Home Stories विभेदविरुद्धको सङ्घर्ष

विभेदविरुद्धको सङ्घर्ष

229
0

पुस्तक साभार शृङ्खला- ९

‘कर्णाली गाथा’ सशस्त्र द्वन्द्वपीडित तथा प्रभावित महिलाको सङ्घर्ष र साहसको मौलिक इतिहास हो । द स्टोरी किचेनको पहलमा तयार भई २०८० सालमा प्रकाशित सो पुस्तकमा २२ जनाको जीवनभोगाइका कथा छन् । कथाहरू महिलाको दृष्टिकोणबाट सत्यको अभिलेखीकरण गर्न र महिलाहरूलाई सङ्क्रमणकालीन न्याय प्रक्रियामा सहभागी बनाउन सशक्तीकरण गर्ने उद्देश्यले तयार गरिएका हुन् ।

सशस्त्र द्वन्द्वको समयमा महिला र बालिकाले भोगेका तर शान्ति प्रक्रियामा खुलेर आउन र समेटिन नसकेका व्यक्तिका जीवनभोगाइलाई ‘न्यारेटिभ थेरापी’ विधिबाट उत्खनन गरिएको थियो । पछि न्याय संवाददाता बनेका द्वन्द्वपीडित महिला र उनीहरूको सहयोगमा अरू भुक्तभोगी महिलाले आफैँ कथाकार बनेर लेखेका यी भोगाइलाई महिला इतिहासमा विशिष्ट सामग्रीका रूपमा लिन सकिन्छ । पुस्तकमा कतिपय व्यक्तिका हकमा कथाकारले वास्तविक नाम र थर नै खुलाएको भए पनि सम्बन्धित व्यक्तिको गोपनीयतालाई सम्मान गर्दै कथामा व्यक्तिबोधक बोलचालको नाता, पद जस्ता नामलाई मात्र उल्लेख गरिएको छ । ‘सन्धान’ ले २०८१ जेठ २५ गतेदेखि ‘कर्णाली गाथा’ का कथालाई हरेक शुक्रबार प्रकाशन प्रसारण गर्दै आएको यहाँलाई थाहै छ । यसै क्रममा आजको शृङ्खलामा प्रस्तुत छ, रुकुमकी आशा स्वर्णकारआशा स्वर्णकारको भोगाइ र लेखाइमा ‘विभेद विरुद्धको सङ्घर्ष’ ।

म सुनार परिवारमा जन्मेकी हुँ । मेरो जन्म रुकुम जिल्लाको भुमे गाउँमा भएको हो । हाम्रो गाउँमा नेवार, मगर र दलित जातिको बसोबास थियो । पढ्नका लागि ठुला स्कुल थिएनन् । मेरो घर नजिकै नेवार बस्तीमा कक्षा ३ सम्म पढाउने एउटा सानो स्कुल थियो । त्यस स्कुलमा प्रायः मगर र नेवारका बच्चाहरूले पढ्थे । मेरो बुवा सुनारको काम गर्ने र गाउँको अलि टाठोबाठो भएको हुँदा मलाई पनि स्कुल हालिदिनुभयो । स्कुलमा हामी दलित परिवारका जम्मा पाँच जना मात्र थियौँ । हामीले अरू जातिसँग बसेर पढ्न पाउँदैन थियौँ । अलि पर बसेर पढ्नुपर्थ्याे । मैले स्कुल लगेको अर्नि (खाजा) छुट्टै राख्नुपर्थ्याे । चोखा भनिएका जातिसँग छुन पाइन्न थियो ।

गरिबी र भेदभावमा हुर्केकी म सानैदेखि निडर स्वभावकी थिएँ । स्कुलमा विभेद गरेको देखेर रिस उठ्न थालेपछि मैले सबैको अर्नि छोइदिन्थेँ अनि झगडा पथ्र्यो । म अलि हठी स्वभावकी थिएँ ।

हाम्रो पालामा अहिले जस्तो कापी कलम पाइँदैनथ्यो । एउटा कालो अँगारमा तितेपाती मिसाएर पिसेर लेदो बनाउँथ्यौँ । त्यही लेदोले काठको फलेक रङ्याउँथ्यौं । फलेक घाममा सुकिसकेपछि ढुङ्गाको खरीले त्यसमा लेख्थ्यौँ । यसरी लेखपढ गर्दै मैले पाँच कक्षासम्म पढेँ । । बुवाले ’अब तँलाई म थप पढाउन सक्दिनँ’ भन्नुभयो । मेरो आमाले मलाई ’आत्मनिर्भर बन्नुपर्छ, अरूको आश गरेर खानुहुँदैन’ भन्ने कुरा सानैदेखि सिकाउनुभएको थियो । मेरो बुवा पनि व्यापार गर्नुहुन्थ्यो । त्यसैले मैले १७ वर्षको उमेरमा स्कुल छोडेर रुकुम सदरमुकाम आएर व्यापार थालेँ ।

