Home Stories सम्झना र साहस

सम्झना र साहस

223
0

पुस्तक साभार शृङ्खला–७

‘कर्णाली गाथा’ सशस्त्र द्वन्द्वपीडित तथा प्रभावित महिलाको सङ्घर्ष र साहसको मौलिक इतिहास हो । द स्टोरी किचेनको पहलमा तयार भई २०८० सालमा प्रकाशित सो पुस्तकमा २२ जनाको जीवनभोगाइका कथा छन् । कथाहरू महिलाको दृष्टिकोणबाट सत्यको अभिलेखीकरण गर्न र महिलाहरूलाई सङ्क्रमणकालीन न्याय प्रक्रियामा सहभागी बनाउन सशक्तीकरण गर्ने उद्देश्यले तयार गरिएका हुन् ।

सशस्त्र द्वन्द्वको समयमा महिला र बालिकाले भोगेका तर शान्ति प्रक्रियामा खुलेर आउन र समेटिन नसकेका व्यक्तिका जीवनभोगाइलाई ‘न्यारेटिभ थेरापी’ विधिबाट उत्खनन गरिएको थियो । पछि न्याय संवाददाता बनेका द्वन्द्वपीडित महिला र उनीहरूको सहयोगमा अरू भुक्तभोगी महिलाले आफैँ कथाकार बनेर लेखेका यी भोगाइलाई महिला इतिहासमा विशिष्ट सामग्रीका रूपमा लिन सकिन्छ । पुस्तकमा कतिपय व्यक्तिका हकमा कथाकारले वास्तविक नाम र थर नै खुलाएको भए पनि सम्बन्धित व्यक्तिको गोपनीयतालाई सम्मान गर्दै कथामा व्यक्तिबोधक बोलचालको नाता, पद जस्ता नामलाई मात्र उल्लेख गरिएको छ । ‘सन्धान’ ले २०८१ जेठ २५ गतेदेखि ‘कर्णाली गाथा’ का कथालाई हरेक शुक्रबार प्रकाशन प्रसारण गर्दै आएको सन्दर्भमा आजको शृङ्खलामा प्रस्तुत छ, रुकुमकी विष्णु देवकोटाको ‘सम्झना र साहस’ ।

मेरो बुवा २०४८ सालमा नै बितिसक्नुभएको थियो । २०५० सालमा म १७ वर्ष नपुग्दै आमाले मेरो बिहे गरिदिनुभयो । हामी छोरीहरूले पढ्न लेख्न स्कुल जान पाएनौँ । मेरो जन्मघरमा खेतीपातीको काम गर्नुपर्थ्याे । विवाहपश्चात् २०५३ सालमा मेरो जेठो छोरा जन्मियो । २०५७ सालमा कान्छो छोरा जन्मियो ।

नेपालमा माओवादी र सरकारबिच द्वन्द्व भइरहेको थियो । २०५७ सालतिर हाम्रो जिल्लामा माओवादीले ‘जनसरकार’ चलाएको थियो । जो कोही पनि एक गाउँबाट अर्को गाउँमा जाँदा जनसरकारबाट सिफारिस लिएर जानुपर्थ्याे । कति दिन, के कामका लागि जाने हो सबै कुरा माओवादीलाई खुलाउनुपर्थ्याे । २०५७ साल मङ्सिर २६ गते मेरो श्रीमान् गोपाल देवकोटा जनसरकारबाट सात दिनको सिफारिश लिएर कुलपूजाका लागि आफ्नो पुर्ख्याैली घर रूकुमको खोलागाउँ गाविस निस्कनुभएको थियो । २०५७ साल पुस ३ गते बिहान नौ बजे उहाँ खोलागाउँमा आफ्नै ठुलोबुवाको घरबाहिर धारामा मुख धुँदै हुनुहुँदो रहेछ । गस्तीमा रहेका पुलिसले त्यही बेला मेरो श्रीमान्‌लाई गोली हानी हत्या गरेछन् ।

न मेरो श्रीमान् माओवादी हुनुहुन्थ्यो, न कुनै दलको नेता ! विनाकसुर गोली खाएर उहाँले ज्यान गुमाउनुभयो । त्यति बेला सूचना पुर्‍याउन फोन थिएन । घटना भएको ठाउँ पनि नजिक थिएन । दुई दिनपछि वहाँको साथीहरूले घरमै खबर ल्याए । तर, घटना भएको ठाउँसम्म जाने अवस्था थिएन । मेरो काखमा सानो छोरा थियो ।

घटना घटेको ठाउँमा केही आफन्त र साथीभाइले खौलो (खाडल) खनेर मेरो श्रीमान्‌काे लास गाडेछन् । हामीले वहाँको अनुहार पनि देख्न पाएनौँ । दुई दिनपछि पाएको खबरले विधि अनुसार घरमै काजकिरिया गर्‍यौँ । श्रीमान्‌काे हत्या हुँदा म २४ वर्षकी थिएँ । त्यति बेला मलाई सहयोग गर्ने मान्छे कोही पनि पाइनँ । म आफूलाई धेरै नै एक्लो महसुस गर्थें । आफ्नो मनमा शान्ति ल्याउनको लागि मैले राजनीतिमा लाग्ने सोच बनाएँ ।

