Home Stories चरम अन्यायको भोगाइ

चरम अन्यायको भोगाइ

95
0

पुस्तक साभार शृङ्खला–१६

‘कर्णाली गाथा’ सशस्त्र द्वन्द्वपीडित तथा प्रभावित महिलाको सङ्घर्ष र साहसको मौलिक इतिहास हो । द स्टोरी किचेनबाट २०८० सालमा प्रकाशित सोही पुस्तकमा रहेका २२ कथामध्येबाट एउटालाई साभार गरी ‘सन्धान’ ले २०८१ जेठ २५ गतेदेखि हरेक शुक्रबार प्रकाशन प्रसारण गर्दै आएको त यहाँलाई थाहै छ । पुस्तकमा सशस्त्र द्वन्द्वको समयमा महिला र बालिकाले भोगेका तर शान्ति प्रक्रियामा खुलेर आउन र समेटिन नसकेका २२ जनाका जीवनभोगाइ छन् ।

कथाहरू महिलाको दृष्टिकोणबाट सत्यको अभिलेखीकरण गर्न र महिलाहरूलाई सङ्क्रमणकालीन न्याय प्रक्रियामा सहभागी बनाउन सशक्तीकरण गर्ने उद्देश्यले द स्टोरी किचेनको पहलमा ‘न्यारेटिभ थेरापी’ विधिबाट उत्खनन गरी तयार गरिएका हुन् । यसमा न्याय संवाददाता बनेका द्वन्द्वपीडित महिलाका र तिनको सहयोगमा अरू भुक्तभोगी महिलाले आ–आफैँ लेखेका कथा पनि छन् । पुस्तकमा समेटिएका कथालाई महिला इतिहासमा विशिष्ट सामग्रीका रूपमा लिन सकिन्छ । कतिपय कथाकार र व्यक्तिका हकमा द स्टोरी किचेनलाई वास्तविक नाम, थर र ठेगाना बताइएको भए पनि सम्बन्धित व्यक्तिको सुरक्षा संवेदनशीलाता र गोपनीयतालाई सम्मान गरिएको छ । यसैले कतिपय ठाउँमा व्यक्तिबोधक बोलचालको नाता, पद, संस्था जस्ता नाम, ठामलाई मात्र उल्लेख गरिएको हो । आजको शृङ्खलामा प्रस्तुत छ, आफूमाथि ११ वर्षको उमेरमा भएको घटनाको न्यायका लागि सङ्घर्षरत किशोरी/महिला, जसलाई पुस्तकमा ‘साहसी ११’ भनी कोडनाम दिइएको छ, उहाँको ‘चरम अन्यायको भोगाइ’ ।

मेरो जेठी ममीबाट १४ जना बच्चा जन्मँदा पनि छोरा भएनन् भनेर बुवाले मेरी ममीसँग अर्को विवाह गर्नुभएछ । मेरी आफ्नी ममी र मेरो उमेरको फरक १६ वर्ष मात्रै छ । मेरी ममीले दुई छोरीपछि छोरा जन्माउनुभयो । जेठी ममीको तर्फबाट पनि पछि दुई छोरा भए । हामी २० छोराछोरीमा सात भाइबहिनी मात्र बाँचेका छौँ । मेरो जन्म २०४८ साल भदौ महिनामा भएको हो ।

गाउँमा केटाहरू स्कुल ड्रेसमा पढ्न गएको देख्दा मलाई पनि सानैबाट स्कुल पढ्न जान मन लाग्थ्यो । कहिलेकाहीँ भागेर स्कुलसम्म पुग्थेँ । ममीले घरको काम गर्नुपर्छ भनेर स्कुलमै पुगेर लठ्ठीले हानीहानी ल्याउनुहुन्थ्यो । मैले पढ्न नपाएको मात्रै हैन, मिठो खान पनि कहिल्यै पाइनँ । भाइहरूलाई छुट्टै भाँडामा खाना पाक्थ्यो । हामी छोरीलाई भने सुख्खा रोटी र गुन्द्रुक खान दिइन्थ्यो । भाइहरू स्कुल पढ्न जान्थे । हामी बिहानै उठेर वन जाने, खाना खाएर गाई, भैँसी, बाख्रा चराउन जाने गथ्यौँ । घर बसेको बेला बारी खन्न जानुपर्थ्याे ।

