Home Stories अझै न्याय पाइएन

अझै न्याय पाइएन

127
0

पुस्तक साभार शृङ्खला –१५

‘कर्णाली गाथा’ सशस्त्र द्वन्द्वपीडित तथा प्रभावित महिलाको सङ्घर्ष र साहसको मौलिक इतिहास हो । द स्टोरी किचेनको पहलमा तयार भई २०८० सालमा प्रकाशित सो पुस्तकमा २२ जनाको जीवनभोगाइका कथा छन् । कथाहरू महिलाको दृष्टिकोणबाट सत्यको अभिलेखीकरण गर्न र महिलाहरूलाई सङ्क्रमणकालीन न्याय प्रक्रियामा सहभागी बनाउन सशक्तीकरण गर्ने उद्देश्यले तयार गरिएका हुन् । सशस्त्र द्वन्द्वको समयमा महिला र बालिकाले भोगेका तर शान्ति प्रक्रियामा खुलेर आउन र समेटिन नसकेका व्यक्तिका जीवनभोगाइलाई ‘न्यारेटिभ थेरापी’ विधिबाट उत्खनन गरिएको थियो । पछि न्याय संवाददाता बनेका द्वन्द्वपीडित महिला र उनीहरूको सहयोगमा अरू भुक्तभोगी महिलाले आफैँ कथाकार बनेर लेखेका यी भोगाइलाई महिला इतिहासमा विशिष्ट सामग्रीका रूपमा लिन सकिन्छ ।

पुस्तकमा कतिपय व्यक्तिका हकमा कथाकारले वास्तविक नाम र थर नै खुलाएको भए पनि सम्बन्धित व्यक्तिको गोपनीयतालाई सम्मान गर्दै कथामा व्यक्तिबोधक बोलचालको नाता, पद जस्ता नामलाई मात्र उल्लेख गरिएको छ । ‘सन्धान’ ले २०८१ जेठ २५ गतेदेखि ‘कर्णाली गाथा’ का कथालाई हरेक शुक्रबार प्रकाशन प्रसारण गर्दै आएको यहाँलाई थाहै छ । यसै क्रममा आजको शृङ्खलामा प्रस्तुत छ, जुम्लाकी कर्मकन्या हमालको जीवनभोगाइमा ‘अझै न्याय पाइएन’ ।

मेरो बुवाआमा सानैमा बित्नुभयो । बुवाआमाको माया मैले कहिल्यै अनुभव गर्न पाइनँ । म परिवारकी कान्छी छोरी हुँ । मलाई दाजुले हुर्काउनुभयो । पढ्ने लेख्ने चलन नै थिएन । घरधन्दा गर्ने, गोरु चराउने जस्ता काम गर्दै मेरो बाल्यकालका दिनहरू बिते ।

म २०१६ सालमा जुम्लामा जन्मिएकी हुँ । म २० वर्षकी हुँदा हाम्रै छिमेकका एउटा बाजेले ‘वृन्दावन मथुरामा जाउँ, त्यस ठाउँमा राम्रा–राम्रा ज्ञानगुनका कुराहरू सिकिन्छ, राम्रो लगाउन, मिठो खान पाइन्छ’ भनेर भन्नुभयो । अनि, म उहाँसँग इन्डियाको वृन्दावनमा गएँ । बाजे र म त्यो ठाउँमा १० वर्ष जति बसियो । त्यो ठाउँ त ‘स्वर्गको टुक्रा’ जस्तो लाग्यो । कस्ती कस्ती दिदीहरू विवाह नै नगरिकन बसेका । त्यो देखेपछि विवाह भन्ने कुरा खासै केही पनि रहेनछ भन्ने जस्तो लाग्यो ।

पछि दाजुले ‘म बहिनी नभएसम्म घरमा बस्न सक्दिनँ, म तिमीलाई लिन आएको’ भनेपछि म दाजुसँगै घर फर्किएँ । मलाई विवाहको लागि धेरै केटाहरू हेर्न आए तर मेरो मन विवाहतिर गएन । उमेर पनि बढ्दै गयो, म माइतीमा नै बसेँ । मेरो दाजु गाउँको मुखिया अनि नेपाली कांग्रेस महासमिति सदस्य हुनुहुन्थ्यो ।