अखिल नेपाल महिला संघले २०५९ साल माघ १६ गतेदेखि एकमहिने शान्ति पदयात्रा अभियान जिल्लाभरि सुरु गरेको थियो । त्यो समूह रूकुमकोट आउँदा हामीले पनि स्वागत गर्‍यौँ । मलाई त्यही टिमसँग जान मन लाग्यो । अढाई वर्षको छोरालाई माइतमा आमासँग छोडेर मैले रुकुम जिल्लाका २२ वटा गाविसमा शान्ति पदयात्रा गरेँ । श्रीमान्‌लाई मारेको वहाँको आफ्नै पुर्ख्याैली ठाउँमा पनि म त्यही यात्राका क्रममा पुगेँ । त्यसपछि म अखिल नेपाल महिला संघको सम्मेलनमा सहभागी भएँ । त्यही सम्मेलनबाट मैले जिल्ला समीति सदस्य बन्ने अवसर पाएँ । म दुःखलाई शक्तिमा रूपान्तरण गर्दै हिँडेँ ।

म बिस्तारै विभिन्न सङ्घसंस्थाहरूका कार्यक्रममा जोडिन थालेँ । सङ्घसंस्थाहरूले रुकुम जिल्लामा आयोजना गरेको ‘शान्तिका लागि भावना’ कार्यक्रमबाट द्वन्द्व प्रभावित महिलाहरूको सञ्जाल गठन भयो । म त्यस सञ्जालको अध्यक्ष भएँ । त्यो बेला हाम्रो समाजमा एकल महिलाले सेतो कपडा लगाउनुपर्ने मान्यता थियो । मैले पनि छ वर्षसम्म सेतो कपडा लगाएँ ।

मलाई देख्नेबित्तिकै मान्छेले बाटो काट्ने, विवाह पूजामा सामग्री, धूप नदिने, अशुभ हुन्छ भन्ने गर्थे । २०६८ सालमा म एकल महिला सञ्जाल रुकुमको अध्यक्ष भएँ ।

हामीले जिल्लामा विशेष कार्यक्रमको आयोजना गरेर ७० जना एकल महिलालाई रातो साडी, चुरा, पोते लगाएर सबै महिला समान छन् भन्ने सन्देश दियौँ । रुकुममा यो कार्यक्रमले धेरै एकल महिलालाई बलियो बनायो ।

हामी पहिले गाउँको कुनै पूजापाठ, सभा सम्मेलनमा जाँदा हिचकिचाउनुपर्थ्याे । हाम्रो मनोबल एकदम कमजोर थियो । हामी एकल महिलाले साहस गरेर यो अभियान सुरु गर्यौं । हाम्रो पछाडि धेरैले कुरा काटे तर हामीलाई सम्मान गर्ने पनि कम थिएनन् ।

त्यसपछि म जस्ता धेरै दिदीबहिनीको जीवनमा एक प्रकारको शक्ति आयो । त्यसै दिनदेखि मैले रातो कपडा पनि लगाउन सुरु गरेँ । रातो कपडा, चुरा, पोतेले मात्रै पनि म अरूभन्दा कमजोर छैन भन्ने आभास दिँदो रहेछ ।

प्रौढ शिक्षा पढेका कारण अहिले म सामान्य लेखपढ गर्न सक्छु । स्मार्ट फोनमा भाइवर, ह्वाटस्यापमा म्यासेज लेख्न सक्छु । मेरो आफ्नै सिलाइ व्यवसाय छ । सिलाइकटाइबाट एक दिनमा एक सयदेखि एक हजार पाँच सय रूपैयाँसम्म आम्दानी गर्दछु । त्यसैबाट व्यवहार चलाएकी छु । तीन महिनाको आधारभूत तालिमले मात्र अपूग हुँदो रहेछ । सिलाइकटाइको थप तालिम सिक्न पाए अझ राम्रो कपडा सिउने थिएँ जस्तो लाग्छ ।

सशस्त्र द्वन्द्वका बेला मेरो श्रीमान्‌काे अनाहकमा हत्या गरियो । उहाँको हँसिलो अनुहार अझै याद आउँछ । उहाँले मेरो धेरै नै हेरविचार गर्ने र स्वास्थ्यको ख्याल गर्ने गर्नुहुन्थ्यो । तर, यी सबै कुराहरू अब सम्झनामा मात्र बाँकी छन् । तिनै सम्झनालाई सम्हाल्दै आफूलाई बलियो बनाउँदै छु ।

प्रकाशन मिति : २०८१ साउन ४ गते, शुक्रवार

कर्णाली गाथाका थप कथाहरू