पुस्तक साभार शृङ्खला– ४
‘कर्णाली गाथा’ सशस्त्र द्वन्द्वपीडित तथा प्रभावित महिलाको सङ्घर्ष र साहसको मौलिक इतिहास हो । द स्टोरी किचेनबाट २०८० सालमा प्रकाशित सोही पुस्तकमा रहेका २२ कथामध्येबाट एउटालाई साभार गरी ‘सन्धान’ ले २०८१ जेठ २५ गतेदेखि हरेक शुक्रबार प्रकाशन प्रसारण गर्दै आएको छ । पुस्तकमा सशस्त्र द्वन्द्वको समयमा महिला र बालिकाले भोगेका तर शान्ति प्रक्रियामा खुलेर आउन र समेटिन नसकेका २२ जनाका जीवनभोगाइ छन् । कथाहरू महिलाको दृष्टिकोणबाट सत्यको अभिलेखीकरण गर्न र महिलाहरूलाई सङ्क्रमणकालीन न्याय प्रक्रियामा सहभागी बनाउन सशक्तीकरण गर्ने उद्देश्यले द स्टोरी किचेनको पहलमा न्यारेटिभ थेरापी’ विधिबाट उत्खनन् गरी तयार गरिएका हुन् । यसमा न्याय संवाददाता बनेका द्वन्द्वपीडित महिलाका र तिनको सहयोगमा अरू भुक्तभोगी महिलाले आ–आफैँ लेखेका कथा पनि छन् ।
यी कथालाई महिला इतिहासमा विशिष्ट सामग्रीका रूपमा लिन सकिन्छ । कतिपय कथाकार र व्यक्तिका हकमा द स्टोरी किचेनलाई वास्तविक नाम, थर र ठेगाना बताइएको भए पनि सम्बन्धित व्यक्तिको सुरक्षा संवेदनशीलता र गोपनीयतालाई सम्मान गरिएको छ । यसैले कतिपय ठाउँमा व्यक्तिबोधक बोलचालको नाता, पद, संस्था जस्ता नाम, ठामलाई मात्र उल्लेख गरिएको हो । आजको शृङ्खलामा प्रस्तुत छ, आफूमाथि १७ वर्षको उमेरमा भएको घटनाको न्यायका लागि सङ्घर्षरत किशोरी/महिला, जसलाई पुस्तकमा ‘साहसी १७’ भनी कोडनाम दिइएको छ, उहाँको ‘एउटा प्रश्न’ ।
नेपालमा २०५२ सालबाट द्वन्द्व सुरु भयो । हाम्रो गाउँमा माओवादीको बिगबिगी थियो । हाम्रो गाउँलाई त माओवादीको अखडा पनि भन्ने गर्थे । २०५८ सालको कुरा हो । माओवादीको डरले मेरा दाइहरू भागेर इन्डिया जानुभएको थियो । मेरो घरमा आमा, बुवा र म मात्र थियौँ । म त्यतिखेर १७ वर्षकी थिएँ र छ कक्षामा पढ्थेँ । मलाई खेल्न, गाउन, कविता लेख्न र नाच्न मन पर्थ्याे । म निडर र प्रस्ट बोल्ने स्वाभावकी थिएँ । मलाई माओवादी, आर्मी केही थाहा थिएन । यस्ता कुरामा त्यति मतलब पनि हुँदैन थियो । म ढिलो गरी माथिल्लो कक्षामा गएकी थिएँ । म आफ्नो कक्षाको लिडर पनि थिएँ ।
साउन महिनाको कुरा हो । म सधैँ झैँ स्कुलमा थिएँ । त्यसै दिन माओवादीले स्कुलमा आएर प्रत्येक कक्षाबाट दुई जना विद्यार्थी लाने निर्णय सुनाए । हामी विद्यार्थीहरूलाई जान मन थिएन । तर स्कुलले पनि ‘जाऊ न त जाऊ, दुई दिनकै कुरा त हो नि !’ भन्यो । अनि, माओवादीले ‘तिमीहरू जान्नौ भने बाउआमालाई लैजान्छौँ’ भने । स्कुल र माओवादी दुवैतिरबाट दबाब आएपछि बाउआमालाई जोगाउनकै लागि भए पनि हामी आफैँ जाने निर्णय गरेम् । त्यसरी जानेमा हामी चार जना केटी मात्र थिइम् ।
