कालिकोटको मालकोटमा भएको प्रतिरोधको अगुवाइ महिलाले गरेका थिए । त्यसैमध्येको एउटा घटना २०५४ चैत २६ गते भएको थियो । त्यसमा एक जनाको ज्यान गयो भने घाइते भएकाहरूमा दुधे बालककी आमा पुना कामी पनि पर्नुभयो ।
कालिकोट जिल्लाको हालको नरहरिनाथ गाउँपालिका वडा नम्बर ६ मालकोटकी पुनालाई सशस्त्र द्वन्द्वकालमा गोली लागेको थियो । २००२ असारमा अछाममा जन्मिएकी पुनालाई २०५४ सालमा सुरक्षाकर्मीले हानेको गोली लागेको हो । उहाँको पिँडुलामा गोली लागेको थियो ।
पुनालाई मालकोटबाट त्यतिबेला लुकीछिपी गर्दै नेपालगन्ज पुर्याइयो र पिँडुलाको गोली र पेटको छेउमा लागेको छर्रा निकालियो । गोली र छर्राले बनाएको घाउको खाटा बसे पनि त्यो नमेटिने दाग बन्यो । त्यो दाग सशस्त्र द्वन्द्वका बेला गाउँघरमा महिलाले भोगेको विषम अवस्थाको एउटा प्रतीकको रूपमा पनि विकसित भयो ।
तत्कालीन द्वन्द्वरत पक्ष नेकपा माओवादी नेता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई खोज्न सुरक्षाकर्मी मालकोटका घरैपिच्छे आउँथे । मालकोटकै स्थानीय बासिन्दा तथा पुनाका नाति खड्गबहादुर पछिल्लो समयमा विप्लव नेतृत्वको पार्टीका नेता हुनुभयो । २०५४ सालको घटना सम्झँदै पुनाले भन्नुभयो, “त्यो सालमा प्रकाण्ड छ कि भनेर घरघरमा खोज्न आए । पुरुषहरू कुनै घरमा पनि थिएनन् ।”
पुरुषविहीन घरमा माओवादी नेता खोज्न सुरक्षाकर्मी आइरहेपछि अवस्था पेचिलो हुँदै गयो । पुनाका अनुसार, महिला र सानासाना बच्चा मात्रै भए पनि घरभित्रै पस्ने, खानतलासी गर्ने, तर्साउने, कुटपिट गर्ने गर्थे । त्यही भएर स्थानीय महिलाहरू सचेत भए र एकजुट भई प्रतिकारमा उत्रिए ।
“लोग्नेमान्छे नभएको घरमा आएपछि हामीले प्रतिकार गर्न थाल्यौँ । घरमै गोली चलाचल भयो । मैले राइफल खोस्न थालेँ,” पुनाले भन्नुभयो । मालकोटका महिलाको यस्तो प्रतिकार शक्तिका कुरा सुन्दै हुर्किएका पुनाका छोरा शेरबहादुर विकको भनाइ थियो– आवश्यकता र परिआएको ठाउँमा महिलाले नगर्न सक्ने भन्ने केही पनि छैन ।
नेपालमा २०५२ देखि २०६३ सालसम्म भएको सशस्त्र द्वन्द्वको समयमा विशेष गरी दैलेख, कालिकोट, जाजरकोट, रोल्पा, रुकुम जस्ता जिल्लामा महिलाहरू दोहोरो मारमा परे । माओवादीले युद्धमा हिँड्नुपर्छ भनेर जबरजस्ती लैजाने गर्दा स्थानीय महिलाहरू असुरक्षित त थिए नै, त्यसमाथि राज्य र माओवादी दुवैतर्फबाट बालिका, किशोरी र महिलामाथि दुर्व्यवहार र यौनहिंसासम्म भए ।
यौनहिंसाका जघन्य घटनाले किशोरी र महिलाको जीवनमा बर्बादी थप्यो । मुलुक शान्ति प्रक्रियामा गइसकेपछि यस्ता केही घटना बिस्तारै सार्वजनिक पनि भए । त्यसो त द्वन्द्वकालमै महिलाले नै महिलामाथिका ज्यादतीको विरोध र प्रतिकार सुरु गरेका थिए ।
महिलाले भोगेका हिंसा, अन्याय र सामाजिक अपमानको विरुद्ध आवाज उठाउने क्रममा द्वन्द्वकालमै विभिन्न जिल्लामा ‘इज्जत बचाउ आन्दोलन’ पनि गरियो । सशस्त्र द्वन्द्वरत दुवै पक्षबाट दिनरात तनाब दिने काम भइरहेपछि स्थानीय महिलाहरू स्वतःस्फूर्त रूपमा एकताबद्ध भएर शान्ति, सुरक्षा र महिलामाथि हुने दुर्व्यवहारविरुद्ध प्रतिकार गर्न थालेका थिए ।
