Home Stories सास कि लासको सङ्घर्ष

सास कि लासको सङ्घर्ष

105
0

पुस्तक साभार शृङ्खला –१

‘कर्णाली गाथा’ सशस्त्र द्वन्द्वपीडित तथा प्रभावित महिलाको सङ्घर्ष र साहसको मौलिक इतिहास हो । द स्टोरी किचेनको पहलमा तयार भई २०८० सालमा प्रकाशित सो पुस्तकमा २२ जनाको जीवनभोगाइका कथा छन् । कथाहरू महिलाको दृष्टिकोणबाट सत्यको अभिलेखीकरण गर्न र महिलाहरूलाई सङ्क्रमणकालीन न्याय प्रक्रियामा सहभागी बनाउन सशक्तीकरण गर्ने उद्देश्यले तयार गरिएका हुन् ।

सशस्त्र द्वन्द्वको समयमा महिला र बालिकाले भोगेका तर शान्ति प्रक्रियामा खुलेर आउन र समेटिन नसकेका व्यक्तिका जीवनभोगाइलाई ‘न्यारेटिभ थेरापी’ विधिबाट उत्खनन गरिएको थियो । पछि न्याय संवाददाता बनेका द्वन्द्वपीडित महिलाका र उनीहरूको सहयोगमा अरू भुक्तभोगी महिलाले आफैँ लेखेका यी भोगाइलाई महिला इतिहासमा विशिष्ट सामग्रीका रूपमा लिन सकिन्छ । पुस्तकमा कतिपय व्यक्तिका हकमा कथाकारले वास्तविक नाम र थर नै खुलाएको भए पनि सम्बन्धित व्यक्तिको गोपनीयतालाई सम्मान गर्दै कथामा व्यक्तिबोधक बोलचालको नाता, पद जस्ता नामलाई मात्र उल्लेख गरिएको छ । ‘सन्धान’ ले २०८१ जेठ २५ गतेदेखि ‘कर्णाली गाथा’ का कथालाई हरेक शुक्रबार प्रकाशन प्रसारण गर्दै आएको यहाँलाई थाहै छ । यसै क्रममा आजको शृङ्खलामा प्रस्तुत छ, सुर्खेतकी हरिमाया भट्टराई दाहालको ‘सास कि लासको सङ्घर्ष’

मेरो जन्म २०२५ साल पुस २५ गतेका दिन सुर्खेत वीरेन्द्रनगर– ५ मा भएको हो । परिवारकी कान्छी छोरी भएका कारण मैले खासै घरपरिवारको जिम्मेवारी लिनुपर्ने थिएन । म सुर्खेतमा पढ्दै थिएँ । मलाई बाहुनकी छोरी छिटो पढ्नु हुँदैन भनेर १२ वर्षको उमेरमा मात्र स्कुल पढ्न पठाइयो । मेरो पढाइ भने राम्रै थियो ।

मेरो श्रीमान्‌काे घर पोखरामा थियो । उहाँ सरकारी जागिरको सिलसिलामा सुर्खेतमा कार्यरत हुनुहुन्थ्यो । म सात कक्षामा पढ्दै गर्दा उहाँ घरमा मलाई बिहेका लागि माग्न आउनुभयो । सरकारी जागिर पनि भएको र केटा लायकको भएको हुनाले बुवाआमाले सहमति जनाउनुभयो । मेरो भिनाजु सरकारी जागिरे भएकोले उहाँले मन्दिरमा लगेर हाम्रो बिहे गराइदिनुभएको थियो । हाम्रो बिहे २०४४ साल असारमा भएको थियो । बिहेमा श्रीमान्‌काे घरपरिवारबाट कोही आउनुभएको थिएन । मैले सोध्दा ‘नभ्याएर आउनु भएन’ भन्नुभयो । उहाँको जागिर यतै (सुर्खेतमा) भएको कारण म पोखरातिर जान पाइनँ ।

मैले घर लैजान धेरै कर गथेँ तर मेरो श्रीमान्‌ले सधैँ जागिरको बहाना बनाउनुहुन्थ्यो । मैले कर गर्न नछोडेपछि उहाँले मलाई पोखरा घर लैजानुभयो । पोखरा पुगेपछि मात्र मैले थाहा पाएँ, उहाँको पहिल्यै बिहे भइसकेको रहेछ । मलाई झुठ बोलेर बिहे गरेको रहेछ भन्ने कुरा मैले बल्ल थाहा पाएँ । साह्रै चित्त दुख्यो । मेरो भविष्य अन्धकार भए जस्तै लाग्यो । मेरो माइतीले पनि उहाँको घरमा जेठी श्रीमती भएको थाहा पाएपछि निकै रिसाउनुभयो । मेरो जीवन अप्ठेरोमा नपरोस् भनेर माइतीले मलाई सुर्खेतमा घडेरी दिनुभयो । बिहे गरेको दुई वर्षमा मेरो पहिलो सन्तान छोरीको जन्म भयो । अलिअलि पैसा जम्मा गरेर हामीले सुर्खेतमा घर हालिम् । श्रीमान्‌काे सुर्खेतबाट फेरि पोखरामा सरुवा भयो । हामी पोखरामा उहाँसँगै क्वार्टरमा बस्थ्यौँ । मनमा पीडा त धेरै थियो र पनि उहाँले मेरो साथ दिएको कारण ती पीडा बिर्सेर श्रीमान्‌सँग बसेँ । मेरो अरू दुई सन्तानको पनि जन्म भयो ।