‘कार्यक्रम नजिकै छ’ भनिएको थियो तर माओवादीले हामीलाई मेरो जन्मथलो भएको ठाउँमा लगे जुन हाम्रो परिवार बस्ने ठाउँबाट टाढा थियो । हामीलाई त्यहाँ कार्यक्रममा नाच्न, गाउन र कविता लेखेर सुनाउन लगाइन्थ्यो । कहिले बन्दुक बारूद बोक्न लगाउँथे । साथीहरू गाउँमा कहिले कहाँ त कहिले कहाँ अरूको घरमा खाना खान्थे तर मलाई मागेर खान मन पर्दैनथ्यो । त्यसैले मैले हामीसँग भएको चाउचाउ र बिस्कुट खान्थेँ । केही दिनपछि सँगै लगेका हामी चार जनालाई अलग अलग बनाइयो ।
दुई दिनको लागि भनेर लगेका थिए तर २२ दिन पुग्दा पनि मलाई छोडेनन् । त्यही बिचमा नयाँ साथीहरू बने । राति राति ड्युटी बस्नुपर्दथ्यो । एक रात हामी मिलेर भाग्ने योजना बनायौँ । २३ औँ दिनका दिन हामी त्यो ठाउँबाट भाग्न सफल पनि भयौँ । मसँगै गएका अरू तीन जना साथीहरू पनि भागे भन्ने सुनेको थिएँ तर पछि कहिल्यै भेट भएन ।
म घर पुगेको भोलिपल्ट माओवादीहरू मलाई लिन घरमै आइपुगे । आमाबुवाले पठाउन मान्नु भएन । ‘बरू हामी मर्न तयार छौँ, छोरी पठाउँदैनौँ’ भन्दा उनीहरूले आमाबुवालाई पनि मार्ने धम्की दिए । आमाबुवालाई बचाउनको निम्ति बाध्यताले म फेरि तिनीहरूसँग गएँ । तर यसपालि उनीहरूले मलाई धेरै टाढा लगे, जहाँबाट म भागेर आउन सम्भव थिएन । त्यहाँ पनि मलाई पहिला झैँ काम गराइन्थ्यो ।
नयाँ ठाउँमा लगेको १४–१५ महिना पुगेको थियो । जुम्लाको चौकी हान्ने योजना बनाउँदै गरेको सुन्थेँ । त्यसकै लागि हतियार बोकाएर ओसार्न लगाएको हो पनि भन्थे । काम गर्ने क्रममा लोटेर (लडेर) घाइते भएपछि मलाई माओवादीकै मेडिकलमा लगेर उपचार गरियो । मैले केही समय काम गर्न सकिनँ । उनीहरू मलाई ‘आराम गर्’ भनेर गाउँमा छोडी कार्यक्रम गर्न जान्थे । म अलि सन्चो भएपछि एक दिन साथीहरूसँग धारामा नुहाउन गएकी थिएँ । धारामा नुहाउँदै थिएँ, घोप्टी पर्दा गोडाको बिच भागबाट आर्मीको गस्ती तल्तिरबाट आइरहेको देखेँ । म त डरले बेहोस भएछु ।
डेढ घण्टापछि होस आउँदा आर्मीले ब्याग, कागजपत्र जलाइसकेका रहेछन् । मेरो ब्यागमा राखेको बारूद र मैले कविता लेखेको कापी समेत उनीहरूले भेट्टाएछन् । नजिकै बाँसको बुटाको झ्याङ थियो । अरू चार जना साथीहरू त्यहीँ लुकिरहेका रहेछन् । मलाई आर्मीहरूले घेरा हालिरहेका थिए । मलाई लाग्यो, अब मेरो बाँच्ने उपाय केही छैन । त्यसपछि म र नुहाउन सँगै गएका मेरा चार जना साथीलाई आर्मीले समाते । उनीहरूले हाम्रो आँखामा कालोपट्टी बाँधे र डेढ–दुई घण्टा हिँडाएर एउटा स्कुलमा लगेर राखे ।