पहिले पहिले माओवादी भन्ने हल्ला मात्र सुनिन्थ्यो । पछि उनीहरू गाउँघरतिर नै आउन थाले । घरमा जे पाकेको छ, त्यही उठाउँदै खाँदै जाने गर्न थाले । हाम्रो घरमा आएर चन्दा माग्ने धम्की दिने गर्थे । साह्रै गाह्रो हुन थालेपछि हाम्रो दाजु बजारतिरै बस्नुभयो । गाउँको घरमा म, भाउजू र दाइभाउजूका छोराछारी (भदाभदै) बस्थ्यौँ । २०५७ सालतिर हो, माओवादीले हाम्रो गाउँको घर जलाए । घरमा भएका सुनचाँदी, कासका थाल, तामाका गाग्री र भाँडा, घोडा, गाईभैंसी, बाख्रापाठा र नगद सबै लगे । ढुङ्गाले छाएको स्याउ भण्डारण गर्ने ठाउँ सहितको घर जल्दा ५०–६० लाख रूपैयाँ जतिको सम्पत्ति क्षति भयो । माओवादीको डरले गर्दा दाइ परिवार लिएर सुर्खेत बस्न थाल्नुभयो ।

म र दाइकी सानी छोरी मात्रै गाउँको घरमा बस्थ्यौँ । जलेर बाँकी भएको एउटा कोठामा हामी बसेका थियौँ । पछि माओवादीले ‘यस्तो घर जल्दा पनि नभाग्ने, सम्पत्ति सम्हालेर बस्ने विचार गरेकी’ भन्दै मलाई पनि दुःख दिन थाले । पटक–पटक आएर १०–२० जनालाई खाना पका भन्थे । जथाभावी बोलेर पीडा दिन्थे । त्यो सबै सहेर म त्यही घरमा बसेकी थिएँ ।

त्यो २०५९ साल माघ महिनाको दिन थियो । उनीहरूले ‘आज राति २० जनालाई खाना पकाउनू’ भनेका थिए । मैले रोटी बनाएर राखेँ । उनीहरू रातिको एक बजेतिर हाम्रो घरमा आए । मैले खाना खान आएका होलान् भन्ने सोचेँ, तर उनीहरू त मलाई अपहरण गर्न आएका रहेछन् । ‘उठ्, हिँड्, जाऊँ’ भन्न थाले । ‘अहिले तपाईंहरू मलाई कहाँ लिनुहुन्छ, भोलि उज्यालो हुन दिनुहोस्, तपाईंहरूले जहाँ जाऊँ भन्नुहुन्छ त्यहीँ जाउँला’ भनेँ । तर उनीहरूले ‘हिँड्, अझ बढी बोल्छेस् ?’ भनेर लात्ती लात्तीले हाने । कहिले दाउराले हान्ने र अरू जे पायो त्यसैले हान्दै मेरो तिघ्रामा चक्कु रगड्न थाले । म चिच्याएपछि त्यो सानी भदै ’नि ढोकाको आड लिएर लुकी । हुन पनि बिचराले के नै गर्न सक्थी र ?

उनीहरूले राति नै मलाई पिट्दै लछारपछार गर्दै घरदेखि टाढा दुई घण्टाको बाटो हिँडाए । जङ्गलमा पानीको खाल्डाखुल्डी परेको ठाउँमा ढुङ्गा राखे । मलाई उल्टो पारेर मेरो टाउको त्यो ढुङ्गामा राखे । त्यसपछि उनीहरूले माथिबाट हिर्काउन थाले । मेरो टाउकोमा चक्कुले हाने । मेरो टाउकोबाट रगत निस्किएपछि उनीहरू हाँस्ने गर्थे । उनीहरूले ‘सामन्तीकी बहिनी, तँलाई त आज सिध्याउने हो, तैँले दाइको घर सम्पत्ति सम्हालेर बस्ने आँट गरिस्, यो त सबै हाम्रो सम्पत्ति हो ।’ भन्दै पिट्दै गरे । मलाई चक्कुले गोडामा पनि हानेर रगत निकालिदिए । मैले बिन्ती गर्दै ‘मलाई नमार, म भोलि बिहानै यहाँबाट गइहाल्छु । मलाई घर सम्पत्तिको माया छैन’ भन्दा पनि मलाई पिट्न छोडेनन् । पिटाइले म बेहोस भएछु ।

केही समयपछि मेरो होस आयो । उनीहरू गइसकेका रहेछन् । मेरो कपाल पानीमा भिजेको, शरीर चिसो र रगताम्य भएको थियो । कतै उनीहरू यहीँ कहीँ लुकेर बसेका छन् कि ? फेरि मलाई मार्न आउने हुन् कि ? भन्ने डरले एकछिन सुनेँ । तर, उनीहरूको आवाज कतै सुनिएन । म उठ्न खोज्दा उठ्नै सकिनँ । पूरै जिउ काँपिरहेको थियो । त्यो अँध्यारो रातमा घुँडा टेक्दै भिरको अप्ठ्यारो बाटोमा सानो लठ्ठीको सहारामा घिसारिँदै म अलि परको एउटा घरमा पुगेँ । त्यो घरको माथिल्लो तलामा मान्छे बस्दा रहेछन् । घर पछाडिपट्टि ट्वाइलेट थियो । मैले त्यही ट्वाइलेटभित्रको पानी पिएँ । अलि शीतल भयो । त्यसपछि उनीहरूको तल्लो तलाको गोठमा म सुटुक्क छिरेँ र तीन दिनसम्म सुतेँ ।