महिनावारी भएको बेलामा घरलाई छुन पाइँदैनथ्यो । घरभन्दा टाढा रहेको गोरु बाँध्ने गोठमा सुत्नुपर्थ्याे । घरमै बस्छु भन्दा समाजबाट नै बहिष्कार हुन्थ्यो । त्यसैले समाजको डरले पनि नौ दिनपछि मात्र भान्सामा छिर्थिम् । हाम्रो घरमा मात्रै नभएर गाउँभरि त्यस्तै थियो । छोराछोरीबिच सबैले फरक व्यवहार गर्थे । महिनावारी हुँदा गोठमा सुत्दा कोही सर्पले टोकेर मर्थे, कसैलाई बलात्कार हुन्थ्यो । तर पनि, गोठमा नै सुत्नुपर्थ्याे ।

म ११ वर्ष लागेकी थिएँ । २०५८ साल चैत महिनाको कुरा हो । म सधैँ झैँ जङ्गलमा गोरु चराउन गएकी थिएँ । त्यो समय मलाई ठ्याक्कै याद त छैन तर माओवादीले अछामको मङ्गलसेन हानेको बेला थियो । हामी बाखा, गोरु चराउन छिमेकी र आफन्त भएर पाँच जना गएका थियौँ । अरू अलि टाढाटाढा थिए । मसँगै एक जना मेरो परिवारको सदस्य हुनुहुन्थ्यो । गोरु चराउँदै गरेको बेलामा नौ जना आर्मीले गाउँको एउटा टिचर, इन्डियाबाट घरमा आउनुभएको एक जना दाइ र गाउँका अरू दुई जना मान्छे गरी चार जनालाई आँखामा कालोपट्टी बाँधेर ल्याए । उनीहरू मेरो नजिकै आएर जबरजस्ती मलाई अपहरण गरेर लान लागे । म रोएँ, चिच्चाएँ, कराएँ ।

मसँगै भएको मेरो परिवारको सदस्यले ‘मलाई मार बरु, यसलाई नलैजाओ’ भन्नुभयो । ती आर्मीहरूले उहाँलाई कुटे र जबरजस्ती मलाई उनीहरूसँग लगे । वनमा फाटो घर थियो, जहाँ कोही बस्दैन थिए । उनीहरूले सँगै ल्याएका कालोपट्टी लगाएका ती चार जना पुरुषसँगै मलाई पनि त्यही घरमा लगे । ती चार जनालाई बेस्सरी कुटे । आर्मीहरूले आफ्नो कपडा खोलेर उनीहरूलाई लगाइदिए अनि धेरै कुटिसकेपछि गोली हानेर मारे, जुन कुरा मैले आफ्नै आँखाले देखिरहेकी थिएँ ।

मलाई एकदमै डर लागिसकेको थियो, अब मलाई मार्छन् भनेर । तर उनीहरूले त मलाई नजर लगाएका रहेछन् । मलाई आर्मीहरूले जबरजस्ती गर्न थाले । म सुरुमा रोएँ, कराएँ । मैले छोडिदेऊ भनेँ तर उनीहरूले पालैपालो बलात्कार गरे । म बेहोस भएछु । मलाई उनीहरूले बिहान ११ बजे लगेका थिए । साँझ ४ बजेतिर मेरो अलिअलि होस आयो । म घर जान्छु भनेर उठ्दा त मेरो शरीर सबै खुनको तालमा थियो । उनीहरूले मलाई बलात्कार गरिसकेपछि मरी भनेर छाडेका रहेछन् । मेरो कपडा जति सबै च्यातिएको थियो र तलबाट खुन बगिरहेको थियो ।