भोलिपल्ट मलाई मेरो आफ्नै जिल्लाको आर्मी ब्यारेकमा ल्याइयो । मलाई त्यहाँ नुहाउँदा लगाएको पेटीकोट र मेडीमै लगिएको थियो । जिल्लाको बाहिनीमा ल्याइयो र हामीलाई नजरबन्दमा राखियो । त्यहाँ हामी पाँच जनालाई छुट्टाछुट्टै राखिएको थियो । चौबिसै घण्टा आँखामा पट्टी लगाएर राखिन्थ्यो र भैँसीलाई दिने कुँडो जस्तो खाना दिइन्थ्यो । छ–सात दिनसम्म फरक फरक ठाउँमा लगी ‘कसरी माओवादी भयौ, के के काम गर्नुपर्यो, कस्तो व्यवहार हुन्थ्यो ?’ जस्तो प्रश्न गर्थे । मैले सबै यथार्थ भन्थेँ तर पनि उनीहरूले मलाई छोडेनन् ।
जब उनीहरूले मलाई सोधपुछ गर्न बन्द गरे त्यसपछि एउटा मात्रै कोठामा राख्न थाले । त्यहाँ ममाथि नराम्रो नजर लगाउने आर्मी धेरै देखिए । म सानै थिएँ । के गर्न खोजेको र के भन्न खोजेको त्यो पनि बुझ्दैन थिएँ । आठौँ दिनको दिन एउटा आर्मी आएर कुँडो जस्तो खाना दियो र अर्को आर्मी भाँडा लिन आयो । भाँडा लिन आएको आर्मीको नजर ममाथि परेको रहेछ । पहिला ‘तँ को हो, के गर्छस् ?’ भनी राम्रै सोधपुछ गर्यो । तर एकछिनपछि एक्कासि मेरो कपाल समाती ‘यो कुरा कसैलाई भनिस् भने मार्दिन्छु’ भन्दै बुट लगाएको खुट्टा मेरो छातिमाथि राख्यो । उसले मेरो बलात्कार गर्यो । चाहेर पनि मैले चिच्याउन सकिनँ । किनकि, मेरो मुखमा बुझो लगाइएको थियो ।
ममाथि यस्तो घटना अब बारम्बार हुन थाल्यो । दिनमा पाँच–छ चोटिसम्म पनि बलात्कार हुन्थ्यो । उनीहरू कहिले खाना पुर्याउन, कहिले पानी दिन त कहिले सोधपुछका लागि आउँथे र बारम्बार मेरो बलात्कार गर्थे । कहिले एक जना त कहिले तीन–चार जना समेत आउन थाले । मेरो आँखामा पट्टी बाँधेको कारण मैले कसैलाई देख्न भने पाइनँ । उनीहरूले कसैसँग नभन्न धम्की दिने गर्थे । मलाई त्यो पीडा असह्य हुन थाल्यो । म खुनकै तालमा सुत्ने उठ्ने गर्थे ।
मेरो अरू कपडा पनि थिएन । त्यही लगाएको पेटीकोटले बुजो हालेर रगत रोक्थेँ । पछि धोएर त्यही चिसो पेटीकोट लगाउने गर्थे । यस्तो १५–१६ दिनसम्म भइ नै राख्यो । पछि मलाई उनीहरूले एउटा मेडी र टिसर्ट दिए । अब भने मरे पनि मर्छु भनेर मैले आफूलाई भएको कुरा भन्ने हिम्मत गरेँ । अलि राम्रो व्यवहार गर्ने एक जना आर्मीको गाउँ र मेरो गाउँ एउटै रहेछ । उसलाई मैले सबै कुरा भनेँ । त्यो आर्मीले मलाई ‘साथ दिँदैछु बहिनी’ भनेको त थियो, तर त्यहाँका अरू ‘राक्षस’ जस्ता आर्मीले उसलाई अन्तै सरुवा गरिदिएछन् । मेरो अवस्था दिनदिनै खराब हुँदै गएको थियो । पछि उनीहरूले मलाई बलात्कार गर्न कम गर्दै गए । मैले अब त छोडिदिनू कि मारिदिनू नत्र म भनिदिन्छु भन्दा ‘माओवादीसँग सुत्न हुने, हामीसँग किन नहुने ?’ भन्दै पिट्ने र गाली गर्ने गर्थे । एक दिन मैले आँखामा लगाएको पट्टी आफैँ खोलेँ र यहाँको ठुलो मान्छेलाई भन्दिन्छु भनेँ । त्यसपछि यो बाठी छे, भन्दिन्छे भन्ने डरले उनीहरू आउन छाडे ।