म त्यहाँ सुतेको त्यो घरका कसैले पनि थाहा पाएनन् । पछि साह्रै भोक लाग्यो । जसले देखे पनि देखोस्, मारे पनि मारून् भन्ने सोचेर चार हातखुट्टा टेक्दै गोठबाहिर आएँ । त्यो घर दलित परिवारको रहेछ । मैले घरका मान्छेलाई सबै कुरा बताएँ । ‘दाइ, तपाईं मलाई उनीहरूबाट बचाउने भए पनि बचाउनुहोस्, सुराकी गर्ने भए पनि गर्नुहोस् तर मलाई एकदम भोक लागेको छ, पानी र केही खान दिनुहोस्’ भनेपछि उहाँले एक लोटा पानी र एउटा रोटी ल्याएर दिनुभयो । रोटी एक गाँस खाएँ, पानी पूरै पिएँ । अलिअलि सास आयो । कसैलाई पनि थाहा नदिई मलाई उनीहरूले त्यही गोठमा सुत्न दिए । अलिअलि खान पनि दिए ।

त्यो घरका मान्छेले मलाई धेरै ठुलो गुन लगाएका छन् । त्यही दाइले गाउँको स्वास्थ्य चौकीमा गएर डाक्टरसँग ‘एक जना महिला न मर्ने न बाँच्ने अवस्थामा मेरो घरमा लुकेर बसेकी छन्, केही औषधि भए दिनुहोस्’ भनेपछि ती डाक्टरले दुखाइ कम गर्ने औषधि दिएछन् । त्यही औषधि खाएपछि दुखाइ अलि कम भयो । माओवादीले म यो घरमा बसेको थाहा पाए भने यो घरका मान्छेलाई यातना दिने हुन् कि भन्ने डर लाग्थ्यो । त्यतिखेर माओवादीले आफूले पिटेका, घाइते बनाएका मान्छेलाई सहयोग गर्नेहरूलाई पनि यातना दिने गर्थे । त्यही भएर मान्छेहरू सहयोग गर्न डराउँथे ।

एउटा अर्को आफन्त गाउँले र त्यो घरको दाइ गरी दुई जनाले १५–२० दिनपछि मलाई रातारात बोकेर जुम्ला बजारसम्म ल्याइदिनुभयो । बजार आउन सफल भएपछि प्लेनको टिकट काटेर म सुर्खेतमा दाजुको परिवार बसेको ठाउँमा गएँ । मलाई दाजुले मेरो उपचारका लागि काठमाडौँ लैजानुभयो । दाजु आफैँमा विस्थापित भएका दुःखी मान्छे । उहाँसँग पैसा कहाँबाट आउँथ्यो र ? गाउँको मान्छेसँग ऋण मागेर उपचार गर्नुभएको हो रे ! मैले सन्चो भइसकेपछि खर्च कति लाग्यो भनेर सोध्न पनि सकिनँ । किनकि, सोधे पनि आफूले केही गर्न सक्ने अवस्था थिएन । त्यतिखेर सुर्खेतमा जेनतेन गुजारा चलाएर बसियो ।

देशमा शान्ति आइसकेपछि ‘अब सबै घर फर्किनुपर्छ, अब केही हुँदैन’ भनेर सञ्चारकर्मी, मानव अधिकार आयोग, रेडक्रस जस्ता सङ्घसंस्थाहरूको पहलमा फूलमाला लगाएर हामीलाई हाम्रो जिल्लासम्म पुर्‍याए । दाजुसँगै सबै परिवार घर आयौँ । जेनतेन आफ्नै घरमा सबै परिवार खुसी थियौँ । तर, शत्रुको अगाडि कसैको पनि केही लाग्दो रहेनछ ।