म जसोतसो उठेँ र नजिकैको चिनेको आन्टीको घर पुगेँ । उहाँले ‘घर जा, यहाँ बसिस् भने हामीलाई पनि खतरा हुन्छ’ भन्नुभयो । त्यत्तिकैमा गहुँबारीको बाटो भाग्दै घर जान लागेँ । फेरि तिनै तीन जना आर्मीहरू त्यही गहुँबारीमा भेटिए । मैले चिनिहालेँ । उनीहरूले फेरि मलाई जबरजस्ती गर्न लागे । त्यत्तिकैमा मेरो बुवा र मेरी ममी आइपुग्नुभयो । बुवाले ’नगर्, मेरो छोरीलाई छोडिदे’ भन्नुभयो । अर्को ममीले पनि ‘यसको केही गल्ती छैन, छोडिदिनू’ भन्दा ती आर्मीहरूले बुवालाई कुटे र ममीलाई पनि कुटे । उनीहरूले मलाई फेरि गहुँबारीमै बलात्कार गरे । यसपालि त बुवा र ममीकै अगाडि नै यस्तो गरे । बुवाले देख्नुभयो कि नाइ मैले थाहा पाइनँ । म त बेहोस भइसकेकी थिएँ । उनीहरूले मलाई छोडेर गएपछि बुवाले हस्पिटलमा लैजानुभएछ । मलाई उपचार गराउनुभएछ र तीन दिनपछि बल्ल खुन रोकिएछ । तीन–चार दिनपछि मेरो होस आयो । मलाई त्यो घटना भएपछि तल्लो पेट दुख्ने, आँखा दुख्ने, शरीर दुख्ने हुन थाल्यो । म त्यतिखेर ११ वर्ष मात्रै लागेकी थिएँ ।

मेरो त्यो घटनाको बारेमा सारा समाजले थाहा पाएको थियो । त्यसैले मलाई कसैले राम्रो नजरले हेर्दैनथे । सबैले मलाई छिः छिः र दुरदुर गर्थे । त्यही समयमा माओवादी आएर मेरो बुवा ममीलाई ‘आर्मीलाई खाना पकाएर खुवाइस्’ भनेर यातना दिए । यातनाका कारण उहाँहरू अहिले पनि घाइते हुनुहुन्छ ।

बलात्कार भएको तीन वर्षपछि घरपरिवारले मेरो बिहे गरिदिने कुरा गरे । मैले बिहे गर्दैन त भनेको थिएँ तर के गर्ने ? त्यहाँको चलन सानैमा बिहे गरिदिने थियो । घटनाको चार वर्षपछि मैले घरबाट टाढा बिहे गरेँ । मलाई त्यहाँ कसैले मेरो घटनाको बारेमा भनिदिन्छ कि भनेर डर थियो । नभन्दै त्यस्तै भयो । मेरो श्रीमान्‌काे एक जना साथी मेरै गाउँको रहेछ । उसले मलाई आर्मीले गरेको बलात्कारको बारेमा मेरो श्रीमान्‌लाई सबै भनिदिएछ । त्यो थाहा पाएपछि मेरो श्रीमान्‌ले मलाई कुट्ने कराउने गर्न थाल्नुभयो । दिनकै ‘मलाई छोड् कि म तँलाई छोड्छु’ भन्नुहुन्थ्यो । म केही बोल्नै पाउँदैनथेँ । बोलेँ कि लात खान्थेँ ।

म पीडा खपेर एक महिनासम्म बसेँ तर मलाई ‘स्विकार्दैन’ भनेर श्रीमान् घर छोडेर हिँड्नुभयो । त्यो समयमा मेरो पेटमा दुई महिनाको गर्भ थियो । मैले धेरै चोटि उहाँलाई घर बोलाउन खोजेँ । उहाँको साथीलाई चिठी पनि लेखेँ । ‘घर आउनू, मेरो पेटमा दुई महिनाको बच्चा छ’ भनेर खबर गरेँ । त्यसो गर्दा ‘त्यो बच्चा मेरो होइन’ भनेर खबर पठाउनुभयो । सासूले पनि मलाई घरबाट निकालिदिनुभयो ।