मालकोट प्रतिकार घटनामा एक जना माओवादी नेता (कालीबहादुर विक) को मृत्यु भयो भने उहाँसँगै अरू पनि घाइते भए । कालीबहादुरलाई नेकपा माओवादीले कालिकोटको पहिलो सहिद मान्यो । चैत २६ गतेको घटनाको स्मरण गर्दै नरहरिनाथ गाउँपालिकाले २०५४ सालमा ‘प्रतिरोध दिवस’ मनाउन थाल्यो ।
शेरबहादुरको भनाइमा घाइते भनेर ‘आमाहरू’ लाई कहिले मान्मा, कहिले सुर्खेततिर बोलाइन्छ, पालिकाले पनि सम्मान गर्छ तर राहत दिइएको छैन । गाउँपालिका उपाध्यक्ष कमल कुमार शाहले पनि टेलिफोन कुराकानीमा भन्नुभयो, “त्यो दिनको प्रतिरोधमा पुना कामीलगायत चार–पाँच जना महिलाहरू घाइते भए तर उहाँहरूलाई पालिकाले सम्मान गर्नेबाहेक आर्थिक सहयोग गर्न सकिएको छैन ।”

पुना २०८१ फागुन ५–७ गते सुर्खेत जिल्लामा भएको कर्णाली उत्सव र द स्टोरी किचेनको सहकार्यमा भएको ‘कर्णालीमा महिला आन्दोलन’ शीर्षकको प्यानलको वक्ता हुनुहुन्थ्यो । उहाँले द्वन्द्वको बेला गाउँघरमा भोगेको अवस्था र आफूले गरेको प्रतिकारबारे बताउँदै प्रश्न गर्नुभयो, “मरेको मान्छेलाई १० लाख राहत मिल्ने, हामीलाई नमिल्ने के हो ?”
कर्णाली उत्सव भइरहेकै बेला ‘सन्धान’ का तर्फबाट लक्ष्मी बस्नेतले पुनासँग सुर्खेतमा भेटेर भिडियो कुराकानी गर्नुभएको थियो । प्रतिकारको घटना हुँदा शेरबहादुर एक वर्षका हुनुहुन्थ्यो । उहाँले पनि सुनेको आधारमा आफ्नी आमाले गरेको प्रतिकारको घटनाबारे ‘सन्धान’ लाई बताउनुभयो ।
प्रस्तुत छ, पुना कामी र शेरबहादुर विकसँग सुर्खेतमा गरिएको कुराकानीको आधारमा तयार गरिएको उहाँहरूको स्वकथन र भिडियो अंश :
घाइतेलाई राहत नमिल्ने के हो ?

– पुना कामी
मेरो नाम पुना कामी हो । उमेर ८० वर्ष हो । मेरो घर मालकोट, नरहरिनाथ गाउँपालिका वडा नम्बर ६ हो । त्यो (२०५४) सालमा प्रकाण्ड छ कि भनेर घरघरमा खोज्न आए । पुरुषहरू कुनै घरमा पनि थिएनन् । लोग्नेमान्छे नभएको घरमा आएपछि हामीले प्रतिकार गर्न थाल्यौँ । घरमै गोली चलाचल भयो । मैले राइफल खोस्न थालेँ ।
राइफल खोसेर अङ्गालोमा हालेको । कति बेला त मलाई खुट्टामा गोली लागिसकेछ । गोली लागेकैमा लखेट्दैछौँ । एक घण्टापछि पो पोल्यो राइफलको गोलीले । रगत बगिराखेको र’छ । पछि त आगोभित्रै पसे जसरी पोल्यो ।
कोटवाडाको कालीबहादुर भन्ने मान्छेलाई धेरैले चिन्छन्, उनलाई मारे । एक जना पुलिस हवल्दार जलिगए, मरे त्यहीँ । मलाई गोली लागेर घाइते भएँ । हाम्रो पार्टीकै मान्छेले बोक्दै, लुकाउँदै मलाई नेपालगन्ज लगे । फेरि पुलिसआर्मीले भेटे मारिहाल्थे ।
अहिले जस्तो जताततै गाडी चल्दैनथ्यो । बल्ल बल्ल सात–आठ दिनमा मलाई नेपालगन्ज पुर्याएको । नेपालगन्जको अस्पतालमा सात दिन हो कि आठ दिन बसेको । त्यहीँ मेरो खुट्टाको गोली र गोलीको छर्रा निकाल्दिए ।
मेरो यो छोरो (शेरबहादुर) बर्सीको थियो । डोकोमा सुताइराखेको । छोरो त्यहीँ छोडेर म लड्न ग’को । मेरो देवर, म, मेरो नन्द गौरीकला । हामी तीन जना अनि अरू पनि थिए । गौरीकला र देवर मरिसके । लड्न जानू भनेर पार्टीले भनेको, डर लागेन । मरिएला भन्ने लागे पनि डर लागेन । जे पायो त्यहीले हान्यौँ ।