पुस माघको जाडो । २०५९ साल । मलाई एउटा पातलो कम्मल मात्र दिएका थिए । मैले त्यही आधा ओड्थेँ र आधा आछ्याउँथेँ । शरीरमा एउटा मेडी र पेटीकोट बाहेक केही थिएन । मलाई असह्य भयो । मरे पनि मर्छु भनेर हिम्मत जुटाई त्यहाँको ठुलो सरसँग मलाई छोडिदिने कुरा राखेँ । त्यो सरले ‘आफ्नो मान्छे कहाँ छन् ?’ भनी सोध्नुभयो । मेरो एक जना आफन्त त्यही जिल्लामा बस्नुहुन्थ्यो । उहाँको घरको नालीबेली दिएँ । उनीहरूले चिनेका रहेछन्, मेरो आफन्तलाई बोलाइदिए । मेरो आफन्तले आफू जमान बसी मलाई छुटाउनुभयो ।
मलाई छुटाउने आफन्तकोमा नै बसेर मैले १८ महिना तारिख बोकेँ । म गाउँ गइनँ । मैले बुवाआमालाई पनि सबै कुरा भनिनँ । मेरो अवस्था देखेर आफन्तले रेडक्रसमा निःशुल्क उपचार गराइदिनुभयो । सानै उमेरमा मेरो पाठेघरमा समस्या देखियो । पछि म अर्को आफन्तको घरमा बस्न थालेँ । उहाँले मलाई पढ्न नजिकैको स्कुलमा नाम लेखाइदिनुभयो । म पढ्न त गएँ तर पहिलाको कुराहरू याद आएर मैले पढ्नै सकिनँ । म टोलाइरहने र कसैसँग नबोल्ने भएको थिएँ । मलाई सन्चो होस् भनेर उहाँहरूले हरिद्वार घुमाउन पनि लग्नुभयो । तर, ती घटनाबाट म कहिल्यै बाहिर आउन सकिनँ । त्यो घटनाको चार वर्षपछि सबैले मलाई बिहे गर्ने सल्लाह दिए ।
मलाई पनि लाग्यो कि कसैको श्रीमती भएपछि मेरो घटनाको आक्षेप मलाई लाग्दैन होला । मैले बिहे गर्ने निर्णय गरेँ । बिहेपछि पनि म खुसी हुन भने सकिनँ । बिहेअघि मेरो श्रीमान्सँग मलाई माओवादीले लगेको भन्ने मात्र कुरा गरियो तर उहाँलाई यथार्थ कुरा भनिएको थिएन । श्रीमान्सँग शारीरिक सम्पर्क हुँदा पनि मलाई बलात्कार भएको महसुस हुन थाल्यो । मेरो पाठेघरमा समस्या हुँदाहुँदै पनि बालबच्चा जन्मे । रक्सी खाने, झगडा गर्ने र कसैसँग बोल्दा शङ्का मान्ने श्रीमान्काे बानी भएकाले मैले आफ्नो यथार्थ कुरा अहिलेसम्म पनि उहाँलाई भन्न सकेको छैन । अहिले घरमै बसेर गरेको कामबाट कमाएको पैसाले घर खर्च चलाउँछु । घर चलाउन माइतीको साथ सहयोग पनि पाएको छु ।
मलाई पाठेघरको निकै समस्या छ । द स्टोरी किचेन, डब्लुएचआर, एड्भोकेसी फोरमले औषधि उपचार गरिदिएको थियो तर अहिले फेरि समस्या देखिइरहेको छ । ओखती गर्ने बेलासम्म सन्चो हुन्छ, तर पछि फेरि दुख्छ । राहतको नाममा सरकारबाट केही पाएकी छैनँ । त्यसैले स्वास्थ्य उपचार भए केही राहत हुन्थ्यो झैँ लाग्छ । घरको कुनै सहयोग नहुँदा पनि साहस बटुलेर म आफ्नै खुट्टामा उभिएकी छु । सबैले मलाई साहसी भन्छन् । त्यसमै म खुसी छु । तर, मनमा एउटा प्रश्न सधैँ आउँछ । ‘ममाथि यो हदसम्मको अत्याचार किन गरियो ?’
प्रकाशन मिति : २०८१ असार १४ गते, शुक्रवार
याे पनि पढ्नुहाेला