म त्यो घर छोडेर माइतीमा गएँ । माइतीमा पनि ‘सुत्केरी हुने छोरीको हातको पानी खानु हुँदैन’ भनेर कसैले पनि मैले छोएको पानी खाँदैनथे । समाजका मान्छेले ‘घर बिग्रेकी माइत आछे’ भनेर वचन लगाउँथे । त्यसैले म माइती पनि छोडेर लेकमा बस्न थालेँ । दुःख, कष्ट गरेर सन्तान जन्माएँ । ‘सुत्केरी छोरीलाई देख्नु हुँदैन’ भनेर माइतीको कोही आउनु भएन ।

बच्चा जन्मिएपछि श्रीमान् बच्चाको मायाले लिन आउनुहुन्छ कि भन्ने विश्वास थियो । खबर पनि पठाएँ । उहाँले फेरि ‘त्यो बच्चा मेरो होइन, म तँलाई कमाउँदै कमाउँदिनँ’ भन्नुभयो । केही समयपछि श्रीमान्‌ले अर्को बिहे गरेको थाहा पाएँ । मैले केही भनिनँ । न त मसँग नागरिकता थियो, न त विवाह दर्ता नै । सुत्केरी भएको २० दिनपछि म माइत गएर बसेँ । बुवा हामीसँग बस्नु हुँदैनथ्यो । दुःखसुख गरेर त्यहीँ बच्चा हुर्काउन थालेँ । म ममीसँगै बसेँ । ममीलाई मेरो पिर लाग्थ्यो । मेरो बच्चालाई समातेर ‘यति राम्रो सन्तान छ, छोरीको त्यो घटना नभइदिएको भए ज्वाइँसँगै बस्थी । ज्वाइँ लिन आउनुहुन्थ्यो’ भनिरहनुहुन्थ्यो ।

दिनदिनै बच्चा ठुलो हुँदै गयो र पढ्ने उमेरको भयो । त्यहाँको समाजले बच्चालाई पनि नराम्रो व्यवहार गर्न लागेका थिए । त्यसैले मेरो घटना बच्चालाई थाहा नहोस् र धेरै पढोस् भनेर बजारमा आएँ । बजारमा न त कोही चिनेका थिए, न त कोही आफ्नो ! तैपनि मैले हिम्मत हारिनँ र सरकारी स्कुलमा बच्चालाई भर्ना गरिदिएँ । मैले मजदुरी गरेर कोठा भाडा तिरेँ र बच्चालाई पढाएँ ।

बलात्कारको घटनाले गर्दा मेरो स्वास्थ्य अवस्था बिग्रेको छ । त्यहीमाथि मैले लेबरी काम गर्दा मेरो पाठेघर पनि खसेछ । त्यही बेलामा मैले एक जना दिदीलाई भेटेँ । उहाँले बच्चालाई निःशुल्क पढाउने व्यवस्था मिलाइदिनुभयो । मेरो पाठेघर खसेको उपचारको व्यवस्था गरिदिनुभयो । म बिरामी भएदेखि नतिरेको घरभाडा पनि तिरिदिनुभयो । उहाँले केही दाल, चामल, पैसा जुटाइदिनुभयो । अनि, छोरालाई कपडा पनि किनिदिनुभयो ।

सरकारले त मलाई द्वन्द्वपीडित पनि मानेको छैन । न त मलाई केही राहत दियो, न त मेरो ममीलाई ! कुनै कार्यक्रम हुँदा मेरो मनोबल बढ्छ भनेर उही सहयोग गर्ने दिदीले मलाई बोलाउनुहुन्छ । यही साउनको महिनामा पाठेघरको अपरेसन गरी रिङ राखी उपचार पनि गराइदिनुभयो । बच्चालाई राम्रो स्कुलमा त पढाएकी छु तर उसको भविष्यको सधैँ चिन्ता लाग्छ ।

प्रकाशन मिति : २०८१ असाेज ४ गते, शुक्रवार

कर्णाली गाथाका थप कथाहरू