अहिले को को के गरेँ भन्छन् । हामी घाइते भनेर केही पाएको छैन । सम्मान गर्छन् । दुपट्टा ओढाउँछन् । चार वटा भइसके यस्तै । पार्टीले, गाउँपालिकाले पनि दियो । जनयुद्ध दिवसका दिनमा पनि सम्मान भनेर दुपट्टा मात्र दिन्छन् । पैसाहरू चाहिँ कसैले दे’को छैन ।
मेरो छोरीलाई पनि गोली लागेको । २०५४ सालभन्दा अलि पछि गोली लागेको । ऊ घाइते अपाङ्ग छ । अहिले पनि लौरो टेकेर हिँड्छे । मेरो छोरीले त यस्तो पनि (हातले पछ्यौरा देखाउँदै) पा’को छैन । म पनि मरेर बाँचेको मान्छे । मैले केही पा’को छैन । यी यहाँ (घुँडामुनि नली खुट्टातिर) गोली लागेको । गाउँपालिकालाई पनि भनेको तर दे’का छैनन् ।
प्रकाण्ड मेरो नाति हो । अहिले काठमाडौँतिरै छ । अस्ति नै घर आएको थियो । प्रकाण्डलाई पनि ‘म त मरेर बाँचेको मान्छे, केही नदिने ?’ भनेँ । मरेको मान्छेलाई १० लाख राहत मिल्ने, हामीलाई नमिल्ने के हो ? तपाईंले काठमाडौँमा भेट्नुहोला, सोध्दिनुहोला । तपाईंको बज्यै भेटेको, नाम के हो भनेदेखि पुना भन्नू ।
महिलाहरूले नगर्न सक्ने केही छैन

– शेरबहादुर विक
मेरो नाम शेरबहादुर विक, घर मालकोट । मालकोट भन्नेबित्तिकै जनयुद्धकालमा वीरता गाँथेको ठाउँ हो । मालकोटलाई प्रकाण्डको गाउँठाउँ भनेर चिनिन्छ, चिनाइन्छ । जनयुद्ध सुरु भएको ठाउँ मालकोटमा जन्मिन पाउँदा बहुत खुसी छौँ । २०५४ चैत २६ को लडाइँको बारेमा आमाले भन्नुहुन्छ, मलाई डोकोमा सुतेकै छोडेर लड्न जानुभएको रे !
म एक–दुई वर्षको हुँदा उहाँहरूले त्यस्तो सङ्घर्ष गरेर शाही सेनाहरूसँग त्यसरी लड्नुभएको मूल्याङ्कन भएको छैन । मर्नेहरू मरेर गइसके, उनीहरूलाई राहतको व्यवस्था गरेको छ । अधमरेकाहरूलाई न सरकारले गरेको छ न पार्टीहरूले । कसैले लेखाजोखा गरेको छैन ।
आमाले भन्नुहुन्छ, पुरुषहरू घरमा कोही नबस्ने । कोही कमाउन इन्डिया गएको, कोही जंगलमा गएर लुकेको रे ! त्यस्तो अवस्थामा महिलाहरू मात्रै गएर लडे । त्यो लडाइँमा एक जना कोटवाडाको कालीबहादुर विश्वकर्मा भन्ने बित्नुभयो । महिला र शाही सेनाबिच हतियार खोसाखोस भइसकेपछि उनीहरू ब्याक भए ।
हतियार कब्जा भइसकेपछि भाग्दै गर्दा उनीहरू परालहरू राखेको ओडार जस्तोमा लुकेछन् । लखेट्नेहरूले लुकेको देखेर त्यहीँ आगो लगाएछन् । एक जना पुलिस हवल्दार पनि त्यहीँ जलेछन्, लास देख्नुभएछ ।
घाइते भनेर आमाहरूलाई कहिले मान्मा, कहिले सुर्खेततिर ‘जनयुद्ध’ सुरु भएको दिन पारेर पनि बोलाउँछन् । पालिकाले पनि सम्मान गर्छ तर राहत किन भएन भन्ने हामीलाई थाहा छैन । पहिला लड्ने पार्टीसँग पनि भन्यौँ । पालिकाको पनि के के फर्म भराएको थियो तर केही भएको छैन ।
मलाई लाग्छ, आवश्यकता र परिआएको ठाउँमा महिलाले नगर्न सक्ने भन्ने केही पनि छैन । महिलाले पनि परिआएपछि केही गर्न सक्छन् भनेर इतिहास रचेको ठाउँ हो मालकोट । अनि, मालकोटले प्रकाण्ड जस्ता मान्छेलाई जन्म पनि दियो तर राज्यसत्तामा पुगिसकेपछि पनि केही भएन । केही गर्दिनुपर्यो भन्ने हाम्रो माग हो ।
भिडियो अंश :
प्रकाशन मिति २०८१ चैत्र २६ गते मङ्गलवार