त्यति बेला महिला विकास कार्यालयले १५ जना दिदीबहिनीको समूह बनाएको थियो । त्यो समूहमा म पनि थिएँ । कुनै पेसा व्यवसाय गर्न इच्छुक सदस्यलाई समूहको जमानीमा महिला विकास कार्यालयले विनाधितो ऋण उपलब्ध गराउँथ्यो । मैले समूहबाट १५ हजार रूपैयाँ ऋण लिएर व्यापार सुरु गरेँ । पहिले मैले किराना पसलबाट सुरु गरेको थिएँ, पछि फेन्सी पसल खोलेँ ।

त्यति बेला जेलमा राखिएका कैदी बन्दीहरूले सल बुन्थे । त्यसको लागि मेरो पसलबाट ऊनीको धागो जान्थ्यो । त्यसरी जेलभित्र बुनेका सल कहाँ जान्थ्यो, कसलाई बेचिन्थ्यो मलाई केही थाहा थिएन । तर, ऊनीको धागो जेलभित्र बेचेकै आधारमा मलाई ‘दिनमा व्यापार गर्ने, रातमा माओवादीको सिआइडी भएर काम गर्ने’ भनेर राज्यपक्षले शङ्का गर्न थाले ।

माओवादीलाई सहयोग गरेको भन्ने आरोपमा २०५६ सालमा मलाई राती प्रहरीले गिरफ्तार गर्‍यो । खलङ्गा बजारबाट मलगायत धेरै जनालाई गिरफ्तार गरिएको थियो । त्यो बेला रुकुममा महिला प्रहरी थिएनन् । बयान लिने पुरुष प्रहरीहरू नै हुन्थे । उनीहरूले घण्टा घण्टामा बयान लिन्थे । बयान लिँदा ‘तेरो गाउँका माओवादी नेताहरूको नाम भन्’ भन्थे । मैले कसैलाई चिनेको थिइनँ, कसको नाम लिने ? थाहा छैन भन्दा सिस्नुले चुट्ने, पाइपको लठ्ठीले कुट्ने, कालो बुटले हान्ने जस्ता धेरै यातना खप्नुपर्थ्याे । उनीहरूले हान्दा एउटा भित्ताबाट अर्को भित्तामा पुगिन्थ्यो । त्यहाँबाट बाहिर आउने आशा थिएन । एक दिन एमालेको कार्यकर्ता दिदीले मेरो सदस्यताको रसिद प्रहरीलाई देखाएर ‘ऊ माओवादी हैन’ भन्दै मलाई छुटाउनुभयो । मैले त्यति बेला नेपाल कम्युनिष्ट पार्टी एमालेको सदस्यता लिइसकेको थिएँ । १५ दिन कारागारमा बसिसकेपछि मलाई प्रहरीले तारिखमा छोड्यो । यातनाका कारण १५ दिनको बसाइ मलाई १५ महिनाभन्दा लामो लागेको थियो ।

कारागारबाट बाहिर निस्कँदा मेरो शरीर पूरै कालो भएको थियो । म एक पाइला पनि हिँड्न नसक्ने अवस्थामा थिएँ । त्यसपछि एक महिनासम्म तारिख धाएँ । त्यो बेलाको चरम यातनाका कारण अहिलेसम्म पनि म साह्रै बिरामी छु ।

प्रहरी कारागारबाट २०५६ सालमा निस्केर एक महिना तारिख बोकी सकेपछि म बिस्तारै राजनीतिमा सक्रिय भएँ । त्यसपछि २०७४ सालको स्थानीय निर्वाचनमा भुमे गाउँपालिकाको अध्यक्ष पदमा चुनाव लड्ने मौका मिल्यो । मैले चुनाव भने हारेँ । २०७४ सालकै प्रदेशसभा निर्वाचनमा पूर्वी रुकुमको प्रतिनिधिका रूपमा समानुपातिक तर्फबाट प्रदेशसभाको सदस्य भएँ । प्रदेशसभाको सदस्य हुँदा म भौतिक तथा वातावरण विकास समितिको अध्यक्ष पनि भएँ । त्यति बेला गरेको धेरै काममध्ये एउटा काम जनता आवास कार्यक्रमको हो । कार्यक्रम अनुगमनमा जाँदा सीमान्तकृत समुदायलाई छुट्ट्याइएको लक्षित बजेट उक्त समुदायसम्म नपुगेको थाहा पाएँ । हामीले त्यति बेला देखेका समस्याहरूलाई आफ्नो प्रतिवेदनमा स्पष्ट रूपमा राखेर मन्त्रालयमा पेस गरेका थियौँ । पछि मन्त्रालयले लक्षित बजेट सम्बन्धित समुदायमा नै पुग्नुपर्ने भनी निर्देशन दियो । मलाई त्यति बेला राम्रो काम गर्न सकेकोमा गर्व महसुस भएको थियो ।

निर्वाचनमा समानुपातिकको प्रावधानले नेतृत्वमा पुग्न सहज त भएको छ, तर, अहिले पनि हामी जस्तो महिला र दलितलाई समानुपातिक भनेर अलि फरक व्यवहार गरिन्छ । जिम्मेवारी दिन खोज्दैनन् । जिम्मेवारी दिए पनि सहानुभूतिको दृष्टिले हेर्छन् । यो विभेदको विरूद्ध म अझै लडिरहेको छु ।

प्रकाशन मिति : २०८१ साउन १८ गते, शुक्रवार

कर्णाली गाथाका थप कथाहरू