उमेरमै बिहे गरे पनि श्रीमान्‌काे राम्रो व्यवहार र सहयोगी भावनाका कारण म श्रीमान्‌सँग खुसी थिएँ ।

बिहेको तीन वर्षपछि मेरो पहिलो सन्तान छोराको जन्म भयो । सन्तानको सुखसँगै पारिवारिक जिम्मेवारी अझै बढेको महसुस भयो । छोरा चार वर्ष पुगेपछि फेरि एक छोरी र अर्को छोराको जन्म भयो । पाँच जनाको परिवार रमाइलोसँग दिन बितिरहेको थियो ।

मेरो श्रीमान् प्रोजेक्टमा जागिर गर्नुहुन्थ्यो । प्रोजेक्ट सकिएपछि भाँडापसल सुरु गर्नुभयो । मैले पसलमा सहयोग गर्थें । त्यही बेला नेपालमा सशस्त्र द्वन्द्व सुरु भयो । द्वन्द्वको प्रभाव सहर बजारभन्दा पनि गाउँमा बढी थियो । उहाँ भाँडापसलसँगै ठेक्कापट्टा र राजनीतिमा पनि आबद्ध हुनुहुन्थ्यो । यसकारण उहाँ माओवादीहरूको नजरमा पनि परिसक्नुभएको रहेछ ।

माओवादीहरू बेला बेला घरमा आएर ‘तेरो श्रीमान् खोइ, बोला’ भन्ने गर्थे । मैले उहाँसँग हजुरलाई माओवादीले खोजेका छन्, घरमै आएर यस्तो भन्छन् भन्दा ‘मैले केही गल्ती गरेको छैन, किन डराउने?’ भन्नुहुन्थ्यो । एक दिन उहाँ कामको सिलसिलामा नेपालगन्ज जाने योजनामा हुनुहुन्थ्यो । त्यो कुरा माओवादीहरूलाई थाहा भएछ । त्यसैले मेरो श्रीमान् नेपालगन्ज जानु पहिल्यै २०५८ साल चैत महिनाको १४ गते उनीहरू हाम्रो घरमा आए ।

बिहानको चार बजेको थियो । माओवादीको ठुलो भिड आएर बन्दुक पड्काई डराउन दिई उहाँलाई लगे । आएकामध्ये कसैले मेरो श्रीमान्‌लाई लिएर गए । एक जना महिलाले हामीलाई ढोकामै छेकिन् । बाहिर निस्कन खोज्दा मलाई बन्दुकका कुन्दाले हानिन् । उहाँलाई लगेको एक घण्टापछि ‘हाम्रो जित भयो, जिन्दावाद, जिन्दावाद’ भनेको सुनियो ।

हाम्रो घरमा ढोका छेकेर बसेकी महिलासँग भिडेर म जबरजस्ती भागेर उहाँलाई खोज्न गएँ । खोज्ने क्रममा मेरो श्रीमान्‌काे लास नेपालगन्ज–सुर्खेत सडक छेउमा देखेँ । म बेस्सरी रोएँ, कराएँ । म रोएको सुनेर छोराछोरी र समाजका मान्छेहरू पनि त्यहाँ आए । श्रीमान्‌काे लाससँगै अर्को एउटा लास पनि थियो । मलाई त्यो सबै दृश्य देखेर होस हराए जस्तै भयो । पछि छोराछोरी सम्झेर मन सम्हालेँ ।

त्यति बेला हाम्रो गाउँ, जुन सान्सानो बजार हो, मसानघाट जस्तै सुनसान हुने गर्थ्याे । डरले कोही घरबाट बाहिर निस्कन्थिएनन् । मेरो श्रीमान्‌काे काजकिरिया गर्न नदिने रे भन्ने जस्ता हल्ला पनि सुनियो । तर, मैले वास्ता नगरी जबरजस्ती काजकिरिया गरेँ ।

भर्खरै बुवाको माया थाहा पाउने समयमा छोराछोरीले आफ्ना बुवाको किरिया गर्न पर्‍यो । हामीमाथि दुःखको पहाड फुटे झैँ महसुस भयो । यस्तै रहेछ, दुःख आउँदा बाजा बजाएर नआउने रहेछ ।

मलाई किन बाँच्नुपरेको होला, मलाई पनि श्रीमान्‌सँगै मारेको भए हुने भन्ने महसुस हुन थाल्यो । तर, छोराछोरी हेरेर मर्न पनि सकिनँ । जिन्दगी अँध्यारो भएको महसुस भयो । मैले त्यो घटनालाई बिर्सेर अगाडि बढ्नै सकेको थिइनँ ।

कुरा २०६२ सालको हो, नेपालगन्जमा हामी जस्तै दिदीबहिनीलाई क्षमता विकास गर्ने भनेर एकल महिलाको संस्थाले तालिम दिएको थियो । म छोराछोरीको निम्ति बाँचेको छु भन्ने त लाग्थ्यो तर पनि उनीहरूको लागि केही गर्न सकेको थिइनँ ।

म जस्तै अरू दिदीबहिनीलाई भेटेर उनीहरूका कुरा सुनेपछि मलाई म छोराछोरीको लागि मात्र होइन, आफ्नो निम्ति पनि बाँच्नुपर्ने रहेछ भन्ने महसुस भयो । त्यो समयबाट मलाई यस्तो आँट आयो कि जीवनमा मैले धेरै गर्नु छ । मेरो श्रीमान्‌काे रगतलाई खेर जान दिनु हुँदैन भन्ने लाग्यो । त्यसैकारण म पनि श्रीमान्‌कै पार्टीको राजनीतिमा प्रवेश गरेँ ।

मलाई मेरो पार्टीका मान्छेले सम्मानपूर्वक व्यवहार गर्नुहुन्छ । श्रीमान्‌काे घटनापछि नेपाल सरकारद्वारा १० लाख रुपैयाँ राहत त पाइयो, जुन एकमुष्ट नआएको कारण धनसम्पति चाहिँ जोड्न सकिनँ । तर, छोराछोरीको पढाइमा भने त्यसले सहयोग पुग्यो ।

मेरो श्रीमान्‌लाई किन मारियो के गल्ती थियो भन्ने कुरा मैले पटक पटक सङ्गठनमा उठाएँ । आफैँ प्रदेशसभाको सदस्य हुँदा पनि मेरा यी प्रश्नको उत्तर मैले पाइनँ । मेरो श्रीमान्‌लाई किन मारियो भन्ने कुराको जवाफ पाएको दिन र दोषीलाई सजायँ भएको दिन बल्ल मलाई न्याय मिलेको महसुस हुन्छ ।

पहिले घरपरिवार र छोराछोरीको निम्ति सङ्घर्ष गरेँ । अहिले मेरो सङ्घर्ष परिवारदेखि देशसम्म रहेको छ । पहिलाको सङ्घर्षले दुःख र पीडा हुन्थ्यो भने अहिलेको सङ्घर्षले खुसी र आँट मिल्छ । अहिले सबैले तिमी एक्लैले तीन छोराछोरी हुर्काएर देशले चिन्न सक्ने बन्यो भनेको सुन्दा धेरै खुसी लाग्छ ।

द्वन्द्वपीडितको न्यायको लागि मैले आफ्नो तर्फबाट गर्ने र राख्ने कुरा सरकारसँग राखिरहेकी छु । अहिले ती पुराना घटना सम्झँदा पीडा त हुन्छ, तर आफैँले गरेको सङ्घर्ष देखेर गर्व महसुस पनि हुन्छ ।

प्रकाशन मिति : २०८१ जेठ ३२ गते, शुक्रवार

याे पनि पढ्नुहाेला