मेरो श्रीमान् अफिसको लेखापाल भएका कारण ‘माओवादी चन्दा माग्न आइरहन्छन्’ भन्नुहुन्थ्यो । द्वन्द्वले हाम्रो परिवारलाई तितरबितर बनाइदिन्छ कि भनेर मलाई डर लागिरहन्थ्यो । आखिर त्यो सत्य नै भयो । २०६० साल साउन ९ गतेको दिन मैले उहाँलाई खाना खुवाएर अफिस पठाएकी थिएँ । ‘नौ लाखको चेक छ, गएर साट्नु छ, म छिटो अफिस जान्छु’ भनेर घरबाट निस्कनुभएको थियो । तर उहाँ, त्यो दिन घर फर्किनु भएन । बेलुकासम्म पनि क्वार्टरमा नआउनुभएपछि मैले उहाँ जेठी श्रीमतीकोमा जानुभयो होला भन्ने सोचेँ । जेठी श्रीमती बस्ने घर पनि नजिकै थियो ।

भोलिपल्ट उहाँको अफिसबाट मान्छे आएर ‘तिम्रो श्रीमान् खोइ ?’ भनेर सोधे । कुरो बुझ्दा त उहाँ त जेठी श्रीमतीकोमा पनि जानु भएनछ, अफिस पनि जानु भएनछ । उहाँ कहाँ जानुभयो थाहै भएन । अफिसका मान्छेले ‘नौ लाखको चेक लगेर भाग्यो’ भन्ने आरोप लगाए । मैले श्रीमान्‌लाई धेरै खोजेँ । हामीले स्थानीय पत्रपत्रिका र एफएममा मानिस हराएको सूचना पनि निकाल्यौँ तर भेट्न सकिएन । १५ दिनपछि अफिसको सेफ खोलेर हेर्दा नौ लाख रुपैयाँको चेक त्यहीँ भेटिएछ । त्यसपछि अफिसमा बल्ल उहाँलाई अपहरण गरी बेपत्ता बनाइएको हो कि भन्ने शङ्का भयो । माओवादीले चन्दा मागिरहने भएकाले उनीहरूले नै अपहरण गरी बेपत्ता बनाएको शङ्का भयो ।

म श्रीमान्‌काे खोजीका निम्ति पोखरामा दुई महिना खाई नखाई बसेँ । उहाँको परिवारले पनि विभिन्न किसिमका आरोप मलाई मात्र लगाइरहन्थे । ‘अब श्रीमान् भाग्यो, डल्ला खान्छे’ भन्ने जस्ता वचन लगाउँथे । उहाँको खोजीकै क्रममा मसँग अलिकति भएको नगद र रासन सबै सकियो । के खाने ? के लगाउने ? छोराछोरीलाई के खुवाउने ? भोकभोकै पर्ने स्थिति आएपछि हामी पोखरामा बस्न सकेनौँ । बाबाआमालाई सुर्खेत फोन गरेँ । बाबाले ‘यतै आइज, जसोतसो गरौँला, ज्वाइँलाई पनि खोजौँला’ भनेपछि तीन छोराछोरी बोकेर म सुर्खेत माइतमा आएँ ।

मलाई यस्तो हालतमा बाँच्नभन्दा मर्छु जस्तो धेरै पटक लाग्यो । तर छोराछोरीको अनुहार हेरेर मैले कुनै अप्रिय निर्णय लिइनँ । आफूले सङ्घर्ष गरेर घरखर्च चलाउन र दुई छाक टार्न त सकेँ तर मलाई छोराछोरी पढाउन निकै गाह्रो हुन थाल्यो । त्यसैले जागिर पनि गर्न लागेँ । मैले छोराछोरीलाई सके जति पढाएँ । पढाइमा अब्बल हुँदाहुँदै पनि उनीहरूले उचित शिक्षा पाउन सकेनन् । बाबा भएको भए हामीले चाहेको विषय पढ्न पाउँथ्यौँ भनेर उनीहरू बेला बेला भनिरहन्छन् ।

मेरो दुःख छोराछोरीले खेर जान दिएनन् । आफ्नो अभाव बुझेका हुनाले उनीहरूले पनि मेहनत गरेर पढे । उनीहरू अहिले मलाई बुझ्ने र माया गर्ने भएका छन् । छोराले लोकसेवा पास गरेर सुब्बामा नाम निकालेको छ । सबै घरव्यवहार उसैले धान्ने गरेको छ । २०७५ वैशाखमा मैले उसको बिहे पनि गरिदिएँ । मेरो माइतीले आफूले सक्ने सहयोग गर्नुहुन्छ । छोराछोरीको प्रगति देख्दा अहिले खुसी लाग्छ ।

मेरो श्रीमान्‌लाई बेपत्ता पारिएको भनेर सरकारले अझै पनि घोषणा गरेको छैन । धेरै ठाउँमा गएर दर्ता गराउने कोसिस गरेँ तर कुनै सुनुवाइ भएन । बेपत्ता आयोगमा गएर ‘कि सास देऊ कि लास’ भनेर कराउने गर्छु । मलाई अझै पनि उहाँ आएर ‘हरिमाया’ भन्नुहुन्छ जस्तो लाग्छ । आजभोलि कहिलेकाहीँ पोखरा घर जान्छु । सासू बुढी भइसक्नुभयो । जतिखेर पनि छोराकै नाम जपेर बस्नुहुन्छ । सासूको सास छोरामै अड्किएको छ । म उहाँ जिउँदै हुनुहुन्छ भनेर सम्झाउँछु । झुटो हो कि साँचो हो मलाई थाहा छैन ।

प्रकाशन मिति : २०८१ असाेज ११ गते, शुक्रवार

कर्णाली गाथाका थप कथाहरू