राति दाजु सुतिरहनुभएको थियो । २०६६ साल वैशाख ८ गते मुखमा पट्टी बाँधेका धेरै जना घरमा आए । छतमा, आँगनमा जम्मा भएर मेरो दाजुलाई ‘ए मुखिया साब, बाहिर निस्किनुस्, तपाईंसँग काम छ’ भनेर बोलाए । दाजुले ‘म अहिले राति आउँदैन, के काम हो भोलि बिहान गरौँला’ भन्नुभयो । त्यसपछि उनीहरूले ‘ए डाँका, अहिले आउँदैन भनेर भन्छस्, नआएर सुख पाइन्छ ?’ भन्दै भित्रबाट तान्दै, हात बाँधेर पिट्दै लगे । घर नजिकै लगेर एउटा खुट्टा भाँचिदिए । त्यसपछि पिट्दै घरदेखि डेढ घण्टाको बाटोमा पु–याएर मेरो दाइको एउटा गोडामा आठ वटा किला र अर्को गोडामा १४ वटा किला गाडेका रहेछन् । त्यसरी यातना दिएर मारेपछि दाइको लास भोलिपल्ट बिहानै घर नजिकै ल्याएर फालेछन् । हामीले देख्दा दाइको दायाँ हात बायाँ गोडा ढुङ्गाले थिचेको थियो, टाउको फुटेर गिदी निक्लेको थियो, छाती फुटेको थियो ।

एकाबिहानै दाजुको त्यस्तो अवस्था देखेर सबै परिवारको बिचल्ली भयो । जेठो दाजु पनि दाइको त्यस्तो मृत्यु देखेर चिन्ताले एक महिनामै बित्नुभयो । यो घटनापछि त्यो ठाउँमा बस्न नसकेर हाम्रो परिवारका अरू सुर्खेतमा बस्न गए । गाउँमा आफन्तको आड त थियो तर त्यो घरमा बस्ने अब म एक्ली भएँ । देशमा शान्ति भइसकेपछि दाइलाई चरम यातना दिएर मार्ने ती मान्छेहरू हाम्रै गाविसतिरका हुन् । अहिले म उनीहरूको नाम लिन चाहन्नँ । त्यो घटनाको सिङ्गो गाउँ साक्षी थियो । तर, उनीहरूका विरूद्ध किटान गरेर मुद्दा हाल्ने कसैले आँट गरेनन् । मेरै जेठो दाइले मुद्दा हाल्नुभएको थियो । दाइ पनि एक महिना नबित्दै बितिहाल्नुभयो ।

पछि मैले मारे पनि मार्लान् न्याय पाउँछु कि भनेर रातारात जिल्लामा आएर मुद्दा दर्ता गरेँ । त्यसपछि दुई जनालाई थुन्यो, पाँच जनालाई तारिखमा छोड्यो । उनीहरूको त्यतिखेरको बयान सुन्ने हो भने मेरो दाजु र मैले निसाफ पाउँछु जस्तो लागेको थियो । उनीहरूको धाकधम्की सुन्ने हो भने अब हार्छु भन्ने पनि लाग्थ्यो । १२ वर्षपछि मुद्दाको फैसला आयो । तर, उच्च अदालत पुग्दा पनि माथिबाट आएको दबाब र उनीहरूकै मिलेमतोका कारण हामीले मुद्दा हार्यौ ।

यसरी मेरो जीवन पीडा नै पीडाले भरिएको छ । एकातिर, देशले न्याय दिन नसकेकोले मेरो दाजुको आत्माले शान्ति पाएको छैन । अर्कोतिर, माओवादीले त्यतिखेर दिएको चोट र दागहरू अझै दुख्दैछन् । औषधि गर्ने क्षमता छैन । भारी बोक्ने काम गर्न सक्दिनँ । दाजुको छोराले ‘फुपू, तपाईंलाई म उपचार गर्छु’ भन्दा खुसी लाग्छ । उपचार गर्न जाँदा २०–३० हजार रूपैयाँको बिल आउँछ । आफैँलाई अप्ठ्यारो लाग्छ ।

मलाई नेपाल सरकारले द्वन्द्वपीडितको नाममा केही सहयोग गरेको छैन । शान्ति समितिमा, सत्य निरूपण तथा मेलमिलाप आयोगमा मैले निवेदन गरेँ तर त्यसको केही सुनुवाइ भएको छैन । सँगै निवेदन गरेकाहरूलाई सत्य निरूपण आयोगले सोधपुछ गर्न बोलायो रे ! तर मेरो केही खबर आएको छैन । द्वन्द्व समाप्त भएपछि भएको दाजुको घटनामा पनि न्याय पाउन सकिएन ।

मलाई अनाहकमा यातना दिने व्यक्तिहरू अझै जीवितै छन् । मलाई यातना दिने र मेरो दाजुलाई मार्नेहरूलाई सरकारले सजायँ दियो भने मात्र मेरो दाजुको आत्माले शान्ति पाउँछ र मेरो जीवनले पनि शान्ति पाउँछ । त्यतिखेरको जस्तो समय कहिल्यै नफर्कियोस् ! कोही कसैले यस्तो पीडा फेरि भोग्न नपरोस् !

प्रकाशन मिति : २०८१ भदाै २८ गते, शुक्रवार

कर्णाली गाथाका थप कथाहरू